गाउँको तिहारको सम्झना

कोरोना कहरको यो बर्षको तिहारले कुनै उमंग ल्याएको छैन । आयो—गयो भनेजस्तै मात्र भयो यसपालीको तिहार । यो बर्ष यसो हुनु जरुरीपनि छ । यसपाली कोरोना आफूले पनि नसार्ने र आफूमा पनि नसार्ने संकल्पसहित मनाउनुपर्छ । म पनि त्यसै गरिरहेछु । झिलिमिलि बत्तीको गुजुल्टोले सर्लक्कै जेलिएका घरहरुलाई हेरिंरहँदा मेरो मनचाहि उडेर गाउँतिर गैरहेछ । बत्ती नभएको गाउँमा औशीको रातमा पिलपिले मैनबत्तीको लस्कर र केराको सुप्लामा बलेका कपासका बत्तीहरुले निल्न खोजिरहेको अँध्यारो र मनभित्र बलेको धप्प उज्यालो । न्यानो र रापिलो उज्यालो । बर्षभरीमा लक्ष्मी पूजाको साँझमात्र गाउँ उज्यालो हुन्थ्यो । कुनैदिन बिजुली आउला भन्ने कल्पना गर्दै लाल्टिनको बेला (शिसा) सफा गर्दा, ध्रिपी र पानसको ध्ँवासो फालेर नयाँ झुम्रो फेर्दाका ती दिनहरु शहरमा बलेका झिलीमिली बत्तीले झल्झली सम्झाउँछन् ।

बर्लाचीको बगाले डिही र पृष्ठभूमिमा लम्साल डाँडो ।

दशैंमा हरेक बर्ष गाउँ (तनहुँको तत्कालिन क्यामिन गाविस, बर्लाची गाउँ) जाने गरेपनि तिहारको छुट्टीचाहि छोटो हुने भएकोले काठमाडौं आएपछि तिहारमा आक्कलझुक्कल मात्र गईयो । गाउँमा बिजुली पुगेको पनि १५—१६ बर्ष भैसक्यो । त्यसकारण औशीको रातमा उज्यालो बाल्न आजकाल मैनबत्तीको भर पर्नु पर्दैन । केराको सुप्लामा कपासको बत्ती बाल्ने चलनपछि छैन सायद । बिजुलीबत्ती भएपछि त्यसो गरिरहनै परेन ।

आजकालको तिहार मैले बुझेको छैन । तिथिमिथि खप्टिएको हो कि चालचलन फेरिएको हो, कुकुर तिहारको दिनमै लक्ष्मीपूजा पर्छ । धनतरेस भन्ने चाडपनि भित्रिएको छ । धनतरेस के हो, मैले बुझेको छैन । गाउँमा यमपञ्चक शुरु हुनुभन्दा अगाडीको एकादशीको दिन पिँडो भुटिन्थ्यो । धान, मकैं, गहुँ भुटेर ढिकीमा कुटेपछि पिँडो तयार हुन्थ्यो । घरमा पालिएका गाई, गोरु, भैसीका लागि तिहारको विशेष परिकार हो पिँडो । मानिसका लागि सेलरोटी पाकेजस्तो ।

तिहारको पहिलो दिन काग तिहार मनाईन्थ्यो । कागलाई भात खुवाएर तिहार शुरु हुन्थ्यो । आँगनको डिलमा दुनामा राखिएको भात खान काग आयो कि आएन भन्ने खुब चासो हुन्थ्यो । दोस्रो दिन कुकुरतिहार आउँथ्यो । बर्लाचीको हाम्रो बगाले टोलमा त कसैको घरमा कुकुर थिएन । आक्कलझुक्कल पर्तिरका गाउँबाट कुकुर आईहाल्यो भने भात खान पाउथ्यो । कुकुर आउला कि भनेर आँगनको डिलमा भातचाहि राखिन्थ्यो । कुकुर तिहारको भोलीपल्ट गाई तिहार पर्दथ्यो ।

तिहारको सच्चा रौनक नै गाई तिहारको दिनमा हुन्थ्यो । यो दिनमा बाबियोको लामो तोरण बाटिन्थ्यो, तगारोको वारपार टाँग्न मिल्ने गरि । बाबियोलाई पानीमा भिजाएर बाटेपछि त्यसमा पिपलको पात, आँपको पात, तितेपाती, सयपत्री, गुद्यौली आदि फूल, कपास, १—२ का एकाध नोट, र मसिनोसंग बाटिएका ससाना कुचाहरु मिलाएर तोरणलाई झपक्क बनाईन्थ्यो । तगारोमा तोरण टाँगेपछि गाउँभर डुलिन्थ्यो । कसैका निकै लामा हुन्थे, कसैका छोटा । कसैका तोरणमा फूलैफूल हुन्थ्यो त कसैकोमा आँप, पिपल र पातीका झुप्पा ।

तगारोनजिक टाँगिएको तोरण । तस्वीर साभार— समिक्षा बगाले (२०७७ सालको तिहारको तस्वीर)

तोरण टाँगेपछि गाईपूजा गरिन्थ्यो । घरघरै गाई हुन्नथे । गाउँमा एकाध घरमा मात्र गाई हुने हुँदा पूजा गर्नेको भीडै हुन्थ्यो । गाईलाई माला र टिका लगाईदिएर घ्यूमा पकाएको चामलको पातलो रोटी र पिडो खुवाईन्थ्यो । स्टिलको गिलासले चामलको पिठोको घोल बनाएर गाईको ढाडभरि ढाँप लगाइन्थ्यो । गाईसंगै भैसीले पनि पिडो खान पाउथे । भैसीका ढाडमा रौं कम हुँने हुँदा र छाला कालो हुँने हुँदा पिठोको ढाप खुब सुहाउथ्यो । गाईभैसी रहरलाग्दा देखिन्थे । बाख्राको ढाडमा चाहि रौं नै रौ हुने हुँदा ढाप बस्दैनथ्यो । जनै पूर्णिमाको दिन हातमा बाँधेको डोरो सो दिन गाईको पूच्छरमा बाधिदिए मरेपछि बैतरणी नदी गाईको पूच्छरमा झुन्डिएर तर्न पाईन्छ भन्ने जनविश्वासले कतिपयले हातको डोरो कालो भएपनि तिहारसम्म बाधिराख्थे र पूजा गरेपछि गाईको पूच्छरमा बाध्दथे ।

२०६७ सालको गाईपूजा

गाईपूजा सकिएपछि चामलको पिठो कुट्ने काम हुन्थ्यो । अघिल्लै दिन भिजाएर राखेको चामल ढिकीमा कुट्दाको आवाजले गाउँलाई रमाईलो बनाउथ्यो । साँझ घरघरमा सेलरोटी पाक्थ्यो । घिउमा पकाईएका सेलरोटी रहरलाग्दा हुन्थे । सेलरोटी थोरै हो र ? डालैभरी हुन्थे, सोलीभरि हुन्थे । थुप्रो दिन खान पुग्ने गरि, बाड्न प्रशस्त पुग्ने गरि सेलरोटी पाक्थ्यो । गाउँमा बिहान—बेलुकै भात खाने चलनले त्यो साँझ पेटभर (८—१० वटा) सेल खाएपनि अलिकति तातो भातचाहि खाउँखाउँ लाग्थ्यो । खाईन्थ्यो । बर्षभरि थन्क्याएर राखिएका खोपे थाल (खण्डे थाल) त्यो दिन झिकिन्थ्या । माझेर टलक्क बनाईन्थ्यो । बिहा, बर्तुन, पाहुना आउँदा न हो खण्डेथाल झिक्ने । अनि तिहारमा पनि । खण्डे थालमा सेलरोटीसंग भिन्डी र करेलाको अचार, तरकारी र दूध स्वाद मानेर खाईन्थ्यो ।

गाईतिहार (लक्ष्मी पूजा) को दिन त काम कति हो कति । रमाईलो पनि कति हो कति । बिहान तोरण बाट्यो । गाईलाई माला लगायो । पिँडो खुवायो । साँझ रोटी पाक्दै गर्दा घरैभर मैनबत्ती बाल्यो । पिढि, बार्दली, कोठा, कोठी, भण्डार, गोठ, तला, आँगनको डिल, तुलसीको मोठा सबैतिर मैनबत्तीको लस्कर । हेर्दै लोभलाग्दो देखिन्थ्यो, हावाले ढलाएर आगो लाग्ला कि भनेर सजग पनि हुनुपथ्र्यो । मैनबत्तीसंगै केराको सुप्लामा कपासको बत्ती तेलमा भिजाएर पनि बालिन्थ्यो । अनि बल्ल रोटी खाने पालो । देउतालाई चढाएपछि हाम्रो पालो आउथ्यो । काँडा पलाएका झुरुमझुरुम रोटी । कति रहरलाग्दा पो हुन्थे ।

साँझ बत्ती हेर्न गाउँभर डुलिन्थ्यो । बत्ती बाल्नपनि सघाईन्थ्यो । डुलेर आउँदा हावाले घरमा बत्ती निभाएको रहेछ भने फेरि बालिन्थ्यो । तिहारमा गाउँमा अलिअलि पटका पनि भित्रिन्थ्यो । पटका नहुनेले चुरोटको झिलझिलेमा सलाईका काटीको मसला जम्मा पारेर लोहोराले थिचेर पनि पड्काउथे । सलाई मास्यो भनेर घरमा पुगेपछि यसो गर्नेका कान बटारिन्थे ।

गाउँमा टाढा—टाढाबाट दिदी बहिनी र ससाना भान्जाभान्जी आउने मुख्य दिनपनि यही भएको हुँदा गाउँ गम्मागम्मी हुन्थ्यो । घरधन्दा नभ्याउनेहरु गोरु तिहारको दिनमा आउनुहुनथ्यो । धेरैजसोका घर भरिभराउ । असाध्यै रमाईलो माहोल हुन्थ्यो । यो सबै रमाईलोमा रंगोलीको रमाईलोचाहि भित्रिएको थिएन । रंगोली देखेको त काठमाडौं आएपछि मात्र हो । यसको सांस्कृतिक मूल्य मान्यता नबुझेकोले रंगोली आफन्त होइन, पाहुँनाजस्तो चाहि लाग्छ । हेर्दा राम्रो छ । कला देखाउने मेसोपनि हो । घरको मूलढोकामा सुन्दर कला हुनु राम्रै हो । त्यसकारण रंगोलीलाई तिहारमा स्वागत छ । सायद गाउँतिर पनि आजकाल रंगोली बन्छ होला ।

गाई तिहारको भोलीपल्ट गोरुतिहार आउथ्यो । बारी जोत्दाजोत्दा हत्तु हुने गोरुले त्यो दिन माया पाउथ्यो । जोत्ने समयमा त मुखमा कोर्को, ढाँडमा लठ्ठीको सुम्लो र घाँटीमा ट्याप्प कसिएको नारा र जोतारा । कठै गोरुको जुनी । गोरु र खच्चडको जस्तो दुखी जिन्दगी त कुन प्राणीको होला र । अरुदिन जति चुटाई खाएपनि त्यो दिनचाहि गोरुले आराम र माया पाएको देख्दा खुशी लाग्थ्यो । गोरुलाई माला लाईदिने, पिडो खान दिने, ढाडमा स्टिलको गिलासले पिठोको ढाँप लगाउने काम हुन्थ्यो ।

भाइटिकाको दिन लक्ष्मी पूजाको दिनको जस्तो ब्यस्तता हुँदनथ्यो । रोटी पहिल्यै पाकिसकेपनि ताता रोटी खाने रहरले सो दिन बिहान धेरथोर सेलरोटी पाक्दथ्यो । टिकाको साईत चाडै छ भने अघिल्लै दिन सयपत्री र मखमली फूल टिपेर राखिन्थ्यो । टिकाको साईत ढिलो निस्कँदा सबैलाई सजिलो हुन्थ्यो । माला गाँस्न, लिपपोत र बढारकुढार गर्न, रोटी पकाउन, तरकारी अचार बनाउन समय पुग्दथ्यो । ९—१० बजे साईत हुँदा त साईत छोप्नै हम्मेहम्मे पर्दथ्यो । टिको लगाउन केराको पात चाहिन्थ्यो । एउटा रेसो चिरेर निधारमा ठिक्क हुनेगरि राखेर त्यसमाथि टिका लगाउँदा टिका सिधा हुन्थ्यो ।

तिहारको बिर्सनै नसकिने पक्ष देउसी भैलो पनि थियो । मैले त बाल्यकालमा जम्मा एकपटक देउसीभैलो खेलें । ७—८ घरका ८—१० जना केटाकेटी मिलेर भैलो खेल्दा १२—१५ रुपैंया, केही माना चामल र अलिअलि रोटी जम्मा भएको थियो । पैसा त बाँडेर लियौं कि जस्तो लाग्छ । उठेको चामलमा आमाहरुले मसिनो चामल थपिदिएर, दिदीहरुले पकाइदिएर लामो गराको डिलतिर हामीले बनभात खाएका थियौं । मैले भैलो नखेलेपनि देउसी भैलो खेल्न ठूल्ठूलो टोली आउँथे । भैलो खेल्नेहरु प्राय १०—११ बजेतिर आउँथे । टर्चलाईट बाल्दै, सुसेलो हाल्दै, मादल बजाउँदै । भैलो खेल्नेहरु आएपछि ढोका खोलेर लाल्टिन बालेर पिढिको थाममा झुन्ड्याईन्थ्यो । पिढिभरी गुन्द्री बिछ्याईन्थ्यो । युवाहरुको रमाईलो बाहेक हाम्रोतिर विद्यालय र पुस्तकालयलाई चन्दा उठाउन पनि भैलो खेल्ने चलन थियो । यो भैलो त निकै लामो दिनसम्म चल्थ्यो । टोलटोलमा खेल्दै आउने । यसरी संघसंस्थाको लागि भैलो खेलिदा दिने रकम अरुलाई दिनेभन्दा केही बढी नै हुन्थ्यो । अधेरी रातमा साथीहरु त्यसरी रातीराती भैलो खेल्दै हिडेको देख्दा अचम्म लाग्थ्यो । डरपनि लाग्थ्यो ।

तिहारमा महिलाहरुलाई सास फेर्न फुर्सद हुँदैन । कामैकाम । लिपपोत । बढारकुढार । अनेक परिकार बनाउ । माला गास । पिठो कुट । रोटी पकाउ । पिडो भुट । सम्झँदै अत्यासलाग्दो । कतिपय पुरुषहरुचाहि तासको खालमा बेफुर्सदी बनिदिन्छन् । खालमै रात बिताउछन् । दिन बिताउछन् । कतिपयलाई त टिका लगाउने फुर्सद पनि हुँदैन । यो पारा मलाई साह्रै ननिको लाग्छ ।

तिहार उज्यालो भित्र्याउने चाड हो । दाजुभाई र दिदीबहिनी भेटाउने चाड हो । एक —अर्कालाई माया र सम्मान गर्ने चाड हो । दाजुभाइ मात्र पूज्ने चाड होइन । दाजुभाइ र दिदीबहिनीलाई बराबर पूज्ने चाड हो । छोरी नहुनेका घरमा त तिहार खल्लो हुन्छ । जिन्दगीको एउटा गाढा रंग नै नभएजस्तो । उराठलाग्दो । यो चाड सम्पतीको अभद्र प्रदर्शन गर्ने, रक्सीको खोलो बगाउने र तासको खालमा बसेर आफूलाई मास्ने चाड नबनोस् । सबैलाई तिहारको शुभकामना ।

(२०७७ साल मंसीर १ गते हिमालखबर डटकममा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको)

होम आइसोलेशन, बसोबास शैली र हाम्रा घरबस्ती….

कोरोनाको कहर बढ्दै जाँदा ‘हर घर क्वारेन्टिन’ हुँदै ‘हर घर आइसोलेशन’ का लागि मानसिक र भौतिक रुपमा तयार हुनुपर्ने बाध्यता बढ्दो छ । अस्पतालमा बेड नपाईने अवस्था दिनदिनै बढ्दो छ । घर क्वारेन्टिनमा बस्नेको त तथ्यांक भेटिदैन । एक दिनमात्र कतै गईयो भनेपनि फर्केर केहीदिन घरमा अलक्क बस्नुपर्ने अप्ठेरो अवस्था आएकोले र त्यसरी बस्नेको रेकर्ड राख्ने कुनै निकाय नभएकोले अब यसको विश्वासयोग्य तथ्यांक भेटिंदैन । आइसोलेशनमा बस्नेहरुको तथ्यांकचाहि सरकारले दिने गरेको छ, भलै त्यसमा पनि सबैजसो संक्रमितहरु नअटाएका हुनसक्छन् ।

भूकम्पमा नभत्केको घर । यत्तिको घरमा सामान्य परिमार्जन गरि एकान्तवास बस्न सकिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २०७७ साल कार्तिक २२ गतेसम्ममा आइसोलेशनमा बस्नेको संख्या ३५४३५ छ । जतिजना संक्रमित, उतिजना आइसोलेशन भनेर स्वास्थ्य मन्त्रालयको वेब पोर्टलमा जनाईएको छ । अस्पतालको आइसोलेशन, होटल आइसोलेशन र घर आइसोलेशनमा बस्नेको संख्या छुट्याईएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २०७७ साल कार्तिक २२ गतेसम्ममा आइसोलेशनमा बस्नेको संख्या ३५४३५ छ । जतिजना संक्रमित, उतिजना आइसोलेशन भनेर स्वास्थ्य मन्त्रालयको वेब पोर्टलमा जनाईएको छ । अस्पतालको आइसोलेशन, होटल आइसोलेशन र घर आइसोलेशनमा बस्नेको संख्या छुट्याईएको छैन ।

स्वास्थ्यखबर डटकमले स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाए अनुसार २०७७ साल कार्तिक २२ गतेसम्ममा कुल संक्रमित (३५४३५) मध्ये २८,८२० जना होम आइसोलेशनमा रहेका छन् । सो समाचारमा जनाईए अनुसार होम आइसोलेशनमा बस्नेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा (१८,४८६) रहेका छन् । त्यस्तै प्रदेश १ मा ४,५७० जना, प्रदेश २ मा ९८५ जना, लुम्बिनी प्रदेशमा २,१८६ जना, सुदूरपश्चिम प्रदेशमा ६८५ जना, गण्डकी प्रदेशमा १७१० जना र कर्णाली प्रदेशमा २९८ जना ब्यक्तिहरु होम आइसोलेशनमा रहेका छन् । सबै संक्रमितलाई सरकारी तथ्यांकले नसमेटेको पनि हुनसक्छ । जे होस् यो तथ्यांकले देशैभर कोरोना संक्रमितहरु होम आइसोलेशनमा बसेको र हस्पिटलको आइसोलेशनमा बस्नेको संख्या न्यून रहेको पुष्टि गर्दछ।

होम आइसोलेशनको कहानी शुरु गर्नुअघि स्कूल क्वारेन्टिनको कुरा गर्छु । गत असोज दोस्रो हप्ता म काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बु गाउँपालिका पुगेको थिएँ । स्वास्थ्य संस्था, क्वारेन्टिन र आइसोलेशन स्थलहरु अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, बालबालिकाका लागि कत्तिको सहज छन् भनेर हामीले सरसर्ती अध्ययन—अवलोकन गरेका थियौं । सिन्धुपाल्चोक र काभ्रे भूकम्प अति प्रभावित जिल्ला हुन् । ती जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको काम सिद्धिने चरणमा छ । सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा विद्यालय भवनहरु सुविधासम्पन्न बनेका छन् । कतिपय विद्यालयमा नर्सहरु पनि कार्यरत छन् । कोरोनाका कारण विद्यालयहरु अचानक अस्पतालजस्ता बन्न पुगे अर्थात क्वारेन्टिन स्थल बने । आपतविपद्मा विद्यालयभित्र सिंगो समुदाय अटायो । घच्चमच्च होइन, आरामले अटायो । प्रर्याप्त खानेपानी र शौचालय, उज्याला र सफा कोठादेखि स्वास्थ्यकर्मीसम्मको अभाव भएन । सामान्य परिमार्जन गरे क्वारेन्टिनमात्र होइन, आइसोलेशन सेन्टर नै बनाउन सक्ने अवस्था त्यहाँ देखियो । तर भूकम्प प्रभावित जिल्लामा निजी आवासको चित्रचाहि ठ्याक्कै उल्टो छ । पुनर्निर्माण कार्य चलिरहेका सबै जिल्लामा अधिकांश घर एककोठे र दुइकोठे छन् । घरको बहुउपयोगी ठाउँ (कोठा, कोठी, बरण्डा, तला, भण्डार, सिकुवा आदि) जति सबै खुम्चेर साँघुरो पिढी र २ कोठामा जिन्दगी सीमित हुन पुगेको छ । नयाँ घर बनाएर पुराना घरपनि सामान्य मर्मत गरेर बस्नेहरुलाई त सजिलै भएको छ । भएकै घरमा थप २ कोठा थपियो । तर पुरानो घर कामै नलाग्ने अवस्था भएकाको जिन्दगी नयाँ घरमा कष्टपूर्ण तरिकाले चलिरहेको छ ।

भूकम्पपछि बनेको सानो घर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ केशको आइसोलेशन ब्यवस्थापन सम्बन्धि निर्देशिका’ बनाएको छ । सो निर्देशिका २०७७ साल जेठ २० गते स्वीकृत भएको छ । निर्देशिकामा अस्पताल आइसोलेशन र घर आइसोलेशन सम्बन्धी छुट्टाछुट्टै प्रावधानहरु छन् । लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै राख्न सकिने सो निर्देशिकाले जनाएको छ । निर्देशिकामा घर आइसोलेशन सम्बन्धी १४ वटा बुँदाहरु छन् । त्यसमा हावा खेल्ने तथा प्रकाश आउने छुट्टै कोठामा संक्रमितलाई राख्नुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामाग्री परिवारका सदस्यसंग मगाउने, खानपिनको ब्यवस्थामा विशेष सावधानी अपनाउने, प्रयोग गरिएका भाडाहरु सुरक्षित रुपले सफा गर्ने र सुकेपछि पुन प्रयोग गर्ने कुराहरु समेटिएको छ । त्यस्तै, स्नानघर/शौचालयको छुट्टै ब्यवस्था गर्ने र सामूहिक रुपमा प्रयोग गर्नुपर्ने भएमा प्रत्येक प्रयोगपछि सरसफाईमा प्रयोग हुने ‘डिसइन्फेक्टन्ट’ ले राम्ररी सफा गरेर मात्र अरुले प्रयोग गर्ने कुरा उल्लेख गरिएको छ । यसका साथै हात धुने बेशिनहरु संक्रमणको स्रोत हुने प्रर्याप्त जानकारी गराई दाँत माझ्ने ब्रस लगायतका सामान राख्न छुट्टै बेशिनको प्रयोगको प्रयोग गर्न सुझाईएको छ । त्यस्तै, ढोका, मेशिनका ह्यान्डल, टेबुल जस्ता धेरै ब्यक्तिले चलाउने सामान डिसइन्फेक्टेन्ट प्रयोग गरि नियमित सफा गर्ने, भाडाकुँडा या कपडा धुँदा पन्जा लगाएर धुने वा मेशिनमा छुट्टै धुने र घाममा सुकाउने आदि कुराहरु उल्लेखित छन् । स्वास्थ्य, सरसफाई र पूर्वाधारका कुराहरु यसमा समेटिएका छन् ।

घर आइसोलेशनका यी प्रावधानहरु पढिरहँदा मैले नेपालका शहरी र ग्रामीण भेगका बस्ती र बस्ने शैली सरर सम्झिएँ । पहिला शहरकै कुरा गरौं । घरबेटी र डेरावाल गरि दुई वर्गका मानिस शहरका थरिथरि घरमा बस्छन् । कथा डेरावालबाटै शुरु गरौं । डेरावाल थरिथरिका छन् । एउटा साझा बैठक/पाहुना कोठा, एउटा भान्सा, एउटा सुत्ने कोठा र एउटा बाथरुम सहित सानो फ्ल्याट लिएर बस्ने साना बच्चासहितका दम्पती वा दम्पतीमात्र वा राम्रै पैसा कमाउने अविवाहित युवायुवती शहरमा धेरै छन् । सपरिवार अलि ठूलो फ्ल्याट (एउटा छुट्टै बैठक कोठा, एउटा अट्याच बाथरुम सहितको सुत्ने कोठा, साझा शौचालय/बाथरुम, थप २—३ सुत्ने कोठा, भान्सा र डाइनिङ कक्ष) लिएर बस्ने उच्च मध्यम वर्ग र उच्च वर्गका ब्यक्तिहरु पनि शहरमा धेरै छन् यस्तो बसाईमा बैठककोठा पाहुना कोठाको रुपमा पनि प्रयोग गर्न मिल्नेगरि होचा दुईवटा खाटहरु पनि राखिएका हुन्छ । एउटा सुत्ने कोठा र एउटा भान्साकोठा भाडामा लिएर बस्ने, एउटा कोठामा एक्लै बस्ने, एउटा कोठामा दम्पती बस्ने, एउटा कोठामा एकजना बस्ने, दुईजना विद्यार्थी मिलेर दुईटा खाट र एउटा कुनामा किचेन र्याक राखेर त्यही पकाएर खाने अनि ज्याला मजदूरी गर्ने ५—७ जना मिलेर एउटै कोठामा सुखदुख बस्ने—खानेहरु पनि धेरै छन् । यसरी शहरमा भाडावालाहरु थरिथरिका छन् । ससाना टहरा र अन्तरिम आवास (१ वा २ कोठा, एक भान्सा र शौचालय वा एउटैमात्र कोठामा एक्लै वा धेरैजना) मा गुजारा चलाउने निम्न आय भएका ब्यक्तिहरु पनि शहरमा धेरै छन् ।

श्हरलाई सरसर्ती नियाल्दा जति नै ठूलो र अग्लो घर भएपनि अधिकांश घरबेटीको भागमा १.५ तलाजति पर्छ । उनीहरुको बसाईको शैलीलाई नियाल्दा एउटा बैठक कोठा, साझा बाथरुम/शौचालय, एउटा एट्याच बाथरुम/शौचालय भएको कोठा, थप २—३ सुत्ने कोठा अनि कौशी सहितको माथिल्लो तलामा भान्सा, डाइनिङ कक्ष, पूजा गर्ने ठाउँ, साझा शौचलय र लुगा धुने मेशिन राख्ने ठाउँ हुन्छ । थोरैको मात्र छुट्टै पाहुनाकोठा हुन्छ । घर भाडामा दिने अधिकांश घरबेटीको बैठक कोठामा पनि सोफासंगै दुईवटा होचा खाटहरु पनि हुन्छन् । त्यसकारण बैठक कोठाले पाहुना कोठाको पनि काम गर्छ । सिंगै घर घरधनीले मात्र प्रयोग गर्ने ,सानो अपार्टमेन्टमा बस्ने, हाउजिङमा सिंगो घर लिएर बस्नेहरुको संख्या धेरै पातलो छ ।

काठमाडौंकै कुरा गरौं । यहाँ थरीथरीका घरबस्ती छन् । शहरको मध्यभागमा पुरानो र निकै बाक्लो बस्ती छ । ती घरमा घरबेटी र डेरावाल दुबै बस्छन् । त्यहाँ छानो वा छत जोडिएका घरहरु छन् । मध्यभाग भन्दा वरिपरि पक्की घरहरु छन् । त्यो सेरोफेरोमा सवारी साधन नहुने विद्यार्थीहरुको बसोवास बढी छ (कीर्तिपुरको कुरा छुट्टै भयो) । मध्यभाग र मध्यभागको वरिपरि फ्ल्याटभन्दा कोठा बढी चल्तीमा छ । रिंगरोडको वरिपरि र त्योभन्दा बाहिरचाहि कोठाभन्दा सानो फ्ल्याट लिएर बस्नेहरु र मोटरसाइकल हुने डेरावालहरु बढी छन् । रिंगरोड बाहिर कोठा दिने चलन अलि कम छ । यसरी एउटा शहर थरिथरि घरबेटी र डेरावालले भरिएको छ । घर, कोठा, फ्ल्याट थरिथरि छन् । काठमाडौं बाहिरका शहरमा चाहि भित्री र बाहिरी दुईखाले बस्ती छन् । प्रत्येक शहरका न्यूरोड वा मूलसडक भनिने ठाउँहरु ब्यापारिक गतिविधिका लागि चर्चित छन् भने बाकी ठाउँहरु आवासीय प्रयोजनका लागि चल्तीमा छन् । राजमार्गमा चाहि रिबनजस्ता लामालामा बस्तीहरु छन् । ती बजारमा चाहि घरहरु पूरै जोडिएका छन् । भुइँतल्लामा ब्यापारिक गतिविधि र माथिल्ला तल्लाहरुमा कोठा भाडामा दिने, घरबेटी माथिल्लो तल्लामा बस्ने जीवनशैली देखिन्छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, बजार, र गाउँ आदि विविध नाम भएका बस्तीहरुमा कोरोना संक्रमित सदस्यलाई घरभित्रै राख्दा केकस्तो अप्ठेरो पर्ला त ? अब त्यसको लेखाजोखा गरौं । शुरुवात शहरबाटै गरौं । बंगला हुनेहरुलाई होम आइसोलेशनमा समस्या पर्दैन । बंगलामा बाथरुम/शौचालय धेरै बनाईन्छ । प्रत्येकजसो कोठामा बरण्डा पनि बनाईन्छ । त्यसैले नुहाएपछि लुगा सुकाउन, खाना खाएपछि भाडा सुकाउनपनि त्यति अप्ठेरो पर्दैन । घाम ताप्नपनि समस्या हुँदैन । घरका केही तला भाडामा दिएर १—१.५ तला आफूले प्रयोग गर्ने घरबेटीलाई छुट्टै कोठामा बस्न समस्या नभएपनि बाथरुमको चाहि समस्या पर्नसक्छ । परिवारमा एकजना मात्र संक्रमित हुँदा बाथरुम जोडिएको कोठा प्रयोग गर्न दिईयो भने धेरै सजिलो हुन्छ । २—३ जनालाई संक्रमण भयो भने अथवा बाथरुम जोडिएको कोठा छैन भने कोरोना नेगेटिभ नआएसम्म एउटा बाहिरी बाथरुम/शौचालय संक्रमित सदस्यलाई प्रयोग गर्न दिएर बाकीले अर्को प्रयोग गर्न सकियो । यहाँपनि त्यति समस्या भएन ।

ठूलो फ्ल्याट लिएर बस्नेहरुसंग घटीमा दुईवटा बाथरुम/शौचालय हुन्छ । कोठापनि प्रशस्त हुने हुँदा १५—२० दिन अलक्क बस्न, खान खासै समस्या हुँदैन । सपरिवार बसिएको छ र एउटामात्र शौचालय छ भने त्यहाँचाहि थप केही अप्ठेरो अवस्था आउँछ । सचेत भएर हरेकपटक सफा गर्दै प्रयोग गर्न सकिन्छ । कोठाकोठा भाडामा दिईएको घर छ र भाडामा बस्ने सबैका लागि एउटामात्र शौचालय छ भने त धेरै अप्ठेरो अवस्था आउँछ । अझ एउटै कोठामा धेरैजना बसिएको छ भने त त्यसले निकै जटिलता ल्याउँछ ।

होम आइसोलेशनमा बस्न गाउँमा चाहि त्यति धेरै अप्ठेरो हुँदैन । कोही सदस्यलाई कोरोना संक्रमण भयो भने मूल घरसंगै जोडेर काठ र जस्तपाता प्रयोग गरि तुरुन्त अस्थायी कोठा बनाउन सकिन्छ । बारीको छेउमा टिन र बोरा बारबेर गरेर अस्थायी शौचालयपनि बनाउन सकिन्छ । धन्सार सफा गरेर पनि बस्न सकिन्छ । पिढिको छेउमै बारेर पनि बस्न मिल्यो । पुग्दो कोठा छ भने त समस्यै भएन । घर टाढाटाढा हुँने हुँदा छिमेकीलाई सर्ला कि भनेर डराउने अवस्थापनि रहँदैन । गाउँमै असाध्यै बाक्लो बस्ती छ र कोठाचोटा मिलाउने ,शौचालय बनाउन सक्ने अवस्था छैन भने गाउँलेहरु मिलेर बस्तीको नजिकै सामूहिक आइसोलेशन पनि बनाउन सक्ने सम्भावना रहन्छ । तर शहरमा एउटा कोठा लिएर बस्ने, एउटै शौचालयले धेरैजनाले प्रयोग गर्ने, एउटै कोठामा धेरैजना बस्ने अवस्थाले यसले धेरैथरी जटिलता निम्त्याउँछ । जेष्ठ नागरिक, अपांगता भएका ब्यक्ति, सुत्केरी महिला र बालबालिकालाई थप कष्ट निम्त्याउँछ । घरबेटीले सहज ब्यवहार नगरिदिंदा मानसिक तनावपनि भोग्नुपर्ने हुन्छ । शहरमा घरैघर जोडिने हुँदा एउटाको घरमा कोरोना लागेमा पूरै टोल नै आतंकित हुन्छ । आतंकित भएको टोलले सहज ब्यवस्था मिलाउन मद्दत गर्नुसट्टा उनीहरुलाई राम्रो ब्यवहार नगर्ने ,आतंकित हुने, परपर भाग्ने, अप्ठेरोमा मद्दत नगर्ने जस्ता घटनाहरु भईरहेका पनि छन् ।

यसरी हाम्रा घरबस्ती र बसोवासको शैलीलाई सरसर्ती नियाल्दा निकै थोरै नागरिकले मात्र होम आइसोलेशन वा होम क्वारेन्टिनमा सहजै बस्न सक्ने अवस्था देखिन्छ ।

अन्तमा आफ्नै अनुभव जोड्छु । असोज दोस्रो हप्ता काभ्रे र सिन्धुपाल्चोकका क्वारेन्टिन र आइसोलेशन सेन्टरबाट फर्केपछि म १५ दिन घर क्वारेन्टिनमा बसें । टिचिङ अस्पतालमा नर्सिङ विषयमा स्नताकोत्तर तहमा अध्ययनरत मेरी श्रीमती रन्जिताजीपनि अस्पतालको केही दिनको प्रयोगात्मक अभ्यास सिध्याएर घर क्वारेन्टिनमा बसिन् । म फिल्डबाट फर्केको ७ दिनपछि उनी आइन् । हाम्रो घरमा दुईवटा शौचालय र एउटा छुट्टै नुहाउने कोठा छ । मैले लेखपढ गर्ने सानो कोठालाई आफ्नो क्वारेन्टिन बनाएँ, सधैं बस्ने गरेको कोठा रन्जिताजीको क्वारेन्टिन बन्यो । शौचालय साझा रुपमा प्रयोग गर्नुपर्ने भयो । बाआमाले प्रयोग गर्ने शौचालय प्रयोग गर्ने कुरै आएन । अनि हामी अलिकति डरायौं । एकजना अस्पतालबाट, एकजना फिल्डबाट फर्केको । हामीले प्रयोग गरेपिच्छे शौचालयको ढोकाको ह्यान्डल, चुकुल, बेशिनको धारा, फ्लस, बिजुलीको स्वीच लगायत सबै ठाउँमा हरेक पटक औषधी छर्केर मात्र प्रयोग गर्यौ । दिनभर पटकपटक यसै गरिरहनुपर्यो । एकजनामा कोरोना छ र अलिकति मात्र चुकियो भने सर्ने डर । त्यसै यो काममा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । घरभित्र मास्क कहिल्यै छोडेनौं । बा आमाले खाना ल्याएर हाम्रो थालमा अलक्क राखिदिनुहुन्थ्यो । हामी टाढाटाढा बसेर खान्थ्यौं । आ—आफ्ना भाडा माझेर घाममा घोप्ट्याउथ्यौं । साबुन, खानेपानीको जग, गिलास, ब्रस, मन्जन आफ्नो कोठामा राख्थ्यौं । छततिर जाँदा ढोकाको चुकुल खुट्टाले खोल्थ्यौं । च्यानलगेट पनि खुट्टाले खोल्थ्यौं । बाले साझा ढोकाहरु प्राय खुल्लै राखिदिनुहुनथ्यो । छतमा बस्ने मुढापनि आ—आफ्नो प्रयोग गर्दथ्यौं । कोठाबाहिर सबैसम्म निस्कन्थ्यौं । घरभित्रको घुमघाम, बातचित, छलफल लगभग ठप्पै थियो । छतमा जाँदा भर्याङको रेलिङ झुक्किएर छोइएला कि भनेर सचेत हुन्थ्यौं ।

यसरी कोरोना नलागीकनै कोरोना लागेझैं १५ दिन घरभित्र गुर्जादा घर आइसोलेशनको मर्म राम्ररी बुझियो । साँघुरो बसाई छ भनेपनि सकेसम्म घलमिल नहुने, मास्क लगाईरहने, हात सफा गरिरहने, आफ्ना लुगा आफैंले धुने, आफ्ना भाडा आफैंले माझ्ने, एउटै थाल कचौरा, गिलास प्रयोग गर्ने, ती सामान आफैंसंग राख्ने र बाथरुम प्रयोग गर्दा शत प्रतिशत सचेत हुने, स्वीच कुइनाले थिच्ने, ढोका खुट्टाले धकेल्ने, चुकुल र धारा छोएपिच्छे औषधी छर्किने जस्ता काम गरे घर आइसोलेशन वा घर क्वारेन्टिन जिन्दगीले परिवारका सदस्य वा छरछिमेकलाई नपिर्ला कि ? मैले त घर क्वारेन्टिन जिन्दगी निकै अलक्क बसेर गुजारें । तपाईंहरु पनि सकेको अलक्क बसेर कोरोना बार्नुस् है । अलक्क बसे कोरोना हलक्क बढ्दैन । कोरोना हलक्क बढ्नु दुख पाउनु हो । आफ्नो घर, फ्ल्याट, कोठा अनुरुप थप सचेत होऔं । संरचना सुधार्न सकिन्छ । मिलाउन सकिन्छ । तर बानी सुधारे सस्तो पर्छ । जोखिमबाट जोगिन रहर गर्नेको जय होस् ।

(हिमालखबर डटकममा २०७७ साल कार्तिक २७ गते मंगलबार प्रकाशित लेख)

घुमघामका अप्ठेरा घुम्ती

नेपालले सन् २०२० लाई घुमघाम वर्ष (पर्यटन वर्ष) का रुपमा मनाउने रहर गरेको थियो र त्यसै अनुरुपका कार्यक्रमहरु बनाएको थियो । कोभिड–१९ विश्व भ्रमणमा निस्किएसँगै यो कार्यक्रमा ब्रेक लाग्यो । घुम्नु परको कुरा, घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था आयो । अहिले त नागरिक डर प्रतिरोधी भइसकेका छन् । डराएर होइन, सचेत भएर तथा सुरक्षा मापदण्ड पालना गरेर जीवनको रथ गुडाउने चेत पलाएको छ । दैनिक जीवनयापनबाहेक दशैंको मेसोमा पर्यटकीय गतिविधि पनि केही चलमलाएको देखियो । प्याराग्लाइडिङको सहायताले हावामा कावा खाँदै रमाइरहेका नागरिकका तस्वीर र भिडियोले सामाजिक संजाल रंगीएका छन् । ठाउँ—ठाउँबाट सुन्दर हिमालका तस्वीर निरन्तररुपमा छाइरहेका छन् । राजधानीका आसपासका पर्यटकीय गन्तव्यसँगै पोखरा, सौराहालगायतका चल्तीका ठाउँमा दशैंको मेसोमा आन्तरिक पर्यटकको चहलपहल देखियो । त्यो चहलपहलले पर्यटन व्यवसायीलाई थोरै भएपनि राहत दिएको छ ।

कोभिड–१९ महामारीले ल्याएको आँधी छिट्टै थामिएलाजस्तो छैन । ढिलोचाँडो आँधी थामिएपछि विदेशी पर्यटक फेरि नेपाल भित्रनेछन् भन्ने आशा गरौं । प्रकृतिले अनन्त सिंगारेको यो देश साहसिक पर्यटनका लागि संसारभर चर्चित पनि छ । अक्करे भीर, डरलाग्दा हिमाल र डरलाग्दा नदी साहसिक पर्यटनका रहरलाग्दा गन्तव्य बनिरहेका छन् । हिँड्न, डाँडाकाँडा चढ्नका लागि पनि बाह्य पर्यटक नेपालका विभिन्न ठाउँ पुग्छन् ।

नेपाली पर्यटक पनि गरुंगा झोला बोकेर, क्यामेरा भिरेर डाँडापाखा डुल्न अभ्यस्त भइसकेका छन् । स्वदेशीलाई पर्यटक नै नमान्ने चालचलन फेरिदो क्रममा छ । डाँडाकाँडा घुम्दा सञ्चो र आनन्द महसुस गर्नेहरु बढिरहेका छन् । यो आन्तरिक पर्यटनका लागि सुखद् पक्ष हो । तर पर्यटकलाई घुमाउने नाममा नेपाललाई सधैं अक्करे भीरको देश र गाउँका नागरिकलाई ‘भीरमौरी’ बनाउनु चाहिँ हुँदैन । अर्थात, विकासका नाममा जथाभावी डोजर जोत्नु गलत परिपाटी हो । पर्यटन र विकासको लय नमिल्दा देश न त गरिखान सहज बनेको छ न त घुमिसक्नु नै बनेको छ । साहसीक पर्यटनका लागि चल्तीका पदमार्गलाई जोगाएरै तथा प्रकृतिलाई दोहन नगरी स्थानीय नागरिकको दैनिक जीवनयापनका लागि सहज राजमार्ग, जलमार्ग र केबुलकारहरु बन्न सके देशको कथा अर्कै हुन्थ्यो । तर त्यसो भइरहेको छैन । केबुलकार तीर्थाटनमै सीमित छ । जलमार्ग एकाध रामरमितामै सीमित छ । नक्शांकन नगरी जथाभावी जोतेरै देश बनाउन खोज्दा जता गएपनि डाँडापाँखा छियाछिया देखिन्छन् । न हिँडिसक्नु, न गुडिसक्नु न उडिसक्नु । डाडाँपाखाको देश भएकाले देशभर घुम्तीहरु छन् । भूगोलले बटारेकोमा चित्त दुखाई छैन । तर सेवा, सुविधाको लय नमिलेकाले ती घुम्तीहरु मन बहलाउने खालका छैनन् ।

दूरदराजका कष्टकर तर रोमाञ्चक गन्तव्यबाहेक सानाठूला शहर छेउछाउँका सुन्दर र आकर्षक गन्तव्य पनि नेपालमा धेरै छन् । हेलिकप्टर चढेर सगरमाथाको फेदमा ब्रेकफास्ट खानेदेखि कलाकौशलले भरिएको द्धारिकाज रिसोर्टमा बास बस्ने सुविधा छ भनेर अन्तर्राष्ट्रियस्तरमा चर्चा भएपनि त्यतिले मात्र मख्ख परेर भएन । हेलिकप्टर चढ्ने, महंगा पर्यटकीय गाडी तथा निजी गाडी चढ्ने पर्यटकलाई त नेपाल रमाइलै होला । तर, सार्वजनिक सवारी प्रयोगकर्ताका लागि पनि त नेपाल घुम्नलायक देश बन्नुपर्यो । सानाठूला शहर छेउछाउँका असाध्यै चलनचल्तीका गन्तव्यहरु सहज सार्वजनिक सवारी साधनको अभावमा कसरी ‘साहसीक’ भन्न मिल्ने गरी अप्ठेरा गन्तव्यहरु बनिरहेछन्, त्यसैबारे चर्चा गर्दैछु ।

काठमाडौं, पोखरा, भरतपुरलगायतका चल्तीका नेपाली शहरहरु फराकिला उपत्यकामा फिजिएका छन् । वरिपरि सुन्दर डाँडापाखा, ताल तलैया र नदी भएपनि यी सहर सफा, सुन्दर र मनमोहक बन्न सकेका छैनन् । काठमाडौं उपत्यकाको कलाकौशल, पोखराका तालतलैया र भरतपुरको हरियोपरियो विस्तारै खुइलिँदै जान थालेको छ । नेपालका सबै शहरहरु अव्यवस्थित तरिकाले ससाना प्लटमा घरले भरिने र अरु सार्वजनिक सम्पत्तिहरु मासिने समस्याले ग्रस्त छन् । शहर थकान उत्पादन केन्द्रजस्तो बनेकाले होला, थाकेका शहरवासी वरिपरीका डाँडाकाँडा पुगेर मन बहलाउने रहर गर्छन् । रैथाने शहरवासीबाहेक टाढा–टाढाबाट ती शहरमा आएका पर्यटकपनि डाँडाछेउँका गन्तव्यमा जान रुचाउँछन् ।

डाँडामा पुगेपछि दृष्टि बेस्सरी फिजारिन्छ । एकैपटक परसम्म देखिन्छ । प्रकृतिको नजिक पुगेको महसुस हुन्छ । हल्लाखल्लाले थर्किएको कान, प्रदुषणले थाकेको आँखाले शान्ति महसुस गर्छन् । त्यसैले ठूला शहर नजिकैका सुन्दर डाँडाकाँडाहरु चल्तीका पर्यटकीय गन्तव्य बनेका छन् । गन्तव्य बनेपनि डाँडाको विकास प्रकृतिमैत्री र रैथाने वास्तुकलामैत्री बन्न सकेको छैन । पर्यटक पुग्ने सबै ठाउँलाई ठमेल बन्ने रहर छ । त्यसैले त मनकामना सेरोफेरोको वस्ती होस् या नगरकोट, ती बस्तीहरुमा आफ्नोपन पटक्कै भेटिदैन । पानी कसरी जोगाउने, हरियोपरियो कसरी जोगाउने, फोहोर व्यवस्थापन कसरी गर्ने, वस्तीलाई कसरी मौलिक डिजाइनयुक्त बनाउने भन्नेतिर चिन्ता, चासो र चिन्तन देखिएको छैन । बडाबडा होर्डिङबोर्ड, काला तारको गुजुल्टो र अग्ला घरले डाँडाकाँडाको सौन्दर्य खस्किरहेको छ । सकेसम्म अग्लो भवन बनाउने र बढी पैसा कमाउने होडमा डाँडाकाँडाको गन्तव्य रमाइरहेको छ ।

प्रकृतिले मुठी फुकाएर दिएकाले ठूला शहर वरिपरिका सुन्दर डाँडाकाँडा पर्यटकीय आर्कषणको गन्तव्य त बने तर गन्तव्य बनेरमात्र भएन । पुग्नलाई सजिलो र सुरक्षित बाटो चाहियो । त्यो बाटोमा पर्यटकमैत्री सार्वजनिक सवारी साधन चाहियो । सँगसँगै एकाध घण्टामै हिँडेर पुगिने ठाउँमा सहज र सुरक्षित पैदलमार्ग पनि भए धेरै राम्रो । सम्मानजनक व्यवहार गर्ने कर्मचारी भएका सफा र सुविधाजनक सार्वजनिक सवारी साधन भैदिए ती गन्तव्यमा पुग्ने पर्यटक कति खुसी हुन्थे होलान् । त्यहाँ जानेको संख्या अझ कति बढ्थ्यो होला । ४ महिना व्यापार गरेर ८ महिना सुनसान हुने गन्तव्यमा बाह्रै महिना चहलपहल र व्यापार हुन्थ्यो होला । तर नेपालका अधिकांश गन्तव्य सहज सार्वजनिक सवारी साधनबाट जोडिन सकेका छैनन् ।

डाँडाकाँडाको के कुरा, भक्तपुरजस्तो उत्कृष्ट र सुन्दर पर्यटकीय गन्तव्य पर्यटकमैत्री सार्वजनिक सवारीसँग जोडिएको छैन । बाटो जति फराकिलो भएपनि उही कोचाकोच, घच्चमच्च र ढिलासुस्ती यात्रा उहिल्यैदेखि चलिरहेको छ । कार र मोटरसाइकल गुडेरमात्रै हुँदैन । पर्यटकीय गन्तव्य सहज र शुलभ सार्वजनिक सवारीबाट पनि जोडिनुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाले शहर क्षेत्रमा नगर बस सञ्चालनमा ल्याएको छ । कोहलपुरदेखि रुपैडिया बोर्डरसम्म सहज यात्राको व्यवस्था मिलाएको छ । घाँटीमा परिचयपत्र भिरेका र सबैसँग शिष्ट व्यवहार गर्ने महिला सहचालक देखेर बस चढ्नेले गर्व महसुस गर्छन् । यी एकाध उदाहरणबाहेक पर्यटकसँग पाइला पाइलामा पैसा असुल्ने नेपालका अधिकांश स्थानीय सरकारले सहज र शुलभ नगर यातायात सुरु गर्ने रहर गरेका छैनन् । यसो हुन सके पर्यटकीय गन्तव्यमा पर्यटक र स्थानीयवासी सबैले सुविधा पाउँथे । ती गन्तव्यको पर्यटकीय गतिविधि झन् फस्टाउँथ्यो ।

पर्यटकलाई सजिलोसँग जोड्न नजानेका गन्तव्य नेपालमा धेरै छन् । सानाठूला शहर नजिकका केही असाध्यै चल्तीका गन्तव्यको चर्चा गरौं । काठमाडौंबाट नगरकोट र ककनी नजिकै छ । केबुलकारबाट जोडिएको असाध्यै सुन्दर गन्तव्य कालिञ्चोक पनि दोलखाको सदरमुकाम चरिकोटबाट धेरै पर छैन । तनहुँको डुम्रेबाट बन्दीपुर र पोखराबाट सराङकोट पनि नजिकै छन् । यी डाँडाहरु सुन्दर छन् । हावापानी राम्रो छ । पर्यटकको ओइरो उहिल्यैदेखि तानिएकै छ । तर यी ठाउँमा नजिकको सहरबाट सार्वजनिक सवारी साधन प्रयोग गरेर पर्यटक सजिलै पुग्छन् त ? पुग्दैनन् । सहरबाट अत्यन्त नजिकका यी गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकले अनेक सास्ती भोग्न बाध्य हुन्छन् । बेकारमा डाँडा चढ्ने रहर गरिएछजस्तो महसुस हुन्छ । मोटरसाइकल, ट्याक्सी र कार/जीप चढ्नेले आनन्द नै मानेका होलान् । मोटरसाइकल र स्कोरपियो जिपको लर्को त यी गन्तव्यमा लामै देखिन्थ्यो कोभिड कालअघि । तर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने पर्यटकलाई यी गन्तव्यले धेरै सकस दिन्छ ।

काठमाडौंबाट नगरकोट धेरै टाढा छैन । पर्यटकीय सुविधाका होटलको पनि दुःख छैन । तर त्यहाँ पुग्न पटक्कै सजिलो छैन । रत्नपार्कबाट सिधै नगरकोट जाने बस नै छैन । नगरकोट पुग्न पहिला रत्नपार्कबाट भक्तपुरको कमलविनायक पुग्ने बस चढ्नुपर्यो । कमलविनायक पुगेपछि नगरकोट जाने बस खोज्नुपर्यो । साह्रै सास्ती दिनेगरी कोचाकोच गरेर यात्रु भरेपछि बल्ल नगरकोटका बस ढलढल ढलपल गर्दै गुड्छन् । नगरकोट जाने बसपार्क देख्दा र बसमा छिर्दा नै बेकारमा जान लागेछुजस्तो भान हुन्छ । केही वर्षदेखि बनाउने नाममा बाटो अलपत्र पारेर नगरकोट गइनसक्नु बनेको छ । असाध्यै धूलाम्य यो बाटो ढिलोचाडो बन्ला तर बाटो बनेपनि बसको हालत त उही हो । पर्यटकलाई बसका सहचालक र चालकले गर्ने हप्कीदप्की व्यवहार त उही हो । रत्नपार्कबाटै राम्रा, सजिला, सफा र सुविधाजनक बस चलाए, त्यस्ता बसमा राम्रो आनीबानीको तालिम पाएका चालक र सहचालक राखे नगरकोट जान कति हौसिदा हुन्, स्वदेशी तथा विदेशी पर्यटक । तर त्यस्तो हुनेवाला छैन । पर्यटकलाई दुःख दिएरै पर्यटन विकासको हल्ला गर्न सबैलाई सजिलो छ । पर्यटकलाई सताएरै यो देशको पर्यटन उद्योग चलिरहेको छ । नगरकोटमा पर्यटकलाई सेवासुविधा त कता हो कता, सार्क राष्ट्र बाहेकका पर्यटकसँग प्रतिब्यक्ति ३ सय ५० रुपैयाँ र सार्क राष्ट्रका पर्यटकसँग (नेपालीलाई होइन) २ सय ५० रुपैयाँ असुल्न थालिएको छ ।

नगरकोटको जस्तै हालत छ तनहुँ र पोखरामा । पोखरा पुग्नुअघिको सुन्दर र चल्तीको गन्तव्य हो बन्दिपुर । तनहुँको डुम्रे बजार पुगेका पर्यटक बन्दीपुर पुग्नुअघि नै हत्तु भइसकेका हुन्छन् । डुम्रे बजारमा थोत्रा बसको घण्टौंसम्मको पर्खाइ र कोचाकोच यात्राले अत्यास लाग्छ । न सजिलै पुगिन्छ, न सजिलै फर्कन पाइन्छ । ठूलो स्वागत गेटभित्र छिर्दा मख्ख परेका पर्यटक फर्कदा नमिठो अनुभूति लिएर फर्कन्छन् । यातायातको उचित प्रबन्ध नहुँदा अरु राम्रा कुरा पर्यटकले भसक्कै बिर्सन्छन् । यो तथ्य आत्मसात गर्नुपर्छ । पोखराको सराङकोट पुग्नेको हालत पनि उस्तै छ । पोखराको बाग्लुङ बसपार्कमा कोचाकोच भएर भरिएपछि बल्ल बस उकालो लाग्छन् । मुस्किलले एउटा बस अट्ने साँघुरो बाटो, गाडीचाहिँ दोहोरो गुड्न खोजेपछि जामले थलिन्छ यात्रा । सराङकोट पुग्दा नै मन थाकिसकेको हुन्छ । थाकेको मनले नियालेको दृश्य त धमिलो पो हुने रहेछ । २०७६ सालको दशैंताका त्यसरी नै हत्तु भएर सराङकोट पुग्दा मेरो पनि मन गह्रौँ भएको थियो । सार्वजनिक सवारी साधनमा चढेर अलिकति उकालो उक्लिएपछि देखिँदो रहेछ पोखराको पर्यटनको हविगत ।

अत्यन्त चल्तीका र शहर वा राष्ट्रिय राजमार्ग नजिकैका नगरकोट, ककनी, बन्दीपुर, सराङकोट, कालिञ्चोक केही प्रतिनिधि उदाहरणमात्रै हुन् । देशको पर्यटनको सिंगो चित्र यस्तै छ । पोखराबाट लुम्बिनी जाने पर्यटकले सजिलोसँग यात्रा गर्न पाउँदैनन् । पर्यटकीय सुविधाका एकाध बसहरु त छन्, डिलक्स नाम जोडिएका । तर तिनले अत्यन्त कमसल होटलमा अस्वस्थकर खाना महंगोमा खान बाध्य बनाउँछन् । पोखराबाट लुम्बिनी राम्रोसँग जोडिएको होला भन्ने मेरो अनुमान थियो । तर त्यसो होइन रहेछ । कालोपत्रे सडकले जोडिएपनि यात्राको अनुभव भने अलपत्रे नै रह्यो ।

पर्यटक हुन् या आम सर्वसाधारण, सबैले पैसा तिरेवापत सेवा पाउनुपर्छ । सजिलो सडक, सफा होटल र सहज सार्वजनिक सवारी साधन र ब्यक्तिगत सुरक्षा पर्यटकीय विकासको पूर्वशर्त हो । बाटो राम्रो बनाएर मात्र भएन । सहज यात्रा गर्न पाइएन भने बाँकी सबै कुरा फिक्का बन्छन् । केही सोधे कसैले हप्काउला कि ? केही किने कसैले ठग्ला कि ? केही खाए थला परिएला कि ? कसैले लुट्ला कि ? यस्तो त्रास बोकेर गरिने यात्राले के रमाइलो देला ?

प्रकृतिले दिएको अद्भूत सौन्दर्यले तानिएर स्वदेशी तथा विदेशी पर्यटक नेपालका कुनाकाप्चा डुलिरहेका छन् । तर डुलेर फर्कदा अनेकखाले सास्तीको चित्रले हिमाल र पहाडको चित्र नै धमिलो बन्छ । हिमाल, पहाड होस् या तराई जतासुकै सास्तीको साम्राज्य चलिरहेको छ । सजिलै पुग्छु, सजिलोसँग बस्छु र सजिलोसँग हलुको मनले फर्कन्छु भन्न सकिने गन्तव्य ठूला सहरभन्दा पर कता छ खै ? अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्गमा चल्ने डिलक्स बस, तारे होटलको चर्चा चुलिएकै छ । तर छोटो दूरीमा सहज सार्वजनिक साधनको ब्यवस्था मिलाउन स्थानीय सरकारको ध्यान पुगेको छैन । सहज सार्वजनिक सवारीले पर्यटकीय गन्तव्य जोड्न जानेको दिन स्थानीय सरकार, यातायात व्यवसायी र पर्यटन व्यवसायीको जय होस् ।

(२०७७ साल कार्तिक १८ गते मंगलबार इन्जिनियर्स पोष्ट डटकममा प्रकाशित)

कोरोना कहरको डायरी पल्टाउँदा….

सन् २०१९ को डिसेम्बर महिनामा चीनको बुहान प्रान्तबाट फैलन शुरु गरेको कोरोना भाइरस नेपालमा २०७६ साल चैत १० गते प्रवेश गर्यो । भाइरस पसेको खबर भाइरल हुनु अगावै नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने दबाव महसुस गरिसकेको थियो । त्यसकारण तयारी पूरा भैसकेको एसइइ परिक्षासमेत रोकियो । चैत ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । सिंगो संसार ठप्प भएको र मानव सभ्यताले अकल्पनीय कष्ट झेलिरहेको यो समयलाई लिपिबद्ध गर्ने रहर लागेर मैले चैत १० गतेबाट नै डायरी लेख्न शुरु गरें । लामै समय लेख्ने रहरले बाक्लो डायरी छानें । ‘पृथ्वीको डिलमा उभिएर’ शीर्षकमा पहिलो दिन ६ पेज लेखें । आजसम्म पनि यो लेखनलाई निरन्तरता दिइरहेको छु ।

डायरी लेखन शुरु गरेको दिनको तस्वीर

कोरोना कहर शुरु भएसंगै सिंगो संसार उत्तर कोरियाजस्तो भयो । जतासुकै ठप्प । सञ्चारले जोडिएपनि अरु सम्पर्क शुत्रहरु टुटे । जल, जमिन र आकाशबाट देशहरु छुट्टिए । सडकमा गाडी गुड्न छोडे । आकाशमा हवाईजहाज उड्न छोडे । समुन्द्रमा पानीजहाज चल्न छोडे । जहाज नदेखेर चराहरु नै अल्मलिएका हुन् कि जस्तो लाग्न थाल्यो । आकाश सफा देखियो । पानी सफा देखियो । श्वास फेर्न सजिलो भएको हो कि जस्तो महसुस भयो । पृथ्वीलाई सन्चो भएपनि मान्छेलाई विसन्चो भएकोले निरन्तर मास्क लगाउनुप¥यो । सफा देखिएको संसारमा हात धोएको धोयै गर्नुपर्ने अवस्था आयो । संसार सफा देखिएपनि भाइरसले संसारलाई कब्जामा लिइसकेको थियो । मानिसको जीवन घरभित्र कैद भयो । घरभित्र कैद हुँदा मानिसहरुले गर्ने कर्म कस्ता रहे भनेर मैले डिजिटल पत्रिका र सामाजिक सञ्जालतिर चिहाएँ । सरकारका नीतिनियम र काम बारबाहीबारे निरन्तर पढिरहें । आफ्नो फेरिएको दिनचर्या पनि जोडेर डायरीमा उतार्दै गएँ । घरै बसेर पेशा ब्यवसायमा जोडिएँ । गोरखा, बाजुरा, डोटी, बाँके रौतहटसम्म भर्चुअल तालीम, गोष्ठी, छलफल, भेला र कक्षामा जोडिदाका अनुभूति लेख्दै गएँ ।

कोरोना कहरको डायरी

लकडाउनको शुरुवातमा सबैजना तरकारी, फलफूल, अत्यावश्यक खाद्यान्न र ग्याँसको जोहो गर्नतिर लागे । बजारमा ग्याँस पाउन मुस्किल भयो । आधा सिलिन्डर ग्याँस बेच्ने चलनपनि आयो । औषधी पसलमा सुगर, प्रेसरजस्ता दीर्घ रोगका औषधीको हाहाकार भयो । सर्जिकल मास्क प्रतिगोटा २५ रुपैंया तिर्दापनि नपाउने अवस्था आयो । स्यानिटाईजर र मास्क खोज्दाखोज्दा हत्तु भएको थिएँ मपनि । सर्जिकल मास्क नपाएपछि केही हप्ता कपडाको राम्रो मास्क किनेर काम चलाईयो ।

बन्दाबन्दीको शुरुवाती चरणमा मास्क, ग्याँस सिलिन्डर, स्यानिटाईजर, दीर्घरोगीका औषधीसंगै इन्डक्सन चुल्होपनि निकै बिक्न थाल्यो । सरकारले नेशनल ट्रेडिङमार्फत सहुलियत दरमा इन्डक्सन चुल्हो बेच्न थाल्यो । इन्डक्सन चुल्हो अनलाइन मार्फत घरघरमै पठाइने चलन शुरु भएसंगै शहरको घरको दृश्य फेरियो । सफा उर्जाले घरघरमा स्थान पायो । साबुनपानीले मिचिमिचि हात धुन सिकाउने परियोजनालाई हियाउने समाज हात धुन सिक्न थाल्यो । हात धुन सिकाउने समाचार, पोष्टर र भिडियोले सामाजिक सञ्जाल र डिजिटल पत्रिका रंगिए । मास्क लगाउन सिकाईएका लेखहरु चर्चित हुन थाले । डायरीमा यी सन्दर्भहरु पढ्दा आफैंलाई अनौठो अनुभूति हुन्छ ।

कोरोना कहरपछि थपिएको इन्डक्सन चुल्हो

किराना पसल र तरकारी पसलको उद्यम कोरोनाकालमा ह्वात्तै फस्टायो । सटरै सटरको शहरमा तालैताला झुण्डिए । ब्यापारिक मल र अरु उद्यम ठप्प हुँदा तरकारी पसलमा भ्याइनभ्याई ब्यापार भयो । त्यही मेसोमा अनलाइनबाट तरकारी र फलफूल बेच्ने उद्यमपनि फस्टाएको महसुस भयो । पसलमा जान असुरक्षित महसुस गरेर मैले लकडाउनको शुरुवातीताका अनलाइनबाट २४ किलो तरकारी मगाएको थिएँ । ८ दिनमा मात्र घरमा तरकारी आईपुग्यो । कतिविघ्न ब्यस्त भएछन् । चैत १४ गते अर्डर गरेको तरकारी चैत २२ गते पो घरमा आईपुग्यो ।

सरकारले पत्रकार सम्मेलनमार्फत हरेक दिन कोरोना कहरको रिजल्ट सुनाउथ्यो । म त्यसलाई त्यो दिनको लेखाईको अन्तिम प्याराग्राफमा समेट्दै जान्थें, अझैं समेटिरहेछु । डायरी पल्टाउदै जाँदा देखें, चैत २२ गते नेपालमा एकैदिनमा ३ जनामा संक्रमण देखिएको रहेछ । ३ जनामध्ये एकजनामा स्थानीय संक्रमण देखिएपछि ‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गर्यो’ भनेर डिजिटल पत्रिकाहरुमा लेखिएको रहेछ । तीन जनामध्ये दुइ जना भारतबाट आएका र एक जनामा स्थानीय संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको रहेछ । चैत २२ गतेसम्ममा नेपालमा ९ जनामा संक्रमण पुष्टि भैसकेको रहेछ । स्थानीय संक्रमण देखिएसंगै बन्दाबन्दी थप कडाई पारिएको रहेछ । एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाईने निर्णय सरकारले गरेको रहेछ ।

डायरी पल्टाउँदै जाँदा देखें, शहर त परिकारमय भएको । लकडाउनको शुरुवाती चरण लामो विदाजस्तो भयो । घरघरमा धेरथोर अन्न जम्मा भएकै थियो । अनेक परिकार पाक्न थाल्यो । त्यसको बास्ना सामाजिक सञ्जालमा फिजिन थाल्यो । शहरका घर रेष्टुरेन्टजस्तै बने । मिठाइ पसलजस्तै बने । घरघरमा रसबरी र जेरी पाके । लड्डु र अरु अनेक मिठाई बने । खरबुजाको बोक्राको अचार निकै चर्चित भयो । आँपका अचार र अम्चुरमय भयो सामाजिक सञ्जाल ।

अचार बनाउन सुकाइएको आँप

खानपिनको रमाईलो चरण सकिएसंगै लकडाउनको पीडा देखिन थाल्यो । खाद्यान्न संकट झेलिरहेका नागरिकको खबर डिजिटल पत्रिकामा आउन थाले । कतिपय पत्रिकाले छापा संस्करण बन्द गरिसकेका थिए । छापिएका पत्रिका देख्दै डरलाग्ने भैसकेको थियो । ससाना नानी अघि लगाएर कुम्लोकुटुरो बोकेर सयौं किलोमिटर हिडेर घर गईरहेका नागरिक, उनीहरुले भोगेका कठोर कष्ट र सरकारको असहिष्णु ब्यवहारले स्थान पाउन थाले । २०७६ साल चैत १८ गतेबाट सरकारप्रति नागरिकको गुनासो बढ्न थालेको रहेछ । बन्दाबन्दी गर्ने क्रममा भारतसंग जोडिएको सिमाना बन्दगर्दा कयौं नेपाली अलपत्र परेको खबरलाई डिजिटल पत्रिकाले प्राथमिकताका साथ छापे । नाकाबाट छिर्न नपाएपछि महाकाली नदीमा ट्युबको सहायताले पौडेर नेपाल छिरेका युवालाई प्रहरीले पक्रेको नमिठो दृश्यले प्रहरी निकै आलोचित भयो । स्वास्थ्य मन्त्रीका असहिष्णु बोली र विभिन्न खरिद काण्डबारे समाचार माध्यममा खबरहरु आईरहे । राहत वितरणका नाममा नागरिकलाई अपमानित गर्ने ,नाममात्रको राहत दिएर आहत बनाउने कामले चैत अन्तिम हप्तातिरबाट व्यापकता पाएको रहेछ । बोर्डिङ स्कूलमा छोराछोरी पढाउने अभिभावकलाई राहत नदिने निर्णय गर्ने भानु नगरपालिकादेखि दीर्घरोगीलाई घरघरमै औषधी पुर्याउने, घरघरै डाक्टर लगेर नागरिकको स्वास्थ्य जाँच्ने हेलम्बुको स्थानीय सरकारका समाचार डिजिटल पत्रिकाहरुमा छाए ।

मिठोमसिनो पकाउने चरण सकिएसंगै बैशाख—जेठताका शहरमा कौशीखेती र जूम भेला एकैचोटी ह्वात्तै फिजियो । अचानक घरघरका छतमा माटो भरिएका थैला र गमला देखिए । सामाजिक सञ्जालमा जूम बैठकका स्क्रिनसट देखिन थाले । जूम बैठकका निम्तो आउन थाले । जूम बैठकका पोष्टर देखिन थाले । कौशी खेतीका बारेमा पनि जूम मार्फत अनलाइन तालिम चल्न थाले । अनलाइनमा कौशी खेती गर्ने अनेक सामान पाईन थाले । घरका रुखा छत हराभरा देखिए । मैलेपनि कौशीखेती गरें । २०७७ साल जेठ १८ गते यस्तो लेखेको रहेछु— ‘कंक्रिट रोपेर बनेको छ घरको छत । मरुभूमिजस्तो रुखो छतमा सिमेन्टकै बोरामा माटो र मल भरेर तरकारी÷फलफूल फलाउने रहर गर्दा रमाईलो अनुभूति हुने रहेछ । सिमेन्टको बोरामा माटो र मल । अनि हुर्कदो बिरुवा । बारीमा तरकारी फलाउँदाभन्दा भिन्न अनुभूति । ’

घरको छतमा बोराबारी

सधैंजसो कोरोनासंग सम्बन्धित समाचार हेडलाइन बन्ने अखबार र डिजिटल पत्रिकामा बैशाख ११ गतेचाहि कोरोनाको समाचार भेटिनै मुस्किल परेको रहेछ । सरकारले पार्टी फोर्न सहज हुने अध्यादेश ल्याएसंगै समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई प्रमका निकट सहयोगीले ‘अपहरण’ गरेको समाचार आएसंगै सरकारले थामिनसक्नु आलोचना बेहोर्यो । यो घटनाले धेरै दिनसम्म समाजलाई तरंगित बनायो । सरकारको आलोचनाको चरण लोकतन्त्र दिवसका दिन सांसद ‘अपहरण’ गरेर शुरु भएको हो । त्यो तरंग अझैंपनि धेरथोर छँदैछ ।

डायरी लेखन जारी छ ।

कोरोना कहरको डायरी लेखनलाई मैले निरन्तरता दिइरहेको छु । सरर डायरी पल्टाउँदा सम्झिएका कुरारु हुन् यी । ७ महिनामा मोटामोटा २ वटा डायरी लगभग भरिन लागे । एक दर्जनजति कलम सकिए । घटीमा १ पेजदेखि बढीमा आठ पेजसम्म लेखें । ८ बजे शुरु गरेर २ बजेसम्म पनि डायरी लेखिरहें । अझैं निरन्तरता दिइरहेको छु । कोरोना कहरको यो समयको समाजको शब्दचित्र, बन्दाबन्दी जीवनका आफ्ना अनुभूति र राज्यको कामकारबाहीको अभिलेखीकरण गरिरहेको छु । कोरोना कहरका कारण जीवनशैली फेरिएको छ । फेरिएका कतिपय कुरा अस्थायी होलान् । कतिपय कुराचाहि कोरोनाकाल अघिको जीवनमा नफर्केने गरि चल्लान् । मानव जीवनको यो संक्रमणको दस्ताबेजीकरण गर्ने सहज उपाय उपाय डायरी लेखन हो भन्ने लाग्यो । डायरीले समयको कथा बोल्छ । तथ्य, तर्क, तथ्यांक र अनुभूतिको मिश्रण हुने हुँदा साहित्य र गैरसाहित्यको मिश्रणजस्तो पनि हुन्छ । धेरै समयपछि पढ्दा आफ्नै जीवनलाई पछाडी फर्केर हेर्दाको अनुभूतिपनि हुन्छ । त्यसकारण यो कालखण्डको डायरी लेखनलाई मैले निरन्तरता दिइरहेको छु ।

(२०७७ साल कार्तिक १७ गते हिमालखबर डटकममा प्रकाशित)

कोरोनाकालको दशैं र गाउँको सम्झना

कोरोना कहरको यो बर्ष जो जहाँ छौं, त्यही अलक्क दशैं मनाउनुपर्ने अवस्था छ । यसपाली शहरबाट दशैंमा घर जानेको संख्या बेस्सरी पातलियो । ट्राफिक प्रहरीको तथ्यांकले त्यही भन्छ । दशैंको मुखमा शहरबाट गाउँ जानेको संख्या पातलिनुलाई सुखद मान्नुपर्ने भएको छ । चाडवाडमा कोरोना फैलियो भने त्यसले अकल्पनीय कष्ट जन्माउँछ । जेष्ठ नागरिक र अन्य रोग भएका ब्यक्तिलाई कोरोनाले बढी पिरेको हामीले देखिरहेकै छौं । अभिभावक र मान्यजन भेट्न जाँदा कोरोना फिजिन पुग्यो भने त्योजस्तो दुर्भाग्य केही हुँदैन । घर जानेहरुले केही दिनका लागि आफूलाई घरमै सीमित गर्नुभएको होला भन्ने आश गरौं । आफूले आफैंलाई घरभित्र परिक्षण एकान्तवासमा राख्न सकियो भने कोरोना आदानप्रदान हुनेछैन । आर्शिवाद, माया, स्नेह र हार्दिकता आदानप्रदान गर्ने चाडमा कहर आदानप्रदान गर्नै हुँदैन । अलक्क बसाईको महत्व घर जानेहरुले बुझ्नुभएकै होला भन्ने आश गरौं ।

यसपाली दशैंमा काठमाडौं सुनसान बनेको छैन । मानिसको चहलपहललाई कोरोनाले छेक्न सकेको छैन । मास्क च्यूडोतिर अडिएको छ । लाइन लागेर भौतिक दूरीको राम्ररी पालना गरेर किनमेल गर्ने रहर गरेको पनि खासै देखिंदैन । सामान अलक्क लिनेदिने, केही सामान छोएपिच्छे स्यानिटाइजर प्रयोग गर्ने बानीपनि राम्ररी बसेको देखिंदैन । किनमेलको शैली उस्तै छ । कोरोना कहरमा जो सचेत र सजग छ, उसलाई ‘डराएको’ भन्ने चलन पो बस्लाजस्तो भएको छ । दैनिक ४—५ हजार संक्रमितको संख्या सुन्दै आफ्नै शैलीमा ‘निडर’ जिन्दगी चलाउनु नेपालीको जीवनचर्या भएको छ । लकडाउनको शुरुवाती चरणमा नेपालीको मन धेरै हल्लियो । हल्लिएको मनलाई संम्हालेर सचेत र सावधानीको चरण आउनुपर्ने थियो । त्यो आएन । गुर्जो, बेसारपानी र रोग प्रतिरोधी क्षमताको गफमा हामी रमायौं । लागेपनि निको भैहाल्छ, हामी बलिया छौं भन्ने भ्रमले घर गरेको छ । परिणाम हाम्रासामु छ । कोरोना दिनदिनै डरलाग्दोसंग फिजिदैछ ।


२०६६ सालमा लमजुङमा खिचिएको तस्वीर ।

काठमाडौं पसेको १४ बर्षपछि मैले २०७२ सालमा पहिलोपटक काठमाडौंको दशैं देखें । भुइँचालो र नाकाबन्दीले थिलोथिलो भएको बर्ष थियो त्यो । भुइँचालोले भत्किएको मनलाई नाकाबन्दीले पिरेको थियो । त्यसकारण त्यो बर्षको दशैं उल्लासमय बन्न सकेको थिएन । नागरिकहरु एकपछि अर्को कष्ट झेल्न बाध्य थिए । भुइँचालोको कारण करिब ९००० ब्यक्तिले ज्यान गुमाएका थिए भने करिब ७ लाखजति घर भत्केको प्रारम्भिक तथ्यांक आएको थियो । ठूलो जनधनको क्षति र कठोर नाकाबन्दीले चाड खल्लो बनाईदियो । त्यो बर्ष म घर (तनहुँको बर्लाची गाउँ) गईन । अघिल्लो बर्ष २७ लाख जना ब्यक्तिले काठमाडौं छोडेकोमा त्यो बर्ष घर जानेको संख्या १० लाख ननाघेको ट्राफिक प्रहरीको तथ्यांक थियो ।

१० लाख सानो संख्याचाहि होइन रहेछ । १० लाख मान्छेले एकैचोटी छोडेको शहर कस्तो हुँदो रहेछ भनेर शहर नियाल्न निस्किएको थिएँ म । काठमाडौंदेखि भक्तपुरसम्मका बस्ती र प्रमुख सडक निहालेको थिएँ । ओहो । मान्छेलाई जंगल पस्दामात्रै डर लाग्ने हैन रैछ । शहरका सडक त मान्छे र सवारी साधनका अभावमा कति डरलाग्दा देखिएका । पूरै रित्तो । दिउँसै हिड्दा पनि अत्यास लाग्ने । सुनसान आकाशे पूलमा हिड्दा लुटिने भयले सताउदो रैछ । जुनेली रातमा निर्जन बनमा एक्लै हिडेजस्तो । छनलाई उज्यालो छ । तर, त्यो उज्यालोमा जीवन छैन । दन्त्यकथामा पढिने भूतले मान्छे खाएर उजाड भएको राजकुमार दिक्पालको शहरको तर्कना आयो । साँच्चै एकैचोटी १० लाख मान्छेले ‘अब फर्किन्न’ भन्दै छोडेर हिडे भने भोली कस्तो बन्ला काठमाडौं शहर भन्ने तर्कना खुबै आयो मनमा । आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि कसरी अघि बढ्ला, भाडा लगाउन बनाईएका अग्लाअग्ला घर, ठूल्ठूला ब्यापारिक मल, सिनेमा हल, मान्छे खाँदेर हिड्ने माईक्रोबस, टोलैपिच्छेका स्कूल, घरपिच्छै सटरमा थापिएका दोकानको हालत के हुने होला भन्ने सोचें ।

यसपाली कोरोना कहरले पनि शहरलाई महिनौंसम्म रित्तो बनायो । मानिसको चहलपहल रोकिएसंगै आकाश निकै सफा देखियो । श्वास फेर्न सजिलो महसुस भयो । मानिसलाई विसन्चो हुँदा प्रकृतिले निकै सन्चो मान्यो । कोरोनाले मानिसलाई महिनौंसम्म घरघरमा थुन्यो । ब्यापार, उद्यममा धेरै असर प¥यो । धेरैले रोजीरोटी गुमाए । थुनिएर कहिलेसम्म गुजारा चल्नु ? गाडीको अभावमा ससानो कुम्लोकुटुरो बोकेर परिवार अघि लगाएर ३००—४०० किलोमिटरसम्म पैदलयात्रा गरेर गाउँ गए । पैदलयात्राका क्रममा उनीहरुले भोगेका कष्टले डिजिटल पत्रिका भरिए । विद्यालय, क्याम्पस, कलकारखाना र गरिखाने अनेक बाटा उहिल्यैदेखि बन्द भएकाले धेरैजनाले शहर छोडिसकेका छन् । त्यसकारण दशैंमा शहर छोडेर गाउँ जानेको संख्या उल्लेख्य मात्रामा नदेखिएको होला ।

पोहोर काम विशेषले सपरिवार काठमाडौंमै दशैं मनाईयो । यसपाली त कोरोना कहरका कारण गाउँ जाने रहर नै गरिएन । सपरिवार यतै भएकोले पनि गाउँ जानेबारे सोचिएन । यसपाली आमाले पोहोरको भन्दा ठ्याक्कै आधा कम जमरा राख्नुभयो । अलक्क दशैं मनाउन नसके जमरा होइन, कोरोना हलक्क बढ्छ भन्नेकुरा हामीले बुझ्नु जरुरी छ । त्यही भएर जमघट नहुने अनुमानका साथ शहरको घरमा जमरा आधा घटेको छ । बाल्यकालमा जमरा राख्ने काम खुबै मनपथ्र्यो । अहिलेपनि उस्तै मनपर्छ । बारीको कुनामा गएर सबैभन्दा मलिलो ठानिएको माटो खोजेर, खनेर त्यो माटो सिलौटे बाटामा बोकेर ल्याईन्थ्यो । मसिना ढुंगा, झार सबै हटाएर डल्ला फुटाएर रहरलाग्दो बनाईन्थ्यो अनि पहिल्यै भिजाएर राखेको मकै त्यसमा रोपिन्थ्यो । हरेक दिन कसका घरमा जमरा कत्रा भए हेर्न हिडिन्थ्यो । गाउँको सिरानदेखि अन्तिमको सबै घरमा जमरा हेर्न बारम्बार गईन्थ्यो । हाम्रोतिर गहुँ र जौ होइन, मकैंको जमरा राख्ने चलन छ । गहुँ र जौंको जमरा त मैले काठमाडौं आएपछि मात्र देखेंको हुँ ।

घरको कोठाको अध्यारो कुनामा भुइँमै माटो थुपारेर जमरा राख्थ्यौं हामी । टपरामा जमरा राखेको मलाई पटक्कै मन पर्दैनथ्यो । बुच्चोबुच्चो लाग्थ्यो, झपक्क महसुस हुँदैनथ्यो । सिधैं भुइँमै माटो जमाए खनेर फाल्न अप्ठेरो हुने भएकोले कतिपयका घरमा टपरामा जमरा राखिन्थ्यो । मचाहि कुनै कोठाको अध्यारो कुनामा भुइँमै जमरा राख्न रहर गर्थें । त्यसै गरिन्थ्यो । हरिया जमरा मनपर्ने कुरै आएन । असाध्यै पहेलो बनाउन दशैंभरी कोठाका झ्यालढोका डम्म थुनेर जमरा राखेको ठाउँलाई समेत डोकोले छोपेर त्यसमाथी बोरा वा थर्कटीसमेत राख्ने गर्थें म । जमरा हलक्क बढाउन कुनै कसर बाकी राखिन्नथ्यो । हरेक दिन कसरी जमराले जरा हाले, सुईरा कसरी निस्किए, पात कसरी पलाए, सुक्ष्म निरिक्षण गर्थें । राम्रो स्याहार पाएकाले हलक्क बढेका जमरा दशैंका दिनसम्म ढल्ने गरि बढिसकेका हुन्थे ।

दशैंताका धान झुलेका फाँटहरु लोभलाग्दा देखिन्छन् ।

जमरा राख्ने कामबाहेक ‘बाटो फाड्ने’ र ‘पानी बनाउने’ काममा हामी असाध्यै रमाउथ्यौं । मलाई दशैंमा सबैभन्दा बढी मनपर्ने नै यो काम थियो । हेर्दै रमाईलो लाग्थ्यो । फूलपातीको दिन गाउँका भएभरका गल्ली, डहरमा उम्रेका झाडी फाडेर गौंडा र सिढीका ढुंगा मिलाएर, भत्केको सिढीपनि मर्मत गरेर सिनित्त पारिन्थ्यो । हरेक घरबाट एक जनाको दरले बाटो फाड्ने काममा भाग लिईन्थ्यो । बिहान चिया खाएपछि ७ बजेतिर घर नजिकको गल्लीमा जम्मा भएर हसिया, कोदालो, गल, गैची बोकेर बाटो फाड्न गईन्थ्यो । बाटो फाड्न अधिकांश घरबाट अग्रज सदस्य जानुहुन्थ्यो । बर्खायाममा गाउँका गल्ली, डहर, गल्ली, सिढीमा झाडी भसक्कै उम्रेको हुन्थ्यो । ढाँडमा पाती भसक्कै उम्रेर बाटोसमेत ढाकेको हुन्थ्यो । हिडिसाध्य हुँदैनथ्यो । गाईबस्तु हिड्दा सिढि भत्केका हुन्थे । दशैंमा टिका लगाउन गाउँघर डुल्दा, इष्टमित्र आउँदा हिड्न सहज होस् भनेर यसरी बाटो फाडिन्थ्यो । बिहान खानेपानी मर्मत गर्न गईयो भनेचाहि बाटो फाड्ने काम दिउँसो हुन्थ्यो । दिउँसो बाटो फाड्दाचाहि भब्बे (भोगटे) साँधेर खाने कामपनि हुन्थ्यो । कसैले झाडी फाड्ने, कसैले ओसारेर पाखामा फाल्ने, गौंडा र खोल्सामा बाटो फराक बनाउने, भत्केका सिढि मर्मत गर्ने काममा सबैको मन रमाउथ्यो ।

अष्टमीको दिन खसीपाठा काट्ने हुनाले पखालपुखुल गर्नलाई प्रशस्त पानी चाहिन्थ्यो । त्यसकारण खोलामा गएर टंयाकी सफा गर्ने, मुहान सफा गर्ने, पानी चुहिने सकेटहरु फेर्ने आदि काम गरिन्थ्यो । यो कामलाई चाहि ‘पानी बनाउने’ भनिन्थ्यो । पानी बनाउन जाँदापनि सबैको हातमा हसिया हुन्थ्यो । हसियाले बाटो फाड्दै पानीको मुहान भएको ठाउँमा पुगिन्थ्यो । यसरी बाटो फाडेपछि र पानी बनाएपछि गाउँमा दशैं भित्रिन्थ्यो । घरघरमा सस्याना डोरे पिङ हालिएपनि लिंगे पिङ र रोगटे पिङ त थोरैमात्र हालिन्थ्यो । लम्साल गाउँको रोगटे पिङ सबैको आर्कषणको केन्द्र थियो । पिङ मच्चाएको र खेल्नेहरु रमाएको आवाज दशैंभर गुन्जथ्यो । लम्साल गाउँको रोगटे पिङले हाम्रो गाउँ सेरोफेरोमा बेग्लै रौनक भित्र्याउथ्यो ।

पिङ, खेल्नु, नयाँ लुगा लगाउनु, बाटो फाड्नु र पानी बनाउनुबाहेक दशैंको अर्को रमाईलो पाटो थियो । म्यागेजिनका डबल र विशेष अंकहरु । हिमाल, नेपाल, नवयुवा र मूल्यांकनका दशैं अकंहरुले बेग्लै रौनक भित्र्याउथे । सानोमा मुना र सुनक्रेसा, ६—७ कक्षामा पढ्दा नवयुवा र त्यसपछि क्रमशः हिमाल, नेपाल, मूल्यांकन र गाउँमा भएका २ वटा पुस्तकालयले बेग्लै संसारमा लैजान थाले । किताबै किताबको संसार । फराकिलो संसार । ज्ञान, गुन, विवेक, विज्ञान र विचारको संसार । दशैंमा चाहि अरु किताब पढ्नुभन्दा पनि हिमालको डबल अंक र नेपालको विशेष अंकको आकर्षण बेग्लै थियो । बाले भेटेसम्म खोजेर ल्याइदिनुहुन्थ्यो । हत्पति कुनै अंकपनि छुट्दैनथे । काठमाडौंबाट आउने दाइहरुको झोलामा पनि ती पत्रिका छुट्दैनथे । यो बर्ष त पत्रपत्रिका अध्ययन अनलाइनमै सीमित भयो ।

दशैंमा किताब पढ्ने कि घरपरिवारसंग रमाउने भन्ने प्रश्न जहिल्यै उठ्छ । मचाहि दशैंमा अर्थोक किनमेलबाहेक केही रकम किताब किन्नका लागि छुट्याउछु । दशैंभरी किताब पढेर बसौं भन्ने होइन । खानेकुराको जोहोजस्तै, नयाँ लुगाको जोहोजस्तै दशैंमा केही रकम किताबमा छुट्याउन मन लाग्छ । केही महिनालाई पढ्न पुग्ने किताबको जोहो गर्छु । दशैंभर पढेर त बसिंदैन तर लेखपढलाई पनि धेरैथोर समय त छुट्याईन्छ ।

‘पानी बनाउने’,जमरा राख्ने र ‘बाटो फाड्ने’ बाहेक गाउँसंग जोडिएका दशैंका सम्झना अनेक छन् । रातोमाटो र कमेरोको आर्कषण अझैंपनि उस्तै छ । सर्लक्क लिपिएका पिढि, मोही मिसाएर कमेरो छ्यापिएका र रातोमाटो पोतिएका भित्ताको सुन्दरता र सुगन्ध मनभरि छँदैछ । टिका लगाउन गाउँगाउँ डुल्दा अग्रजहरुले ‘भित्तामा अडेस नलाग्नु है, लुगामा रातोमाटो र कमेरो लाग्ला’ भन्नुभएको कुरा कानमा गुन्जिएकै छ । अडेस लाग्दा लुगामा कमेरो वा रातोमाटो लाग्ला भनेर पिढिको खाटमा काम्लोमाथी एक—दुईवटा सिरानी पनि राख्ने चलन गाउँघरमा छदैछ । केराको घरी सर्लक्क काटेर हाता छुट्याएर भकारीमा लगेर पुर्ने र पाक्यो कि पाकेन भनेर दिनदिनै हेर्ने गरेको सम्झनापनि मनभरी ताजा छ । मासु खाने रहर त उहिल्यै बिसाईयो । शाकाहारी भएको करिब १२ बर्ष भयो । रातोमाटो, कमेरो, भोगटे, केरा, हलक्क बढेका पहेला जमरा, फूलेका पातीका झुप्पा, झाडी सर्लक्क फाडेर फराक र सफा बाटा, लेउ फालेर सिनित्त भएका धारामा जोडले आएको कन्चन पानीले शहरमा अल्झिएको मनलाई बेलाबेलामा झक्झक्याउछन् ।

दशैंको मेसोमा निबुवा पेलेर पकाउने कामपनि गरिन्थ्यो । दिनभर निबुवा पेलेर साँझतिर पकाईन्थ्यो तर खुदो पकाउदाजस्तो रमाईलो चाहि हुँदैनथ्यो । खुदो पो पाकेपनि खान पाईन्थ्यो । चुक अमिलो त हेर्नमात्र मिल्यो, खान मिलेन । दशैं सकिएको एकाध दिनपछि यो काम गरिन्थ्यो । निबुवा राम्ररी पाकेका छैनन् भनेचाहि तिहारतिर अमिलो पकाईन्थ्यो ।

आफ्नै आँगनको दृश्य । २०७४ सालको दशैंताका निबुवा पेलिएको ।

कोरोना कहरको यो बर्ष पुराना कुरा सम्झने समयजस्तो बन्यो । धेरै चहलपहल नगरि सामान्य हिसाबले दशैं मनाऔं । शहरबाट गाउँ जानेले पनि आफ्ना परिवार र इष्टमित्रलाई जोगाउने गरि अलक्क बसेर मनाऔं । दशैंमा कोरोना हलक्क बढ्न नपाओस् । सबैलाई दशैंको शुभकामना । सबैको जय होस् ।

(२०७७ साल कार्तिक ९ गते आईतवार, महानवमी)

राष्ट्रिय सभामा वामदेव कि कुलमान ?

कुलमान घिसिङ ‘उज्यालो निर्माता’ को सग्लो र अग्लो छविसहित भदौ ३० गते विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा भए । एउटा प्रशासकको विदाइ सर्वत्र चासो र चिन्ताको विषय बनेको दृश्य विरलै देख्न पाईन्छ । विधुत प्राधिकरणको कार्यकारी निर्देशकको पद अब सामान्य रहेन । लामो समयको अध्यारोपछि पाएको उज्यालो काट्ने ब्यक्ति आउँला कि भनेर जनताको मनमा अनेक शंका उब्जेका छन् । कसैले उज्यालोमा झटारो हान्ला कि भन्ने डर छ । अब आउने नयाँ निर्देशकले यो पदको गरिमा र कुलमानले कमाएको जशलाई बुझेरै काम गर्लान् भन्ने आशा गरौं ।

सर्वत्र निराशाजनक काम र गलत नियुक्तीले थिचिएको देशमा राम्रो गरिरहेको एउटा प्रशासकलाई अर्को मौका नदिइ घर फर्काइदा धेरैलाई नमिठो लाग्यो । चिन्तामात्र होइन, आक्रोशसमेत पोखियो सामाजिक सञ्जालमा । यो चासो, चिन्ता र चिन्तन स्वभाभिक थियो । उनको फैलिएको विराट ब्यक्तित्वले थप पखेटा हालोस्, उनी आफूले बालेको उज्यालोलाई अखण्ड ज्योति बनाउन भूमिका खेल्न सकून र त्यही पदमा चाहि नदोहोरियून् भन्ने भाव बोकेको मेरो लेखले (हिमालखबर डटकममा भदौ २९ गते प्रकाशित) पनि धेरै प्रतिक्रिया जन्मायो । उज्यालो निर्माता सन्तोषको श्वास फेर्दै उज्यालो अनुहारसहित विदाइ हुन लाग्दा सन्तोष लागेको हो । उनको नेतृत्वमा बलेको उज्यालोमा अब कसैले झटारो हान्न सक्दैन भन्ने मेरो विश्वास छ । पद सकिएपछि अपजशको भारी बोकेर उनले विदा हुन परेन । कार्यकारी निर्देशकको रुपमा पावर सकिएसंगै उनको ईज्जत चुलिएको छ । औलामा गन्न सकिने राम्रा ब्यक्तिको रुपमा उनी मनमनमा बसेका छन् ।

तस्वीर साभार— हिमालखबर डटकम

विधुत प्राधिकरणबाट विदा भएर कुलमान घरै बसून र प्राधिकरणमा बेथिति जन्मेर मुलुक अन्धकारमा डुबोस् भन्ने चाहना कसैले राखेको पनि होला । त्यस्तो दुस्वप्न पूरा हुनु हुँदैन । त्यस्तो दुस्वप्न पूरा हुनपनि सक्दैन । कुलमानजस्ता जनमनमा बसेका विज्ञ ब्यक्तिहरु देशको उज्यालो जोगाउने र जगाउने ठाउँमा हुनुपर्छ । आशाको किरणलाई बन्द कोठामा थुनेर अध्यारोको सहारा लिएर देश ‘चलाउने’ रहर गर्न पाईन्न । त्यसको अर्थ उनी उही पदमा दोहोरिनुपर्छ भन्ने होइन । उनीहरुलाई अझ गहन जिम्मेवारी दिनुपर्छ । त्योभन्दा माथिल्लो जिम्मेवारी दिनुपर्छ । तर सरकार त्यसो गर्न तयार छैन ।

भदौ मसान्तको विहानै भूकम्पको कडा झड्काले मन हल्लाएपनि कान्तिपुरको अनलाइन संस्करणमा एउटा आशालाग्दो समाचार पढ्न पाईएको थियो । ‘गौतमको बाटो अझैं खुलेन’ शीर्षकको समाचारले मनमा आशाको तरंग दिएपनि त्यसको भोलीपल्ट उनको सिफारिश, नियुक्ती र सपथका कार्यक्रम फटाफट सकिए । गौतम २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भए । उनी यो पराजय स्वीकार्न पटक्कै तयार भएनन् । पराजित भएलगत्तै राजीनामा गराउने पात्र देशैभर खोजिरहे । डोल्पादेखि काठमाडौंसम्म त्यस्ता पात्र खोजे । निर्वाचित सांसदलाई राजीनामा गराएर आफू उठ्ने र प्रतिनिधिसभामा जाने रहर गरिरहे । उनको यो रहरले मूर्तरुप लिएन । अन्तमा उनी मनोनित कोटाबाट राष्ट्रिय सभामा जान तयार भए । उनको रहरलाई पार्टीभित्रको संघर्षले मलजल ग¥यो । प्रतिनिधि सभाको चुनाव हारेको, पार्टीको उपाधक्ष्य पदमा रहेको ब्यक्तिलाई राष्ट्रिय जीवनमा ख्यातिप्राप्त विषय विज्ञको रुपमा लैजाने रहर गर्नु जनमतको अपमान हो । राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको रिक्त सदस्य पदमा यतिबेला सबैभन्दा उपर्युक्त पात्र त कुलमान घिसिङ थिए । उनी हुँदा त्यो सभाको गरिमा बढ्थ्यो । उनको विज्ञता राष्ट्रलाई काम लाग्थ्यो । सरकारले यतातिर सोच्दै सोचेन । सरकार जनमनको भाषा पढ्न चाहन्न भन्ने कुरा बारम्बार पुष्टि गरिरहेको छ ।

सरकार पद्दति र संस्थालाई ध्वस्त बनाउन असाध्यै सिपालु छ । प्रधानमन्त्री आफैंलाई सबै विषयको विज्ञ भन्ठान्छन् । विज्ञान र विज्ञताको बारम्बार अपमान गर्छन् । आफ्नो कार्यकालमा आफूबाहेक अरुले नाम कमाउनु हुन्न, जनताले अरुलाई मन पराउनु हुन्न भन्ठान्छन् । कसैले राम्रो काम गरिरहँदास्वतस्फूर्त भएको चर्चालाई प्रचार गरायो भनेर आरोप लगाउछन् । आफ्नो यो शैली जति आलोचित हुँदापनि सच्चिन तयार हुन्नन् । विधुत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानलाई नरुचाएका ओलीले उनलाई राष्ट्रिय सभामा किन लैजान्थे ?

प्रतिनिधिसभाको चुनावमा पराजित तथा सत्तारुढ दलको उपाधक्ष्यलाई राष्ट्रिय जीवनको ख्यातिप्राप्त ब्यक्ति तथा विज्ञहरुका लागी छुट्याईएको कोटामा राष्टिय सभामा नियुक्ती दिने अवस्था आउला कि भनेर राष्ट्रपतिलाई पनि अप्ठेरो लाग्नुपर्ने थियो । नेकपाको आन्तरिक राजनीतिमा चासो राखेको भनेर आलोचित राष्ट्रपतिले पनि यस्तो विषयमा आफ्ना सल्लाहकारमार्फत अलिकति चासो राखेर आफ्नो छवि सुधार्न रहर गर्नुपर्ने हो । राष्ट्रपतिका सल्लाहकारहरु पनि यस्तो कुरामा अलिकति सचेत हुनुपर्ने हो । तर त्यसो गरेको पाईएन । संविधानमा उक्त नियुक्ति पाउने ब्यक्तिको योग्यताका बारेमा केही नलेखिएकोले कानूनी हिसाबले उचितै होला । तर नैतिक दृष्टिकोणबाट यो काम उचित होइन । पद दिने र लिने सबैले बुझेकै छन् । ‘हारेको मान्छे विज्ञको भाग खोसेर गयो’ भन्ने आलोचना सुन्नुभन्दा कुलमान घिसिङजस्ता ब्यक्तिलाई सिफारिश गर्न सकेको भए वामदेवले ईज्जत पाउने थिए । बारम्बार पद कमाउन रहर गर्नेले कहिलेकाही त ईज्जत कमाउनपनि रहर हुने हो । तर, त्यस्तो रहर गरेको पाईएन ।

कुलमान घिसिङलाई राष्ट्रिय सभामा लैजान सकेको भए त्यसको फाईदा सरकारलाई नै हुन्थ्यो । विभिन्न नीतिगत निर्णय गर्दा राज्यले उनको विज्ञताको फाईदा उठाउन पाउथ्यो । विजुली नेपालको असाध्यै ठूलो सम्पत्ती हो । सेतो सुन हो । विजुली विज्ञ राष्ट्रिय सभामा हुनु त्यो सभाका लागी गर्वको कुरा हुन्थ्यो । आम नजरमा गलत ठहरिएका पात्र सिंगारिरहेको सरकारले आफ्नो धूमिल छवि अलिकति भएपनि सुधार्न पाउथ्यो । यो भूलसुधारको एउटा राम्रो मौका थियो । सरकारले त्यो रहर गरेन । राष्ट्रिय सभालाई विद्धतसभा बनाउन रहर नगर्नु जनमन र जनमत दुबैको अपमान हो ।

(२०७७ साल असोज १ गते बिहिबार)

सर्प पाल्ने कि चुल्हो बाल्ने ?

कोरोना कहरका कारण लामो समयदेखि लागु भएको निषेधाज्ञा अलिकति खुकुलो भएपनि जीविकोपार्जनका बाटाहरु राम्ररी खुलेका छैन्न । कामको दायरा खुम्चिएकोले दैनिक रुपमा ज्याला—मजदुरी गरेर गुजारा चलाउने नागरिकहरु सबैभन्दा बढी मर्कामा परेका छन् । निषेधाज्ञामा ठेलामा तरकारी—फलफूल बेच्ने काममा समेत रोक लगाईएको थियो । अहिले व्यापार गर्न दिइएपनि मझौला ब्यवसायीले ठेलाको व्यापारमा रोक लगाउनुपर्ने आवाज उठाएका छन् । सो कुरालाई महानगरपालिकाले पनि साथ दिएको छ तर उनीहरुको चुल्हो कसरी बल्छ भनेर सोचविचार गरिएको छैन । ठेला व्यवसायीलाई निश्चित ठाउँ तोकेर ब्यापार गर्न सहज बनाउने, उनीहरुको रेकर्ड राख्ने, स्थानीय स्तरमा संक्रमण देखिएमा सहजताका लागी सम्पर्क नम्बर राख्ने, स्वास्थ्य परिक्षण गराउने योजना छैन । महानगरसंग राहत दिने योजना छैन । मास्क, स्यानिटाइजर, अनुहार छोप्ने सामाग्री दिएर सुरक्षित तरिकाले व्यवसाय गर्न सघाउने योजना छैन । सचेतना बाड्ने योजना छैन । गरिखाने बर्गलाई रोक्ने योजनामात्र छ ।

अप्ठेरोमा परेका नागरिकको जीवन कसरी सहज बनाउने भन्ने ठोस योजना संघीय सरकारसंग पनि छैन । सिडियोमार्फत कहिले कडा कहिले खुकुलो निषेधाज्ञाको आदेश सुनाएर ढुक्कले बसिरहेछ । बन्दाबन्दीको प्रारम्भिक कालमा अप्ठेरोमा परेका नागरिकलाई राहत बाडिएपनि आजकाल सरकारी निकायबाट राहत बाड्ने काम लगभग ठप्पजस्तै छ । राहत बाड्ने शैलीपनि चित्तबुझ्दो छैन । राहत पाउने नागरिकलाई अपमानित शैलीमा दुईचार छाकपनि नचल्ने गरी खाद्यान्न बाड्ने गरिएको छ । कतिपय ठाउँमा राहत सामाग्री गोदाममै सडेको समाचारपनि आएको छ ।

अलपत्र परेका नागरिकलाई मनकारी दाताले चन्दा उठाएर दैनिक रुपमा खाना खुवाईरहेका छन् । सडकछेउ लस्करै बसेर दाताको सहयोगमा खाना खाईरहेका आम सर्वसाधारणको तस्वीरले सरकार झस्किएको छैन । बरु ठाउँठाउँमा नागरिक स्तरमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने भावनाले खोलिएका खाद्यान्न बैंकमा हस्तक्षेप गरी प्रशासनले दुख दिएको छ । ललितपुर क्षेत्र नम्बर १ मा खोलिएको एक खाद्यान्न बैंक स्थानीय प्रशासनले बन्द गरिदिएको छ ।

आम नागरिक दाताको भरमा सडकमा बाच्न विवश भैरहँदा सरकार करोडौं खर्चेर सर्प पाल्ने तरखरमा छ । नेकपाकै नेता झलनाथ खनालको नाममा खोलिएको ‘झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा सर्प पाल्नका लागी तीनै तहका सरकारको स्वीकृतिसंगै पहिलो किस्ताको रकमसमेत पाएको छ । प्रतिष्ठानका अध्यक्षले नै एपीवान टेलिभिजनसंगको अन्तरवार्तामा लालबन्दी नगरपालिकाले बार्षिक १ करोड र बाकी रकम केन्द्र र प्रदेशले दिने बहुबर्षीय योजना स्वीकृति भई पहिलो किस्ताको रकम पाएको जानकारी दिएका छन् । प्रतिष्ठानले सर्पको विष उत्पादन गरेर भारतमा बेच्ने परियोजनाका लागी ७२ करोडको योजना स्वीकृत भएको खबर छ । भन्नलाई नेपालमा सधैं हाहाकार हुने एन्टि स्नेक भेनम नेपालमै उत्पादन गर्नका लागी ८ बिघा जग्गामा विषालु सर्प पाल्न लागिएको र पछि नेपालमै ल्याब बनाएर भेनम बनाउने भनिएको छ । तर, तीन तहकै सरकारबाट यो परियोजना स्वीकृत हुनु र ठूलो रकम हात पर्नुको एकमात्र कारण ठूला नेताको नाममा खोलिएको प्रतिष्ठान भएकोले नै हो । अरुले यस्तो प्रस्ताव लगेको भए सबै तहका सरकारले लत्याउने थिए ।

एन्टि स्नेक भेनम उत्पादन गर्ने संघीय वा प्रदेश सरकारको योजना हो भने त ईच्छुक संस्थाहरुलाई आव्हान गरी खुल्ला प्रतिस्प्रर्धा पो गराउनु पर्दथ्यो । राज्यको ढुकटीलाई निजी ढुकुटीसरह सोचेर सर्प पालन परियोजना बनाईएको छ । काम खोसिएर अलपत्र नागरिकको चुल्हो बाल्न उदासिन सरकार नेताका प्रतिष्ठानलाई सर्प पाल्ने बजेट छुट्याइरहेछ । लोकतन्त्रको योभन्दा बिद्रुप नमुना अन्त कतै भेटिएला ?

स्केच साभार — हिमालखबर डटकम

आपतविपदमा परेका नागरिकलाई सघाउन अनेक नामका राहत कोष खडा गरिएका छन् । संघीय सरकारले २०७६ साल चैत ९ मै ५० करोड रुपैंया राखेर ‘कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’ बनाएको छ । त्यस लगत्तै प्रदेश सरकार र स्थानीय तहले पनि राहत कोष स्थापना गरे । यो कोषबाहेक उहिल्यैदेखि अनेक नाममा सरकारी कोषहरु सञ्चालित छन् । धेरै ठूलो धनराशी ती कोषहरुमा थुप्रिएको छ । प्रधानमन्त्री दैबी उद्दार कोष, केन्द्रिय विपद् ब्यवस्थापन कोषदेखि पदयात्रा मजदुर कल्याणकारी कोष (पर्यटन मजदुरका लागी), दुर्गम क्षेत्र हवाई सेवा कोषसम्म सञ्चालित छन् । अरुपनि धेरै कोषहरु सञ्चालित छन् ।

राहत कोषमा धेरै ठूलो धनराशी जम्मा भएको खबर बारम्बार सुनिन्छ तर मुठी फुकाएर नागरिकलाई सहयोग गरेको खबर सुन्न पाईदैन । स्थानीय स्तरमा त बन्दाबन्दीको शुरुवाती चरणमा वडा कार्यालयले नै एकडाडु तेल, एककिलो दाल राहत बाडेकोपनि देख्नुप¥यो । यो नागरिकमाथीको अपमान हो । अन्याय हो । २—३ हप्ता लामो बन्दाबन्दी घोषणा गर्ने, तरकारी बेचेर खानपनि नदिने अनि २—४ छाकपनि नचल्ने गरी ‘राहत’ बाड्ने ?

काम खोसिएर आहत भएका नागरिकमाथी राहतको राजनीति गर्नु हुँदैन । अप्ठेरोमा परेका नागरिकको ब्यवस्थित तथ्यांक संकलन गरी सरकारले पुग्दो मात्रामा खाद्यान्न र अन्य अत्यावश्यक सामाग्री उपलब्ध गराउनुपर्छ । कोषमा पैसा थुपारीराख्ने काम गर्नु हुँदैन । कोषलाई पोखरी बनाउनु हुँदैन । नदीजस्तै बनाउनुपर्छ । पारदर्शी तरिकाले खर्च गर्दै जाने र थप्दै पनि जाने गर्नुपर्छ । राहत कोषको पैसा निख्रिए जनतालाई सहयोगका लागी आव्हान गर्न सकिन्छ । आफूले दिएको पैसा अप्ठेरोमा परेका नागरिकको भलाईका लागी खर्च हुन्छ भन्ने महसुस सरकारले गराउन सक्यो र बेलाबेलामा हिसाब देखाउन सक्यो भने नागरिकले यस्तरी दुख पाउनै पर्दैन । सरकारले कोषको रकम खर्च गर्ने नियमकानून सहज बनाउनु पर्दछ । थैली भरेर राख्ने, खोल्नै नमिल्ने बनाउनु हुँदैन । आपत परेको बेलामा यस्ता थैली सहजै खुल्नु पर्दछ । हिसाबकिताब पारदर्शी हुनुपर्छ । पारदर्शी भएन भने नागरिकले सहयोग गर्दैनन् ।

अप्ठेरोमा परेको बेलामा सरकारबाट राहत पाउनु नागरिकको अधिकार हो । राहत कोष तथा अन्य सरकारी ढुकुटी नेता र कर्मचारीको पेवा होइन । त्यो त सबै नागरिक मिलेर भरेको ठूलो कन्तुर हो । अप्ठेरोमा परेका नागरिकलाई भरपर्दो सुविधा र सहयोग दिलाउनु सरकारको कर्तव्य हो । दाताले खुवाएका छन्, दिएका छन् भनेर सञ्चो मानेर बस्न पाईदैन । पाउनुपर्नेहरु नछुटुन् र अरुले गलत तरिकाले यसको फाइदा लिन नसकून् भनेरपनि चनाखो हुनुपर्छ । कसैले गलत फाइला लेला भन्दै मुठी कसेर बस्न पाईदैन । २—४ किलो दालचामल बाडेर कर्तव्य पूरा भयो भन्ठान्नु हुँदैन । कमसेकम एकपटक राहत बाड्दा महिनाभरलाई पुग्ने चामल, दाल, नुन, तेल, खाजा र अत्यावश्यक औषधी किन्नु छ भने त्यसका लागी केही नगदपनि दिनुपर्छ ।

कतिपय स्थानीय तहले अप्ठेरोमा परेका नागरिकलाई काम दिएर सोवापत नगद दिए । यो शैली उदाहरणीय छ । विकास निर्माणका काम अलपत्र भएका ठाउँमा यसलाई निरन्तरता पनि दिन सकिन्छ । सबैठाउँमा यसो सम्भव नहोला । जेजे सम्भव हुन्छ, सो उपाय अपनाएर काममा फर्कन नसकेको दिनसम्म चुल्हो बाल्न सघाउनुपर्छ । कोष पोसिएर बस्ने, नागरिक भोकै पर्ने र सडकमा दाताको भर पर्नुपर्ने अवस्था आउनु राज्यको असफलता हो । सरकारको ध्यान नेताको नाममा सर्प पाल्न होइन, नागरिकको चुल्हो बाल्नतर्फ केन्द्रित हुनुपर्छ ।

सबै नागरिककोे चुल्होबाट धूँवा आएपछि मात्र खाना खाने दयालु राजा महिन्द्र मल्लको इतिहास देश चलाउनेहरुले पढेकै होलान् । गणतन्त्रमा राजाहरुबाट सिक्नु हुन्न भन्ने दम्भ होला । त्यस्तै दम्भले नै यो संकटमा करोडौं खर्चेर सर्प पाल्ने उपाय फुरेको होला । सर्प पाल्न छुट्याईएको बजेट राहत कोषमा फिर्ता ल्याउन सकियो भने धेरै नागरिकलाई केही हप्ता राहत दिन सकिन्छ । सरकारले नागरिकलाई थप आहत नबनाओस् । राहत अधिकार हो । राजनीतिक हतियार होइन । राज्यले अप्ठेरोमा परेका नागरिकका लागी भरपर्दो राहत प्याकेज दिन कन्जुस्याई गर्नु हुँदैन, पाईंदैन ।

(२०७७ साल भदौ २३ गते हिमालखबर डटकममा छापिएको लेखलाई परिमार्जनसहित राखिएको)

मैलो मनको उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ साल भदौ १६ गते स्वयंसेवक भइ कामकाज गर्न ईच्छुक चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतलाई आवेदन दिन आव्हान गरेको छ । स्वयंसेवी स्वास्थ्यकर्मी चाहियो भनेर सूचना निकालिरहेकै बेला जनताको सेवा गर्न कयौं दिन हिडेर आफ्नै खर्चमा देशको दूरदराजमा पुगेका ‘डाक्टरका पनि डाक्टर’ लाई खेद्ने, निषेध गर्ने, अपमान गर्ने काम भैरहेको छ । विकट गाउँहरुमा स्वयंसेवी बनेर उपचार गर्न पुगेका डाक्टर गोविन्द केसीलाई बारम्बार अपमानित गरिएको नमिठो खबरले पत्रपत्रिका र डिजिटल पत्रिकाहरु भरिएका छन् । विभिन्न शक्तिकेन्द्रको आदेश र दबावमा स्थानीय जनप्रतिनिधिले नै उनलाई निषेध गरेको खबर आईरहेको छ । अवरोध गरिंदा उनको चित्तमा चोट त लागेको छ नै, दूरदराजका नागरिकहरु विशेषज्ञ सेवाबाट बञ्चित भएका छन् ।

जाजरकोटको ढिमे–२ मा उपचार गर्दै डा.गोविन्द केसी (तस्वीर साभार—हिमालखबर डटकम)

नागरिकको उपचार गर्न नदिईएको, होटलमा घेराबन्दीमा पारिएकोे, स्वास्थ्य शिविर सञ्चालनका लागी आवश्यक औषधी समेत किन्न नदिइएको खबरले देशमा अराजकताको विकेन्द्रीकरण भएको महसुस हुन्छ । डाक्टर केसीले कयौं ठाउँमा नागरिक र जनप्रतिनिधिको न्यानो माया पनि पाएका छन् । धेरैको सफल उपचार गरेका छन् । नयाँ जीवन दिएका छन् । तर पूर्वाग्रहको बिकेन्द्रीकरणसंगै उनलाई रोकेर बहादुरी देखाउने र माथी रिपोर्ट बुझाएर स्याबासी बटुल्ने अराजक खेल शुरु भएको महसुस हुन्छ ।

अनकन्टार भूगोलसंग जुध्दै कयौं दिन हिडेर घरघरमा उपचार गर्न पुगेका देशकै एक प्रबुद्ध डाक्टरलाई उपचारमा रोकिएको खबर यो समयको सबैभन्दा कुरुप चित्र हो । यो चित्र कोरोनाजत्तिकै कुरुप र घातक छ । कोरोनाको चित्रमा काँडैकाँडा देख्न सकिन्छ । जता डाक्टर, उता अवरोधको खबर पनि त्यही कोरोनाको काँडाजस्तै महसुस हुन्छ । जनताले घरदैलोमा पाएको निशुल्क सेवा थुनेर कसको सेवा गर्न खोजिएको ? कसलाई खुशी बनाउन खोजिएको ? जनतालाई उपचारबाटै बञ्चित गर्ने राजनीति नेपालमा मात्र चलिरहेको होला कि अन्त पनि यस्तो उदाहरण भेटिएला ? असहिष्णुताको यो उचाई घातक छ ।

गोविन्द केसीको छवि सबैसामु सार्वजनिक छ । उनको सीप, निष्ठा, लगन, ईमान्दारिता, विज्ञता, सादा जीवन र प्राज्ञिक क्षमतामाथी प्रश्न उठाउने हैसियत उनकै सदाबहार बिरोधीहरुले पनि बनाएका छैनन् । केसीले गान्धीकै झल्को मेटाउछन् । कसैले श्रद्धापूर्वक दिएको एककप चियासमेत खान्न भन्ने सक्ने स्वाभिमानी हत्पति भेटिंदैन । तर डाक्टर केसी त्यसो गर्ने हैसियत राख्छन् । निष्ठाको यो जीवन राज्यका लागी आतंकसमान भएको छ । सर्वसाधारणले सहज उपचार पाउनुपर्छ भन्ने उनको अडान आमरण अनशनमार्फत प्रकट हुन्छ । स्वयंसेवी यात्रामार्फत प्रकट हुन्छ । पिढी र अगेनाको छेउमा निशुल्क चल्ने ‘निजी क्लिनिक’ मार्फत प्रकट हुन्छ । कतै आपतविपद् आउनसाथ उनी औषधीको भारी बोकेर पुग्छन् । केही बर्ष पहिला जाजरकोटमा ‘हेलिकोप्टर हैजा पर्यटन’ चलिरहदा खच्चडको ढाँडमा औषधीको भारी बोकेर उकालो उक्लिरहेका डा. केसीको चित्र नेपालीको मनमनमा श्रद्धापूर्वक बसेको छ ।

आफ्नै पैसाले औषधी किनेर देश—परदेश पुग्ने एउटा डाक्टरको चित्र देश चलाउनेहरुको लागी काँडाजस्तो किन बन्छ ? किन उपचार यात्रामा अवरोध गरिन्छ ? किन विरामीले उनलाई र उनले विरामीलाई टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ ? आफ्नो स्वास्थ्यचौकीमा आएका विशिष्ठ विशेषज्ञबाट केही कुरा सिक्न स्वास्थ्यकर्मी किन बञ्चित हुन्छन् ? दूरदराजको केही दिनको बसाईमा त्यहाँका स्वास्थ्यकर्मीले हाडजोर्नी उपचारबारे उनीबाट केही कुरा सिक्न पाउछन् । सीपको त्यो उज्यालोले पछिसम्म धेरैको जीवनमा चहक थप्छ । उनलाई खेद्न खोज्नेको हातखुट्टा केही भैहाले जोडिने ग्यारेन्टी पनि उनको उपस्थितिले गर्छ । तरपनि खेद्न किन मरिहत्ते गरिरहेछन् स्थानीय जनप्रतिनिधि ? खेद्नु भन्नेहरुलाई सक्दिन भन्न किन सक्दैनन् ? औषधी उपचारका नाममा गलत राजनीति गर्नेहरुलाई यसो गर्दा कानून नलागेपनि पाप लाग्छ भन्ने लाग्दैन ?

गोविन्द केसीको दुर्गम यात्रासंगै राज्यको असफलताका कैयन चित्रहरु बाहिर आउँछन् । गोविन्द केसीको फैलिएको ब्यक्तित्वसंग उपचार नपाएका नागरिकका कथा बाहिर आउँछन् । स्वास्थ्य संस्थाको जराजीर्ण अवस्था बाहिर आउँछ । राज्य त्यो चित्र हेर्ने रहर गर्दैन । उनले स्वास्थ्य क्षेत्रको बेथीतिबारे बारम्बार औला उठाएका छन् । त्यो औलोसंग सरकार तर्सिन्छ । उनले गर्ने प्रश्नको लस्करसंगै जोडिन्छ कमिसनमुखी राज्यसत्तासंग उनले भोकभोकै बसेर जुधाएका आँखा । उनी भोकै बसेर आँखी बनेका छन् । उपचार गरेर आँखी बनेका छन् ।

आम सर्वसाधारणको उपचारको पहुँचका लागी राज्यसंग प्रश्न गर्दा राज्य उनीसंग डराएको छ । डराएपनि नडराएको अभिनय गरिरहँदा त्यो कायरता अवरोध बनेर गाउँ—गाउँमा पोखिएको छ । केन्द्रको अराजकता बिकेन्द्रीत हुँदा दूरदराजका वडाधक्ष्यदेखि गाउँपालिकाका अध्यक्षहरु उनलाई लखेट्ने क्रान्तिकारितामा रमाउन पुगेका छन् । स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरु निरीह बनेका छन् ।

स्वास्थ्य मन्त्रालयको आव्हान

नेपाली समाज पाप र धर्मको खुबै हिसाबकिताब राख्छ । औषधोपचार एकादेशको कथा बनेको विकट भूगोलमा एउटा प्रबुद्ध डाक्टरलाई अपमानित गर्दा कस्तो धर्म कमाईन्छ कुन्नि ? जता पुग्यो त्यतै रोक्ने, होटल घेर्ने, विरामी जाँच्न नदिनेजस्ता हर्कत गरिरहँदा यो काम सञ्चार माध्यमबाट लुक्दैन भन्नेपनि डर छैन । कति बलिया बनेका ? यस्तो काम गरेपछि समाजसंग कसरी मुख देखाउने ? अस्पताल बनाउँछौं, डाक्टर ल्याउँछौं, उपचार गर्छौं भनेर भोट कसरी माग्ने ?

डा. केसी कुनै पार्टीको विरोध वा समर्थन गरिरहेका छैनन् । उनको प्रश्नसंग भुइँमान्छेको स्वास्थ्यको पहुँच जोडिएको छ । थीति बसाउनका लागी सबैसंग प्रश्न गरिरहेका छन् । कहिले भोकै बसेर । कहिले देश दर्शन गरेर । केन्द्रलाई खुशी पार्ने नाममा उपचारमा अवरोध पु¥याउनु निन्दनीय छ । जनप्रतिनिधिले आफ्नो मनभित्रको यो अवरोधको मनमनै उपचार गर्नुपर्छ । स्वयमसेवी डाक्टरलाई निर्वाध रुपमा सेवा गर्ने मौका दिए, स्थानीय स्वास्थ्यकर्मीलाई उनीबाट सिक्ने मौका दिएमात्र मनभित्रको त्यो पूर्वाग्रही अवरोधले उपचार पाउँछ । स्थानीय जनप्रतिनिधिले आत्ममन्थन गरी मनको मैलो पखाल्नु जरुरी छ । मैलो मन लिएर राजनीति गर्न सकिंदैन । केन्द्रले गलत आदेश दिएमा नाई भन्नसक्ने हैसियत बनाउनुपर्छ । मनको मैलो पखाल्न रहर गर्ने स्थानीय जनप्रतिनिधिको जय होस् ।

(२०७७ साल भदौ १७ गते हिमालखबर डटकममा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको )

सदा सम्झन्छ नेपाली…

गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली ।
जय जय जय नेपाल
सुन्दर शान्त विशाल ।
देशलाई कसरी सम्झनुपर्छ ? देशलाई कसरी माया गर्नुपर्छ ? देश भनेको के हो ? कलिलो दिमागले यस्तो कुरा कसरी सक्ने ? कविवर माधव घिमिरे छडी बोकेर कक्षाकोठामा पस्नुभएन । मायालु शब्द बोकेर पस्नुभयो । पाठ्यपुस्तकको बाहिरी कभरमा राखिने कक्षागत गीतमार्फत ‘ज्योतिको पंख उचाल्नु’ भन्दै सम्झाउन आउनुभयो । यी हरफ कसका हुन् ? हामीलाई मेसो थिएन । भाका फिराईफिराई गाउनुपर्छ भन्ने मेसोमात्र थियो । अर्थपनि थाहा थिएन । उहाँले देश खोज्न मात्र होइन, सियो खोज्नसमेत सिकाउनुभयो । सियो खोइ सियो भन्दै खोज्न सिकाउने कवि नेपाली साहित्यकै मियो होलान् भनेर कल्पना गरिएको थिएन । मियो बनेर साहित्य सेवा गर्नुभएका स्रष्टाले जीवन बिसाउनुभएको ननिको खबर भदौ २ गते शुक्रबार साँझ गोरखापत्रको अनलाइन संस्करणमा देखियो । लगत्तै सबै डिजिटल पत्रिका र सामाजिक सञ्जाल उहाँको भौतिक अवसानको खबरले भरिए । कोरोना कहरमा अर्को नमिठो खबर । कविवर गम्भीर रुपले विरामी पर्नुभएको खबर कतै आएको थिएन । अचानकै निधनको खबर आयो । १०१ बर्ष बाँचेर संसार ठप्प रोकिएको समयको एउटा साक्षीसमेत बनेर उहाँले जीवन बिसाउनुभयो ।

कविवर घिमिरेले असाध्यै लोभलाग्दो जीवन बाँच्नुभो । उहाँको सजनात्मक जीवनपनि उस्तै रह्यो । सृजना यात्रा अविरल चलिरह्यो । ऋतम्भरा महाकाव्य नसिध्याई जान्न भन्नुहुने महाकविले त्यो काम सम्पन्न गर्नुभएको रहेछ । सो कुरा निधनलगत्तै थाहा पाईयो । हाम्रालागी उहाँको त्यो अन्तिम नासो हो ।

चित्र साभार— भानु भट्टराई, हिमालखबर डटकम

कविवरले प्रकृति र राष्ट्रप्रेमको धार समातेर अमर कयौं सृजना देशलाई दिनुभयो । बालबालिकाका लागी कयौं मिठा सृजनाहरु उपहार दिनुभो । कस्तो अविरल र अविचलित यात्रा । जीवनको एउटा क्षणमा धेरै मानिस कवि बन्छन् । धेरैको कवि जीवन असाध्यै अल्पायुको हुन्छ । उनीहरुभित्रै हराएर जान्छ त्यो जीवन । कविको रुपमा सामाजिक पहिचान भएका धेरैका झोलामा पुराना सृजना र ती सृजनाप्रतिको गौरवमात्र बाकी रहन्छ । कविवरको झोला त्यस्तो थिएन । उहाँका झोला नयाँ—नयाँ सृजनाले भरिभराउ भैराख्यो । पुराना सृजनाको ब्याज खाने रहर उहाँले गर्नु भएन । कविवर नेपालको अस्तित्व रहेसम्मै कवि बनेर बाँच्नुहुनेछ

हरेक कवि/लेखकका सबै सृजना जीवन्त हुँदैनन् । सबै रचनाले धेरैका मन छुँदैनन् । मन न हो । लेखकलाई मात्र मन परेर हुँदैन । ‘गाउँछ गीत नेपाली’ सम्भवत सबैभन्दा धेरैलाई मन छोएको सृजना हुनुपर्छ । पुरानो राष्ट्रिय गानको औचित्य सकिएर नयाँ राष्ट्रिय गान नआएसम्म अनौपचारिक रुपमा कयौं विद्यालयमा यो गीत गाउने गरिएको पनि थियो । गौरी, मालती मंगले, राष्ट्र निर्माता, किन्नर किन्नरी, चारु चर्चा र कैयन जीवन्त सृजनाहरु मार्फत उहाँ नेपाली मनमनमा बस्नुभएको छ ।

२०६० साल असोज ९ गते उहाँलाई सरकारले राष्ट्रकवि बनायो । उहाँलाई राष्ट्रकवि बनाईएको समय देश अनेक अप्ठेरोसंग जुध्दै थियो । कविवरका हिसाबले पाठकका दिलमा बसिसक्नु भएकोले त्यो राजकीय पदभन्दा कविवरको कद नै मलाई धेरै उचो लाग्छ । राज्यले उहाँप्रति दिएको सम्मान र सुविधाको आफ्नै महत्व छ । चोला विसाएपछि बल्ल पाठकसम्म पुग्ने, सिंगो जीवन गुमनाम भएर बित्ने, गुजारा चलाउन, उपचार पाउन नसकेर कष्टकर जीवन झेल्नुपर्ने अवस्था उहाँलाई परेन । यो कुरामा घिमिरे भाग्यमानी हुनुहुन्थ्यो । राष्ट्रप्रेमलाई केन्द्रमा राखेर साहित्य सेवा गर्नु भएकोले जति ब्यवस्था फेरिएपनि उहाँ सबैको प्रिय हुनुभयो । उहाँको कलमले कहिल्यै कसैप्रति घृणा रोपेन । उहाँले मानव, राष्ट्र र प्रकृतिप्रेमको बाटो अंगाल्नुभयो । यो बाटोमा अनवरत हिडिरहनुभयो । त्यसैले त उहाँका हरेक शब्द मोतीका दानाजस्ता छन् । उहाँ धेरै विधामा फिजिनुपनि भएन । धेरैथरी विचार बोकेर पनि हिड्नु भएन । त्यसकारण उहाँ छरिनु भएन । सग्लो र अग्लो कविको छवि बनाईरहनुभयो ।

नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेलको स्थान निकै उचो छ । उहाँहरु कस्ता हुनुहुन्थ्यो होला भनेर म बेलाबेलामा कल्पन्छु । हामीपछिको पुस्ताले माधव घिमिरे कस्ता थिए होलान् भनेर कल्पना गर्नेछन् । देवकोटाबारे धेरै भ्रम फिजिए । अनेक मिथकहरु बने । सधैं उहाँलाई कठैबरा बनाईयो । प्रविधिको यो युगले घिमिरेलाई चाहि मिथक बनाउने छैन । अनेक भ्रमका कथा बुन्ने छैन । देवकोटा र पौडेल अँध्यारो युगमा बत्ती बनेर जन्मिनुभयो । उहाँहरु बितेपछि फेरि अँध्यारोले अनेक कथा बनायो र हामीले अनेक मिथक सुन्नुप¥यो । घिमिरे उज्यालो युगमा लामो समयसम्म जिउन पाउनुभयो । आफैंले प्रशस्त उज्यालो पनि बाड्नुभयो । घिमिरेले नेपाली साहित्यमा छर्नुभएको उज्यालो नेपालको अस्तित्व रहेसम्म मेटिने छैन

कोरोना कहरले जिन्दगी घरभित्रै खुम्चिएको छ । कविवरले खुम्चिएको र थुनिएको संसार पनि महसुस गर्नुभयो । कमजोर स्वास्थ्यका कारण थुनिएको संसारबारे केही रचना लेख्नचाहि सायद सक्नुभएन कि ? संसार थुनिएको समयमा उहाँले चोला बिसाउनु भएकोले अन्तिम दर्शन गर्न त सम्भव भएन । कविवरलाई मनमनै हार्दिक प्रणाम । उहाँले चोला बिसाउनुभएको घर नेपाली साहित्यको तीर्थस्थल हो । साहित्यप्रेमीमीका लागी त्यो दैलो सधैं खुल्ला छँदै थियो । नेपाली साहित्यको भर हो त्यो घर । त्यो तीर्थस्थललाई उहाँको परिवारले जीवन्त तरिकाले दीर्घकालसम्म जोगाएर राखिदिनेछ । उहाँका प्रकशित र अप्रकाशित कृति मात्र होइन, उहाँसंग सम्झना जोडिएका अरु सामान पनि परिवारले जोगाएर राख्नेछ । राज्यले उहाँको परिवारसंग हातेमालो गरेर कविवरको सम्झनालाई चीरस्थायी बनाउनेछ भन्ने कामना गरौं।

शब्दको सृजनात्मक शक्ति के हो, कविवरले राम्ररी बुझाईदिनुभएको छ । शब्दलाई मोती बनाएर उन्न सिकाउनुभएको छ । धरतीलाई माया गर्न सिकाउनुभएको छ । आफ्ना जीवन्त रचनामार्फत कहिल्यै नमर्ने गरी यो धरतीबाट विदा हुनुभएका कविवरको आत्मा सधैं सुखी रहोस् । ज्योतिको पंख उचाल्न सिकेको नेपाली कविवरलाई सदा सम्झन्छ ।

(२०७७ साल भदौ ३ गते हिमालखबर डटकममा प्रकाशित)

मचाहि सञ्चै छु (कविता)

सरकार चिन्न नसकेर
देश रोगाएको छ ।
कसैलाई मोतीबिन्दु भएको छ ।
कसैको मति बिग्रेको छ ।
के के मात्र सुन्नु मैले
निरन्तर बेसुरा गीत बजिरहेछन् ।
कतै मास्क मागेर ।
कतै भेन्टिलेटर मागेर ।
कतै पीपीइ मागेर ।
कतै आइसोलेसन मागेर ।
रेल माग्नु छैन ।
खेल माग्नु छैन ।
पानीजहाज माग्नु छैन ।
मन्दिर माग्नु छैन ।
दवाईको सवाई गाएर बस्ने
यो देश वेश छैन ।
धन्न देशको मन्त्री
आजसम्म सन्चै छु ।
र त दवाई नखाएरै
देश बाँचेको छ ।
(२०७७ साल साउन २९ गते )

Create your website at WordPress.com
Get started
%d bloggers like this: