लोकतन्त्र र बालुवाको ढिस्को

२०७७ साल जेठ २७ मंगलबार प्रतिनिधि सभाको बैठकमा माननीय गगन थापाले प्रतिपक्षी दलको सांसद भएर हैन, आम नागरिक भएर सरकारमाथी यक्ष प्रश्न तेस्र्याए । उनले आम नागरिकको मनमा खेलिरहँदा प्रश्नलाई आवाज दिए, आकार दिए । सरकारमा बस्नेहरुको कानसम्म हैन, मनसम्मै त्यो आवाज पुर्याए । उनले कोरोना नियन्त्रणको नाममा खर्च गरिएको १० अर्ब रुपैंयाको हिसाबकिताब मागेका छन् । क्वारेन्टाइन किन मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प बन्यो भन्दै अर्को प्रश्न पनि उठाएका छन् । सरकार कोरोनाबाट ज्यान गुमाएका शवको संख्या गनिरहेछ । खासै धेरै हैन …भन्दै सन्चो मानिरहेछ । सांसद थापाले योबारे पनि प्रश्न उठाएका छन् । आत्महत्या गरेका, सडकमा भोकभोकै मरेका, उपचार नपाएर मरेका नागरिकको संख्या गन्न किन बिर्सिएको भन्दै सरकार यस्तो बिपत्तीमा पनि सन्चो मानेर बसेको बसेकोप्रति गम्भीर आपत्ती जनाएका छन् ।

सरकारको एकोहोरो खेदो गर्नु प्रतिपक्षी धर्म होइन । सत्ताको साझेदारजस्तो भएर सरकारका सबै तमासा टुलुटुलु नियालेर बस्नु पनि प्रतिपक्षी धर्म होइन । प्रतिपक्षमा बसेका प्रदीप गिरी, गगन थापा र सत्तापक्षकै रामकुमारी झाक्रीले आलोचनात्मक चेतसहित सरकारसंग संसदमा सार्थक सम्वाद गर्ने गरेका छन् । झाक्रीले त सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो परिचयमै लेखेकी छिन् — ‘र, म तिनको आवाज बोल्छु जसको आवाज दबाईएको छ ।’ निरपेक्ष रुपमा सत्ताको जयजयकार र मुर्दाबाद दुबैले लोकतन्त्र बलियो बनाउँदैन । जिन्दावाद र मुर्दावादभन्दा पर रहेर सरकारको रखबारी र खबरदारी गर्दा लोकतन्त्र बलियो हुन्छ । सरकारका लागी त्यो औषधी हो । हिजो नै सचेत युवाहरुले भौतिक दूरी कायम गर्दै अत्यन्त शिष्ट र रचनात्मक तरिकाले प्रधानमन्त्री निवासअगाडी सरकारलाई घच्घच्याउने प्रयास गरे । ¥यापिड टेस्टमा किन मरिहत्ते ? भन्ने नागरिक आवाजलाई सरकारले सुन्न चाहेन । गलहत्यायो । नागरिकले १० अर्बको हिसाब पनि खोजे । निरेपक्ष लकडाउन र करको दुरुप्रयोगबारे पनि प्रश्न सोधे । सरकारले यी प्रश्नलाई पानीको फोहोराले पखाल्ने प्रयास ग¥यो । लाठीले दबाउने प्रयास ग¥यो । प्रश्न गर्ने शैली शिष्ट थियो । जवाफ दिने शैली अशिष्ठ थियो । अशिष्ठता लोकतन्त्रलाई सुहाउन्न ।प्रश्न गर्न पाउनु नागरिक अधिकार हो । सरकार प्रश्नसंग डराईरहेको छ ।

लोकतन्त्रको सरकार नागरिकको सबैभन्दा नजिकको साथी हो । जब सरकार सरदार बन्ने रहर गर्छ, नागरिकले खबरदारी गर्छ । नागरिकले दिएको १—१ रुपैंया जम्मा पारेर सरकार चल्छ । सरकार नागरिकले भरेको ठूलो खुत्रुके हो । आफ्नो पसिनाले भरिएको खुत्रुकेको हिसाब जनताले माग्छन् । सरकारले देखाएको हिसाबकिताबमा चित्त बुझे नागरिकले धन्यवाद भन्छन् । नबुझे फेरि हिसाब माग्छन् । पदमा के नामको, के थरको, कुन गाउँको, कुन जातको र कुन पार्टीको मान्छे छ भन्ने कुरासंग सचेत नागरिकलाई सरोकार हुँदैन । प्रधानमन्त्री सबैका साझा हुन् । नागरिकको आलोचनात्मक आवाज गुन्जिनासाथ सडक, सदन र सामाजिक सन्जाल सबैतिर आक्रमण गर्ने शैली लोकतन्त्रका लागी घातक छ ।

सरकारको कामै नहेरी लोभ, लाभ र आस्था हेरेर समर्थन गर्नेहरु सरकारका लागी साह्रै घातक हुन्छन् । त्यस्तो शैलीले सरकार प्रमुखलाई नांगो बादशाह बनाउँछ । प्रधानमन्त्रीसंग उनलाई नांगो बादशाह बनाउन रहर गर्ने टिम छ । भजनमण्डली छ । त्यो मण्डली नै प्रधानमन्त्रीको सबैभन्दा ठूलो शत्रु हो । मण्डलीले प्रमलाई पूरै खोक्रो बनाईसकेको छ । अघिल्लो कार्यकाल लोभलाग्दो थियो । यो कार्यकल हदै टिठलाग्दो छ । अघिल्लो कार्यकालमा सांसद थोरै, शुभेच्छुक धेरै थिए । यसपाली सांसद र मण्डली धेरै, शुभेच्छुक थोरै छन् । प्रधानमन्त्री डरको हैन, भरको शक्ति बन्नुपर्छ । उहाँको यो शक्ति सक्किएको छैन, नराम्रोसंग मक्किएको चाहि छ । सचेत नागरिकले यति बोल्न र लेख्न सक्नुपर्छ । भेटेर भन्न सक्ने अगुवाले भन्न पनि सक्नुपर्छ । कसैले केही भन्ला कि भनेर गरिने सेल्फ सेन्सरसीपले आलाचनात्मक र रचनात्मक चेतलाई भुत्ते बनाउँछ । लोकतन्त्र पनि कमजोर बनाउँछ ।

हिंसाको राजनीति गर्ने, भ्रष्टाचार गर्ने, आफू रमितामा रमाएर जनतालाई अलपत्र पार्ने, नागरिकलाई हेप्ने जुनसुकै थर र दलका मान्छेलाई हामीले प्रश्न गरिरहनुपर्छ । प्रश्नले लोकतन्त्र कमजोर हुँदैन । सिमेन्ट थप्छ । जयजयकार त बालुवा हो । बालुवाको ढिस्को हो । जयजयकारले लोकतन्त्र मास्छ । एकतन्त्र जन्माउँछ । निरंकुश शासक जन्माउँछ । बालुवाको ढिस्कोमाथी उभिएर नागरिक हकार्ने शासकलाई त बालुवाको ढिस्कोले नै सिध्याउँछ । अलिकति हलचल गरियो भने ढिस्को भत्किन्छ । त्यसैले लोकतन्त्रको सरकार एकोहोरो जयजयकारमा रमाउनु हुँदैन । नागरिकको निष्पक्ष आवाज सिमेन्ट हो । सिमेन्ट थपे बल्ल बालुवाको ढिस्को बलियो किल्लामा परिणत हुन्छ ।

पछिल्लो समय प्रधानमन्त्रीले देशको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा थप्नुभएको छ । यो काममा पास हुनुभो भने इतिहासले सम्मानपूर्वक सम्झन्छ । तर एउटा नक्सा कोरेर सरकार आनन्दले सुत्न र नागरिकलाई अलपत्र पार्न पाउँदैन । सुत्यो भनेर नागरिक कराएपछि सरकार उठ्छ । उठेपछि उपध्रो गर्छ । उप्रधो बोल्छ । त्यसो गर्नलाई उठ … भनिएको हैन । नक्सालाई ठेक्का लिएर अलपत्र पारिएको पूलजस्तो बनाउन पनि हुँदैन । नक्सा अनुसार जमिन पनि आउनुपर्छ । आउला पनि । त्यसका लागी सरकारलाई सबैले घच्घचाई रहनु पर्छ । त्यसले सरकारलाई बल थप्छ । जब नागरिक जागै हुन्छन् नी, जागेका नागरिकको चेतनाले बालेको उज्यालोले सरकारको आत्मबल बलियो हुन्छ । सरकारले जनता जोगाउनु छ । जमिन जोगाउनु छ । जमिन र जनता जोगाउन जानेको दिन सरकारको जय होस्

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: