देश नचलाउनेका नाममा

यतिखेर कोरोनाले संसार चलाईरहेको छ । कोरोनाबाट बच्नु, भोकमरीबाट बच्नु र सकेको छिटो कोरोनालाई भगाउनु नै संसारको साझा एजेण्डा बनेको छ । जनता जोगाउनु नै सबै देशको साझा लक्ष्य भएको छ । घरभित्र हामी लामो समय बस्यौं । अब त जोगिएर घरबाहिर निस्कनुपर्ने समय आएको छ । कोरोना सकिएको बेलामा हैन, सल्किएको बेलामा बन्दाबन्दी खुकुलो पार्नुपर्ने बाध्यता आएको छ । खुकुलिएको पनि छ । डर कसिलो हुँदा बन्दाबन्दी खुकुलो हुनुको कारण हामीले बुझेका छौं । भोकै बसेर कोरोनासंग लड्न सकिन्न । आफ्ना पसल, अफिस, व्यवसाय, खेतीपाती, उद्योगधन्धा अलक्क नखोली अब सुखै छैन ।

कोरोनासंग लड्नका लागी गर्नुपर्ने काम धेरै छ । मास्क/स्यानिटाइजर/भेन्टिलेटरको जोहो, अस्पताल व्यवस्थापन, खोप बनाउन गहन अनुसन्धान, ब्यवस्थित क्वारेन्टाइन, खाद्यान्नको प्रभावकारी वितरण, घरेलु उत्पादन र बजारीकरणमा जोड, खाद्यान्न भण्डारण, अप्ठेरोमा परेका नागरिकको निरन्तर उद्दार, अस्पतालको क्षमता बृद्धि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन आदि काममा धेरै देश रातदिन खटेका छन् । नागरिकसंग हातेमालो गरेका छन् । तर नेपाल फरक छ ।

नेपाल कोरोना तह लगाउन जुन बाटोमा हिड्नुपर्ने हो, त्यो बाटोमा हिडिरहेको छैन । पैसा खर्च गर्नमा उ अगाडी छ । अहिलेसम्म १० अर्ब खर्च गरिसक्यो । तर हिसाब सजिलै देखाउँदैन । हिसाब देखाउने आफ्नै विधि र प्रक्रिया हुन्छन् भन्दै हिसाबको प्रश्न पन्छाउँछ । अहिले कोरोनाले मात्र हैन, अव्यवस्थित क्वारेन्टाइनले पनि मान्छे मारिरहेछ । र्यापिड टेस्टको औचित्य नभएको भन्दै विज्ञहरुले रातदिन आवाज उठाइरहँदा पनि सरकारको ध्यान त्यतै छ । पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने हो । त्यसो भैरहेको छैन । जनता सडकमा भोकै मरिरहँदा प्रधानमन्त्री ‘हाम्रो भान्सामा यो छ, उ छ, नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ…’ भन्दै उपहास गरिरहेछन् । नागरिकको भान्सा रित्तो भैसक्यो । प्रधानमन्त्री भान्साको बखान गरिरहेछन् । लसुना, अदुवा, बेसार, टिमुर र मरिचको ब्याख्यामै अल्झिरहेका छन् । प्रधानमन्त्रीलाई यो पृथ्वीभरीका मान्छे पाउरोटी र पानीमात्र खाएर बाँच्छन्, रसिलो, पोसिलो र मिठोमसिनो खाने हामीमात्रै हौं भन्ने भ्रम परेको छ । सिंगो पृथ्वी बालुवाको ढिस्को हो , हरियोपरियो हाम्रोमा मात्र छ भन्ने भ्रम परेको छ । खोलानाला, वनजंगल र तालतलैया प्रकृतिले हाम्रा लागी मात्र बनाईदिएको हो भन्ने भ्रम परेको छ ।

कोरोनाबिरुद्ध सरकारको काम स्वास्थ्य मन्त्रालयका प्रबक्ता मार्फत कोरोनाले कोतरेको रिजल्ट सुनाउनुमै सीमितजस्तो देखिन थालेको छ । बाकी समय नागरिक आवाजको उपहासममै बितेको छ । संसदमा घण्टौं लामो भाषण गरेर विज्ञान, प्रविधि र अनुसन्धानलाई उडाउनु नै प्रधानमन्त्रीको दिनचर्या बनेको छ । स्वास्थ्य मन्त्रालय सरुवा, जगेडा र आरडीटीमै अल्झिरहेको छ ।

पार्टी फुटाउने, सांसद उठाउने, चोरबाटोबाट संबैधानिक परिषदमा नियुक्त गर्ने, बेसारपानी खाएर रोग भगाउने, भान्साका लसुनप्याज र रोग प्रतिरोधी भाषणलाई एकछिन बिर्सिएर देश चलाउने कुरा गरौं न । लोकतान्त्रिक गणतन्त्र कसरी चल्नुपर्छ जस्तो लाग्छ ? यस्तो ब्यवस्था चलाउने मान्छे कस्तो हुनुपर्छ जस्तो तपाईंलाई लाग्छ ? असल र स्वाभिमानी हुनुपर्छ जस्तो लाग्छ ? स्वस्थ्य, बलियो र फूर्तिलो हुनुपर्छ जस्तो लाग्छ ? देश बनाउने/जनता जोगाउने भिजन भएको मान्छे हुनुपर्छ जस्तो लाग्छ ? ब्यक्तिगत लाभहानी र लोभबाट माथी उठ्ने मान्छे चाहिन्छ जस्तो लाग्छ ? नागरिक आवाजलाई उपहास नगर्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ ? विज्ञान र प्रविधिका उपलब्धीलाई सत्तोसराप नगर्ने बरु प्रोत्साहन गर्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ ? नियम कानून पालना गराउन दृढ ब्यक्ति हुनुपर्छ जस्तो लाग्छ ? तपाईंलाई कस्तो लाग्छ ?

देश चलाउने मान्छेको संगत कस्तो हुनुपर्छ जस्तो लाग्छ ? स्वार्थी व्यापारिक समूह, ठेकेदार, ह्याकर र विचौलियाबाट धेरै पर बस्नेसक्ने खालको चाहिन्छ जस्तो लाग्छ ? लोभ, लाभले विचलित नहुने मान्छे हुनुपर्छ जस्तो लाग्छ ? देश चलाउनेले असल मान्छे निष्पक्ष रुपमा छानेर आफ्नो बलियो र विवेकी टिम बनाउनुपर्छ जस्तो लाग्छ ? कहिलेकाही गल्ती मिसिएको निर्णय गर्दा हप्काउने हैसियत राख्ने अग्लो मान्छे प्रमुख सल्लाहाकार राख्नुपर्छ जस्तो लाग्छ ? कुनै पार्टीको समर्थन नगरी डटेर बोल्ने प्राध्यापक, लेखक, पत्रकार, बिद्धानहरुसंग बहस, छलफल र अन्तरक्रिया गर्नुपर्छ, उनीहरुको कुरो सुन्नुपर्छ र त्यस्तो कुरालाई ग्रहण गर्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ ? जनतालाई नहेप्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ ? मलाई पनि त्यस्तै लाग्छ । तर त्यसो हुनु दुर्लभ छ । जो प्रधानमन्त्री आएपनि स्वार्थी समूहले घेरिएको मात्र महसुस हुन्छ । असाध्यै साँघुरो घेरामा साँघुरा मान्छेबाट घेरिएर देश चलाएको महसुस हुन्छ ।

सरकारी निवासबाट पार्टी चलाउनु हुन्न भन्ने मान्छे लोकतन्त्रको शासक हुनुपर्छ जस्तो लाग्छ ? देश चलाउने ठाउँलाई भोजभतेरको अड्डा बनाउनु हुन्न जस्तो लाग्छ ? सामाजिक सन्जालमा आउने आलोचनात्मक आवाजलाई ट्याउट्याउ सम्झिनु हुन्न जस्तो लाग्छ ? तपाईंलाई कस्तो लाग्छ ? चाटुकारका भजनभन्दा पर आलोचनात्मक आवाज सुन्ने र आत्मसात गर्न सक्ने मान्छे हुनुपर्छ जस्तो लाग्छ ?

देश कहाँ बसेर चलाउनु पर्छ जस्तो लाग्छ ? सरकारी निवासमा बसेर ? कि सिंहदरबारको कार्यालयमा बसेर ? सिंहदरबारमा जानै सकिन्न भन्ने बुझेपछि जान सक्नेलाई जागीर बुझाउन सक्ने मान्छे चाहिन्छ जस्तो लाग्छ ? तपाईंलाई कस्तो लाग्छ ? सपथग्रहण गरेको दुइचारपछि सरकार त घरै बसेर चल्न थाल्छ । सरकार फालिने समय आएपछि सिंहदरबारको अफिसमा पुछपाछ शुरु हुन्छ । अनि छोड्ने बेलाको सम्बोधन त्यहीबाट शुरु हुन्छ । प्रधानमन्त्रीको कार्यालय त्यति दिक्कलाग्दो छ ? अफिस जानै मन नलाग्ने कस्तो कार्यालय छ प्रधानमन्त्रीको ? विरामी हुँदा होस् या सन्चो हुँदा, अफिसै नजाने प्रधानमन्त्री हाम्रोमा मात्र हुन्छन् कि अन्त पनि यस्तै हुन्छ ?

देश चलाउने मान्छे असल, उनका सल्लाहकार सबै खराब हुन्छन् जस्तो लाग्छ ? देश चलाउने मान्छे असल छैन भने आसेपासे, सल्लाहकार, सहयोगी, मन्त्री र सचिवपनि त्यस्तै छानीछानी राख्छ । नाबालाक राजकुमार हो र आफू असल, सल्लाहकार खराब भनेर उम्कन ? आफ्नै टिम खराब छ भनेर जाँच्न नजान्ने मान्छेले देशको सन्चोबिसन्चो कसरी हेर्छ ? कसरी चलाउछ देश ? आफ्नो कार्यालय र सानो टिम सम्हाल्न नसक्नेले देशै सम्हाल्न सक्छ जस्तो लाग्छ ? असल टिममा कहिलेकाही खराब मान्छे छिर्न सक्छन् । अथवा असल मान्छे लोभको शिकार भएर खराब बन्न सक्छन् । असल नेता छ भने आफ्नो टिममा कोही खराब मान्छे छिरेछन् भने कारबाही गरेर निकालिहाल्छ नी । खराब काम गर्नेलाई नसियत दिएको कुरा पनि लुकाउदैन असल शासकले । हरेक अपराध र अपराधीको सुरक्षा कवच बन्छ असल शासक ? तपाईंलाई कस्तो लाग्छ ?

पदमा हुँदा हदैसम्मको बदमासी गरेको मान्छे पद सकिएको भोलीपल्ट थप पद पाउन ठूल्ठूलो कुरा गरेको तपाईंलाई कस्तो लाग्छ ? नैतिक जग नै नभएको ठूलो कुराले बारम्बार मत र मञ्च पाएको तपाईंलाई कस्तो लाग्छ ? सञ्चो लाग्छ ?

गरिब देशको लोकतान्त्रिक शासक कस्तो हुन्छ ? उसको जीवनशैली कस्तो हुन्छ ? उसको बर्थडेमा ब्यापारीको हेलिकोप्टर केक बोकेर डाँडापाखा उड्छ ? हेलिप्याडमा राजसिंहासनजस्तो कुर्सी पुग्छ ? लकडाउनमा दिनदिनै छतमा मासु भुटेर बस्छु भन्दै अन्तरवार्ता दिन सुहाउँछ गणतन्त्रका सारथीले ? औलाभरी औठी लाएर पद प्राप्तीका लागी तान्त्रिककहाँ धाउनेहरुले गणतन्त्र थाम्न सक्छन् जस्तो लाग्छ ?
लोकतन्त्रको शासक एकतन्त्रको शासकजस्तै निरंकुश हुन्छ कि जनताको असल साथीजस्तो हुन्छ ? मिडियाबाट आउने आलोचनात्मक समाचार र विचारलाई दिमाग खुलेको भनेर मख्ख पर्छ कि सरकारले नदेख्ने तैले देख्ने भन्दै हियाउँछ ? देशकै सबैभन्दा खराब प्रशासक छानेर लोकतन्त्रको शासकले संवैधानिक परिषदको गजुरमा चढाउँछ ? न्याय मर्न नदिन अपहत्त गर्ने न्यायमूर्तिलाई महाअभियोग लगाउछ ? महामारीमा लडिरहेको डाक्टरलाई किन जनता पढाईस् भन्दै हप्काउने आँट गर्छ ? आफ्नो पालामा भएको नकाम अर्कोको पालामा उजागर हुँदा ठूल्ठूला कुरा गर्छ कि आफ्नो भागको गल्ती स्वीकारेर थप गल्ती नगरौं भन्दै आत्मालोचित हुन्छ ?

यो देशलाई धेरैले ‘चलाएँ’ भने । चलाए । अस्पतालको बेडबाटै चलाए । अक्सिजनका सिलिन्डर जोडेर पनि चलाए । बिरामी, बलिया सबैले चलाए । तर भद्रगोल तरिकाले चलाए । भताभुंग तरिकाले चलाए । लथालिंग तरिकाले चलाए । तहसनहस तरिकाले चलाए । तर देश चलाउनुलाई सकारात्मक हिसाबले बुझ्ने हो भने यो देशलाई चलाउनेहरु साह्रै थोरै निस्किए । गतिला पार्टी थोरै निस्किए । चुनाव चिन्ह देउताजस्ता बने । रक्सी, मासु र पैसाले बुथ रंगिए । उनै दोहिरिए । आलोपालो धन्धा चलिरह्यो ।

अहिले पनि देश चलिरहेको छैन । देशलाई बन्धक बनाईएको छ । देशलाई थला पारिएको छ । सांसद उठाउन राजमार्गमा गाडी दौडिन्छन् । अलपत्र नागरिक त्यही बाटोमा ८ दिन लगाएर हिड्छन् । गाउँ पुग्छन् । मिहिनेत गरेर अन्न फलाउँछन् । लगानी नै नउठ्ने गरी विचौलियालाई बुझाउछन् । बिचौलियाको जरो देश चलाउनेहरुको घरघरमा पुगेर ठोकिन्छ । बाहिरबाट अरबौंको तरकारी आउँछ । देशको तरकारीमा बारीमै कुहिन्छ । कृषिमन्त्री र अर्थमन्त्रीको मिठोमसिनो भाषण समाचार माध्यममा गुन्जिइरहन्छ ।

देशमा मान्छे मात्र हैन, जनताको आवाज र अधिकारपनि अपहरण गरिएको छ । अहिलेको कुरा गरिरहेको छैन म । अलि पहिलेको कुरा पनि गरिरहेको छैन म । धेरै पहिलेदेखि नै यस्तै चलिरहेछ । ठूलो पार्टीको कोही नेताले ठूलो र चर्को कुरा बोलिरहेको छ भने बुझे हुन्छ, उ भावनाको व्यापार गरेर देश लुट्ने मौका खोजिरहेको छ । एकपटक परिक्षण भैसकेका पात्रले यसो बोल्नु त कलाबिहिन नाटक जस्तो मात्र देखिन्छ । भोट हाल्ने बेलामा जनताको विवेक भत्किएकोले यस्तो भएको होला

यो देश चलाउनेको मन न भुइँचालोले हल्लिन्छ, न कोरोनाले कोतर्छ । कहिले पाल उठाउँछ । कहिले नक्कली किट ल्याएर पैसा खान्छ । महामारीमा डाक्टर हप्काउँछ, डाक्टरको पीपीईलाई मन्त्रीका पतिले भात पकाउने लुगा सम्झन्छ । भुइँचालोमा इन्जिनियर हप्काउछ । पढेलेखेका मान्छेलाई आफ्नो चरणको दास ठान्छ । चरणका दासहरु छानीछानी तक्मा बाड्छ । छनौट समितिको संयोजकले नै सबैभन्दा ठूलो तक्मा उठाउँछ । मान्छे यति धेरै विवेकहीन किन र कसरी बन्छ ? यति धेरै कठोर, निरंकुश, एकांकी सोच राख्ने दलहरुले लोकतन्त्रको बर्कोचाहि किन ओड्छन् ? देश नचलाउनेहरुलाई प्रश्न सोध्न पनि डराउनुपर्ने अवस्था छ । देश नचलाउनेहरु प्रश्न पनि नचलाउदै खुशी मान्छन् ।

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

2 thoughts on “देश नचलाउनेका नाममा

  1. चटकेहरूलाई जनताले सरकारमा पुर्याए पछि चटक नै त देखाउनु सामान्य हाे सर । यहाँ स्वधर्मको पालना कसैले गरेकाे छैन । नैतिकताकाे खडेरी परेकाे छ । पेशाकर्मीहरू हरूलाई राजनीति गर्ने छुट किन छ। अबैधानिक बिचाैलिया हरूकाे जन्म कसरी भयाे ।यसलाई नियन्त्रण किन गरियाे । शिक्षा र स्वास्थ्य जस्ताे पवित्र क्षेत्रलाई यतिचाडै निजीकरण गर्ने अनुमति कसले दियाे ? त्यसले माहापाप गरयाे ।लाेकतन्त्रिक समाजबादकाे परिधी भित्र रहेर राज्यकाे हरेक अंगकाे पुन संरचना अावस्यक छद। बिधालय तहमा नैतिक शिक्षा नपढेकाे युवा पुस्ता सेवा क्षेत्रमा प्रबेश गरिसक्याे अबकाे स्थिति अझ बिकराल छ । समस्यकाे समाधान कसले गर्ने …?

    Like

  2. बगाले सर नमस्ते …. आहिले देश को प्रणाली चलाइरहेकाहरु पनि हामी मध्धे बाटै निर्वाचित भएर गएका हुन् . तेसैले मलाई लाग्छ हामीले आफुमा हेर्नुपर्छ , आफ्नो समाज मा हेर्नुपर्छ र आफ्नो देश को सबै नागरिक को जीवन मा झाक्नु पर्छ…. पहिले त आफैलाई प्रस्न गर्नु जरुरि छ…के हामी मानव साच्चै मानव भएर बाचिरहेका छौ ?, अनि के हामी नेपाल नामको देश मा बसेर नेपाली भएर बाचिरहेका छौ ?, के हामी देश को नागरिक भएर बाचिरहेका छौ ?…….

    यी सबै प्रस्नका उत्तर हामी आफैले खोजेर आफ्नो जीवन सैली माटो सुहाउदो बनाउन जरुरि छ.
    यहा म नागरिक भन्दा धेरै राजनीतिक कार्रेकर्ता देख्छु, देशमा नागरिक छ भने देश चलाउने प्रणालीको महत्तो हुन्छ नत्र जुन प्रणाली आएपनि काम हुन्न. नागरिक भएको भए प्रणाली बाट चुनेर नेता बन्थियो नागरिक र नागरिक बस्ने देश को चासो हुनेथियो तर कार्रेकर्ता वाट चुनिएर नेता भएकोलाइ न नागरिक को चासो न नागरिक वस्ने देश को चासो.

    हाम्रो आहिले को यो समाज, समाज को चरित्र र देशको परिस्थिति हामीले नै निर्माण गरेका हौ (जानेर वा नजानेर). नेतालाई सघाउन,परामर्स दिन मानिएका गनिएका विज्ञहरु छन् तैपनि नागरिक र नागरिक बस्ने देश को हालत एस्तो छ. तेसैले यहा प्रश्न उठ्छ कहाँ गयो विज्ञ भनौदा का विज्ञता, कहाँ गयो उसको नैतिकता (दुध को साक्छि बिरालो). एसले हाम्रो विज्ञ बनाउने प्रणालीमा प्रश्न उठउछ, एसको जवाफदेहिता कसले लिन्छ ??.. यो पनि हामीले नै लिनुपर्छ र जवाफ दिनुपर्छ.

    हामीले यो भौतिक्तालाई बुझेर पराभौतिक हुने ज्ञान प्रणाली लाइ लत्त्याएर भौतिकता मा मात्र लिप्त हुने प्रणाली अपनायौ. मानव भइ मानव धर्म अनुरुप जीवन वाची अन्तिम स्वोतन्त्रता (मोक्छे) प्राप्ति गर्नुको सट्टा भौतिक अस्तित्तो नै सर्वसो मान्दै छौ तेसैले त सानैमा स्कूलमा, तिमि पछि ठुलो भएर के वन्ने? प्रश्न गर्छन. आफु यो ब्रह्माण्ड मा समाहित हुने जीवन सैली हैन उडेर चन्द्र छुने जस्तो उदेस्से बोकाउछन. जीवन मा एउटा सानदार महल, सानदार गाडी र आफ्नो सन्तान लाइ तथाकथित राम्रो इस्कूल मा पढाउनु पाए जीवन धन्ने भयो भन्ने मानसिकता विकास गराइयकोछ. अनि कहावाट मानव हित, नागरिक हित र नागरिक बस्ने देशको हित गर्ने मान्छे -नेता निस्कछन् .

    आव धेरै अरुलाई दोष सारेर मात्र सवै काम-कुरा ठिक हुन्न. आव आफुमा परिवर्तन ल्याउनु छ, आफ्नो पछिल्लो पुस्तालाई आफूभन्दा उत्कृष्ट जीवन वाच्ने वातावरण को निर्माण गर्नुछ तेस्को लागि आफुलाई पहिला मानव मा रुपान्तरण गर्नुछ, देशको नागरिक बन्नुछ अनी प्रणालीमा बसी नेता चुन्नु वा हुनु छ.

    (हामी मानव बनौ अनी त जुन भाँडा मा हालेपनि केहि फरक पर्दैन) (भाँडाहरु = डाक्टर, इन्जिनियर, पायलट, शिक्षक, वैज्ञानिक, अभिनेता, नेतृत्वकर्ता, आदि।)
    (मार्शल आर्टको दुनियामा एक महान व्यक्ति (ब्रुस ली)ले भनेका थिए – “बि लाइक वाटर माइ फ्रेन्ड”) – सार्है सानधर्भिक पानीलाई जस्तो-जुन भाँडामा हालेपनि आफ्नो धर्म फेर्दैन.)
    ( मानव धर्म सर्व धर्म )
    जय नेपाल ….

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: