घाटमा हराएको मानवता

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा समाजका विभिन्न चित्र र चरित्र बाहिर आएका छन् । संक्रमितसंगै मृतकको संख्या पनि बढ्दो छ । २०७७ साल साउन २ गतेसम्ममा ४० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा शव व्यवस्थापनमा समस्या देखिन थालेको छ । जेठ २६ र असार ११ गते पोखरामा शव ब्यवस्थापनमा देखिएको समस्या गोरखामा पनि देखिएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्याङ्जाका एकजना बृद्धको शव व्यवस्थापनमा स्थानीय वडाधक्ष्यदेखि प्रदेश सांसदसम्म सम्मिलित समूहले अवरोध गर्दा १९ घण्टासम्म शव अलपत्र परेको थियो । प्लाष्टिकले पोको पारेर लगिंदै गरेको शवलाई एम्बुलेन्सभित्र बसेर मृतककी श्रीमती र छोरीले हेरिरहेको दृश्य ह्रदयविदारिक थियो । लामो रस्साकस्सीपछि जेसीभीले खाल्डो खनेर सेतीनदीको रिठ्ठे घाटमा उनको शव गाडिएको थियो । असार ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३२ मा उस्तै समस्या दोहोरियो । सेती नदी किनारमा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गरी टायर बाले । त्यहाँ पनि झडप भयो । कतारबाट कोरोनाग्रस्त भई गृहजिल्ला फर्किएका पालुङटार निवासी एक ४४ बर्षीय ब्यक्तिको गोरखा जिल्ला अस्पतालमा असार २० गते निधन भएपछि दरौदी र लुदीखोलाको दोभानमा अत्तेष्टी गर्ने निर्णय भयो । त्यसपछि सो आसपासको अबुवा क्षेत्र तनावग्रस्त बन्यो । स्थानीयले लामो समय अवरोध गरे । प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरी भीड हटायो । मृत्यु भएको १२ घण्टापछि बल्ल शव गाडेर अन्तिम संस्कार गरियो । सेनाले शवलाई सलामी दिएर सम्मान गरेको तस्वीर गोरखाकै दरौदी डटकममा हेर्दै गर्दा मेरो मनमा धेरै प्रश्नहरु उब्जिए । सेना नागरिकको शवलाई जोखिम मोलेर अन्येष्टी गरिरहेछ, सलामी दिइरहेछ । मलामी बन्नुपर्ने हातहरु अवरोधका लागी उठिरहेछन् । मान्छेसंगै मानवता पनि मर्ने रहर किन गरिरहेछ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापन कार्यविधि बनाएको छ । त्यसमा परम्परागत रुपमा चलिआएका स्थानमा नै विशेष सावधानी अपनाई अत्येष्टी गर्न सकिने उल्लेख गरिएको छ । मृतकलाई गाड्न वा जलाउन मिल्ने उल्लेख छ । मृत शरीरलाई उठाउनुअघि डेड बडी ब्यागमा बन्द गरी (वा सेतो कपडाले बेरी प्लाष्टिकले बेर्ने) शव बाहन चालक र शव ब्यवस्थापन टिम सदस्यले पीपीइ लगाउनुपर्ने, अन्तिम संस्कारमा सहभागी नातेदार र आफन्तले पन्जा, टोपी, मास्क सहितको पीपीइ लगाउनुपर्ने, १ मिटर टाढाबाट हेर्न पाउने, अस्तुले जोखिम पैदा नहुने हुँदा उठाउन मिल्ने जस्ता कुराहरु उल्लेख गरिएको छ । यति धेरै सावधानी अपनाएर अन्तिम संस्कार गर्दा पनि ढुंगामुढा गरिनुले समाजमा चेतनाभन्दा अफवाह बढी फिजिएको र समस्याप्रति समाज सम्वेदनशील बन्न पटक्कै नखोजेको महसुस हुन्छ । स्थानीय अगुवाहरुले नै समाजलाई सम्हाल्नुपर्नेमा आफै उत्तेजित बनेर अवरोध गर्दै हिड्नु दुखद छ।

स्केच साभार— भानु भट्टराई/हिमालखबर डटकम

हामी कोही पनि अजम्बरी छैनौं । कोरोना भएपनि/नभएपनि मृत्यु शाश्वत सत्य हो । यतिबेला त कोरोनाको नाममा मृत्युको छाया आँखै वरिपरि घुमिरहेको महसुस हुन्छ । कोरोना सिंगो मानव समाजको साझा समस्या बनेको छ । यो बिपत्ती जुनसुकै समयमा जता पनि सल्किन सक्छ । त्यसकारण सुरक्षा निकायले शव व्यवस्थापन सम्बन्धी राष्टिय मापदण्डको पालना गरी तथा आवश्यक सुरक्षात्मक उपाय अपनाई गरिने अन्तिम संस्कारमा अवरोध गर्नु, संवेदनशील काममा खटिएका सुरक्षाकर्मीमाथी दुव्र्यवहार गर्नु, मृतकका परिवारलाई थप पीडा दिनु दुर्भाग्यपूर्ण छ । यस्ता काममा जनप्रतिनिधिले नै अगुवाई गर्नु ठूलो बिडम्बना हो । सुरक्षात्मक उपाय अपनाईएको छ भन्ने बुझ्दाबुझ्दै पनि यति संवेदनशील बिषयमा समस्या निकाल्नु र समाजलाई उत्तेजित बनाउनु जनप्रतिनिधिको धर्मभित्र पर्दैन ।

मृत शरीरले खोक्दैन । थुक्दैन । हाच्छ्यु पनि गर्दैन । न छुन जानु परेको छ, न त बोक्न नै । यो सबै जिम्मेवारी सुरक्षा निकायले आफ्नो काँधमा हालेका छन् । अनि मृत शरीरले कसरी कोरोना सार्छ ? जिउँदा मान्छे काम परेर मात्र होइन, विना काम लखरलखर हिडेकै छन् । भीडभाड गरेकै छन् । हुलका हुल हाहाहाहु गर्दै हिडेका छन् । यो संसारमा कोरोना नै छैन जस्तो गरी भोजभतेर, भेला, मेला, उत्सव, सम्मान, पुरस्कार, आन्दोलन, नाचगान सबै चलेकै छन् । सानादेखि ठूलासम्म सबैलाई मास्क नलगाए पनि चलेकै छ । साबुनपानीले राम्ररी हात नधोए पनि चलेकै छ । यतिधेरै मनपरी गरेर पनि मृत शरीरसंग पनि किन सातो उडेको ? अलक्क अत्येष्टी गरिएको मृत शरीरले कोरोना सार्ने होइन, शव ब्यवस्थापनको विरोध गर्न हुलका हुल बाँधेर जाँदा जिउँदो मान्छेले कोरोना सार्न सक्छ । स्थानीय एफएम र पत्रपत्रिकाहरुमा यसबारे सचेतनामूलक सामाग्रीहरु प्रसारण तथा प्रकाशन भए भ्रम अलिकति चिरिन्थ्यो कि ? सामाजिक सन्जालमा भाइरल हुने अपवाह नै नेपाली समाजको सूचनाको आधिकारिक स्रोत बनेको छ । त्यस्तै अफवाहको पछि लागेर समाज भ्रमित भएको छ । भ्रमको पोको त छँदैछ, आफूलाई कहिल्यै समस्या नै पर्दैन भनेजसरी समाज स्वार्थी पनि बन्दै गएको छ । आफूलाई नपरेसम्म पटक्कै संवेदनशील नहुने रोग झांगिदो छ । हरेक सामाजिक समस्यालाई आफ्नो हैन, सरकारको समस्याको रुपमा बुझ्ने रोग फैलिदो छ । यो रोग पनि कोरोनाजस्तै डरलाग्दो छ । यो नदेखिने रोगले समाजको हार्दिकता हराउँदै गएको छ । भीड लखेट्दै लाठी चार्ज गर्दै अन्तिम संस्कार गर्न बाध्य हुनु असाध्यै दुखद छ । यति धेरै संवेदनाहीन बन्न नेपाली समाजलाई सुहाउँदैन । जिउँदाको जन्ती मर्दाको मलामी, यो उखान होइन । हाम्रो जीवनचक्र हो । जीवनको चक्र नै उखेलिने गरी हामी कति असहिष्णु बन्न थाल्यौ ? अराजकताको नेतृत्व गर्ने अगुवाहरुले आत्ममन्थन गर्नुपर्ने भएको छ ।

कोरोनाबाट बच्न हामीले भौतिक दूरीको पालना गर्नुपर्छ । तर यसलाई सामाजिक दूरी भनियो । त्यो सामाजिक दूरीले छिछि र दूरदूर निम्त्यायो । क्वारेन्टाइन र आइसोलेन सेन्टरहरुमा सामाजिक दूरीले दूरदूर निम्त्यायो । त्यहाँ बसेकाहरु दुव्र्यवहार भोग्न बाध्य भए । त्यही दुव्र्यवहारको निरन्तरता मृतकको शव व्यवस्थापनमा देखियो । समाज यति धेरै असंवेदनशील नबनोस् । हाम्रोमा पनि कोरोना भुसको आगोझै सल्किसकेको हुनसक्छ । सरकारले अड्कली अड्कली कोरोना जाँचेको छ । समुदाय स्तरमा जाँच हुनै सकेको छैन । सरकारको समर्थन र विरोधको नाममा सडकमा तनाव देखिएकै छ । मास्क पनि हामीले सरकारका लागी लगाईदिए जस्तो गरेका छौं । कोरोना सल्कियो भने दुख पाउने सरकारले हैन हामीले नै हो । बिपत्ती जो कोहीलाई आउन सक्छ । अहिले नाराजुलुस गर्दा बहादुरी गरें भन्ने लाग्दो हो । त्यही नाराजुलुसबाट घर फर्किदा शरीरभित्र भाइरस पस्न सक्छ । त्यसले आफूलाई मात्र होइन, परिवार र समाजलाई नै पिर्न सक्छ । अरुलाई सताउन हिड्दा आफू जोखिमको जातोमा पर्न सक्छु र भोली त्यो दुर्दशा आफूलाई आउन सक्छ भन्ने नबिर्सौ । मृत शरीरलाई दुव्र्यवहार गरेर ,मृतकका परिवारलाई थप पीडा दिएर सुरक्षाकर्मीलाई सताएर हामीले केही जित्दैनौं । हामीभित्रको खराब मान्छे चिनाउने कामबाहेक अरु उपलब्धी केही मिल्दैन । कोरोना सरकारको समस्या होइन । सिंगो मानव समुदायको समस्या हो । मानसिक र सामाजिक दूरी होइन, भौतिक दूरीमात्र कायम गरौं । मनको दूरी बढाएर कसैंलाई दुख दिने काम नगरौं । कोरोना रहर हैन, कहर हो । हुलदुंगा गरेर थप कहर नथपौं । अरुलाई कहर थप्न जाँदा आफ्नो शरीरभित्र कोरोनाले पस्ने रहर गर्छ । मानवता जिउँदै राखौं । मृतकसंग हैन, जीवितसंग सजग होऔं । जिउँदाको जन्ती र मर्दाको मलामी लाई उखानमा सीमित नगरौं ।

(२०७७ साल असार २८ गते हिमालखबर डटकममा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: