ठूला एकादशी र शिशाघाट मेलाको सम्झना

आज हरिबोधनी एकादशी अर्थात कार्तिक शुक्लको एकादशी । असार शुक्ल एकादशीमा तुलसी रोप्ने र आजको दिन तुलसीको विहा गराउने आम प्रचलन छ । हाम्रो गाउँ सेरोफेरो (रिस्ती उपत्यका) तिर आजको एकादशीलाई ‘ठूला एकादशी’ पनि भनिन्छ । ठूला एकादशीको तयारी र रमाईलो ठूलै हुन्थ्यो । सरकारी विदा नभएपनि सेरोफेरोका सबैजसो विद्यालयले स्थानीय विदा दिन्थे । थामिनसक्नु तीर्थालुको भीड शिशाघाटमा उर्लन्थ्यो । लमजुङको दुईपिप्ले बजार कटेपछि शिशाघाट आउँछ । मादी नदीको किनारमा शिशााघाटको फराकिलो चौरमा निकै ठूलो मेला लाग्थ्यो ।

म २०५६ सालसम्म शिशाघाटमा चल्ने एकादशी मेलामा गएँ । स्कूल जीवन सकिएसंगै एकादशी मेलामा जाने क्रम टुट्यो । एकादशी मेलाका सम्झनाहरु मनमा ताजै छन् । मान्छे नै मान्छे । सुन्तलाको उरुङ । मान्द्राले बेरेका अस्थायी होटलभित्र पाकिरहेका जेरी, पकौडा र तरकारी । सखरखण्डको थुप्रो । रंगीचंगी लुगा । झण्डाबुर्जाको खेलो । छेलो हान्ने, रिङ हान्ने र भलिबल खेलको रमाईलो । पौडी खेल्ने र डुंगा तर्नेहरुको हुल । माटाका भाडा, भकारी र अनेक कृषि उपजको किनबेच । भीडमा हराईएला कि भन्ने डरले बा, दाइहरुको हात समातेर मेलामा घुमेपछि बाले दिनुभएको १०—१५ रुपैंया सिध्याएर फुरुंग परेर घर फर्किएको क्षण । डोली तार्दा मान्छे नै नदीमा खस्ने, फूलको डोली बगाउने कहालीलाग्दा क्षणहरुको साक्षी । सम्झनाको लहरो निकै लामो छ । फूलको डोलीजस्तै लामो र रंगीन । त्यतिबेला हातमा क्यामेरा थिएन । क्यामेरा भएको भए धित मर्नेगरि फूलको डोली र शिशाघाट मेलाको फोटो खिच्ने थिएँ । ठूला एकादशीको मेला सम्झँदै रानीवनस्थित घर परिसरमा बनेको सानो तुलसीको मठमा पूजा गरेपछि मेरो मन उडेर शिशाघाट मेलामा पुगिहाल्यो ।

एकादशी मेला सम्झँदै रानीवनमा गरिएको पूजापाठ

एकादशी मेलाको सबैभन्दा ठूलो आर्कषण नै फूलको डोली हुन्थ्यो । बर्षेनी सरदर २—४ वटा डोली तार्थे । कहिलेकाही त ५—७ वटासम्म पनि हुन्थे । तार्ने त फूलको लठ्ठा हो । डोलीमा हालेर लैजाने चलन भएकोले भएकोले ‘फूलको डोली तार्ने’ भनिएको हो । फूलको डोली तार्न निकै ठूलो मिहिनेत चाहिन्छ । तिहार सकिएलगत्तै फूलको डोली तार्ने परिवार र छिमेकीहरु गाउँ—गाउँ गएर फूल बटुल्न थाल्दछन् । डोकाका डोका फूल चाहिन्छ । शिशाघाटमा मादी नदी निकै फिजारिएकोले वारपार हुनेगरि बाध्न निकै लामो डोली चाहिन्थ्यो । निकै मोटो र बलियो हुन्छ फूलको डोली । बाबियो र पाट मिसाएर बलियो र मोटो डोरी बनाईन्छ । यो कामका लागि राम्रो सिप चाहिन्छ । डोरी कमजोर भयो भने चुडिने डर हुन्छ । डोलीमा फूल बाहेक ससाना कुचा, नाङ्ला, ऐना, काईयो, कपाल बाट्ने रातो डोरी आदि अनेक चीजहरु राखेर सिंगारिन्छ । निकै गरुंगो हुन्छ ।

डोली लाने अघिल्लो दिन सालको बडेमाको हाँगो काटेर लिंगो बनाईन्छ । डोली तार्दा डोलीलाई वारिपट्टि त्यही लिंगोमा बाधिन्छ र पारिपट्टि चाहि बलियो रुखको हाँगामा बाधिन्छ । यति तयारी भएपछि एकादशीको दिन बाजागाजासहित टोल-छिमेकसंग मिलेर शिशाघाटमा डोली उतार्थे । ‘डोली गंगाजीलाई धर्म जति कर्तालाई’… जस्ता भजन गाउँदै, नाच्दै डोली लगिन्थ्यो । मादीको वारिपारि बलिया युवाहरु जम्मा भएर होस्टे र हैंसे गर्दै डोली तार्थे । सिपालु ब्यक्तिले पौडी खेलेर डोरी समाएर नदीको पारी पुर्याउथे। पानीमा भिजेको त्यो डोली निकै गरुंगो हुन्थ्यो । पारि भीर परेको ठाउँ भएकोले वारिपारिको सन्तुलन नमिले तानिएर नदीमा खस्ने डर हुन्थ्यो । मादी ठूलो भएकोले तथा निकै फिजारिएकोले वारि बोलेको पारि सुनिन्नथ्यो । हामी त निकै टाढाबाट डोली तारेको हेथ्र्यौ ।

फूलको डोली तार्नु निकै सकसपूर्ण काम हो । निकै लामो, मोटो र बलियो डोली बनाउनुपर्ने भएकोले डोरी बनाउने सामान तथा डोकाका डोका फूल चाहियो । थुप्रो दिन लगाएर भएभएरका गाउँटोल पुगेर फूल जम्मा पार्ने काम हुन्थ्यो । डोलीमा फूल मिसाउँदा धर्म हुने विश्वासले भएभरका सबै फूल सर्लक्कै निखारेर पठाउने चलन हुन्थ्यो । डोली बनाउन बुन्ने थुप्रै सहयोगी हातहरु चहियो । पूजापाठका अनेक रित पूरा गर्नुपर्यो । हरेक साँझ घरको काम सकेपछि डोली तार्ने घरमा जम्मा भएर सघाउन जाने चलन थियो ।

हाम्रो टोलबाट त फूलको डोली तारेको मैले मेसो पाईन । शिशाघाटमा बाहुनपोखरा, जिता, टक्सार, सूर्यपाल, सातधारे, सोतीपसल, रम्घा, चर्दी, बर्लाची, दुईपिप्ले लगायत रिस्ती उपत्यकाका कयौं बस्तीबाट हजारौं मानिसहरु ओइरिन्थे । हाम्रो गाउँबाट शिशाघाट पुग्न करिब १—१.५ घण्टा लाग्छ । त्यो दिन त बाटोमा पाइलो टेक्ने ठाउँ हुन्नथ्यो । मान्छे कति कति । शिशाघाट पुगेपछि अग्रजहरु नुहाउनुहुन्थ्यो । पूजाका अनेक सामाग्री, सुन्तला, बत्ती र १—२ रुपैंयाको सिक्का एउटा टपरीमा हालेर मादीमा बगाउनुहुन्थ्यो । पानीभित्र पसेर पैसा टिपिरहेको पनि देखिन्थ्यो । बत्ती बलेको टपरी मादीमा बगिरहेको दृश्य लोभलाग्दो देखिन्थ्यो । हामीचाहि मादीको पानीले हातमुख धुन्थ्यौं । ओहो । चिसो न चिसो पानी । सम्झँदै सिरिंग हुने ।

एकादशी मेलाको दिनमा बाले मेलाखर्च दिनुहुन्थ्यो । ५—६ कक्षामा पढ्दा ५ रुपैंया नै काफी हुन्थ्यो । ९—१० कक्षामा पढ्दा १५—२० रुपैंयाले मेला भर्न पुग्थ्यो । हातमुख धोइओरी तयार भएपछि बजार डुल्थ्यौं । त्यो दिनको मुख्य आर्कषण तात्तातो जेरी र आलु—केराउको तरकारी नै हुन्थ्यो । घ्यूको भुटुनको मात्र तरकारी खानेलाई के थाहा, तेलमा पकाएको आलु—केराउ कति तिख्खर र मिठो हुन्छ भनेर । आलु केराउको तरकारी, जेरी, पकौडा, उसिनेको सखरखण्ड, बदाम र घरबाट झोलामा लगेको सुन्तला । खानेकुराका पसलबाहेक झण्डाबुर्जा खेलाउनेहरु पनि हुलका हुल हुन्थे । झण्डाबुर्जातिर भुलियो र हारियो भने दिनभर भोकै पर्ने डर । त्यसैले झण्डाबुर्जाको रहर डरलाग्दो हुन्थ्यो ।

धान थन्क्याउने बेलामा एकादशी मेला लाग्ने भएकोले धान राख्ने भकारी र ‘कोठा’ को ब्यापार निकै हुन्थ्यो । त्यसबाहेक माटाका सुराई, घैटो, घ्याम्पो, मकल, खुत्रुकेको ब्यापारपनि निकै हुन्थ्यो । सुन्तलाको रास त कति हो कति । सिजन अनुसारका तरकारी, फलफूल, भटमास लगायत गेडागुडीको ब्यापारपनि उस्तै । हाम्रो सेरोफेरोमा बर्षमा दुईपटक मात्र ठूलो हाट लाग्थ्यो । शिवरात्रीको साँझ र भोलीपल्ट सोतीपसल शिव मन्दिरको छेउमा । अनि ठूला एकादशीमा । त्यही भएर यी मेलाहरु बर्षभरिलाई चाहिने कृषि औजार, साधन र अन्य उपजहरुको किनमेल गर्ने थलो थिए ।

एकादशी बजारमा रमाईलो मात्र थिएन । डरैडर पनि थियो । बालबालिका हराउने डर । लुटिने डर । ग्याङ फाईटको डर । झन्डाबुर्जा खेल्नेहरुको झगडा । डोली तार्दा डोली नै चुडिने डर । पौडेर डोली तार्दा मान्छे नै बगाउने डर । वारिपारि बसेर डोली तार्दा मान्छे नै हुत्तेर मादीमा खस्ने डर । डुंगामा धेरै मानिस चढ्दा डुब्ने डर । भीडभाडमा किचिने डर । जाँडरक्सी खाएर हाहाहुहु गर्नेहरुको डर । तर डरलाई रमाईलोले नै जितेको थियो ।

फूलको लठ्ठा तारिसकेपछि लठ्ठा बोकेको डोली रित्तै फर्काउनु हुन्न भन्ने मान्यता अनुरुप बाजागाजासहित केटाकेटीलाई राखेर नाँच्दै बजाउँदै घर फकने गरिन्थ्यो । हामी पनि त्यस्तै टोलीको पछि लागेर उज्यालोमै फर्किन्थ्यौं । फर्कदा आमाहरुले के-के किन्नुभयो भन्ने चासो हुन्थ्यो । परिवारका कोही सदस्य साँझसम्म पनि घर नआउँदा ठूलो तनाव हुन्थ्यो । मेलामा झगडा हुने भएकोले डराउनुपर्ने हुन्थ्यो । कता गएको हो । कोसंग हिडेको हो । कता सोध्नु । कता खोज्नु । यस्तैयस्तै रमाईलो, अन्योल र हल्लाखल्लामा ठूला एकादशीको मेला सकिन्थ्यो । ठूला एकादशी सकिएसंगै त्यो बर्षको चाड लगभग सकिन्थ्यो ।

आजकाल शिशाघाट बजारमा कस्तो मेला लाग्छ कुन्नि ? कति मानिस जान्छन् कुन्नि ? कतिवटा फूलका डोरी तारिंदा हुन् ? केके परिकार पाक्दा हुन् ? केके सामान बिक्दा हुन् ? पानीमा हेलिएर वा डुंगाको सहायताले डोली तारिदो हो कि पूलबाट सरर… लगेर लठ्ठा झुन्ड्याईंदो हो ? डोका, डाला, नाङ्ला, भकारी, कोठा, हसिया, सुराही, जेरी,पकौडा सुन्तला, बदामसंगै नौलानौला केके सामानहरु पाईदा हुन् ? गाउँगाउँबाट हिडेरै मेलामा जान्छन् होला कि मादी किनारमा मोटर र मोटरसाईकलको लर्को देखिंदो हो ? एकपटक फेरि शिशाघाट मेलामा गएर मादीमा हातमुख धोएर तात्ततो जेरी र तरकारी खाँदै धित मरुन्जेल फूलको डोली तारेको हेर्न मन छ । मेलामा रमाउन मन छ । मेलालाई मनले मात्र हैन, क्यामेराले पनि खिच्न मन छ । २० बर्ष भयो एकादशी मेला नदखेको । त्यो मेला फेरि देख्न मन छ ।

(२०७७ साल मंसीर १० गते बुधबार )

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
<span>%d</span> bloggers like this: