न्वाइ (न्वागी) खाने दिनको सम्झना

ठूला एकादशी सकिएसंगै ठूला चाडवाड लगभग सकिन्छन् । ठूला चाडवाड सकिएपनि गाउँले जीवनमा रंग भर्न ससाना चाड निरन्तर आईरहन्छन् । हेर्दा ससानो तर ठूलै उमंग भित्र्याउने चाडमध्ये एक न्वागी खाने दिनपनि हो । दशैं सकिएसंगै धान पहेलिंदै गएपछि र भकारी रित्तिकै गएपछि साईत हेरेर न्वागी खाने दिन निस्कन्थ्यो । हुनलाई भदौ असोजतिर घैया पाक्छ तर घैया भगवानलाई चढ्दैन । भगवानलाई चढ्नलाई त पाखोको घैया हैन, खेतकै धान चाहियो । चलन त्यस्तै भएपनि घैयाले के गरोस् । बिचरा घैया । रुखोसुखो पाखोमा फल्नु छ, भगवानलाई नचढ्नुको दुख पनि खेप्नु छ । विनादोष यसरी हेपिनु परेकोले हो कि, घैया त आजकाल लोपै भएको छ । भातमात्र किन, चिउरा खानलाई पनि घैया खास्सा थियो । आजकाल त घैयालाई फोटोमा खोज्नुपर्छ । मसंग पनि घैयाबारीमा एउटा फोटो छ । घैयाबारीभित्र म पनि छु ।

ठूला एकादशी पछिको पहिलो पूर्णिमा । हाम्रो कुलमा न्वागी खाने दिन । साईत हेरेर खाने चलन जुराउनुसट्टा यसरी दिनै तोक्न थालिएको केही बर्षमात्र भयो । त्यो पूर्णिमा केही कारणले छेकियो भने त्यसपछिको पञ्चमीमा न्वागी खाने साईत जुर्छ । पञ्चमी पनि छेकियो भने पञ्चमी पछिको पूर्णिमामा न्वागी खाईन्छ । न्वागी खाने दिनले बेग्लै खुशी भित्र्याउथ्यो । बारीमा मकै पाकेपछि होस् या भान्सामा सेलरोटी पाकेपछि, देवतालाई चढाएर मात्र खाने चलन छ । धान पाकेपछि चढाउने चलनचाहि अर्कै । कुलका सबै मिलेर कुल देवताको मन्दिरमा भेला भएर पूजा भएपछि बल्ल नयाँ धानको भात खान पाईन्छ । बैशाख पूर्णिमाको दिन कुलदेवताको पूजा गरेकैं शैलीमा पूजाआजा गरि न्वागी खाईन्छ ।

बर्लाची, तनहुँस्थित कुलदेवताको मन्दिरमा आज गरिएको पूजा (तस्वीर साभार—समिक्षा बगाले)

न्वागी खानुभन्दा पहिला मुठी लिने चलन हुन्छ । धान काट्नुभन्दा पहिला साईत हेरेर एक मुठी धान काटेर ल्याईन्छ । त्यसैलाई मुठी लिने भनिन्छ । मुठी लिनुअघि मुहाने गरोमा धूपदीप गरिन्छ र धानको गाँज सहित काटेर घरमा ल्याईन्छ । मैले जान्दा त धूपदीप गरेर मुठी लिने चलन अलि पातलो भैसकेको थियो । बाको बाल्यकालमा सलाई र लाईटर त्यति सहजै पाईन्नथ्यो रे । त्यतिबेला घरबाटै ठूलो अगुल्टो लगेर धूपदीप दिने चलन थियो रे । झुलो—चम्को (चिलौनेको रुखमा पाईने च्याउ, फलाम र दर्शनढुंगा रगडेर आगो बालिने चलन) लगेर आगो निकालेर दाउरा बालेर धूप दिने चलनपनि थियो अरे । यसरी धूप दिएर मुठी लिएपछि त धान काट्ने साईत फुकिगो । आफ्नो अनुकूलता अनुसार जहिले काटेपनि भयो ।

नयाँ चामलको होइन, बजारको चामलको न्वागी र पातलो रोटी । काठमाडौंमा बनेको न्वागी ।

न्वागी खाने बेलामा धान पाक्यो भने त नयाँ चामलकै न्वागी खान पाईन्छ । नयाँ धानको चामललाई धेरै बेर भिजाएपछि त्यो नरम बन्छ । काँचै खान सकिन्छ । त्यसमा केरा, दही, सुकमेल, मरिच मिसाएर बनाईने स्वादिलो प्रसाद हो न्वागी । न्वागीसंगै चामलको पातलो रोटीपनि बनाईन्छ । नयाँ चामललाई सिलौटोमा पिसेर, चिनी मोलेर तावामा घ्यू तताएर पातलो रोटी बनाईन्छ । असाध्यै मिठो हुन्छ पातलो रोटी । त्यो दिन सम्भव भएसम्म अक्षता, चरु (होम गर्दा धान, चामल, घ्यू मिसाएर होम्ने), रोटी सबै नयाँ धानकै बनाईन्छ । तर नयाँ धान राम्ररी पाकेन भन नयाँ धान थोरै ल्याएर भकारीमा मिसाईन्छ र काम चलाईन्छ । ढिलो पाक्ने धानका बीउलाई आजकाल छिटोछिटो पाक्ने बीउले बिस्थापित गरिसकेकाले न्वागी खाने बेलामा धान नपाक्ला कि भन्ने पिरलोचाहि खासै छैन ।

न्वागी खाने दिन तेत्तीस कोटी देवता र कुल देवतालाई सम्झेर होम—आहुती गरेपछि पूजा सकिन्छ । पूजाआजा सकिएपछि टिका र तरेखु (चरु होमेपछि डढेर बनेको कालो चीज) लगाईन्छ । त्यसपछि न्वागी र चामलका पातला रोटीको प्रसाद खाईन्छ । कुलदेवताको मन्दिर बन्नुभन्दा पहिला कुलका जेष्ठ सदस्यको घर (भण्डार कोठामा) मा कुलदेवताको पूजा गर्ने र न्वागी खाने पूजापनि त्यसरी नै गर्ने चलन थियो । कुलका जेष्ठ सदस्यको घरमा कसैको मरण भएमा त्यो बर्ष त्यो घरमा पूजा चल्दैनथ्यो र अर्का सदस्यको घरमा हस्तान्तरण हुन्थ्यो । यसरी पालो सर्दै—सर्दै गएर पूजाले निरन्तरता पाईरहेको थियो । केही बर्षअघि कुलदेवताको मन्दिर बनेपछि पूजाआजा गरेर मन्दिरमा न्वागी खान थालिएको छ । यो पूजाको दिनमा सात भाग चामलका थुप्रा बनाएर त्यसमाथि पातीको लिंंगो राखेर पूजा गरिन्छ । पातीको लिंगोलाई ध्वजा—पताकाले सिंगारिन्छ । यसरी राखिएका सात भागमध्ये पाँचवटा भाग कुल देवतालाई, एउटा गणेशलाई, एउटा गौरीलाई समर्पण गरिन्छ । न्वागी खाने दिन गरिने पूजा र बैशाख पूर्णिमामा गरिने पूजामा खासै फरक हुन्न ।

बर्षको दुईचोटी कुल देवताको पूजा किन भएको होला ? सानोमा कुरा नबुझेर अलमल्ल पर्थें । बैशाख पूर्णिमामा कुलदेवताको पूजामा खीर र पातलो रोटी खाईन्छ । कार्तिक मंसीरको पूजामा ‘न्वाई’ (गाउँमा न्वागी नभनेर न्वाई भनिन्छ) र पातलो रोटी खाईन्छ । फरक त्यतिमात्र हो । अलि ठूलो भएपछि बुझें, जीवन धान्ने धानलाई यसरी सम्मान गरेर यसो गरिएको हो । सानोतिनो सम्मान त सबै अन्न र फलफूलले पनि पाउँथे। मकैंलाई तुलसीको मोठमा चढाएपछि खान फुक्यो । अरु अन्न र फलफूलपनि पाक्ने समय अनुसार मोठमा चढाएपछि खान फुक्यो । धानको मान अर्कै । तर, धानले घैयालाई गन्दैनथ्यो । घैयाले पनि ऐंया भन्दैनथ्यो कि ? देवतालाई चढाउन नपाएरै घैया पाखोरेखोबाट हरायो । धानको मान नघटेपनि माना पाथीमा चाहि घट्दो छ । कित्ता, बित्ता र फित्ताले बेरिएर धान खेतहरु आत्तिइरहेका छन् । भातमात्र होइन, अर्थोकपनि खाना हो भन्ने चेत बढ्दै जाँदा बिस्तारै गहुँ र कोदोको मान बढ्दो छ । सबै अन्न टन्न फलून । न्वागी खाने दिन सबै अन्नको जय होस् ।

(२०७७ साल मंसीर १५ गते मंगलबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: