‘स्पिड आर्ट’ का उदाउँदा प्रतिभा

भक्तपुर कमलविनायकका २६ बर्षीय विकल प्रजापतिको हातमा अनेक सीप छ । कामचलाउ हैन, उम्दा सीप । पढाईले वास्तुकार (आर्किटेक्ट) हुन् उनी । जागीर छोडेर घरमै बसेर काम गरिहरेका उनी आफ्नै परामर्शदातृ संस्था खोल्ने तयारीमा छन् । मूर्तिकला त उनको कला यात्राको जग नै हो । कमलविनायकमा रहेको प्रजापति परिवारको पुस्तौनी पेशा नै माटोको भाडा बनाउनु हो । उनले जिन्दगीमा पहिलोपटक माटोमै सृजना भर्ने रहर गरे । ‘माटोको भाडा बनाउचाहि मैले जानिन, माटो खेलाएर मूर्ति बनाउने ढंगचाहि सानैदेखि जानें’, उनले भने ।

मूर्तिकला बाहेक उनी पेन्टिङ बनाउन र चित्र बनाउनपनि असाध्यै सिपालु छन् । शिसाकलमदेखि वाटर कलर, पोष्टर कलर, आयल कलर सबै माध्यममा पोख्त । कलाकारिताको धेरै माध्यम जानेपनि उनको मनचाहि स्पिड आर्टमा बसेको छ । हलमा जम्मा भएका दर्शकसामु ठूलो क्यानभास लिएर संगीतको मधुरो धूनसंगै उनका हात जादु गरेझैं नाच्छन् । ५—७ मिनेट बिजुलीका गतिमा चलेझैं लाग्ने उनका हातले असाध्यै सुन्दर सृजना तयार पार्छन् । यसका लागि उनले दुइवटा माध्यम छानेका छन् । एउटा ग्लिटर आर्ट । यो भनेको ग्लुको सहायताले बनाउनुपर्ने आकृति तयार पारी त्यसमा ग्लिटर (कस्मेटिक पसलमा पाईने मसिना कण भएको रंगीचंगी पदार्थ) छरेर सृजना तयार पार्नु । अर्कोचाहि एक्रेलिकका सहायताले ठूलो क्यानभासमा द्रुत गतिमा पेन्टिङ बनाउनु । प्रशस्त समय दिएर घरमै बसेर बनाउने पेन्टिङ कला त उम्दा छँदैछ ।

३—४ बर्षको कलिलो उमेरमै माटामा कला भरेर सृजनात्मक यात्रामा तानिएका उनलाई थप बाटो देखाउने काम मामाले गरे । शिक्षण पेशमा जोडिएका मामा दीपेन्द्र प्रजापतिले विभिन्न विद्यालयमा हुने चित्रकला प्रतियोगितामा भाग लिन लगाएर उनलाई कलामा थप रुचि जगाउने र प्रोत्साहित गर्ने काम गरे । भक्तपुर कलै कलाको शहर । विद्यालयमा पनि विभिन्न कला देखाउने माहोल थियो । मूर्ति बनाउने माटो र चित्र बनाउने माहोलको अभाव नभएपछि उनमा लगाव बस्यो । यी दुबै कलामा उनी निरन्तर लागिरहे । पुरस्कार र स्याबासी पाईरहे । पुरस्कार, स्याबासी र निरन्तरको साधनाले कला निखारिंदै र तिखारिंदै गयो ।

विज्ञान विषय लिएर १२ कक्षा पास गरेपछि उनी वास्तुकलाको अध्ययनतिर तानिए । घर नजिकैको ख्वपः इन्जिनियरिङ्ग कलेजले उनको ध्यान बेस्सरी तान्यो । इन्जिनियरिङ्गमा राम्रो पढाई हुने कलेज घरनजिकै भएपछि उनी त्यहाँ वास्तुकला (आर्किटेक्चर) विषयमा स्नातक तहमा भर्ना भए । ३ बर्षअघि वास्तुकलाको पढाई सिध्याए । वास्तुकला पढेपनि चित्रकला र मूर्तिकलाको मोहबाट टाढा पुगेनन् । धेरै दर्शकसामु ‘विजुलीको गति’ मा चित्र बनाउने चारतीय चित्रकार विलाश नायक र अमेरिकी चित्रकार डेबिड ब्ल्याडरको कलाकर्मको भिडियो देखेपछि उनलाई पनि त्यसै गर्ने रहर लाग्यो । घरमै एउटा कोठामा उनले त्यसरी नै चित्र बनाउने रहर गरे । उनको कामलाई भाइ विजयले खिचिदिए । शुरुमा ग्लिटर आर्टका लागि उनले महजोडीलाई छाने । एक्रेलिकको सहायताले बनाईने स्पिड पेन्टिङचाहि महात्मा गान्धीको बनाए । पहिलो प्रयास सन्तोषजनक भएपछि उनमा उत्साह भरियो । भिडियो युट्युबमा राख्न थालेपछि चर्चा बटुल्दै गए ।

धेरै दर्शकका सामु स्पिड आर्ट गर्ने पहिलो मौकाचाहि उनलाई सोसाईटी अफ नेपलिज आर्किटेक्टस् (सोना) ले दिलायो । सोसाइटी अफ नेपलिज आर्किटेक्टस्ले बेलाबेलामा आर्किटेक्टहरुलाई आफ्ना कामबारे प्रस्तुतिकरणका लागि निम्त्याउने गर्दछ, ‘आर्किटेक्ट स्पिक्स’ (वास्तुकार बोल्छन्) श्रृंखलामार्फत । उनको कलासंग परिचित तथा उनलाई ख्वप इन्जिनियरिङ्ग कलेजमा पढाएकी सोसाईटी अफ नेपलिज आर्किटेक्टसकी अध्यक्ष अन्जु मल्ल प्रधानले सो अवसर दिएकी थिइन् । २०७६ साल साउन १७ गते त्रिपुरेश्वरको एउटा हलमा करिब २०० जना आर्किटेक्टहरुको उपस्थितिमा उनले ७ मिनेटमा जादु गरेझैं विशाल क्यानभासमा कुमारीको पेन्टिङ बनाए । हलमा सियो खसेपनि सुनिने सन्नाटा थियो । सबैका आँखा उनकै कामतिर तानिएका थिए । मपनि त्यो कार्यक्रममा सहभागी थिएँ र उनको कलाको जादु हेरिरहेको थिएँ । ७ मिनेटपछि पर्रर ताली बज्यो । उनले पनि सन्तोषको लामो श्वास फेरे । उनको स्पिड आर्ट त्यो दिनबाट घरबाहिर निस्केको थियो । सामाजिक सन्जालबाट नै उनको कलायात्राले चर्चा पायो । देश विदेशबाट कामका अवसरहरु आउन थाले । त्यसरी नै पेन्टिङ बनाउँदै भिडियो पठाइदिए पुग्ने । ती अवसरले उनलाई कलाकारितामा ठूलो हौसला मिल्यो ।

७ मिनेटमा बनाईएको कुमारीको चित्र सोनाकी अध्यक्ष अन्जु मल्ल प्रधानलाई हस्तान्तरण गर्दै

‘उज्यालो निर्माता’ कुलमान घिसिङको चित्रपनि उनले बनाए । घिसिङलाई भेटेरै चित्र बुझाए । घिसिङले उनको कलाको प्रसंशा गरे । राजा वीरेन्द्रदेखि महावीर पुन, राजेश हमालसम्मका पेन्टिङ उनले त्यसरी नै बनाए । युट्युब मार्फत कलाको प्रसंशक थपिंदै जाँदा भारतको एउटा ईभेन्ट म्यानेजमेन्ट कम्पनीले उनलाई आर्कषक प्रस्ताव पठायो । उतै बसेर कला अभ्यास गर्ने प्रस्ताव । विभिन्न प्रतिष्ठित समारोहहरुमा द्रुत गतिमा पेन्टिङ कला देखाउने गरि लामो समयको करार सम्झौता भएको थियो । कहर कोरोनाले त्यो काम अघि बढ्न पाएन ।

कुलमान घिसिङलाई चित्र हस्तान्तरण गर्दै

कोरोना कहरसंगै उनले परामर्शदातृ संस्थाको जागीर छोडेर घरमै बसेर वास्तुकला र चित्रकलालाई निरन्तरता दिए । त्यही मेसोमा केही समयदेखि अभ्यास नगरेको मूर्तिकलालाई निरन्तरता दिने रहर जाग्यो । उनले महजोडीको मूर्ति (मदन बहादुर र हरि बहादुर पात्र झल्कने मूर्ति) बनाए । भेटेर मूर्ति देखाउन रहर लागेको भनी मह सञ्चारमा इमेल पठाए । हरिवंशको फेसबुकमा पनि म्यासेज पठाए । कतैबाट जवाफ आएन । जवाफ नआएको ७ दिनपछि अचानक महजोडी उनकै घरभित्र आईपुगे । उनलाई छक्क पार्न पो जवाफ नदिएका रहेछन् महजोडीले । मदन बहादुर र हरिबहादुरको मूर्ति देखेर महजोडी खुशी भए । उनलाई शुभकामना दिए । यो कामको राम्रो चर्चापनि भयो । त्यो मूर्ति उनले रेडियो अडियो एफएमलाई उपहार दिए । ‘त्यो मूर्ति उपहार दिएर पठाउँदा छोरी अन्माएर पठाएजस्तै महसुस भयो’, विकलले भने ।

मदनबहादुर— हरिबहादुरको मूर्तिसाथ महजोडी

कलायात्राका लागी जर्मनी लगायत देशहरुबाट आएको निम्तोपनि कोरोना कहरले अघि बढ्न दिएको छैन । कलायात्रा उनको जिन्दगीको ठूलो लक्ष्य हो । देश विदेश घुम्दै कलाकारिता गर्ने, थप तालीम लिएर कला तिखार्ने र नेपालको सौन्दर्य र सम्पदालाई कला यात्रामार्फत विभिन्न देशमा चिनाउने उनको धोको छ । त्यो धोकोले मूर्त रुप लिनेगरि विभिन्न प्रस्तावपनि आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत नै कलाकारहरुको विभिन्न समूहसंग जोडिएका पनि छन् ।

कुमारीको पेन्टिङ

कुराकानीलाई बिट मार्ने क्रममा ‘कलाकारिताले जीविका चलाउन गाह्रो छ’ भने विकलले । सुनेर मेरो मन चसक्क भयो । यति धेरै प्रतिभावान कलाकारलाई पनि कलाकारिताले जीविका चलाउन गाह्रो । कलाकारितामा लागेर काम पाउन गाह्रो छैन । उचित दाम पाउनचाहि गाह्रो छ । ‘कलाकर्म अहिलेलाई सोखमात्र भएको छ । जागीर खान काठमाडौं धाउँदा दिनको ४ घण्टा गाडीमै खेरा जानेभो । कोरोना कहरले गाडी चढ्नपनि सजिलो कहाँ छ र ? अब २ जना सिभिल ईन्जिनियर र अर्को एकजना आर्किटेक्ट साथी मिलेर अफिस खोल्न लागेको । वास्तुकलाको ब्यवसायिक अभ्यासले जीविका चलाउन सहज होला’, उनी आफ्नो योजना सुनाउँदै थिए । घरको पहिलो तलामा दुईवटा कोठाको जोहोपनि गरेका रहेछन् । घरमै कला ग्यालरी बनाउने र बालबालिका तथा ईच्छुकलाई चित्रकला सिकाउने पनि उनको रहर छ ।

राजेश हमालको पेन्टिङ

चित्र र मूर्ति बनाएपछि उपहार दिइहाल्ने उनको सरलता र शालिनताले गर्दा कमलविनायकस्थित विकलको घरमा सृजना भेटाउनै मुश्किल पर्छ । अर्डर लिएर बनाउने ब्यवसायिक चित्र, पेन्टिङ, मूर्ति त आफूसंग रहने कुरै आएन । सोखले बनाएका चित्र र मूर्तिपनि सम्बन्धित ब्यक्तिलाई भेटेर उपहार दिने गर्दा रहेछन् । उनको कलाको संग्रह घरमा खासै नभेटिएपनि फेसबुक पेज र युट्युबमा चाहि प्रशस्तै भेटिन्छ । वास्तुकला र ललितकला मार्फत विकलको कलायात्रा अझ झांगियोस् । स्पिड आर्ट मार्फत नेपाल चिनाउने उनको सपनाले मूर्तरुप लिन सकोस् ।

सिद्धिदास महाजुको मूर्ति
ओशोको पेन्टिङ

(तस्वीर : विकल प्रजापतिको फेसबुक पेजबाट साभार गरिएको)

(उनको कलाकारिता हेर्नका लागि https://www.youtube.com/channel/UCCeIKaeL7rExSoK7_WhDgtg   र /https://www.facebook.com/VikalART मा क्लिक गर्नुहोस् )

(हिमालखबर डटकममा २०७७ साल पुष ४ गते प्रकाशित )

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: