ग्रिलको सहर, दिलको सहर !

जब कुनै सहरको कुनै टुक्रा घडेरीमा घर निर्माणको सुरसार चल्छ, सेरोफेरोमा अनौठा दृश्य देखिन्छन् । भूमिपूजन सुरु गरेसंँगै बजारको घेराबन्दी सुरु हुन्छ । घडेरी वरिपरि मोटरसाइकलको ओइरो लाग्छ । अफरै अफरको घेरो लाग्छ । इँटाको अफर । गिटी र बालुवाको अफर । डन्डीको अफर । यी अफरहरू ती निर्माण सामाग्रीजस्तै रूखा, खस्रा र अलि डरलाग्दा हुन्छन् । आफ्नो डिपोबाट किनिदिनुपर्ने धम्की र दबाबको भाषा पनि अफरमा मिसिएको हुन्छ । काठ, रंगरोगन, सिमेन्ट, आल्मुनियमका झ्यालका अफर । नामै नसुनिएका अनेक रासायनिक पदार्थको अफर । मार्बल, ग्रेनाइट, वाल पुटिङ, कार्नेस, बत्ती, फल्स सिलिङ, बाथरुमका सामान, भान्साकोठाका सामान, ग्रिल, रेलिङ, बरन्डाका हुक्का, पानी ट्यांकी, पानी तान्ने मोटर, पाइप, सोलार, कार्पेट, पार्केट, फर्निचर, अनेक किसिमका टायलको अफर । के–के हो के–के । गनिसाध्य न भनिसाध्य । चिल्ला ब्रोसर र अनेकथरी भिजिटिङ कार्डको चाङ लाग्छ । मानौं तपाईंसँग पैसाको पहाड छ र त्यो पहाड खोतलेर आफ्नो खल्ती भर्न सबै जना लाइनमा उभिएका छन् । एउटा पुन्टे घरले यति धेरै सामान खाइसक्ला ? निर्माणको सुरसार नहुँदै तपाईंलाई प्रश्नको भारीले थिच्न थाल्छ । आफूसँग भएको पैसा थोरै लाग्न थाल्छ । पार लगाउन सकिन्न कि ? टाउको समाउने अवस्था आइलाग्छ ।

पैसा खनेर, पुरेर, छापेर, ओछ्याएर, उभ्याएर तपाईं ठिक्कको एउटा ढलान घर बनाउनुहुन्छ । दु:ख गरेर बनाएको त्यो घर तपाईंलाई मनपर्छ । रंग राम्ररी नसुकेको कोठामा पसेर जब सरर झ्याल खोलेर मुन्टो निकाल्ने र बाहिर हेर्ने रहर गर्नुहुन्छ, ग्रिलको सम्झनाले संसार खुम्च्याइदिन्छ । अनि खिस्रिक्क पर्नुहुन्छ । डाङडाङ र डुङडुङ पार्दै, झ्यारझ्यार र झुरझुर पार्दै जब कम्पाउन्ड पर्खालमा भाला र घरका भएभरका झ्यालमा ग्रिल ठोकिन्छ, घर घरजस्तो नभएर जेलजस्तो बनिसक्छ । न मुन्टो निकाल्न मिल्छ न सरर… झ्याल खोल्न मिल्छ । ग्रिलका चेपबाट दृश्य फिजारिनै पाउँदैन । मन रमाउनै सक्दैन । कम्पाउन्ड पर्खालको भालामा गएर मन खुम्चिन्छ । भर्‍याङको हालत उस्तै हुन्छ । तलैपिच्छे फलामका च्यानल गेट । अनि छतमा गएर सेरोफेरो हेर्नुहुन्छ । भालैभालाको सहर । ग्रिलै ग्रिलको सहर । सहरले कति फलाम खाएछ । फलामै फलामका भाला रोपिएको घर बाहिरको साँघुरो सडक उजाड र निर्जन लाग्छ । फलामे गेटको दायाँबायाँ पिलपिलाउन खोजेको बाटुलो बत्तीले जीवन होइन, भालालाई नै चहकिलो बनाएको महसुस हुन्छ । भालाको सहर झन् डरलाग्दो देखाइदिन्छ त्यो बाटुलो बत्तीले । सहरी जीवनको यो विवशता सम्झँदै मन कोक्याउँछ । घरैघर जोडिएका छन् । हरेक घरभरि मान्छे नै मान्छे छन् । अँध्यारो कतै छैन । घर, सडक सबैतिर झिलिमिली छ तर कहिल्यै सुरक्षित महसुस हुँदैन मन । घरलाई फलामको पिँजडा नबनाई सहरवासीलाई सुखै छैन । सहर यस्तै छ । तपाईंलाई यस्तै नबनी सुखै छैन । यस्तै बनेर बस्दा पनि मनमा शान्ति छैन ।

यस्तो किन हुन्छ ? कारण खोजौं । तपाईंको आत्मा अन्त कतै उडेको छ । खुर्र मोटरसाइकल चढेर चिन्नु र जान्नुको ठाउँमा घडेरी खोज्दै हिँड्नु र आफ्नो आर्थिक हैसियत सुहाउँदो एक टुक्रो घडेरी किनेर घर बनाएर सरिहाल्नु धेरैका साझा नियति हो । भित्ता जोडिएका सँधियारसँग त नक्सा पास गर्ने बेलामा, इनार खन्ने बेलामा, जग खन्ने बेलामा, ढलान गर्ने बेलामा, रंगरोगन गर्ने बेलामा साँधसिमाना छोइयो, बाटोमा इँटा थुपार्‍यो, सिमेन्टको थुप्रोले भित्तो छोइयो, ढलान गर्दा डिस्टर्ब भयो, हल्ला भयो, रङ लत्पतियो, घाम छेकियो, यसो भयो र उसो भयो भन्दै सम्बन्ध चिसिने क्रम बढ्दै जान्छ । घर बनिसक्ने बेलामा बोलचालै हराउनेसमेत डर हुन्छ ।

नेपालमा वर्षमा कति रकमको ग्रिलको कारोबार होला ? खोजिपस्दा तथ्यांक डरलाग्दो देखियो । ३ वर्ष पुरानो समाचार पल्टाउँदा ग्रिल तथा स्टिल व्यवसायमा वार्षिक ४० अर्बको कारोबार हुने गरेको देखियो । १ महिना पुरानो समाचार हेर्दा यो व्यवसायमा करिब एक लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगार पाएका र १५ लाख जनाको रोजीरोटी चलेको देखियो । पछिल्लो समय ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशतसम्म बढेको र व्यवसाय धान्नै मुस्किल परेको समाचार पनि देखियो ।

नयाँबस्तीमा समाज बन्ने तत्त्व असाध्यै कमजोर छ । न त खुला ठाउँ, न पुस्तकालय, न हिँड्न सहज ठाउँ, न भेला र जमघटका सांस्कृतिक र सामाजिक मौकाहरू नै । इतिहास नभएको बस्तीलाई मनमनले जोडेर साँच्चैको बस्तीजस्तो बनाउन धेरै तत्त्व चाहिन्छ । फरक भूगोल, समुदाय र समाजबाट आएका व्यक्तिलाई घुलमिल गराउने भौतिक र सामाजिक संरचनाको जग बलियो नहुँदा यी बस्ती नीरस बनेका छन् । १० फुटे बाटो र चारआने घडेरीबाहेक खास के छ नयाँ बस्तीमा ? केही तत्त्व त छन् तर पर्याप्त छैनन् । धेरै नयाँ बस्तीमा ससाना मन्दिर बनाइएका छन् । आफ्नो धर्मअनुरूप प्रार्थनास्थल, आराधनास्थल बनाइएका छन् । साँघुरो ठाउँमा सुखदु:ख उभ्याइएकाले तिनले समाजलाई होइन, मान्छेलाई भगवान्सँग मात्र जोडेका छन् । उभियो, पूजा वा प्रार्थना गर्‍यो, हिँड्यो । बाटो पिच गर्ने वा ढलान गर्ने बेलामा भेला हुनेबाहेक अरू बेला टोल सुधार समितिको बैठक विरलै बस्छ । घरछेउका स्कुलमा छोराछोरी पढाउने चलन पनि अलि पातलो छ । जति टाढा बस चढाएर पठायो, उति राम्रो पढाइ भन्ने सोच देखिन्छ । यो सोचले केटाकेटीले टोलछिमेकमा घुलमिलको मौका कम पाउँछन् ।


नयाँ बस्तीमा घर भनेको आफ्नो पेसा, व्यवसायको काम सकेपछि आनन्दले बस्ने ठाउँ मात्र हो भन्ने बुझाइ छ । आफ्नो पुरानो थातथलोका तर सहरका विभिन्न ठाउँमा छरिएका साथीभाइ, नातागोता, इष्टमित्र, समूह, समाज, मञ्च, संस्थामा रमाउनुपरेपछि आफ्नो टोलमा मन अडिएजस्तै देखिँदैन । सहरी संरचनाले नै हाम्रा हरेक घरहरू टापुजस्ता बनेका हुन् । घरजस्तो बनेनन् सहरका नयाँ टोलका घरहरू । फलामले घर मात्र होइन, मन पनि कित्ताकाट गरिदिएको छ । बालबालिका र ज्येष्ठ नागरिकका लागि यी बस्ती जेलजस्तै छन् । हेलमेलको खासै मौका नमिल्ने भएपछि र विगतको चिनजान नभएपछि कसैको घरमा पसौं, बसौं, गफ गरौं भन्नै दकस लाग्छ । एउटै थातथलोबाट आएका व्यक्ति, अफिसका सहकर्मी वा सहपाठीहरू मिलेर एकै ठाउँमा १२–१५ वटा घडेरी किनेर घर बनाएर बसेको ठाउँको जीवन हेर्नुस् त, उनीहरू कति सुखी देखिन्छन् । बच्चाबच्चीहरू सँगै खेलेका देखिन्छन् । ज्येष्ठ नागरिकहरू एकअर्काको घरमा जाने, बस्ने, भेटघाट गर्ने गरेका देखिन्छन् । उनीहरूको सहरी जीवन जीवन्त देखिन्छ । समाजलाई घुलमिल गराउने भौतिक संरचना नभए पनि उनीहरूको जीवनको जग पहिल्यैदेखि जोडिएकाले उनीहरूलाई सामूहिक रूपले जीवन जिउन असहज भएन । नयाँ बस्तीमा पुरानो समाजको जग भेटिन मुस्किल भए पनि समाज जोड्ने पूर्वाधारको दु:ख नहुनुपर्ने हो । तर, त्यही भइरहेछ । त्यसको फाइदा ग्रिलले उठाएको छ ।

अब ग्रिलको सहरबाट दिलको सहरतिर पसौं । जबजब काठमाडौं उपत्यकाको पुरानो बस्तीतिर पस्छु, फलामे सहर एकादेशको कथाजस्तो लाग्छ । कतै छैन फलाम । कतै छैनन् अग्ला कम्पाउन्ड पर्खाल र भालाहरू । सिंगो बस्ती घारजस्तो छ । ससाना गल्लीले फराक चोक र फराक दिललाई जोड्छन् । घरहरू संरचनागत रूपले मात्र होइन, दिलैदेखि जोडिएका छन् । परम्परा, संस्कृति र इतिहासले जोडिएका छन् घरहरू । एउटाको घर भत्काउन परे वरिपरिका सबै घर भत्किने डर हुन्छ । नयाँ बस्तीमा भित्ता जोडिए पनि संरचनागत हिसाबले अलग छन् । पुरानो बस्तीको जीवन जगैबाट जोडिएको छ । त्यसैले त्यहाँको जीवन जोगाउन फलाम चाहिँदैन । कम्पाउन्ड पर्खाल पनि चाहिँदैन ।

ठिमी, चपाचोको दृश्य

पुरानो बस्तीमा ज्येष्ठ नागरिक र बालबालिकाको जीवन लोभलाग्दो देखिन्छ । भित्री र बाहिरी चोकमा, साँघुरा गल्लीमा रमाउँदै खेलिरहेका भेटिन्छन् । टोलैपिच्छे पुस्तकालय, पाटी, मन्दिर र निर्धक्क हिँडडुल गर्ने खुला ठाउँ र भजनमण्डलीहरू हुनाले ज्येष्ठ नागरिकहरू सजिलै दिन काटिरहेका हुन्छन् । अधिकांश घरको भुइँतलामा केही न केही उद्यम गर्ने सानोतिनो ठाउँ हुन्छ । किनेर बेच्ने होइन, बनाएर बेच्ने ती उद्यम केन्द्रमा हरेकको हातमा केही न केही विशिष्ट सीप हुन्छ ।

कुम्हाननी,चपाचाेका शेर बहादुर प्रजापतिकाे सीप।

केही हप्ताअघि भक्तपुरको मध्यपुर ठिमीस्थित चपाचो टोल पुगेको थिएँ । चपाचोमा प्रजापतिहरूको बाहुल्य छ । हरेक टोल, चोक र बाटाहरू माटाका भाडाले भरिभराउ छन् । कोही माटो मुछ्दै छन् । कोही भाडा सुकाउँदै छन् । कोही भाडा बनाउँदै छन् । सबै पुस्ताले सानो–ठूलो काम गरेकै छन् । त्यहाँ दिन कटाउने, दिन ढलाउने सकस कसैलाई छैन । सीपसँगै भिजेर दिन कटिरहेछ । कति सुन्दर र सहज जीवन !

जहाँ घर बनाएर बसिन्छ त्यही सेरोफेरोमा सबैलाई जागिर वा पेसा व्यवसायको मौका मिल्दैन तर धेरथोर उद्यमको बाटो पनि जोडिए बस्ती जीवन्त बन्छ । एउटा टोलमा एउटा पसल मात्र भइदियो भने पनि त्यसले त्यहाँको जीवनमा कति रौनकता थप्छ † अग्ला कम्पाउन्ड र भालैभालाले जेलिएको सहरको घरघरमा अशान्ति थुप्रेको छ । किन ? दिन कटाउने रचनात्मक उपाय नभटेर मानिस आत्तिएका छन् । गुम्सिएका छन् । घरैघर र मान्छे नै मान्छे भएको ठाउँमा असुरक्षाले किन बास गर्‍यो ? यसको समीक्षा गर्नुपर्छ ।

ठिमी, चपाचोको दृश्य

जग नभएको बस्तीलाई जोड्ने भौतिक र सामाजिक पूर्वाधारहरू चाहिन्छ । ग्रिलको सहरलाई दिलको सहर बनाउन पुराना बस्तीबाट सिकौं । धारा, पाटी, पौवा, मन्दिर मस्जिद, हिँड्ने बाटा, पोखरी, पुस्तकालय, विद्यालय, बगैंचा, गुठी, जात्रा, पर्वले हाम्रा जीवन जोड्छन् । मिलेर बाँच्न सिकाउँछन् । सामूहिकताको भावना विकसित गराउँछन् । सबैथोक मासेर हरेक थोक आफ्नो कम्पाउन्डभित्र थुपार्ने सहर हेर्दा भव्य देखिएला तर सहरबस्तीको जीवन असाध्यै नीरस छ । बस्तीलाई ग्रिलले होइन, दिलले जोडौं । घरैघर थुपारेर समाज बन्दैन । समाज बन्न सामाजिक संरचना चाहिन्छ । दसतिरबाट आएको मन जोडेर समाज बसाल्न सजिलो छैन । त्यसका लागि भौतिक पूर्वाधारको लहरो चाहिन्छ । ग्रिलको पहरोले त्यो लहरो जोड्न दिँदैन ।

आजकाल सहर मात्र होइन, गाउँ पनि नीरस बनिरहेको छ । जता गए पनि चौतारो मासेकै देखिन्छ । डोजरले हानेर कुवा, पाटी, पौवा भत्काएकै देखिन्छ । ग्रिल हाल्दै गरेको चर्को आवाज गाउँमा पनि बाक्लै सुनिन्छ । बच्चाहरू दौडिन, उफ्रिन, कुद्न छोडेका छन् । मोबाइलमा झुत्ती खेलेर समाज यसरी थुनिनु हुँदैन । सहरको नीरस जीवनको छाया गाउँमा पनि पर्न थालेको महसुस हुँदै छ । हेर्दाहेर्दै गाउँठाउँ पनि अलि वर्षमा नयाँ सहरजस्तै खल्ला, रूखा र नीरस बन्न बेर छैन । भौतिक संरचनाले जीवन्त समाजलाई निल्नु हुँदैन ।

(२०७७ साल फागुन १५ गते शनिवार कान्तिपुर दैनिकमा प्रकाशित । तस्वीर—लेखक)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
<span>%d</span> bloggers like this: