धूमिल शहरको धूमिल चित्र

शिवरात्रिको केही दिनअघि तुंख्य (टुँडिखेल) को दक्षिणी भागमा एउटा अचम्मको दृश्य देखियो । त्यो भागमा केही समयअघिदेखि माटो थुपारिएको छ । माटोको त्यस ढिस्कोमाथि आराध्यदेव शिवको बडेमाको चित्र उभ्याइएको थियो । टुँडिखेलको चौडाइ लगभग वारपार फैलिएको त्यो अग्लो ढिस्को शिवको एउटा चित्रले के छोपिन्थ्यो ? ढिस्को ढाक्न सेतो र हरियो कपडा पनि टम्म मिलाएर फिँजाइएको थियो । हावाले उडाउन नसक्ने गरी फलामका किला ठोकेर कपडा हालिएको थियो । यसो गर्दा टुँडिखेल भित्रपट्टिबाट माटो छोपिए पनि सहिदगेटतिरबाट हेर्दा त खुल्लै थियो । यसरी शिवको चित्र र फोटो राखेर माटो छोप्ने रहर किन गरिएको होला ? अलमल्ल परें । शिवरात्रिको दिन पो कुरो बुझियो । त्यस दिन नेपाली सेनाले सैनिक दिवस मनाउने गर्छ । दिवस मनाउँदा टुँडिखेल सेरोफेरो चिरिच्याट्ट बन्छ । त्यही मेसोमा माटोको ढिस्कोलाई पनि शिवको नाममा चिरिच्याट्ट पारिएको होला । फोहोरको थुप्रोमाथि गलैँचा हालेर एकछिनलाई चिरिच्याट्ट पार्ने शैली हाम्रो सरसफाइ र खुला स्थानको सौन्दर्य–मानक बनेको छ । अँध्यारो कुनामा फोहोर थुपारेर उज्यालो कुनोलाई चिरिच्याट्ट पार्ने हाम्रो चिन्तन, सोच र शैलीको प्रतिबिम्ब हो– माटोको ढिस्कोमाथि शिवको चित्र र कपडाको छोपछाप । यो शैली उहिल्यैदेखि अहिलेसम्म अविरल जारी छ ।

टुडिखेलको दक्षिणी भागमा थुपारिएको माटो र शिवको चित्र ।

काठमाडौं धेरै फोहोर भएकाले होला, यहाँ बेलाबेला सरसफाइ अभियान चलिरहन्छ । कहिलेकाहीँ त बहालवाला प्रधानमन्त्री नै झाडु बोकेर सडकमा उत्रिन्छन् । नदी–नाला सफा गर्ने अभियान पनि चलिरहन्छ । यसो गर्नेहरूको नियतमा खोट छैन । त्यस लाममा केही गरौं भन्ने हुटहुटी बोकेका, असल मनका मान्छेहरू नै हुन्छन् । तर, त्यस्ता अभियानको आयु असाध्यै छोटो हुन्छ । कुहिनाले हानेर पहरो फोर्ने रहरजस्तै बनिदिन्छ यो अभियान । यस्तो किन हुन्छ ? शहरभित्र वर्षौंदेखि थुप्रिएको धमिलोले सहरवासीको मन बेस्सरी अमिलो बनाएको छ । सङ्लो बनाउनुभन्दा धमिलो बनाउन सजिलो छ सबैलाई । सङ्लो बनाउने रहर कुहिनोजत्रो र धमिलो बनाउने रहर पहरोजत्रो भएपछि अभियन्ताहरूले के गर्नु ? कुनै मोडमा लगेर अभियान बिसाउनुको विकल्प रहँदैन । तर, अभियानले सफा गर्नुपर्छ, हामी बस्ने ठाउँ फोहोर छ, हामी फोहोर गरिरहेका छौं भन्ने विचारचाहिँ मनमनमा रोपिदिन्छ, । देश चलाउनेको मनमा पनि चस्कोचाहिँ हालिदिन्छ, निदाए पनि फोहोरकै थुप्रोमाथि निदाएका छौ है भनेर ।

खुला ठाउँमा फोहोर गरिहाल्ने, फल फले टिपिहाल्ने, फूल फुले भाँचिहाल्ने हाम्रो मनोग्रन्थी बुझेरै होला, खुला ठाउँलाई तारबार गरिहाल्ने, रेलिङ हालिहाल्ने र साँचो लगाइहाल्ने चलन झ्याङ्गिन थालेको छ । टुँडिखेलमा थुपारिएको माटोको ढिस्कोमाथि शिवको चित्र उभ्याइएको देखेपछि भित्रै पसेर फोटो खिच्ने रहर गरेको थिएँ । गेटमा त बडेमानको ताला पो लगाइएको रहेछ । हामी ताला लगाउन असाध्यै सिपालु छौं । मन्दिरभित्रका भगवान्लाई त ताला लगाएर जोगाउनुपर्ने बाध्यता छ । यति भएपछि खुला ठाउँमा ताला लगाइयो भनेर पनि के गुनासो गर्नु ? सहरको मध्यभागको ठूलो खुला ठाउँ हरेक वर्ष ससाना टुक्रामा विभक्त हुँदै गइरहेको छ । अतिक्रमित भइरहेको छ । तारबार र तालाबन्दीले अतिक्रमण चाहिँ रोक्न सकेको छैन । यसो सुस्ताउन जाने सर्वसाधारणलाई मात्र रोकेको छ ।

‘हरियो फोक्सो’लाई टुक्राटुक्रामा विभक्त गरिरहेको शहरमा अब एउटा रमिता हुनमात्रै बाँकी छ । शहरभित्र बग्ने सबै नदीलाई स्ल्याब हालेर सर्लक्कै छोप्ने । बागबजारमा टुकुचा हराएजस्तै एक दिन यहाँका सबै नदी हराउने हुन् कि भन्ने पीर छ । दुर्गन्धले मात्रै नदी कहाँ छ भन्ने अनुमान गर्नुपर्ने दिन आउन सक्छ । शहरका नदी किनारमा लिंक रोड बनेका छन् । धुलाम्य र हिलाम्य भए पनि ती लिंक रोडले काठमाडौंको जाम घटाउन मद्दत पुर्‍याएका छन् । लिंक रोडमा पैदलयात्रा गर्दा नदीको दुर्दशा नजिकबाटै देखिन्छ । हाम्रो प्रदूषित विचार नदी सँगसँगै बग्न खोजेको र त्यतै जमिरहेको महसुस हुन्छ । बर्खायाममा यी नदीहरूमा निकै ठूलो भेलबाढी आउँछ । नालाझैं साँघुरा बनेका यी नदीहरू बर्खायाममा पोखिन्छन् पनि । बग्ने बाटो साँघुरिएकाले र पानी बग्ने ठाउँमा फोहोर धेरै थुप्रिएकाले नाला छोडेर नदीहरू घरघरै पस्छन् । सेरोफेरोका घरका भुइँतलालाई जलमग्न बनाउँछन् । त्यतिबेला नदीले विद्रोह गरिरहेकै महसुस हुन्छ । आफ्नो बग्ने बाटो साँघुरो पारेको र फोहोर खसालेको रिस फेर्न घरघरै पसेझैं देखिन्छन् नदीहरू ।

११ बर्षअघि जलमग्न बनेको मैतिदेवी ।

बर्खायाममा बाढी उर्लिंदा म बेलाबेला धोबीखोला, विष्णुमती, मनोहरा र वाग्मती किनारतिर पुग्छु । जति बाढी आए पनि धमिलो धोबीखोला मरिगए संग्लिँदैन । ८—१० दिन बेस्सरी बगेपछि त खोला सफा हुनु नि ! तर, किन हुन्थ्यो ? धोबीखोला मात्रै किन, कुनै पनि खोला र नदी संग्लिँदैनन् । कति थुप्रिएको हो फोहोर ? संसारै बगाउलाझैं पानी उर्लिंदा पनि, मान्छेले छुट्याइदिएको सानो नालाको घेरो तोडेर घरघरै पस्दा पनि निख्रिँदैन खोलाको मैलो । समुद्रै बोलाएर पखाले पनि अब संग्लिँदैनन् कि क्या हो काठमाडौंका नदीहरू ? बाढी उर्लंदा लेदो अलि बेस्सरी बग्छ, बाढी सकिएपछि कतै जाने हतार नभएझैं लेदो अलक्क डुलिरहन्छ । धमिलो सहरको अमिलो दृश्य हेर्न काठमाडौंको नदीछेउ पुगे हुन्छ । कति बीभत्स देखिन्छ त्यो दृश्य । सहरी जीवनले प्रकृतिमाथि गरेको अत्याचारको पराकाष्ठाको प्रतिबिम्ब नदीमा झल्किन्छ ।

धमिलो बाग्मती ।

काठमाडौंको कुनाकानीका बस्तीमा पनि ससाना खोला–खोल्सीलाई ढ्वाङभित्र हालेर ढलमा पठाउने र ढ्वाङमाथि माटो पुरेर, पेलेर सडक बनाउने चलन फस्टाउन थालेको छ । यसमा धेरैको ध्यान गएको छैन । सकेजति मिच्ने र सकेजति जित्ने यो लहरले शहरी जीवनलाई थप कष्टकर बनाएको छ । शहर लाई असाध्यै उजाड बनाएको छ । घरैघर र बाटोबाटै बाहेक सहर सुन्दर र जीवन्त बन्न धेरै थोक चाहिन्छ । प्रकृतिले दिएको हरेक पक्षको अति दोहन गरेर जमिनलाई ‘प्लट’ र ‘रोड’ अनि नदीलाई ‘ढल’ मा रूपान्तर गर्ने अत्यासलाग्दो क्रम शहरीकरणका नाममा डरलाग्दोसँग बढिरहेको छ ।

शहर, बस्तीछेउ नदी, ताल, पोखरी हुनु भाग्यको कुरा हो । यसले वातावरण मात्र होइन मन नै शीतल बनाउँछ । मनलाई सिर्जनात्मक बनाउँछ । थाकेको मनले मलम पाउँछ । तालको शहर पोखरा, पोखरीको शहर जनकपुर र नदीको शहर काठमाडौंलाई सम्झौं त । यी शहरले नदी, ताल र पोखरीको समुचित सदुपयोग गर्न सकेका छैनन्, बरु पैसा कमाउने साधन मात्रै बनाएका छन् । पैसा कमाउने शैली पनि हतारहतार कमाउने होडबाजीमै सीमित छ । पोखराको ताल–सभ्यता र जनकपुरको पोखरी–सभ्यता घिस्रिएर बाँचिरहेको छ । काठमाडौंको नदी– सभ्यताचाहिँ एकादेशको कथा भइसक्यो  ।

फेवाताल खुम्चँदो छ । धमिलिदैं छ ।

काठमाडौंका नदीमा सङ्लो पानी कहिल्यै पूरा नहुने महँगो सपना भइसकेको छ । सार्वजनिक सम्पति मिच्दै जाने र प्रकृतिलाई जित्दै जाने क्रम बढ्दै जाने हो भने एक दिन फेवाताल, वेगनास तालहरूले पनि वाग्मती र विष्णुमतीकै दशा भोग्न बाध्य हुनेछन् । नियम—कानुनसँग नडराए पनि भगवानसँग डराउने उहिलेको समाज थियो । काठमाडौंको नदी–सभ्यता त भगवान्को नाममा पनि जोगिएन । पोखरा र अन्यत्रका तालहरू बेलैमा जोगाउन रहर नगर्ने हो भने उनीहरू रोगाउने रहर गर्नेछन् । हेर्दाहेर्दै दलदले जमिन वा बलौटे बगरमा परिणत हुन सक्छन् । काठमाडौंको नदी–सभ्यता यसरी सर्लक्कै सकिएला भनेर अघिल्लो पुस्ताले कल्पना गरेको थियो ? यस्ता सम्पत्ति सजिलै बन्दैनन् । मास्सिनचाहिँ समय लाग्दैन, रातारात मास्सिन्छन् । सबैथोक मास्नु नै विकासको मूलमार्ग भएपछि मास्सिन कसरी समय लागोस् ? आफ्नो सेरोफेरोको नदी धमिलो पारेर, कुवा, ढुंगाधारा र पानीका भएभरका सबै स्रोत मासेर वर्षौं लगाएर सुरुङ बनाएर पानी भित्र्याउने रहर पूरा गर्न सजिलो छैन । मेलम्चीले हामीलाई धेरै महँगो पाठ पढाइसकेको छ । आफ्नो पानी मासेर काकाकुल जिन्दगी बिताउनुभन्दा भएको पानीको जतन गर्नु धेरै बुद्धिमानी हो । बाटो नबनाउने, भवन नबनाउने, खानेपानी आयोजना नबनाउने कुरै आउँदैन । तर, नयाँ बनाउने नाममा स्रोतसाधन सोत्तर बनाउने सोच असाध्यै घातक छ ।

काठमाडौंको धमिलो आकाश ।

शहरमा सार्वजनिक सम्पत्ति खुम्चिने क्रम बढ्दो छ । खुला ठाउँको सौन्दर्यकरणको शैली असाध्यै डरलाग्दो छ । प्राकृतिक रूपमा कमल फुल्ने पोखरीमा सिमेन्टको कमल बनाएर ‘सौन्दर्यकरण’ गरिँदै छ । हुँदाखाँदाको बसपार्कलाई भ्यु टावरमा रूपान्तरण गरिँदै छ । भ्यु टावरको बेसमेन्टलाई बसपार्क बनाउने सपना बाँडिए पनि पछि त्यसले कस्तो रूप लिने हो हेर्न बाँकी छ । टुँडिखेल किस्ता—किस्तामा टुक्रा हुँदै छ । मिचिने क्रम रोकिएको छैन । नयाँ बस्तीका ससाना सार्वजनिक र सामुदायिक टुक्राहरूमा पनि पार्कको सट्टा फलामको ट्रस हालेर ‘सामुदायिक भवन’ बनाइहाल्ने होड देखिएको छ । यो क्रम त प्रत्येक टोलटोलमा देख्न सकिन्छ । दानचन्दादेखि सांसद विकास कोष र नगरपालिकाको बजेटसमेत त्यसमा मिसिएको छ । खाली जग्गा भेट्यो कि भवन बनाइहाल्ने क्रम छिट्टै रोकिनेवाला छैन । विकासको बुझाइ यस्तै छ । त्यसकारण विकासको यो लहर यसरी नै चलिरहने खतरा छ ।

सार्वजनिक जग्गामा भवन मोह जति गाढा छ, शौचालय निर्माणप्रतिको उदासीनता उति नै कडा छ । देशको जुनै शहर-बस्ती पसे पनि पुग्दो शौचालय र सफा शौचालय विरलै भेटिन्छ । पानीको धारो, शौचालय, पाटीपौवा, विश्रामस्थल, पुस्तकालय बनाएर भोट आउने होइन, जनप्रतिनिधिलाई यस्ता खुद्रा काममा चासो नहुनुको मुख्य कारण यही हो । सामुदायिक भवन बनाउन पैसा हालिदिए, गेट र टावर बनाउन पैसा हालिदिए भोट आउँछ, धेरैको मन जितिन्छ । जनप्रतिनिधिको कामै जनताको मन जित्नु हो । उनीहरू मन जित्न मरिहत्ते गरिरहेछन् । यसरी मन जितिदिँदा देशचाहिँ कुरूप बन्दै गएको छ ।

घरघरबाट निस्किएका ढलका पाइप नदीमा मिसाउनु, श्वास फेर्ने ‘हरियो फोक्सो’ लाई टुक्रा—टुक्रामा विभक्त गरेर अनेक संरचना बनाई शहरलाई पसिनसक्नु–बसिनसक्नु बनाउनु, बाटो फैलाउने नाममा स्थानीयवासीलाई लघार्नु, खोल्सालाई ढ्वाङमा हालेर ढ्वाङमाथि बाटो बनाउनु, शौचालय मरेकाटे नथप्नु, पैदल यात्रा र साइकल यात्रालाई प्रोत्साहन नगर्नु नै अहिलेको शहरी विकासको साझा चरित्र बनेको छ । शहरलाई युग सुहाउँदो बनाउनुपर्छ, यसमा दुईमत छैन । धुम्मिएको आकाश शहरको पहिचान हुनुहुँदैन । इतिहास मासेको शहरभन्दा इतिहास हाँसेको शहर बढी जीवन्त हुन्छ । शहरको धूमिल चित्र अब फेरिनुपर्छ । धरतीको सेरोफेरो हरियो भयो भने आकाश सफा हुन्छ । सफा आकाश र सफा धरतीको सेरोफेरोमा बाँच्न पाए मन मैलो हुँदैन । घर सफा, आँगन सफा, लुगा सफा तर सिंगो सहर फोहोर हुनुको विरोधाभास सुखद छैन । शहरको धमिलो चित्र अब फेरिनैपर्छ ।

(२०७७ साल चैत २८ गते शनिवार कान्तिपुर दैनिकमा प्रकाशित लेख)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: