काठमाडौंको तिर्खा र भृकुटीमण्डपको ‘ढुंगेधारा’

उहिल्यै एउटा विशाल दह सुकेर बस्नयोग्य बनेको काठमाडौं उपत्यका विगत केही दशकयता एउटा महँगो सपना, विपना बन्ने दिन कुरेर बस्यो। दह सुकेको उपत्यकामा पानीको प्यास। पानीको आस। पानी नआउला कि भन्ने उस्तै त्रास। यो त्रासबाट काठमाडौं उपत्यकाले भर्खर त्राण पाएको छ। अनेक उकाली, ओराली बोकेको मेलम्ची आयोजनाले अन्ततः पानी खुवाएको छ। 

पछिल्ला केही दशकमा काठमाडौंका प्राचीन र ऐतिहासिक महत्त्वका धेरै ढुंगाधारा सुकेपनि मेलम्चीको पानी वितरणको समुद्घाटन गर्न सरकारले भृकुटीमण्डपभित्र स–साना तीनवटा ‘ढुंगेधारा’ बनायो। त्यही ढुंगेधारो खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी औपचारिक वितरणको समुद्घाटन गर्नुभयो। तीनवटा ‘ढुंगेधारा’ बनाइएको ठाउँमा पानी थाप्न तामाको खड्कुलो राखिएको थियो। ती ढुंगेधारा हेर्दा लोभलाग्दा थिए। सरकारले ढुंगेधाराबाट तामाको खड्कुलोमा पानी खसाएर उत्सव मनाएको हो कि आफ्नो स्रोत जोगाउन नजान्ने उपत्यकावासीलाई ब्यङ्ग गरेको हो, मेसो पाइएन। 

जे होस्, लामो समय प्रतिक्षा गरेर काठमाडौंले पानी पायो। पानी पाउनु काठमाडौंका लागि आफैमा निकै ठूलो कुरा हो। यत्रो उपलब्धीको ‘सेलेब्रेट’ गर्नु स्वाभाभिक पनि हो। यति ठूलो जनसंख्यालाई पानी खुवाउने यत्रो आयोजना राष्ट्रिय लज्जाको आयोजना बन्नु चाहिँ ठूलै बिडम्बना हो। पानी नै पानी भएको उपत्यकामा पानीका स्रोतहरु एकपछि अर्को गर्दै सखाप हुनु झन् ठूलो बिडम्बना हो। 

म बालखै छँदा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको काठमाडौंबासीलाई पानी खुवाउने भाषण रेडियो मार्फत् सुनेको थिएँ। चुनाव जिते काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने भाषण उहाँले गर्नुभएको थियो। त्यतिबेला काठमाडौंमा पानीको हाहाकार रहेछ भन्ने अनुमान मैले लगाएँ। तर, उहाँले चुनाव जित्नुभएन। पानीको हाहाकार नभएर नबिकेको हो कि किन हो, उहाँको नारा बिकेन। अथवा उहाँले पानी ल्याउनुहुन्छ भन्ने विश्वास मतदातालाई भएन कि? राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको समुद्घाटन गर्दा सम्मानपूर्वक कृष्णप्रसाद भट्टराईलाई सम्झनुभयो। 

तस्वीर साभार— नेपाल लाईभ डटकम

बालखैमा मेलम्चीको कथा सुनेको म २०५९ सालमा काठमाडौं आइपुगें। काठमाडौं आएपछिको मेरो पहिलो बसाइ धोबीचौरमा थियो। त्यहाँ ढुंगेधाराहरु थिए। घरभित्रको सरकारी धारामा हप्तामा एक दिन पानी आउँथ्यो। त्यो पानी थोरै आउँथ्यो। नजिकै ढुंगेधारा भएकोले सरकारी धारामा पानी कम आएपनि चिन्ता थिएन। ढुंगेधारामा लाइन बसेर दिनको एक बाल्टिन पानी थापिन्थ्यो। त्यतिले पुगिहाल्थ्यो। 

काठमाडौं आएपछि पहिलोपटक देखेको धोबीचौरको त्यो ढुंगेधाराको वास्तुकला देखेर मन लोभिन्थ्यो। लोभलाग्दो धारा, मिठो पानी। पानीको यो प्रणाली हेर्दाहेर्दै बिलाउँदै गयो। जति ढुंगेधारा हराउँदै गयो, मेलम्चीको मोह बढ्दै गयो। काठमाडौंका ढुंगेधारा र इनार सुक्दै जाने क्रम जति तीव्र गतिमा बढ्दै गयो, मेलम्ची बन्ने क्रम उति सुस्त हुँदै थियो। यो हाहाकारले जन्मायो ट्याकरको पानीको डरलाग्दो ब्यापार। अनि उस्तै फस्टायो पानीको जारको ब्यापार। ट्याकरको पानी किन्न १० दिनसम्म पर्खनु परेको नमिठो अनुभव छ मसँग। बत्ती दिनमा १८ घण्टासम्म नआउने। पानी मगाएको १० दिनसम्म नआउने। जारको पानी किनिसाध्य नहुने। नकिनी उपाय नचल्ने । कताकती बचेका ढुंगेधारामा पानी थाप्नेको लाइन कति हो कति लामो। काठमाडौंको यो कहर सम्झिसाध्य छैन। 

मेलम्ची आयोजना सरु हुँदा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको जम्मा जनसंख्या ११ लाख ५ हजार ३७९ (२०४८ सालको तथ्यांक) थियो भने यतिबेला (२०६८ सालको तथ्यांक) यी तीन जिल्लाको जनसंख्या २५ लाख १७ हजार २३ रहेको छ। १० वर्ष पुरानो तथ्यांक भएकाले तथा शहरीकरणको गति असाध्यै तीव्र भएको यतिबेला तीन शहरको जनसंख्या ४०—५० लाखभन्दा कम त पक्कै छैन। त्यही भएर २०५१ सालको सडक पखाल्ने योजना यतिबेला चक्रपथभित्रको घाँटी भिजाउने परियोजना मात्र बनेको छ। अब काठमाडौंमा सेरोफेरोका भएभरका सबै खोला ल्याएपनि यहाँको प्यास सजिलै मेटिनेवाला छैन। 

काठमाडौंका हरेकजसो घरमा इनार छन्। हरेक घरको इनारभित्र नियमित मोटर चल्छ। धन्न धानेको छ दह भएको उपत्यकाले। प्रत्येक ३—४ आनाको टुक्रोबाट मोटर लगाउँदा पनि र वरिपरि जतासुकै ढलान गर्दापनि काठमाडौंको जमिन रिसाएको छैन, रसाएकै छ। कस्तो गुणी उपत्यका! कति पानी खुवाउन सकेको! काठमाडौंको पानी आत्तिएको छ। आजकाल इनार अलि गहिरै खन्नुपर्छ। तर पनि २—३ महिनाबाहेक अरु महिना पानी दिएकै छ। प्रत्येक ३—४ आनाको टुक्रोबाट मोटर लगाउँदा पनि पानी आइरहेको छ। यो अचम्म हैन?  इनारमा बाल्टिन लगाएर वा ट्युववेललाई हातैले थिचेर पानी तान्ने हो भने त काठमाडौंको जमिन कहिल्यै आत्तिने थिएन। पानी नभएको शहरमा घरलाई छतदेखि गेटसम्म सर्लक्कै नुहाइदिने चलन छ। त्यो पखालपुखुल पानी जमिनभित्र जाने चलन भए त्यो जमिन कस्तो खुशी हुन्थ्यो होला। पानीको जति हाहाकार भएपनि कम्पाउण्डभित्र ढलान नगर्ने र आकाशे पानी संकलन गर्ने थिती काठमाडौंमा बस्न सकेन। भूमिगत दहमाथि बसेकोले जति दुःख भएपनि जमिनले पानी खान दिन्छ र ढिलोचाँडो मेलम्ची आइहाल्छ भन्ने आत्मविश्वास बोकेरै काठमाडौंले फुर्मास गरिरह्यो। फुर्मास जारी छ। ढुंगेधारा र नदीहरुमाथिको अत्याचार जारी छ। यही मेसोमा टुप्लुक्क मेलम्ची आइपुगेको छ। हाम्रो घाँटी भिजाउनलाई। भृकुटीमण्डपभित्रको ‘समुद्घाटन ढुंगेधारा’मा पानी निरन्तर आउने र थापेर खान पाइने खबर छ। यो खबर आँत सुकेका ढुंगेधाराहरुले पनि सुने होलान्। पुरिएका ढुंगाधाराहरुले पनि सुने होलान्। ढुंगेधारा मात्र किन, सुन्धाराहरुले पनि सुने होलान्।

काठमाडौंको तिर्खा मेलम्ची पिएर मात्र मेटिनेवाला छैन। लार्के र याङ्ग्री खोला पनि ढिलोचाँडो सुरुङ हुँदै काठमाडौंमा आउलान्। यसो भएपछि काठमाडौं फुरुङ्ग नहुने कुरै भएन। घरघरमा पानी आउनुपर्छ। शहर, गाउँ सबैतिर पानी पाउनुपर्छ। जता स्रोत छ, त्यतैबाट आउनुपर्छ। स्रोततिर मर्का नपर्नेगरि पानी आउनुपर्छ। बाँडेर खान पाउनुपर्छ। यसमा दुईमत छैन। 

तर वर्षौं लगाएर, करोडौं डलर खर्च गरेर, अन्यत्र पानी जम्मै सुकाएर सुरुङभित्र हालेर ल्याउन त्यति सजिलो छैन भन्नेचाहिँ सरकारले बुझेकै होला। त्यसकारण भूमिगत दहमाथिको उपत्यकाको आँत धेरथोर भएपनि यतै रसाउन सकोस् भन्नेतर्फ ध्यान जानैपर्छ। भएका स्रोतहरु जोगाउनेतर्फ पनि ध्यान जानुपर्छ। यताको स्रोत जोगाउने, पानी सदुपयोग गर्ने र जमिन रसाउन दिनु भनेको मेलम्चीको विरोध गर्नु हैन। 

सुरुङमा नदी हालेर पानी पाउन सजिलो छैन भन्ने पाठ मेलम्चीले पढाएकाले अब लार्के र याङ्ग्री पिउने रहर गर्नुभन्दा पहिला हाम्रा नदी, पोखरी र ढुंगेधाराहरुको प्राण भर्नतिर लागौं। भएका स्रोतहरुको प्राण भरेपछि पनि पानी पुगेन भने अलिकति पानी लार्के र याङ्ग्रीहरुले कसो नदेलान्? आफ्नो स्रोत मासेर सेरोफेरोका स्रोत तन्तनी पिउने रहरबाट दहमाथिको शहर मुक्त हुन सकोस्। आफ्नो स्रोत जोगाउनेको जय होस्। 

(नेपाल लाईभ डटकममा २०७८ साल चैत २२ गते आइतबार प्रकाशित )

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: