पेशाकर्मीको ‘राजनीति’ र खुइलिँदो बौद्धिक सत्ता

केही दिनअघि नेपाल पत्रकार महासंघको चुनाव सकियो । पत्रकारको चुनावमा जे नहुनु थियो त्यही भयो । महासंघको चुनावमा पत्रकारहरुले चुनाव हारे, राजनीतिक दलहरुले चुनाव जिते । विजय उत्सव पनि दलहरुले नै मनाए । पार्टीको झण्डामुनि बसेर दलको प्यानल नै बनाएर चुनाव उठेपछि पेशाकर्मीको हार हुने नै भयो । पत्रकार महासंघ मात्र होइन, नेपाल मेडिकल एशोसिएशन, नेपाल इन्जिनियर्स एशोसिएशन, नेपाल बार एशोसिएशन, प्राध्यापक संघ, शिक्षक संघ लगायत ज्ञात—अज्ञात सबैजसो संघसंस्था, समाज, समूह, राजनीतिको रंगमा नराम्ररी रंगिएका छन् । राजनीतिमा रंगिएसँगै पेशागत हकहित, अध्ययन—अनुसन्धान, तालिम, जर्नल र पुस्तक प्रकाशन, क्षमता अभिबृद्धि लगायतका कामहरु नाममात्रमा सीमित हुन पुगेका छन् । दलबलसहित दलको झण्डा बोकेर हिडेपछि सृजनात्मक काम गर्ने रहर कसलाई ? धेरथोर सृजनात्मक काम गरे पनि त्यसले दलको सेवा गर्यो कि गरेन, आफ्नो पार्टीको मान्छेले भाग पायो कि पाएन भन्नेमै चासो, चिन्ता र चिन्तन अड्किएको छ । दलकै टेवा, दलकै सेवा । राजनीतिक लाभ प्राप्तीको सजिलो अस्त्र बनेका छन् पेशागत संघ संस्थाहरु ।

दलगत प्यानल बनेसँगै पेशाकर्मीका चुनावहरु असाध्यै खर्चिला र भड्किला बनेका छन् । मतदाताले आफ्नो सदस्यता नविकरणको ठेक्का दलका कार्यकर्तालाई दिनु आफ्नो भोट बेचेसरह हो । यसरी बेचिएको भोटले राम्रो नेतृत्व कसरी छान्छ ? पेशाकर्मीको चुनावमा सदस्यता नविकरणबाटै गलत अभ्यास शुरु हुन्छ । सदस्यता नविकरण अरुलाई गराउनु, आतेजाते ब्यवस्था खोज्नु, बासको खर्च अरुबाटै लिनु, प्यानलद्धारा आयोजित भोजभतेरमा रमाउनु भनेको आफ्नो स्वाभिमान बेच्नु हो । स्वाभिमान बेचेका मतदाताले जिताएका नेताले कसरी गतिलो काम गर्छन् ? त्यसकारण आचरण शुद्धिकरण नेतृत्वबाट होइन, मतदाताबाटै शुरु हुन जरुरी छ । गलत मतदाताले गलत नेतृत्व जन्माउँछ । त्यसकारण नेतृत्वलाई प्रश्न गर्नुअघि आफैंलाई प्रश्न गर्ने गरौं ।

पेशाकर्मीले राजनीति गर्ने कि नगर्ने ? पेशाकर्मीको चुनावमा प्यानल बनाउने कि नबनाउने ? यो प्रश्न निकै पेचिलो छ । हरेक सचेत नागरिकले राजनीतिप्रति चासो राख्छ । देश चल्ने नीतिबाट, देश बनाउने नीतिबाट पर बस्न सजिलो छैन । पर बस्न जरुरी पनि छैन । राजनीतिप्रतिको आस्था, चासो र चिन्तन स्वाभाविक छ । थोरै ब्यक्तिको आफ्नै सिद्धान्त र वाद होला, अधिकांश त अरुले बनाइदिएको वाद र सिद्धान्तमै हिँड्छन् । आफैं बाटो खन्दै हिँड्नुभन्दा अरुले खनिदिएको राजमार्गमा हिँड्न सजिलो हुन्छ ।

ब्यक्ति कुनै न कुनै विचारबाट प्रभावित हुन्छ । आफ्नो विचार समूहसँग नजिक पनि बन्छ । विचार समूहसँग नजिक बन्ने क्रममा त्यो समूहको घेरो फैलिंदै जान्छ । त्यसरी फैलिएको घेरो अनेक च्यानल र प्यानल हुँदै अगाडी बढ्छ । अनि पेशाकर्मी पेशाकर्मीजस्तो नभएर दलको कार्यकर्ताजस्तो बन्छ । उसलाई आफ्नो पेशागत धर्म, पेशागत श्रीबृद्धि र पेशाकर्मीको हतहित र मर्यादाभन्दा दल प्यारो हुन्छ । च्यानल र प्यानल प्यारो हुन्छ । दलले दिने टिकट प्यारो हुन्छ । टिकट पाउन दलको नेताको प्यारो हुनुपर्छ । त्यसका लागि ऊ दलको सेवक बन्नुपर्छ । मतदाता नै दलगत रुपमा बाँडिएपछि उसले दलको मात्र हित हेरे पुगिहाल्छ ।

राजनीतिप्रति चासो राख्नु, विचार समूहसँग नजिक हुनु, कुनै दलप्रति आस्था राख्नु र पेशागत समूहमा राजनीति घुस्नु फरक कुरा हुन् । राज्य पक्ष होस् वा प्रतिपक्ष, दुवैले पेशाकर्मीहरुसँग नजिक हुने बराबर रहर गर्छन् । पेशाकर्मीसँग बौद्धिक सत्ता हुन्छ । यो सत्ता निकै बलियो हुन्छ । विचार निर्माण यसैले गर्छ । समाजलाई डोहो¥याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विज्ञान, समाज, कानुन, मिडियाजस्ता बौद्धिक सत्ताको बागडोर पेशाकर्मीसँग हुने हुँदा राज्य यी समूहहरुसँग डराउँछ । डराउँछ मात्र होइन, आफ्नो बनाउने पनि रहर गर्छ । यो सत्ताबिनाको आफ्नो सत्ता अधुरो र अपूरो महसुस गर्छ । प्रतिपक्ष पनि किन पर बस्छ ! यो सत्ता गुम्न नदिन सकेको बल गर्छ । यसरी पेशाकर्मी राजनीतिको तानातानमा पर्छन् ।

एउटा न एउटा दलको ओत नलागी पेशागत उन्नती, प्रगति गर्न नसकिने बुझेपछि पेशाकर्मीहरु कतै न कतै जोडिन पुग्छन् । नचाहँदा नचाहँदै राजनीतीमा रंगिन्छन् । जब पेशागत समूह राजनीतिले रंगिन्छ, राज्यसत्ताको नजिकको समूहले आफूलाई बलियो महसुस गर्छ । उसँग राज्यसत्ताको आर्शिवाद हुन्छ । जसरी भए पनि चुनाव जित्नु भन्ने आर्शिवाद ! त्यो ‘जसरी पनि जित्नु’ भित्र अनेक विषाक्त कुरा घुलेको हुन्छ । सदस्यता नविकरणको खर्च घुलेको हुन्छ । मतदाता ओसार्ने अस्त्र घुलेको हुन्छ । लाभका पदको लोभलालच घुलेको हुन्छ । होटलका भोजभतेर र भेलाको खर्चपर्च घुलेको हुन्छ । यसरी पेशाकर्मीको बुद्धि, विवेक, विचार र विज्ञानचेत दलका दैलामा बन्धक बन्छ । पेशाकर्मीको बौद्धिक सत्ता भुत्ते भैसक्छ । बौद्धिक सत्ता भुत्ते भएपछि पेशागत संघसंस्थाको ‘ब्यवसायिक मृत्यु’ हुन्छ । यस्तो चुनावमा पेशाकर्मीबाहेक अरु सबैको जीत हुन्छ ।

एउटा समूह जसरी पनि जित्ने हर्कतमा उभिएपछि अर्को समूह पनि सकेको आक्रामक बन्छ । अनेक च्यानलबाट पैसा उठाउँछ । जसलाई जे चाहिएको हो, त्यो बाँड्ने हर्कतमा उत्रिन्छ । मतदाता प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा मत बेच्नमै रमाउँछन् । उम्मेदवार मत किन्न विवश हुन्छ । जेथा गुमाउँछ । पेशागत मर्यादा गुमाउँछ । जिते त लाभको पद पाउँछ या संस्थाको रापतापको आँडमा केही अवसर पाउला, हारेचाहिँ थला पर्छ । न नेता बन्न सक्छ, न त पहिलोजस्तो स्वाभिमानी पेशाकर्मी नै । अब त पेशागत समूहलाई पनि सूर्य, रुख, गोलो घेरा सहितको हँसिया—हतौडा, हलो, गोरुगाडा, गिलास, मसाल, तारा आदि चुनाव चिन्ह दिनमात्र बाँकी छ । राजनीतिमा रंगिदै जाँदा यो दिन पनि नआउला भन्न सकिन्न ।

दलको च्यानल र प्यानलको प्रभावमा परेर बौद्धिक सत्ता हाँक्ने पेशागत संघसंस्थाहरु भुत्ते भइरहेका छन् । यसका लागि शुरुमा मतदाता आफैं सचेत हुनुपर्छ । आफ्नो मत नबेचौं । आफ्नो सदस्यता आफैं नविकरण गरौं । भोट हाल्न जाँदाको गाडी भाडा र होटलको खर्च आफैं ब्यहोरौं । चुनावलाई खर्चिलो र भड्किलो बन्नबाट रोकौं । मतदाताले आफ्नो पेशागत मर्यादामा बसिदिए दलले चाहेर पनि यस्ता संस्थालाई विषाक्त बनाउन पाउँदैनन् । दलका प्यानलभन्दा पर एक्लो एकलब्य बनेर चुनाव लडिरहेका जुनकिरीहरुलाई साथ दिऔं । पेशागत मर्यादाको ख्याल गर्दै पिलपिलाइरहेका जुनकिरीहरुलाई साथ दिन सकिएन भने दलका बोसहरुले पेशागत संस्था सखाप पार्नेछन् । पारिरहेका पनि छन् । पेशागत संस्थाहरु दलको दलदलबाट उम्कन सकेका छैनन् । दलको दलदलमा फसेर यस्ता चुनाव धानिनसक्नु बनेका छन् । बौद्धिक सत्तालाई सफा राख्नका लागि आफ्नो दलप्रतिको आस्था गोजीमै राखेर विशुद्ध पेशाकर्मी बनेर उभिन सक्नुपर्छ । यो बाटो सजिलो छैन । त्यसरी उभिन रहर गर्नेलाई सघाउनुपर्छ । दलको दलदलबाट पेशागत संघसंस्थालाई जोगाउनेको जय होस् ।

(२०७७ साल चैत १३ गते इन्जिनियर्स पोष्ट डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: