विश्राम नपाएको विश्रामपुर (पठन अनुभव)

धेरै लामो समयपछि मैले मन खाने उपन्यास पढें । विश्रामपुर । कवि पदम गौतमको पहिलो उपन्यास । कविहरु धमाधम उपन्यासकार बन्दैछन् । कविता विधा साँघुरो लागेर हो कि उपन्यास विधा फराकिलो लागेर हो, कविता लेखेर मात्र कवि मन भरिएको छैन । खुशीको कुरा, कविहरुले उम्दा उपन्यास लेखिरहेका छन् ।सिंगो उपन्यास नै लामो र मिठो कविता लाग्नेझैं गरि । उपन्यासकारको अवतारमा कवि पदम गौतम पनि थपिएका छन् । उपन्यास लेख्नु सजिलो काम होइन । अरु विधाका पाठकको तुलनामा उपन्यासका पाठक रिझाउन पनि उत्तिकै गाह्रो छ । पढ्दा कतै बोझिलो लाग्यो कि पढ्न छोडिहाल्छन् । म पनि उपन्यास किन्दा निकै सोचेर मात्र किन्छु । म गैरआख्यान अलि बढी पढ्छु । उपन्यास बर्षमा २—३ वटामात्र पढ्छु । विश्रामपुर चाहीं किताबको नाम र चित्रले किन्नु भन्यो । बस्ती सभ्यताको झल्को किताबको कभरमा देखिएपछि मलाई किनु-किनु लाग्यो । शुरुमा चित्रकारको कलाले तान्यो, त्यसपछि लेखकको लेखन शिल्पले ।

मैले पदम गौतमलाई चिनेको २०६५ सालतिर हो । मैले भेट्दा उनी समाचारभित्र कविता लेख्थे, कविताभित्र समाचार लेख्थे । मूल्यांकन मासिकलगायतका त्यतिबेलाका चल्तीका पत्रिकामा छापिने उनका कविता समाचारमय र समय साप्ताहिकमा फाट्टफुट्ट छापिने लेख कवितामय हुन्थे । उनका सृजना असाध्यै धारिला हुन्थे । भुइँमान्छेका कथा हुन्थे । फुइँमान्छेसँगका गुनासा पनि हुन्थे । धारिलायी कवि केहीबर्षअघि युरोप पसे । युरोप पसेसँगै लेखनकर्ममा अल्छी हुँदै गएका पदमले लकडाउन जिन्दगीलाई सृजनशील बनाए र विश्रामपुर उपन्यास ल्याए । किताबको कभरमा राखिएको चित्रले मलाई तान्यो । एउटा आदिम बस्तीको चित्र । मधेशको एउटा दूरदराजको गाउँको प्रतिनिधि चित्र । चित्र र किताबको नाम पढ्दा राजनीति गाँसिएको किताब हो जस्तो लागेको थिएन । मेरो अनुमान मिलेन । सीमान्तीकृत भूगोल र भुइँमान्छेका कथा टिपिएको यो किताबले राजनीतिको गोलचक्करमा फसेर कहिल्यै विश्राम नपाएको गाउँको प्रतिनिधि कथा बोलेको छ । चार दशकयताको विद्रुप राजनीति, बसाईसराइको चक्र, आफ्नो माटो र मानो गुमाएर बधुवा बन्न विवश सीमान्तीकृत समुदायको चित्र यसमा भेटिन्छ । समुदायको सपनामा आफ्नो कल्पना मिसाएर किताब लेखेको पदमले बताएका छन् । लेखकको जीवन भोगाईको चित्र यसमा धेरै भेटिन्छ । मूल रुपमा सन्थाल, ताजपूरिया र राजवंशीहरुको कथा बुनिएको छ यो किताबमा ।

विगत केही महिना यतादेखि नागरिक आन्दोलनले काठमाडौं उपत्यकाको वास्तु सभ्यता विनाश भएको भन्दै चिन्ता प्रकट गरिरहेको छ । टुडिखेल, माईतीघर मण्डला, कलमपोखरी आदि स्थानमा रचनात्मक भेला र जमघट पनि गरिरहेको छ । हेर्दाहेर्दै मास्सिएको काठमाडौंको वास्तु सभ्यता सम्झँदै गर्दा विश्रामपुरले एकैचोटी मधेशको देहातमा पुऱ्याइदियो र चिनाईदियो चिन्नुपर्ने अनेक पात्रहरु । राजनीतिले चुसेर थिलोथिलो घाउका अनेक पत्रहरु । धमाधम ढालिएका सखुवाका रुख, हेर्दा-हेर्दै मास्सिएका छिपछिपे पानी र दबदबे हिलोका भूखण्डहरु । सपना खोज्न ओरालो झरेका नागरिक र प्रकृतिको सेरोफेरोभित्र रमाएर प्राकृत जीवन बाँचेका नागरिकले झेल्नु परेको हैरानी र कष्टको कथा । मालपोत तिर्न नसकेर जमिन बुझाउँदै  आफ्नै जमिनमा बधुवा मजदूर बन्न विवश नागरिकको  कथा । पढ्नु लेख्नु भनेको तमसुक लेखेर, पूर्जा देखाएर अरुलाई लुट्नु हो भन्ने मानसिकता बोकेका टाठाबाठाका कलमले सीमान्तीकृत नागरिकलाई रित्तै बनाएको कथा । सपनाको खेती गरेर राजनीतिक अभिष्ट पूरा गर्ने टाठाबाठाको कथा । किताबले निकै दिनसम्म मेरो मनलाई घुमाईरह्यो । मास्सिएका वन, मास्सिएका मन र मास्सिएका धनको साक्षी बनेका भुइँमान्छेको कथा एकादेशको कथा होइन, हाम्रो तितो विगत हो । सन्थाल, ताजपुरिया र राजवंशीहरुले भोगेको जीवनकथा ।

‘हाम्रो जाति पढ्न जान्दैन, हाम्रो मन खोला पुरेर धान फलाउन मान्दैन’, प्रकृतिपूजक सतार काकाजस्ता धेरै पात्रहरुले आफ्नो जीवन्त संसार मासिएकोमा धेरै दुखेसो पोखेका छन् । किताबमा सतार काका भन्छन् —‘सरकारले सखुवा काटेर लग्यो । सखुवा मासिएपछि त्यसको आडमा हुर्किने लहरा पनि मासियो, त्यो लहराले पानी निकाल्थ्यो माटोमा ।’ सतार काकाले आफूहरुको जीवनलाई जनावारसँग मार्मिक तरिकाले दाजेका छन् — ‘राणाकालसम्म यहाँका मानिसलाई शासकले जनावरजस्ता ठान्थे । यहाँका मान्छेले पनि जनावरले जस्तै कर तिर्दैनथे । जनताबाट कर लिएर आनन्द भोग्ने परिवारको शासन भएको राज्यकालागि कर नतिर्ने मान्छे र जनावर उस्तै लाग्नु स्वभाविक हो । उनीहरु शासकले बोल्ने भाषा पनि बोल्दैनथे । आफ्नै भाषा बोल्थे ।’ राजनीति र विकासको विसंगतिको कति मार्मिक चित्रण ।

प्रजातन्त्रको खोल ओढेको पैसामुखी राजनीतिले शव जलाउँदा पनि कर उठाउन छोडेको छैन । शव नजलाउने आदिवासीलाई खोलाको वगर र परम्परागत चिहानबाट पनि लघारिएको छ । लघार्ने क्रममा पैसामुखी राजनीति यसरी बोलेको छ— ‘विश्वका कतिपय देशमा चिहानको पैसा मान्छे ज्यूँदै छँदा नै तिर्नुपर्छ, नत्र परिवारले सद्गतगर्न पाउँदैनन् । धन्य मान्छे मरेपछि मात्र हामी पैसा तिर्दैछौं भनेर खुशी मनाउनोस् न !’

उपन्यास पढ्दा विश्रामपुरले धेरैपटक विश्राम खोजेको भेटिन्छ । विश्रामपुरको सपना ठूला छैनन् । सजिलोसँग गरिखान देउ । विथोल्न नआउ । तर विश्रामपुर बारम्बार विथोलियो । शुरुमा बसाईसराईको चक्रबाट बिथोलियो र आफ्नै थातथलोमा सुकुम्बासीको नियति भोग्नुपऱ्यो । उनीहरुले आफ्नो जमिन गुमाए, जंगल गुमाए, रितिथिति, परम्परा र आफ्नो जीवनचक्रका धेरैथोक गुमाए । आफ्नोपन र आफ्नो मन एक-एक गर्दै गुमाए । बारम्बार उठ्न खोजे, तङ्ग्रिन खोजे । तर राजनीतिले कहिल्यै उठ्न दिएन । राजनीति बारम्बार फेरियो । राणा गयो । पञ्चायत आयो । बहुदल आयो । ‘जनताको मान्छे हौं’भन्नेहरुको शासन आयो । विद्रोहीहरुको शासन आयो । तर ‘हुकुम-सिङ’ प्रवृत्ति कहिल्यै बदलिएन । कसैले कहिल्यै सजिलै गरिखान दिएनन् । कसैले सपना नदेखाई सताए, कसैले सपना देखाएर कलात्मक तरिकाले सताए । कालो अक्षरले उनीहरुलाई पिर्न कहिल्यै छोडेन । कहिले पूर्जाको नाममा । कहिले तिरो रसिदको नाममा । कहिले पर्चाको नाममा । कहिले दर्ताको नाममा । कहिले प्रशासनबाट बिथोलियो । कहिले भूमिगत राजनीति गर्नेहरुबाट । कहिले समाचार माध्यमबाट । कथा भन्ने, कथा सुन्ने र कथा बुन्ने नाममा विश्रामपुर सधैं विथोलियो । भोकै हुँदा पनि सुख दिएनन् । अलिअलि गरिखान पाउने बन्दा पनि सुख दिएनन् । सत्ता, विद्रोही, सेरोफेरोको समाज, समाचार माध्यम हुँदै संसारको घेरोले घेरेर विथोल्न नछोडेपछि विश्रामपुरले आफ्नै शैलीले विश्रामलियो । विश्रामपुरबाट अलग भएर । अलप भएर ।

विश्राम नपाएको विश्रामपुरको यो कथा विगत ४ —५ दशकयता नेपालका अधिकांश गाउँहरुले भोगेको साझा कथा हो । विकास र राजनीतिको विसंगतिको कथा । राजनीतिको नाउँमा गाउँ ठाउँलाई बिथोल्ने र विभक्त गर्ने खेल सकिएको छैन । विकासका अनेक सपना देखाएर भूगोललाई चिराचिरा पार्ने तर गाउँघरले केही प्रतिफल नपाउने विकासे मोडलको विसंगती अझै पनि जारी छ । ‘हुकुम सिङ’ को घोडाले अझैं भुइँमान्छे कुल्चिन छोडेको छैन । सीमान्तीकृत नागरिकको विस्थापनको पीडालाई कलात्मक कलमले आवाज दिने लेखकको जय होस् ।

(नेपालीपोष्ट डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: