दाँतको ढुंगोमा सरकार लाग्दैन (कविता)

आदरणीय देशवासीहरु
यो देशको अर्थमन्त्री
आगामी बर्षको बजेट पढिरहेछु
ध्यान दिएर सुन्नुहोला
नसुने पछि परिन्छ
नाफाघाटाको सबाल छ
मनमनै राम्ररी गुन्नुहोला ।

आगामी बर्ष
बेचविखन बर्ष हुनेछ ।
गाउँगाउँबाट बेच
बस्तीबस्तीबाट बेच
घरघरबाट बेच ।
टोलटोलबाट बेच ।
यो देशको घाटा घटाउनलाई बेच ।
नारा यस्तो हुनेछ ।

ढुंगा, माटो, गिटी, बालुवा
सर्प, रुख, पात, पालुवा
नबेचेको कहाँ हो र ?
देउतादेखि मान्छेसम्म
पानीदेखि खानीसम्म
केही बाकी राखिएन ।
तैपनि ब्यापार जानिएन ।
अब जे जे भेटिन्छ सबैथोक बेच्ने हो ।

गाउँगाउँका थोत्रा घरले
कहिल्यै नाफा दिएनन् ।
देश बनेन भन्दै
गन्थनमात्र गरिराख्ने
थोत्रा घर राखेर के काम ?
शुरुमा छानो बेचिनेछ ।
त्यसपछि मानो बेचिनेछ ।
डाँडाभाटा धुरीखाबो
सुरढुंगो ढिकिजातो
चरेसका थाल, बटुका
टोपी, नाम्लो र पटुका
केही बाकी राखिने छैन ।
सबै सर्लक्कै बेचिनेछ ।

टौवा, कुन्यु र धन्सार
दाउराका हार
अगेनुमाथिको भार
हलगोरु, लैनाभैसी
पाडापाडी, बाच्छाबाच्छी
बाख्रा कुखुरा, परेवा
दोपाया, चौपाया
सबै सबै निखारिनेछ ।

घरमात्र बेचेर घाटा भरिन्न ।
घरपछि खेत बेचिनेछ,
पाखो बेचिनेछ ।
आँगन बेचिनेछ,
कोठेबारी बेचिनेछ ।
घडेरीसडेरी अब केही काम छैन ।
सबै सर्लक्कै बेचिनेछ ।

कसलाई बेच्ने ? टेन्सन नलिनुस् ।
कसले किन्ला ? टेन्सन नलिनुस् ।
पैसा कति ? टेन्सन नलिनुस् ।
सबै सरकारले हेर्नेछ ।
परेको बेहोर्नेछ ।

थाप्ने हातबाहेक
सबैथोक बेचेर
पैसो हात परेपछि
ट्रकका ट्रक खरानी किनिनेछ ।
ट्रकका ट्रक कमण्डलु किनिनेछ ।
थानका थान गेरु किनिनेछ ।
कतै लाइन नलाग्नु ।
सबैथोक होम डेलिभरी हुनेछ ।

ओढार र बगरका ढुंगा उहिल्यै सकिए
रुख, पात, पत्कार उहिल्यै सकिए ।
तैपनि बासको टेन्सन नलिनुस् ।
सबैलाई पाल बाडिनेछ
पाल कहाँ गाड्ने ?
नेपालमा त्यसको टेन्सन नलिनुस्
यसो गर्नुस्
पाल गाड्दै नगाड्नुस्
काँधमा बोकेरै डुलिहिड्नुस्
पाल गाडेको ठाउँमुनि
ढुंगो भेटिन सक्छ
नेपालमा ढुंगोको टुंगो लागिसक्यो
ढुंगो कतै भेटिनु हुँदैन
ढुंगो भेटिए सरकार लाग्छ ।

सबैथोक बेचेर पनि
देशको घाटा नघटेपछि
मागेर खाँदाखाँदै
दाँतमा ढुंगो लागे
त्यसको टेन्सन नलिनुस्
दाँतको ढुंगामा सरकार लाग्दैन ।
……….
(२०७८ साल जेठ २२ गते इकागज डटकममा प्रकाशित—परिमार्जित)

तस्वीर— मिलन

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: