आपत र ओतको शहरी सम्बन्ध

जबजब कुनै देशमा आपत आउँछ, शहरमा बढी खलबल मच्चिन्छ । आपतको खबर देशविदेश सबैतिर अलि चर्कोसंग सुनाउने हैसियत शहरकै हुन्छ । शहरमा ठूलो जनसंख्या हुने भएकोले समस्याका आयाम र गहिराईपनि अनेक हुन्छन् । स्रोतसाधनमा गाउँभन्दा बढी बलियो हुने भएकोले खोज, राहत, उद्दार, उपचार आदि अनेक चरणको चक्र शहरले सजिलै पार गर्छ । यसो हुँदाहुँदै पनि ती सबै चरणमा बर्गभेदको डोब प्रष्टै देखिन्छ । राज्यसत्तासंग ‘सम्वाद’ गर्ने हैसियत भएका नागरिक विपद्को चक्रबाट उम्किरहँदा श्रमिक समूह झिटिगुन्टा बोकेर शहर छोडेर हिड्न विवश हुन्छन् । उनीहरुको श्रम र सीपले धानिएको शहर आपतमा ओत दिने समयमा जहिल्यै चुक्ने गर्दछ ।

जसै बैशाखतिर कोरोना संक्रमणको दोस्रो लहर आयो, सरकारले ठूला शहरहरुमा निषेधाज्ञा गर्ने घोषणा गर्यो। निषेधाज्ञा शुरु हुनुअघि बाटोको म्यादपनि दियो । त्यो म्याद छोटो थियो । म्याद शुरु हुनासाथ शहरवासी आम सर्वसाधारणका दुखका दिन आए । गाडी चढिनसक्नु भए । आम सञ्चार माध्यममार्फत काठमाडौं उपत्यका सेरोफेरोलाई नियाल्दा उपत्यका छोड्ने नाकामा निकै ठूलो भीड देखियो । उपत्यका बाहिरका ठूला शहरमा पनि त्यस्तै देखियो । घर जानुपर्ने हतारोमा कोरोना भीडमै किचिएजस्तो पो भयो । यतै भीड, उतै भीड । बस, जीप, ट्रक जेजे भेटिन्छ त्यसमा कोचिएर, झुन्डिएर आम सर्वसाधारणले निकै कष्टकर यात्रा तय गरे । सबैले यो यात्रा छिचोल्न सकेनन् , नाकामै अड्किए । कतिपय नागरिक खर्चको अभावमा गाडी चढ्न सकेनन् । कतिले झुन्डिएर जान सकेनन्, सडकमै अलपत्र परे । कतिले कामबाट छुट्टी पाएनन् । यो दुखद दृश्य सामाजिक सञ्जाल र डिजिटल पत्रिकाको लहरो समातेर यत्रतत्र फिजिए ।

आपतमा ओत नपाउने र घरपनि सजिलोसंग जान नपाउने कष्टकर कहानी यसपाली पनि दोहोरियो । नागरिकले जति कष्ट बेहोरेपनि दुई दिनमै राजधानी शहर शून्यजस्तै भयो । केही लाख मान्छे गाउँ हिडेपछि शान्त बनेको शहरमा सरकारले सन्तोषको लामो श्वास फे¥यो । गाउँ छिरेका नागरिकले पनि यात्राको सास्ती बिर्सिएर सन्तोषको श्वास फेरे । यो सन्तोषको श्वासभित्र आपत पर्दाको सुस्केरा आफैं बिलाएजस्तो भयो ।

तस्वीर— मिलन

ठूलो शहरमा अचानक आपत आउनासाथ नाकानाकामा जम्मा भएर झिटीगुन्टा बोकेर सर्वसाधारण गाउँ पस्न विवश हुन्छन् । यसरी गाउँ पस्नेमा ज्याला—मजदुरी र आफ्नो सानोतिनो ब्यवसाय गर्ने ब्यक्ति र विद्यार्थी नै बढी हुन्छन् । यसमा निर्माणकर्मी, सानोतिनो उद्योगधन्धा र होटलमा काम गर्ने ब्यक्तिहरुको संख्या बढी हुन्छ । शहरमा घर हुनेहरु या संस्थागत क्षेत्रमा जागीर गर्ने ब्यक्तिहरु आपत आउनासाथ झिटिगुन्टा बोकेर कुदिहाल्दैनन् । नियमित कमाई र रोजगारीको सुरक्षाको कारण उनीहरुलाई त्यसरी कुदिहाल्ने बाध्यता पनि हुँदैन । झ्यापझुप्पै कुदिनहाल्न उनीहरुलाई छुट्टी पनि मिल्दैन । केही समय आपतलाई थेग्ने हैसियत उनीहरुले बनाएका हुन्छन् । अप्ठेरोमा सरसापटी दिने, सहयोग गर्ने समूह, सञ्जाल वा संस्थाहरुसंग उनीहरु जोडिएका पनि हुन्छन् ।

आम सर्वसाधारणसंग आफ्नो पाखुरीको बलबाहेक अरु उपाय हुँदैन । न बलियो बचत हुन्छ, न घरबेटीले सहयोगी भावना देखाउछन् न त आपतविपतमा कुनै संस्थागत सहयोग नै पाउछन् । काम दिने साहुँ वा रोजगारदाताबाट पनि उनीहरुले राम्रो सहयोग पाउँदैनन् । लामो समय सहयोग दिने हैसियत उनीहरुलाई काम दिने साहुँ वा रोजगारदाताको पनि हुँदैन । गरेको कामको पूरै ज्याला परै जाओस् बाटोखर्च मिल्यो भने मनकारी ठान्नुपर्ने अवस्था छ । उनीहरुको उठबस आफूजस्तै निम्न आय वर्गका ब्यक्तिहरुसंग हुने हुँदा उनीहरुले आफ्नो चिनजानको समूहबाट दरिलो साथ पाउने सम्भावना पनि हुँदैन ।

आम सर्वसाधारणको सहयोगका लागि शहरमा सार्वजनिक संरचनाहरु पनि खुम्चिदै गएका छन् । केही समय धर्मशालाको बास, सार्वजनिक धाराको पानी, निशुल्क भोजनको ब्यवस्था ठूलो समूहलाई थेग्न सक्ने खालको छैन । केही मनकारीले यस्ता किसिमको आपतकालीन ब्यवस्था गरेपनि त्यो ब्यवस्थाले ठूलो समूहलाई धेरैदिन धान्न सक्दैन । यति भएपछि हतारहतार शहर छोड्नुको विकल्प रहदैन ।

२०७२ सालको भुईँचालो र नाकाबन्दी, दोहोरिएको कोरोना कहर पछिल्ला केही प्रतिनिधि घटनाहरु हुन् । आपत पर्नासाथ निम्न आय भएका बर्गका लागि शहरमा ओत नमिल्ने जनाउ घण्टी बज्छ । पसिना पोखेर बाँचिरहेको ठाउँमा जब असिना बर्सिन्छ, पसिना मूल्यहीन बन्छ । पसिनाले तुरुन्तै शहर छोड्ने बाटो खोज्छ ।

सरकारले शहरमा आउन दिन्छ, गाउँ जानपनि दिन्छ तर आपतमा अलि समय दरिलो ओत दिन्छु कहिल्यै भन्दैन । सजिलोसंग जाउपनि कहिल्यै भन्दैन । टिकटको कालोबजारी रोक्न खोज्दैन । राजमार्गमा हुने ठगी रोक्न खोज्दैन । एउटा गाडी बिग्रेर घण्टौं सडक जाम हुन्छ तर जाम खोल्ने पूर्वतयारी कहिल्यै गर्दैन । जाम खुवाउने हतारोपनि गर्दैन । अप्ठेरोमा परेका नागरिकलाई सुरक्षा निकायका गाडी प्रयोग गरेर, निजी विद्यालयका सञ्चालकसंग गाडी भाडामा लिएर घर नजिकको शहरसम्म पुर्याइदिन्छु पनि भन्दैन । उसलाई छिटोछिटो शहर खाली गर्ने रहर हुन्छ । नागरिकहरु त्यो रहर पूरा गरिदिन विवश हुन्छन् ।

आपत परेको बेलामा शहर तुरुन्त छोडिएन भने त्यसका अरु अनेक बाछिटा बेहोनुपर्ने हुन्छ । शहरमा ग्याँसका सिलिन्डरहरु कुना पस्छन् । तरकारी, दाल, चामल र नुन—तेलका प्याकेटहरु हत्तपत्त कुना पस्छन् । हरेक चीज छोइनसक्नु बन्छन् । तिनलाई छोइसक्नु बनाउन राज्यले बलियो पहल गर्दैन । सांकेतिक काम गरेर सांकेतिक राज्यको जनाउसम्म दिन्छ । एकतिर काम रोकिनु, अर्कातिर कुना पसेका सामानलाई मनाउन मरिहत्ते गर्नु । अनि हतारहतार गाउँ पस्नुको विकल्प रहँदैन । यो दशा हरेक विपद्मा दोहोरिने गरेको छ ।

बर्षौदेखि श्रम पोखिरहेको शहरमा जब एक हप्ताका लागि मात्रपनि आपत पर्छ, सर्वसाधारण झिटीगुन्टा बोकेर कष्टकर र असुरक्षित यात्रा गर्न किन विवश हुन्छन् ? यसका दुईवटा आयाम छन् । अधिकांशका लागि शहर बसाई बाध्यताको बसाई हो । यहाँ मन पटक्कै रमाएको छैन तर नबसेर सुख छैन । देशको यतिबेलाको माहोल नै यस्तै छ । जस्तो माहोल, उस्तै जीवन ।

गाउँबाट बजार, बजारबाट सदरमुकाम, सदरमुकामबाट अलि ठूलो शहर, राजधानी र विदेश पस्नु अनि अवसरको खोजी गर्नु अहिलेको आम जीवनको साझा विशेषता हो । शहर बसिखानु छैन तर अहिलेको सामाजिक संरचना अनुसार नपसेर पनि सुख छैन । गाउँमा मन मरे अडिन्न । अडिएको एकाध मनलाई पनि शहरतिर धपाउने हैसियत गाउँको छ । मुस्किलले धानिएको मन र मुस्किलले चलेको जीवनको शहरी जीवनको चक्र सानोतिनो आपतको झोक्काले पनि हल्लाईहाल्छ ।

जव शहरमा आपत पर्छ, गाउँघरले ओत दिन्छ । झिलिमिलि शहरमा अल्झिएको जीवनको दियो गाउँमा बलेको छ । आपतविपलतले त्यो दियो सम्झाईदिन्छ र शहर एकैचोटी भीडभाडका साथ गाउँ पस्छ । यसबाहेक आपतविपतमा परेका नागरिकलाई सहायता दिने संयन्त्र शहरमा असाध्यै कमजोर छ । केही उपकारी दाताले सानोतिनो अभियान चलाएपनि राज्य स्तरबाट अप्ठेरोमा परेका नागरिकलाई मद्दत गर्ने बलियो प्रणाली छैन । ‘केही समयका लागि गाउँ फर्कनुहोस् फर्कनका लागि हामी भरपर्दो ब्यवस्था मिलाउँछौं ’ भन्ने हैसियत र प्रणालीपनि राज्यले विकास गरेको छैन । त्यसको प्रयास नै गरेको छैन ।

शहरमा रोजगारीको जगपनि त्यस्तै छ । धेरैजसोको रोजगारी ‘अनौपचारिक’ खालको छ । अनौपचारिक रोजगारीले आपतविपतमा भर दिंदैन, उल्टो अनेक कहर दिन्छ । नाफा घट्ने देख्नासाथ कामबाट निकालिहाल्ने मात्र होइन, बाटोखर्च समेत नदिएर बेपत्ता भैदिने प्रवृक्ति समेत देखिन्छ । यस्तो भएपछि मूल सडकमा निस्केर घर जाने उपाय खोज्नुको विकल्प रहदैन । राज्य सडकमा आईपुगेका नागरिकको संरक्षक बन्दैन, अलपत्र पार्नेको संरक्षक बनिदिन्छ । कहिले लुकेर, कहिले खुलेआम ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने अनि लाखौं मान्छे ठेलमठेल भीड गरेर गाउँ पसेपछि कोरोना नियन्त्रण हुन्छ कि कोरोनाको राष्ट्रब्यापी विकेन्द्रिकरण हुन्छ ? पसल २ घण्टा चल्दा कोरोना नियन्त्रण हुन्छ कि भीड नहुने गरि दिनभर पसल चल्दा कोरोना नियन्त्रण हुन्छ ? हरेक थोकमा केन्द्रियताको रहर गरेपनि आपतविपतको चाहि विकेन्द्रिकरण होस् भन्ने सरकारको चाहना प्रष्टै पढ्न सकिन्छ । समस्या छरिएपछि दुखको आवाज त्यसै मसिनो बन्छ । दूरदराजको आवाज केन्द्रलाई सुनाउने सबैको हैसियत पनि छैन । यति भएपनि राज्यलाई सञ्चो हुन्छ ।

शहर र सडक सुनसान बनाएर शासन गर्न सजिलो हुन्छ । त्यसकारण नागरिक गाउँ फिर्दाको सास्तीलाई राज्यले समस्या ठान्दैन । २—३ दिन दुखका कथा फिजिन्छन् । त्यो दुखको कथा फिजिएको बेलामा राज्यले समाचारमाध्यमको ध्यानै अन्तै खिचिदिन्छ । आफ्नै खिचातानीतिर ध्यान खिचिदिन्छ । अनि सर्वसाधारणको पीडाको आवाज आफैं मलिन भएर जान्छ । हरेक आपतविपतमा सबैभन्दा निम्न बर्गको पेशा र ब्यापार ब्यवसायमाथी राज्यले प्रहार गर्छ । यति भएर शहर छोडेर हिड्नुको विकल्प नै रहदैन । आपत टाल्नुपर्छ तर सर्वसाधारणलाई सास्ती नहुने उपाय खोज्नुपर्छ । तर राज्यसत्ताले यस्तो रहर गरेको देखिंदैन ।

सत्तापक्ष, प्रतिपक्ष होस् या अन्य पक्ष, बेलाबेलामा शहरमा शक्ति देखाउने रहर सबै राजनीतिक दलले गर्छन् । जब सत्ताको जग हल्लिन्छ या सत्तापक्षले अर्को पक्षलाई नराम्ररी हियाउँछ, शक्ति प्रदर्शनको तमासा शुरु हुन्छ । गाउँगाउँबाट रंगीबिरंगी झण्डा हालेका सयौं गाडी सर्वसाधारण नागरिकलाई लिएर शहर छिर्छन् । आ—आफ्नो हैसियत अनुसार टुरिष्ट बस, डिलक्स बस, नाईट बस, स्कोरपियो र बोलेरो गाडीको ताती शहरमा देखिन्छ । यति भलिभाती गर्न सबै दल सिपालु छन् । एक हप्ताका लागि आपत पर्नासाथ गाउँ छिर्न रहर गरिहाल्ने नागरिक तिनै समुदायका प्रतिनिधि हुन् । यता अड्कएिका नागरिकलाई गाउँ लैजाने त ५ बर्षमा एकपटक हो ।

जब चुनाव आउँछ, गाउँ छिर्ने आर्कषक अफर आउँछ । जाने, आउने, खाने बस्ने र पकेट खर्चको अफर बोकेर दलका प्रतिनिधि टोलटोलमा पस्छन् । अनेक सूत्रबाट फोन नम्बर पत्ता लगाउँछन् । ‘फलानो दाइ/दिदी ले गाडीको ब्यवस्था गर्नुभा छ, कहिले जानुहुन्छ ?’ यस्ता भाकाका फोन र सन्देशहरु गुन्जिन थाल्छन् । फोन र सन्देशमात्र किन, ढोकै ढक्ढक्याउन आईपुग्छन् । तर जब नागरिकलाई आपत पर्छ, दलका प्रतिनिधि दलदलमै हराउँछन् । अनि नागरिक सयौं किलोमिटर लामो यात्रा पैदलै हिड्ने रहर गर्छन् । जब नागरिक हिडेरै गन्तव्यतिर गईरहेको समाचार आउँछ, त्यसलाई प्रायोजित समाचार भन्दै प्रधानमन्त्री, मन्त्री र दलका जिम्मेवार नेताहरु प्रतिकारमा उत्रन्छन् । धन्यवाद भन्दैनन्, उद्दार गर्छुपनि भन्दैनन् । यस्ता विवेकशून्य जनप्रतिनिधि बेहोर्न परेपछि आपतमा ओत एकादेशको कथा बन्छ ।

देशमा यतिबेला अकल्पनीय आपत चलिरहेछ । आपत त सत्तामा पनि चलिरहेछ । विश्वास र अविश्वासको लहरमा देशैभरिका सबै प्रदेशका सरकार अल्मलिएका छन् । आपत टाल्ने अचूक उपाय उनीहरुले जानिसके । जसले अविश्वास गर्छन उसलाई मन्त्री बनाईदिने । यतै ‘सपथ’ चलिरहेछ । उतै ‘सपथ’ चलिरहेछ । सपथको नाममा कुपथ चलिरहेछ । कोरोना रिपोर्टमा समेत राजनीति चलिरहेछ । जाँचेको १ मिनेटमा रिपोर्ट आउँछ । कथाले जे मागेको छ, कोरोना रिपोर्ट त्यही बन्छ । यसरी चलिरहेको राज्यसत्ताले नागरिकलाई कसरी ओत दिन्छ ?

कोरोना कहरको पहिलो लहरमा गतसाल केही मनकारीले लामो समयसम्म टुडिखेल सेरोफेरोमा अप्ठेरामा परेका नागरिकलाई नियमित खाना खुवाए । यसरी खाना खुवाउनेहरुलाई राज्यले आपेक्ष लगायो, दुखपनि दियो । यता र उता धपायो । आफ्नो कर्तव्य पूरा नगर्ने र मनकारीलाई दुत्कार्ने चरित्र राज्यलाई सुहाउँदैन । आपतमा ओत नागरिकको अधिकार हो । राज्यको कर्तव्य हो । आपतमा परेका नागरिकलाई हियाउने, राहतको नाममा गुजारा नचल्ने सामाग्री दिएर अपमानित गर्ने काम कसैले गर्न पाईंदैन । लामो समय ओत दिन सकिंदैन भने आफ्नो थातथलोसम्म सहज तरिकाले पुर्याउने दायित्व पनि राज्यको हो । मनकारी दाताले पहल गर्छन् भने उनीहरुसंग हातेमालो गर्नु पनि उसकै कर्तव्य हो ।

राज्य नागरिकले भरेको ठूलो खुत्रुके हो । जिन्दावाद र मूर्दावादको नारा घन्काउन नागरिकको दुरुप्रयोग गर्ने तर आपतविपतमा ओत नदिने काम गर्न राज्य र राजनीतिक दललाई सुहाउदैन । राज्यलाई उसको दायित्व सम्झाउँदै गर्दा आम नागरिक पनि गैरजिम्मेवार बन्न पटक्कै सुहाउँदैन । भीडभाड, रामरमिता, तामझाम, धर्मकर्म, चाडपर्व र नारा जुलुसका नाममा आपतविपत भुलेर रमाउने बेला होइन यो । जानीजानी विपद् निम्त्याउने र राज्यले हेरेन भन्दै गाली गर्न नागरिकलाई पनि पटक्कै सुहाउँदैन ।

(२०७८ साल जेठ २९ गते कान्तिपुर दैनिकमा प्रकाशित लेखलाई पुर्नलेखन र परिमार्जन गरिएको )

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: