स्थानीय वास्तुकलाको विराटता र कमजोर परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले परम्परागत बास्तुकलाको संरक्षण, सम्बद्धन र प्रचार प्रसार गर्नु भन्दै नेपालका सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो कदम स्वागतयोग्य छ । परिपत्रमा भवनको नक्सा पास गर्दा स्थानीय नेपाली वास्तुकला झल्कने, प्राचिन सांस्कृतिक कला र संस्कृतिको प्रबद्धन हुने गरि नक्सा पास गर्ने प्रबन्ध मिलाउने, गाउँपालिका तथा नगरपालिकाबाट स्थानीय वास्तुकलाको प्रबद्धन गर्ने गरि बाहिरी स्वरुपका विभिन्न डिजाइनका नमुना तयार पारि प्रचारप्रसार गर्ने र सार्वजनिक भवन डिजाइन गर्दा रैथाने वास्तुकला झल्कने स्वरुप दिने कुरा उल्लेख गरिएको छ । परिपत्रसंगै बाहिरी स्वरुपमा स्थानीयपन झल्कने सातवटा नमुना नक्सापनि राखिएको छ । बाहिरी स्वरुपको डिजाइन तयार पार्ने ! बाहिरी स्वरुपमा स्थानीयपना झल्कने ! दाँतमा ढुंगा लाग्ने कुरो यहीनेर छ । भित्री र बाहिरी स्वरुप भनेर हुँदैन । समग्र बस्तीको स्वरुप, घर निर्माणको शैली, सामाग्री र संस्कृतिमा स्थानीयपन झल्कनुपर्छ ।

सिराहाको स्थानीय वास्तुशैलीमा बनेको घर । तस्वीर— लेखक

नेपालको ग्रामीण भेगको वास्तुकला विराट र अनुपम छ । स्थानीय हावापानी, सामाग्रीको उपलब्धता, सांस्कृतिक चालचलन र भूगोलको सम्मिश्रणबाट पुस्तौं पुस्ता खारिएर घरबस्तीले अहिलेको स्वरुप लिएका हुन् । गाउँ छोडेर मूलबाटो र खोलाछेउको बजार, पालिका केन्द्र, सदरमुकाम, ठूला शहर हुँदै सकेको उधो झर्ने परिपाटीले गाउँका घरबस्ती ओइलाएजस्ता देखिएपनि तिनीहरुले समृद्ध वास्तुशैलीको जीवन्त इतिहास बोल्छन् । यो इतिहास ७ वा १७ वटा नमुनाभित्र अटाउँदैन । एउटै गाउँपालिकामा पनि फरक सांस्कृतिक समुदायका फरक—फरक शैलीका घर छन् । एउटै पालिकाभित्र त दुईचार नमुना डिजाइनले त्यहाँको वास्तुभाषा बोल्दैन भने केन्द्रबाट पठाईएको सातवटा नक्साले स्थानीय वास्तुकला कसरी जोगाउछ खै ?

कास्कीको सिक्लेस गाउँ । तस्वीर— लेखक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा निर्माण स्थलको छनौट, घरको स्वरुप, जग, कुर्सी सतह (प्लिन्थ), गारो, गारोका खुला भाग, ठाडो सवलीकरण, तेर्सो बन्धन, छाना र सामाग्रीबारे उल्लेख गरिएको छ । निर्माण सामाग्रीबारे ब्याख्या अचम्मको छ । सिमेन्ट र डण्डीको मात्र कुरा गरिएको छ । घर बनाउनका लागि सिमेन्ट र डण्डी नै अन्तिम सत्य हो भनेजस्तो गरिएको छ । परिपत्रको पेज नम्बर दुईमा ‘तला संख्या, दुई तला र धन्सार (बुइगल) सहितको सिमेन्टको जोडाईमा हुनेछ ’ लेखिएको छ । यो त पटक्कै चित्तबुझ्दो कुरा भएन । सिमेन्ट नै अन्तिम सत्य भन्न खोजेजस्तो भयो । नेपालको ग्रामीण वास्तुकलाको गहनता, विराटता, सभ्यता र भव्यताभन्दा परेको कुरा भयो । स्थानीय शैली, सामाग्री र संस्कृतिको प्रतिबिम्ब झल्कने गरि बस्न सजिलो, उज्यालो र परिवर्तित जीवनशैली समेत अटाउने गरि नयाँ घर बनाउन प्रोत्साहन गर्नु पर्दछ । पुराना संरचनाहरुको संरचनागत विश्लेषण गरि तिनलाई भूकम्प प्रतिरोधी बनाउन सुधारात्मक उपायहरुको खोजी गर्नुपर्छ । बाहिरी स्वरुपमात्र बचाउने, सिमेन्ट र डण्डी नै प्रयोग गर्ने सोचभन्दा पर रहेर नीति निर्माण गर्नुपर्छ । मनाङ, मुस्ताङ, जनकपुर, डोल्पा, झापा, जुम्ला, ताप्लेजुङ, सोलुखुम्बु, पोखरा आदि ठाउँका मौलिक वास्तुकला सम्झौं त । यो परिपत्रमा राखिएको नमुनाले त्यहाँको वास्तुभाषा बोल्छ ? यो परिपत्रले ती गहन वास्तुकृतिलाई पढ्न सक्छ ? सक्दैन ।

२०७२ सालको विनाशकारी भूकम्पपछि भूकम्प प्रतिरोधी घर निर्माणको संरचनागत शैली (घरको लम्बाई र चौडाईको अनुपात, जगको निर्माण, गारोको मोटाई, झ्यालढोका राख्ने उपयुक्त ठाउँ, ठाडा र तेर्सा बन्धनहरु बाध्ने तरिका, चुलीगारो बनाउने तरिका, छाना छाउने तरिका आदि) सिकाउन शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न विज्ञ र सरोकारवाला संस्थाहरुको सहयोगमा डिजाइन सूची (डिजाइन क्याटलग) तयार पारेको थियो । डिजाइन सूचीको पहिलो भागमा १७ किसिमका नक्साहरु समेटिएका थिए । जगदेखि छानोसंग घरलाई कसरी बलियोसंग बाध्ने भन्ने उपाय सिकाईएका ती नक्साहरु गाउँमा पुगेपछि ठूलै तरंग आयो । मापदण्ड मिलेको घर थोरै पैसामा बनाउन चाहनेलाई आधारपनि दियो । आधार त दियो तर त्यही अन्तिम सत्य होजस्तो पनि भयो ।

जसै पोष्टर, पुस्तिका, क्यालेन्डर, क्याटलग र फ्लेक्स बनेर ती नक्सा गाउँगाउँ पुगे, अन्योलमा परेका भूकम्पपीडितहरुलाई घर बनाउने उपाय भेटिएको आभास भयो । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरु ठूलो कार्यक्षेत्र, असाध्यै सीमित स्रोतसाधन र प्रशासनिक कामको भारीले नराम्ररी थिचिएका थिए । स्थानीय स्तरमा उपयुक्त निर्माण शैली र गाउँ सुहाउँदो डिजाइनबारे सोच्ने मौका नै नपाएका उनीहरुलाई पनि त्यसले एउटा आधार दियो । यति भएपछि भूकम्प प्रतिरोधी घर बनाउने अन्तिम सत्य नै त्यही नमुना नक्सा हो भनेजस्तो भयो । १ कोठेदेखि २ तलासम्मका घरका नमुना नक्सा तयार पारिएपनि ३ लाखमा अलिअलि थपथाप पारे पुगिहाल्ने भन्दै अधिकांशले एककोठे र दुईकोठे घरको नक्सा छाने । सानो पिढि र दुईवटा कोठा भएको, तलो नछापिएकोे घर धेरैको रोजाईमा पर्यो । ढुंगामाटो वा ईंटासिमेन्टको गारोमा सिमेन्टको बन्धन, चुली गारोमा जस्ता र जस्तापाताकै छानो भएको छानो भएको घर नै भूकम्पपछिको घरको साझा पहिचान बन्यो । अहिले भूकम्प प्रभावित गाउँहरु डुल्दा घर पुनर्निर्माण हैन, कोठा पुनर्निर्माणको काम सकिएजस्तो भएको छ । परिपत्रमा भवनको बाहिरी स्वरुपमा बढी चासो देखाईएको छ । सिमेन्ट र डण्डीको प्रयोगमा बढी चासो देखाईएको छ । देशैभर एकनासको घर बनाउने कल्पना गरिएको छ । विविधता हाम्रो कमजोरी होइन, अमूल्य सम्पती हो । त्यसको ख्याल गर्नु जरुरी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो परिपत्र तयार पार्नुअघि सरोकारवालाहरुसंग छलफल गरेको भए राम्रो हुन्थ्यो । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट यो कामका लागि सम्झनुपर्ने सबैभन्दा उपर्युक्त संस्था हो । सोनासंग छलफल गर्न पाएको भए सोनाले आफ्ना सदस्यहरुसंग छलफल र बहस चलाउथ्यो । एउटा परिपक्व धारणा आउथ्यो । वास्तुकला पढाई हुने क्याम्पसहरुले पनि यस विषयमा गहकिलो सुझाव दिन्थे । नेपाल इन्जिनियर्स एशोसिएसनसंग पनि ग्रामीण ढाँचाको घरलाई कसरी भूकम्प प्रतिरोधी बनाउने भन्नेबारे छलफल गर्न सकिन्थ्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि आफ्नो सिकाई, बुझाई र अनुभव पक्कै सुनाउथ्यो होला । यसरी केही नमुना नक्सा देशैभर पठाउनुसट्टा र घरको मोहोडा मौलिक बनाउन अनुरोध गर्नुसट्टा सबै स्थानीय तहले आफ्ना प्रमुख घरहरुबस्तीको गहन अध्ययन गर्न अनुरोध गर्नु पर्दथ्यो । आ—आफ्नै स्थानीय डिजाइन बनाउन अनुरोध गर्नु पर्दथ्यो । स्थानीय शैली, सामाग्रीको प्रयोग गरेर भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ है भनेर विश्वास दिलाउन सक्नु पर्दथ्यो ।

परिपत्र पढ्दा त सरोकारवालासंग छलफल गरिएको महसुस भएन । नेपालको गाउँको वास्तुकला बचाउन स्थानीय तहहरुले निर्माणकर्मी र घरधनीलाई प्रोत्साहन गर्नु जरुरी छ । परिपत्रले केही हदसम्म प्रोत्साहन गर्न सकेको छ तर यो पहल अधुरो र अपूरो छ । तयारी नक्सा पठाएर तथा घरको मोहोडालाई पुरानोपुरानो जस्तो बनाएर रैथाने वास्तुकला जोगिन सक्दैन । त्यसतर्फ सबै स्थानीय तहले ध्यान दिनु जरुरी छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्रको लिंक— https://www.mofaga.gov.np/news-notice/2429?fbclid=IwAR3R8ZQpto5ty69qP6ApRBdmGxXkjWxJya9UGPMNo5typvoz0HQaeKkiq2Q

(२०७८ साल असार २३ गते बुधबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: