प्रतिगमनको ‘स्कोप’ छैन

आइ कैल्यै पनि नसकिने चैत बैशाख मेरा
लाइ कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।
………..
कविवर माधवप्रसाद घिमिरेद्धारा लिखित यी हरफ (बैशाख कविताबाट) सर्वोच्च अदालतको आजको फैसलासंगै सम्झिएँ । हरेक बर्ष चैत—बैशाख आएजस्तै प्रतिगमन पनि नेपालीका लागी स्थायी शत्रुजस्तै भएको छ । विभिन्न रुप र अवतार धारण गरेर प्रतिगमन बारम्बार दोहोरिने गरेको छ । प्रतिगमन पछार्ने आन्दोलनपनि प्रायजसो चैत—बैशाख सेरोफेरोमै हुने गरेको छ । राणा, राजा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा थरिथरि शैलीका प्रतिगमनहरु भए । विगत ३० बर्षमा प्रतिगमनका स्वभाव र शैली अनेक देखिए । प्रतिगमनका नयाँनयाँ स्वरुपहरु अझैं देखिंदैछन् र अझैं कति देख्नुछ ।


प्रतिगमन बहुरुपी र बहुरंगी छ । कहिले ज्यानमारा बनेर आउँछ । कहिले सादा भेष धारण गरेर आउँछ । कहिले अध्यादेश बनेर आउँछ । कहिले संसद विघटनको घोषणा लिएर आउँछ । हरेक प्रतिगमनले म नै राज्य हुँ भन्छ । मै सर्वस्व हुँ भन्छ । देशै कब्जा गर्छु भन्छ । संविधानलाई कागजको खोस्टो भन्छ । संसदलाई बन्धक बनाएर अनिर्वाचित निर्णयमा रमाउँछ । प्रतिगमन संसदमा बसेर छलफल गर्न मान्दैन । घरै बसेर पार्टी र देश चलाउने रहर गर्छ । प्रतिपक्षमा बसेपनि सत्तासंग सौदा गरेर बस्छ र पछाडीको ढोकाबाट लाज मानेझैं सरकारको विरोध गरेझैं गर्छ । प्रतिगमन भ्रमै भ्रमको चाङमा रमाएर बाँचेको हुन्छ । सल्लाहकारको पद पाएका अनेक चाटुकार भेला पारेर आफ्नो प्रशस्ती सुन्छ । देशमा आफ्नै हाइहाइ छ भन्ने भ्रममा पर्छ । यस्तै भ्रम छर्न रमाउँछ ।


आफ्नो जग आफैंले खोतलेको मेसो नपाई एउटा प्रतिगमनको आयु सकिन्छ । एउटा प्रतिगमन झोलीतुम्बा बोकेर बाटो लाग्न नपाउँदै नयाँ प्रतिगमनले जरा हाल्छ । पालुवा पलाउँछ । हेर्दाहेर्दै नयाँ प्रतिगमन डरलाग्दोसंग झांगिन्छ । नागरिक फेरि त्यो प्रतिगमनसंग जुध्न थाल्छन् । जब्बर प्रतिगमन हार मान्दैन । मन्त्रीमाथी मन्त्री थपेर सत्ताको आयु लम्ब्याउने असफल प्रयास गर्छ । आफ्नो, अरुको, सबैको पार्टी फोड्ने रहर गर्छ । अध्यादेशको चाङ लगाउछ । विरोधीलाई तह लगाउन अनेक अस्त्र फाल्छ । पाईला— पाईलामा हार्दाहार्दै पनि हार नमानी उ विदा हुन्छ । यसरी विदा हुँदा उ बेहोसमात्र भएको हुन्छ । अलि समयपछि उसको होश आउँछ । नयाँ—नयाँ भेष धारण गरेर प्रतिगमन सत्ताको ओहोरदोहोर गरिरहन्छ । नागरिक आजित हुन्छन् । प्रतिगामीहरु फेरिईरहन्छन् । प्रजातन्त्र, लोकतन्त्र, राजतन्त्र, गणतन्त्र अनेक नाम दिएर प्रतिगमनको भूत मन्साउने नागरिकको आशा बारम्बार धूमिल हुन्छ, भईरहेकै पनि छ । कहिलेसम्म भईरहेको हो, त्योचाहि थाहा पाउन सकिएको छैन । कोही ज्योतिषीले यसबारेमा केही घोषणा पनि गरेका छैनन् ।


प्रतिगमनको चक्रब्यूह हाम्रो स्थायी नियतिजस्तै भएको छ । सत्ताको मान्छे आम नागरिकको सुखदुखको साथीजस्तो बन्नै खोज्दैन । त्यो बाटो उ रोज्दै रोज्दैन । अनेक सेटिङ गरेर सत्तारोहण गर्ने हुँदा त्यही सेटिङको रक्षा उसको एकमात्र अभिष्ठ बन्छ । त्यो सेटिङको जालोमा अल्झिँदा राम्रै भेष धारण गरेको मान्छेपनि कालान्तरमा सानोठूलो प्रतिगामी भैदिन्छ । कविवर घिमिरेको कवितालाई सम्झँदै गर्दा नेपालीले ‘लगाई तह कहिल्यै नसकिने प्रतिगमन नौलाख मेरा’ भन्नुपर्ने अवस्था फेरि आएको छ । सर्वोच्चको फैसलाले प्रतिगमनलाई तह लगाएको आम नागरिकले महसुस गरेपनि प्रतिगमनले त्यसो महसुस गर्ने छैन । नेपालमा प्रतिगमनको जरा निकै बलियो छ । निकै गहिरोसंग गाडिएको छ प्रतिगमनको जरा । भुइँ अलिकति खोस्रदा जरा नदेखिएपछि ‘ए तह लागेछ लौ’ भन्ने भ्रम पर्छ । प्रतिगमनको उर्वर यो भुइँमा हराएको जरा खोज्दाखोज्दै हलक्क बढेको बुटो भेटिनेछ ।


अब सर्वोच्च अदालतको फैसलाबारे चर्चा गरौं । सर्वोच्च अदालतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुका साथै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री पदको सपथ गराउन राष्ट्रपतिका नाममा परमादेश समेत जारी गरेको छ । संसद विघटनको निर्णयलाई असंबैधानिक भन्दै सात दिनभित्र संसदको बैठक बोलाउन पनि आदेश दिएको छ । यो विचमा राष्ट्रपतिको असंवैधानिक कदमको आँडमा प्रधानमन्त्री ओलीले गरेका ‘काम’ हरु बिर्सनलायक छन् । २०७७ साल बैशाख ११ गते अर्थात लोकतन्त्र दिवसको दिनमा प्रधानमन्त्रीका विश्वासपात्रहरुले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ‘उठाएर’ ल्याएसंगै र दल फोर्न सहज हुने अध्यादेश जारी गरेसंगै ओलीको राजनीतिक यात्रा ओरालो लाग्न थालेको थियो । यो ओरालो यात्रामा बेलाबेलामा उनी निरीह देखिए भने कतिपय समयमा निकै बलियाजस्ता पनि देखिए । अनेक असंवैधानिक कदमको आड्मा स्थायी प्रधानमन्त्री नै बन्न् हुन् कि जस्तोपनि देखियो । अबचाहि उनको कुशासनको मार झेल्ने दिन सकिएको महसुस भएको छ ।


२०७७ साल बैशाख ११ देखि २०७८ साल असार २८ गतेसम्मको असंबैधानिक र निरंकुश यात्रा अरुले सम्झाउनु भन्दापनि उनले नै फुर्सदमा सम्झेलान् । प्रतिगमनको यो लामो यात्रा लोकतन्त्रका लागि निकै महंगो सावित भयो । सपथग्रहण समारोहमै सत्य निष्ठामा ग्रहण लाग्यो । संविधानको धारा उल्लेख नगरी राष्ट्रपति कार्यालयले होलसेलमै मन्त्री पदको सपथ खुवाउन थाल्यो । मन्त्री त कति फेरिए कति । सधैं सपथग्रहण । मन्त्रीमण्डल पुर्नगठन यो सरकारको नियमित कार्यशैली बन्यो । प्रधानमन्त्रीका अहंकारजन्य ब्यक्तिगत बाधा अड्काउ फुकाउन संसद थुन्दै र छल्दै अध्यादेशहरु रकेटको गतिमा पास हुन थाले । पदबाट कहिल्यै ओर्लन पर्दैन, समाजसंग आँखा जुधाएर कहिल्यै हेर्नु पर्दैन र इतिहासका पाना कहिल्यै पढ्नु पर्दैन भनेजसरी राष्ट्रपतिबाट अनेक असंवैधानिक कामहरु भए । ओलीको शासनकालमा शीतलनिवासको ईज्जतमा ग्रहण लागेको छ । शीतलनिवासलाई नागरिकले लामै समय शंकाको दृष्टिले हेर्नेछन् । संविधान च्यात्ने थलोको रुपमा असाध्यै नमिठोसंग सम्झनेछन् ।


सर्वोच्च अदालतले एउटा प्रतिगमनलाई तह लगाएको खुशीसंगै भावी प्रतिगमनको नमिठो भयपनि संगसंगै जोडिएको छ । शेरबहादुर देउवाजीको विगत धेरै कोट्याइरहनु जरुरी छैन । उनी निकै अनुभवी प्रतिगामी हुन् भनेर कसैले भन्यो भने उनले पनि सायद चित्त दुखाउँदैनन् होला । आफ्नो छताछुल्ल विगत छ नै त्यस्तै, कता चित्त दुखाएर बसिराख्नु ? भन्ने लाग्दो होला । उनको सार्वजनिक जीवनको खाता एकपछि अर्को नराम्रो कामको भारीले भरिएको छ । नराम्रो कामको कोटा सबै सकिएकोले अब राम्रो कामतिर पनि हात हाल्नुपर्ला भनेर उनले सोच्लान् र ? ओलीले गरेका बिर्सनलायक कामबाट उनले पाठ सिक्लान् ? जम्बो र भ्रष्ट मन्त्रीमण्डल, संसद विघटन, प्रतिगमनको प्रधानमन्त्रीदेखि निर्भिक प्रधानन्यायधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रयाससम्मको यात्रा सम्झँदा देशमा प्रतिगमनको नयाँ भेरियन्ट उत्पन्न हुन लागेको महसुस हुन्छ । आफ्नो विगत आफैले उल्टाउनुपर्ने जिम्मेवारीको गरुंगो भारी उनमाथी छ तर त्यसो हुने लक्षण देखिंदैन । उनको नयाँ प्रतिगामी यात्रा ईंटाभट्टामा मान्छे जलाउने घटनाका प्रमुख पात्रको उन्मुक्तिबाट शुरु हुनसक्छ । ईंटाभट्टामा मान्छे जलाउने ब्यक्तिलाई अन्यायमा पारिएको र उनलाई न्याय दिलाउन पहल गरिने अभिब्यक्ति देउबाले उहिल्यै दिइसकेका छन् ।


केपी ओलीको अन्तहीन अराजकताको एउटा प्रमुख कारण अत्यन्त कमजोर प्रतिपक्ष पनि हो । नेपाली कांग्रेसको नेतृत्वले राजनीतिक नियुक्तीमा लुकेर भाग थापेको रहस्य कसैबाट छिपेको छैन । भागबण्डामा हात थापेर कांग्रेसले ओलीको प्रतिगामी कदमलाई मौन समर्थन दिईरह्यो । रचनात्मक प्रतिपक्षको महसुस नै गराएन । पार्टीको सभापति बालुवाटार पसेर आफ्नो भाग थाप्ने र युवा सांसदले संसदमा सरकारविरुद्ध औला ठड्याईरहने । कस्तो ठिटलाग्दो र कलाविहिन चक्र ।


प्रतिपक्षमा बस्दा नै प्रतिगमनलाई मलजल गरेको पार्टीले सरकारमा बस्दा लोकतन्त्र र विधिको शासनलाई मलजल गर्न सक्ला ? देउवालाई साथ दिने पुष्पकमल दहालको लोकतन्त्र र विधिको शासनप्रतिको निष्ठा निकै कमजोर छ । अवसरवाद र अस्थिरताबाद नै उनको राजनीतिक जीवनको स्थायी चरित्र हो । दहाल र देउवाको कार्यगत शैलीमा खासै अन्तरपनि छैन । दुबै दुस्साहसी, निरंकुश, ब्यक्तिवादी र अपारदर्शी छन् । दुईजना मिलेर दुईवटा ओली बराबरको प्रतिगमन गर्न सक्छन् । उनीहरुलाई पार्टीले लगाम लगाउनपनि सक्दैन । ओलीलाई लगाम लगाउने माधव नेपाल थिए तर देउवालाई लगाम लगाउने बलियो प्रतिपक्ष उनको पार्टीभित्र पनि छैन । दहालको पार्टी त निजी कम्पनीजस्तै छ ।


राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको आवरणमा विभिन्न शैली र समयमा विभिन्न पात्रले प्रतिगमनको रहर गर्न छोडेका छ्रैनन् । छोड्ने पनि छैनन् । सबैजना आ—आफ्नो प्रतिगामी जगप्रति ईमानदार नै छन् । यसो भएतापनि नेपालमा प्रतिगमन विरोधी आवाज निकै बलियो छ । नागरिक आवाज त बलियो छ नै, न्यायको ढोकाभित्र प्रतिगमनलाई प्रवेश निषेध छ । सर्वोच्च अदालतले यसलाई बारम्बार पुष्टिपनि गरेको छ । प्रतिगमनको लामो, पिरो र पिराहा यात्रा सम्झेर देउवाले विगतको गल्ती नदोहो¥याउन् । किन पुराना गल्ती दोहो¥याउनु भन्दै दहालसंग मिलेर नयाँ नयाँ डिजाइनका प्रतिगमन रचना गर्नतिर पनि नलागून । प्रतिगमनलाई स्पेस छैन । प्रतिगमनको स्कोप छैन ।


(२०७८ साल असार २९ गते नेपाललाइभ डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: