प्रम देउवालाई चिठी— घरै बसेर देश चलाउनुहुन्छ कि दिनदिनै अफिस जानुहुन्छ ?

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,
नमस्कार । तपाईं पाँचौँपटक प्रधानमन्त्री हुनुभो । बधाइ भनिहाल्न खासै जाँगर चलेको छैन । अहिलेलाई ‘ल ठीक छ’ मात्र भन्छु । बधाइ भन्न लायक काम गर्नुभएछ भने चाहिँ तपाईंको पदावधि सकिएपछि बधाइ भनौँला । अहिलेलाई विनाबधाइ र विनाशुभकामना नै काम थाल्नुहोस् है । 

तपाईं सत्ताको माहिर खेलाडी । यसपालि धेरै जाँगर नै नचलाई प्रधानमन्त्री बन्नुभो । रहर, परिबन्द वा ‘भाग्य’ केका प्रतापले प्रधानमन्त्री हुनुभो कुन्नि, शपथ लिँदा उत्साह र ऊर्जा चाहिँ पटक्कै देखिएन । ३० दिनपछि विश्वासको मत नपाउने भयले हो कि ? अथवा राष्ट्रपतिले दिनुभएको प्रतिशोधपूर्ण नियुक्तिपत्र र त्यसपछिको गलफत्तीले हो कि ? जे होस् राम्रो गर्नुभो । त्यो पर्दैन भन्नुभएन । कस्सिएर ‘त्यो पर्छ’ भन्नुभो । यसै गर्दै जानुभो भने चाहिँ तपाईंको कार्यकाल राम्रै हुन्छ । शपथ लिने शैली उत्साहप्रद भए पनि मन्त्री छान्ने शैलीमा चाहिँ तपाईंको ढंग पुगेन हेर्नुस् । एक सेकेन्ड नसोची राम्रो स्वास्थ्य मन्त्री छानेर शपथ गराउनु पर्दथ्यो । मन्त्री छान्दा समावेशी लोकतन्त्रको झल्को दिलाउनु पथ्र्यो । ‘कदमजम’को प्रणेता मै हुँ भन्नुहुन्थ्यो । खै कता गयो ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) कहानी ? यस्तो भूल शूल बन्नेछ । त्यसो नगर्नुहोला । 

डायरीको पानाबाट

तपाईंले साँझ शपथ लिनुभो । ५ बजेपछि अफिस बन्द हुन्छ । अरु कर्मचारीले भन्दा २-४ घण्टा बढी खट्नु त ठीकै हो तर ९-१० बजेतिर हाजिर हुनु त जरुरी थिएन । सचिवले हाजिरीमा रातो लगाइदिन्छन् भन्ने डर लागेर हो कि ? भोलिपल्ट राम्रो साइत थिएन कि ? शपथ खाएपछि त्यो दिनको हाजिर त्यही थियो तैपनि पदबहाली गर्न राति नै सिंहदरबार जानुभो । भिडभाड र हल्लाखल्लामाझ पदबहाली गर्नुभो । सिंहदरबारको अफिस फेरिएछ कि उस्तै लाग्यो ? अनि दिनदिनै अफिस जाने विचार गर्नुभयो कि पूर्वप्रमझैँ घरै बसेर देश चलाउने विचार गर्नुभयो ? कोरोना कहरको कष्टकर समयमा धेरैले घरै बसेर काम गरे । त्यसलाई अंग्रेजीमा ‘वर्क फ्रम होम’ पनि भनियो । सभा, सम्मेलन, गोष्ठी, भेला सबै थोकमा जाने तर अफिस नजाने अनि ‘वर्क फ्रम होम’ भन्न चाहिँ पाइन्न । त्यो पटक्कै सुहाउन्न । अफिस कोठाको रङ मन परेन, फर्निचर मन परेन, बगैंचा मन परेन भने सचिवलाई भन्नुहोला तर अफिस मन परेन भन्दै मन मारेर बालुवाटारमै बस्ने गल्ती पटक्कै नगर्नुहोला । जागिर खाने, अफिस नजाने गर्न त कहाँ पाइन्छ ? धेरै काम गर्न मन लागे बिहान ८ बजे नै जानुहोला, साँझ ६ बजेसम्मै बस्नुहोला । 

बालुवाटार निवासलाई सरकारको अफिस, पार्टीको अफिस, गठबन्धनको अफिस, गुटको अफिस, कुलको अफिस बनाउने गल्ती पटक्कै नगर्नुहोला । बालुवाटारमा त खास कसैलाई नभेटे पनि हुन्छ । पार्टीको काम परे पार्टीकै अफिस गए हुन्छ । पार्टीको अफिस टाढा छ भने तपाईंको घर बालुवाटारबाट धेरै टाढा छैन । आफ्नै घरमा भेटे हुन्छ । आगन्तुकलाई आफ्नै निजी पैसाले चिया, चना, दुनोट, बिस्कुट, पाउरोटी या अरु अनेक थोक खुवाए हुन्छ । सरकारी कामसँग सरोकारै नभएका मान्छेलाई किन सरकारी पैसाले चिया, चना, बिस्कुट, पाउरोटी खुवाउने ? भेटघाटको मेसोले बेलाबेलामा आफ्नो घर गए घर पनि तरोताजा र सफा भइरहन्छ । पार्टी कार्यालयतिर पनि बेलाबेलामा गएर बैठक बसे पार्टी कार्यालयका कर्मचारी पनि खुसी हुन्छन् । बालुवाटारमा कसैलाई भेट्नुको कुनै औचित्य छैन । तर अर्जेन्ट परेर कुनै फाइलमा हस्ताक्षर गर्न परे कर्मचारीलाई चाहिँ आउन दिए हुन्छ । सुरक्षासँग सम्बन्धित कुनै जरुरी काम परे आउन दिनै पर्छ । विज्ञहरूसँग सल्लाह सुझाव लिन मन लागे, ज्ञानगुनका कुरा सुन्न मन लागे, तनाव व्यवस्थापन र मानसिक शान्ति चाहिए सरसल्लाह दिने विशेषज्ञलाई घरमा भेटे हुन्छ । त्यसबाहेक रातदिन चाटुकार लर्कन भेटेर के पाइन्छ ? 

दिनभर मन लगाएर डिउटी गर्ने, बिहान–साँझ परिवारसँग रमाउने, टिभी हेर्ने, किताब–पत्रिका पढ्ने, यसो फेसबुक र ट्वीटरतिर रमाउने, बगैंचातिर फूल गोड्ने, योग गर्ने, पूजापाठ र ध्यान गर्ने, हलुका व्यायाम गर्ने, खान मन लागेको कुरो आफैँ पकाउने, थोरै समय मन पर्ने खेल खेल्ने पो हो त । विनाअर्थका बाह्रथरी मिटिङमा व्यस्त भएर रचनात्मक बनाउन मिल्ने समय किन खेर फाल्ने ? विदेशी राजदूतहरूलाई क्वार्टरमा किन भेट्ने ? कार्यालय समयमा कार्यालयमै भेट्ने । दोभाषे राखेर नेपाली भाषामा बोल्ने । बातचितका कुराको लिखित रेकर्ड राख्ने । खास गर्नुपर्ने यस्तो हो भनेर तपाईंले नबुझ्नुभएको कहाँ हो र ? अरुहरूले पनि नबुझेका कहाँ हुन् र ? सबका सब अटेरी भएका । लापरवाहीको हद नाघ्ने कामलाई अलिकति भए पनि सच्याउने कि ? प्रधानमन्त्री पदको गरिमा र मर्यादा धूलीसात् भएको बेला हो, यो । सानोतिनो राम्रो काम गरिदिएर जनताबाट सम्मान पाउने मौका हो यो । मौकामा किन चुक्ने ? सधैँ कति चुक्ने ? मिल्छ भने यसपालि नचुक्नुहोला । तपाईं चुक्नुहुन्छ भन्ने नै लाग्छ तैपनि सुझाव दिन चाहिँ मन लाग्यो । 

बालुवाटारमा चाटुकार र आसेपासे भेला पारेर ‘किचेन क्याबिनेट’ बनाउने चलन छ । विगतमा तपाईंले पनि त्यस्ता किचेन क्याबिनेट धेरै बनाउनुभो । छुद्र र चाटुकारको त्यो भेलालाई ‘सल्लाहकार समूह’ भन्ने चलन छ । ओलीको कार्यकालमा चाटुकार मण्डली असाध्यै बदनाम भयो । प्रधानमन्त्रीको सोच, शैली र क्षमताको प्रतिविम्ब सल्लाहकार समूहको छनौटमा देखिन्छ । आफ्नो चाकरी गर्ने र हरेक गलत कदमको प्रतिरक्षा गर्ने हैन, आफूलाई राम्रो काम गर्ने ढंग सिकाउने, आफू बहकिन खोज्दा आफूलाई गाली गर्ने हैसियत राख्ने व्यक्ति पो सल्लाहकार । चाटुकार व्यवस्थापनको थलो बालुवाटारलाई नबनाउनुहोला । सल्लाहकार समूहलाई बालुवाटारमा हैन, सिंहदरबारमा एकाध कोठा दिनुहोला । खान, बस्न, दैनिक जीवनयापन चलाउन सल्लाह दिने हुन् र क्वार्टरमा सल्लाहकार राख्नलाई ? क्वार्टरमा सल्लाहकार राख्ने हो भने त बगैंचा व्यवस्थापन, योग, थेरापी, सञ्चोबिसञ्चो, पोसाक, खानपिन, क्वार्टरको मर्मत–सम्भार, धारा, पानीको व्यवस्थापन हेर्ने व्यक्तिहरू पो राख्नुपर्छ । उहाँहरू नै हो क्वार्टरको सल्लाहकार । अफिसको सल्लाहकारलाई अफिसमै राख्नुहोला । क्वार्टरमा ढिम्किन नदिनुहोला ।

प्रधानमन्त्रीज्यू, कांग्रेसमा युवा नेता भनिने तपाईं हेर्दाहेर्दै वृद्ध पो हुनुभएछ । एकबारको जिन्दगीलाई एकपटक फर्केर हेर्नुस् त । पञ्चायतकालतिर नचिहाउनुस् । २०४८ सालपछिको तीस वर्षे सत्ता जिन्दगीलाई चियाउनुस् त । रमाइलो मान्नुभो कि झर्को मान्नुभो ? एकपटक गृहमन्त्री र चारपटक प्रधानमन्त्री हुँदा तपाईंले के–के गर्नुभो के–के ! सत्ता टिकाउन र सत्तामा जान जे पनि गर्नुभो । यो कुरो स्वीकार्नुहुन्छ कि नाइँ ? स्वीकार्नुस् । सबैले देखेजानेकै कुरो हो । ‘गोलीका आँखा हुँदैनन्’देखि म ‘जम्बोजेट उडाउँछु, ट्वीनअटर चलाउन जानेको छैन’सम्म सम्झिएँ मैले त । दरबारमा प्रजातन्त्र बुझाउनुभएको पनि सम्झिएँ । संसद् विघटन गर्नुभएको पनि सम्झिएँ । पजेरो पनि सम्झिएँ । कलश कांग्रेस पनि सम्झिएँ । निर्भीक प्रधानन्यायधीश सुशीला कार्कीलाई लगाउन खोजिएको महाअभियोग प्रयास पनि सम्झिएँ । सम्झन त शाही आयोगले थुनेको पनि सम्झिएँ । वृद्ध प्रधानमन्त्रीलाई धेरै कुरो सम्झाएर थप दिक्क बनाउन मन लागेन ।

प्रधानमन्त्री पदको शपथ लिँदा तपाईंमा उत्साह नभएजस्तै आम नागरिकलाई पनि तपाईं प्रधानमन्त्री हुँदा खासै उत्साह पलाएन । राष्ट्रपतिको असंवैधानिक कदमको आडमा पूर्वप्रम ओलीले गरेका एकपछि अर्को ज्यादतीको लस्करलाई सम्झँदा चाहिँ तपाईं त्यो हदमा ओर्लनुहुन्न कि भन्ने लाग्छ । तपाईंलाईं साथ दिने पुष्पकमल दाहालजीको लोकतन्त्रप्रतिको निष्ठा असाध्यै कमजोर छ । गठबन्धन धर्म निर्वाहमा पनि असाध्यै कमजोर हुनुहुन्छ । उहाँ असाध्यै छटपटे हुनुहुन्छ । ३–४ महिना त चुप लाग्नुहुन्छ । त्यसपछि छटपट छटपट छटपट…गर्नुहुन्छ । दाहालको गठबन्धन र सहकार्य कसैसँग जमेको छैन । गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, झलनाथ खनाल, तपाईंको अघिल्लो कार्यकाल र केपी ओलीसँगको सहकार्य सम्झौँ त, उहाँको गठबन्धन यात्रा गड्याङगुडुङ र भड्याङभुडुङले भरिएको छ । हेर्दाहेर्दै तपाईंलाई पनि हुत्त फालिदिन बेर छैन । उस्तै परे ओलीसँग पार्टी एक गरेर ‘हामी त फेरि एक अर्कामा विलीन पो भयौँ देउवाजी’ भनिदिन पनि बेर छैन । तपाईंको गठबन्धनको जग पटक्कै बलियो छैन । प्रधानमन्त्री त माधवजीले बनाउनुभयो तर उहाँको खुट्टा पनि पटक्कै बलियो छैन । उहाँ परालको खुट्टा टेकेर उभिनुभएको छ । उहाँले आधा काम मात्र गर्नुहुन्छ । प्रतिगमन आधा सच्याएजस्तै यो सहकार्यलाई पनि अधकल्चो पारेर हिँड्न बेर छैन । यी सबैथोक सम्झेर भलादमी र ज्ञानी भएर अड्कलेर काम गर्नुस् न है ।

लगातार प्रधानमन्त्री बनेको बन्यै गर्नु सफलताको सूचक हैन । नेतृत्वलाई सच्चिन रचनात्मक तरिकाले खबरदारी गर्ने सच्चा कार्यकर्ता असाध्यै कम छन् । एकोहोरो भक्ति गाउँदै हिँड्ने कच्चा कार्यकर्ताले त देशै बेचिदिए पनि जयजयकार गरिहाल्छन् । राम्रो मूल्यमा बेच्न सफल हाम्रो महान् नेता भन्दै चाकरी गर्न थाल्दछन् । त्यस्ता कच्चा कार्यकर्ताको जयजयकारको कुनै अर्थ र औचित्य छैन । सत्तासँग कुनै स्वार्थ नभएका आम सर्वसाधारणले ‘गतिलो प्रधानमन्त्री’ भनिदिए पो प्रधानमन्त्री बन्नुको अर्थ रहन्छ । यसपालि यतातिर पनि सोच्नुहुन्छ कि ? तपाईं वृद्ध भइसक्नु भएकाले पहिलाजस्तो भाउँतोभाउँतो गर्नुहुन्न कि भन्ने असाध्यै झिनो आशा छ । केपीको चमकदमक, अहंकार र राजनीतिक अधोगति देख्नु भएकाले पनि धेरथोर सुध्रिनुहुन्छ कि ? 

ओली प्रधानमन्त्री छँदा तपाईं गतिलो प्रतिपक्ष पटक्कै बन्नुभएन । सत्ताकै लाचार छायाँजस्तो बन्नुभो । भागबण्डामा चाहिँ तपाईं सत्ताकै सहयात्री पनि बन्नुभो । ओली चाहिँ तपाईंका लागि भारी बन्नेछन् । तपाईं ख्यालख्यालको प्रतिपक्ष बन्नु भएकाले नै उनी त्यो हदको निरंकुश र स्वेच्छाचारी बन्न पाए । ओली साँच्चैको प्रतिपक्ष बन्नेछन् । सडक, सदन सबैतिर हायलकायल पार्नेछन् । राष्ट्रपति कार्यालयले पनि हायलकायल पार्नेछ । त्यसो हुँदा तपाईंले चाहेर पनि स्वेच्छाचारी बन्न पाउनुहुने छैन । बलियो प्रतिपक्ष कस्तो हुन्छ भन्ने पाठ ओलीले तपाईंलाई मज्जाले पढाउनेछन् । त्यो चाहिँ ठीक छ । प्रतिपक्ष तपाईंजस्तो कमजोर हैन, ओली जस्तै बलियो चाहिन्छ । 

प्रतिपक्षतिर आम सञ्चार माध्यम र आम नागरिकको ध्यान खासै जाँदैन । जसरी तपाईं प्रतिपक्षमा हुँदा तपाईंको विगतको ज्यादतीलाईं आम नागरिकले बिर्संदै बिर्संदै गए, ओलीलाई पनि अब बिर्संदै बिर्संदै जानेछन् । सबैको ध्यान तपाईंतिरै तानिनेछ । हरेक कामलाई विगतसँग जोडेर हेरिनेछ । हरेक बोली, हरेक निर्णय, हरेक नियुक्ति हरेक पाइलोमा सबैको ध्यान तानिनेछ । 

— अफिस जानुहुन्छ कि जानुहुन्न ? 
— बालुवाटारमा भोजभतेर गर्नुहुन्छ कि हुन्न ? 
— कस्ता मान्छे मन्त्री बनाउनुहुन्छ ? 
— उद्घाटन र शिलान्यास मोह कत्तिको राख्नुहुन्छ ? 
— संसद्को बैठकमा कत्तिको जानुहुन्छ ? 
— पार्टीको महाधिवेशनमा सत्ताको दुरुपयोग गर्नुहुन्छ कि हुन्न ? 
— जघन्य अपराध गरेर जेल परेका आफ्ना मान्छेबारे केकस्तो चासो राख्नुहुन्छ ? 

सबैकुरो आम नागरिकले मसिनोसँग नियाल्नेछन् । विधि र थिति मिच्ने रहर ओलीले धेरै गरे । तपाईं पनि त्यही बाटोमा हिँड्नुहुन्छ कि सुध्रिनुहुन्छ, त्यो पनि नागरिकको चासोको विषय बन्नेछ ।

तपाईं निकै व्यस्त हुनुहुन्छ होला । मन्त्री छान्नु छ । पार्टीका ठूल्ठूला नेता जति जम्मै सभापति बन्छु भन्छन् । मन्त्री बनाउँदै तिनलाई तह लाउनु छ । माधवजीलाई फकाएर २३ भोट आफ्नो बनाउनु छ । दाहालजीलाई गतिला मन्त्रालय र सकेको मानमतिनो दिएर ठाउँमा राख्नु छ । राष्ट्रपतिसँग भिड्नु छ । कार्यकर्ताको फोन उठाउनु छ । ठेकेदार र व्यापारीले घेरा हालिसके होलान् । तिनलाई पनि समय दिनुछ । तपाईंलाई हैरान छ ।जति हैरान भए पनि अफिस जान चाहिँ नछोड्नुहोला । अफिसमै समय मिलाएर यसो १-२ घण्टा भेट्न पर्नेलाई भेट्नुहोला । सिंहदरबारको क्यान्टिन गजबको छ । मीठो खाजा खान पाइन्छ । यस्सो दिउँसो समय मिलाएर हिँड्दै हिँड्दै क्यान्टिन पसेर कर्मचारी र काम विशेषले सिंहदरबार पसेका सर्वसाधारणसँग गफिन नबिर्सिनुहोला । यो मेरो कल्पना मात्र हो । तपाईं त्यस्तो गर्नुहुन्न । फरासिलो हुनुहुन्न । मान्छे रसिलो हैन, टसिलो हुनुहुन्छ । 

जे जसो भए पनि ओली बन्ने रहर नगर्नुहोला । विगतका प्रतिगमन नदोहोर्‍याउनु होला । दाहालसँग मिलेर नयाँ नयाँ डिजाइनका प्रतिगमन रचना पनि नगर्नुहोला । तपाईंको विगत लोभलाग्दो छैन । त्यो कुरो कहिल्यै नभुल्नुहोला । ७५ वर्षको उमेरमा आफैँलाई सच्याउने मौका आएको छ । सच्याउनुहोला । देशले धेरै दुःख पायो । थप दुःख नदिनुहोला । बालुवाटारलाई पार्टी प्यालेस पटक्कै नबनाउनुहोला । देश गरिब छ । प्रधानमन्त्री पद देशको धन उडाउने पद होइन । 

विगतमा हद भयो । यसपालि हद नगर्नुहोला । हुन्छ ? त्यसो गरे तपाईंको जय होस् । 

(२०७८ साल असार ३१ गते इकागज डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: