गणेशमानका केपी, महन्थका केपी र अनुत्तरित प्रश्न

आदरणीय महन्थ ठाकुरजी,
नमस्कार ! पक्कै आरामै हुनुहोला। तर, तपाईंको पार्टीलाई आराम छैन। पार्टी विभाजन गरिदिन दुवै समूह (तपाईं र उपेन्द्र यादव समूह) ले निर्वाचन आयोगलाई अनुरोध गरिसकेको छ। तपाईंहरुको माग बमोजिम गरिदिन निर्वाचन आयोग तारतम्य मिलाउँदैछ। तपाईंहरु पार्टी मिलाउने मामिलामा परिपक्व नदेखिए पनि विभाजन गर्ने मामिलामा परिपक्व देखिनुभयो। खोसाखोस गर्नुभएन। एक अर्कालाई धेरै गालीगलौज पनि गर्नुभएन। दुवै पक्षले अलिअलि स्पष्टीकरण र कारबाही गरेजस्तो गर्नुभयो। बेलैमा थाक्नुभयो। ‘संगै बस्न सकिएन, कागज हेरेर मिलाएर छुट्याइदिनू’ भन्नुभयो। ठीक गर्नुभयो। तर, यस्तो अवस्था कसले र किन ल्यायो, त्योचाहिँ पक्कै मनमनै समीक्षा गर्नुभएकै होला।

तत्कालीन प्रधानमन्त्री केपी ओलीका खास मान्छेहरुले ११ वैशाख २०७७ मा संघीय समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई रातारात ‘उठाएर’ जनकपुरबाट काठमाडौं ल्याए भनेर सबैतिर हल्लाखल्ला भयो। उजुरीको प्रयास पनि भयो। ओलीले ‘पार्टी विभाजन गर्ने विधेयक’को तारतम्य समेत मिलाइदिए। तर, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीलाई रातारात एक गराएर गजबको ‘सरप्राइज’ दिनुभयो।

ओलीलाई सदाबहार मधेश विरोधी मान्नुभयो। संसद विघटनपछि प्रतिगामी पनि मान्नुभयो। विरोधमै उत्रिनुभयो। पछि के जादूका प्रतापले हो, उहाँलाई सहयोग गर्नका आफ्नो राजनीतिक निष्ठा र पार्टी दुवै विर्सजन गर्न तयार हुनुभयो? आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा थुन्दा तपाईंले आफ्नो लोकतन्त्रप्रतिको सदाबहार निष्ठालाई पनि थुन्नुभयो। आफैँ प्रतिगमन भन्ने, आफैँ त्यही सरकारलाई सघाउन जाने। एकबारको जिन्दगीमा राजनीतिक निष्ठा र तपाईंको कदमको तारतम्य मिलेकै हो र महन्थजी? आत्मसमीक्षा गर्नुभएकै होला। नगर्नुभएको भए गर्नुहोला।

जस्तो नाम उस्तै व्यक्तित्व। तपाईं शालीन र शिष्ट सुनिनुहुन्छ। मसिनो स्वरले थोरै बोल्नुहुन्छ। गाली गर्दा पनि गाली खाएको महसुस नहुने गरि बोल्नुहुन्छ। सुविधाभोगी भएको, आर्थिक घोटाला गरेको, पदको दुरुप्रयोग गरेको, दादागिरी गरेको, धाकधम्की देखाएको खबर कहिल्यै कतै आएन। २०४८ सालदेखि लामो समय सत्ताको नजिक रहनुभयो। सत्तामा रहँदा होस् या बाहिर, तपाईंको शालीन छवि सधैं कायम छ। तर। त्यो शालीनताभित्र केही रहस्य लुकेका छन्। तपाईंलाई पढ्नै गाह्रो छ। पत्याउनै गाह्रो छ।

विद्रोहीसँग वार्ता गर्न सरकारले मन्त्रीको हैसियतमा वार्ता समितिको संयोजक बनाउँछ। उही संयोजक विद्रोहीसँग मिसिन जान्छ र उतैको संयोजक हुन्छ। जसलाई प्रतिगमन भन्नुहुन्छ, उसैको हिस्सा बन्न राजीखुशी तयार हुनुहुन्छ। संसदबाट विधेयक पास गरेर अधिकार लिने बाटो बन्द गरेर अध्यादेशको चमत्कारमा रमाउनुहुन्छ। लौ न त आफै प्रधानमन्त्री बन्नुस् भन्दा आफैंले प्रतिगामी भनेको मान्छेलाई अघि सारेर दिलोज्यानले सघाउनुहुन्छ। राति १२ बजे राष्ट्रपति कार्यालयमा प्रतिगमनलाई सघाउने मिटिङमा छलफल गर्न जानुहुन्छ, अनि चिया खान मात्र गएको हो भन्नुहुन्छ। यस्तो छलछाम किन गर्नुहुन्छ महन्थजी?

अचेल धेरै नेता सामाजिक सञ्जालमा सक्रिय देखिनुहुन्छ। कति जना आफ्नै बलबुताले सक्रिय हुनुहुन्छ भने, कतिपय परिवारका सदस्य वा निजी सचिवको सहयोगमा। उहाँहरु हरेक भेटघाट र गतिविधिलाई छिनछिनै पोष्ट गर्नुहुन्छ। समसामयिक राजनीतिबारे आफ्ना विचार राख्नुहुन्छ। पार्टीको माइन्यूटदेखि अरु जानकारी तात्तातै दिनुहुन्छ। केही नेता त सामाजिक सञ्जालमा निकै चर्को देखिनुहुन्छ। लड्ने, भिड्ने, मन नपर्नेलाई ब्लक गर्ने गर्नुहुन्छ। फेसबुकमा तपाईंको नामको एउटा खाता खुलेको रहेछ, जसमा ६००० जनाले लाइक गरेका रहेछन्। फेसबुक खाता पनि तपाईंजस्तै शान्त र लगभग निस्क्रिय देखियो। राजनीतिक भेटघाटका, तर विना क्याप्सनका तस्वीर छन्। पार्टीका निर्णयहरु स्क्यान गरेर राखिएको छ, तीनमा पनि क्याप्सन छैन। करिब दुई महिना (मे, २०, २०२१) पुरानो एउटा पोष्टमा लेखिएको छ, ‘जसपा नेपालको माग बमोजिम आज बसेको मन्त्रीपरिषद् बैठकले जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई वंशज नागरिकता दिने निर्णय गरेको छ। नेपाल सरकारलाई धन्यवादको साथै करीब ५.५ लाख युवा अनागरिकबाट नागरिक बन्ने अवसर प्राप्त गरेकोमा हार्दिक बधाई!!’

आफ्नो मागलाई यस्तो गलत तरिकाले पूरा गर्ने रहर गरेर तपाईंले ठीक गर्नुभएन। संसदबाट विधेयक पास गराएर ‘अनागरिक बन्न विवश’ नागरिकलाई न्याय दिलाउन प्रयास पो गर्नुपथ्र्यो। ‘विगतमा धेरै प्रयास गरियो, तर उपाय नलागेर अध्यादेशको सहारा लिएको’ भन्नुहोला। ‘नागरिकता भनेको रानीको जन्मदिनको चकलेट होइन’ भन्दै तपाईंहरुतिरै फर्केर हप्कीदप्की गर्ने व्यक्तिले पास हुने अध्यादेश पेस गरेका हुन् भनेर कसरी पत्याउनुभयो खै? त्यो अध्यादेशलाई कसैले पत्याएको थिएन। पास नहुने पहिल्यै निश्चित भएपछि जे अध्यादेश बनाइदिए पनि भयो।

तपाईंको पार्टी सम्मिलित सरकारले गिटी–बालुवा बेचेर देशलाई धनी बनाउने उपाय निकाल्यो।  बजेट घोषणामा उक्त विषय सगर्व सुनायो। जे अपव्याख्या गरिए पनि त्यो योजनाभित्र चुरेलाई धूलोपिठो पारेर मधेशलाई मरुभूमि बनाउने षडयन्त्र घुलेको थियो। यस्तो गलत निर्णय गर्दा पनि तपाईं केही बोल्नुभएन। प्रधानमन्त्री ओलीले मन्त्री नै मन्त्रीको थुप्रो लगाइदिएपछि सबैथोक पुग्यो भनेझैं गर्नुभयो। एउटै जिल्लाका दुई उपप्रधानमन्त्री पाउनु ठूलो उपलब्धी कि चुरे बाँच्नु ठूलो उपलब्धी? मतदाताले यस्तो प्रश्न सोध्दा के जवाफ दिनुहुन्छ महन्थजी?

यसपालि तपाईंले प्रधानमन्त्री बन्ने मौका पाउनुभएको थियो, तर ‘खान्न’ भन्नुभयो। सवाल कृपाको थिएन, स्वतः सिद्ध अधिकार थियो। कसैले चाहेर पनि तपाईंलाई रोक्नसक्ने अवस्था थिएन। आम नागरिकको नजरमा तपाईं सर्वस्वीकार्य हुनुहुन्थ्यो। दिनभर जे बार्गेनिङ चलेपनि अन्तिम समयमा तपाईंलाई मान्न विपक्षी गठबन्धन तयार भएको समाचार सर्वत्र छाएको थियो।

तपाईं मान्दै मान्नुभएन उल्टो ओलीका लागि सांसद थुन्ने तारतम्यतिर लाग्नुभयो भन्ने समाचार आए। गणेशमानजीले त प्रधानमन्त्री पदमा इच्छा छैन भनेर कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभएको थियो। आफूले प्रधानमन्त्री पद नलिएर कृष्णप्रसादजीलाई सार्दा गणेशमानजीको व्यक्तित्व कति उचो भयो, तपाईंले जति राम्ररी कसले बुझेको होला र? तपाईंले त एकपछि अर्को असंवैधानिक र निरंकुश कदम चालिरहेका तथा आफैंले प्रतिगामी मानेका केपी ओलीलाई पो अघि सार्नुभयो। यसो गर्दा गणेशमानजीलाई झलक्क सम्झनुभएन? ओलीले पार्टी फोरिदेलान् भन्ने डरले एक भएको पार्टी पछि त उनकै रक्षाका लागि फुटको डिलमा पुग्यो। यो राम्रो भयो र महन्थजी?

संसदबाट विधेयक पास गरेर आफ्ना माग पूरा गराउनतिर हैन, अध्यादेशको चमत्कारमा विश्वास गर्नुभयो। लोकतान्त्रिक पार्टी सत्ताको झिनाझप्टीमा फुट्नु ‘लोकतन्त्रको स्वास्थ्य’का लागि हानिकारक छ। तपाईं प्रधानमन्त्री बन्नुभएको भए लोकतान्त्रिक दलहरु बलिया हुन्थे। जसपा र एमालेमा विग्रह आउने थिएन। आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, अनुपस्थित हुने, अदालतमा उजुर हाल्ने जस्ता अप्ठेरा घटना हुने थिएनन्। तपाईंले सहयोग नगरेपछि ओलीको निरंकुशतालाई तह लगाउन कोही न कोही अघि सर्नु नै थियो, माधवजीहरु सर्नुभो। राम्रो भयो। तपाईंले स्वभाविक बाटो हिड्ने रहर गर्नुभएको भए तपाईंका माग संसदमार्फत नै पूरा हुन्थे। प्रधानमन्त्री पदमा पहिलोपटक मधेशबाट प्रतिनिधित्व भएको इतिहास लेखिन्थ्यो। नयाँ प्रधानमन्त्रीसंग केही नयाँ आश गर्न पाईन्थ्यो। धारा ७६(५) को ‘ब्रम्हास्त्र’ पनि प्रयोग गर्नुपर्ने थिएन।

जिम्मेवार मान्छे अप्ठेरो समयमा जिम्मेवारीबाट भाग्नु गलत हो। त्यसलाई त्याग भनिदैन। जसलाई मधेशविरोधीको ट्याग भिराउनुभयो, उसैलाई प्रधानमन्त्रीमा टिकाउन मरिहत्ते गर्नुभयो। टिकाउन पनि सक्नुभएन। तपाईंले यसो किन गर्नुभयो? यो प्रश्न तपाईंलाई धेरैले सोधिसके होलान्।

तपाईंको लोकतन्त्रप्रतिको निष्ठा किन यसरी कमजोर भयो? नागरिकताको विषय सल्टाउनका लागि पास नहुने सुनिश्चितता भएको अध्यादेशको सहारा किन लिनुभो? प्रधानमन्त्री पदमा मधेशबाट प्रतिनिधित्व गर्ने मौका किन फालिदिनुभयो? यो प्रश्नको चित्तबुझ्दो जवाफको प्रतिक्षा छ। मेसो मिलेमा कोही पत्रकारले अन्तरवार्ताका क्रममा तपाईंलाई यी प्रश्न सोधिदिए हुन्थ्यो ।

(२०७८ साल साउन ३ गते नेपाल लाइभ डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: