उपचार खर्च लिन्न भन्नुस् न झलनाथजी !

पूर्व प्रधानमन्त्री झलनाथ खनाल केही बर्ष यतादेखि विरामी हुनुहुन्छ । स्वदेश र विदेशका अस्पतालमा पटकपटक उपचार गराईरहनु भएको छ । हाल उपचारका क्रममा भारतमा हुनुहुन्छ । उपचार खर्च कहिले पार्टीले कहिले सरकारले बेहोरिदिने चर्चा चलिरहँदा विरामी नेता विवादको केन्द्रमा पर्नुभएको छ । सरकार फेरिएपनि निर्णय फेरिएको छैन । सबै सरकारबाट माया पाईरहनु भएकै छ ।

अघिल्लो सरकारको उहाँ विपक्षमा हुनुहुन्थ्यो । विरामी मान्छेलाई ओलीले कारबाही गरे भनेर चित्त दुखाउँदै पनि हुनुहुन्थ्यो । पछि ओलीजीले उपचार खर्च बेहोरिदिने निर्णय गर्नुभो । पार्टीले दिने भन्ने निर्णय सरकारतिर सारेर उहाँ विदा हुनुभो । नयाँ सरकारका डिजाइनरमध्ये एक झलनाथजी स्वयम् हुनुहुन्छ । आफ्नै डिजाइनको सरकारले आफूलाई माया नगर्ने कुरै आएन । माया गर्ने नाममा नियम मिलेको छ कि छैन, त्योचाहि माया गर्ने र माया पाउने दुबैले ख्याल गर्नुपर्ने कुरा हो ।

उपचार खर्चकै कारण एक शालीन र शिष्ट राजनीतिज्ञको स्वास्थ्य अवस्था विवाद र मजाकको विषय बनेको छ । मानवीय संवेदनशीलता नै मरेजस्तो भएको छ । यो विवादलाई स्वयम् झलनाथजीले नै चिर्न जरुरी छ । उपचारका लागि पुग्दो पैसो मैसंग छ भनेर अथवा सहयोगका लागि पार्टी र आम सर्वसाधारणलाई आव्हान गरेर ।

झलनाथ खनाल विरामी भएर उपचारका लागि भारत जानुभएसंगै शुरुमा एमाले पार्टीले नै उपचार खर्च बेहोर्ने भन्यो । २०७८ साल असार १६ गते बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले सो निर्णय लियो । निर्णय लिएपनि एमालेले भित्रभित्रै चन्दा पनि उठाएन । बैंक खाता खोलेर सहयोगका लागि आव्हान गर्ने कामपनि गरेन । पार्टी कोषबाट पनि पैसा छुट्याएन । पार्टीले नै बेहोर्ने निर्णय लिएको केही दिनमै केपी ओली नेतृत्वको सरकारले खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय लियो ।

मुख्य सचिव शंकरदास बैरागीद्धारा हस्ताक्षरित निर्णय यस्तो थियो— पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने ब्यवस्था गर्ने ।’ उहाँको उपचार खर्चको जोहो गर्न नपाउँदै ओली नेतृत्वको सरकार ढल्यो । नवनियुक्त प्रम देउवाले पनि उहाँप्रति सदासयता देखाउनुभयो । साउन ५ गते दहालको दैलोबाट टेलिफोन गर्दै ‘उपचार खर्चको टेन्सन नलिनुस्, छिटो सन्चो भएर आउनुस् ’ भन्नुभएको खबर आएको छ । यो खबरको विरोध भएको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पनि बरु चन्दा उठाऔं, सरकारी पैसा दिन मिल्ने नियम छैन भन्नुभएको छ ।

पूर्व प्रम ओली र वर्तमान प्रम देउवा दुबैलाई उपचार र सहायता सम्बन्धी नियमकानूनको केही मतलव भएजस्तो बुझिदैन । ‘प्रधानमन्त्री भएपछि नियम कानून के मतलब ? देशको ढुकुटी भनेको प्रधानमन्त्रीको निजी सम्पत्ती हो, जसलाई मनलाग्छ उसलाई म जतिपनि दिन सक्छु’ भन्ने भाव दुबैको कार्यशैलीमा झल्किएको छ ।

जनस्वास्थ्य ऐन—२०७५ को तेस्रो परिच्छेदको बुँदा नम्बर ३० भन्छ— ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन ।’ अब के आधारमा उहाँको खर्च सरकारले तिर्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू ? अघिल्लो सरकारले बलमिच्याई ग¥यो भन्दैमा त्यसैको निरन्तरता दिने ? प्रम देउवाले ‘खर्चपर्च केकसो छ झलनाथजी, अप्ठेरो परे धेरथोर सरसापट चलाउँला, अझ गाह्रै परे सबै पार्टीका साथी मिलेर चन्दै उठाउला’ भन्नु पो प¥यो । ऐनले अप्ठेरो पारे संशोधन गर्नु प¥यो । आफूलाई मन लाग्यो भन्दैमा जथाभावी बाधा अड्काउ फुकाउँदै हिड्न पाईएला र ? दिनै नमिल्ने पैसा सरकारले दिन्छु भन्छ भने पूर्वप्रम झलनाथ खनालले पनि ‘कसरी मिल्छ र दिनुहुन्छ खै ?’ भन्न सक्नुप¥यो नी । भूपू प्रम भूपू प्रमजस्तै देखिनुप¥यो नी । भ्रममा रमाउनु भएन ।

जनस्वास्थ्य ऐन, २०७५

राजनीतिज्ञहरुलाई राज्यले सुविधै दिनुहुन्न भन्ने छैन । राजनीतिज्ञहरुले गतिलो काम नगर्ने, खाली कानून हातमा लिने काममात्र गर्दा उहाँहरुप्रतिको स्नेह र सम्मान कार्यकर्ता तहमा सीमित भएको छ । सम्मानपनि चाकरी गर्ने ढोका, गुट र पार्टीमा सर्दा पातलिंदो गएको छ । राणाकालमा कमाण्डिङ जर्नेलहरुको ढोकामा जम्मा भएर एउटाको चाकरी गर्ने अर्कोको, सत्तोसराप गर्ने चलनको पुनरोदय भएजस्तो देखिन्छ । राजनीतिज्ञहरुको सम्मान खस्केर चाकडी र चाप्लुसीमा रुपान्तरित भएको उहाँहरुकै कर्मले हो ।

राज्यका उच्च पदस्थ ब्यक्तिहरु (वर्तमान/भूपू) को स्वास्थ्यप्रतिको आम चासो स्वभाविक छ । सरकारले चासो राख्नु पनि स्वभाविक छ तर उहाँहरुको आर्थिक अवस्था र देशको नियमकानूनको त ख्याल गर्नुप¥यो नी । विवेकशील साझाजस्तो सानो पार्टीका नेता उज्जवल थापा विरामी पर्नुहुँदा २४ घण्टामा करिब ५० लाख रुपैंया चन्दा उठ्यो । देशविदेशबाट ठूलो माया मिल्यो । नेकपा एमालेको त ठूलो सञ्जाल छ । उहाँलाई आर्थिक अभाव परेर सहायता जुटाउन पर्यो भने केही करोड रुपैंया एकैदिनमा जुट्छ । एमालेले मात्र होइन, अरु सबै पार्टीका ब्यक्ति र आम सर्वसाधारणले पनि अप्ठेरोमा मुठ्ठी फुकाउलान्, उज्जवल थापालाई जस्तै ।

झलनाथ खनालको आर्थिक अवस्था पक्कैपनि कमजोर छैन । झलनाथ खनाल भन्नासाथ निकै सुकिलोमुकिलो ब्यक्तित्वको छाप मनमा आउँछ । मन्त्री—प्रधानमन्त्री भएपछि मात्र उहाँ सुकिलोमुकिलो हुनुभएको हैन । पहिल्यैदेखि सुकिलोमुकिलो हुनुहुन्थ्यो । नेपालमा सुकिलोमुकिलो नेताको खडेरी लागेको बेलामा पनि उहाँ सुकिलोमुकिलै हुनुहुन्थ्यो । उहाँलाई उपचार खर्चको अभाव छ भनेर कसैले पत्याउदैन । उहाँको डल्लुस्थित घरको तस्वीरले पनि सम्पन्नता बोल्छ । पारिवारिक पृष्ठभूमिदेखि छोराको ठेक्कापट्टाको खबर कसैबाट छिपेको छैन । छोराको ठेक्कापट्टा मिलाउन चीन जाँदाको मौका छोपेर नेकपाले उहाँको बरियता घटाईदिएको थियो । आफ्नो पैसा खर्च गर्नै नहुने भन्नेपनि हुन्छ र ? परिवारले हामी आफैं समर्थ छौं, अप्ठेरो परे चन्दा माग्नेछौं भन्न किन नमिल्नु ?

प्रधानमन्त्री पदमा रहँदा विवादमा नआउनुभएका खनाल विरामी पर्नुभएको वखत उपचार खर्चको तानातानले विवादमा पर्नुभएको छ । उहाँको रोग, सन्चो—विसन्चो अवस्थाभन्दा पनि पैसाकै कुरो बढी चर्चामा आएको छ । यसले उहाँलाई नै घाटा लागेको छ । २०७७ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘सर्प पालन बहुबर्षीय परियोजना’ स्वीकृत भई ७० करोड रुपैंया पाउने निश्चित भएको थियो । केही रकम प्रतिष्ठानले पाईसकेको पनि खबरमा उल्लेख थियो । राजनीतिक रापतापकै कारण यसरी राज्यकोषसंग नजिक भईरहनु आफ्नै ब्यक्तित्वको क्षयीकरण हो । यो कुरा झलनाथ खनालले बुझ्नुभएकै होला ।

राजनीति पैसा र पावरले मात्र गरिंदैन । त्यसका लागि सामाजिक पूजीपनि चाहिन्छ । झलनाथ खनालले सरकारी पूजीसंग नजिक भैरहेकै कारण त्यो पूजी गुमाईरहनु भएको छ । आफ्नो उपचार खर्च धान्ने पारिवारिक हैसियत छ भने उहाँले सरकारलाई भन्नुप¥यो— उपचार महंगो भएपनि मेरो उपचार खर्च बेहोर्ने पारिवारिक हैसियत छ । खर्च बेहोर्छु भनेकोमा सरकारलाई धन्यवाद । सरकारले खर्च बेहोर्न नमिल्ने कुराप्रति म सचेत छु ।’ यदि गाह्रो छ भने आम सर्वसाधारण र कार्यकर्तालाई भन्नुप¥यो— ‘म पटकपटक बेस्सरी विरामी परें । लामो समय विदेशमा बस्दा निकै खर्च भयो । राजनीतितिर लागेर आर्थिक अवस्था उकास्न सकिन । घरखेत जाने अवस्था आयो । सबै मिलेर मलाई यो अप्ठेरो अवस्थामा सघाउनुहोस् न । नेपालमा उपचार गर्दा लागेको धेरथोर खर्चचाहि हेरिदिन नेपाल सरकारलाई अनुरोध गर्दछु ।’ यति बोल्न किन गाह्रो भएको झलनाथजी ।

एमाले पार्टी आफैंले खनालको उपचार खर्च बेहोर्छु भन्यो । नेपाल सरकार र एमाले एउटै संरचना होइन । एमालेले बेहोर्छु भन्नुको अर्थ नेपाल सरकारले बेहोर्नु होइन । सरकारी गठबन्धन र नेपाल सरकारपनि एउटै होइन । प्रम देउवाले दिन्छु भनेर दिईने होइन । गम्भीर विरामी परेको बेलामा पनि उपचार खर्च तानातान र फालाफालले विवादित भैरहनुभन्दा आफ्नो फेसबुकमा २—४ हरफ लेखिदिनुस् न— ‘मेरो उपचारमा चासो दिने सबैमा धन्यवाद । म स्वास्थ्य लाभ गरिरहेको छु । उपचार खर्च धान्न समर्थ छु । नसकेको दिन भन्नेछु । त्यतिबेला मलाई सहयोग गर्नुहोला है ?’ यसो भन्न सके तपाईंको जय होस् । स्वास्थ्यलाभको कामना ।

(२०७८ साल साउन ७ गते नेपाल लाइभ डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: