सरकारको महाजनमोह र तलबभत्ताको ‘स्टन्ट’

‘म तलब खान्न । म भत्ता खान्न । म यो खान्न । म उ खान्न । म केही खान्न । खाँदै खान्न । ’

नयाँ मन्त्रीमण्डल बनेपिच्छे कोही न कोही मन्त्रीले यस्तो स्टन्ट गर्ने चलन छ । कोही तलब नखाने । कोही नेपालमै बनेको गाडी चढ्ने । कोही निजी मोटरसाईकलमा झण्डा हालेर चढ्ने । कोही साईकल चढ्ने । कोही के गर्ने, कोही के गर्ने । यस्ता स्टन्टले आम सर्वसाधारणको ध्यान तान्ने नै भयो । एकदुई दिन अखबार र अनलाइनमा यी स्टन्टबारे समाचार छापिन्छन् । कार्टुन बन्छन् । लेख र पाठकपत्र छापिन्छन् । सफा मनले यस्तो गर्नेहरु विरलै भेटिने भएकोले यी कामलाई स्टन्ट भन्नुपर्ने बाध्यता छ । केही दिनपछि मन्त्रीजीहरु आफ्नो स्टन्ट सर्लक्कै भुल्नुहुन्छ । चलनचल्तीकै शैलीमा मिलाएर खानुहुन्छ । साईकल चढ्ने मन्त्रीको हेलिकोप्टरको बिल सबैभन्दा लामो हुनसक्छ । नेपाली मोटर चढ्ने मन्त्रीका सचिवालयका सदस्यले नै फेरिफेरि महंगा मोटर चढिरहेका हुनसक्छन् । तलब नखाने मन्त्री कमिसनको पहाडभित्र पुरिएको भेटिनुहुन्छ । मोटरसाईकल चढ्ने मन्त्रीको सवारी मन्त्रालयतिर नभएर अन्यत्र हुनसक्छ, पटाक्षप लाजमर्दो भैदिन्छ । पानीका फोकासरी स्टन्ट विलाउछन् । नयाँ मन्त्रीमण्डल आउँछ । नयाँ स्टन्ट लिएर कोही न कोही रंगमञ्चमा हाजिर हुन्छ । फेरि समाचार, कार्टुन, पाठकपत्र लेखिन्छन् । सयौं ट्वीट लेखिन्छन् । जात्रा चलिरहन्छ ।

स्टन्टको यो दुनियामा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठपनि थपिनुभएको छ । उहाँले तलबभत्ता मात्र होइन, सरकारी सवारी साधन समेत नलिने घोषणा गर्नुभएको छ । अब निजी सवारी साधनमा झण्डा हल्लाउँदै हिड्नुहुन्छ कि झण्डामोह पनि छोड्नुहुन्छ, समयले नै बताउला । उहाँको नियुक्ति अप्रत्याशित थियो, पार्टीमा मात्र हैन सत्ता गठबन्धनभित्रै प्रधानमन्त्रीको यो कदमको आलोचना भयो । उहाँको नियुक्ति समयको माग हो कि होइन भन्ने बारेमा सामाजिक सञ्जालमा बहस नै भयो ।

स्वास्थ्य ब्यवसायी स्वास्थ्यमन्त्री । निर्माण ब्यवसायी निर्माण मन्त्री । शिक्षा ब्यवसायी शिक्षा मन्त्री । उद्योगपति उद्योग मन्त्री । समयको माग यही हो ? लोकतन्त्रको मन्त्रीमण्डलको मोडल यही हो ? कसैको ब्यापार ब्यवसाय फस्टाउन सजिलो होस्, आफ्नो ब्यवसाय अनुकूल नियम कानून बनाउन सकून भनेर मन्त्री पद सुम्पिनु भन्छ लोकतन्त्रले ? लोकलाज हुन्न लोकतन्त्रलाई ? दिनेले, खानेले दुनियासंग डराउनु पर्दैन ?

हरेक प्रधानमन्त्रीको महाजन छनौटको यो छनौटले पृथ्वीनारायण शाहको दिव्योपदेश सम्झायो । ‘दुनियाँ जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने सास्त्रमा पनि कहेको छ.दुनियाँमा बुझिहेरु भनि बुझि हेर्दा दुनियाँबाट पनि कालु पांडेको चाहा रहेछ र कालु पांडेलाई कजायि भया घाहा घराइस् बलियो राषन्यैछ भन्ने सल्लाह दिया.मेरा मनमा ता विराज बषेतिलाई कजाई दिन आटेको थियो.ज्यादा बुद्धी कालु पांडेकै ठह¥यो र कालु पांडेलाई कजायी भयाको हो ।’ नागरिकको आवाज र समयको माग कताकता, प्रधानमन्त्रीको ध्यान कताकता । गुटको घेरो र थैलीको सेरोफेरोभन्दा माथी कहिले उठ्ने ?

लोकतन्त्रको मन्त्रीमण्डल साहुँ महाजन पोस्ने ‘थैलीमण्डल’ जस्तो भएको छ । मोतीराम भट्टको शैली सापटी लिंदा थैलीमण्डलको महिमा यस्तो सुनिन्छ ।
यता हेर्यो यतै मेरा नजर्मा साहुँ प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजर्मा साहुँ प्यारा छन् ।
यसो भन्छौ त प्रदेशमा उसो भन्छौं त केन्द्रमा
जता हेर्यो उतै मेरा नजर्मा साहुँ प्यारा छन् ।
मुलुकका सबै स्थानीय तहमाहाँ साहुँ ब्यापक जहाँ तहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा साहुँ प्यारा छन् ।
रसिला हसिला साहुँ तिनको नाउ सधैं गाउ
साथ हरबखत पाउ थैली खोल्ने उदार साहुँ प्यारा छन् ।
साथ कहिल्यै नछोड्नु साहुँ गर्नु मनमा डेरा
सबै संसारले भन्छन् र साहुँका मालिक प्यारा छन् ।

तीव्र विरोध भएपछि स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिलाई प्रधानमन्त्री नै अप्रतक्ष्य रुपले गलत भन्न बाध्य हुनुभएको छ । अब यस्तो हुँदैन पनि भन्नुभएको छ । प्रधानमन्त्रीले नै आफ्नो नियुक्तिलाई गलत भनिदिएपछि उहाँले ‘म गलत होइन’ भन्दै राजीनामा दिनु उचित हुन्थ्यो । त्यसो नगरेर उहाँले अविश्वासको भूमरीलाई चिर्ने रहर गर्नुभएको छ । त्यसको शुरुवात तलब, भत्ता र यातायात सुविधा नलिने घोषणाबाट गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ— ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो सम्पूर्ण ब्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनैपनि प्रकारको ब्यापार—ब्यवसायमा संलग्न नहुने प्रतिबद्धतापत्र सार्वजनिक गरेको छु । सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी बाहेक सवारी साधन, आवास र तलबभत्ता लगायत कुनैपनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।’

आम नागरिकको ईच्छा, अपेक्षा र अनुमान विपरित स्वास्थ्य राज्यमन्त्रीको नाम आएपछि नागरिकले गच्छे अनुसारको विरोध गरे । सामाजिक सञ्जालमा आफ्ना मत राखे । अखबारहरुमा अविश्वास पोखियो । प्रधानमन्त्रीले कहिल्यै नसुध्रिने छाँटकाँटका रुपमा लिईयो । नियुक्तिको विरुद्धमा नागरिक सडकमा समेत ओर्लिएपछि स्वास्थ्य राज्यमन्त्रीले ‘म राम्रै काम गरेर देखाउछु अलिदिन धैर्य गर्नुहोस्’ भन्ने सन्देश दिन खोज्नुभएको छ । सम्हालिएर अघि बढ्न खोज्नुभएकोजस्तो देखिएको छ । अड्कलेर बोल्नुभएको छ । भद्र संयमित र शिष्ट त उहाँ हुँदै हुनुहुन्छ, आम नागरिकलाई सुविधाभोगी नबने खबर दिएर सान्त्वना पुरस्कार दिन खोज्नुभएको छ । उहाँले दिनुभएको सान्त्वना पुरस्कार स्वीकार्य छ तर विगतमा यस्ता सान्त्वना पुरस्कारले नराम्ररी विश्वास गुमाएका छन् । ठूलो भाग छोप्ने अस्त्रको रुपमा यस्ता सान्त्वना पुरस्कारहरुको दुरुप्रयोग भएको छ । त्यो भ्रमलाई यसपाली उहाँले चिर्नु जरुरी छ ।

असल राजनीतिमा समर्पित कोही सम्पन्न मन्त्रीले असल मनासयले तलब खान्न भन्नु नराम्रो होइन तर आफ्नो कामको पारिश्रमिक नलिदैमा सबैथोक पुगिहाल्यो भन्ने पनि होइन । आवश्यकताभन्दा ठूलो भाग नखाने र आफ्नो जिम्माको काम एकचित्तले गर्ने मन्त्री समयको माग हो । नागरिकको सुखदुखको साथी समयको माग हो । स्वार्थ नबाझिने ब्यक्ति समयको माग हो । मन्त्री पदलाई पैसा छाप्ने मेशिनको रुपमा नबुझ्ने ब्यक्ति समयको माग हो । आफैं अस्पतालपनि चलाउने, आफै स्वास्थ्यमन्त्री बन्ने, यो समयको माग होइन । निर्माण ब्यवसायी नै निर्माण मन्त्री समयको माग होइन । शिक्षा ब्यवसायी नै शिक्षामन्त्री, समयको माग होइन । मन्त्रीपरिषदलाई ‘साहुँ महाजन परिषद’ बनाएर पार्टी धनी बनाउनु सत्ताधारी पार्टीको माग हुनसक्छ । प्रधानमन्त्रीको माग हुनसक्छ । प्रधानमन्त्रीका किचेन क्याविनेटका मान्छेहरुको माग हुनसक्छ । देशको माग यस्तो होइन । सवाल धनी वा गरिब मन्त्रीको होइन । असल र ईमान्दार मन्त्रीको हो ।

धन र राजकीय पदबारे थप चर्चा गरौं । राष्ट्रपति, प्रधानमन्त्री कस्तो ब्यक्तिलाई बनाउने ? धनलाई योग्यता ठान्ने ? तलब भत्ता केही खान्न भन्ने ब्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बने देशलाई सस्तो पर्छ ? देश गरिब भएको गरिबगुरुवाहरु सत्तामा पुगेर हो ? राजाहरु जन्मजात धनी हुन्थे । उनीहरुले ‘मलाई थप धन चाहिएन’ भनेको कहिल्यै सुनिएन । धनीहरुले देश चलाउँदा देश धनी हुने भए त देशमा धनीहरुको सूची बनाएर सबैभन्दा धनी ब्यक्ति राष्ट्रपति, दोस्रो धनी उपराष्ट्रपति, तेस्रो धनी प्रधानमन्त्री, चौथो धनी प्रधानन्यायधीश, पाँचौ धनी सभामुख, छैठौं धनी अर्थमन्त्री, सातौं धनी गृहमन्त्री, आठौं धनी उद्योगमन्त्री बनाए भैगो । कर्मचारी नियुक्ति गर्दापनि त्यसै गरे भैगो । सेनापति पनि त्यसरी नै छाने भैगो । धनीले चलाए सस्तो पर्ने, गरिबले चलाए महंगो पर्ने एकथरी सोच सामाजिक सञ्जाल र अखबारतिर पनि सुनिन्छ । राजनीति गर्नेहरु गरिब भएकाले भ्रष्टाचार बढेको तर्क गर्नेहरु पनि छन् । उद्योगपतिलाई मन्त्रालय सुम्पिदा भ्रष्टाचार गर्दैनन् ? गरेका छैनन् ? भ्रष्टाचार गरिब नेताले गर्ने, धनीले नगर्ने भन्ने होइन । गरिब नेताको भ्रष्टाचार तात्तातै देखिन्छ । धनी नेताको भ्रष्टाचार लुकेको हुन्छ । गहिरो हुन्छ । नदेखिने पनि हुनसक्छ । गरिब नेतालाई घर बनाउने, गाडी जोड्ने हतारो होला । धनी नेतालाई आफ्नो ब्यापारको जालो फिजाउने रहर होला । सिधै बार्गेनिङ गरेर दुईपैसा खानु, गाडी किनिहाल्नु र नीतिगत भ्रष्टाचार गरेर आफ्नो ब्यापार ब्यवसायको मलजल गर्नुमा ठूलो अन्तर हुन्छ । धनीको भ्रष्टाचारले देश दीर्घकालसम्म लुटिने डर हुन्छ ।

राजनीति गर्ने ब्यक्ति धनी या गरिब जेपनि हुनसक्छ । आदर्श राजनीति गर्ने ब्यक्तिले आफ्नो गरिबी उन्मुलन गर्ने होइन, देशकै गरिबी उन्मुलन गरेर सबैसंग मिलेर सुख काट्ने सपना देख्छ । राजनीतिलाई अवसरमात्र ठान्नेले आफ्नोमात्र गरिबी उन्मूलन गर्छ । आफ्नो धन राजनीतिमा खर्च गरेर देशमा प्रजातन्त्रको जग हाल्ने सुवर्ण र महावीर शमशेरहरुलाई हामीले भुलेका छैनौं । उनीहरुले राजनीतिलाई धन कमाउने साधन बनाएनन् । आफ्नै धन खन्याएर प्रजातन्त्रको जग बसाए । कोही मन्त्रीले आफूले पाउने तलबभत्ता खाएर देशलाई मर्का पर्दैन । नखाएर समाजले उत्पात सुख पाउने पनि होइन । आफ्नो पदीय दायित्व ईमान्दारितापूर्वक बहन गरे तलब खान्न, सुविधा लिन्न भन्नै पर्दैन । पूर्वप्रम कृष्णप्रसाद भट्टरार्इंलाई कांग्रेसको सरकारले बाँडेगाउँमा आश्रम बनाईदिंदा, कम्युनिष्टको सरकारले जन्मदिनमा गाडी उपहार दिंदा कसैले विरोध गरेनन् । किशुनजीलाई सबैले माया गरेको देखेर नागरिक खुशी भए । पूर्वप्रम झलनाथ खनाललाई उपचार खर्च दिंदा खनालको परिवारबाहेक कोही खुशी भए होलान् ? धनी र गरिबको राजनीति बुझ्न यी दुईवटा उदाहरण प्रर्याप्त छन् ।

विरोधै विरोधको विचमा बसेर पद सम्हाल्नुभएका स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने र स्वार्थ बाझिने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गर्नुभएको छ । यो प्रतिबद्धताको आम नागरिकबाट सार्वजनिक समाचार माध्यम मार्फत परिक्षण हुने नै छ । भोलीबाट रातो नम्बर प्लेटको निजी मोटर हुइँकिन्छ कि झण्डावाला रातो— निलो प्लेटवाला मोटर नै हुईकिन्छ ? निजी गाडीमा झण्डा हाल्न मिल्छ कि मिल्दैन ? राज्यमन्त्रीज्यूका ब्यवसायिक साझेदारहरुको नाम सरकारी नियुक्ति र खरिदमा जोडिन्छ कि जोडिन्न ? तलबभत्ता नखादैमा र मोटर नचढ्दैमा मात्र राम्रो मन्त्री बनिने होइन । राम्रो काम गरेर राम्रो मन्त्री बनिने हो । नराम्रो काम केहीपनि नगरेर आफ्ना सार्वजनिक प्रतिबद्धताको रक्षा गर्न सक्नुभयो भने पनि उहाँले स्याबासीको सान्त्वना पुरस्कारचाहि अवश्य पाउनु हुनेछ । सार्वजनिक प्रतिबद्धता मिठा भ्रममात्र नबनून । नियुक्तिको विरोध छोप्ने अस्त्र नबनोस् । प्रधानमन्त्रीले नै गल्तीबोध गर्नु नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीका लागि ठूलो च्यालेन्ज हो । तलबभत्ता र सुविधा नलिने घोषणा स्टन्टमात्र नबनोस् । आफ्नो सार्वजनिक प्रतिबद्धतामा खरो उत्रिन सके स्वास्थ्य राज्यमन्त्रीज्यूको जय होस् । साहुँ महाजनको मन्त्रीमण्डल बनाउने रहरबाट प्रधानमन्त्रीहरु मुक्त हुन सकून । धनको होइन, आम नागरिकको आवाज/समयको आवाज सुन्न नसक्ने प्रधानमन्त्रीको के अर्थ ?

(२०७८ साल साउन १९ गते मंगलबार नेपाल लाइभ डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: