कविकुञ्ज कि निर्माण सामाग्रीको ‘निकुञ्ज’ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र प्राडा पद्य प्रसाद देवकोटाले २०७८ साल साउन २० गते सामाजिक सञ्जालमा लेख्नुभएको कुरा र राख्नुभएको तस्वीरले सम्पदा र साहित्यप्रेमीको मन नराम्ररी झस्कायो । डिल्लीबजारस्थित महाकवि देवकोटाको भत्काईदै गरेको घरको फोटो राखेर पद्य देवकोटाले लेख्नुभएको छ— ‘आफू जन्मे—हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुँदा रहेछन् । कोठाकोठाको याद वैरिएर आएका छन् यसपाली ।’ उहाँ यतिमै रोकिनुभो । यतिमै रोकिनु हुँदैनथ्यो । उहाँ अंग्रेजी साहित्यको प्रसिद्ध प्राध्यापक । कवि— लेखकहरुका घरलाई कसरी संरक्षण गरिन्छ, धेरै देशमा देख्नुभएको, पढ्नुभएको होला । शेक्सपियरको घरमा त पुग्नुभएको पनि होला । आफ्ना सम्झनामात्र उल्लेख गरेर उहाँले धेरै कुरा संकेत गर्नुभयो । समाचार माध्यम मार्फत यो कुरा सर्वत्र फिजियो । धेरै अनलाईनले मौन भएर फोटो फिचरमात्र छापे । भत्काउनु जरुरी हो/होइन भन्ने बारेमाा बहस विनाशलीलाको शुरुवाती चरणमा चलाएनन् । नयाँ पत्रिकाले महाकविपुत्री अम्बिका रिमालको छोटो भनाई छाप्यो —‘प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास छ । एकेडेमीमा सबै बुद्धिजीवी ब्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

प्रतिकात्मक तस्वीर

अचानक देवकोटा निवास भत्काईएपछि सामाजिक सञ्जालमा यो घटनाको चर्को विरोध भयो । नागरिक अगुवा देवेन्द्रनाथ पाण्डेले लेख्नुभएको छ— ‘घर भत्काउन किन परेको होला, रेट्रोफिटिङ, अरु आवश्यक संरचना यही शैलीमा थपथाप, निर्माण गर्न नमिल्ने रैछ ?’ बेलायतमा ललितकला पढ्नुभएका रोशन मिश्रले लेख्नुभएको छ— ‘भत्काएर नयाँ बनाउनु नै विकल्प हो र ? बेलायतमा ४ शताब्दी अघिका शेक्सपियरको घर अझै संरक्षण गरेर राखिएको छ, यहाँ चाहि ६ दशक अघिका देवकोटाको घर बचाउन सकिएन । ’

कविकुञ्ज यसरी किन भत्काईएको ? जवाफ सजिलो छ । भव्य र जीवन्त संग्रहालय बनाउन । त्यसो गर्न देवकोटाको घर भत्काउनै पथ्र्यो ? कुनचाहि अध्ययनले भत्काउनुपर्ने कुरा बोल्यो ? बचाउन सकिने सबै उपाय सकिएर भत्काउन तम्सिएको प्रज्ञा प्रतिष्ठान ? यो बारेमा खोजिपस्दा धेरै कुरा भेटिए । नयाँ संग्रहालय कस्तो बन्ने भन्ने वर्णन र मोहोडाको डिजाइनपनि डिजिटल पत्रिकामा भेटियो । विज्ञानसम्मत तरिकाले अध्ययन—अनुसन्धान गराएर सो प्रतिवेदनको आधारमा निवास भत्काईएको हो भन्न प्रज्ञा प्रतिष्ठानका जिम्मेवार अधिकारीहरुले सकेका छैनन् । लगेर देखाईएको अनि बचाउन नसकिने निचोडमा पुगेको मात्र भनिरहेछन् । कति गैरजिम्मेवार कुरा ।

नेपालखबर डटकमले प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका भनाई सापटी लिदै एक बर्षपछि पुरा हुने सपनाबारे लेख्यो—‘जब तपाईं मैतिदेवीस्थित देवकोटा मार्गको प्रवेशद्धारबाट भित्र छिर्नुहुन्छ, आँखामा हरियाली नाच्नेछन् । पानीका फोहोराले तपाईंलाई स्वागत गर्नेछन । उद्यानहरुमा देख्न पाउनुहुनेछ, उभिएर एकनासले सोचिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटा । आँगनको त्यो रमाइलो दृश्यले तान्दै घरभित्र लैजानेछ । जब दैलोबाट तपाईंका पाइला भुइँतलामा सर्नेछने, लाग्नेछ— के देवकोटा अझै बाँचिरहेका छन् ? शब्दहरुमा बाँचिरहेका देवकोटालाई अजिवले महसुस गर्न पाउनुहुनेछ ।’ पुरानो भवनलाई बचाउने सम्भावनाबारे नेपालखबरको जिज्ञासामा सदस्यसचिव उपाध्यायले भन्नुभएको छ— ‘ हुन त घरलाई मर्मत गरेर संग्रहालय निर्माण गर्न पो सकिन्छ कि भनेर प्रतिष्ठानले विज्ञसंग सल्लाह पनि ग¥यो । तर सबै जीर्ण थिए । टेक्ने बित्तिकै गइहाल्ने पुराना काँचो ईंटा, भाचिनै लागेका काठ । सम्भव थिएन । त्यसैले प्रज्ञाले दुरुस्त पुरानै स्वरुपमा नयाँ भवन निर्माण गर्ने योजना बनायो । नयाँ भवनमा प्राचीनता झल्कने ईंटा, बुट्टेदार काठ रहनेछन् । ’ सदस्यसचिव उपाध्यायले भन्नुभएझैं नयाँ भवनमा बलिया ईंटा पनि हुने भए, काठमा बुट्टा पनि हुने भए । तर ईंटा र बुट्टाले मात्र एउटा जीवन्त सम्पदा तयार हुन्छ ? पुरानो संरचनासंग त्यसको केही साइनो हुँदैन ? भत्काउनै पर्दा पनि भग्न सम्पदा भत्काउने स्थापित मान्यता पालना गरिएको छ ? डिल्लिबजारको विनाशलीलाले त्यसो भन्दैन । डिल्लीबजारको विनाशलीलाले मूर्खताको कथामात्रै भन्छ । सम्पदाको मर्म नबुझ्नेहरुको हुल प्रज्ञा प्रतिष्ठानमा छ भन्छ ।

सदस्यसचिव उपाध्यायका कुरा पढ्दा महाकवि देवकोटाको पुरानै घरलाई प्रबलीकरण गरेर बचाउन सकिन्छ कि सकिंदैन भनेर औपचारिक अध्ययन गरिएको महसुस हुन्न । कोही विज्ञलाई लगेर देखाईयो होला । विज्ञ भित्र छिर्न डराउनुभो होला । डराएका विज्ञले ‘लौ लौ यो त भत्काएर उस्तै दुरुस्तै बनाउनु’ पनि भन्नुभो होला । यति भएपछि बैज्ञानिक अध्ययनको पाटो पुरा हुन्छ र ? पुरानो घरको नापजाँच त पक्कै गरियो होला । तस्वीरहरु पनि उतारियो होला । बचाउने सकिने— नसकिने कुराबारे विभिन्न विज्ञ सम्मिलित समिति बनाई प्रतिवेदन तयार पार्न लगाएर अझ धेरै विज्ञहरुसंग छलफल गर्नुपथ्र्यो ।

२०७२ सालको भूकम्पमा जीर्ण बनेको सिंहदरबारको पश्चिमी खण्डपनि शुरुमा भत्काउनै खोजिएको थियो् । परामर्शदाताद्धारा तयार पारिएको प्राविधिक प्रतिवेदनले भत्काउनुपर्ने निचोड निकालेको थियो । सो प्रतिवेदनमा सम्पदाकर्मीहरु सहमत भएनन् । ब्यापक छलफल र अध्ययनपछि बचाउन सकिने निचोड निस्कियो । अन्ततः पुनर्निर्माण प्राधिकरण सो मोहोडा बचाउन सफल भयो । देवकोटा निवासको पनि त्यस्तै अध्ययन हुनुपथ्र्यो । बचाउनै नसकिने निष्कर्ष निस्किए जतनसाथ कसरी भत्काउने, बचेका काठ, ईंटा र हरेक निर्माण सामाग्रीको राम्ररी प्रयोग कसरी गर्ने भन्ने निष्कर्ष निस्कन्थ्यो । भत्काउने कामको शैली हेर्दा कसैलाई ठेक्का दिएर एक थान पुरानो घर भत्काएजस्तो महसुस हुन्छ । काँचा ईंटा… पुराना काठ… भन्दै नाक खुम्च्याएझै सबैथोक धूलोपिठो पारेर भत्काईएको महसुस हुन्छ । लामालामा घोचाले घोचेर गारो भत्काईएको र काठको थुप्रो लगाईएको देखेर आँखा बिझाए ।

देवकोटा निवास एकथान कच्ची घर होइन । हेर्दा सामान्य, कमजोर र कच्ची छ भन्दैमा घोचाले घोचेर अन्धाधुन्ध भत्काउन मिल्ने घर होइन हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा निवास अर्थात कविकुञ्जलाई संग्रहालय बनाउने सरकारी प्रयास स्तुत्य छ । २०७६ सालमा तत्कालिन प्रम केपी शर्मा ओलीको पहलमा २ करोड ५० लाख रुपैंया परिवारलाई तिरेर १२ आना १ दाम क्षेत्रफलको जग्गा सहितको घरलाई सरकारी स्वामित्वमा ल्याइएको हो । तर संग्रहालय बनाउने शैलीमा गम्भीरता नदेखिएको महसुस हुन्छ । प्रर्याप्त अध्ययन र छलफलविनै घर भत्काइहाल्ने र नयाँ घरको जग हालिहाल्ने हतारो देखिएको छ ।

२०७६ साल पुसमा गंगाप्रसाद उप्रेतीले रासससंग भन्नुभएको थियो— ‘देवकोटा संग्रहालय चार तलाको हुनेछ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्न सर्वप्रथम विज्ञहरुसंग परामर्श गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । भवनमा देवकोटाको समग्र इतिहास झल्काउने प्रयास गरिनेछ ।’ उप्रेतीले २०७६ साल पुसमा यसो भन्नुभएपनि सदस्य सचिव जगत प्रसाद उपाध्यायको हालसालै सार्वजनिक धारणामा विज्ञसंग सोधिएको र प्रबलीकरण सम्भव नभएको उल्लेख छ । यदि जीर्ण संरचनाको अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदन बनाईएको थियो भनेपनि त्यसलाई छलफल ल्याउनु पथ्र्यो । २०७७ साल साउन १ गते गोरखापत्रले छापेको समाचार अनुसार २ बर्षभित्र निर्माण सम्पन्न हुनेगरि विस्तृत परियोजना प्रतिवेदन पनि तयार भएको छ । त्यसमा नयाँ भवनको डिजाइमात्र समेटियो वा भत्काउनुपर्ने निष्कर्ष निकालियो, उल्लेख गरिएको छैन । प्रज्ञाका जिम्मेवार अधिकारीको भनाई र विज्ञप्ति पढ्दा मनगढन्ते तर्कवितर्कका आधारमा सिधै देवकोटा निवास भत्काउने निष्कर्षमा पुगेर नयाँ संरचनाको विस्तृत परियोजना प्रतिवेदन बनाईएको महसुस हुन्छ ।

देवकोटा निवासजस्तो राष्ट्रिय महत्वको संरचनासंग सम्बन्धित काम गर्ने योजना बनाउँदा छलफलको दायरालाई फराकिलो बनाउनुपर्ने थियो । यस्तो काम सानो टिम बसेर स्वाट्सुट्ट सिध्याउने रहर गर्नु उचित होइन । अध्ययन प्रतिवेदनहरु सार्वजनिक गरि आफ्ना धारणा दिने मौका विषयगत विज्ञलाई मात्र होइन, आम सर्वसाधारणलाई पनि दिनुपर्छ । उपलब्ध स्रोत, साधन र प्रविधिको प्रयोग गरि भवनलाई बलियोसंग बचाउन सकिन्छ भने त्यतातिर ध्यान दिनुपर्छ । त्यसो हुन सकेको पाईएन । ऐतिहासिक महत्वको उक्त भवनलाई सकेको छिटो हटाएर घडेरी सफा गर्नतिर लाग्नु उचित होइन ।

लक्ष्मीप्रसाद देवकोटाको घर नेपाली साहित्यको तीर्थस्थल हो । सम्मानपूर्वक संरक्षण गरिनुपर्ने स्मारक हो । देवकोटाले यो घर १९९० सालमा किन्नुभएको ‘बताईएको’ खबर इकान्तिपुर डटकमले २०७८ साल साउन २१ ग्ते छापेको छ । घर कहिले बनेको हो, त्यो बारेमा थप अध्ययन जरुरी छ । प्राचिन स्मारकबारे प्राचीन स्मारक संरक्षण ऐन—२०१३ यसो भन्छ— इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने एकसय बर्ष नाघेको मन्दिर स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तूप आदि सम्झनु पर्छ । सोही ऐनको दफा १६—क मा ‘यो ऐनमा अन्यत्र जेसुकै कुरा लेखिएको भए तापनि एकसय बर्ष ननाघेका अद्धितिय किसिमका कलाकृति तथा कुनै समयको महत्व दर्शाउने स्मारकहरु पुरातत्व विभागले संरक्षण गर्न गराउन सक्नेछ’ लेखिएको छ । यही ऐनको दफा १६ ले पनि देवकोटा निवास जोगाउन पुरात्व विभाग आफैंपनि अघि सर्नुपर्ने कुरा प्रष्ट पारेको छ ।

सामान्य ईंटा र सामान्य बुट्टाले बनेको भएपनि र सय बर्ष पुरानो संरचना होइन भनेपनि समयको महत्व दर्शाउने महत्वपूर्ण स्मारक हो देवकोटा निवास । बचाउन सकिने सम्भावनाबारे गहन अध्ययन नै नगरी पुरानो संरचना अन्धाधुन्ध भत्काएर नयाँ सामाग्रीले उस्तै संरचना बनाउँदा केपी ओलीले प्रचलनमा ल्याउनुभएको सम्पदा संरक्षणको ‘सिद्धान्त’— ‘इतिहास झल्किन्छ आधुनिकता टल्किन्छ’ लाई मलजल पुग्ने बाहेक केही ऐतिहासिक उपलब्धी मिल्दैन । यसरी त सम्पदा संरक्षणको गलत भाष्य तयार हुन्छ । संरक्षण कार्य नराम्ररी बहकिन्छ ।

पुरानो संरचनाको मर्मत, जीर्णोद्धार वा प्रबलीकरण गरि संरक्षण गर्न सकिने अनेकन सम्भावनाबारे गहन अध्ययन, बृहत छलफल तथा विश्लेषण नै नगरी पुराना संरचना र पुराना सम्झना सर्लक्कै मेटेपछि कविकुञ्जजस्तै देखिने नयाँ घर कवि कुन्ज हुन्छ कि निर्माण सामाग्रीको निकुन्जमात्र हुन्छ ?

औपचारिक अध्ययन, अनुसन्धान र गहन छलफलविनै कसैलाई सोधेको भरमा देवकोटा निवास भत्काएर प्रज्ञा प्रतिष्ठानका जिम्मेवार पदाधीकारीहरुले अक्षम्य काम गरेका छन् । गहकिलो इतिहास नामेट पारेका छन् । उनीहरुलाई यथोचित कारबाही गरियोस् । यति कामका लागि सम्पदाप्रेमीले अदालत गुहार्नु नपरोस् ।


(२०७८ साल साउन २२ गते शुक्रबार नेपाल लाइभ डटकममा प्रकाशित लेखलाई परिमार्जन गरिएको)


Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: