सिंहदरबार बाहिरका बेञ्च…

सिंहदरबारभित्र मर्यादा मक्किएका कुर्सीहरु छन् । सिंहदरबारबाहिर फट्टा उप्किएका बेञ्चहरु छन् । सर्वोच्च अदालतको ढोकामा ‘बार’ र ‘बेञ्च’ को झगडा चल्दै गर्दा सिंहदरबारको पश्चिमी ढोका बाहिरको रेलिङ र बेञ्चका पनि कुरा गरौं ।

काठमाडौँको भद्रकालीदेखि सिंहदरबार पश्चिम गेटसम्मको सडकपेटीमा हिँड्नुभएको छ? मूल सडक दायाँबायाँ बनाइएको यो काठमाडौँकै नमूना सडकपेटी हो। यो सडकपेटी सफा छ। हेर्न, बस्न र हिँड्नलायक छ। यति मात्र भएर नमूना सडकपेटी भनिएको होइन। मुख्य त, सडकपेटी निकै फराकिलो छ, करिब दुई लेनको सडकजत्रो। यो सडकपेटीको छेउछाउमा ठूला भाँडामा बोटबिरुवा रोपिएका छन्। फूलहरु फुलेका छन्। भुईंमा सपक्क ढुंगा छापिएको छ। पानी पर्दा पनि नचिप्लिने टायल हालिएको छ। दृष्टिविहीनहरुलाई दिशानिर्देश गर्ने ट्याकटाइल टायल पनि राखिएको छ। रेलिङ छ। सडकपेटीमा बस्नका लागि काठका आकर्षक बेञ्च राखिएका छन्। काठमाडौंको सडकपेटीमा बस्ने बेञ्च बिरलै भेटिन्छ। त्यसकारण पनि यो सडकपेटी विशेष छ। 

देशकै प्रमुख प्रशासनिक केन्द्र, सिंहदरबारको मूलद्वार सामुन्नेको सडकपेटीमा राखिएका बेञ्चको हालत कस्तो होला? बस्न मात्र होइन, जाँच गर्न पनि मन लाग्यो। बेञ्चको हालत त सिंहदरबारभित्रबाट चल्ने ‘शासन’जस्तै रहेछ, लथालिंग र भताभुङ्ग। सिंहदरबारको कुर्सी सञ्चै छ, तर त्यो सञ्चोभित्र अथाह सन्नाटा लुकेको छ। सिंहदरबारमा ‘सेरेमोनियल’ कुर्सी राखेर हरेक प्रधानमन्त्रीहरु बालुवाटारबाट अपारदर्शी तरिकाले देश चलाइरहेका छन्। मन्त्रालयले मन्त्री पाए पनि मन्त्रीहरु मन्त्रालयमा होइन, आफ्नै पार्टीको बैठक र सभा समारोहमा रमाइरहेका भेटिन्छन्।

सिंहदरबारभित्रको कुर्सी छाडेर एक छिन बाहिरको बेञ्चलाई नै हेरौं। भद्रकालीबाट सिंहदरबार गेटसम्म बायाँपट्टि ४४ र दायाँपट्टि ३६ वटा बेञ्च छन्। एउटै लम्बाईको सडकपेटीमा बराबर नै बेञ्चहरु राखिएको थियो कि केही चोरी भए भन्ने बुझ्न सकिएन। फलामको फ्रेम बनाएर काठ ठोकिएका ५ फिट लम्बाइका बेञ्चमध्ये बायाँपट्टि करिब आधाजति क्षतिग्रस्त छन्। दायाँतर्फका पनि केही भत्किएका र बिग्रिएका छन् ।

निकै मोटो किला ठोकिएको बेञ्चबाट भकाभक फलेक उखेलिएर फलामको अस्थिपञ्जर मात्र बाँकी रहेको दृश्य मलाई निकै ननिको लाग्यो। कुनै बेञ्चबाट एउटा मात्र र कुनैमा सबै उखेलिएको छ। कतै त उखेल्न नसकेर अलिकति काटेर चोइटो लगेजस्तो देखिन्छ। 

सिंहदरबारभित्रको सम्पत्तिको सुरक्षाका लागि अग्ला पर्खालहरु छन्। सुरक्षाकर्मी छन्। बाहिरको सम्पत्तिको सुरक्षाको दायित्व त आम नागरिकको पनि हो। तपाईं–हामी बस्नलाई सहज होस् भनेर ती बेञ्च राखिएको हो। आफैं बस्ने बेञ्चको काठ किन भकाभक उखेल्ने?यहाँ आम नागरिकले कर्तव्य भुलेका छन्। यता, महानगरपालिकालाई पनि सुरक्षा र मर्मतका लागि झर्को लागेको होला। सडकेपेटीका रेलिङ पनि भत्किएका छन्। ती रेलिङ मर्मत नभएर भाँचिएको माने पनि बेञ्चहरु त हाम्रै हर्कतले भाँचिएका हुन्।

हामीले आफ्नो कर्तव्य पूरा गरे मात्र महानगरपालिकालाई प्रश्न गर्न पाइन्छ। सार्वजनिक ठाउँमा रोपिएका बोटबिरुवा, फलामका बार, काठका बेञ्च र टायलको सन्चो–बिसन्चोको हिसाब महानगरले गरिदेला भनेर पर्खेर बस्ने कि आफ्नो सुविधाका लागि राखिएको सार्वजनिक सम्पत्तिको सुरक्षा र जतन पनि गर्ने? बाँकी कुरा तस्बिरले नै बोल्छन्।

(२०७८ साल कार्तिक १० गते नेपाल लाइभ डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: