नागातामा सामुदायिक सडक : हिँड्नलाई १० मिटर, गुड्नलाई ४ मिटर (किताब अंश)

नागाता वडा कोबे सहरको पश्चिमी भागमा रहेको छ । यहाँको पुरानो बस्ती दक्षिणतर्फ बन्दरगाहको नजिकै रहेको छ । यहाँको पुरानो बस्तीको नाम इनागा—वायासी रहेको थियो । समुद्रसँग जोडिएको यो बस्ती माछा मारी व्यवसाय गर्ने व्यक्तिहरूको प्राचीन इलाका हो । यो ठाउँ मेइजी कालमा (१९६८-१९११) उत्तरतर्फ विस्तार भएको थियो । सोे भूभाग थाइसो कालखण्डसम्म (१९११-१९२५) खेतीपातीका लागि प्रयोग हुन्थ्यो ।

थाइसो कालखण्डको अन्त्यतिर कोबे सहरको विस्तार हुने पूर्वानुमान गरी खेतीयोग्य जमिनलाई १०९ मिटर अन्तरमा बाटो सञ्जाल बनाई चकलाजस्तो गरी चाकल-चाकलमा विभाजन गरियो । यसरी बनेको सञ्जाल खण्ड पुरानो बस्ती इनागा-बायासीको उत्तरी किनाराबाट सुरु हुन्छ । यो सञ्जालका बस्ती चाकलहरू ८ मिटर चौडा सडकले छुट्याइएका थिए र यस्ता चाकललाई ‘चो’ भनिन्छ । यो बस्ती पद्धति जापानको प्राचिनकालदेखि नै रहिआएको पाईन्छ । सन् १९२० को दशकको अन्तसम्ममा नागाता इलाका दक्षिणको तटीय क्षेत्रबाट उत्तरतर्फको पहाडी क्षेत्र जोड्ने गरी बस्ती फैलिसकेको देखिन्छ । 

किताबको कभर

नागाताका यी चो इलाकामा भाडा लगाउने प्रयोजनका लागि बनाइएका प्रारम्भिक ‘शोवा’ कालका (सन् १९२५-१९८८) अधिकांश घरहरू ‘नागाया’ शैलीका थिए । ससाना आवासीय एकाइमा बाँडिएका ती घरहरू एकतले हुन्छन् र काठबाट बनाईएका हुन्छन् । हरेक घर अलि साँघुरो बाटोबाट जोडिएको हुन्छ । साधारणतया एउटा नागाया ब्लकमा बीचमा भित्तो जोडिएका २ देखि ६ वटा आवासीय एकाइ हुन्छन् भने सरदर एक आवास एकाइ ३.६ मिटर मोहोडा र ३० वर्गमिटरभन्दा कम क्षेत्रफलको हुन्छ । ओसाका सहरका नागाया घर-आवासको एक अध्ययनमा धेरैजसो घर भाडामा हुने, घरधनी ६५ वर्षभन्दा माथि र समग्र टोलबस्तीको जनसंख्यामा यस्ता जेष्ठ नागरिकको जनसंख्या पनि दुई तिहाइभन्दा बढी नै देखिएको छ भने एक चौथाइभन्दा बढी घर खाली नै रहेका छन् (Fujita et al, 2016) ।

दोस्रो विश्वयुद्धमा कोबे सहरका धेरैजसो बस्ती इलाकामा ठूलो क्षति पुगेपनि यो इलाकामा भने कम क्षति पुगेको थियो । त्यसैले युद्ध अन्त भएपछि सहरका अरु भागमा भू-पुनःसमायोजन hg (Land Readjustment) कार्यक्रम लागु गरि पुनर्निर्माण गरिएको थियो तर नागाता जस्ता कम क्षति भएका ठाउँमा सो कार्यक्रम लागु गरिएको थिएन । यसले गर्दा तिनताकाका नागाया शैलीका घरहरू यथावत नै थिए । नागाताका काठले बनेका पुराना घरहरू भूकम्पीय सुरक्षा र आगलागी दुबै हिसाबले जोखिमपूर्ण थिए ।

सन् १९९५ को भूकम्पको चपेटामा परेर यो क्षेत्रका करिब ८० प्रतिशत घरहरूमा पूर्ण र आंशिक रूप्मा क्षति पुगेको थियो । भूकम्पपछिको अध्ययनले बाक्लो बसोबास भएका र बढी जनघनत्व रहेका क्षेत्रमा बढी क्षति पुगेको थाहा भयो । पुराना घरमा पनि विशेषतः सन् १९६५ अघि बनेका घरहरूमा त्यसपछि बनाइएका घरभन्दा अझ बढी क्षति पुगेको देखिएको छ । काठको संरचनाको कारण भन्दापनि यी इलाकाका बसोबास संरचना पुरानो भइ सम्भार र नविकरण हुन नसक्नु मूल कारण रहेको अध्ययनहरूले औल्याएका छन् (कुनिहिरो, १९९९) । 

स्वामित्वको किनबेचबाट भएको खण्डीकरण र एउटै नागाया संरचनामा एकभन्दा बढी स्वामित्व भै नविकरणमा जटिलता आउनु, क्षेत्रफल अत्यधिक सानो भई नयाँ निर्माणको लागि उपयुक्त नदेखिनु, प्रवेश मार्ग सानो हुँदा नयाँ निर्माणमा कानुनी अड्चन हुनु जस्ता कारणले यहाँका घरको नियमित सम्भार हुन सकेन । त्यसमाथि धेरैजसो यी घरमा घरधनीभन्दा भाडामा बस्नेहरू धेरै थिए । अधिकांश घरधनीको जेष्ठ नागरिकहरू भएकाले पनि नयाँ निर्माण वा मर्मतसम्भारमा उति चासो नहुनु स्वभाविक जस्तोपनि थियो । कोबे सहरको उत्तरतर्फ नयाँ आवास क्षेत्र बन्दै गइरहेकोले नयाँ आगन्तुक र नयाँपुस्ता त्यतै आकर्षित थिए, जसले गर्दा पुरानो सहरी क्षेत्रमा आवास निर्माणका लागि नयाँ लगानी पनि आउन सकेन । सन् १९९५ को भूकम्पपछि पुनर्निर्माणका क्रममा यो क्षेत्रभित्र बाटो बनाउँदा सामुदायिक सडकको अवधारणामा काम गरिएको प्रसंग विशेष उल्लेखनीय छ । 

सामुदायिक सडकको अवधारणामा जापानमा सन् १९८० मा विकास भएको हो । ओशाका सहरको आबेनो इलाकाको एक टोलबस्ती भएर जाने १० मिटर चौडाइ भएको दोहोरो गाडी गुड्ने बाटोलाई साँघुरो तुल्याएर पैदलमार्ग चौडा गर्दै गाडीको गति कम गर्न ठाउँठाउँमा घुमाउने वा डडेसो बनाई स्थानीय बासिन्दा र अन्य पैदलयात्रुलाई शान्त र सुरक्षित वातावरण निर्माण गर्नमा योगदान दिएको पहिलो उदाहरण मानिन्छ । तत्पश्चात अरु सहरबस्तीमा पनि धेरै यस्ता सामुदायिक सडक वा मार्ग बनाइन थाले । तिमध्ये सन् १९९७ मा निर्माण सम्पन्न भएको साइतामा प्रान्तस्थित योशीकावा सहरको कियोमिनो आवास इलाकाको सामुदायिक मार्गले नगरपालिका र प्रान्तबाट सहरी धरादृश्य पुरस्कार प्राप्त गरेकोले अध्ययनको नमुना जस्तोपनि भएको छ । गाडीको आवतजावतलाई नियन्त्रण गर्दै पैदलयात्राको वातावरण यसरी राम्रो र सुरक्षित बनाएको इलाकालाई ‘सामुदायिक वातावरण क्षेत्र’ भन्ने गरिन्छ । 

नागातामा आवासीय क्षेत्रभित्र सामुदायिक सडक बनाउने विषयमा निचोडमा पुगिसकेपछि अन्यत्र कस्ता सामुदायिक सडक बनेका छन् भनेर अध्ययन भ्रमणपनि गरियो । आसिया र काकोगावा र अन्य केही सहरमा भएका कामबारे भिडियो रेकर्डमार्फत अध्ययन गरिएको थियो । अहिले नागाताको यो इलाकामा दुईवटा यस्ता सामुदायिक सडक बनेका छन् । एउटा सामुदायिक सडकले पूर्व पश्चिम दिशा हुँदै केन्द्रिय उद्यानलाई जोड्छ । 

अर्को सडकलाई चोक-बाटो पथ (Street-Square Route) पनि भनिन्छ जुन बस्तीको पश्चिमी भागमा बढी चाप हुने बजारको पछाडी रहेको छ । यस इलाकाको पश्चिमी भेगको उच्च घनत्व भएको बजार क्षेत्रमा पैदलयात्रुलाई सहज होस् भनेर यो चोकबाटो बनाईएको हो । पूर्व-पश्चिम भइ जाने यो मुख्य सामुदायिक सडकको चौडाइ १४ मिटर रहेको छ तर यसमा ४-५ मिटर चौडाइ गाडी गुड्नका लागी छुट्याएर सडकको दुबैतर्फ धरा दृश्य भएको फराकिलो पैदलमार्ग बनाईएको छ । केन्द्रिय उद्यानको पश्चिमतर्फ कलकल बग्ने एउटा कुलो सो सामुदायिक बाटोसम्म ल्याई यसको किनाराबाट बग्दछ । सहरी सुन्दरतालाई ख्याल राख्दै दूरसञ्चार र विद्युत सेवा सेवा प्रदायकहरूसंग समन्वय गरि बिजुली र सञ्चारसंग सम्बन्धित सबै किसिमका तारहरूलाई जमिनमुनि बिछ्याई दृश्य वातावरण अरु ब्यवस्थित गरिएको छ । 

सामुदायिक सडकको योजना निर्माणका क्रममा यो सडकसंग जोडिएका घरधनीहरूले भने अर्को वैकल्पिक योजना अघि सारेका थिए । गाडीको सहज आवागमनका लागि ५ मिटर चौडा गाडी गुड्ने बाटो छुट्याउनुपर्ने उनिहरूको मत थियो । वृक्षरोपण गर्ने र कलकल-कुलेसो बनाउने योजना पनि नियमित स्याहारसम्भार खर्चिलो हुन्छ भन्ने राय उनीहरूको थियो । यो विषयमा छलफल गर्नु जरुरी देखिएपछि पूरै टोल क्षेत्रमा टोबिसको नियमित समाचारपत्रमार्फत जानकारी गराईयो । छलफलले मूर्त रूप् लिएपछि गाडी गुड्ने बाटोको चौडाइ ३.५ मिटरबाट बढाएर ४ मिटर बनाईनुका साथै ४ टनसम्मका गाडी पार्किङका लागि पनि ठाउँ छुट्याईयो । 

सामुदायिक सडक बनाइएको ठाउँमा केही भवनहरू भूकम्पको बेलामा नभत्किएकाले ती ठाउँमा सडकलाई घुमाईएको पनि छ । बजार तथा उत्पादन समितिको सुझाव अनुरूप् पदमार्गमा ओछ्याइएको टायलमा इतिहास सम्झाउने छायाचित्र सामाग्री पनि राखिएको छ । कतै ओलम्पिक खेलका खेलाडीको जुत्ताको छाप दिई टायल हालिएको छ त केही टायलमा चर्चित कलाकारहरूको हस्ताक्षर पनि उतारिएको छ । 

किताबको बण्डल
लेखक र अनुवादक
किताब उपलब्ध स्थान र माध्यम

(२०७८ साल मंसीर १८ गते इकागज डटकममा प्रकाशित । वास्तुकलाका प्राध्यापक डा. मोहनमूर्ति पन्तको लेखन र मेरो अनुवादमा प्रकाशित यो किताब बजारमा उपलब्ध छ ।)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: