‘ह्वाङ्ग मुख’ अभियन्ताहरूका नाममा….

हिजोआज राजनीतिक रूपमा शान्त देश कोरोना संक्रमणका कारण अशान्त छ। कुनै जमानामा कोरोनाका कारण मुलुक जतिसुकै आक्रान्त भएपनि बालुवाटार बेखबरजस्तो देखिन्थ्यो। आमनागरिक बालबालिका बोकेर असाध्यै कष्टसाथ १५०—२०० किलोमिटर लामो पैदलयात्रा गरिरहँदा बालुवाटारमा कुर्सी राख्ने शैली र त्यसको बनावट, टेबुलपोस र नम्बर लगाइएका पानीका बोतलका नाममा प्रतिस्प्रर्धा चलिरहेको हुन्थ्यो। त्योभन्दा पनि पर जुत्ता छोप्ने जालीजाली परेको निलो कभरले सबैको ध्यान तान्थ्यो।

जुत्तामा कभर लगाएर, मुख खुल्लै राख्दै पार्टीका मिटिङ, भेला निकै बाक्लो गरी हुन्थे। नेताहरू कोठाकोठामा मुख फुलाएर बसेका हुन्थे। एउटा कोठाले अर्को कोठालाई कारबाही गर्छु, पार्टीबाटै निकाल्छु, स्पष्टीकरण लिन्छु भनिरहन्थ्यो। आमनागरिक रित्तो अक्सिजन सिलिन्डर र खाना पकाउने एलपी ग्याँसको रित्तो सिलिन्डर बोकेर यता र उता भौतारिइरहेका हुन्थे। देशमा कोरोनाभन्दा ठूलो समस्या तत्कालीन नेकपाको विवादजस्तो थियो। 

विवाद खेलेपछि बचेको समयमा प्रधानमन्त्री बेसारपानी र अदुवापानीको भाषण छाँट्थे। हिमाली हावापानी र हाम्रो ‘इम्युनिटी’को बखान संसदमै गर्थे। ‘विज्ञानले किन भनिरहनु पर्‍यो, मैले भनेको मैले’ भन्दै सगर्व घोषणा गर्थे।

तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रधानमन्त्रीको लाचार छायाँजस्तो देखिन्थ्यो। कतै चीर निन्द्रामा सुतेजस्तो लाग्थ्यो। उल्टै बालुवाटारतिर पसेर भागबण्डाको बार्गेनिङ गरिरहेको भनेरपनि खबर आउथ्यो ।अराजकताले हद नाघेको त्यो समयमा नेताहरुलाई कोरोना नलागेको देख्दा अचम्म लाग्थ्यो। मास्क नलगाए पनि, भीडभाड गरेर हिँडे पनि आन्दोलनमै उत्रिए पनि कसरी जोगिएका छन् हँ? कोरोना प्रुफ भएकोले जोगिएका हुन् कि?  बेसारपानी खाएरै जोगिएका हुन् कि? कोरोनासँगै हिसाबकिताब मिलाएर जोगिएका हुन् कि? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भागै खोसेर खोप लगाएकाले जोगिएका हुन् कि? उनीहरु जोगिनु आफैमा एउटा आश्चर्यजस्तो थियो। सुतेको प्रतिपक्ष होस् या सडकमै जागेको सत्तापक्ष, सबैतिर एकछत्र सञ्चो थियो। घोर अचम्म थियो। 

यसपालि हावापानी वा बेसारपानी के–कसो नमिलेर हो, एकपछि अर्को गर्दै ठूल्ठूला नेताहरु कोरोना संक्रमित भए। भनिरहनु परेन, त्यो सबै एकपछि अर्को गर्दै ओइरिएको महाधिवेशनको कमाल हो। मास्क लगाए इज्जत जान्छझैं मुख खुल्लै राखेर भेला र मेलामा रमाएका धेरै नेता यतिबेला कुना पसेका छन्।

उनीहरु कुना पसेसँगै कोरोनाले आहत मुलुकलाई मलम लगाएजस्तो पो भएको छ। चाहिँदो नचाहिँदो राजनीतिक घोचपेच, सस्ता भाषण, बेअर्थको दौडधूप, गुटका भेला र सत्ता तानातानका खेल पढ्न, सुन्न परेको छैन। नेता बिरामी पर्दा जनताले सञ्चो मान्नु पटक्कै राम्रो हैन। कोही बिरामी पर्दा कसैले सञ्चो मान्नु नराम्रो कुरा हो। झन् देशका अगुवा बिरामी पर्दा त आपतकालमा धेरै अप्ठेरो पर्नुपर्ने हो। ‘नेता बिरामी परे, अब हामीलाई कसले हेर्छ?’ भन्ने दिन आए पो! त्यस्तो दिन उनीहरु आफैँले ल्याएनन्। बिरामी परेका नेताहरु सबैलाई स्वास्थ्यलाभको एकमुष्ट कामना। 

यति बेला एमाले सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको छ। तर, सचिव योगेश भट्टराईले मुख खुला र जुत्तामा कभर राखेर उही पुरानो एमालेको झल्को दिए। प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराउन केही दिनअघि पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङसँगै भट्टराई बालुवाटार पसेका थिए। त्यति बेला देउवाले मास्क लगाएका थिए। नेम्वाङले मुखमा मास्कबाहेक हातमा सेता पञ्जा पनि लगाएका थिए। योगेश भट्टराईको मुख खुल्लै थियो।

यो दृश्य सामाजिक सञ्जालमा छताछुल्ल भएपछि आम आक्रोशको तारो बने भट्टराई। ग्यालेक्सी फोरके टेलिभिजनले त ‘मुखमा हैन खुट्टामा मास्क लगाएको’ भन्दै लाजमर्दो ट्वीट गर्‍यो। त्यो ट्वीट एउटा समाचार माध्यमलाई पटक्कै सुहाउने खालको थिएन। त्यो भन्दा पनि नसुहाउँदो काम त भट्टराईले नै गरे। तर, उनले ‘ज्ञापन पत्र वाचन गर्दा मास्क खोलेको’ स्पष्टीकरण दिएर आफ्नो बचाउको प्रयास गरे। आफ्नो हुस्सुपनको बचाउ गर्नुभन्दा गल्ती स्वीकारेको भए राम्रो हुन्थ्यो। यस्तो जोखिमको बेलामा बोल्दा किन मास्क खोल्नु? अथवा ज्ञापन पत्र वाचन गरेर किन जोखिम निम्त्याइरहनु? नगर्नु गल्ती गरेपछि सामाजिक सञ्जालमा रूप र सारको भद्दा व्याख्या किन गरिरहनु?

हिजोआज सामाजिक सञ्जालमा कोरोनासँग सम्बन्धित एकैखालको विज्ञप्तिको बाढी आएको छ। केही दिनअघिसम्म ‘मास्क लगाए पाप लाग्छ’ भनेझैं जात्रा, मेला, पर्व, भोजभतेर, सम्मेलन, अधिवेशन, आन्दोलन, गोष्ठीमा भाग लिएका तस्बिरहरु निसंकोच पोष्ट गर्ने अगुवाहरुको विज्ञप्तिको भाषा यति बेला लगभग एउटै छ। मास्क नलगाई ‘कोरोना बम’ बनेर यत्रतत्र डुल्नुसम्म डुलेर दुनियाँलाई जानीजानी संक्रमित बनाएकाहरू नै सामाजिक सञ्जालमा लेखिरहेछन्– ‘पूर्ण रूपमा सचेत रहँदा रहँदै पनि कोरोनाको यो लहरबाट बच्न सकिएन। मसंग सम्पर्कमा आउनेहरुले सावधानी अपनाउनुहोला।।’ यति लेखेर अन्तिममा जयनेपाल! लालसलाम! को फुँदो पनि गाँसिएको यदाकदा देखिएको छ।

कति रमाइलो! कोरोना सल्काउनुसम्म सल्काएपछि ‘सचेत रहनुहोला’ रे! मास्कसँग नाता तोडेर ‘पूर्ण रुपमा सचेत हुँदाहुँदै’ रे। यसो गर्नेमा सांसद, मन्त्री, सानाठूला सबैखाले दलका अध्यक्ष, उपाधक्ष्य, महासचिव, सचिव मात्र हुन् र? पत्रकार, नागरिक अगुवा, प्राध्यापक, व्यापारी सबै छन्। कोहीभन्दा कोही कम छैनन्। 

नेपालमा कोरोना फैलाउन सबै मिलेर मरिहत्ते गरिरहँदा ओमिक्रोन संसार भ्रमण गर्दै हिँडेको थियो। नेपालले दिल खोलेर ह्वाङ्ग मुखका साथ उसलाई स्वागत गर्‍यो। छिटोछिटो फैलाउन रहर गरेझैं ठूलाठूला आमसभाहरु गरिए। कोरोना फैलाउन मरिहत्ते गर्नेहरुले मास्कलाई सपक्क लगाउने चिज नभएर यस्सो भिर्ने वस्तु सम्झिए। स्यानिटाइजर त कता फाले फाले। जूमलाई पनि जुम्सो माने। ठेगाना भुलेझैं गरे। 

पृथ्वीनारायण शाहको सम्मानमा घरमै बसेर पनि सम्झन सकिन्थ्यो। घरमै फोटो राखेर सम्मान गर्न र सो पृथ्वी जयन्ती मनाउने दिन आउनुृभन्दा पहिल्यै सरकारले २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरिसकेको थियो । त्यो अनुरोधलाई पूर्वराजादेखि राष्ट्रपतिसम्म सबैले लत्याए । भीडभाड नगरिकन पनि पृथ्वीनारायण शाहलाई सम्झन सकिन्थ्यो । डिजिटल माध्यम प्रयोग गर्न सकिन्थ्यो । राष्ट्रपति निवासभित्र माल्र्यापर्ण गर्नपनि मिल्थ्यो । समाचार आइहाल्थ्यो । झन् ठूलो समाचार बन्थ्यो। मकरमेलामा नरोकिएका पूर्वराजा सिंहदरबार अगाडि पुग्न केले रोकिन्थे? गृह मन्त्रालयको सर्कुलर भुलेर प्रमुख जिल्ला अधिकारी आफैं महोत्सव उद्घाटनमा हिँडे। कोरोनासँग बहादुरीपूर्वक भिड्नु नै सबैको साझा अजेण्डाजस्तो बन्यो। परिणाम हाम्रासामु छ। पूर्ण रूपमा अचेत हुनेहरुले नै सचेत भएको विज्ञप्ति छापिरहेका छन्। भेला, मेला र भोजभतेर नरोकिए पनि सचेत हुन त सकिन्थ्यो।

आफ्ना आफन्त, इष्टमित्र, साथीभाइलाई कोरोना लाग्दै लाग्दैन भनेझैं गरेर मास्क नलगाई हुलको हिस्सा बन्ने, अलग्ग बस्न खोज्नेलाई पनि हुलमा तान्ने अनि ‘म पूर्ण सचेत रहँदा रहँदै पनि कोरोना लागिहाल्यो, त्यसैले सचेत हुनुहोला’ भन्न कहाँ पाइयो?  

मकर मेला, माघी मेला, नयाँ वर्षको उत्सव, पृथ्वी जयन्ती, महाधिवेशन, चुनाव, विवाह, मृत्यु संस्कार, गोष्ठी, भेला, घुमघाम, खानपिन, तालिम, वार्षिकोत्सव, साधारण र असाधारण सभा सबै हाम्रा जीवनका अभिन्न हिस्सा बनिसके। कोरोना पनि हाम्रै वरिपरि फन्फनी घुमिरहेको छ। घरै बसेर जिन्दगी चल्दैन। चुलो पनि बल्दैन। त्यसो भएपछि ह्वाङ्ग मुख अभियन्ता किन बन्ने? ह्वाङ्ग मुख अभियन्ता बनेर संक्रमित बनेपछि/बनाएपछि ‘पूर्ण रूपमा सचेत थिएँ’ भनेर मुखभित्रकै एउटा जिब्रोले अर्को जिब्रो खोज्ने अवस्था किन ल्याउने?

ह्वाङ्ग मुख अभियन्ता नबनौं। नत्र त मुखमा हैन, खुट्टामा मास्क लगाएको भन्दै ग्यालेक्सी टेलिभिजनले योगेश भट्टराईलाई मात्र हैन, अरुहरूलाई पनि जिस्क्याउन थाल्नेछ। त्यसो भएपछि रूप र सारको निरर्थक बहसमा उत्रिनुपर्ने मात्र होइन, कोरोनाको दुर्दशा झेल्नुपर्ने अवस्था पनि आउँछ। 

ह्वाङ्ग मुखले केही जित्नेवाला छैन। मुख थुनौं। कोरोनाका कारण नेताहरूको मुख थुनिँदा देशले सञ्चो मान्ने अवस्था किन आयो? घर बसाइमा सबै नेताले चिन्तन मनन पनि गर्नेछन् भन्ने आशा पनि गरौं।

(२०७८ साल माघ ३ गते नेपाल लाइभ डटकममा प्रकाशित लेखलाई सामान्य परिमार्जन गरिएको)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: