जोरविजोर सरकार (कथा)

‘देशमा राजनीतिक समस्या असाध्यै चर्कियो । सत्तापक्ष र प्रतिपक्षको बोलचालै हरायो । संसद् ठप्पको ठप्प भएपछि देश कसरी चल्छ ? अदालतको हालत उस्तै । प्रधानन्यायाधीश टसको मस भएनन् । कसैले कसैको अस्तित्व नै स्वीकार्ने भएनन् । यसरी कसरी देश चल्ला ?’ चलनचल्तीका मानवअधिकारवादीले खुइय गरे ।

यसरी खुइय गरेर पनि हुन्छ ? अर्का मानवअधिकारवादीले सुस्तरी सम्झाए । 

के गर्ने त अब ? 
‘वार्ता गराउने । मध्यस्तता गराउने । कुरो मिलाउने । देश चलाउने’  वयोबृद्ध नागरिक अगुवा जोशिए । कसरी वार्ता गराउने ? कसरी कुरो मिलाउने ? एकैचोटि दुइटा प्रधानमन्त्री बनाउने ? कवि अगुवाले सोधे । ‘परिआए बनाउने ।’ चलनचल्तीका अधिकारवादीले ठुस्स परेझैं जवाफ दिए । 

……

अधिकारकर्मीहरु घनघोर छलफलमा लागे । नेताहरुलाई भेटाउने । सम्झाउने । चरण चरणमा वार्ता गराउने । देशलाई निकास दिने । 
जेनेभा, दिल्ली, हापुरे, सिक्लेस, गोदाबरी रिसोर्ट, बर्दिया…. अनेक विकल्पमा छलफल भए । 
– जेनेभा र दिल्ली लान सकिँदैन । हापुरे र सिक्लेस जान ओली मान्दैनन् । प्रचण्डसँग वार्तै गर्दिनँ भन्लान् भन्‍ने डर छ, त्यसमाथि सिक्लेसको नाममात्र लियो भने पनि बिच्केलान् भन्‍ने डर । 
– यसो गरौं न त । यसपालि जनकपुर लैजाऔं । जनकपुरको धर्मशालामा लगेर मिथिला भोजन खुवाउँदै वार्ता गराऔं । 
– यो चिसोमा जनकपुर झर्न मान्लान् र ? कसैले प्रश्न गर्‍यो । 
‘पक्कै मान्लान् । चिसो हुने गरिब गुरुवालाई हो । नेतालाई केको चिसो ? कताबाट पस्छ चिसो ? आगो, हिटर, एसी, थर्मस, तातोपानी सबैथोक भएपछि चिसोलाई च्यालेन्ज गरिहाल्छन् नि ।’ कसैले जवाफ दियो । 

……

मध्यस्थकर्ताहरुले सुरुमा मझौला नेताहरुसँग वार्ता गरे । उही पुराना वार्ताकार महरा, ज्ञवाली, सिटौलाहरु काम लागे । यसपालि शेखर र वामदेवहरु काम लागेनन् । मझौलाबाट सकारात्मक संकेत पाएपछि अधिकारकर्मीहरु बालुवाटार, बालकोट, कोटेश्वर र खुमलटारतिर दौडिए । सुरुमा केपी ओलीले वार्ता गर्ने प्रस्ताव मान्दै मानेनन् । मझौला नेताले मनाएपछि वार्ता गर्न तयार भए । जनकपुर जाने कुरामा त सबै सहमत भए । कसैले नाइँनास्ती गरेनन् । 
के चढेर जाने ? विवाद भयो । 
प्रम देउवाले भने- सेनाको हेलिकोप्टरमा डबल इन्जिन हुन्छ । त्यही मात्र चढ्न मिल्छ । 
ओलीले भने- म त क्याप्टेन थापासँग जाने हो । 
प्रचण्डले भने- म त देउवाजीसँगै जाने हो । ओलीसँग जान्‍नँ । 
माधवले भने- म पनि ओलीसँग जान्‍नँ । थापाको घरमा मलाई वार्तामा बोलाएर धोका दिएको बिर्सेको छैन । 
जनकपुरमा वार्ता गर्ने भनेपछि उपेन्द्र यादवले पनि भाउ पाए । बादल र बाबुरामलाई चाहिँ कसैले वास्तै गरेन । बाबुरामले अन्टसन्ट ट्वीट गरिरहे । 
थरीथरी हेलिकोप्टर चढेर जाँदा सकारात्मक सन्देश जाने भएन । सबैले अडान नछोडे पनि मानव अधिकारकर्मीले उपाय निकाले- ‘नेपाल एअरलाइन्सको जहाजमा जाने ।’
हिमालयमा मिल्दैन ? ओलीले फ्याट्ट सोधे। 
जनकपुरमा बोइङ बस्न नसक्ने जानकारी पाएपछि ओली नेपाल एअरलाइन्समा जान तयार भए ।  तर उनले सर्त राखे- प्रधानमन्त्री पछाडिको सिटमा बस्छु । आडमा माधव र प्रचण्डलाई राख्न पाइन्‍न । 
प्रचण्ड ठुस्स पर्दै तेस्रो लहरमा बसे । पहिलो लहरमा देउवा, दोस्रो लहरमा ओली । माधव केही नबोली चौथो लहरमा बसे । सबै नेतासँग एक-एकजना मानव अधिकारकर्मी बसेका थिए । 

……

नेताहरु जनकपुर विमानस्थलमा ओर्लिए । कोरोनाका कारण फूलमालाको व्यवस्था गरिएन । अलिअलि पत्रकार आए । फोटो खिचे । फर्किए । खासै उत्साह देखाएनन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत चाहिँ हँसिलो अनुहारसहित उपस्थित भए । सकेको खातिरदारी गरे । उनले सबैलाई जानकी मन्दिर नजिकको धर्मशालामा लगे । 
लगातार ५ दिन बैठक बस्यो । पत्रकारहरु बाहिर निर्णय पर्खिरहे । 
बाहिर सूचना चुहिने क्रम जारी थियो । भित्र निकै चर्काचर्की, घोचपेच, भनाभन र बाझाबाझ चलिरहेको थियो । देउवा मौन थिए । ओली र प्रचण्ड सुरुमा अलिअलि बाझे अनि सामसुम भए । माधव नेपाल र ओलीका बीचमा चाहिँ निकै छेडछाड चल्यो । ५ दिनसम्म बाझेपछि अन्तिम दिन मानवअधिकारवादीहरु उनीहरुको हात मिलाउनसम्म सफल भए तर अनुहार ठुस्सको ठुस्स नै रह्यो । 
दलहरुलाई मिलाउन मानव अधिकारबादीहरुले प्रस्ताव राखे- जोरविजोर सरकार चलाउने ।

ओलीले भने- हुन्‍न । चुनावपछि बहुमत ल्याइहाल्छु । अहिलेलाई केही चाहिएन । 
देउवाले भने- त्यसो भए संसद् र अदालत खोल्नुस् न त । एमसीसी खोल्नुस् न त । 
ओलीले भने- त्यो पनि हुन्‍न । 
त्यसो भए के हुन्छ त ए बाबा ? देउवा जंगिए । 
केही पनि हुन्‍न । ओली पनि जंगिए । 
वार्ता धन्‍नै भाँडियो । 
मानवअधिकारवादी कस्सिए । थामथुम थामथुम पारे । 
अन्तमा निकास निस्कियो- जोरविजोर सरकार चलाउने । जोर गते ओलीको सरकार । विजोर गते देउवा-प्रचण्ड-माधव गठबन्धनको सरकार । 
संसद्को बैठक बसेर संविधान फेरियो । आगामी चुनावसम्म देशमा जोरविजोर सरकार चल्ने भो । 

…..

जोर प्रधानमन्त्रीका रुपमा ओलीले र विजोर प्रधानमन्त्रीका रुपमा देउवाले पुनः शपथ लिए । मन्त्रिमण्डल पनि जोरविजोर भए । गाडी पनि जोरविजोर व्यवस्थाअनुसार नै मिलाइयो । प्रधानमन्त्री र मन्त्री निवासका कोठाहरुमा नम्बर लगाइयो । जोर कोठाहरु जोर मन्त्रिमण्डललाई र विजोर कोठाहरु बिजोर मन्त्रिमण्डलका सदस्यलाई दिइयो । गार्ड, सहयोगी, कर्मचारी सबैलाई जोरविजोर झल्काउने पोसाक दिइयो । संसद्मा कुर्सी व्यवस्थापन पनि उस्तै भद्रगोल भयो । आज सत्तापक्ष । भोलि प्रतिपक्ष । सबै थोकमा सबैजना झुक्किन थाले ।

जोरविजोर सरकारले नेता व्यवस्थापन त गर्‍यो तर बाँकी चीज भद्रगोल भए । 
– कार्यालय र कर्मचारी व्यवस्थापन भद्रगोल भयो । एउटालाई मन पर्ने फर्निचर एउटालाई मन नपर्ने भयो । मन्त्रीको कार्यालय नै पार्टेसन गरेर अलग अलग कार्यकक्ष बनाइयो । कर्मचारी पनि जोर-विजोर सरकार अनुरुप व्यवस्थापन गरियो । 
– जोर मन्त्रिमण्डलको निर्णय विजोर मन्त्रिमण्डलले र विजोर मन्त्रिमण्डलको निर्णय जोर सरकारले उल्टाउन थाल्यो । हरेक दिन यो तमासा चल्यो । नागरिक रनभुल्लमा परे । देश कसरी चलिरहेको हो, बुझिनसक्नु अवस्था आयो । 
– जनतासामु को बढी लोकप्रिय हुने भन्‍ने होडबाजी चल्यो । दुबै सरकारले असम्भव-असम्भव घोषणा गरिदिन थाले । पैसा ह्वारह्वारर्ती बाँड्ने घोषणा भए । एक महिनामै देशको ढुकुटी रित्तिन थाल्यो । अलि दिन त नागरिक मख्ख परे । त्यो खुसी धेरै दिन टिकेन । खर्च अभावमा सरकारी अस्पताल, क्याम्पस, कार्यालय सबै बन्द हुने अवस्था आयो । 
– अघिल्लो दिन प्रधानमन्त्री, भोलिपल्ट आन्दोलनकारी । अघिल्लो दिन आन्दोलनकारी, भोलिपल्ट मन्त्री । पर्सिपल्ट फेरि आन्दोलनकारी । यो लुकामारीले सुरक्षाकर्मी पनि आजित भए । आज भाँटा हान्यो, भोलि सलाम हान्यो । उनीहरु पनि लज्जित भए । 

जोरविजोर सरकारको चरम तमासा देखेपछि आम नागरिक मात्र होइन, पूर्णकालीन कार्यकर्ता पनि आजित भए । राजनीतिक दलका आन्दोलन, सभा र विभिन्‍न कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरु मात्र देखिन थाले । चिया पसलमा, सामाजिक सञ्जालमा, पत्रपत्रिका, टिभी र रेडियोमा राजनीतिका समाचार आउनै छोडे ।

नेताका फोटा देख्नु दुर्लभजस्तै हुन थाल्यो । पत्रकारहरु हत्तु भएर राजनीतिक समाचार कभर गर्नै छोडिदिए । नागरिकले चासो दिनै छोडेपछि त्यस्ता समाचारको पछि लागेर के हुनु ?  देशमा को प्रधानमन्त्री र मन्त्री छ भन्‍ने थाहै हुन छोड्यो । कोरोना, खेलकुद, कृषि, घुमघाम, स्वास्थ्य, खानपिन, सिनेमा, संगीत, साहित्य, नाटकमा नागरिकको चासो बढ्यो ।

सबैले वास्ता गर्न छोडेपछि नेताहरु बल्ल गले । जोरविजोर दुवै  सरकार विघटन भए । जोरविजोर सरकार विघटन भएको खबर कुनै छापाले छापेनन् । कुनै टिभीमा पनि समाचार देखिएन । कुनै एफएममा पनि बजेन । नेताहरुले सामाजिक सञ्जालमा सो खबर राख्दा कसैले पनि लाइक गरेन । सत्ताको होडबाजीबाट नेताहरु थाकेजस्तो छ । अब चाहिँ नेपाल बन्ला कि ? नेताको बेवारिसे स्टाटसमुनि एक हप्तापछि कसैले कमेन्ट गरेको देखियो । 

(२०७८ साल माघ ८ गते इकागज डटकममा प्रकाशित)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: