विगत केही महिना यतादेखि पूर्वाधारजन्य भद्रगोलका कारण काठमाडौं कुरुप र कष्टकर बनेको यर्थाथलाई अखबार र डिजिटल पत्रिकाहरुले उच्च प्राथमिकता दिइरहेका छन् । पूर्वाधारजन्य कष्ट र धरापबारे सामाजिक सञ्जाल ट्वीटरमा बहसपनि बाक्लिएको छ । आफूले देखेका अवरोधको तस्वीर र भिडियो पोष्ट गर्ने र त्यसबारे जीवन्त छलफल गर्ने, सम्बन्धित निकायलाई सामाजिक सन्जालमार्फत नै ध्यानाकर्षण गराउने प्रचलनपनि निकै बढेको छ । अवरोधबारे समाज संवेदनशील बन्न थालेको छ ।
केही हप्ताअघि शहरी विकास मन्त्री रामकुमारी झाक्रीले ढलको बिर्को राख्ने ढंग नमिल्दा भोग्नु परेको सकसबारे ब्यंग्यात्मक शैलीमा कुरा राखिन् । ब्यंग्य गर्ने शैली त्यति मिठो नभएपनि नागरिकले भोगिरहको सास्तीको यर्थाथ चित्रणचाहि थियो त्यो । सडकमा ढलको बिर्को किन ढिस्कोजस्तो बन्छ ? मोटरसाईकल पल्टियोस् भनेर ? दृष्टिविहिन ब्यक्तिलाई ठेस लागोस् भनेर ? कि काम गर्ने ढंग नमिलेर ? ढलको बिर्को हाल्ने ढंग जाँच्नेचाहि को हो ? नक्सामा त ढिस्को हुन्न । निर्माण स्थलमा ढिस्को बनिदिन्छ । यस्तो किन हुन्छ ? हामी कामको ‘फिनिसिङ’ मा धेरै पछाडी छौं । ढल बने भयो । बिर्को हाले भयो । ढल बगे भयो । ढल बनाउँदा कहाँको मसिनो फिनिसिङ हेर्ने फुर्सद ? होटलको डाइनिङ हल वा गाडीको सोरुम बनाएको हो र मसिनो फिनिसिङ गर्नलाई ढिस्को बनोस् कि जेसुकै बनोस्, कसलाई मतलब ?
शहर भन्नु आफैंमा एउटा रहर हो । प्रविधि, अर्थतन्त्र र वास्तुकलाको विकासको उन्नत स्वरुपको छाप हरेक योजनाबद्ध शहरमा देखिन्छ । कहिलेकाही कहर थुप्रिदै थुप्रिदै र तन्किदै तन्किदै गएर पनि त्यसले शहरको रुप लिन्छ । कालान्तरमा कहर चिर्दै चिर्दै एउटा भद्दा बस्तीलाई सुन्दर स्वरुप दिईन्छ । ठूल्ठूला घर, हरिया पार्क, फराकिला बाटा, जतासुकै झिलिमिलि, अनेकथरी अवसर, पसल र अनेक रामरमिता । अरु के—के चाहिन्छ एउटा राम्रो शहर बन्न ? कसैलाई कतैपनि ठेस नलाग्ने शहर अहिलेको साझा रहर हो । बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका ब्यक्ति, अपांगता नभएका ब्यक्ति सबै निर्वाध रुपमा हिड्न सक्ने शहर । अध्यारो र उज्यालो दुबैमा निर्धक्क हिड्न सकिने शहर । सरर साईकल कुदाउन सकिने शहर । सजिलै बाटो काट्न सकिने शहर । सार्वजनिक सवारी सम्झँदै आनन्द लाग्ने शहर । ह्वीलचियरका पाङ्ग्रा कतै नअल्झिने शहर । शहरमा दृष्टिविहिन ब्यक्तिलाई कतै उल्झन ब्यहोर्न नपर्ने शहर । तर हाम्रो वास्तविकता उल्टो छ । एक पैदलयात्रुको रुपमा काठमाडौंका बाटाघाटामा दैनिक सरदर १०—१२ किलोमिटरजति हिड्दा अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, बालबालिका आदिका लागि काठमाडौंका सडक र भवन संरचना धरापै धराप बनेको देखिरहेछु ।
ट्याकटाइल टायल पछ्याउँदै खाल्डोतिर…
करिब ५ महिनाअघि आर्किटेक्ट सुवास अधिकारीले ट्याकटाइल टायल हाल्ने नेपाली ढंगको दारुण चित्रको लामै लहरो सामाजिक सञ्जाल ट्वीटरमा पस्किदिए । ट्याकटाइल टायल दृष्टिविहिन ब्यक्तिलाई हिड्न सजिलो होस् भनेर हालिन्छ । यो सामान्यतया १ फिट चौडाइ र १ फिट लम्बाईको हुन्छ । ट्याकटाइल टायल दुइ किसिमका हुन्छन् । एउटा धर्के टायल जसलाई गाइडिङ ब्लक पनि भनिन्छ । अर्को थोप्ले टायल, जसलाई वार्निङ टायल पनि भनिन्छ । लामालामा धर्का भएको गाइडिङ टायलमा जुत्ताले महसुस गर्न सक्ने गरि उठेका धर्साहरु हुन्छन् । सेतो छडीको तल्लो भागको सहायताले यो टायल पछ्याउँदै दृष्टिविहिन ब्यक्तिहरु सजिलै हिड्न सक्दछन् । बाटोको दिशा परिवर्तन हुने वा टुंगिने ठाउँमा गोलो थोप्ले टायलहरु लगाईएको हुन्छ । तर ट्याकटाइल टायल लगाउने हाम्रो ढंग मिलेको छ त ? सामान्य टायल सोचेर लगाईएको छ या यसको मर्म बुझेरै लगाईएको छ ?
काठमाडौंको फुटपाथमा हिड्दा यसलाई मसिनोसंग नियाल्नुभयो भने असाध्यै खराब अवस्था देखिन्छ । पहिलो कुरो त ट्याकटायल टायल काठमाडौंका फुटपाथमा थोरै ठाउँमा मात्र लगाईएको छ । लगाईएको ठाउँको दशा देखिनसक्नु छ । फुटपाथमा मोटरसाइकल कुदाउँदा यो टायल धूलोपिठो भएको छ । यसको नियमित मर्मतसम्भारपनि हुन सकेको छैन । ट्याकटाइल टायल पछ्याउँदै जाने हो भने कि त खाल्डोमा पुगिन्छ कि विजुलीको पोलमा टाउको ठोकिन्छ कि त ह्वाङ्ग परेको वा ढिस्को बनेको मंगालमा खुट्टा ठोकिन्छ । केही महिना अघिमात्र पुतलीसडकको फुटपाथमा ट्याकटाइल टायल लगाईएको थियो । अहिले त्यहाँ जानुभो भने बाँदरले मकै कोपरेर फालेजस्तै दृश्य देखिन्छ । ठाउँ—ठाउँमा टायल उखेलेर फालिएको छ । पुरानो बसपार्क—शंकरदेव क्याम्पस जोड्ने बागबजारको बाटोमा ट्याकटाइल टायल लगाएको ठाउँमा विचविचमा विजुलीका पोलहरु छन् । त्यहाँ ट्याकटाइल टायल पछ्याउँदै हिड्ने हो भने त्यसले ठूलै दुर्घटना निम्त्याउँछ । ड्याम्मै टाउको ठोकिन्छ । यस्तो काम कसले र किन गर्छ ? कसले ठिक छ भनेर पास गर्छ ?


अजंगको खाल्डोमा, ढिस्कोमा, विजुलीको पोलमा, फोहोरको थुप्रोअघि किन टुंगिन्छ ट्याकटाइल टायलको लहर ? महानगरपालिका र शहरी विकास मन्त्रालयलाई मात्र होइन, आफैंलाई पनि प्रश्न गरौं । निर्माण सामाग्री टाँसेर, घोलेर, जमाएर वा उभ्याएर मात्र सच्चा पूर्वाधार बन्दैन । त्यो त अवरोध, ढिस्को वा मृत्युमार्ग बन्छ । राजधानीका फुट्पाथमा ओछ्याइएका ट्याकटाइल टायलले दुर्गतीको त्यही कथा भनिरहेछ ।
फुटपाथ कि अस्थायी स्टोर ?
फुटपाथ कसको सम्पत्ती हो ? त्यो पैदलयात्रीको सम्पत्ती हो । तर त्यस्तै भईरहेको छ ? यो त निर्माण सामाग्री सित्तैमा थुपार्न पाईने अस्थायी स्टोर र सित्तैमा पसल विस्तार गर्ने ठाउँ बनेको छ । माघ तेस्रो साता बागबजार र परिक्षा नियन्त्रण कार्यालय, बल्खु पुग्दा करिब ३०—४० फिट लम्बाई बराबरको भाग ढाकेर निर्माण सामाग्री थुपारिरहेको देखें । बल्खुको परिक्षा नियन्त्रण कार्यालय नजिकै आकाशे पूल बनाउन लागिएको छ । आडैको फुटपाथमा डण्डीहरु धेरै समय पहिलादेखि थुपारेर राखिएको छ । बागबजार (पुरानो बसपार्क—शंकरदेव क्याम्पस जोड्ने बाटो) मा फुटपाथको लामै खण्ड ढाकेर निर्माण सामाग्री थुपारिएको छ । यस्ता उदाहरण धेरै ठाउँमा देख्न सकिन्छ ।
मन्त्रीले छापा मारेर या एक—दुइ पटक डोजर लगेर सामान उठाउँदैमा यो समस्याको समाधान हुन सक्दैन । कताकता मात्र छापा मार्नु ? सिंगो काठमाडौंलाई डोजरले जुरुक्क उठाउन मिल्दैन । हिड्दाहिड्दै फुटपाथ गायबका उदाहरण त कति हो कति । सिंहदरबार परिसरकै उत्तर—पश्चिमी कुनोमा न्यूप्लाजाबाट अनामनगर जाँदा फुटपाथ गायब छ । त्यो कुनोमा पैदल यात्रीले निकै सकस भोग्नुपरेको छ । साँघुरो फुटपाथमा बाटै छोपेर तारको पिंजडामा ससाना रुख रोप्ने र लैनचौरमा प्लाष्टिकको दुबो विछ्याउने प्रबृक्तिप्रति ब्यंग्य गर्दै पत्रकार नारायण वाग्लेले ट्वीटरमा लेखेका छन्— ‘हरियो हुँदैमा प्लाष्टिकले अक्सिजन फाल्दैन मेयरसाप ।’



बाटोभरि कारैकार, फुटपाथमा तारैतार
काठमाडौं उपत्यका सानो छ । गतिलो हिड्ने बाटो र सुरक्षित साइकल लेन भैदिए सडकभरि कार ¥याली देख्नै पर्ने थिएन । मूलबाटोभरि कारैकार कुदिरहँदा फुटपाथमा अलपत्र फालिएको तारको गुजुल्टोले थप सकस दिइरहेको छ । तारलाई भूमिगत गर्ने वा पुरानो तार हटाउने काम खुबै चलिरहेको देखिन्छ । तर यो कामको ‘फिनिसिङ’ पनि असाध्यै लाजमर्दो छ । हटाईएका तार त्यसै गुजुल्टो पारेर फुटपाथमा छोडिददा राजधानीको फुटपाथमा हिडिरहेको छु कि चारकोसे झाँडीमा ढ्ड्डी पन्छाउँदै हिडिरहेको छु, ठम्याउन मुस्किल पर्छ । तारको यो जात्रा पुस महिनामा थापाथली सेरोफेरोमा बेहोरेको थिएँ । ढिलोचाडो तार तह लागेपनि पैदलयात्रुलाई सताउन आजकाल विधुत प्राधिकरणले नयाँ कुरो थपिदिएको छ । हिड्नै नमिल्ने गरि विधुत प्राधिकरणले फुटपाथमा ‘डिस्ट्रिब्यूसन फिडर पिलर’ राखिदिएको छ । यो दृश्य राजधानीका धेरै ठाउँमा देखिन्छ ।
महाराजगन्ज शिक्षण अस्पतालबाट अमेरिकी दूतावास हुँदै नारायण गोपाल चोकतिर जाने बाटोको वायातर्फ केही ठाउँमा हिड्नै सकस हुने गरि त्यस्तो पिलर राखिएको छ । हिड्ने बाटो ड्यामडुम्मै छोपेर फिडर पिलर राखिएको फोटो ट्वीटरमा धेरैजनाले पोष्ट गरेका छन् । विधुत प्राधिकरणको यो ज्यादति निन्दनीय छ । गाउँघरमा ‘किन लखरलखर हिड्छस्’ ? भनेर गाली गर्ने प्रचलन छ । हिड्ने मान्छेलाई काम नपाएको, बेरोजगार भएको, लम्फु भएको आदि अनेक उपमा दिने चलन छ । विधुत प्राधिकरणले पनि हिड्ने मान्छेलाई त्यस्तै बेकामे सोचेछ कि ? काम भएको मान्छे बस, मोटरसाईकल वा कार चढ्छन् भन्ने सोचेछ कि ?

थापाथलीको दृश्य


जेब्राक्रस कि ढिस्कोक्रस ?
माइतीघर—कोटेश्वर जोड्ने फराकिलो बाटोका जेब्राक्रसहरु कस्ता छन् याद गर्नुभएको छ ? जेब्राक्रसबाट वारपार गर्न करिब ९ इन्चजति अग्लो ढिस्को क्रस गर्नुपर्छ । मोटरसाइकल वा गाडी बिचबिचबाट बटारिएर फुत्त नभागून भनेर जेब्राक्रसमै ढिस्को हालिएको हो भन्ने तर्क आउला । तर त्यो सम्भावित तर्क आपत्तीजनक छ । कोही बटारिएर जथाभावी हिड्छ भन्दैमा जेब्राक्रसमा ढिस्को हाल्ने ? त्यो ढिस्कोमा दृष्टिविहिन ब्यक्तिले कसरी हिड्ने ? विच बाटोमा पुगेपछि ढिस्कोमा ढ्याक्क ठोकिने ? ह्वीलचियर प्रयोगकर्ताले कसरी बाटो काट्ने ? त्यसले कसलाई सजिलो बनाउँछ ? यस्तै दुर्दशा रिङरोडको कलंकी—कोटेश्वर खण्डमा पनि देखिएको छ । रिङरोडको यो खण्ड चर्चा गर्न लायकको पनि छैन । त्यो त बिशुद्ध अलकत्रे चौरमात्र बनेको छ ।
अब जेब्राक्रसको अर्को पाटोको कुरा गरौं । नेपालमा आँखाले प्रष्ट देख्न सक्ने ब्यक्तिका लागिमात्र जेब्राक्रस बनाईएको छ । जेब्राक्रस भएको ठाउँ आइपुग्यो भनेर थाहा दिने आवाज वा केही संकेत लगाईएको छैन । ट्याकटाइल टायल पछ्याउँदै हिड्दा जेब्राक्रस भएको ठाउँतिर पुगेपछि त्यो क्रम टुटिहाल्छ । नेपालमा उपलब्ध ट्याकटाइल टायल गाडी त के, मोटरसाइकलले कुल्चिदा पनि फुटिहाल्ने खालको छ । त्यो टायलको विकल्पमा अर्थोक केही सोच्न सकिन्थ्यो । जेब्राक्रसमा रंग पोत्नुभन्दा पहिल्यै ठाउँ पहिचान गरेर बलियोसंग मसिनो चिप्स गिटी हालेर जेब्राक्रसको भुइँ सतह खस्रो बनाउन नसकिने हो र ? सेन्सरजडित प्रविधि नै चाहिन्छ भन्ने छैन । ट्याकटायल टायल पछ्याउदै हिड्दा अब जेब्राक्रस आईपुग्यो, खस्रो सतह पछ्याउँदै बाटो काट्नुहोस् भनेर सन्देश बज्ने र ब्रेलमा छामेर पनि पढ्न मिल्नेगरि डिजाइन बनाउन नसकिने हो र ?
सार्वजनिक पूर्वाधार सबैका साझा सम्पत्ती हुन् र प्रयोगकर्ताको विविधता असाध्यै फराकिलो छ भन्ने ख्याल गरियो भने कागज र पेन्सिल लिएर बस्दा मनमा अपांगता नभएका बयस्क ब्यक्ति बाहेक जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका ब्यक्ति लगायत सबै लस्करै आईपुग्छन् । यति भएपछि पूर्वाधारजन्य अवरोध चिर्न धेरै गाह्रो छैन । आजकाल त अन्तर्राष्ट्रिय असल अभ्यास बुझ्न किताबका मोटामोटा ढड्डा पल्टाउनु पनि पर्दैन । अन्तर्राष्ट्रिय ऐन, कानून, निर्देशिका कता छन् भनेर खोज्नपनि पर्दैन । इन्टरनेट र मोवाइल फोनको सदुप्रयोग गर्ने हो भने मनभरिका जिज्ञासा मिनेटभरमा मेटिन्छ । राम्रा अभ्यास हेरेपछि स्थानीय आवश्यकता अनुसार देश सुहाउँदो हिसाबले परिमार्जन गर्न त्यति सकस छैन ।

‘म सधैं युवा नै रहिरहन्छु’, ‘अपांगता भएका ब्यक्ति घरबाहिर किन हिड्नु’, ‘केटाकटी एकदिन ठूला भैहाल्छन्’ भन्ने सोच पालियो भने हामीले बनाएका पूर्वाधार सबैका साझा हुँदैनन् । कसैका लागि सुविधा, कसैका लागि दुविधा त कसैका लागि अवरोधको थुप्रोमात्र बन्न पुग्छन् । बाटो फराकिलो हुँदैमा, घर अग्लो हुँदैमा र पार्क हरियो हुँदैमा सुन्दर हुँदैन । त्यो संरचनाले सबैलाई स्वागत गर्न सक्यो, आफ्नो सम्झन सक्यो भनेमात्र मनैदेखि सुन्दर हुन्छ ।
भीरजस्ता र्याम्प
कुनैपनि नयाँ भवन संरचना नियाल्दा म त्यो भवनकोे मूल प्रवेशद्धार कस्तो छ भनेर हेर्छु । त्यसले सबैलाई भित्र आउनु भन्छ कि भन्दैन ? सबैलाई भित्र आउनु भन्नलाई त सबैका लागि सजिलो हुनेगरि बनाउनुप¥यो । खुड्किलै खुड्किलाको पहाड चढेपछि निकै महंगो र कलात्मक ढोका देखिन्छ । धेरै सार्वजनिक भवनहरुको साझा नियति हो यो । ख्यालख्यालको भएपनि एउटा र्याम्प राख्नु आजकालको निर्माण विज्ञानको बैधानिक ‘बाध्यता¬’ हो । नक्सामा ठिकठाक हुने र्याम्प बन्ने बेलामा चाहि खेरा गएका निर्माण सामाग्री थुपारेर मोटरसाईल चढाउने भिरालो ठाउँ बनाएजसरी बन्छ । न त भिरालोपनको अनुपात मिलेको हुन्छ न त सजिलो हुनेगरि रेलिङ नै हालिएको हुन्छ । यसो कुनातिर लुकाएझैं बनाइएको हुन्छ । ठिक छ कि छैन भनेर न प्रयोगकर्तालाई सोधिन्छ न त प्रचलित मापदण्ड र निर्देशिका पल्टाएर हेरिन्छ ।
र्याम्पसम्म पुग्ने बाटो अवरोधयुक्त छ भने त्यो ढंग मिलाएरै बनाईयो भनेपनि त्यो र्याम्पको के अर्थ भो ? र्याम्पको भिरालोपनको अनुपात कति राख्ने (१ः१५ अर्थात १ फिट चढ्नलाई १५ फिट लामो बनाउने), चौडाइ कति राख्ने, रेलिङ कसरी राख्ने, भुइँ सतह कस्तो बनाउने जस्ता मापदण्डलाई ख्याल गरिएन भने त्यो हेर्ने र्याम्पमात्र बन्छ । हाम्रा सार्वजनिक भवन संरचनाका धेरैजसो र्याम्पहरु यस्तै झारा टार्ने हिसाबले बनेका छन् । अस्पतालहरुमा बाहेक अन्यत्र यो सोचविचार गर्नुपर्ने संरचना हो भनेर ख्यालै गरिन्न । भीरजस्तो र्याम्प हाम्रो अवरोधयुक्त समाज चियाउने ऐना हो ।
अक्षरका अवरोध
अब सञ्चार सम्बन्धी अवरोधका कुरा गरौं । आम नागरिकलाई सेवा प्रदान गर्ने सरकारी, गैरसरकारी सबै निकायले हरेक नेपाली नागरिकले लेखपढ गर्न सक्छन् भन्ने कल्पना गरेका छन्जस्तो देखिन्छ । त्यसैले त नागरिक वडापत्र, सूचनापाटी वा विभिन्न कार्यकक्षहरुमा प्रिन्ट गरिएका सूचना टाँसिएका हुन्छन् । नपढेका मान्छे किन कार्यालय आउने ? सायद यस्तै मनोग्रन्थीले काम गरेको छ । देशैभर लगभग एकै ढाँचाको वडापत्र राख्ने चलन छ । ठूलो फ्लेक्समा प्रिन्ट गरिएका मसिना अक्षर । एकपटक खुइलिएपछि फेर्ने चलन कहाँ छ र ? ‘नागरिक वडापत्र’ लेखेको ठूलो अक्षर बाहेक केही नबुझिंदा समेत काम चलिरहेकै हुन्छ । बडेमाको फ्लेक्सबाहेक अरु विकल्प सोचेका छौं ? दृष्टिविहिन ब्यक्तिले त्यो फ्लेक्स कसरी पढ्ने ? जेष्ठ नागरिकले मसिना अक्षर कसरी पढ्ने ? पढ्नै नसक्ने निरक्षर ब्यक्तिले सूचना कसरी पाउने ? पूर्ण साक्षर घोषणा गरिदिएसंगै समस्या सकिन्छन् ? फ्लेक्ससंगै ब्रेलमा नागरिक वडापत्र बनाउँदा के बिग्रन्छ ? ठूल्ठूला अक्षरमा प्रिन्ट गरेर किताबैजस्तो बनाएर राखिदिए कति सजिलो होला ? क्यासेटजस्तै केही बजाउन मिल्ने चीज राखिदिए कति सजिलो होला ? सांकेतिक भाषामा भिडियो अनुवाद सहित ठूलो स्क्रिनमा आवाज मार्फत सूचना दिन सकियो भने नागरिकको सास्ती कति कम होला ? न यो धानिनसक्नु प्रविधि हो न त कुनै फजूल खर्च नै ।
अवरोधै अवरोधको नमुना बनेका हाम्रा पूर्वाधारहरु हाम्रै साँघुरो सोचका उपज हुन् । निर्माण सामाग्री थुपारिएका र तार पसारिएका फुटपाथ, ट्याकटाइल टायलको विचविचमा उभिएका बिजुलीका पोल, ढिस्कोजस्ता जेब्राक्रस, डरलाग्दा भीरजस्ता ¥याम्प र अक्षर खुइलिएका नागरिक वडापत्रले हामीलाई बाटो होइन, हाम्रो सोच फराकिलो पार्न भनिरहेछन् । सिमेन्ट पोतेकै भरमा र डोजर जोतेकै भरमा शहर गतिलो बन्छ भन्ने भ्रम कहिले तोडिएला खै ?
(२०७८ साल चैत १२ गते कान्तिपुर कोसेलीमा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको)