मेरो नाम सम्यक शर्मा बगाले हो । आज म २१ दिनको भएँ। म त टन्न बुबु खान्छु, दिनभर सुत्छु, रातभर छुकछुक गर्छु। खाएर फुर्सद भयो कि म त भोक लाग्यो भनेर कराउन थालिहाल्छु। म कराएको बाआमाले बुझ्दैनन् अनि ‘लौ बालखा त रोयो’ भन्छन्। कहाँ रोएको हो र म ? म त खान द्याओ भनेर कराएको पो हो । म त दिनभर रातभर जतिखेर पनि बुबु खाएको खायै गर्छु। छिनछिनमा खान्छु। खुवाएर डाईपर फेरेपछि आमाले मलाई चट्ट पारेर प्याकिङ गरेर झोलुङ्गामा सुताउनुहुन्छ । बाले बिस्तारै झोलुङ्गो हल्लाउछन्। ‘ए मेरो सानू साथी’ भन्दै झोलुङ्गो हल्लाएको सुन्दा मलाई रमाइलो लाग्छ। कहिलेकाही त म डाइपर फेरेको १ सेकेन्डमै फोहोर पारिदिन्छु। त्यहीबेला चाहिँ मेरा बाआमाको अनुहार हेर्न लायकको हुन्छ। मलाई त मजा लाग्छ। दिक्क मानेझैं खिस्स हाँस्छन् बा ।

शुरूशुरूमा झोलुङ्गो हल्लिदा मलाई अलिअलि डर लाग्यो। बानी परेपछि त झोलुङ्गोमा सुत्न मजा हुने रहेछ। झोलुङ्गोमै मात्र बसिरहन पाए हुन्थ्यो जस्तो त लाग्दैन । बोकेर यता र उता डुलाउँदा पनि मलाई रमाइलो लाग्छ । खाटमा सुत्नचाहि अलि झ्याउ लाग्छ । मेरी आमाले मेरो लागी चिटिक्कको सिरक, डस्का, तकिया बनाइदिनुभएको छ । खाटमा सुताउँदा पनि म मेरै डसनमा सुत्छुु । मेरा लागि अनेकथोक जोहो गरेका रहेछन् । बाको त के ढंग हुन्थ्यो र ? सबै आमाकै आइडिया होला । बाले ‘हुन्छ हुन्छ रन्जु ल ल’ भने होलान् ।
म जन्मेदेखि पानी परेको पर्यै छ। मेरो कलिलो जीउले मजाले घाम ताप्न पाएको खै ? आज घाम लाग्ला भन्यो, छैन । भोली लाग्ला भन्यो, छैन । घामै देख्न पाईएन ए । घाम ताप्न नपाएपनि हिटर मन्दमन्द बालेर सेक्नचाहिँ सेक्छन्। बाआमालाई नरिवेलको तेल मन पर्दो रैछ कि क्याहो, मलाई नरिवलको तेलमात्र लगाईदिएका छन्। नरिवेलको तेलको बास्ना मन परेर होला, बा मलाई ‘ए बास्ना आउने छोरो’ भनिरहन्छन्। कहिलेकाही त तोरीको तेलपनि घसिदिए हुने हो। तर तोरीको तेलको बास्ना नरिवेलको जस्तो त के होला र ?
नर्सको छोरो हुन रमाइलो रैछ। चट्ट स्याहार पाइने। जतिखेर पनि राम्रो हुन पाइने। दुखविमार केही भए थाहा पाईहाल्ने । गाह्रोसाह्रो पर्नासाथ मेरी आमाले नजानेको केही छैन। अहिले त आमाको फूलटाइम डिउटी भन्नू नै मेरो स्याहार हो। पछि बाको जिम्ममा छोडेर हस्पिटल डिउटीमा जान थाल्नुभो भने यी बेढंगी बाले मेरो के हालत बनाउलान् खै ?
मेरा बाको मलाई स्याहार्ने ढंग खासै गतिलो छैन। न राम्ररी डाईपर लगाईदिन जान्दछन् न त मुन्टो नबांगिने गरि हात तलमाथि राखेर सपक्क बोक्न जान्दछन् न त र्यापरले सपक्क बेरेर राख्न जान्दछन्। डाइपर फेर्नुअघि युरिन म्याटमा सुताउन बिर्सन्छन् र आमाको गाली खान्छन् । र्याम्परले सपक्क पारेर बेर्न पनि जान्दछन् ।
मलाई स्याहार्न ढंग नजानेपनि अल्छीचाहिँ पटक्कै गर्दैनन्। आमालाई ‘छोरो स्याहार्न सिकाईदेउ ए न रन्जु’ भनिरहन्छन्। शनिवार र आईतबार दिनभर मसंगै बस्छन्। लुगाचाहिँ राम्ररी धोईदिन्छन्। रातभर मेरो डिउटी गर्छन्। बसमा निदाउँदै अफिस जान्छन्, फर्कदा पनि निदाउँदै फर्कन्छन् रे। यस्तै गफ गर्या सुनेथें। मेरो डिउटी गर्न थालेपछि बाले किताबसिताब पढ्न छोडिदिए । डायरी लेख्न पनि जाँगर चलाउन छोडे। मुस्किलले २(४ हरफ लेख्छन् । बच्चाबच्चीको डिउटी गर्न परेपछि केको डायरीसायरी ? हामीलाई समय दिन पर्यो नी। लौ त। आजलाई यति नै। म त सुतें है। मलाई झुपुक्क निन्द्रा लाछ । एकैछिनमा उठेर बुबु खाईहाल्ने हो म त।
(२०७९ साल जेठ २४ गते बुधबार)