म जन्मेको २५ दिन भैसकेछ। यो विचमा मेरो गाला र हातखुट्टा हरू पुक्कपुक्क भैसकेको छ। म निकै पोटिलो र रसिलो देखिएको छु रे। मेरो तौलपनि राम्रैसंग बढेको छ रे। भेट्न आउनेहरूले गफ गरेको सुन्छु। हस्पिटलमा बस्दा आफैंले चुसेर आमाको बुबु खान नपाएर हो कि किन हो, घर आएपछि म त आमाको बुबु खाएको खायै गर्ने भएको छु । निदाउँदै खाने र खाँदाखाँदै निदाउने भएको छु। निदाएको त के भन्नू खै ? ५ मिनेटमै बिउँझन्छु। त्यस्तोलाई के निदाएको भन्ने ? झकाएको भन्छन् क्यार हैन बा ?
हस्पिटलबाट घर आएको एक हप्ता म खुब निदाएँ। आजकाल त मेरो निन्द्रा कुटुने बुढीले चोरेजस्तो छ। मेरो निन्द्रा किन यस्तरी मबाट भागेको ? बेस्सरी खानुपर्ने, खाएपछि हुलुक्क गरेर फेरि खानुपर्ने। हिजोआज झोलुङ्गो पनि रमाईलो लाग्न छोडेको छ। निन्द्रा हराईपछि त झोलुङ्गोको बसाइँ दिक्कलाग्दो हुने रैछ । पछिपछि रमाइलो लाग्ला कि ?

अस्तिबाट मैले तोरीको तेलपनि लगाएँ। मेथी पड्काएको तोरीको तेल। यो तेलको गन्ध अलि कडा हुने रैछ। तरपनि लगाईसकेपछि जीउ अलि न्यानो महसुस भयो। तर नरिवेलकै तेल मिठो र हलुका।
२ दिनअघि मैले घामपनि ताप्न पाएँ। आधा घन्टाजति घाम ताप्दा मजा आयो। धेरै बेरचाहिँ ताप्न सकिन। दिनदिनै बिहानको कलिलो घाम ताप्न पाए पो । बिहानभरि बादल र कुहिरो लाग्ने रैछ। कहिले पानी पर्ने। आक्कलझुक्कल लाग्ने दिउँसोको त्यो छिप्पेको घाम कतिबेर ताप्न सक्नु ? त्योपनि जम्मा एकदिन ताप्न पाएको न हो ।
अब असार आउन लाग्यो। यो बर्खाभर त घाम ताप्न के पाईएला र खै ? बुबु खानासाथ मैले हुलुक्क गर्न थालेकोले मलाई पहिलेभन्दा बढी न्यानो गरेर राखेको छन्। हिटर बालेर कोठा न्यानो पारिरहन्छन्। तैपनि घाम भनेको घाम हो । बेलाबेलामा ताप्न कसो नपाईएला ? मेरो सेकतापमा कोइलाचाहिँ बालेका छैनन् । कोइला मन नपराउने रैछन् कि ? वरिपरि नपाईने रैछ कि ? कोइलाभन्दा हिटरकै तातो ठिक मानेका हुन् कि ?
घाम राम्ररी नलागेकोले मेरो नाना सुक्नपनि समय धेरै लागिरहेको छ। केही नानाहरू खस्रो खालको परेछन्। मलाई खस्रो नाना पटक्कै मन परेन। बच्चाको नाना खस्रो बनाउन हुन्न नी अंकल आन्टी र दादा दिदीहरु । ग्याटिस भको सुरूवालपनि मन परेन। जम्प सुट कि के नाम हो, तलमाथीको एउटै लुगा खुकुलो र नरम हुँदो रहेछ। त्योचाहिँ मन पर्यो। तर त्यो लुगा कत्रो ठूल्ठूलो हो ? मलाई ठिक्क हुने नपाईएको हो कि जस्तो भेट्यो त्यस्तै लगाईदिएका ?
लौ त। मेरो डायरी आजलाई सकियो है दादा दिदी, बा आमा र अंकल आन्टीहरू।
(२०७८ साल जेठ २८ गते शनिवार)