सम्यकको मनोवाद भाग ३ – मिलिकमिलिक र गड्याङगुडुङ नगर्नु न आकाश !

केही दिनअघि हराएको मेरो निन्द्रा फेरि फर्किएको छ । म लुटुक्क निदाउन थालेपछि बाआमालाई अलिकति भएपनि राहत भएको छ । आजकाल हरेक साँझ झमझम पानी पर्छ । पानी परेको आवाजसंगै म निदाउँछु तर मिलिक मिलिक हुन थालेसंगै अलिकति तर्सन्छु पनि । राती भएपछि आकाश बेस्सरी कराउँछ । गड्याङगुडुङ गर्छ । बेलाबेलामा मिलिक मिलिक मिल्किन्छ । चड्काने पर्लाजस्तो हुन्छ । यी सबै कुरा त म बुझ्दिन । मलाई न आकाश थाहा छ न त पाताल नै । मलाई आमाको काखमात्रै थाहा छ ।

पानीमात्र परेको बेलामा त बाआमा आत्तिनुहुन्न । शीतल हुनेभो, बच्चालाई संगीत सुनेजस्तै हुनेभो आननदले निदाउने भो भन्नुहुन्छ तर मिलिक मिलिक गर्न थालेपछि बाआमा बेस्सरी आत्तिएको देख्छु । हत्तपत्त झ्यालढोका लगाउँनुहुन्छ । बत्ती निभाउँनुहुन्छ । पर्दा लगाउँनुहुन्छ । बा मेरो कान छोप्न खोज्नुहुन्छ, आमा कुनातिर राखेर बाक्लो लुगाले छोपेर राख्नुहुन्छ । “चड्काने पर्यो भने त बालखा बेस्सरी तर्सिन्छ । तर्सिएर विरामी पर्ने हो कि ? कहाँ लगेर लुकाउने हो खै छोरोलाई ?” यस्तैयस्तै कुराले पीर मानेजस्तो लाग्छ । 

अहिलेसम्म आकाश चड्किएको त मैले सुनेको छैन तर यो खतरनाक कुरो रैछ जस्तो लागेको छ । खुरुखुरु हल्काहल्का पानी पर्नु तर धेरै गड्याङगुडुङ र मिलिकमिलिक नगर्नु न है आकाश । बच्चा तर्साउने काम किन गर्नु ? नचाहिँदो काम नगर्नु न है आकाश । अलि ठूलो भएपछि म यो आकाश भन्या के रैछ, गड्याङगुडुङ र मिलिकमिलिक गर्ने कुरो के रैछ, राम्ररी हेर्नेछु । अहिले त म यस्तो कुरो केही बुझ्दिन ।

मेरो अरु नयाँ खबर त केही छैन दादादिदी, बाआमा र अकंल आन्टी । आक्कलझुक्कल घाम तापेकै छु । अलिअलि तेल लगाएकै छु । वडा स्वास्थ्य कार्यालयमा लगेर मेरो तौल लिने कुरो सुनेको छु । निदाएपछि बेलाबेलामा म निकै मिठो हाँस्छु अरे । त्यो हाँसो खिच्नलाई म ननिदाएकै बेलामा पनि बाआमा मोवाइल बोकेर मौका पर्खिरहेको देख्छु । मेरो कस्तोकस्तो हाँसो खिचिएछ, ठूलो भएपछि हेर्नेछु । मेरो नजिक मोवाइल धेरै नल्याउनु है । खस्यो भने मलाई लाग्छ नी । लाग्यो भने त मलाई दुख्छ । यति कुरा त बुझेकै होलान् नी । बरु मेरा फोटा धुलाएर एल्बम बनाएर राखिदिनु है । मोवाइलको फोटो त आज छ भोली छैन । मोवाइल हरायो वा बिग्रियो भने मेरो बालापनको फोटो खोज्न कता जानु ?

अब अलि दिनमा मैले खोप लगाउन पर्छ अरे । के खोप हो, मैले थाहा पाएको छैन । थाहा पाएपछि भनम्ला । आजलाई यत्ति नै । 

(२०७९ साल असार १ गते बुधबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: