सम्यकको मनोवाद भाग ४– पहिलो नुवाईधुवाई र फिँजले लिएको सातो

म जन्मेको १ महिना हुनलाग्दा समेत मेरो नुवाईधुवाई हुनै सकेको थिएन । त्यो मेसो आज बल्ल जुर्यो । जन्मनासाथ मलाई पुछपाछ पारेर अस्पतालको निओनेट वार्डमा राखे । दिनदिनै पुछपाछ गरिरहे । ९ दिनको दिनमा म अस्पतालबाट घरमा आएँ । नरिवेलको तेल लगाईदिएपछि मलाई ‘बास्ना आउने छोरो’ भन्न थाले । यसो हेर्दा म एकदम सफा देखिएँ । घामै ताप्न नपाएको बच्चालाई चिसो लाग्ला कि भनेर न्वाईध्वाई गराउनतिर लागेनन् । आमाले मनतातो पानीमा रुमाल भिजाएर बेलाबेलामा पुछपाछ गरिरहनुभयो । पुछपाछ पारेपछि म चिटिक्क देखिन्थें । त्यति भएपछि त न्वाईध्वाईको कुरै हराएजस्तो भयो । मुख्य त दिनभर घामै नलाग्ने भएपछि चिसो लाग्ला भन्ने डरले न्वाईध्वाईको हतारो देखिएन ।

पछिल्लो समय मलाई अलि चटपटी हुन थालेको थियो । जीउमा घमौरापनि आउन थालेको थियो । मेरो कान चिलाउन थालेको आमालाई मेसो भएछ । कानमा घाउ आउन लागेको थाहा पाउनासाथ आमाले औषधी मगाएर कान सफा गरिदिनुभयो । अनि सानीमासंग ‘बच्चालाई आज न्वाईदिन पर्यो’ भन्नुभएछ । यति सल्लाह भएपछि आमा र सानीमा मिलेर मेरो न्वाईधुवाईको तयारी गर्नुभयो । खासमा आउने शनिवार नुवाईदिने विचार थियो रे आमाको । कानमा घाउ आएपछि त नुहाईदिईहाल्नुपर्छ भन्ने भएछ । अनि मेरो नुवाईधुवाईमा बा छुट्नुभो ।

दिउँसोतिर बुबु खाएपछि मेरो पहिलो नुवाई शुरु भयो । आमा र सानीमाले बाटा र बाल्टिनमा मनतातो पानी जम्मा गर्नुभएको थियो । आमाले काखमा राखेर आफ्नो हातले पानी हाल्दै पुछेझैं गरि नुवाईदिन थाल्नुभो । शुरुमा जीउमा मनतातो पानीले स्पर्श गर्दा त मलाई रमाईलो लाग्यो । टाउकोमा त पुछेझैं गरेर मात्र भएन । अलिकति पानी हाल्नै पर्यो । त्यसपछि त म आत्तिएँ । अलिअलि पुछेझैं गरेर जीउ भिजाएपछि फिँज दल्न शुरु भयो ।

फिँज दलेपछि त मेरो सातै गयो । के भएको यस्तो ? जीउभरी सेतो फिँजै फिँज । मनतातो पानी हाल्दै आमा र सानीमाले बिस्तारै मिचेका छन् । जति मिच्दै गयो, उति फिँज बढ्दै जाने रहेछ । म त एकछिन फिजैफिजले पुरिएँ । फिँजले पुरिएपछि त लड्छुजस्तो, चिप्लन्छुजस्तो भयो । दुखेको हो कि ? पोलेको हो कि ? के हो के हो मेलोमेसै नपाएपछि म बेस्सरी रुन थालें । धेरै नै रुन थालेपछि आमा र सानीमालाई अप्ठेरो पर्यो । मलाई सम्हाल्ने कि मैलो बिस्तारै मिच्ने कि पानी हालेर पखाल्ने ? म त चिप्लेर हैरान भैसकेको थिएँ । उहाँहरु पनि मलाई सम्हाल्न नसकेर हत्तु हुनुभो । मेरो आँखामा फिज नपरोस् भनेर निकै ख्याल गर्दै फिँज दल्नुभएको थियो आमा र सानीमाले । कानमा पानी नपरोस् भनेर कपासपनि लगाईदिनुभएको थियो ।

म रुन थालेपछि मेरो नुवाईधुवाईको गति ह्वात्तै बढ्यो । ‘नरोउ बाबु नरोउ’ भन्दै छिटोछिटो पखालपुखुल गर्न थाल्नुभो । बिस्तारै पखालेर जसोतसो फिज गएपछि मेरो रुवाई बन्द भयो । आमाले मलाई नयाँ लुगा लगाइदिएर बेरबार पारेर हिटर छेउमा लगेर राखिदिनुभयो । लुगा फेरेपछि चाहि मलाई बेग्लै आनन्द आयो । जीउ हल्का भएको महसुस भयो । चिलाएको, जीउ चटपट भएजस्तो सबै सबै ठिक भयो । टाउकोपनि असाध्यै हल्का भयो । नुहाएपछि त कति मिठो निन्द्रा पर्दो रहेछ । निकैबेर लुटुक्क निदाएँ । सेतो फिजजस्तो त्यो के दलिदिएका हुन्, त्योचाहि मन परेन । म बेस्सरी रुन थालेपछि आमा र सानीमाले धेरै फोटो खिच्ने मेसोपनि पाउनुभएन ।

टाउकोमा झोलजस्तो फिँज र जीउमा डल्लाजस्तो चीज दलेपछि फिँज बेस्सरी फिँजिने रहेछ । यी दुइथरी चीज के होलान् ? किन दुइथोक दलेका होलान् । नुवाईदिंदा बेवी साबुन, बेवी श्याम्पु भनेको सुनेको थिएँ । फिँज आउने चीजको नाम त्यही रहेछ कि ? मलाई असाध्यै डर लाग्यो त्यो फिँजसंग । मनतातो पानी र प्लाष्टिकको बाटासंग त डर लागेन । मलाई नुहाइदिंदा बापनि संगै हुनुभएको भए कति रमाइलो हुने थियो । मैले पहिलोपटक नुहाएको बाले हेर्नै पाउनुभएन । ठिक छ बा । अर्कोपटक चाहिँ शनिवार पार्न भन्नु ल ।

(२०७९ साल असार २ गते बिहिबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Design a site like this with WordPress.com
Get started