सम्यकको मनोवाद भाग ५– डाइपर जिन्दगीको कहानी

आज म डाइपर जिन्दगीको सानो कथा सुनाउछु है ।
डाइपर मेरो जिन्दगीको पहिलो कपडा हो भनेपनि हुन्छ । सालनालले बेरिएको मलाई पुछपाछ पारेपछि सबैभन्दा पहिले डाइपर लगाईयो अनि बल्ल बेरबारे कपडा (र्यापर) ले शरिर बेरियो । कागजले बनेजस्तो देखिने यो कट्टु मलाई बडो अचम्मको लाग्यो । भेट्न आउनेले ‘बालखालाई जतिखेर पनि डाइपर लगाइदिन हुन्न’ भन्नुहुन्छ । कसैले चाहिँ ‘ कपडाको टालो लगाईदियो भने बच्चालाई चिसो हुन्छ, डसना, झोलुङ्गो सबैथोक फोहोर हुन्छ, बर्षायाममा सुक्नपनि गाह्रो हुन्छ त्यसैले डाइपर नै ठिक’ भन्नुहुन्छ । कपडाको टालो लगाईदिंदा दिसापिसाबले मपनि भिज्ने, झोलुङ्गोपनि भिज्ने, कपडापनि भिज्ने र पटक्कै घाम नलाग्ने भएपछि अधिकांश समय डाइपर लगाइरहनु मेरो बाध्यता बनेको छ । त्यसो त जतिखेर पनि डाइपर लगाईदिएका छैनन् । युरिन म्याटमाथि डाइपर नलगाई बेरबार पारेर पनि मलाई राख्ने गरिएको छ ।

भोटो र डाइपर नलगाई बेरबारमात्र पारेर राखिदिंदा मलाई आनन्द लाग्छ । धेरैथोकले बेरेको, कसेको, छोपेको मलाई मन पर्दैन । जतिखेर पनि टोपी लगाईदिएको पनि मन पर्दैन । भोटो, दौरा र डाइपर फाल्न नसकेपनि टोपी त म सजिलै मिल्काईदिन सक्छु । गर्मी भयोभने टोपी फालिदिन्छु । बेरबार पार्ने कपडाले पनि कहिलेकाही बिझाउँछ । गर्मी गराउँछ । त्यस्तो बेलामा बेरबारे कपडापनि फालिदिन्छु । तर डाइपर त मैले कसरी फाल्न सक्छु र ? डाइपरले दुख दिएको बेलामा कराउने आवाज अलि भिन्नै हुन्छ रे । कुरो बुझिन्छ रे ।

शुरुशुरुमा मलाईपनि डाइपर पटक्कै मन परेको थिएन । टपक्क परेको । हेर्दै एकदम उकुसमुकुस होलाजस्तो । कम्मर बेस्सरी दुखाउलाजस्तो । अनि दिसापिसाबको भारी बोकेर बसिराख्नुपर्ने । डाइपर खोलेर दिसापिसाब कतिखेर फालिदेलान् र हलुका भएर बस्न पाईएला जस्तो लाग्ने । टालोमा झैं यसमा दिसापिसाब चुहिन्न । आफू दिसा पिसाबले ढाडिएर बस्नु परेको छ । बाहिर देख्नेले केही नदेख्ने । बोक्नेलाई आनन्द हुने । ब्यहोर्नेलाई हैरान हुने । डाइपरपनि थरिथरिका हुँदा रैछन् । कुनैचाहि कट्टुझैं लगाउने खालका । लगाउँदा जसोतसो लगाएपनि फुकाल्दाचाहि च्यात्नुपर्ने । अर्कोचाहि खुला खालको हुँदो रहेछ । दुइतिर टेपजस्तो चीज राखिएको हुँदो रहेछ । लगाउँदा त्यसलाई लगाईदिए भो । फुकाल्नपनि त्यही टेप खोलिदिए भयो । आजकाल त डाइपर लगाउने बानी परिसक्यो ।

डाइपरभित्र दिसापिसाबले ढाडिएको बच्चाको कल्पना गर्दैमा अत्यास लाग्छ भनेको सुन्छु बाले । गतिलो खालको डाइपर पर्यो भने यो बडो आरामदायी हुन्छ । पिसाब सपक्क सोस्छ । चिसो लागेको महसुस हुन्न । दिसापनि खासै लत्पतिन्न । तर गतिलो डाइपर परेन भनेचाहिँ हामीलाई एलर्जी हुन्छ । बेस्सरी चिलाउँछ । अत्यास लाग्छ । चिच्याउन मन लाग्छ । धेरैबेर लगाएर राखिदिंदा रातो बिमिरा आउँछ । मेरो ख्याल गर्नु है ।

जतिखेर पनि डाइपर लगाईरहँदा मलाई अत्यास लाग्छ । डाइपर खोलिदिएर पातलो कपडाले बेरेर राखिदिंदा ज्यान चंगा भएको महसुस हुन्छ । हामी बच्चाहरुलाई रातदिन डाइपर लगाएर नराखिदिनुस् है । कति गुम्सनु त्यो डाइपरभित्र ? बेलाबेलामा हलुका टालोले बेरेर राखिदिनुस् है । टालोलाई डाइपर सम्झेर चौबीसै घण्टा बेरिराख्नुभो भनेचाहिँ डाइपर जिन्दगीभन्दा झन् बढी दुख पाईन्छ । टालो पिसाबले भिजिहाल्छ । दिसापनि लागिहाल्छ । अनि त झन् दुख पाईन्छ ।

डाइपर लगाएर पनि सुख छैन । नलगाएर पनि सुख छैन । दिनमा कतिवटा फेर्नु ? किन्नपनि हैरान । फेर्नपनि हैरान । फाल्नपनि हैरान । डाइपर लगाइदिएको छु भन्दै फेर्दै नफेरी हामीलाई दिनभर गुम्स्याएर चाहि नराख्नु है । कहिले टालोले बेरिदिनु । कहिले डाइपर लगाइदिनु । कहिले केहीपनि नलगाई कपडाले बेरेर न्यानो पारेर राखिदिनु । त्यसो गरे हामी बच्चालाई नी आनन्द । हजुरहरुलाई नी आनन्द । छिटोछिटो बढ्नलाई खाएको खायै गर्न परिहाल्यो । खाएपछि दिसापिसाब त गर्न परिहाल्यो । अनि डाइपर र टालोको जोहो त गरिरहनै पर्यो । कसो बा आमा, काकाकाकी र हजुरबा हजुरआमा ?

(२०७९ साल असार २ गते बिहिबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: