सम्यक सम्वाद भाग ६ — काखे बच्चा नभन्नु न मलाई !

मलाई बाआमाको काख मनपर्छ । काखमा राखेर डुलाएको मन पर्छ । काखमै निदाउन मन पर्छ । बाआमालाई म झोलुङ्गोमा वा ओछ्यानमा लुटुक्क निदाओस् भन्ने लाग्दो रैछ कि ? काखमै रमाइराख्ने बच्चालाई काखे भनिँदो रहेछ क्यार, बाबु त काखे भयो काखे भयो भनेर गुनासो गरेको सुन्छु । काखमा लिँदालिँदा हातै गलेर दिक्क मानेका होलान् । मायाले काखे भनेका हुन् भने त ठिक छ । बच्चा भएपछि काखे हुनै पर्यो । तर बोक्न झर्को मानेर काखे भनेका हुन् भने त मलाई यो कुरो मन परेन ।

काखमा बस्नु, खेल्नु र सुत्नुको मजा बेग्लै छ । काख न्यानो हुन्छ । काखमा सुत्दा सुरक्षित अनुभव हुन्छ । काखमा बस्दा हातखुट्टा सपक्क बेरिएको हुन्छ । यसरी सपक्क समातेर राखेपछि लड्छुजस्तो पनि लाग्दैन । चिसो पनि लाग्दैन । झन् काखमा राखेर यताउता डुलाउँदा त बेग्लै आनन्द आउँछ । यसो हुँदा निन्द्रापनि मिठो लाग्छ । झोलुङ्गोमा हल्लिदा चाहिँ शुरुशुरुमा रमाइलो भन्दापनि डर बढी लाग्छ । रिङ्गटा लागेजस्तो हुन्छ । डरैडर मानेर हल्लिँदा हल्लिँदा त्यै रिङ्गटाले निन्द्रा लगाउँछ । त्यसरी निदाउँदा आनन्द आउँदैन ।

हल्लिएपछि मात्र निन्द्रा लाग्ने बनाईदिएपछि ओछ्यानमा चुप लागेर निन्द्रा कुरेर बस्नपनि रमाइलो लाग्दैन । ओछ्यानमा पनि लडिएला कि, खसिएला कि ? जस्तो हुन्छ । डसना गिलो हुन्छ । त्यही गिलो डसनाभित्रै खसिएला कि जस्तो हुन्छ । एक्लो महसुसपनि हुन्छ । अनि कहाँबाट निन्द्रा आओस् ? ओछ्यानमा झुल हालिदिएपछि त झन् एक्लै थुनिएजस्तो र निस्सासिएजस्तो हुन्छ । यतिधेरै डर भएपछि निन्द्रा छिटै लाग्दैन । तर काखको कुरै बेग्लै । रिंगटापनि लाग्दैन । लडिएला, खसिएला जस्तोपनि लाग्दैन । हातखुट्टा फुक्काफाल भएर उडिएला कि जस्तोपनि लाग्दैन । बाआमाको ढुकढुकी सुनिन्छ । फेरिरहेको सासपनि सुनिन्छ । सपक्क समातेर राखेका हुन्छन् । अलिअलि हल्लाउछन् पनि । सुत बाबु सुत भन्दै बोलाउछन् पनि । यता र उता डुलाउछन् । यति भएपछि न एक्लो महसुस हुन्छ । न त खसिएला जस्तो महसुस हुन्छ । न त चिसो लाग्छ । आनन्दै आनन्दमात्र हुन्छ ।

हामी बच्चाका लागि काखभन्दा आरामदायी, मायालु र सुरक्षित ठाउँ अर्को छैन । आफैं काखमा लिने, खेलाउने, सुताउने, रमाउने । अनि काखमा धेरै रमाउने बच्चालाई काखे भयो काखे भयो भनेर गुनासो गर्न पाईयो र ? जतिखेर पनि काखमा बोकिराख्दा दुख्ख हुन्छ । त्यो हामीलाई थाहा छ । तर अहिले त हाम्रो सजिलो हेर्न परेन र भन्या ? हजुरहरुले आफ्नो सजिलोमात्र हेरेर भयो र ? ननिदाईन्जेल काखमा खेलाउनु, निदाएपछि अलक्क ओछ्यानमा राखिदिनु न । निदाइसकेपछि बिउझिँदा ओछ्यानमा वा झोलुङ्गोमा आफूलाई भेट्दा हामीलाई डर लाग्छ । अनि हामी रुन्छम । त्यो त डराएर रोएको हो नी । दुख दिन रोएको हैन नी । फेरि काखमा लिइदिनुस् । खेलाउनुस् । ढ्याप ढ्याप पार्दै यता र उता घुमाउनुस् । हामी खुशी हुँदै खेल्छम । खान्छम, दिसापिसाब गर्छम । सफा गरिदिनुस् । फेरि काखमा खेलाउँदै सुताउनुस् ।

बाआमाको काखमा रमाएर खेल्ने, सुत्ने हामी बच्चाहरुलाई काखे भयो काखे भयो काखे भयो भनेर गुनासो गर्न नपाई है । काखमा बच्चा खेलाउन, सुताउन पाउँदा रमाइलो मान्नपर्यो नी । हजुरहरुलाई पनि काखमा बच्चा लिँदा बेग्लै आनन्द आउँछ होला । झन् बढी माया लाग्छ होला । बच्चा आफूसंगै भएको महसुस हुन्छ होला । हैन र बाआमा, काकाकाकी र हजुरबा हजुरआमा ?


मेरो काखे कहानी सकियो । अर्को दिन अरु नै कहानी सुनाउँछु है ।

(२०७९ साल बैशाख ५ गते आईतबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: