भेरीमा धकेलिएको मानवता

२०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको जघन्य हत्याकाण्डले धेरैको मन हल्लाएको छ । एक ‘दलित’ युवकले ‘गैरदलित’ युवतीलाई मन पराएकै कारण मानवता निर्ममतापूर्वक लखेटियो र भेरी नदीमा धकेलियो । सो घटनामा ६ जनाले ज्यान गुमाएका छन् । मारिनेमध्ये एकजनाको शरीर डोरीले बाँधिएको अवस्थामा भेटिएको खबर देखापढी डटकमले छापेको छ । यो क्रुर, पाशविक र जघन्य हत्याकाण्डको जति निन्दा पनि कम हुन्छ । गैरदलितलाई दलितले प्रेम गर्दा समाज यति क्रुर, जंगली र असभ्य रुपमा उत्रन्छ भन्ने कल्पना कसले गरेको थियो र ?

undefinedतस्वीर साभार — हिमालखबर डटकम

मान्छेलाई लखेटीलखेटी नदीमा धकेलेर मार्नेहरुले सदाझैं त्यो दिन बिहान नुहाएका थिए होलान् । पूजापाठ गरेर शंखघण्ट पनि बजाएका थिए होलान् । साँझमा बत्ती बालेका पनि थिए होलान् । हाम्रो समाज धर्मकर्ममा अडिएको छ भन्ठान्छौं । तर हाम्रो समाज पूजापाठको आँडमा धर्मको बर्को ओढेर अनेक अधर्म गरिरहेको छ । अनेकखाले पापको रचना गरेको छ । भगवानलाई समेत निर्दोष पशुको रगतले लत्पत्याउने कुकर्म गरिहेछ र धर्म गरें भन्दै दंग परिहेछ । यस्तै कुकर्मको आँडमा समाजमा मान्छे र पशुपंक्षीमाथी अनेक हिंसा थोपरिरहेछ । पशुपंक्षीमाथीको जघन्य हिंसा, घरघरमा महिलामाथी हिंसा, फरक विचार र वादमाथीको हिंसा, ‘दलित’माथी हिंसा, अपांगता भएका ब्यक्तिमाथी हिंसा । हिंसै हिंसाको पहाडमा उभिएको छ हाम्रो समाज । फरक मत सुन्नै चाहँदैन । कानूनी उपचार खोज्दै खोज्दैन । चित्त बुझेन कि मार्नुपर्छ, काट्नुपर्छं भनिहाल्छ । खुकुरी खोजिहाल्छ । भाला खोजिहाल्छ । ढुंगा खोजिहाल्छ । नदीमा धकेल्न र भीरबाट खसाल्न खोजिहाल्छ ।

दुखको कुरा, यति बर्बर हत्याकाण्ड हुँदा पनि समाज एकढिक्का देखिएन । सामाजिक सञ्जालमा कतिपय प्रतिक्रियाहरु असाध्यै संवेदनहीन देखिए । घर घेर्न किन गए, लकडाउनमा कसरी गए, छोरी अपहरण गर्न जानेलाई के गर्नु त जस्ता प्रश्नहरु औचित्यहीन छन् । हिंसाको जगमा उभिएको समाजले हिंसाको औचित्य पुष्टि गर्ने र हिंसालाई ढाकछोप गर्ने रहर गरिहाल्छ । उसलाई हिंसा अनौठो लाग्दैन ।

विभिन्न अखबार र अनलाइनमा आएका समाचार अनुसार प्रेमिकाकै सहमतीमा उनलाई लिन गएका नवराज बिक र उनका साथीहरुले प्रेमिकाको घरमा जोरजबरजस्ती गरेका छैनन् । घरभित्र छिर्न खोजेर अपहरण शैलीमा उठाउन खोजेका पनि छैनन् । डर, धाक धम्की दिएका पनि छैनन् । प्रेमिकाकी आमाले गालीगलौज गर्न थालेपछि तथा हल्लाखल्ला गर्न थालेपछि उनीहरु डराएर निस्केका छन् । आफूलाई असुरक्षित महसुस गर्न थालेपछि छिटोछिटो लम्केका छन् ।

आफ्नो घरमा दलबलसहित छोरी लिन आएपछि चिच्याउनु, कराउनु, झगडा हुनु, भनाभन हुनुलाई स्वभाभिक मान्न सकिएला । तर हत्या कुनै पनि अर्थमा स्वीकार्य हुँदै हुँदैन । हल्लाखल्ला भएपछि डराएर लुरुलुरु आफ्नो बाटो लागेका युवकहरुलाई गौडा ढुकेर, घेरा हालेर, जनप्रतिनिधिकै नेतृत्वमा लखेटीलखेटी नदीमा खेदेर मार्नु हदैसम्मको ज्यादति र अपराध हो । ‘दलित’ युवकको सट्टा गैर‘दलित’ युवकको टीम त्यसरी घरमा गएको भए मार्ने तहमा गाउँ उत्रिदैनथ्यो होला । ‘दलित’लाई जे जस्तो ज्यादती पनि गर्न सकिन्छ भन्ने पापी मानसकिताको उपज पनि हो यो घटना ।

पीडितभन्दा पीडक बलियो भएपछि हरेक अपराधलाई सर्लक्कै मोड्ने र अपराधी बचाउन जस्तोपनि झुठो प्रमाण बनाउन सक्ने हैसियत नेपाली राज्य प्रशासनको छ । र, तर, किन्तु, परन्तुले हत्या ढाकछोप गर्ने, पीडित पक्षलाई नै दोषी देखाउने, मुद्दा मिलाउने, काइते कागज लेख्ने जस्ता चलखेल यहाँ पनि हुनसक्छ । राजनीतिको आँडमा अपराधीलाई बचाउन राज्य माहिर छ । त्यसका लागी अधिकारकर्मी र समाचारमाध्यमले निरन्तर खबरदारी गरिरहनु जरुरी छ ।

आफूलाई चित्त नबुझ्ने विचार र काम दुबैलाई नसहने र मारिहाल्न खोज्ने राक्षसी प्रबृत्तिको जरो निकै गहिरो छ । मृत्युको ठेक्कापट्टा गर्नेको यहाँ कमी छैन । प्रेम गर्नेलाई लखेटीलखेटी मार्ने, फरक विचार समूहलाई सिध्याउने, चरित्रमाथी दाग लगाएर आत्महत्या गर्न बाध्य पार्ने कामको हिसाबकिताब गरिसाध्य छैन । दलितमाथीको थिचोमिचोलाई गैर‘दलित’ समाजले आफ्नो अधिकार सम्झेको छ । महिलामाथीको हेलाहोचोलाई आफ्नो बहादुरी सम्झेको छ । फरक विचार दबाउनुलाई समाजले आफ्नो कर्तव्य सम्झेको छ ।

कोही अपराधीले कोही महिलालाई प्रेम गरेको दाबी गर्छ । उसको प्रस्ताव स्वीकार नभएपछि ‘प्रेमिका’लाई नै एसिड छ्याप्छ । समाजले कथित भद्रभलादमी जुटाएर त्यही अपराधीसंग बिहे गरिदिन्छ । अर्को अपराधीले कोही युवतीलाई प्रेम गर्छु भन्छ । उसको कथित प्रेम प्रस्ताव स्वीकार नभएपछि बलात्कार गर्छ । समाजलाई कथित ईज्जतको पीर छ । अनि कथित भद्रभलादमी जुट्छन् । समाजले बलात्कारीसंग बिहे गरेर पठाइदिन्छ । बलात्कारीको परिवार र बलात्कारीले थप यातना दिएपछि युवती आत्महत्या गर्न विवश हुन्छिन् । ‘समाज’ उनलाई चरित्रहिनको बिल्ला भिराउछ र दोबाटोमा हलल्ल हाँस्छ । गाउँगाउँमा बोक्सी भन्दै महिलालाई दिसा कोच्याउनेको पनि कमी छैन । समाजसंग पापको निकै ठूलो भण्डार छ । चियाइसाध्य छैन । गनिसाध्य र भनिसाध्य छैन ।

मोहन मैनाली बर्बरताको बिस्तार (देखेको देश किताबभित्र संग्रहित) शीर्षकको लेखमा लेख्नुहुन्छ—‘हिंसा र घृणाको पशुवत् चाहना अरु जनावरमा भएजस्तै मानिसमा पनि हुन्छ । तर, त्यस्तो चाहनालाई संसारले बोकेन भने त्यो होचो हुन्छ । संसारले बोक्यो भने त्यो विशाल हुन्छ । त्यसको विशालताले सभ्यतालाई निस्सासिने अवस्थामा पु¥याउँछ । यस्तो अवस्थाको पहिलो शिकार तिनीहरु हुन्छन्, जो तिनीहरु हुन्छन्, जो तिनका पालक, पोषक र वाहक हुन्छन् ।’ मैनालीको तर्क मननीय छ । हिंसा रोप्नेहरुलाई आफूलाई रोपेको हिंसाले नै सिध्याउँछ । हिंसाको खेलमा कसैले जित्दैनन् । तर यो कुरा हिंसा गर्नेहरुले सोचेका हुँदैनन्।

हिंसाको जगमा उभिएको समाज सधैं हिंसाको हिस्सा बन्न रहर गरिरहन्छ । त्यो हिंसा चौरजहारी, नार आदि अनेक हत्याकाण्डमा प्रकट हुन्छ । त्यो क्रोधाग्नीले आफूलाई पनि डढाउछ, अरुलाई पनि सिध्याउँछ । हातमा खरानी नपरेसम्म हिंसा अघाउँदैन । चौरजहारीले आफूलाई पनि सिध्यायो, अरुलाई पनि सिध्यायो । मानवता बिरुद्धको यो कुकर्मको जति निन्दा गरेपनि कम हुन्छ । देशमा मौलाएको दण्डहीनताले हिंसालाई मलजल गरिरहेको छ । दण्डहिनताको जगमा उभिएको हिंसालाई तह लगाउने उपाय भनेको राज्यको बलियो उपस्थिति र हिंसा बिरुद्धमा शुन्य सहनशीलता नै हो । हिंसा गरे डुबिन्छ, उत्रन सकिंदैन भन्ने चेत भयो भने हिंसा भित्रभित्रै डराएर बस्छ ।

प्रहरी बनेर देश सेवा गर्ने, परिवारलाई सुख दिने, आफूले माया गरेकी युवतीलाई सुख दिने नवराज बिकको सपना भेरी किनारमा नराम्ररी निमोठिएको छ । उनीसंगै अरु ५ युवाले पनि अनाहकमा जीवन गुमाएका छन् । उनीहरुको परिवारको सहारा लुटिएको छ । ढुंगालाई पूजा गरेर मान्छेलाई मार्ने समाजले यो कुकर्मको फल पक्कै भोग्नेछ । अपराधीलाई बचाउन राज्यसत्ताले रहर गर्यो भने प्रेम र करुणा पछि पनि यसरी नै निमोठिनेछ ।

भेरी किनारमा धकेलिएको मानवताले हाम्रो समाजको क्रुर तस्वीर बाहिर आएको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक या अरु जुनसुकै आवरणमा होस्, हिंसाको हिस्सा सदा अस्वीकार्य छ । ‘दलित’ समुदायमाथी ‘गैरदलित’बाट भएको यो जघन्य कुकर्मलाई कानूनले कडा दण्ड दिनैपर्छ । कथित भद्रभलाद्मी जुटेर टालटुल पार्ने कुप्रथाको जरो नउखेलिएसम्म मानवता यसरी नै भेरीमा धकेलिनेछ । राज्य प्रशासनले गाउँगाउँसम्म बलियोसंग खुट्टा टेकोस् । चालचलन, संस्कृति र परम्पराको नाममा हिंसालाई मलजल गर्न पाईंदैन । मृतकका परिवार र घाईते सबैलाई न्यायको मलम मिलोस् ।

(हिमालखबर डटकममा २०७७ साल जेठ १७ गते शनिवार प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको)

लेकका कुरा/केकका कुरा (कविता)

देश देख्ने भए
दे
ख्ने चीज अनेक छन् ।
देश लेख्ने भए
लेख्ने चीज अनेक छन् ।
देश दुख्ने भए
दुख्ने चीज अनेक छन् ।
लेकका कुरा छोडौं ।
केकका कुरा गरौं ।

लेकमा बस्नु हुँदैन
लेक लागेरै मरिन्छ ।
लेकमा पस्नु हुन्न
लेक लागेरै मरिन्छ ।
लेकका कुरा छोडौं ।
लेक दुख्ने
लेखका कुरा छोडौं ।
केकका कुरा गरौं ।


लेकमा जानु हुँदैन ।
लेकै लागेर मरिन्छ ।
लेक खोज्दै हिडे
लेकमै थला परिन्छ ।
लेकमा बाटो काट्यो ?
तपाईंको मन फाट्यो ?
नआत्तिनु ।
म केकमै
लेक काटिदिन्छु ।
केक चोखो चीज हो ।
केकमा
लेकको माटोको
लेप लाग्नु हुँदैन ।
—२०७७ साल बैशाख २७ गते

कोरोनाले कोतरेको सम्वाद (ब्यङ्ग)

विहान के खाने ?
—ननभेज खाने ।
बेलुका के खाने ?
—भेज खाने ।
कस्ता मसला खाने ?
—‘कोरोना प्रतिरोधी’ मसला खाने ।
के मा पकाउँदा मिठो हुने रछ ?
— त्यो आगो भन्ने हुँदो रछ । दाउरा बालेर निस्कने आगो । त्यसमा पकाएको मिठो हुने रछ । सबै मिल्नी, मिठो खानी ।
सबै जनता मिल्नी अनि मिठो मिठो खानी ?
—होइन । त्यस्तो किन हुन्थ्यो ? छोरी, ज्वाई, नाती, नातिनी सबै मिल्नी । छतमा बसेर पकाउनी । मिठोमिठो खानी ।
देश ?
—यतिबेला देश एकदम शान्त छ । सुन्दर छ । सफा छ । हेरिरहु लाग्ने छ । फराकिला र सफा सडक, खुलेको आकाश, न आन्दोलन, न हल्लाखल्ला । न धूलो न धुँवा । यो सबै देख्दा मन सिमलको भुँवाझैं उडेको छ । हामीले कल्पना गरेको समाज यस्तो हो नी । सबै ‘प्रजा’ हासीखुशी छन् । सरकारले सुतिसुती र बसीबसी खुवाएको छ । केही मान्छे राजमार्गमा टे«किङमा निस्किए अरे, झोला बोके अरे, नानी च्यापे अरे भन्ने सुनेको छु । यी एकाध ट्रेकिङ गतिविधिबाहेक सबै राम्रो छ । हरेक साँझ बादल बर्सिदै पानी परिरहेकोले यी गतिबिधिपनि रोकिएलान् । त्यसैले त्यस्तो ठूलो चिन्ता लिएको पनि छैन ।
अनि बालुवाटार सन्चै छ ?
—बालुवाटार रंगीचंगी टेबुलपोस हालेर बेलाबेलामा मिटिङ बस्छ भन्ने सुनेको छु । टेबुल पोसको फोटो पनि देखें । मलाई पनि कताकता त्यो रातो मखमलको टेबुल पोसले मन तान्या छ । हामी त क्रान्तिकारी । त्यो रातो पोसले शान्त मनमा अलिकति ढुंगो हान्या छ । रातो मखमली टेबुलपोस अगाडी राखेर बालुवाटारमा बसेर यो आनन्दको अनुभूत गर्न पाए हुने हो । खैर केही छैन । वेटिङ लिस्टमा नाम निस्केको छ । कहिलेकाही पार्टीको मिटिङमा मेरो नाममा पनि रातो पोसको ब्यवस्था हुने गरेको छ ।
……………………………..
हुलका हुल मान्छे ५००—६०० किलोमिटर हिडेर गाउँ किन गैरहेछन् ?
—काठमाडौंमा खान नपाएर हिड्नुपर्ने अवस्था छैन । केही अर्जेन्टी काम परेर गएका होलान् । हामीले चोकचोकमा मिठोमसिनो चामल, तरकारी र फलफूलका प्याकेट, आलु र प्याजका पोका, साबुन, मन्जन सबै राखिदिएका थियौं । खपत हुन नसकेर बन्चरे डाँडामा फाल्नु परिरहेको छ । बाँदरलाई समेत मेयरसापले खानेकुरा बाडिरहनु भएको छ । अनि तपाईंहरु मान्छे भोकै भए भन्ने उडन्ते खबरको पछि लाग्ने ?
त्यसो भए अजीर्ण भएर लामो ट्रेकिङमा गएका हुन् त ?
—बल्ल सही कुरा गर्नुभो तपाईंले । अजीर्ण भएरै लामो ट्रेकिङमा गएका हुन् । त्यसमा कुनै शंकै छैन । शंकाले लंका जलाउने काम तपाईं मिडियाहरुले छोड्नु प¥यो । कच्ची बाटो बनबनै कति हिड्नु भनेर यसपटक कालोपत्रे सलल सडकमा सरर हिडेर गईरहेका हुन् मान्छे ।
कतिपय स्थानीय तहले त बाटोबाटोमा खाना खुवाउने, गाडी चढाउने, जुत्ता, खाजा, पानीको बन्दोबस्त पनि गरिरहेका छन् नी ?
—यो गलत हो । त्यसो गरिनु हुँदैन । हामीले काठमाडौंका चोकचोकमा पैसा, लुगाफाटो, जुत्ता, झोला सबै राखिदिएका थियौं । प्रर्याप्त भौतिक दूरी सहित । यसरी दोहोरो सुविधा लिएर राज्यकोषको दोहोलो काड्ने काम लोकतान्त्रिक गणतन्त्रको सचेत नागरिकले गर्न सुहाउँदैन । स्थानीय तहले त्यस्तो गतिबिधि गर्न पाउँदैन ।
नागरिकहरु त भोकभोकै हिडेको देखेर दयालु मनकारी र स्थानीय तहले मद्दत गरेको खबर पो आएको छ त ?
—पत्रकारले पठाएको खबर पत्याउने काम सम्पादकको हो । हामीले त सरकारी निकायले पठाएको खबर पत्याउने हो । अर्को महत्वपूर्ण कुरा, खान पाउनुजस्तै भोकै बस्न पाउनुपनि नागरिकको मौलिक हक हो । यसको ब्यवस्था हामीले मनमनै गरिसकेका छौं । त्यो प्रस्ताव संसदमा पेश भएर संविधान संशोधन हुन बाकी हो । हामीले मनमनै संशोधन गरेपछि अहिलेलाई भैहाल्यो नी । नागरिकको भोकै बस्ने, खुरुखुरु हिडेर ज्यान बनाउने अधिकार छिन्नु हुँदैन । खाना खुवाउने, गाडी चढाउने जस्ता अवाच्छित र अलोकतान्त्रिक कार्यमा स्थानीय तहका उपाधक्ष्यहरुको बढी सक्रियता छ भन्ने सुनेको छु । उहाँहरुलाई कारवाही हुन्छ ।ससाना नानी ढाडमा बोकेर पनि मान्छे हिडिरहेका छन् नी ?
—सानैदेखि लामोलामो भ्रमणमा निस्केका नानीहरु टाठा हुन्छन् । कतै ननिस्केका नानीहरु कुवाका भ्यागुताजस्ता हुन्छन् । यसरी हिड्दा नानीहरुले जंगल देख्छन् । चराचुरुंगी देख्छन् । खोलानाला देख्छन् । भोक, थकाई, पसिना, घाम, पानी सबै अनुभूत गर्न पाउँछन् । ओढारमा सुतेको, चिउरा र पानी खाएको अनुभूत गर्छन् । डा. हर्क गुरुङहरु जन्मने नै यसरी हो । ब्रोइलर कुखुराजस्ता भोलीको पुस्ता के काम ? ढाडमा बोक्ने मात्र हैन, बेलाबेलामा हिडाउनु पनि पर्छ । भोली देशको बाटो नाप्ने जनशक्ति यसरी नै तयार पार्ने हो । देशैभरी डोजर नचाउनु छ । गेज चेन्जर प्रोजेक्टहरु चलाउनु छ । त्यसो हुँदा बाटो मात्र हैन, काठका लाखौंलाख मुडा पनि नाप्नु पर्छ । यसरी हिडेका नानीहरुले त्यो गेम चेन्जरमा महत्वपूर्ण भूमिका निभाउन सक्छन् ।
नेपछि सबै राम्रै राम्रै चलिरहेको हो ?
—राम्रै राम्रै होइन । एकदम राम्रो चलिरहेको छ । काठमाडौंमा कसले के कोकोहोलो मच्चाउछ छोडिदिनुस् ।
………………………………
त्यो पीपीइ भन्या के रे ?
—त्यो भन्या मन्त्रीका पतिले भात पकाउँदा लगाउने लुगा हो । तर यसको दुरुप्रयोग भैरहेको छ । त्यो महावीर पुन भन्ने मान्छेले कीर्तिपुरतिर बसेर यो लुगा सिलाएर एम्बुलेन्स चालक, डाक्टर, नर्स आदिलाई सित्तैमा बाँडिरहेको खबर आएको छ । मन्त्रीका पतिले लगाउने लुगाको यत्रो अपमान ? त्यो पुनलाई पनि कारबाही हुन्छ । तर त्यसलाई पत्र काट्नचाहि मिल्दैन । करारको सरकारी कर्मचारी हैन त्यो । कुन मोडालिटीको कारबाही गर्ने भन्नेबारे हामी चिन्तित छौं । गम्भीर विमर्श गरिरहेका छौं ।
टेकुको पुनलाई चाहि किन पत्र काटेर बोलाउनुभएको ?
—कीर्तिपुरको पुनलाई फ्याट्ट तान्न सकिएन । कीर्तिपुरको पुनले बनाएको जस्तै लुगा टेकुको पुनले लगाएछ । पुनले मन्त्रालयको फुन नउठाउनी ?
कुरो अलि बुझिएन नी हजुर ।
—टेकुको भाइरस डाक्टरले त्यो भात पकाउने लुगा लगाएर विरामी जाँचेछ । पीपीइ लगाएर विरामी जाँच्ने ? हामीले टिर्र टेलिफोन हान्दा पीपीइ खोलेर फोन नउठाउने ? अन्तरिक्ष यात्रामा निस्केको यात्रीको स्पेस सुट हो र यस्सो खोलेर फोनै उठाउन नमिल्ने ? टिभी र पत्रपत्रिकामा भाइरस र साईरस भन्दै अन्टसन्ट बोल्ने ? हामीलाई उपचार, भाईरस, किट, पीपीई, भेन्टिलेटर अनेक अनेक सिकाउने ? हेप्ने ? हामीले त तान्दियौं त्यसलाई ।
अब क्यार्नुहुन्छ ?
—मलाई त त्यसको नामै मन पर्दैन । बड बिपक्षी नेताको नाम राख्ने ? नाम गतिलो छैन । काम गतिलो भएर चल्छ नेपालमा ? नाम फेरेछ भने केही सोच्न सकिएला । नत्र त जापानतिर गए हुन्छ । उसको उतै स्कोप छ । कोरोनासंग डाक्टरले हैन, कार्यकर्ताले लड्ने हो । डाक्टरको काम छैन ।
………………………………..
अनि साँच्चै भाइरस भन्या के हो रे ?
—मरेको चीज हो । बोसोले बेरिएको चीज हो । त्यो शेरबहादुर पुन सेल र सेल केकेजाती अन्टसन्ट बोल्छ । झेल कुरा बोल्छ तेल्ले । सेल त रोटी हुन्छ । कही भाइरसपनि सेल हुन्छ ? प्योर बोसो हो बोसो ।
अनि बच्नलाई के गर्न पर्छ ?
—आईसक्रिम खान हुँदैन । हाम्रै पार्टीबाट प्रधानमन्त्री भएका एकजना साथी उहिल्यै आइसक्रिम उद्योग उद्घाटन गर्न जानुभएथ्यो । अजब अजब… भन्दै आइसक्रिम पनि खानुभएथ्यो । अब उहाँ पनि शंकाको घेरामा पर्नु भएको छ । उहाँलाई पनि फुत्तफुत्त बालुवाटार छिर्न दिईन्न । भाइरस सर्न सक्छ ।
आईसक्रिम नखाएर मात्रै बचिन्छ ?
—त्यति सजिलै कहाँ बचिन्छ ? तातो पानीले हात धोएपछि भाइरसको बोसो पग्लन्छ । बोसो पग्लेपछि भाइरस सकिन्छ ।
त्यसोभए सरकारले तातोपानीको ब्यवस्था कसरी गर्छ ?
—अब मेलम्चीबाट चिसो हैन, तातो पानी आउँछ । बरिपरिको बन फाडेर हरेक दिन उमालेको पानी टनेलभित्र पठाउने हो । झिंगाको हैन, भाइरसको बोसो पगाल्ने हो । यति गरेपछि नेपाल कोरोनामुक्त हुन्छ । संसारभरका मान्छे नेपाल घुम्न आए हुन्छ । कोरोना संक्रमण भएका मान्छेपनि हुलका हुल बाँधेर आए हुन्छ । हामी तातो पानीले हात धोएर निको बनाएर पठाउनेछौं । मेलम्ची मात्र किन, हामीकहाँ तातोपानीका अनेक कुण्डहरु छन् । झुण्ड झुण्ड मिलेर हेलिकोप्टर चढेर कुण्डमा डुब्न गए हुन्छ । हामी बनाउँछौं नेपाललाई ।
हस्त नमस्ते ।
— केको नमस्ते ? तातो पानीमा हात डुबाउने हो । अनि ‘गुड’ गर्ने हो ।

कर्मठ कृषिसेवीको सम्झना

२०७७ साल बैशाख ९ गतेको बिहान झमझम परिरहेको थियो । रेडियोमा मधुरो आवाजमा भजन बजाउँदै पल्टिरेहको थिएँ । देशविदेशको खबर जान्न मोबाइल उठाएँ । फेसबुकको म्यासेन्जरमा किरण ठूलोबा (किरणदत्त तेवारी) को लामो म्यासेज देख्दासाथ मन चिसो भयो । प्रयाग ठूलोबा (अग्रज कृषिबिद् प्रयागदत तेवारी) विरामी भएर केही दिन यतादेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसो त पछिल्लो १० बर्ष उहाँ घर र नर्भिक पटकपटक ओहोरदोहोर गर्नुभयो । जीर्ण शरीरले नर्भिकको बेडबाट काललाई पटकपटक लखेट्यो । यसपटक उहाँ हार्नुभएछ । उहाँको शरीरले सुख पायो ।

शरीर जति जराजीर्ण भएपनि आत्मबल असाध्यै दह्रो थियो । बन्दाबन्दीले गर्दा अस्पताल र आर्यघाटमा जान सकिएन । खबर पाउनासाथ किरण ठूलोबालाई फोन गरें । उहाँ अब केही बेरमा अस्पताल जाने र आर्यघाट जाने तयारीमा छौं भन्दै हुनुहुन्थ्यो । जिन्दगीमा पढाई, पद, पैसा, मानसम्मान मात्र हैन, मलामी पनि मनग्गे कमाउनु भएको थियो प्रयाग ठूलोबाले । तर उहाँको मलामी बन्न दिएन यो बन्दाबन्दीले । मजस्तै उहाँका धेरै शुभचिन्तकले उहाँको अन्तिम दर्शन गर्न पाएनन् । गरुंगो मन लिएर किबोर्डमा औला दौडाउँदै उहाँलाई सम्झिरहेको छु ।

undefined undefined

प्रयाग ठूलोबालाई मैले चिनेको १० बर्षअघि हो । नाताले त म भतिजो पर्छु । उहाँ मेरो बाको ठूलीआमाको छोरा । उहाँको गाउँ (च्यानडाँडा) र मेरो गाउँ (बर्लाची) पनि नजिकै पर्छ । नाताले चिनजान र भेटघाट जुराएन । कलमले जुरायो । उहाँ धेरै ठूलो र अग्लो मान्छे । उहाँको नजिक पर्ने, भेट्ने मौका, मेसो जुरेको थिएन । बाको ठूलीआमाको छोरो ठूलो कृषिविद् हुनुहुन्छ, धेरै पढ्नुभएको छ, राष्ट्रसंघमा ठूलो पदमा कार्यरत हुनुहुन्छ भन्ने सुन्नेबाहेक थप केही थाहा पनि थिएन । ठूलो मनको हुनुहुन्छ, बेस्सरी धनी हुनुहुन्छ भन्नेचाहि सुनेको थिएँ । शुरुमा उहाँका भाई किरण ठूलोबासंग भेट भयो । उहाँले अन्नपूर्ण पोष्टमा छापिएको मेरो लेख (घरसंगै मन पनि हल्लिँदै) पढ्नुभएछ । अनि मलाई इमेल लेख्नुभयो । मेरो लेख आफ्ना दाइलाई पनि देखाउनु भएछ । हामी दाजुभाइ र उहाँहरु दाजुभाइको भेटघाट जुर्यो । भेट हुनु के थियो, नौलो मान्छे भेटेझैं भएन हामीलाई र उहाँहरुलाई पनि । किरणबा असाध्यै मिल्ने आत्मीय मित्र हुनुभो । प्रयागबा असाध्यै आत्मिय ठूलोबा हुनुभो ।

प्रयाग बासंग घरमा भन्दा बढी भेट नर्भिकमा हुन्थ्यो । लौ हस्पिटलमा आईसीयूमा हुनुहुन्छ भनेर भेट्न गयो, डिलक्स रुमको बेडभरी किताबै किताब । पत्रिकै पत्रिका । कहिले कहाँको खाद्य संकटभनेर केके लेख्दै, कहिले कताको भोकमरीको चिन्ता । कहिले अर्थमन्त्रीलाई बजेट भाषणमा खाद्य संकट टार्न स्थानीय उत्पादन र रोजगारीमा चासो दिनुस् भन्दै चिठी लेखिरहनु हुन्थ्यो । कहिले के । नेपालीमा मेरो कलम खरर चल्ने गरेको देखेपछि लौ त बाबु भन्न थाल्नुभयो । कुरा सुन्दै इमेल, चिठी लेखिदिंदै गर्दा कृषि कर्मसंग जोडिएका कहानी सुनेपछि मैले उहाँका बारेमा पत्रिकामा एकदुई टुक्रा लेखें । टुक्राले मन भरिएन । किरण बासंग सल्लाह गरेर किताबै लेखौं न भन्ने लाग्यो ।

पार्किन्सन्सको विरामी , धेरै कुरा भुलिसक्नुभएको । उहाँले मानेपछि म प्रायजसो बिहान २ घण्टा उहाँको घरमा जान्थें । कोट्याई कोट्याई सोध्थें । मसिनो आवाजमा आफ्ना कहानी सुनाईरहँदा कहिले आँखाभरी आँसु हुन्थें, कहिले अनुहार ६० वाटको बल्व बलेझैं हुन्थ्यो । मैले आवाज रेकर्ड गरिन । खुरुखुरु कापीमा टिपें । व्यवसायिक प्रकाशक खोज्नुभन्दा पनि रहरै रहरले बनाएकोले किताब ठिकठिकै गुणस्तरको बन्यो । बजारमा पनि राम्ररी पुगेन । तर उहाँको कहानीले मिठो आकारचाहि लियो । १००० प्रतिमध्ये धेरैजसो प्रति त किरणबाले साथीभाई, नातागोता र इष्टमित्रलाई बाँडेरै सिध्याउनुभयो । ३००—४०० प्रति त त्यसै कता हरायो कता । बाकीचाहि बजारमा पुग्यो । किताब अलिअलि सुसायो मात्रै । प्रयागबाको सानो आबाजजस्तै ।

पढ्नका लागी प्रयाग बाले दिनुभएको लगाव र भोग्नुभएको दुख असामान्य छ । न्यायधीशको छोरो, तर पिँधका नागरिकले जस्तै दुख पाउनुभएको छ, परिवारको भरपर्दो साथ र सहयोग नमिलेर । जागीरे बाको पछि लागेर काठमाडौं, सिन्धुली, बाग्लुङ हुँदै ८ कक्षासम्म पढेर फेरि परिबन्दले गाउँमै पुगेर गाई गोठालो बनेको छोरोको हातमा राती १० बजे एकथान लाल्टिन र केही पैसा हालिदिएर लखेट्नुहुन्छ आमा । त्यसरी लखेटिएको छोरो, पाल्पा, काठमाडौं, पुना हुँदै स्वीटजरल्याण्डसम्म पुग्छ । कस्सिएर धस्सिएर काम गर्छ । कृषि अधिकृत भएर जिरी जान्छ । बस्ने ठाउँको अत्तोपत्तो नभएपछि सुँगुर पाल्न बनाईएको छानो पनि नभएको खोरलाई डेरा बनाएर काम गर्न थाल्छ । बाटोमा पैसा चोरिने डरले घाँसको बीउभित्रको पैसाको पोको लुकाएर फिल्ड जान्छ । अध्यारोमा फाईलका कागज बाल्दै बाटो छिचोल्छ । कृषिको काम गर्न गएको मान्छे रातीराती लाल्टिन बालेर गाउँका युवालाई पढाउने काम पनि गर्छ । अस्पतालदेखि स्कूलसम्म खोल्छ । ४ बर्ष स्वीटजरल्याण्डमा पढ्छ । ३२ बर्षमै सहसचिव बन्छ । कृषि सामाग्री संस्थानको संस्थापक महाप्रबन्धक बनेर कुशल तरिकाले संस्थान हाक्छ । दरबारसम्मका दबाव खेपेर डटेर किसानका पक्षमा काम गर्छ ।

जिरी, खैरेनीटारका प्रोजेक्टदेखि मन्त्रालय र संस्थानसम्म काम गर्दा न ईमान बेच्छ न अल्छी गर्छ । जहाँ जान्छ किसानलाई केन्द्रमा राखेर काम गर्छ । व्यवसायिक जीवनमा पखेटा हाल्ने रहरले १७ बर्ष खाएरको जागीर छोडेर राष्ट्रसंघीय निकायमा पुग्छ । इफादमा सत्र बर्ष बिताउँछ । इटाली, भारत, थाईल्याण्ड, चीन आदि देशका कृषि विकाससंग सम्बन्धित परियोजनामा काम गर्छ । जता जान्छ, अन्न टन्न फलाउँछ । बजारमा लगेर बेच्ने अनेक उपाय निकाल्छ । आफ्नो बृत्ति विकासका खुड्किला चढ्दै जाँदा किसानलाई पनि उकास्दै जान्छ । नेपाललाई चाहि चिनाउँछ । कृषि विकासका लागी अन्र्तराष्ट्रिय कोष (ईफाद) बाट रिटायर्ड भएर फर्केपछि खाद्य संकट, स्थानीय उत्पादन र बजारीकरणका बारेमा अनेक चिन्तन गरिरहन्छ । नेतालाई भेटेर कृषिलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्न पर्यो भनिरहन्छ । प्रोजेक्ट चलाउँदैन, आफ्नै गोजीको पैसाले अध्ययन गराउँछ, छलफल चलाउँछ । देश चलाउनेलाई कृषिमा लगानी गर्न घच्घच्याउँछ । बजेटमा एक घर एक रोजगार कार्यक्रम हाल्न अर्थमन्त्रीलाई सुझाउछ । चिन्ता र चिन्तन गरिरहन्छ । शरीर थाक्दापनि मनले वायुले बायुपङ्खी घोडा कुदाइरहन्छ । केही गरौं भनिरहन्छ ।

undefined

मैले सरसर्ती प्रयाग बालाई यसरी सम्झिएँ । प्रयागदत्त तेवारी असामान्य दुख भोगेर ब्यक्तिगत उपलब्धीको धेरै सिढी चढ्न सफल तर घमण्ड, अहंकार तिलको दानो जति पनि नभएका असाध्यै गौप्राणी हुनुहुन्थ्यो । जागीर ठूल्ठूलै खाएपनि, ब्यक्तिगत उपलब्धी धेरै गरेपनि सामाजिक उत्तदायित्व मनभरी भएको, भुइँमान्छेलाई सधैं केन्द्रमा राखेर काम गर्ने, ठगठाग र छलछालभन्दा धेरै पर रहेर काम गर्ने निर्भिक र ईमान्दार प्राणी हुनुहुन्थ्यो । उहाँले तनहुँको च्यानडाँडाको आफ्नो सबै पुख्र्यौली सम्पती स्वास्थ्य चौकी बनाउन दान दिनुभएको छ । पोखरामा आफ्नी आमाको नाममा कौशिला पुस्तकालय बनाउनु भएको छ । थुप्रै पुस्तक पुस्तकालयमा राखिदिनुभएको छ ।

प्रयाग बाले विगत दश बर्षदेखि आधा कचौरा भात र एक कचौरा औषधी खानुभएको देख्दा मलाई अत्यास लाग्थ्यो । सुगर, प्रेसर, अल्सर, पार्किन्सन्स, घुँडाको समस्या के के हो के के । लुला हात किताब समाउन पनि नसक्ने भैसकेका थिए, तर गाडीभरी किताब ल्याएर धमिला आँखाले कष्टसाथ पढ्नुहुन्थ्यो । यसरी पढेको देखेर ठूलाबा तपाईंको जाँच छ कि क्या हो ? भनेर पनि जिस्क्याउथें मैले । कहिलेकाही पढेर पनि सुनाईदिन्थें । किताब दिन असाध्यै कडा । मैले पनि कहिलेकाही मागेर ल्याउथें । नाम लेखेर मात्र दिनुहुन्थ्यो । सही पनि गराउनुभो कि जस्तो लाग्छ । त्यो बानी मलाई मनपर्छ ।

प्रयागबाको जराजीर्ण शरीरले सुख पाएको छ । धेरै काम गर्न रहर भएपनि बेलैमा थलिन परेको उहाँको गुनासो थियो । २२ बर्षअघि रिटायर्ड भएर फर्केसंगै शरीरमा एकपछि अर्को रोगले गुँड लगायो र उहाँलाई थलायो । थला परेको शरीर र चंख दिमाग हुनु बडो अप्ठेरो कुरो रहेछ । मसंग उहाँ त्यति भन्नुहुन्थ्यो । चट्ट लुगा लाउनुपर्ने, मिठोमिठो खानुपर्ने, घुम्नुपर्ने रहर । लेखपढ गर्ने रहर । ठूल्ठूला काम गर्ने रहर । तर गलेको शरीर । कृषिसेवी तेवारीको व्यवसायिक जीवनलाई स्यानो किताबमा केही हदसम्म भएपनि उतार्न सकेकोमा मलाई सन्तोष लागेको छ । उहाँको आत्मा सुखी रहोस् ।

(२०७२ साल बैशाख १० गते हिमालखबर डटकममा छापिएको लेखलाई परिमार्जन गरिएको)

राजमार्गको कहर र बालुवाटारको बाक्लो कान

मिलन बगाले
कोरोना संक्रमणबाट जोगिनका लागी बन्दाबन्दी लम्बिदै जाँदा यसका दुइथरी परिणामहरु देखिएका छन् । संक्रमण फैलिने क्रम असाध्यै न्यून हुनु यसको सकारात्मक परिणाम हो । रोजगारी गुम्दा तथा राहत वितरण प्रभावकारी नहुँदा दैनिक ज्याला मजदूरीमा बाँच्ने नागरिक सोलुखुम्बुबाट कैलालीसम्म पैदल यात्रा गर्न विवश हुनु यसको दुष्परिणाम हो ।

वीपी राजमार्ग तथा पृथ्वी राजमार्ग हुँदै घर जानका लागी यात्रा तय गरिरहेका नागरिकको तस्वीर मन हल्लाउने खालको छ । ससाना नानी च्यापेर, टाउकोमा सानो झिटीगुन्टा बोकेर, पातलो जुत्ता वा चप्पलको भरमा कालोपत्रे चकमन्न सडकमा मन अध्यारो बनाएर लामो यात्रामा निस्केका नागरिक देख्दा चित्त चिमोटिन्छ । कागजको लोककल्याणकारी राज्यलाई राजमार्गको यो दृश्यले नराम्ररी गिज्याइृरहेछ । पैदल यात्रा गर्दा पनि राज्य भाजो हालिरहेछ । समात्ने, अघि बढ्न नदिने, खानलाउन पनि नदिने । कस्तो अचम्मको ब्यवस्था हो यो ?

बन्दाबन्दी कडाई गरिनुपर्छ । त्यसमा दुईमत छैन । तर पेटबन्दी कसरी स्वीकार्य हुन्छ ? खानलाउन पाउँदापाउँदै ४००—५०० किलोमिटर यात्रा गर्ने रहर कसलाई हुन्छ ? बन्दाबन्दी पालना नगरेको भन्दै घर जान खोज्नेलाई सरकारले थुन्ला रे लौं । थुनेपछि खान दिनुपर्छ । बास बस्न दिनुपर्छ । राज्यलाई त्यो थाहा छ । त्यसोभए नथुनिकन सहज घर फिर्ती वा रासनको व्यवस्था गर्ने ईच्छाशक्ति बालुवाटारले किन नगरेको ? सरकार आजकाल सिंहदरबारमा छैन । बालुवाटारमा सुतिरहेछ । बालुवाटारले अनागरिकको नियति भोगिरहेको आवाज सुनिरहेछ ?

आन्तरिक द्धन्द्धका कारण देश छोडिरहेका शरणार्थीको तस्वीर हामीले विगतमा धेरै देख्यौं । आफ्नै देशमा शरण पनि दियौं । यतिबेला काठमाडौंबाट दाङ, कैलाली, विराटनगर, जनकपुर र अझ टाढाटाढा जान झोला बोकेर हिड्न विवश नागरिकको तस्वीर डिजिटल पत्रिकामा हेरिरहँदा त्यस्तै नमिठो अनुभूति हुन्छ । मानौं मजदुर हुनु भनेको राज्यविहिन हुनु हो । केही स्थानीय तह र स्थानीयवासीले खाने ब्यवस्था, लुगा र जुत्ताको व्यवस्था, एकाध ठाउँमा गाडी खोजिदिने जस्ता सुखद खबरपनि आएका छन् । तर यो संख्या झिनो छ ।

केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई यो संकट ब्यवस्थापन गर्नका लागी बलियो भर दिएका हुन्थे भने नागरिकले यस्तो दुर्दशा भोग्नु पर्ने थिएन । सेना, सशस्त्र र जनपद प्रहरीले हरेक दिन केही ट्रक र बस यस्ता उपकारी काममा प्रयोग गर्न सक्छन् । उनीहरुको आफ्नै पेट्रोल पम्प पनि छ । प्याब्सन र एन प्याब्सनका बस त्यसै थन्किएका छन् । सरकारले आव्हान गरे, सहजीकरण गरिदिए सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर अप्ठेरामा परेका नागरिकलाई घरसम्म पु¥याउन उनीहरुको मद्दत लिन पनि सकिन्थ्यो । तर बालुवाटारले यतातिर ध्यान दिएको छैन । अवस्था कतिसम्म दर्दनाक छ भने केही दिन हिडेर घरछेउ पुगेका ब्यक्ति (ज्वालामुखी गाउँपालिका, धादिङका होम बहादुर राना) बार हालिएको पूल रातको मौका पारेर तर्न खोज्दा ज्यान गुमाएका छन् ।

राहत वितरणका नाममा केही स्थानीय सरकारले राम्रो काम गरेका छन् । केहीले भने यसलाई असाध्यै विकृत पनि बनाएका छन् । सर्वसाधारणलाई आहत पनि बनाएका छन् । ठूलो भीड थुपारेर एक पोका नुन चार परिवारलाई, एक डाडु तेल, २ मुठी मुसुरो बाड्नुलाई राहत बाडेको भनिन्छ ? पोखरा महानगरपालिका वडा नं १७ घारीकुलो टोलको खबर हो यो । यो प्रतिनिधि घटनाले राहतलाई कसरी विकृत बनाईएको छ भन्ने बुझाउँछ । राहत अप्ठेरोमा परेका नागरिकको अधिकार हो । गरिबीलाई यसरी उपहास गरिनुहुन्न । यस्ता घट्ना रोक्न प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनु जरुरी छ । फाटेका लुगा, कुहिएको चामल र आलु बाड्ने बिकृतिको पनि जरा उखेल्नुपर्छ ।

बन्दाबन्दीले नागरिक घरभित्र थुनिएसंगै तत्काललाई संक्रमणको जोखिम टरेको छ । बन्दाबन्दी र बढी भन्दा बढीमा संक्रमण परिक्षण —दुबै काम समानान्तर रुपमा गर्न नसके नागरिक घरको चौघेरो नाँघेर बाहिर निस्केको दिन भाइरस भाइरल भैहाल्छ र यतिका समय थुनिएर जोगाएको उपलब्धी एकैछिनमा खरानी हुन्छ भन्ने कुरा सरकारले बुझ्नु जरुरी छ ।

नेताको पछाडी गाडीको लामो लस्कर अझैं कुदिरहेको छ । मन्त्रिपरिषदको बैठकमा टेबुलपोसमा समेत ३ तहको व्यवस्था छ । प्रधानमन्त्रीको टेबुलमा रातो मखमलको कपडा, मन्त्रीको टेबुलमा सेतो फिरफिरे कपडा र प्रधानमन्त्रीको आँडैमा पछाडिपट्टि बसेका मुख्यसचिवको टेबुल कपडाविहिन । राज्यको सामन्ती सोचको प्रतिबिम्ब त मन्त्रीपरिषद बैठकमा गरिएको तीन तहको व्यवस्थाले नै झल्काउँछ । देश लोकतान्त्रिक गणतन्त्रको आर्दश अनुसार हैन, जर्ज अरबेलको ‘एनिमल फार्म’ मा रचिएको व्यवस्था अनुरुप चलिरहेको छ भन्ने त यै उदाहरणले बुझाउछ । मन्त्रीपरिषदको टेबुलपोस ब्यवस्था र घर फर्किन एकहप्ता लामो यात्रामा निस्केका नागरिकको विवशताले नै देशको बेथिति ब्यवस्थाबारे बोलिरहेको छ ।

अब खेतीपातीको मौसम नजिकिदैंछ । भाइरसले लगाएको नाकाबन्दी हत्पती खुल्नेवाला छैन । त्यसैले यतिबेला हरेक दाना अन्नको महत्व छ । अन्न फलाउने हातलाई एकडाडु तेल, दुईमुठी नुन र तीनमुठी मुसुरो दिएर आहत बनाउन सुहाउन्न । किसानलाई सुरक्षित तरिकाले पहिला घरमा र त्यसपछि खेतमा पु¥याउने दायित्व सरकारको हो । मल, बिउ र उपलब्ध औजारहरु किसानको हातहातमा पु¥याउन पर्छ भन्ने दायित्वबोध पनि हुनु जरुरी छ । मान्छे नभएर पटपटी फुटेका बाँझो बारीमा जीवन फल्ने बर्ष हो यो । खेतीपातीले यति धेरै मान नपाएको बर्षौ भैसकेको थियो । खेतीपाती र किसानले पाएको मानले मात्र माना, पाथी र मुरी भरिन्न । यसका लागी बालुवाटारको बन्द कान खुल्नु जरुरी छ ।

भाइरस संक्रमणबाट जोगिन लकडाउन र ठूलो मात्रामा परिक्षणको विकल्प छैन । जो जहाँ छ, त्यही सुरक्षित तरिकाले बस्ने ब्यवस्था गर्नु सबैभन्दा उत्तम विकल्प हो । तर राशन वितरणको प्रभावकारी व्यवस्था हुन सकेनन् भने जनताले पेटबन्दी सहन सक्दैनन् । त्यस्तो अवस्थामा अप्ठेरामा परेका नागरिकलाई पूर्ण सुरक्षात्मक उपाय अबलम्बन गर्दै पहिला घरमा र अनि खेतमा पुग्ने उपाय अबलम्बन गरिनुपर्छ । निरंकुश तरिकाले नागरिकलाई भोकभोकै थुन्न सकिंदैन । घर जान पाउनुपर्ने माग गर्दै भारतको मुम्बईस्थित बान्द्रा रेल्वे स्टेशनमा हजारौं मजदूरहरुले गरेको प्रदर्शनबाट हामीले बेलैमा पाठ सिक्नुपर्छ । त्यस्तो अवस्था आएमा हप्तौंको बन्दाबन्दी तासको घर बन्छ ।

भोको पेटले आत्तिएका नागरिकको आवाजप्रति बालुवाटार सम्वेदनशील बन्नैपर्छ । बाटोमा निस्किए थुनिदिन्छु भनेर हुँदैन । कोही रमाईलो गर्न निस्कन्छ, जाँड खान निस्कन्छ भने थुनिदिए हुन्छ । तर बाँच्ने आधार नभेटेर हप्तौं हिडेर घर जान कोही कस्सिन्छ भने ती नागरिकको आवाज सरकारले सुन्नुपर्छ ।

समाचारको मुहान थुनेर सन्चो मान्ने, कान थुनेर सुत्ने काम लोकतान्त्रिक गणतन्त्रलाई सुहाउन्न । उच्च पदस्थ ब्यक्तिले तलब भत्ता राहत कोषमा हालेर मात्रै पनि कर्तव्य पूरा हुँदैन । काम राम्ररी गरिदिए निजी रकम त एकपैसा नहाले पनि हुन्छ । यतिबेला रकमको दुख छैन । फुर्मासका लागी छुट्याईएको बजेट रकमान्तर गर्नासाथ नागरिकलाई राहत दिन, सहायता दिन, उपचार गर्न, उद्दार गर्न जति पनि पैसा पुग्छ ।

बालुवाटारभित्र थुनिएर चुपचाप बस्ने, भोको नागरिकलाई जता भेट्यो त्यही थुनिदिने मानसिकताबाट बालुवाटार मुक्त होस् । नागरिकको पीडा बालुवाटारको बाक्लो कानले सुनोस् । एकपछि अर्को गल्ती गरेर देश जोगाउन सकिंदैन । बन्दाबन्दी र परिक्षणसंगै अप्ठेरामा परेका हरेक नागरिकका लागी राज्यले आफ्नो कर्तव्य पूरा गरोस् । कोरोनासंगको लडाईं अप्ठेरो छ भन्ने आत्मसात गर्दै काम गर्न सकेको दिन बालुवाटारको पनि जय होस् ।

(२०७७ साल बैशाख ६ गते हिमालखबर डटकममा प्रकाशित लेखलाई परिमार्जन गरिएको)

राहतको राजनीति र राज्यको उपस्थिति

मिलन बगाले
कोरोना संक्रमणको डरले देशमा बन्दाबन्दी छ । बन्दाबन्दीले दुख दिएको छ । तर यो दुखलाई हामीले स्वीकार्नै पर्ने भएको छ । कोरोनाबाट बच्न योभन्दा प्रभवकारी उपाय हामीसंग छैन । बन्दाबन्दीले गर्दा धेरैको काम, पेशा, व्यवसाय सबै ठप्प छ । मध्यम बर्गले त केही हप्ताको लागी खाद्य सामाग्री जोहो गरेका होलान् । तर दैनिक ज्याला मजदुरी वा ससानो पसल गरेर जीविका चलाउनेहरुलाई यो संकट झेल्न सहज छैन । असाध्यै फारो गरेर चलाउँदा पनि हप्तौको बन्दाबन्दी झेल्ने सामथ्र्य छैन । यसर्थ यतिबेला राज्यको उपस्थिति जरुरी छ । मानवीय सहायता प्रदान गर्ने संघसंस्थाले पनि अरु काममा छुट्याईएको बजेट रकमान्तर गरी यो कार्यमा हातेमालो गर्न जरुरी छ । राहत र जनचेतनाको विस्तारमा लगानी नै यतिबेलाको साझा लक्ष्य बन्नु जरुरी छ ।

अप्ठेरोमा परेका नागरिकको समस्या सामाजिक सन्जाल र डिजिटल पत्रिकामार्फत महसुस गर्न सकिन्छ । अप्ठेरोमा परेका नागरिकलाई सघाउने नाममा प्रचारका गरिबहरुले गरेको तमासाको नमिठो दृश्य पनि सन्जालको जन्जालमा बारम्बार ठोकिन आईपुग्छ । एक—दुई किलो आलु, नुन वा चामलको पोका १० जनाले समाएर दिएको दृश्यले राज्य बलियो नबनेको महसुस हुन्छ । गाउँगाउँमा सिंहदरबार छ । तैपनि किन यस्तो तमासा चलिरहेछ ?

भएभरको बिकास बजेट, सांसद विकास कोषको बजेट, नगरपालिका र गाउँपालिकाका घाँस उखेल्ने, गेट र टावर बनाउने, अनेक तालिम र भ्रमणका बजेट त्यसै खेरा जानेवाला छ । अनि त्यही बजेटले अप्ठेरामा परेका नागरिकलाई सघाउन सरकारले बाटो किन नखोलिदिएको ? एक हातमा क्यामरा र अर्को हातमा त्यही क्यामेराजत्रै राहतको पोको बोकेर मान्छे किन दशतिर डुलिरहेका ? स्थानीय सरकार प्रभावकारी नभएर ।

जत्रोसुकै पोको होस्, वडा कार्यालय, नगरपालिका वा गाउँपालिकामा सो राहतको पोको बुझाई जनप्रतिनिधि र सरकारी निकायकै हातबाट सर्वसाधारणमा पुग्नु जरुरी छ । जनतालाई किन निरीह बनाउनु ? सरकारबाट सहायता सामाग्री पाउनु अधिकार हो । दलले दिएका सामाग्रीले पछि चुनावका बेलामा पोल्छ । अहिले पोका बाड्नेले पछि पेल्छन् । धार्मिक संघसंस्थाले पनि आँधी थामिएपछि बिस्तारै पेल्दै जान्छन् । कि गुठी, आमा समूह, टोल सुधार समूह, युवा क्लबजस्ता सामाजिक र सांस्कृतिक संस्थाहरुमार्फत राहत, उद्दारका काम हुनुपर्छ या त सरकारी निकायको अगुवाईमा अरुहरुको भूमिका गौण हुने गरी, अनुगमन मात्र गर्ने गरी यस्ता कामहरु गरिनुपर्छ । राहतको राजनीतिबाट जनता जोगाउनु पनि जरुरी छ । यस्तो बेलामा धर्म किनबेचको पनि डर हुन्छ । सो कामबाट पनि जनता जोगाउनु पर्छ ।

जोखिम लिएर राहत बाडिरहेछु भनिरहेछन् विभिन्न संघसंस्थाका प्रतिनिधि । सबैको मनमा प्रचारको भोक छैन । निस्वार्थ सेवा गर्नेहरु पनि कम छैनन् । तर अहिले जोखिम लिन्छु भन्न पाईने बेला हो र ? जसले जोखिम लिन्छ, उसले संसार सल्काउँछ । त्यसैले संघ, प्रदेश र स्थानीय तहको सरकारले प्रभावकारी रुपमा एकद्धार मार्फत यस्ता कामहरु गर्नुपर्छ र अरुलाई घरभित्रै सीमित गर्नुपर्छ । नागरिकको आवाज सुन्नुपर्छ । नसुनिने आवाज पनि खोज्दै हिड्नुपर्छ । सबैको चुल्हो नियमित रुपमा बल्नुपर्छ । तर यो कामलाई तमासा बनाउनु हुँदैन ।

मञ्च बनाएर, आसन ग्रहण गरेर, खादा र माला लगाएर, लामो भाटाले अलक्क अलिकति सामान गजक्क परेर बाँडेर बडप्पन देखाउनु हुँदैन । गाउँठाउँ वा टोलको खुल्ला ठाउँमा प्रर्याप्त भौतिक दूरी राखेर सामान राखिदिएर एक एक जनाले आ—आफ्नो राहत सामाग्री लिन जाने बन्दोबस्त मिलाउनुपर्छ । पक्का पीडित र कच्चा पीडित छुट्याउन पनि सक्नुपर्छ वडा कार्यालयहरुले । यो हरेक चीज फारो गर्ने बेला हो । प्रत्येक वडा कार्यालयहरुले यतिबेला खाद्यान्न र अत्यावश्यक सामाग्रीको गोदाम बनाउनु र जोगाएर राम्ररी वितरण पनि जरुरी छ । वडा कार्यालय, विद्यालय भवन वा चौर सहितको खाली ठाउँमा प्रर्याप्त भौतिक दूरी कायम राखी, भीडभाड नहुने गरी ती सामाग्री सुरक्षित तवरले वितरण गरिनुपर्छ ।

राहत वितरणको काम गर्दा र राहत कोष बनाउँदा कतिपय स्थानीय तहले प्रशंसनीय काम गरेका छन् । हेलम्बु गाउँपालिकाले गरेको कार्य प्रसंशनीय छ । गाउँपालिकाले थप दुईजना डाक्टर नियुक्त गरेर घरघरमै घुम्ती स्वास्थ्य सेवा उपलब्ध गराई कोरोनाबाट बच्न जनचेतना बाड्ने बन्दाबन्दीको प्रभावकारी कार्यान्वयन गराउने, काठमाडौं लगायत अन्य ठाउँबाट उपचार गरी आउने स्थानीयवासीलाई अनिवार्य रुपमा स्थानीय स्तरमा बनाईएको क्वारेन्टाइनमा सुरक्षित तवरले राख्ने काम भैरहेको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उनको टिमको खटाई असाध्यै लोभलाग्दो छ । उनीहरु अधिकांश घरका पुगि जनताको समस्याबारे जानकारी लिएका छन् । गाउँपालिकाको फेसबुक पेजमार्फत सूचना प्रभावकारी रुपमा बाड्ने काम पनि हेलम्बुले गरिरहेको छ । अति संवेदनशील तथा दीर्घरोगीहरुको लागी नियमित औषधी अभाव भएको खण्डमा गाउँपालिकाले औषधी उपलब्ध गराउने सूचना पनि फोन नम्बरसहित सामाजिक सन्जालमा राखिएको छ ।

यस्ता उदाहरण अन्त पनि छन् । तर कहीकतै त लाजमर्दो तमासा भईरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय असाध्यै लाजमर्दो छ । २०७६ साल चैत २३ गते धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिलाई पत्र लेख्दै उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा पदाधिकारीले १५ दिनको तलब तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीले १० दिनको तलब जम्मा गरिदिन अनुरोध गरेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भयो । यो त सशस्त्र युद्धताका माओवादीको गाजस (गाउँ जन सरकार) ले गरेको उर्दीजस्तो पो भयो । ज्यानको बाजी लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीलाई काम गर्न प्रोत्साहन दिने, आवश्यक सुरक्षात्मक उपकरणहरुको व्यवस्था गर्नु त कता कता, तलब भत्ता बुझाउने उर्दी दिनु निन्दनीय छ । सायद संसारभरकै नराम्रो उदाहरण हो यो । उपमहानगरपालिकासंग फ्रिज भएर जाने, बेकारमा खर्च गरेर फाल्ने बजेट कति होला कति । चिकित्सक र स्वास्थ्यकर्मीसंग पैसा उठाएर राहत कोष मोटो बनाउने आईडिया कसले निकाल्छ कुन्नि ?

राहत वितरणकै सन्दर्भमा तनहुँको भानु नगरपालिकाले पनि अविवेकी निर्णय गरेको छ । बोर्डिङ स्कूलमा छोराछोरी पढाउने अभिभावकलाई राहत नदिने रे । कति निन्दनीय काम । राहत नपाउने ती अभिभावक खानेकुरा खोज्दै र भौतारिदै हिडे भने र त्यसरी हिड्दा कोरोना भाइरस बोकेर भानुमा ल्याए भने त्यो भाइरसले सरकारी स्कूलमा पढ्ने र पढाउनेलाई डस्दैन ? घरछेउको सिंहदरबार किन यस्तो विवेकहीन बनेको होला ?

बालुवा चालेर, गिटी कुटेर, तरकारी बेचेर, दूध बेचेर, ज्याला मजदुरी गरेर कयौं अभिभावकले छोराछोरी बोर्डिङ स्कूलमा पढाएका छन् । छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिन अभिभावकले मरिहत्ते गर्नु न पाप हो न अपराध । यति ठूलो महामारीमा यस्तो विवेकहीन र पूर्वाग्रही निर्णय गर्नु हुँदैन । जनप्रतिनिधिले यति सानो मन गर्नु हुँदैन । ज्यानमारा, हत्यारा, बलात्कारी, तस्कर र अनेक अपराधीहरु जेलभित्र थुनिएका होलान् । भ्रष्टचारी पनि होलान् । यिनलाई राहत दिन्न भन्ने राज्यले ? कैयन देशले कैदीलाई समेत अस्थायी रुपमा रिहा गरेका छन्, मानवीय सुविधा उपलब्ध गराएका छन् । हाम्रा जनप्रतिनिधि बोर्डिङमा पढाउनेलाई अपराधी जस्तो बनाएर तमासा गरिरहेछन् ।

गरिब होस् या धनी, यो बन्दाबन्दीमा चुल्हो सबैको बल्न पाउनुपर्छ । किन्न सक्नेले सुरक्षित रुपमा किन्न पाउनुपर्छ । ज्याला—मजदुरीमा बाच्नेको चुल्हो बाल्ने आधार राज्यले दिनुपर्छ । ससाना पोका र ठूल्ठूला फोटाको विकृति बन्द गरी राज्य संयन्त्रको ढोकाबाट सम्मानजनक तरिकाबाट राहत वितरण हुनुपर्छ । असल काम गर्ने र खराब काम गर्नेलाई एउटै नजरले हेरिनु पनि हुन्न ।

भाईरस फैलिएको रहेनछ भन्दै हामी मख्ख पर्ने बेला छैन । संसारभर कोरोना छ । देशभित्र पनि धेरथोर देखिएको छ । धेरै जनालाई जाँचिएको पनि छैन । कही कतैबाट छिसिक्क छि¥यो भने खरबारीका डढेलोजस्तै बन्छ देश । यो तथ्यलाई बुझेर बन्दाबन्दीको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । चुल्हो बल्ने आधार भत्किएको दिन कोरोनाभन्दा ठूलो समस्या भोक बन्छ । यसका लागी जनप्रतिनिधि विवेकी बन्नुपर्छ । प्रचारबाजी र पूर्वाग्रहभन्दा माथी उठेर जनतालाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारले एक आपसमा समन्वय गरी काम गर्नुपर्छ । दाता र संघसंस्थालाई हेला गरिनु हुन्न । उनीहरुसंग राम्रो समन्वय गर्दै जनतालाई निरीह नबनाई राहत वितरण गरिनुपर्छ ।

(हिमालखबर डटकममा २०७६ साल चैत २८ गते प्रकाशित —परिमार्जनसहित राखिएको)

प्रकृतिलाई सन्चो, मान्छेलाई विसन्चो


मिलन बगाले

हिजोआज घरको छतमा उभिएर काठमाडौंको आकाश नियाल्दा काठमाडौंभित्र छु जस्तो लाग्दैन । यति सफा, खुलेको र चहकिलो त कहिल्यै महसुस भएको थिएन । भाइरस संक्रमणले पृथ्वीलाई ढाकेसंगै मान्छे घरभित्र छ । मान्छे घरभित्र भएकोले पृथ्वीलाई सञ्चो भएको छ । कसैंले धूँवा फालेको छैन । पहरो फोरेको छैन । सुरुङ खनेको छैन । कसैले खानी खोतलेको छैन । बम पड्काएको छैन, रुख काटेको छैन । नदी थुनेको छैन । नदीनालामा एसिड फालेको छैन । आकाश थर्काउँदै हुलका हुल जहाज उडेका छैनन् । मान्छेले सामान्य खनखान, मलजल र गोडमेल मात्रै गरेको छ । त्यसो गर्दा प्रकृति रुन्न, रिसाउन्न । त्यो त प्रकृतिका लागी मलमपट्टी हो ।

undefined
बन्दाबन्दीकाे दिन २१ चैतकाे धुलाे धुवाँरिहत काठमाडाै । तस्वीर: बिक्रम राई

विकासका नाममा, आकाश छुने आफ्ना अनगिन्ती महत्वाकांक्षा पूरा गर्ने नाममा मान्छे कुदेको कुद्यै थियो । उडेको उड्यै थियो । आकाश थर्काएर । जमिन थर्काएर । जल थर्काएर । अहिले त मान्छे नदेखिने शत्रुका सामु थरर… भएको छ । यो डरलाग्दो कहर सकिएपछि मान्छेका रहर फेरियोस् । मान्छे अलि खुम्चियोस् । प्रकृति चम्कियोस् । के मान्छे फेरिएला ? कि ब्याजसम्ेत असुल्ने गरी नयाँ नयाँ होडबाजीमा होमिएला ?

कोरोना भाइरस हाम्रा लागी छोइदेउ कि रोइदेउ भएको छ । जे छोएपनि रोग सर्ला कि भनेर थरर थर्कनुपर्ने भएको छ । पैसा देख्दा डर लाग्न थालेको छ । मिचिमिचि हात धोएको धोयै गर्दा हात फुस्रा भैसके । हात धुने प्रोजेक्ट नेपालमा उहिल्यैदेखि चलिरहेको थियो । हात धुन सिकाउनेहरुलाई डलर धोएको भन्दै उडाउनेहरुको कमी थिएन । अहिले विश्व हात धुन सिकिरहेछ । मुख धोएर चट्ट पर्ने दिन पनि गए । जो मुख धुँदैन या अलक्क मुखतिर पानी हुत्याउँछ, उही स्वस्थ्य मान्छे ।

हात धुन अल्छी मानेर अब हुनेवाला छैन । कोरोना विरुद्धको लडाईंमा हामी हात धोएर लाग्नैपर्ने भएको छ । घरभित्र थुनिएर, हात धोएर कोरोना भगाउनु छ । दौडेर, कुदेर, उफ्रिएर, उडेर, गुडेर हैन, सुतेर कोरोना भगाउनु छ । सामाजिक भएर हैन, असामाजिक भएर लड्नु पर्ने छ । परै बस्नुस्, अलि उता जानुस्, छेउ लाग्नुस्, मेरो घरमा नआउनुस्, हामी नभेटौ भन्दै आत्मीयता साट्नुपर्ने भएको छ । घेरिएर हैन, छरिएर बस्नु पर्ने भएको छ । कस्तो समय आएको ? संसारको घडी किन यस्तरी उल्टो भएको ?

प्रकृति विरामी भएसंगै हाम्रो समय उल्टिएको छ । मान्छे कामविहिन भएको छ । निद्रा हराएको छ । जिब्रोको स्वाद हराएको छ । जिन्दगीको लय हराएको छ । यो आधी कहिले थामिएला ? यसको जवाफ कसैसंग छैन । आधी थामिएपछि जिन्दगी उस्तै होला ? फेरि रोग नफैलेला ? कहिले फैलिएला ? एउटा देश संक्रमण मुक्त भयो भने त्यसले रोग बोक्ने आकाश र जमिनको नाका थुन्ला । यसरी थुनेपछि रोग नआउला । अत्यावश्यक कामले आकाश र जमिन खुलेको बेला त्यसरी आउने मान्छे १५ दिन थुनिएर मात्र निस्केला । जिन्दगीको गति यसरी खुम्चिएपछि मान्छे के गर्ला ? प्रकृतिको सेरोफेरोमा रमाउला ? प्रकृतिलाई माया गर्ला ? छिनछिनमै उडिरहने, गुडिरहने आफ्नो गति घटाउला ? सपना खुम्च्याउला ? खेतीपाती नै राम्रो, गाउँ नै राम्रो भन्ला ?

मान्छेले विसन्चो मानेसंगै प्रकृतिले सन्चो मानेको छ । मान्छेले त यसलाई अस्थायी युद्धविराम मानेको होला । अहिलेको युद्धविरामको क्षतिको हिसाब निकालीरहको छ मान्छे । त्यो क्षतिपूर्ति गर्न मान्छे झन् छिटो उड्न रहर गर्ला कि ? झन् छिटो गुड्न, दौड्न र पौड्न रहर गर्ला कि ? छिटोछिटो रुख काट्ने मेशिन बनाउला कि ? छिटोछिटो पहरो फोर्ने लहरो बनाउला कि ? झन् ढिलोढिलो खानी खोतल्ला कि ? कि साँच्चै सुध्रिएला मान्छे ? मान्छे यतिबेला अन्तरमनको यात्रा गरिरहेछ । यो यात्राबाट निस्कदा झन् ठूलो युद्ध जित्ने महसुर बनेर निस्केला कि फेरिएको प्रकृतिसंगै बाँच्ने गरी आफ्नो जिन्दगीको लय समाउला ?

मान्छे सुध्रिने सम्भावना झिनो छ । पृथ्वी उसले आफ्नो विर्ता ठानेको छ । आफूलाई एक्लो मालिक ठानेको छ । सम्पूर्ण सृष्टिलाई आफ्नो लाउने, खाने र रमाउने साधन बनाएको छ । बाँचेका चीजहरु उसले मार्न नसकेर मात्र बाँचेका छन् । उसका मनोरन्जनका लागी बाँचेका छन् । उसले खान नमिल्ने, लाउन नमिल्ने, खन्न, खोतल्न नसक्ने चीजहरु मात्र बाँचेका छन् । युद्धविरामको हिसाब गरिरहेको मान्छे क्षतिपूर्तिको बलियो योजना सहित मैदानमा उत्रेला । त्यो क्षतिपूर्तिको रहरले भविष्यमा झन् ठूलो कहर निम्त्याउछ भन्ने बुझियो भने सन्चो मानेको प्रकृतिले मान्छेलाई पनि सन्चैसंग बाँच्न दिन्छ । विनाशलीलाको गति बढ्यो भने योभन्दा झन् ठूलो बिस्फोटको लाचार साक्षी बन्नुपर्ने दिन आउछ भनेर मान्छेले बुझिदिए हुन्थ्यो ।

विनाशलिला मच्चाएर गरिने विकासको लहरबाट नेपाल पछि हट्ने कुरै आएन । अलि दिन पहिलासम्म नेपाल पनि समृद्ध नेपाल सुखी नेपालीको सपना देखिरहेको थियो । डोजरले देश जोतिरहेका थियो । सुरुङै सुरुङ बनाएर काठमाडौंमा रेल ल्याएर, लाखौं रुख काटेर एअरपोर्ट बनाएर गेम चेन्ज गरिदिन्छु भन्ने आवाज निकै चर्को थियो । त्यसो नगरौं भन्नेलाई विकास विरोधी भन्नेको लर्को पनि लामै थियो । प्रकृतिसंग मिलेरै विकास गरौं, घाँटी र पेट मिलेर बाच्नुलाई विकास भनिन्छ, घाँटी काटे पेट पनि मर्छ भन्ने बुझे पो प्रकृतिलाई सन्चो हुन्छ ।

मान्छेलाई विसन्चो भएर प्रकृति सन्चो हुनु मान्छे बाहेक अरु प्राणी, जीवजन्तु र बोटविरुवाका लागी सुखद खबर हो । मान्छेका लागी यो दुखद खबर हो । समग्र सृष्टि आफ्ना लागी बनेको, आफूले लाउने, खाने, रमाउने साधन मात्र हो भन्ने अहंकार त्यागेको दिन प्रकृतिसंगै मान्छेलाई पनि सन्चो हुन्छ । मान्छेले आफ्नो मात्र होइन, प्रकृतिको सन्चो विसन्चो पनि ख्याल गरोस् । भाइरल बनेको भाइरसले छोडेर हामी घरबाहिर एकदिन त निस्कन पाउँछौं होला । त्यतिबेला अहिलेको हिसाबकिताब पक्कै होला । भत्काएर क्षतिपूर्ति हैन, मलजल गरेर क्षतिपूर्ति खोज्ने रहर गरेको दिन प्रकृति र मान्छे दुबैको पक्कै जय हुनेछ ।

(२०७६ साल चैत २२ गते हिमालखबर डटकममा प्रकाशित)

राहत कोष र सर्वसाधारणको चुल्हो

मिलन बगाले

संघीय सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै ५० करोड रुपैंयाको आपतकालीन कोष खडा गरेसंगै यसको अनुसरण प्रदेश सरकारले पनि गरेका छन् । १० करोडदेखि ५० करोडसम्मको कोष प्रदेश सरकारले खडा गरेका छन् । कोषमा दाताले दान दिने क्रम पनि शुरु भएको छ । तर कोषमा जम्मा भएको रकमको खबर रेडियोमा सुन्दै रित्तिएका भाडा हेर्दै टोलाउनुपर्ने अवस्था कति नागरिकले भोग्नुपर्ने होला ? बन्दाबन्दी (लकडाउन) लम्बिदै जादा नागरिकप्रति राज्यको दायित्वपनि बढ्दै जान्छ । त्यसका लागी सरकारले बेलैमा सोच्न र पूर्वतयारी गर्न जरुरी छ । 
बन्दाबन्दी शुरु हुनु अगावै सर्वत्र आर्थिक मन्दी छाईसकेको छ । कोरोनाको कहर संसारभर फैलिएकोले बाहिरबाट ठूलो सहायता रकम आउन सम्भव पनि छैन । सहायता धेरै कामका लागी चाहिएको छ । आपतकालिन अस्पतालको स्थापना, भेन्टिलेटर, एम्बुलेन्स, मास्क, औषधी, जाँच गर्ने किट, साबुन, स्यानिटाईजर, मेडिकल टिमका लागी आवश्यक उपकरण, औजार, क्वारेन्टाइन सञ्चालनका लागी निकै ठूलो रकमको खाँचो छ । 
बन्दाबन्दीको मारमा परेर दैनिक ज्याला मजदुरी गर्न नपाएर अप्ठेरोमा परेका नागरिकको भान्सामा चियाउनु जरुरी र अत्यावश्यक छ । यसर्थ आपतकालीन कोषको रकम अन्य काममा प्रयोग नगरी अप्ठेरोमा परेका नागरिकलाई खाद्यान्न, साबुन, मास्क र नियमित चाहिने औषधीका लागी खर्चिनु जरुरी छ । सो कामका लागी खर्च गर्न त अप्ठेरो नपर्ला । तर प्रभावकारी र सुरक्षित रुपमा वितरण व्यवस्था मिलाउन सरकारले यथाशिघ्र ब्यवस्थित संयन्त्र बनाउनु पनि जरुरी छ । आपतकालीन कोषमा ५० करोड रुपैंया राखेर सरकारको दायित्व पूरा हुने हैन । सर्वसाधारणले रकम थपिदिएर सरकारले सन्चो मान्न पनि पाउँदैन । पैसा थुपार्दै जाने र धेरै दिनपछि प्रयोग गर्ने शैली पनि अपनाउनु हुँदैन । 
स्केच साभार — भानु भट्टराई, हिमालखबर डटकम 

सरकारले अप्ठेरोमा परेका नागरिकको खाद्यान्न लगायत अत्यावश्यक आवश्यकतामा कोषको रकम खर्च गर्ने घोषणा ग¥यो भने धेरै दाता उत्साहित हुनेछन् । पैसा दुरुप्रयोग होला अथवा अन्य काममा खर्च होला भनेर दाताहरुलाई पीर परेको हुनुपर्छ । बन्दाबन्दी बढ्दै जाँदा यति करोड उठेको र उति करोड उठेको खबर समाचारमा सुन्दै चिसो चुल्हो हेरेर रात काट्नुपर्ने अवस्था छिटै आउनेवाला छ । 

ग्रामीण क्षेत्रमा नुन, साबुन र औषधीको अभाव हुन सक्ला तर खाद्यान्नको संकटचाहि नपर्ला भन्ने आश गर्न सकिन्छ । तर शहरी क्षेत्रमा यो कष्ट छिटै शुरु हुने सम्भावना छ । छिमेकी देशबाट खाद्यान्न निर्वाध आपूर्ति हुने सम्भावना झिनो छ । यसर्थ देशभित्र उपलब्ध खाद्यान्नको प्रभावकारी संकलन, सदुप्रयोग, फारो गर्न प्रोत्साहन र सुरक्षित रुपले वितरणका लागी सरकारले योजनाबद्ध रुपमा काम गर्न सक्नु पर्दछ । यसका लागी सरकारले प्रभावकारी र सुरक्षित रुपमा राहत प्याकेज घरघरमा पु¥याउने व्यवस्था बारेमा बेलैमा सोच्नुपर्छ । यसका लागी के कस्ता अन्तर्राष्ट्रिय अभ्यास भए भनेर पनि सोच्नुपर्छ । 
चीन सरकारले बुहान शहरभित्र थुनिएका जनतालाई कसरी सुरक्षित रुपमा घर घरमा अत्यावश्यक सामाग्री पु¥यायो ? दक्षिण कोरियाले के ग¥यो ? जापनाले कसो गरिरहेछ ? अन्त कस्ता कस्ता असल अभ्यासहरु भएका छन् ? आफ्नै राजदूतहरुलाई भिडियो कन्फरेन्समार्फत सोध्न सकिन्छ । सो देशका नेपालस्थित राजदूतलाई सोध्न सकिन्छ । सरकारले फिर्ता बोलाएका चीनका निवर्तमान राजदूत तथा पूर्व मुख्य सचिव लीलामणि पौडललाई विना आग्रह पूर्वाग्रह यो कामको समन्वयको जिम्मा पनि दिन सकिन्छ । इपिसेन्टरको दशा राम्ररी देखेर र बुझेर आएका पौडेलले यो काम प्रभावकारी रुपमा पक्कै गर्न सक्नेछन् । 
ठूल्ठूला आपतविपतमा काम गरेर अनुभव लिएका अरु कैयन विज्ञहरु होलान् । उनीहरुलाई सरकारले आव्हान गर्न सक्छ । सुरक्षा निकायको प्रभावकारी परिचालन गर्ने पनि यस्तै बेलामा हो । प्रदेश र स्थानीय सरकारले सक्दो काम गरिरहेका छन् । क्वारेन्टाइन बनाउने, मास्क आफैं सिलाउनेदेखि आपतकालीन अस्थायी अस्पताल बनाउने कामसम्म । आपतविपतमा सरकार सुस्ताउनै हुँदैन । सरकार सुस्तायो भने जनताको सुस्केरा सुनिदैन । 

यसपाली नेपाली उद्योगपतिहरुको मुठिमा ताल्चा लागेजस्तो महसुस भएको छ । भूकम्पमा राम्ररी खुलेको मुठी यसपाली खुल्न अप्ठेरो मानिरहेको छ । बिस्तरै खुल्दै जाला, आपतविपत कोषमा राम्रै पैसा संकलन होला भन्ने आश गरौं । यो बर्ष डोजर जोत्नका लागी छुट्याईएको सम्पूर्ण बजेट खारेज गरिदिने हो भने कोरोनाबिरुद्ध लड्न पुग्ने पैसा जुट्ला । भ्यू टावर र गेटको सम्पूर्ण बजेट पनि खारेज गरेर कोरोना बिरुद्धको लडाईमा जुटाउनुपर्छ । मन्त्रीपरिषदले एकैछिनमा गर्न सक्ने काम हो यो । 

पैसा अभावले कोरोना बिरुद्धको लडाई नेपालले हार्दैन । हामीले स्वअनुशासनमा आफूलाई घरको चार किल्लामा कैद गर्ने, सरकारले खाद्यान्न र औषधी तथा अन्य अत्यावश्यक सामाग्रीको बिक्री र बितरण दुबै कार्यलाई प्रभावकारी रुपमा चलाउन सक्नुपर्छ । वडा कार्यालयमार्फत अप्ठेरोमा परेका ब्यक्तिको पहिचान गरी निशुल्क र सशुल्क दुईथरी प्याकेज सञ्चालन गर्नु पर्दछ । सबैलाई निशुल्क दिन जरुरी छैन । सम्भव नै छैन । 

धनीमानीले निशुल्क सामाग्री खोजेर आफैंलाई र अरुलाई अन्याय पनि नगरौं । अनलाईन मार्फत अर्डर गरेर सुरक्षित रुपमा घरघरमा खाद्यान्न र अत्यावश्यक सामाग्री पु¥याउन सक्ने कम्पनीहरुलाई सरकारले सुरक्षात्मक उपायका लागी सहयोग र प्रोत्साहन दुबै गर्न जरुरी छ । यसो भएमा सरकारलाई पनि बोझ कम पर्छ । 

खाद्यान्न संकलन, सुरक्षित रुपमा प्याकेजिङ र प्रभावकारी वितरण हुन सकेमा बन्दबन्दी लम्ब्याएर कोरोनासंग प्रभावकारी रुपमा लड्न सकिन्छ । त्यसो हुन सकेन भने सर्वसाधारणले बन्दाबन्दीलाई ५ बजेपछि खुल्ने कफ्र्यु वा नेपाल बन्द सम्झेर हरेक साँझ पसलतिर ओइरो लाग्नेछन् । त्यो ओइरो, भीडभाड र धक्कामुक्काको फाईदा कोरोना भाइरसले उठाउनेछ । हामीलाई कोपर्नेछ । त्यसो भएमा भाइरस भाइरल बन्नेछ र हामी अकल्पनीय क्षतिको लाचार साक्षी बन्न विवश हुनेछौं । यो दिन नआउनका लागी, सबैको चुल्हो नियमित बलोस् भन्नाका लागी अनलाईन मार्फत सामान पु¥याउने कम्पनीलाई प्रोत्साहन र सहजीकरण एउटा उपाय हुनसक्छ  । सुरक्षात्मक उपाय सहितका घुम्ती पसल दोस्रो उपाय हुनसक्छ भने वडाको सिफारिशमा अप्ठेरोमा परेका नागरिकको अवस्था आँकलन गरी चुलो बल्ने र सरसफाईका लागी अत्यावश्यक सामान घरघर पु¥याउने अर्को उपाय हुनसक्छ ।
विभिन्न देशले विभिन्न तरिका अपनाएका छन् । असल अभ्यासहरु खोजेर अनुसरण गर्न सकिन्छ । हाम्रो सामाजिक बनोट अनुरुप अरु सहज र सुरक्षित उपाय खोज्न सकिन्छ ।

करोडौं पैसा जम्मा भईरहेको खबर र सर्वसाधारणको चिसो चुल्होको दूरी घटाउन सरकारले बेलैमा प्रभावकारी उपायहरु अबलम्बन गर्न सकिएमा बन्दाबन्दी मार्फत नै कोरोनाको कहर कम गर्न सकिन्छ । कोरोनाको कहर कम गर्न रहर गर्नेको जय होस् ।

(२०७६ साल चैत १५ गते शनिवार हिमालखबर डटकममा छापिएको लेख परिमार्जनसहित राखिएको )

पृथ्वीको डिलमा उभिएर

मिलन बगाले 
प्रविणता प्रमाणपत्र तहमा जुनसुकै बिषय पढ्नेले पनि ‘नेपाल परिचय’ पढ्नुपथ्र्यो । कहिल्यै नछुट्ने साझा सवाल थियो— विश्व मानचित्रमा नेपाल । कोरोना भाइरसको प्रकोपले संसारको नक्सा रातै भएको यतिखेर म त्यही बाक्य सम्झिरहेछु । र, देखिरहेछु अपवादस्वरुप रातो थोप्लो मिस्सिएको तरपनि अझैं हरियोपन र हरियो मन बाकी रहेको नेपाल । गत मंगलवार कोरोना संक्रमणको पुष्टि भएसंगै हरियो देशमा रातो थोप्लो थपिएर खतराको घण्टी जोडले बजेको छ । 
कोरोनाले संसारलाई धुरुक्क रुवाएको छ । अपवाद केसबाहेक हामी कसरी जोगिएका छौं यतिबेलासम्म ? सरकारले विरामीलाई खोज्दै नखोजेर ? विरामीलाई जाँच्दै नजाचेर ? सानोतिनो रुघाखोकी र ज्वरोलाई घरमै दबाएर ? तर सत्य के हो भने नेपाल आजका दिनसम्म असाध्यै कम प्रभावित देशको रुपमा रहेको छ । हरियोमा एकाध अपवाद मात्रै मिस्सिएको छ ।  तर यो हरियो पात छिनभरमै झरेर देश राताम्य हुनसक्छ भन्ने हामीले बुझ्नुपर्छ । कोरोना लिन गए आउँछ, लिन नगई घरभित्र आउदैन भन्ने कठोर सत्यलाई बुझ्न र पालना गर्न सक्नुपर्छ ।  कोरोना नफैलिईसकेकोले हामीले हाम्रो जीवनलाई बेलैमा घरभित्र कैद गर्न सके हाम्रो जीवनका हरिया पातहरु बुरुर झर्ने छैनन् । हाम्रो देश पतझर देश बन्ने छैन । सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरिसकेको छ । फुत्तफुत्त घरबाहिर निस्केर बहादुरी देखाउने बेला हैन हो । 
स्केच साभार — हिमालखबर डटकम 
हामीले ४ बर्षअघि भुइँचालोको कठोर पीडा बेहो¥यौं । त्यो पीडाबाट त  लगभग तंग्रिसकेका छौं । साना ठूला जे जस्ता भएपनि बलिया घरहरु बनिसकेका छन् । हामी सुन्तले पालको देश बन्ने दशाबाट तंग्रिसकेका छौं । भुइँचालो बाजा बजाएर आएको थिएन । एकैचोटी आयो । हामीलाई घरबाट बारीको डिलमा पु¥यायो । घरमात्र हैन, भरसमेत भत्केको दृश्यको लाचार साक्षी बन्दै बारीको डिलमा पाल हालेर, बोरा ओछ्याएर बस्यौं । बिस्तारै धूलो टक्टकायौं, धर्मराउँदै उठ्यौं । भूकम्पपछिको पहिलो रात भात पाकेन । तर भोलीपल्ट उज्यालो भएपछि अचम्म भयो । घरघरबाट ग्याँस, चामल, दाउरा, नुन, तेल,तरकारी जे जे छ निकाल्यौ । पालमुनि मिलेर पकायौं, खायौं । दोस्रो छाकमै अधिकांशको पेटमा तातो दाल र भात प¥यो । बेलैमा तातो खान पाएर सातो गएको हाम्रो अनुहारमा बिस्तारै कान्ति फिजियो । भ्रान्ति घट्दै गयो । 
भूकम्पपछि बेलैमा सरसफाई र तातोतातो खानपिनमा हाम्रो स्वतफूर्त ध्यान पुग्यो । रोगहरु फिजिन पाएनन् । घाउले मलम पायो । शोक शक्तिमा बदलियो । घर बिस्तारै उठे । हामीलाई संसारले भर दियो । सरकारले बलियो साथ दियो । समाचार माध्यम असाध्यै परिपक्क बने । केही कमीकमजोरी भएपनि पालबाट हामी उठ्यौं । हाम्रो निर्माण संस्कृति त जोगिएन । घरहरु पनि फराक र सहज जीवनयापन गर्न लायक बनेनन् । काम फटाफट भएनन् । पुनर्निर्माण अल्झिरह्यो । अलिअलि त अल्झिएकै छ अझैं । तर तत्कालको राहत, उद्दार, उपचार र उपकार त लोभलाग्दो थियो । भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले यतिबेला घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । घरै बस घरै बस भनिरहेको छ यो कहरले । अलिकति रातो थोप्लो थपिएको हरियो नेपाल त यतिबेला सिंगो पृथ्वीको डिलजस्तो भएको छ । यो डिल जोगाउन हामी सबैले दिल लगाउनु अत्यन्त जरुरी भैसकेको छ । डिल जोगाउने एउटै उपाय छ । थुन्ने । आफूलाई थुन्ने, आकाशलाई थुन्ने, जमिनको यातायातलाई थुन्ने । सरकारले सबै सिमाना थुन्ने निर्णय गरेको छ । बन्दाबन्दी (लकडाउन) पनि घोषणा गरेको छ । यो असाध्यै प्रशंसायोग्य छ । अब स्वअनुशासनमा आफूलाई बाध्ने हाम्रो कर्तव्य पूरा गर्नु छ हामीले । 
हर घर क्वारेन्टाईन नै कोरोनाको कहर कम गर्ने सहज उपाय हो । यो पाठ चीनले संसारलाई सिकाइसकेको छ । कोरोनालाई कोरा सम्झेर बारौं । यसलाई भाँजा हालौं । आकाशैं बाँधु, पातालै बाँधु, घरै बाँधु भनेर आधारातमा ‘फेरि’ लगाएको सम्झौं । बाधौं । मनको चञ्चले बाँधलाई बाधौं । घरभित्रै बाधौं । तन र मनलाई घरभित्र बाँध्दा धेरथोर तनाव होला । घरभित्रै योगा र ध्यान गरौं । खानेकुरा फारौं गरौं । मिठो जिब्रोलाई पनि बाधौं । बाच्नका लागी खाईरहेका छौं भनेर सम्झेर मिठो जिब्रोलाई बाधौं । खानेकुरा फारो गरौं । एक पटकमा दाल या तरकारीमात्र पकाऔं । घर वा डेरामा भएका थोत्रा कार्टुन र गमलामा अब तरकारी रोपौं । त्यो तरकारी हैन, जीवन हो । जीवन रोपेको हो । 
हामी पृथ्वीको डिलैमा उभिएका छौं । डिल फराक छैन । रोग भित्रिई सकेकोले यो डिल त्यति बलियो पनि छैन । दायाँवायाँ दलदले हिलो छ । जोगिन ढिलो हुन्छ डिल नजोगाए । त्यसैले अलक्क उभियौं । मनको बाँधलाई बाँधेर स्वतस्फूर्त कफ्र्यु लगाऔं । सरकारले स्वास्थ्यकर्मीलाई बचाओस् । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपमा सुरक्षात्मक उपकरण खोजेर, मागेर, किनेर के गरेर हुन्छ, उपकरणको जोहो होस् । उद्योगपतिको दिलको दैलो बन्द छ । भूकम्पमा खुलेको दैलो किन बन्द भएको हो ? त्यो दैलो ढिलोचाडो नउघ्रिए हाम्रो डिल रातै हुन्छ । त्यो रातोले झुपडी र महल सबैलाई राताम्य बनाउँछ । देश हरियै राख्न हरिया पैसा बाहिर निकालौं । सरकारलाई सहयोग गरौं । समाचार माध्यमले निरन्तर घच्घचाऔं । 
यतिबेला संसार नदेखिने शत्रुसंग अप्ठेरोसंग लडिरहेछ । न वार्ताले टुंगिन्छ, न हतियार देखाएर तर्साउन सकिन्छ । योसंग लड्ने हाम्रा औजार असाध्यै कमसल छन् । हलभित्र बेड थुपारेर हस्पिटल बनेको हाम्रो भ्रम तासको घरझैं ढल्छ, भाइरस भाइरल बन्यो भने । सामाजिक सन्जालमा ‘भाइरल’को मोह र भ्रममा चर्लम्म डुबेका हामी भाइरल बनेको भाइरसले मच्चाएको विनाशलीला टुलुटुलु हेरिरहेछौं । यतिबेला घडीको सुइँ रोकिएझैं भएको छ । समय ठप्प भएको छ । संसार रोकिएको छ । भाईरस यत्र तत्र सर्वत्र मृत्यु नाच नाँच्दै हिडेको छ । करेन्ट बनेको भाईरससंग बच्ने उपाय क्वारेन्टाइन हो । आफूलाई थुनौं । नाका थुनौं । यो रमाईलो गर्दै घुम्ने छुट्टीको समय हैन । ग्र्वारग्र्वार डुल्ने, भएभरको मजाले खाने बेला हैन । अचेत हैन, सचेत भएर बाचौं । थुनिने ढंग शत प्रतिशत पालन गर्न सक्ने हाम्रो जय नै हुनेछ । 
२०७६ साल चैत ११ गते हिमालखबर डटकममा प्रकाशित (परिमार्जित) 

खोकना पिस्ने ‘फास्ट’कोल…

मिलन बगाले 
गत पुष अन्तिम साता अखबार र अनलाईनमा मन हल्लाउने एउटा तस्वीर छापियो । खोकनावासीले आफ्नो अनुहारमा आफैंले कालोमोसो पोतेको सो तस्वीरमा हाम्रो विकासे मोडलले चिथोरेको डाम प्रष्टै देखिन्थ्यो । विकासका नाममा बस्ती उजाडिंदै जाने दृश्यको साक्षी बन्नपर्ने अवस्था आएपछि खोकनाबासीले विरोधको यस्तो उपाय रोजे । 
भूकम्पले हिर्काएर थला परेको खोकना राम्ररी बौरिनै पाएन । एकपछि अर्को विकासे योजनाले बेरिएर खोकना आत्तिएको छ । एकपछि अर्को विकासे योजनाको नाममा सरकार खोकना सिध्याउन खोजिरहेछ । अरुका लागी ती योजनाहरु ठूल्ठूला होलान् । उनीहरुका लागी पनि ठूलै हो । तर २०७२ सालको विनाशकारी भूकम्पजस्तै ठूलो । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटि र सुरुङमार्गका योजनाहरु खोकना सिध्याउने हिसाबले आएका छन् । सरकार ‘फास्ट’ हुने रहर गरिरहेछ । ‘फास्ट’ हुने यो रहरमा सम्पदा सिद्धिन्छ कि भन्ने सोच्ने फुर्सद र रहर सरकारलाई छैन । सम्पदा हरण गरेर ‘फास्ट’ हुने रहर निन्दनीय छ । घातक छ । ‘विकास’ खोजिरहेको शहरमा खोकना बचाउने स्वर मसिनो छ । तर मसिनो आवाज रचनात्मक छ ।

खोकनावासी कहिले अनुहारमा कालोमोसो दलेर, कहिले माईतीघर मण्डलासम्म खालीखुट्टै हिडेर आफ्नो आवाज सुनाईरहेछन् । सरकार हरेक जग्गा र बस्तीलाई मुआब्जासंग साट्न खोज्छ । मुआब्जाले किसानलाई कंगाल बनाउँछ । रोपनी बेचेर केही आनाको मालिक बनिएला । केही आनामा किसानले कसरी जीविको चलाउने ? 

खोकना भाडा फलाएर खाने बस्ती होइन । खोकनाका आफ्नै मौलिक विशिष्ठता छन् । त्यहाँका चाडपर्व, जात्रा, परम्परा, घरबस्ती, सम्पदालाई मुआब्जासंग साट्नै सकिदैन । सर्वस्वहरण जस्तै हो सम्पदा बस्तीलाई मुआब्जा । मुआब्जाले केही बर्ष खर्च गर्ने पैसा आउला । मोटरसाईकल, फ्रिज सबै आउला । केही बर्ष वा महिनाको रामरमितापछि सो समुदाय सुकुम्बासी बन्छ र आफ्नै पुरानो घरछेउमा छाप्रो हालेर बस्न विवश हुन्छ । सम्पदा बस्ती र त्यसको सिंगो सेरोफेरो बचाउने योजना खोजिरहेका खोकनाबासीलाई सरकार सुकुम्बासी बनाउन खोज्दैछ । खोकना आजकाल तोरी फलाउदैन । तर मिठो तेल बनाउने सीप उस्तै जीवन्त छ । पुराना तोरी मिलहरु अझै छँदैछन् खोकनामा । अन्तको तोरीमा खोकनाको सीपको मौलिकता मिसिने गरेको छ । तर आज बडेबडे विकासे योजना नै खोकना पिस्ने कोल बनेको छ । त्यो कोलले खोकनाको मोल बुझेको छैन ।   

खोकनामात्र हैन, सिंगो देश यतिबेला बिकासका लागी बेढंगसंग जोतिएको छ । देश बन्ने सपनामा बुल्डोजोर जोतिएको महसुस हुन्छ डाँडापाखा डुल्दा । डिजाइन गरेर बाटो बनाउने होइन, सकेको धेरै माटो काट्ने हतार छ सबैलाई । ‘देशको देश’ किताबमा जुम्लाबाट काठमाडौं आउँदाको हवाई दृश्य सम्झँदै पत्रकार मोहन मैनाली लेख्छन् — ‘सडक बनाउने हैन,खन्ने अर्थात भत्काउने निहुँमा राक्षस पसेको थियो । खोलाको किनार, डाँडाको बीच र थाप्लाको जंगल जतासुकै त्यसले पहाड चिथोरेर ढुंगामाटो लडाएको थियो । पहाड चिथोरेर ढुंगामाटो बगाउँदा त थाप्लोबाट नाम्लो हट्दैन । मास्तिरका खेतबारी मासेपछि माथिको माटोले तल्तिरका बारी पनि पुरिन्छ र थाप्लोमा नाम्लो झन् थपिन्छ । अरबौ लगानी गरिएपनि अन्धाधुन्ध खनिएका यस्ता बाटाले काम दिएका छैनन् । पहाडसंगै लगानी पनि भत्किएको छ । लगानी भत्किएको पहाडमा ढंग नपुग्दा आफ्नो गाउँ आफैँ भत्काउँ बनेको छ ।’ 

गाउँगाउँमा पहाड भत्किरहँदा शहरमा सम्पदामाथी निरन्तर धावा बोलिएको छ । कहिले गुठी बिधेयकका नाममा । कहिले भएभरको विकास काठमाडौंमै ओइराउने नाममा । राजा रणबहादुर शाहको बासठ्ठी हरणको झल्को दिने गरी ल्याईएको विधेयकको विरोधमा सिंगो नेवार समुदाय जुरुक्कै उठेथ्यो । आन्दोलन दबाउन उभिएका प्रहरीलाई खर्पनमा गाग्रो बोकेका पानी गुठीका गुठीयारले पानी खुबाएपछि गुठी व्यवस्था खल्बल्याउने सरकारको तिर्खा मेटिएको हो । तर विधेयक फिर्ता लिने घोषणा गर्दा आन्दोलनकारीलाई बक्तव्यमार्फत हिलो छ्यापिएको थियो । गुठी सामाजिक व्यवस्था हो भन्ने भेउ नपाएझैं सामन्ती व्यवस्था भएकोले यसलाई व्यवस्थित गर्नुपरेको तर्क अगाडी सारिएको थियो । मानौ गुठी कम्लरी र  हलियाजस्तै अर्को कुप्रथा हो । सम्पदा बस्तीमाथी पनि अहिले यस्तै अन्याय थोपरिएको छ । 
२०७२ सालको भूकम्पमा खोकनाले ठूलो भौतिक क्षति बेहो¥यो । एउटा विदेशी विश्वविद्यालयको ‘खोकना बस्ती र सेरोफेरोको संरक्षण’ सम्बन्धी अध्ययन परियोजनामा केही समय जोडिदा मैले खोकनाबारे धेरथोर जान्ने मेसो पाएँ । २०७२ साल बैशाख १२ गते खोकना गाउँ नजिकको स्थानीय बसपार्कनजिकै आँखा शिविरको आयोजना गरिएकोले धेरै जना घरबाहिर भए । बारीभरी आलु फलेकाले कतिपय आलु खन्न ब्यस्त भए । हाल कार्यविनायक नगरपालिका अन्तर्गत ६, ७, ८ र ९ वडामा पर्ने खोकना गाउँका २०० घरमा आंशिक क्षति पुगेको तथा करिब ८५५ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । सो भूकम्पमा परी खोकनामा ९ जनाले ज्यान गुमाएका रहेछन् । 
तत्काल उद्दार, उपचार, राहत, अस्थायी बास र खानपानको व्यवस्था स्थानीय आफैं मिलेर गरे । गर्न सक्नेजति अझैं गरिरहेछन् । भत्केका मन्दिर, पाटी र मण्डप बनाउन चन्दा उठाएका छन् । बनाउँदै पनि छन् । तर, करिब ११०० घरधुरीको सिंगो खोकनाको पुननिर्माण उनीहरुको बलबुताभन्दा बाहिरको कुरो । बिस्तारै बौरिन रहर गरिरहेको खोकनालाई विकासे योजनाले खोक्रो बनाईरहेछ । २९ माघ, २०७४ को कान्तिपुरमा प्रशान्त मालीले लेखे अनुसार रुद्रायणी नाचको गुठीको जग्गा, बोसी खलकले भोगचलन गरिरहेको मत्स्येन्द्रनाथ गुठीको जग्गा, मत्स्येन्द्रनाथको सेवा, जात्रा र नित्य कर्म गर्न पानेजु, प्रजा खलको जग्गा, लगायत स्थानीयवासीको जग्गा फास्ट ट्रयाकले खान लागेको छ । 
खोकनाको मूल बस्ती जोगाएर, त्यहाँका घरको बाहिरी स्वरुपमात्रै जोगाएर सम्पदा संरक्षण हुने होइन । अमूर्त सम्पदा र स्थानीयवासीको जीविकोपार्जन मुहान मासेर घरको अनुहार जोगाउनुलाई सम्पदा संरक्षण भनिन्न । २०७२ सालको भूकम्पमा खोकनाका ढलान घरहरु भत्किएनन् । परम्परागत घरहरु भत्किए । परम्परागत घरहरु सयौं बर्ष पुराना थिए, तिनमा नियमित मर्मत सम्भार भएको थिएन । बरु अंशबण्डा गरिंदा ठाडो चिर्ने नाममा घरहरु थप जीर्ण बनेका थिए । यो तथ्य बुझेरै होला, पुनर्निर्माणमा खोकनाले ढलानको रहर गरेको छैन।सिमेन्टीले भरिने रहर गरेको छैन । मैले त्यहाँका धेरै घर र घरधनीको मन पढेको छु । खोकना पूरै शैली र संस्कृति बचाएर भूकम्पको जोखिम थेग्न सक्नेगरी उभिने रहर गरिरहेछ । त्यसै गरिरहेछ पनि । तर मनभित्र पहिरो पसेको छ । विकासे योजनाका जालझेलले जेलिएर । सरकारले खोकनासंग प्रष्ट सम्वाद गर्नुपर्छ । बाटोको नक्सा फेरि कोर्नै नसकिने हैन । स्थानीयवासीलाई नपिरिकनै बाटो बनाउन नसकिने होइन् । खोकना खोकनावासीको मात्र सम्पत्ती हैन । सिंगो संसारकै सम्पत्ती हो । सम्पदा मुआब्जासंग साटिनु हुन्न । कवि क्षत्रप्रताप अधिकारीले लेखेझैं सांस्कृतिक सम्पदा नवनिर्माण गरिने सडक हैन । यो त सम्मानपूर्वक संरक्षण गरिनुपर्ने राष्ट्रिय आत्मा हो । राष्ट्रिय चरित्र हो ।

असाध्यै ढंग पु¥याएर तोरी पेल्ने र मिठो तेल उत्पादन गर्ने खोकनावासी यसरी विकासको नाममा पेलिनु उचित होइन । खोकनामात्रै किन, कतैका नागरिकलाई पनि सरकारले पेल्न पाउँदैन । जेलभित्र पनि मनपरी गर्न पाउँदैन । जनतालाई हेप्ने, जनतालाई पेल्ने मानसिकताबाट माथी उठेर विकासका योजना जनतासंगै मिलेर बनाउनुपर्छ । खोकनार खोकनाजस्ती सम्पदा पेलेर निस्केको ‘फास्ट विकास’ ले देश बन्दैन भन्ने बुझेको दिन सरकारको जय होस् । 

सबै तस्वीर २०७२ साल मंसीरमा खिचिएका हुन् । तस्वीर— मिलन बगाले 
(२०७६ साल फागुन ३ गते देखापढी डटकममा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको ) 



Create your website at WordPress.com
Get started
%d bloggers like this: