उस्तै छ धरहराको आकर्षण

-मिलन बगाले

काठमाडौ माघ २० । ‘ हेल्लो भिनाजु अहिले म कहाँ छु थाहा छ तपाईलाई?  म अहिले धरहराको सातौ तलाको बरण्डाबाट बोलिरहेको छु ‘,  धरहराको थाप्लोनेरै पुगेका जुम्लाका हिमारुद्र आचार्य कुनै रोमान्चक यात्रा पुरा गरेको यात्री झै दङग देखिन्छन् । त्यसैले त  आपुनो यो खुशी  उनी भिनाजुसँग फोनमा साट्दै छन् । नायब सुब्बाको जाच दिन काठमाडौ आएका आचार्यले धरहरा चढन पाउदा धेरै खुशी लागेको बताए । ‘धरहराभित्र कोठाहरु छन कि भन्ने बर्षौ पुरानो भ्रम पनि आजबाट सकिएको  छ’ उनले भने  ।

जुम्लाका हिमारुद्र झै देशका विभिन्न ठाउबाट धरहरा चढ्न आएका मान्छेहरुलाई धरहराको थाप्लोमा पुग्न पाउनु ठुलै खुशीको खवर बन्छ  ।  खुशी हुनेहरुको ठुलै भीडमा  सामेल थिए रुकुकमा गणेश भण्डारी पनि । ‘मलाई अति गजव लायो, धरहरासगै  पूरै भ्याली  पनि हेर्न पाईयो नि ‘उनले भने ।  धरहरा परिसरको सरसफाई  धरहराको रंगरोगन सबै राम्रो रहेको उनले बताए ।

एकपटक नचढनेहरुका लागि धरहरा अझै मिथक जस्तै छ ।  भित्र के होला भन्ने कौतुहलको पोकै बोकेर छिरेकाहरु माथि पुगेपछि छक्क पर्छन् । लिपुटदेखि कोठैकोठाको भ्रम बोकेर धरहरा छिरेकाहरु  तलदेखि माथिसम्म ठाडो घुमाउरो भर् याङबाहेक अर्थोक केही नदेख्दा एकछिन त छक्कै पर्छन ।  सोलुखुम्बु नाम्चेबजारकी यांकी शेर्पाले बाहिरबाट हेर्दा धरहरालाई घासको घनोजस्तै ठानेको तर भित्र फराकिलो ठाउ देख्दा अचम्म लागेको बताईन । ‘यस्तो साघुरोमा कसरी पस्ने होला भन्ठानेको भित्र त फराक रहेछ’ उनले भनिन ।
देशको ऐतिहासिक धरोहर नै बनेको धरहराकॊ कथा लामो छ । भीमसेन थापाले १८८२ सालमा महारानी ललित त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरुप यसको निर्माण  गराएका थिए । त्यसताका सामाजिक तथा प्रशासनिक सूचना एवं जानकारी दिन धरहराको टुप्पोबाट विगुल बजाईने गरिन्थ्यो । विगुल बजेको सुनेपछि जंगी तथा निजामति कर्मचारीहरु टुडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।  त्यसो त नेपाली सेनाले यो परम्परा अझै धानिरहेकै छ । गणतन्त्र दिवस प्रजातन्त्र दिवस शहीद दिवस जस्ता राष्ट्रिय कार्यक्रमहरुमा नेपाली सेनाले धरहराबाट विगुल बजाउने गरेको नेपाली सेनाका सुरेन्द्ध घिमिरले जानकारी दिए । ‘आफ्नो
 एतिहासिक परम्परा धान्न हामीले यसलाई विशेष कार्यक्रममा मात्र निरन्तरता दिएका हौ । अहिले त कोल्ले सुन्नु र त्यहाबाट बजा’;र ? आजकल त धेरै मिडियाहरु छन् नि खवर सुनाउनलाइ ‘ घिमिरिेले भने ।
१९९० सालको भुइचालोले धरहरालाई पनि छोडेन । भुईचालोले खाएपछि  यो भाचिएर  ३ टुक्रा भयो । पुन निर्माणको लागि धरहरालॆ २ वर्ष कुर्यो । १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्सेरले साविक बमोजिमकै शाहकालीन बास्तुशैलीमा पुनर्निर्माण गराएका थिए । पुनर्निर्माण त भयो तर सगसगै पुन्टे पनि भयो । भीमसेन थापाको १७ तल्ले धरहरा जुद्ध शम्सेरको पालामा घटेर ९ तल्ले भयो ।

केही वर्ष अघिसम्म बाहिरबाट मात्र हेर्न पाइने धरहरा २०६१ माघ १ गतेदेखि सवैको लागि खुल्ला भएको छ ।  तत्कालीन मेयर केशव स्थापितको पहलमा काठमाडौ महानगरपालिका ले साईड बाकस्र  प्रा।लि।लाई  २० वर्षको लागी लिज सम्झैतामा दिइएकॊ  धरहरा इन्चार्ज रमेश अधिकारीले जानकारी दिए । सम्झौता पछि  मर्मत सम्भारको काम सकेर सर्बसाधारणको लागि खुल्ला गरिएको उनले बताए  । हाल दैनिक सरदर २ सय जनाभन्दा बढी सर्बसाधारणले धरहरा चढ्ने गरेका अधिकारीले बताए । कम्पनीले प्रतिमहिना ६० हजार रुपैया महानगरपालिकालाई बुझाउँने गरेको समेत  आधिकारीले  बताए ।

धरहराका २१३ वटा खुड्किला चढेपछि नवौ तल्लामा पुगिन्छ । ७ औं तल्लामा रिङ्गै बार्दली छ । सुरक्षाको लागि आठ फिट उचाईको रेलिङ  लगाइएको छ । अपि्रय घटना नघटोस् भनेर बरण्डाको माथि फलामे जाली समेत हालिएको  अधिकारीले जानकारी दिए ।

धरहराले एकपटकमा ३० जनालाई काठमाण्डौ हेर्ने मौका दिन्छ । भर्याङबाट तल -माथी गर्नेहरु बाहेक सातौ तलाको बरण्डाले एकपटकमा ३० जनासम्मको ‘लाईभ लोड ‘ धान्ने प्राबिधिकहरुले जानकारी दिएको अधिकारीले बताए । सुर्की चुन मास चाकु काठ फलाम ईट्टाको प्रयोग गरि धरहरा निर्माण गरिएको हो ।

धरहराले दिनैजसो २०० जना भन्दा बढी मानिसहरुलाई आपुनो काँध चढाएर काठमाण्डौ मात्रै देखाउदैन आ-आपुना पेशा उमेर र दृष्टिकोणअनुसारका तक विर्तक समेत जन्माउछ । ‘गाडीहरु पनि इत्रो इत्रो देख्छ मान्छेहरु पनि झिगा जत्रो देख्छ कस्तोभन्नु खै’ बरण्डाबाट बाहिर हेरेपछि नाम्चेबजारकी यांकी शेर्पाले भनिन । 

धरहराबाट काठमाण्डौको सबै दृश्यहरु देखिन्छ भन्ने लागेपनि अहिले धरहराजत्रै ठुल्ठुला घरहरु देखेर भक्तपुरकी प्रतिक्षा काफ्लेले दुखमनाउ गरिन । ‘धरहराको अस्तित्व नै संकटमा परे जस्तो लाग्यो । ‘

बैतडीका कृष्णसिङ बोहोरा चाहि सौन्दर्यहीन सहरीकरणप्रति चिन्तीत देखिए ।  ‘खै हाम्रो गाउतिर त गराहरुमा सरसर मिलाएर मलको थुप्रै राखिन्छ । तर यहा त घरहरु पनि मिलाएर बनाएका रैनछन् । गुजुल्टा जस्तो देखिएका छन् के हो यो घरहरु तैपनि नजिकको घर देखिएको भने त्यो भन्दा पछाडि के छ केही नदेखिने अत्तोपत्तो छैन  ‘ उनले भने ।

( साथमा बिनोद अधिकारी)
(सबै तस्वीर:मिलन बगाले )

 

रेडियोका २ हस्ती

  रेडियोका २ हस्ती: बीबीसी नेपाली सेवाका जितेन्द्र राउत र रेडियो सगरमाथाका घमराज लुइटेल  १२ बर्ष पुरानो आफ्नो रेडियो रिपोर्ट सुन्दै (तस्वीर:मिलन बगाले )

कथा ( सीपीको ढिपी )

– मिलन बगाले

दाई ! अमेरिकाबाट पैसा आए’सी हामी पनि दिनदिनै चना केराउ खानी है ?
सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए । मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।
 दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो । मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई! आजको खाजाको स्पोन्सर म। यो चना केराउ राम्ररी भुट्नु । उ त्यो पोकामा चिउरा छ त्यो पनि झिक । मजाले खानुपर्छ है ?  यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे ।

‘दाई आज अमेरिकन एम्बेसी जानु छ !” सीपीको हुलिया आज निकै बदलिएको थियो । नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट! लौन कहाबाट ल्याएछ यो कोट?
मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे ।  सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ ।
‘दाई ! ल म हिडे है दस बजॆ एम्बेसी छिर्नू छ ।’ भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो ।

भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने ।
हेर्नु न – उ सहज भाकामा प्रस्तुत भयो – चार जोर मोजा लगाउदा पनि साईलोको जुत्ता फिट भएन मेरो त थोत्रो गोल्डस्टार मात्रै छ त्यस्तो के लाउनु भनेर चप्पलै लगाएको !
लाटा ! तिम्रो र मेरो खुट्टाको नाप मिल्छ जस्तो छ ।अप्ठ्यारो नमान्नु ! मैले धुलो झारेर मेरो ‘कोसेली छाला’ को जुत्ता उ तिर लम्काउदै भने ।
उ मात्र किचिक्क हास्यो ।
साईलो जुत्ता चम्काउन बाहिर बरन्डा तिर दौडियो ।
मैले ढाढस दिए – लक्की जुत्ता छ बाबु यो ! मेरो मामाले सीटिईभिटिको स्थायी ईन्जिनियरको जाचको अन्तबार्ता दिन जादा यै जुत्ता लगाएर गएका थिए बुढाको नाम निस्कीयो । डन्ट वरी!
सीपी किचिक्क बाट मुस्कानमा उक्लीयो ।
 म जुत्ता बिहिन भए बाहिर कतै निस्कीन पाईन दिनभर कम्प्युटरमा काम गरेर बसे ।

भिसा पाउने – नपाउने कन्फर्म एघार बजेतिर हुन्छ भनेको थियो सीपीले । तर बाह्र बज्दा पनि मेरो मोबाईलले सीपीको कुनै हालखबर बताएन। पढाईमा अब्बल विद्यार्थी उ त्यसमाथि निकै मिहिनेत गरेर राम्रो डकुमेन्ट बनाएको छु भन्थ्यो उसले त्यसकारण पाउला नि । सायद सरप्राईज दिन फोन गरेन होला, मेरो आस मरिसकेको थिएन तर उ भने उता एम्बेसी तिर जिउदै मरिसकेको रहेछ ।

चार बजेतिर एउटा भावशुन्य अनुहार मेरो ढोकामा उभियो ।
लोप्पा खायो ! आफ्नो अनुहारलाई आफैले लोप्पा खुवाउदै सीपी बोल्यो । म उसलाई सम्झाउन थाले ।
दुईटै दाई अमेरिका पुग्लान भनेर दिउसै सपना देखेर हिडेको साईलोको अनुहार बादल लागेको आकाश जस्तो थियो उ आफैले भिसा नपाए जस्तो! (सीपीको माईलो भाई टीपी अमेरिका गएको तीन महिना भइसकेको थियो)

अब सीपी अमेरिकाबाट अष्ट्रेलियामा बढुवा भयो या उसकै भाकामा भन्नुपर्दा घटुवा भयो । अष्टे्रलिया जाने धुनमा उ गुणराज दाईको कन्सल्टेन्सी तिर धाउन थाल्यो । कुनै पनि हालतमा नेपाल छाड्ने एक शुत्रीय ढिपी बोकेर सीपी हिड्न थाल्यो ।

दाई ! साईलाले डुबायो !
के डुबायो ? जुठा भाडा सबै बाटामा डुबायो ?म आफ्नै धुनमा कम्प्युटरमा ब्यस्त थिए ।
धत! जोक नगर्नु न यार, आफुलाई कस्तो टेन्सन भइसक्यो ।
के भो ?
साईलाले नुमे बोकेर आएछ ।
नुमे ? के हो यो ?  खाने कुरा हो कि क्या हो ?
धत ! हेर्नु न म अष्ट्रलिया जाने कैले, भिसा लाग्ने कैले, यो मुले साईलाले एक्लै बस्न सक्दिन भनेर मलाई नसोधि नुमेलाई रुम पार्टनर बनाउन ल्याएछ । फेरि भोलि दिदी पनि काठमाडौ आउने रे । बुवालाई अष्ट्रेलियाको भुत लाग्या छ । शर्मिला ,शशि, सुरक्षा, हेमकुमारी सप्पै अष्ट्रेलिया उड्ने रे । कोहि आइएलटिएस दिदै छन कोहि डिपेन्डेन्टमा हाल्दै छन । अनि बुवा पनि के कम जा छोरि काठमाडौ -आइएलटिएस दिनलाई भनेर दिदीलाई पठाउनु भाछ ।
सीपीले एकै सासमा आफ्नो् धारा प्रबाह सिध्यायो ।
म मरिमरि हास्न थाले ।
डुबिस् सीपी डुबिस्! खुब दाई भई खाको ? देखिस तलाई ४९ सालको भाईले पनि टेरेन आज! क्यारछस् बाबु अब, नुमेलाई कोठा दे आफु छोडेर जा  । मैले सीपीलाई जिस्क्याउदै भने । सीपी आज साच्चै रिसायो र खुट्टा बजार्दै निस्कीयो मेरो कोठाबाट ।

के हुदैछ सरहरु ? मदनजी को चिरपरिचित आवाज बेमौसमको बाजा बनेर ठोकियो ।
-के हुनु सर ? जिन्दगीको पाङग्रा गुडदैछ । अरु केनै हुन्छ र नया नौलो ?
-घान्द्रुक के हुदैछ ?
– प्री फाइनल चल्दैछ ,ड्रइङ अलिकति बाकी छ ( म घान्द्रुकको गुरुङ बस्तिमा थेसिस गर्दै थिए ।)
छोटो सबाल जबाफ पछि मदनजी मैदानबाट पछि हटे । म कालो कफिलाई तान्दै र सेतो धर्कालाई कम्प्युटरमा छोट्याउदै थिए साईलो मुन्टियो ।
साईलोको पछिपछि लागेर सीपी पनि भित्रियो ।
मदनजी पनि के कम ? लु है म पनि आए सरहरु । बुइनि कता गईच ? भात पकाम्न पर्नी ,अनि धेरै काम तुर्न बाकी छ। उनि चिरपरिचित लवज सहित फेरि हाजिर भए ।
हैन सीपीजी को घरतिर के छ पेशा ब्यबसाय ? उनले अनायसै बेमौसमको राग अलापे ।
म जङ्गिए । सीपी तिर आखा झिम्क्याउदै मैले मुख खोले – हेर्नुस मदनजी सीपी त जमिन्दारको छोरो । १०० बिघाभन्दा बढि खेत छ उसको , भन्डारामा ३५-४० वटा भन्दा बढि ठुल्ठुला माछा पोखरी  , पोल्ट्रिफार्म अनि ५ वटा ट्रक भन्न के लागेको थिए उसले  मेरो मुख थुनिदियो र ट्रकको कुरा मैले खुस्काउनै पाइन ।
अतिरन्जित गर्न त भएन नि ! उ मेरो कानमा फुस्फुसायो । म शान्त भए ।
मदनजी डङरङ्ग ढले । भाग् !भनेर भाग्न के आटेका थिए सीपीको मोबाइलमा घन्टी बज्यो । फोन घरबाट रहेछ साइलो चाहिले उठायो ।
-अनि त्यसपछि के भयो बा ??
साइलोले बार्तालाप आफ्नो चिरपरिचित थेगोबाट शूरु गर्यो । केहिबेरको भलाकुसारिपछि साइलो राकियो – ‘यहा जाडोले मर्न लगिसके ।एउटा ट्राउजर किन्ने पैसा छैन। जम्मा ३० रुपैया मात्र बाकी छ हामीसग । ओढने सिरक पनि एउटै मात्र । यो कम्मल त चिसो पानीको भुङग्रो जस्तो छ । भात मात्र खान देर हुन्छ काठमाडौ बसेपछि ? साइलोको छारस्ट प्रलापले अघि मैले हालेको भ्रमको पर्दा पूरै च्यातियो । धन्न मदनजी केहि नबुझेझै खिस्स हासेर बहिरिए मात्रै नत्र बर्बाद !

अमेरिका जान नपाएपनि सीपी र अमेरिकाको हालत एउटै भयो – आर्थिक मन्दी । सीपी पूरै टक्टकियो र साइबर जान समेत नसक्ने हालतमा पुग्यो । मैले ५०० सापटी दिए ,चुहिने खल्ति दुइचार दिन टाल्यो अनि फेरि शान्त भयो । एक दिन अनलाइनमा अमेरिका बस्ने उसको माइलो भाइसग मेरो भेट भयो ।
-के छ सीपी दाईको हाल?
-अमेरिकाको जस्तै ।
-मतलब ?
-आर्थिक मन्दी
-उसलाई साइबर  पठाइ दिनु न । म राम्ररी कुरा गर्छु नि ।
-बिचरोसग साइबर आउने पैसो समेत छैन।घरमा पनि पैसा छैन रे पठाइदिनलाई । भाडा नतिरेको दुइ महिना भैसक्यो । तरकारी सम्म जसोतसो दिदीले आफुले बचाएको पैसाले किन्दै हुनुहुन्छ , मसग समय थोरै तर सीपीको ब्यथाको पोको धेरै भएकोले सपै कुरा एकैचोटि लेखिदिए ।अनि उसको जबाफ सुन्ने हिम्मत नभएकोले मैले म्यासेन्जर बन्द गरे । कोठामा फर्केपछि सीपीलाई सुनाए – मर्मस्थलमा राम्रै प्रहार गरेको छु । हेरौ हरिया पात झर्न पनि सक्छन ।
आज धेरै दिनपछि ग्रहण लागेको सीपीको अनुहारमा मैले अलिकति आभा मण्डल देखे ।
-ल भाई जाम चिया खान ।
उ अक्मकियो ।
-न आमा पट्टिको न बाउ पट्टिको  तै पनि  स्पोन्सर  म छदै छु नि ! एक कप चिया ख्वाउनलाई मैले दुइ राउन्ड डाइलग हाने । उ र म बाजेको चियाको पसल तिर लम्कियौ ।

‘ओई ओई साईली ओई  ओई ! !
ओई ओई साईली ओई ओई !!’
सीपी साझ ६ बजेतिर भद्दा नाच र उज्यालो अनुहार सहित मेरो कोठामा हाजिर भयो । यसो हेरे- निलो कोट भिरेको रहेछ अनि मैले बुझिहाले-यो सबै हरियो डलरको कमाल हो (पैसा भएको बखत उ कोट लाउने गथ्र्यो)
-कति पात झर्यो भाइ ?
– जम्मा जाबो ३०० डलर ! उसको नाच बन्द भइसकेको थियो ।
डलर झरेको खुसियालीमा उसले मलाई भेज मम खुवाउन लग्यो । साईलोको चना केराउ खाने अन्तिम इच्छा पनि पूरा गरिदियो सीपीले । १-१ किलो चना केराउ कोठामा भित्रिएपछि नभिजेको केराउ चपाउदै साईलो मच्चियो -‘ अनि त्यसपछि के भयो मिलन दाई ‘?
-त्यसपछि ?
-अ
-‘त्यसपछि मिलन दाई मर्यो र मिलन दाईको कम्प्युटर बोकेर साईलो भाग्यो!’
-ऊ ! हु!! हु !!
साईलोले सबैलाई निशुल्क एक डोज मनोराजन प्रदान गर्यो ।

अब पालो गल्कोटे माईलोको ।

सीपीको खल्तिमा हरिया नोट नाचेको भेउ गल्कोटे माईलोले परैबाट पायो । पुतलीसडकमा सुकेको सागजस्तो पातलो ज्यानलाई हावामा हल्लाउदै हिडिरहेको अबस्थामा उसग गल्कोटेको भेट भएको थियो । गाउबाट दशलाख ठगी गरेर भागेको गल्कोटेलाई सीपीले आफुसग २०-२२ हजार रुपैया भएको र एउटा मोबाइल किन्ने बिचार गरेको कुरा सुनायो ।
-हेर सीपी त भाईजस्तो मान्छे सिम मेरै छ तलाई फ्रीमै दिउला । अनि २ जिबि मेमोरी कार्ड ,३ पिक्सेल क्यामेरा ,एमपिथि्, सिम रिम दुबै हाल्न मिल्ने हार्ड डिस्क र रयाम समेत भएको चोरीको सेट तलाई ४ हजारमै मिलाई दिउला । अष्ट्रेलियामा आईटि पढन जान ठिक्क परेको साईन्सको विद्यार्थी  सीपीलाई गल्कोटेले  हार्ड डिस्क र र्याम समेत भएको मोबाइल भनेर बखान छाटेपछि  दंग पर्यो र ४ हजार गल्कोटेलाई बुझायो ।

गल्कोटे साझ पाहुना बनेर सीपीको कोठामा भित्रियो । सीपीका दाजुभाई दुबै मिलेर गल्कोटेलाई निकै पुछपाछ पारे । साईलो गल्कोटेको ज्याकेट धुन  धारातिर लम्कियो । सीपी मैनबत्तीको उज्यालोमा चना केराउ र काउलीको तरकारी पकाउन थाल्यो ।

मिलन दाई ! फुर्किएको सीपीले घोकेको पाठ झै मेरो कोठामा आएर गल्कोटे पुराण सुनाउन थाल्यो – ‘ २ जिबी मेमोरी कार्ड ,३ पिक्सेल क्यामेरा, एमपिथि्, सिम रिम दुबै हाल्न मिल्ने हार्ड डिस्क र रयाम समेत भएको चोरीको सेट ४ हजारमा!’
ओई ओई साईली ओई  ओई !
 सरुभक्तको उपन्यास पागल वस्तीको ‘भउते चोर’ भन्दा बढी ‘कार्टुन डान्स ‘ नाचेपछि शान्त भएको सीपीलाई मैले भने – भाई! चोरीको सेट बोक्नु र सेट चोर्नु दुबै एउटै अपराधको कोटिमा पर्छन । फेरी के हो यो हार्ड डिस्क र र्याम भएकॊ सेट?  ठग्ला है तलाई गल्कोटेले !
धत! मेरो ढोकामा खुट्टा र जुत्ता दुबै बजारेर सीपी बम्कियो – मेरो मोबाइल आएपछि तपाईलाई म छुन पनि दिन्न !
-मलाई चोरीको सेट छुनु पनि छैन !
-नरिसाउनुस न दाई ! सीपीको ढिपी अलि कम भयो -‘यो जाबो नोकिया ११०० कति बोक्ने ? बल्ल राम्रो सेट बोक्ने मेसो मिल्दै छ ।
-ल ल भाई मोज गर ! म जबरजस्ती हास्ने प्रयास गर्न थाले ।
ओई ओई कान्छी ओई  ओई!!
  उ गल्कोटेलाई स्याहार्न आफ्नो कोठातिर लाग्यो ।
खल्ती र पेटको थैलो दुबै मजाले भरेपछि साईलोले धोईदिएको सफा ज्याकेट र पाइन्ट लाएर गल्कोटे मोबाईल लिन सीपीसगै पुतलीसडक निस्कियो र बीचबाटो बाटै फिल्मी शैलीमा उछिट्टियो ।
पट्यार लाग्दो साझमा मकैको ढोड जस्तो अररो शरिर लिएर सीपी फेरी मेरो कोठामा हाजिर भयो । निभ्न लागेको उसको अनुहारतिर मैले हेरे । उसले ईस! भन्दै लोप्पा खुवायो ।
मिलन दाई !चार जना मान्छे छिनाउनु पर्ने भयो !उ अनायासै बडबडायो । को को हो ? मैले आफ्नो गर्दन छाम्दै सोधे ।
-मेरो ३००० खाइदिने माटे गल्कोटे माइला,मलाई कुकुर बिरालो झै हेपेर अपमान गर्ने कपिल अनि दशतिर ठक्कर खाने अभागी म !
धन्न भगवान ! मैले हात गर्दनबाट हटाए ।
सीपीको ढिपी !मेरो मुखबाट अनायासै दुइ शब्द निस्कियो ।
उसले पनि आखाबाट दुइ थोपा तातो आशु तप्प झार्यो र टोल्हाइरहयो ।

संस्थापकको सम्मान

संस्थापकको सम्मान :  सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा  निर्मित संस्थापक महानिरीक्षक स्व  कृष्णमोहन श्रेस्ठ को प्रतिमा। कृष्ण मोहन -नुडुप दम्पतिको आजकै दिन ८ बर्ष अघी  माओबादीले हत्या गरेका थिए । 
तस्वीर:मिलन बगाले 

पर्यटन बर्ष – २०११ को औपचारिक शुभारम्भ

मिलन बगाले

काठमाडौ पुस ३० गते । ‘पर्यटनका लागी सगसगै ‘ राष्ट्रिपति रामबरण यादबले पर्यटन बर्षको लागी तय गरिएको नारा बाचन गरेर सुनाएलगत्तै पर्यटन बर्ष २०११ को औपचारिक शुभारम्भ भएको घोषणा गरियो । राजधानीको दशरथ रगशालामा भब्य कार्यक्रमको आयोजना गरि उक्त घोषणा गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री माधबकुमार नेपालले पर्यटन बर्षभरी बन्द हडतालका कुनै पनि कार्यक्रम नगर्न सबैलाई अनुरोध गर्नुभयो । आर्थिक समुन्नतीका लागी पर्यटन बर्ष कोसेढुङगा बन्ने उहाले बिश्वास  ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपालका प्रमुख जातजातीका भेषभुषा र संस्कृति झल्कने झाकि प्रस्तुत गरिएको थियो । भेषभुषाको बिबिधताले रंगशाला रंगीचंगी र आकर्षक देखिएको थियो । । नेपाली सेना, नेपाल प्रहरी,  सशस्त्र प्रहरी र खेलाडीले मार्चपास गरेका थिए । प्यारामोटस्र उडानले  कार्यक्रममा आकर्षण थपेको थियो । प्याामोर्टसबाट  ‘पर्यटनका लागी सगसगै ‘ लेखिएको ब्यानर  प्रदशन गरिएको थियो । कार्यक्रममा लुम्बिनीबाट ल्याईएको अखण्ड शान्तिदिप पनि  प्रज्जलन गरिएको थियो ।

शुभारम्भ कार्यक्रममा बिधार्थी ,सर्बसाधारण, पर्यटन ब्यबसायीका साथै उपराष्ट्रपति परमानन्द झा,  सभामुख सुवास नेम्बाङ, मन्त्रीहरु,  सभासद र बिदेशी राजदुतहरुको पनि उल्लेख्य उपस्थिति थियो । सार्क राष्ट्रका मन्त्री तथा उच्च पदस्थ ब्यक्तिहरु पनि कार्यक्रममा सहभागी थिए । बिदेशी पर्यटकहरुको भने उक्त कार्यक्रममा अत्यन्त न्युन उपस्थिति थियो ।

पर्यटन बर्षमा सरकारले १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ । ७ लाख हवाई मार्गबाट र ३ लाख स्थलमार्गबाट भित्रयाउने उसको लक्ष्य छ ।

भित्ता र देउता : बिष्टाको धुपदेखि लेपसम्म

मिलन बगाले

‘ श्री पशुपथिनाथले हामी सबैको कल्याण गरुन । ‘
साढे चार बर्ष एकछिनमै बितेछ । पशुपतिनाथको महिमा नसुनेरै । आवाज भित्तो भित्रबाट आउथ्यो । देबमहलजस्तो घरबाट । परम्परागत नेपाली बास्तुशैलीको अब्बल नमुना थियो त्यो घर (अहिले नी छदैछ) ।

कथा फेरिएछ । जमानै फेरिएपछि कथा जाबो नफेरिने कुरै आएन । भित्तो भाग्यमानी थियो । कुरो अहिलेको हैन पहिलेको । भित्ताका ठाउठाउमा सिपाहीले पहरा दिन्थे । वरिपरि थुक्ने कुरो कसैले सोच्नपनि सक्दैनथ्यो । भित्तातिर हेरे आखै झर्ने डर । सास फेरे सासै फुक्लिने डर । डरैडरको घर थियो त्यो । र भित्तो असाध्यै  सफा थियो ।

पछिल्लो समयका घरबेटी ज्ञानेन्द्र शाह थिए । यिनलाई जनताले घरबाट निस्किन भने । मान्छे ज्ञानी नै हुन । नारायणहिटी छोडेर त्यसको पूर्बपट्टिको निर्मल निवासतिर लागे । अनि ज्ञानेन्द्र पूर्बराजा कहालाए। यिनी हिडनु के थियो,  पशुपतिनाथको दुर्दशा शुरु भईहाल्यो । यिनकै घरको पश्चिमपट्टि भित्तामा टासिएका पशुपतिनाथको । अनि अरु देउताको पनि ।

ज्ञानेन्द्रको पूरानु घरमा यतिबेला परराष्ट्र मनत्रालय बास बसेको छ । पचहत्तर जिल्लाकै पासपोर्ट एउटै ढोकाबाट बाडन थालेपछि त्यो ठाउ हाटबजारजस्तो भएको छ । सगसगै देवीदेवताको दुर्दशाको कथा नी शुरु भो । ‘ दिसापिसाव गर्न गेट सगैको घुम्ती शौचालय प्रयोग गर्नुहोस ‘ निलो साईनबोर्ड टासेर सरकारले कामचलाउ ब्यबस्था नगर्या हैन । तर कुकुर स्टाईलमा दुनियाले भित्तो  रङ्गयाउन थालेपछि उसले के गरोस  बरा ? खोज्यो एउटा महापापी तरिका ।

कुनै पापीले कुनै जमानामा फोहोर तह लाउन भगवानका फोटा फोहोरका थुप्रामा टास्ने चुत्थो तरिका रच्यो । समस्या धेरथोर सुल्झेपछि छापाले यसलाई काईदाकै  बुटी भन्दै चारतिर हल्ला गर्यो । अनि खुबै फस्टायो यो पापी खेल ।  परराष्ट मन्त्रालय पनि उत्रियो फोहोरी खेलमा । रचनात्मक र सिर्जनात्मक बन्नुसट्टा काठमाडौ महानगरपालिकाका बाताबरण ब्यबस्थापन महाशाखाका हाकिम रबिन मान श्रेष्ठको गूरुयोजना हो रे यो । फोहोर तह लाउन देउतालाई नरकमा पाले राख्ने खेल।

हाकिमहरु यतिबेला पशुपति, गणेश, दुर्गा,साईबाबा, सरस्वती लगायतका थुप्रैजसो देउतालाई सकेको धेरै मलमूत्र बाडन ब्यस्त छन । त्यो भित्तोमा सबैभन्दा धेरै अन्याय पशुपतिनाथलाई भएको रहेछ । बुधबार एघार बजे पुग्दा मैले त्यस्तै देखे  । दिसाका बडाबडा थुप्रा र पिसाबको बैतर्नी उनकै फोटो अघि पो छ । गणेश भगवानको चाहि टाउकै काटेर फालेका छन । नया हात्तीको टाउको खोज्न हाकीमहरु सौराहातिरको सफरमा छन कि ?

हिन्दुका अतिपूज्य देउतालाई मनै कटक्क खानेगरि मानव बिष्टाले लिपेको देखेपछि मेरो दिमाग दुई सय बर्ष अगाडी फर्कियो । एउटा सन्की राजाको कथालाई ईतिहासले राम्ररी कैद गरेको छ । पृथ्वीनारायण शाहका नाती रणबहादुर शाह । आफ्नी रानी सितला रोगले मरेको झोक देवीदेउतलाई देखाएथे यिनले । पशुपतिनाथलाई टुक्राटुक्रा पारे । कुम्भेश्वरमा मानव बिष्टाले धूप दिए । अरु थुप्रै मन्दिर तोडफोड गरे । पूजारी र बैधका हात कोलमा पेले । बिर्ता हरण गरे । पापीका पापका बखान गरिसाध्य छैन । केके हो के के ।

रणबहादुर बाहेक सबैजसो  नेपाली राजाले धर्मको रक्षा गरेका थिए । मल्ल राजाका सिर्जनाहरु यतिबेला पबित्र धाम मात्र नभएर बिश्व समपदा समेत बनेका छन । देउतालाई पूज्दा पूज्दा ज्ञानेन्द्रले आफूलाई जिउदो देउता ठानेछन । उनी नक्कली मुजुर थिए । जनताले पत्याएनन । फालिए । फालिएपनि ज्ञानी बनेर बसेका छन  । त्यसैले सबैले उनको तारीफ गरका छन ।

मुलुकका गणतन्त्रबादीहरु भने यतिबेला रणबहादुर शाहका नया अबतार बनेका छन । राजाको घरको भित्तो तिनको रणमैदान बनेको छ । रणबहादुरले देउतालाई मानव बिष्टाको धूप दिए ।यिनले चाहि बिष्टाको लेप लगाईदिएका छन । लपक्कै । फोहोर गर्नेहरु पापी भईहाले । देउतालाई बिष्टाको लेपन गर्नेहरु चाहि महापापी नै हुन । तुरुन्त पूजा गरेर ती टायल हटाउनु । अनि नियम कडा बनाउनु ।  मलमूत्र फाल्ने सफा ठाउ पनि तुरुन्त बनाईहाल्नु है ? त्यसो गरे रणबहादुरका मित्रहरुको पनि जय होस ।


माईक्रोबस चलाउदै चन्द्रीका

-मिलन बगाले

सशस्त्र प्रहरीको मुख्यालय हल्चोकनेर तीनथाना जाने बस कुरिरहेका सुदीप अधिकारी अचानक रत्नपार्कतिर मोडिए । बा १ ज ५९०९ नम्बरको सेतो माईक्रोले डोर्यायो उनलाई । कारक थिईन –  चन्द्रीका देवी जोशी ।

सिन्धुली कर्कटे माईस्थानकी जोशीले धेरैलाई सकुशल गन्तब्यमा पुर्याएकी छिन । उनैका कारण सुदीपजस्ता एकातिर जानुपर्ने यात्रु राजीखुशीले अर्कातिर पनि गएका छन । कारण एउटै हो – चन्द्रीका लाई माईक्रोको ड्राईभर सिटमा देख्नु ।

‘दिदीले माईक्रो चलाएको आखाभरी हेर्न मन लाग्यो । त्यसैले चढेको । रत्नपार्कपछि बल्ल तीनथानातिर लाग्छु’ सुदीपले भने । माईक्रोमा चढेकी शशिकला गुरुङले पनि अचम्म मानिन । ‘ टाढाबाट हेर्दा मुन्द्धा लगाएको केटा भन्ठाने । महिला पो हुनुहुदो रहेछ ‘  महिलालो चलाएको देख्न र चढन पाउदा उनले खुशी लागेको बताईन ।

‘घर परिवार चलाउने बाध्यताले स्टेरिङ समातेपनि अब भने यो रहरको पेशा भएको छ’  चन्द्रीकाले खुशीका पन्तुरा फुकाउदै भनिन – ‘ पैसा ईज्जत र धेरैको माया पोल्टाभरी पाएको छु । कोठाभाडा तिर्न खर्च चलाउन र छोराछोरी पढाउन राम्ररी पुगेको छ’  । उनी सन्तुष्ठ देखिईन ।

अन्दाजी दश बर्षअघि टेम्पु चलाउन सिकेकी थिईन रे उनले । त्रिपुरेश्वरमा रहेको ‘आई एम’ भन्ने सस्थाले उनी लगायत चालीस जना महिलालाई टेम्पु चलाउने तालीम दिएथ्यो रे । ‘तालीमपछि लाईसेन्स लिएर टेम्पु चलाउन थाल्दै गर्दा राम डंगोल दाईले माईक्रोबस चलाउन हात बसाईदिनुभयो अलि अलि गर्दे जानिहाले नी’ उनले उत्साहका साथ थपिन – ‘मैले एक पटकमै ट्रायल दिएर लाईसन्स पाईहाले । ‘ २ – ३ बर्षअघि घरायसी कारणले काम छोडेपनि ६ महिनाअघिदेखी फेरी काम थालेको जोशीले बताईन् ।

टेम्पु चलाउन थालेको ४ दिनमै स्यानो दुर्घटना भएपनि त्यसपछि भने कुनै दुर्घटना नभएको चन्द्रीकाले बताईन । ‘त्यतीबेला मंगलबजारमा एउटा बाईकलाई हानेथे। धन्न केही भएन’  उनले पुरानो घटना सम्झिईन । त्यो घटनाबाहेक आफूले स्यानोतिनो गल्तीसमेत नगेरको  जोशीले बताईन् ।

उनको कामबाट श्रीमान गोपाल जोशी  निकै खुशी छन । नेपाली सेनामा कार्यरत गोपाल श्रीमतीले पुरुषसरह काम गर्न सकेकोमा गर्ब गर्छन । ‘ मेरो श्रीमानको साथ र प्रेरणाले नै निर्धक्क भएर काम गर्न सकेकी छु ‘  सन्तोषको सास फेरिन् चन्द्रीकाले । छोराछोरीको पढाईले उनी थप सन्तुष्ठ छिन । छोरा प्रज्वल र छोरी प्रतिमा अरुणोदय बोर्डिङ ८ र १० कक्षामा पढ्छन । ‘राम्रो छ मेरा छोराछोरीको पढाई’ यसो भनिरहदाको खुशी उनको अनुहारभरि लपक्कै पोतिएको थियो ।

चन्द्रीका  हत्पती बिदा लिन्नन। सातैभरि काम गर्छिन । ‘डेरामा दिनभरी बसेर पनि के गर्नु ‘ ? उनी यसै भन्छिन । बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म काम गर्छिन । थाकेर राती घर पुगेपनि परिबारले गर्ने मायाले सबै थकाई वीरर्सदिन्छ रे । छोरी र श्रीमान दुबैले खाना पकाउन सघाउछन । खाना पकाएर सबैजना उनलाई कुर्छन । अनि रमाएर खान्छन सबै।

टेम्पु चलाउने दिदीबहिनीहरु थुप्रै  भएपनि माईक्रो चलाउनेहरु खासै नदेखेको जोशीले बताईन । ‘एकजना दिदी रिङ्गरोडमा चलाउनुहुन्छ । म स्वयम्भुको २३ नम्बर रुटमा । तेस्रो महिलाचै देखेको छैन ।’ उनले भनिन ।

माईक्रो बसका सहचालक कमल दहाल पनि चन्द्रीका  दिदी सग काम गर्न पाएकोमा निकै खुशी छन । ‘दाईहरुसग भन्दा दिदीसग काम गर्न रमाईलो । दिदीले माया गर्नुहुन्छ । खायो खाएन बास्ता गर्नुहुन्छ । अहिलेसम्म गाली सुन्नु परेको छैन ‘ चितवनका कमलले कमलो कुरा गरे ।

माईक्रो चलाउने प्रेरणा दिने त्यसै माईक्रोका साहु राम डंगोल पनि उनीसग खुशी छन रे ।’ म राम्ररी गाडीको जतन गर्छु । अरुले झै हिसाब तलमाथी गर्दिन । एक पैसो तलमाथी गरेको छैन । त्यसैले राम दाई खुशी हुनुहुन्छु उनले थपिन – ‘बरु कहिलेकाही दाई आफैले पैसो थपेर दिनुहुन्छ । ‘

‘काम बाध्यताले थाले । अहिले रमाएर गर्दैछु । मेरो कामबाट अरु दिदीबहिनीले प्रेरणा लिईदिए हुन्थ्यो’ रत्नपार्कनेर रोक्दै गर्दा उनले सोधिन – ‘मेरो कुरो र फोटो चाहि कुन पत्रिकामा छाप्दिनुहुन्छ नी’?  – ‘ दिदी मैले लेख्या कुरो नागरिक भन्ने पत्रिकाले पत्याउछ । अनि कम्प्युटरमा मात्र पढन मिल्ने नेपाली पोष्टले पनि । पत्रिकाले पत्यायो भने तपाईलाई फोन गर्नेछु ‘  मैले भने । हुन्छ भाई । छुट्टिदै गर्दा उनले भनिन – ‘ भाई पाए भने मैले डोजर र ट्रक समेत चलाउन सक्छु । तर हामीलाई खाचो छ हौसलाको ।’

तपाईको हातले सधै ‘सर्लक्क बाटो’ को यात्रा गरोस दिदी । तपाईको सधै जय होस ।

डिउटीमा आउनुस खरेलसाप !

-मिलन बगाले तनहु
 
‘जनताका पुलीस’  रमेश खरेलको बढुवा गरेन कामचलाउले । भाई भतिजा पोस्न माहिर माधव सरकारले यस्ता थुप्रै  अन्यायका पहाड  नाघिसकेको छ । त्यसैले यो बेईमानको झुण्डको नया तमासा हामीलाई खासै नौलो कुरो भएन । एसपी खरेलप्रति मेरो सहानुभुती छ । तर सिक्काको खोटो पाटो पनि देखाईदियो खरेल काण्डले । खरेललाई लामो रेसको घोडा भन्ठानेको थिए मैले  । आस्थाको मेरो धरहरा थोरै हल्लिया छ ।

सरकारले बढुवा नदिएको झोक देखाउनुभा’छ खरेल सापले हामीलाई । बिदामा बसेर । सरकार र पुलीस भित्रका बदनाम लाई त हाईसन्चो पो भा छ । छातीको काडो पन्छिएजस्तो।  तपाईले  राजीनामै  ठोक्दिए त तिनले भोतभतेरै गर्नेछन अलिदिन सम्म । ए साप ,जाबो बढुवाको लोभमा पो तपाईले मिहिनेत गरेर काम गर्या? जनताप्रति तपाईको उत्तरदायित्व केही छैन ? तपाई अब साधारण एसपी मात्र रहनुभएन खरेल साप । म बढुवा भएका एउटा एस्पीको पनि नाम जान्दिन । तर तपाईको सातपत्रे किन मलाई कण्ठ छ भन्नुस त ! आफु जनताको महगो सम्पती बनिसकेको कत्ति भेउ भएन तपाईलाई ?  बुढा !

तपाईको यो केटाकेटी पाराले मलाई अतिततिर फर्किन बाध्य पार्यो । बाके शम्शेरगन्जका उरन्ठेउला पुलीसहरुले बिद्धोह गरेको घटना । आर्मी पुलीस कुनै ग्याङ  गुरिल्ला जत्थ् या झुण्ड होईन । रुक्माङगद कटवालले भनेझै यो सस्थाभित्र जर्नेल र कमाण्डरहरुलाई चुनाव गरेर पनि छानिदैन । रिस उठयो या अन्याय भयो भनेर कमाण्डरका आदेश नमान्ने र डिउटी छोडेर भाग्ने काम फौजीलाई सुहाउदैन । अन्याय भयो भने हल गर्ने बिधिसम्मत तरिकातिर लाग्नुपर्छ न कि बहानाबाजी र मिडियाबाजी ।तपाईत शम्शेरगन्जका पुलीसभन्दा बढी आलोकाचो देखिनुभो

कामले मान्छेलाई महान बनाउछ ।घुर्कीले चाहि घुरानमा थन्क्याउछ । तपाई एउटा क्रस खुकुरी र दुईटा तारा बर्दीमा  खोपिएको ‘जागीरे’ एस्पीमात्र होईन। यो सबैले बुझिसकेका छन । यो भन्दा उच्च मुल्याङकन र पुरस्कार के चै होला भन्नुस ! सरकारी तक्मा र फुली थाप्ने सजिलो भर्याङ त दुर्जकुमार र कुबेर राईहरुले राम्ररी चिनेका छन । तर के तिनीहरु तपाईभन्दा ठुला मान्छे हुन  ?

खरेल साप, जागिर खादा सपथ पनि तपाईले खानुभएकै होला । चेन अफ कमाण्डको बारेमा पनि बेस्सरी जान्नुभएकै होला । आफुले छाती चाल्नो हुन्जेल सहेर र खप्नुसम्म खपेर संगठनको तथा बर्दीको ईज्जत जोगाउनुपर्छ भन्ने पनि बुझनुभाकै होला । अनि तपाई बढुवा भएरै एस्पी बन्न सफल हुनु भएको होला । हु प्र बाट जागीर पडकाउनु भा ‘ हो र यस्तरी गैर जिम्मेवार बन्नलाई?

एस्पीसाप, एउटा पुसले जाडो जादैन । तपाई लामै रेसको घोडा हो । प्युसाहरुले के गरे बिसर्िदिनुस । तपाई एकदिन आईजिपी घटीमा बन्नुहुनेछ । अनि जनताको प्यारो मान्छे पनि । यो सरकार हरुवाहरुको हो । राजीनामा समेत ठोकिबसेकाले यो जनताप्रति फिटिक्कै उत्तरदायि छैन । यस्तो भुतले खाजा खानेबेलामा तपाईजस्ता जनताका मान्छेको खाचो देशलाई छ ।बर्दी धुनुस। आईरन लाउनुस। अनि भोलीदेखि डिउटीमा आउनुस ल । तपाईको सधै जय होस।

ओखलढुङ्गा फर्कनुस चीफसाप !

मिलन बगाले

‘सिद्धिचरणको सालिकमा फूल चढाउदा मेरो तर्फबाट पनि है। ओखलढुङ्गा भनेपछि  सिद्धिचरणको याद ताजा भएर आयो । कुनै जमानामा ओखलढुङ्गा बजारमा उहाको नागरिक अभिनन्दन गरिदा म संयोजक थिएँ । ‘, ओखलढुङ्गा उडनुभन्दा अघिल्लो दिन कवि बिश्वबिमोहन श्रेष्ठले फूल  चढाईदिन  मसग अनुरोध गर्नुभएको थियो । ‘म जाने काशीतिर सिद्धिचरणको सालिक भोटतिर’ रैछ भने कसरी चढाईदिने होला फूल ?   अलिकता आतिएको थिएँ । पहिला त्यतातिर नगएकोले क्यै मेसोमेलो थिएन ।

युनाईटेड मिसन टु नेपाल द्धारा साचालित ‘ओखलढुङ्गा सामुदायिक अस्पताल’को सेवा र संरचना बिस्तारसम्बन्धी गुरुयोजना बनाउने कामले ओखलढुङ्गा टेक्ने मेसो मिलेको थियो । रुम्जाटार बिमानस्थलमा मलाई लिन आउनुभएका तील बहादुर बिश्वकर्माले  बजारको पुछारमा बसेका कविसग भेटाईदिनुभयो । अब भने मन हलुको भो । म फूलको बुटो खोज्न थालें । आहा ! आडैमा मजाले फुलेको सयपत्री फुल रैछ । टिपेर दुई थुगा मेरो र दुई थुगा कवि बिश्वबिमोहनको तर्फबाट चढाएँ  । पाउमै चढाउन मन थियो तर सालिक आधामात्रै रैछ । अनि त सिमेन्टी खाबोको पाउले पो भाउ पायो ।

कविको सालिकको आडमै ओखलको स्बरुपको बडेमाको ढुङ्गो रैछ । सयौ बर्ष पुरानो त्यही ढुङ्गाले जिल्लाको नाम बोकेको जानकारी सालिकछेउ भेटिएका स्थानीय बालकुमार कटुवालले दिए । तपाई रुक्माङगद चिफसाहेबको आफन्त?  मैले ठट्टैमा सोधें । हैन। तर चीफसाप यतैतिरको मान्छे नी । २ घण्टा पर छ चीफसापको जन्मघर। उनले बताए ।  चिफसापले केही सम्झनलायक काम पनि गर्नु भाछ कि ? जिल्लाको लागी  मेरो चासो जारी थियो । ‘छैन छैन । क्यै छैन ‘ उनले हाजिरी जवाफ शैलीमा उत्तर दिए । तर जे होस चीफसापले गर्दा जिल्लाले नाम चै पायो है ।  रुक्माङगद कटुवालको जिल्ला भनेर । धेरथोर खुशी लाग्दो रैछ जिल्लाको नाम आउदा ।’ उनले सन्तोष मानेझै गरे । ‘यसो भुर्र चढेर (हेलिकोप्टर)  माथि ब्यारेकमा आउनुहुन्थ्यो जानुहुन्थ्यो । जन्मेको गाउ र घरतिर गएको पनि त्यती मेसो पाईएन।’  ‘बरु काठमाडौमा जन्मेका यी कविले युगौसम्म पुग्ने गरी जिल्लाको नाम उचो राख्दिए,’ सालिकतिर हेर्दै बालकुमारले कविलाई धन्यबाद दिए। अन्दाजी आधा रोपनी जग्गा किनेर सालिक बनाईएको तर वरिपरि उधान बनाउने काम भने नभएको जानकारी पनि उनले दिए ।’कविको घर नी थ्यो नी सर यै तर जमानामै भत्कीयो ‘ उनले थप जानकारी दिए।

सिद्धिचरणको सालिकको आडैनेर युगौदेखि टुक्रुक्क बसेको ओखलजस्तो बडेमाको ढुङ्गोको महत्वलाई स्थानीयले राम्ररी बुझेझै लाग्यो । कुदेका सस्याना ढंङ्गा पुरै टासेर त्यसलाई थप आकर्षक बनाएछन । ओखल मोनुमेन्ट (स्मारक ) जस्तो देखियो । सांस्कृतिक सम्पदाजस्तो ।

अब रुक्माङगद चिफसापतिरै फर्कौ । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्छन क्यार । चिफसाप सस्कृत राम्रोसग बुझ्नुहुन्छ । तपाईको जिल्लामा जनताको मर्का बुझ्ने  र जिल्लाको बिकास निर्माणसग बेस्सरी सरोकार राख्ने  एउटै नेता रैनछन चिफसाप । जिल्ला अस्पताल छैन यतिका बर्षसम्म पनि । रुम्जाटारतिर बल्ल बन्ने तरखरमा छ । राष्ट्रिय राजमार्गसग जोडिने कुनै सुरसार छैन जिल्लाको । दुधकोशीमा मोटर हिडने पुल कहिले बन्ने हो कोशीनै जानेस ।  छेपाराको उखान भईसकेको ‘फेरी’ बल्ल चल्न थालेछ । स्थानीय पत्रकार कुम्भराज राईले खिचेको फोटो पत्रिकामा देख्न पाईएको थियो ।  पीचबाटो छदै छैन । स्थानीय खोलाबाट निकालिएको बत्ती मुश्कीलले ४ -५ घण्टा बल्छ । रुम्जाटार बिमानस्थल मा जहाज कसरी ओर्लन्छ कुन्नी गतिलो पूर्बाधार केही छैन । धावनमार्ग पिच हुने कुरै भएन । ठूलो क्याम्पस, कुलो ,सिचाई केही छैन सदरमुकाम बरिपरि समेत । जिल्ला सदरमुकाम वरिपरिको  ‘कमजोर विकास ‘ ले यो भीमकाय जिल्लाको कुनातिरको जिन्दगी थप कष्टकर भएको झल्को पाईन्छ ।

कवि सिद्धिचरणलाई ओखलढुङ्गा ‘प्यारो’ लाग्यो र येल्ले नाम कमाउन पायो । तर हावापानी के नमिलेर हो बिकास ल्याउने नेताचै येल्ले पाएन । यो मेरोबोली हैन त्यहाको जनबोली हो । हाम्रामा ठुलामान्छे छैनन भन्दैथे उनीहरु ।म चै त्यतिबेला ओखलढुङ्गामा जन्मेको एउटा ठुलो मान्छेलाई बेस्सरी सम्झिरहेको थिएँ  । रुक्माङगद चिफसापलाई । बालकुमारले कति आदरपूर्वक उनलाई ‘चिफसाप’ भने । किन काठमाडौमा माओबादी ‘केटाहरु’ ( उहाकै शब्द)  सग ‘ठुवा’ खेलेर उर्जाशील समय बर्बाद पार्ने चीफसाप ? राजनिति गर्ने खुबै र ईच्छा दुबै बेस्सरी भाको मान्छे हो केरे तपै । जिल्लातिरै गएर जनताको र माटोको सुखदुखमा पो साथ दिनेहो कि?  साप , तपाई जस्तो बोली बिक्ने मान्छेले मन गरिदिए जिल्लाले धेरै न्याय पाउछ । सुतेको सिहदरबारमा ओखलढुङ्गेसगै  बिकासका कुरा बोकेर आउनुस त,  ओखलढुङ्गाले पोल्टोभरी भाग पाउनेछ । अनि तपाईको राजनितिक भबिष्य पनि अभेध किल्लाजस्तो बन्छ ।

जिल्लाको नाम ढुङ्गोबाट बनेपनि त्यहाका मान्छेको मन नौनीबाट बन्या रैछ । रुक्माङगद चिफसापले त्यहाका मान्छेको मन मजैले जित्न सक्नुहुन्छ । तर यहा सुतेर होईन जागेर त्यतै जानपरो । नेताजस्तो मान्छे तपाई, तपाईका पुराना कर्नेल नारायणसिङ पुनले म्याग्दीलाई माया गरेको र म्याग्दीले पुनलाई माया गरेको मात्रै सम्झिनुस त ,तपाई रोमान्चित हुनुहुनेछ । लौ चिफसाप ,घुमिफिरि रुम्जाटार भन्छन त्यतै केही गर्न जानुभयो भने चै तपाईको जय होस।




धागो काटिएका चङ्गाहरु

मिलन बगाले

गएका ६१ बर्षमा  ६६ वटा  चङ्गा नेपाली आकाशबाट खसेछन । ति सबैका धागो काटिएका थिए । अब खस्नलाईजम्मा४५ वटा बाकी छन रे । भएका भन्दा खसेकाको संख्या बढी भएपछि बचेकालाई ‘खस्न बाकी’ त भन्नपर्यो नी हैन ?अहिलेसम्म ५ हजार भन्दा बढी मान्छे आकाशमा पडकिएछन । घोप्टेभीर, घ्याङफेदी, भट्टेडाडा, घुन्सा, शिखरपुर, ढोरफिर्दि, श्रीचौर आदि भुताहा पहरामा तिनले चोला बिसाए । क्षतबिक्षत भएर । डढेर । आफ्नो शब आफैले देख्न मिल्ने भए ती कति कहालिदा हुन ?

‘एकपटक बाचियो’ भनेर नहुने रैछ पहरामाथि उडनेले । मनमोहन अधिकारी लाई बचाउने रबिन कडरिया रारामा डुबे। एकैदिनमा ३ पटक सकुशल उडेका अनुप शाक्य र सचिन्द्ध श्रेष्ठहरु ओखलढुङ्गाको श्रीचौरमा खसे ।

हराएको जहाज खोज्न जादा खोज्न जानेसमेत खसेको कालो ईतिहास छ नेपालमा । कुरो ५० बर्षजति पहिलाको होला। ढोरफिर्दितिरको लिम्पिया धुरामा पिलाटस पोर्टर नामको सानो जहाज खस्यो । त्यसलाई खोज्न गएको अर्को पोर्टर पनि त्यतै तिरको आकाशबाट भुईमा खस्यो। यो कुरो डा ताना शर्माले आफ्नो किताब ‘चरी भरर’ मा पनि लेखेका छन।

नेपाली आकाशबाट राष्ट्रका धेरै अमूल्य निधिहरु पनि हराएका छन। थाई एयरको दुर्घटनामा परेका श्याम श्रेष्ठ हुदै हर्क गुरुङ र चन्द्ध गुरुङसम्म आईपुग्दाको घाउको कथा निकै लामो छ र दर्दनाक पनि ।

जहाज थोत्रो हुदैन भन्छन पाईलट र एयरलाईन्स कम्पनीकाहरु । ‘थोत्रा जहाज खसे’ भन्ने बहस चल्नासाथ उनीहरु दुनियाको मुलबुझो यसरी नै लाईदिन्छन। साझा बसजस्ता थोत्रा जहाजमा यात्रु हालेर खिया लागेका पखेटाले डाडा नाघेको हामीले देखे भोगेकै हौ । जहाज उडाउनुलाई सहासी खेल सम्झेर नेपाली पाईलटहरुले जोखिम मोलेर उडाएको आभाषसमेत हुन्छ कहिलेकाही।

नेपाली धागो काटिएका चङ्गाहरु खस्ने क्रम डरलाग्दोसग बढदैछ। अब ४५ वटा खसिसकेपछि मात्र यो भूलाहा खेलले बिश्राम लिने हो?


Create your website with WordPress.com
Get started
%d bloggers like this: