जेलभित्रको झेल (पठन अनुभव)

मिलन बगाले 
तिमी पर्खालबाहिर छौ
म पर्खालभित्र छु
आखिर के फरक पर्‍यो र मित्र
अर्काको मुठीभित्र पराधीन जिन्दगी
आखिर जहाँ बस्नु परे पनि त्यो जेल हुन्छ।
कवि कृष्णसेन इच्छुकका हरफ हुन् यी। कविले स्वतन्त्रताभन्दा परको जिन्दगीलाई जेलसँग दाँजे। अमर कविको कविता असल छ। तर जेलभित्र बस्नु र जेलबाहिर बस्नुमा धेरै फरकचाहिँ छ। जेलले मान्छेलाई मात्र हैन, मान्छेका सपना पनि थुन्ने रहर गर्छ। वर्तमान मात्र हैन, भविष्य नै थुन्ने रहर गर्छ। थुनिएको मान्छे जेल जीवन सकिएपछि पनि समाजको आँखामा थुनामुक्त हुँदैन।
जेलले उसलाई सीप सिकाएर, जीवन जिउने तरिका सिकाएर असल मान्छे बनाएर पठाएको पनि हुँदैन। कालो कोठरीमा अनेक मानसिक तनाव झेलेर निस्केको मान्छे एकपछि अर्को अपराधको भाँसमा भास्सिने खतरा बढी हुन्छ। परिवारको माया र साथ, स्वअध्ययन र आफ्नै अन्तरमनसँगको सार्थक संवादले जेल जीवन सकिएपछि मान्छे सुध्रिएका पनि हुन्छन्।
जेल धरतीमै उभिएको हुन्छ। धरतीसँगको विशालताको साइनो खुम्चिए पनि धरती त थुनिँदैन। तर घाम, जून र आकाशसमेत थुन्ने रहर गरिदिन्छ जेलले। जेल सुरुङ हैन। सुरुङको दुवैतिरको मुखमा मलिनो उज्यालो हुन्छ। जेल त एकमुखे ओडार हो। उज्यालोबाट अँध्यारोतिर पसेर अनन्त : अँध्यारोभित्र उज्यालोको आशाबिनै कुँजिँदा र पछि पसेकै मुखबाट निस्कने बेलामा मान्छे उज्यालो देखेर आत्तिने भइसकेको हुन्छ। जेलले निदाएको बेलाको सपना मात्रै हैन, ननिदाएको बेलामा देखिने कल्पनाको संसार पनि थुन्ने रहर गर्छ। तर त्यो चक्रव्यूह फोर्ने आँट केहीमा हुन्छ। र, त जेलबाहिर निस्कन्छन् थोत्रा कागजमा किरिङमिरिङ कोरिएका पाण्डुलिपिहरू। ‘कारा’ कालो कोठरीबाट त्यसरी नै निस्केको एउटा सग्लो किताब हो।
नेपालमा कति कारागार होलान् ? ती कारागारको क्षमता कति छ ? र कति कैदीबन्दी राखिएका होलान् ? एक अध्ययन भन्छ, ‘नेपालका ७४ वटा कारागारमा जम्मा १० हजार कैदीबन्दी थुन्ने क्षमता छ तर साढे २३ हजारलाई कोचेर राखिएको छ।’
जेलभित्र जघन्य अपराध गरेका अपराधीमात्रै छैनन्। परिबन्दले थुनिएका, कानुनको काँडा बिझेका धेरै निर्दोष पनि छन्। ‘कारा’को विमोचनमा सुशीला कार्की, सपना मल्ल प्रधान र रमेश खरेलको एकमत थियो यो कुरामा। जिन्दगीको जगै हल्लिएका दु :खी मान्छेहरू बस्ने ठाउँ र तिनका दु :खको पत्र सुशीला कार्कीले कारामा राम्रैसँग खोतलेकी छन्।
कारालाई उपन्यास भनिए पनि उपन्यास पढेजस्तो महसुस मैले कत्ति पनि गरिनँ। यसलाई उपन्यास सम्झेर पढिनँ मैले। सुशीला कार्कीको जेल डायरी नै सम्झेर पढेँ। हुन पनि यो जेल डायरी नै हो। २०४६ सालमा लेखक जेलमा थुनिँदाको डायरीलाई मर्मत गरिएको र मर्मत गर्दा डायरीले उपन्यासको रूप धारण गरेको हो। यो कुरा सुशीला कार्कीले किताबमा लेखेकी छन्।
जेल जालझेल र दु :खको महासागर हो। जघन्य अपराध गरेर जेल पुगेकाहरू त यो किताबमा लेखिएझैं त्यहाँभित्र पनि उपध्रो नै गरेर बसेका छन्। जेलभित्रै कतिले अनेक खाले आपराधिक धन्धा पनि चलाएका छन्। नाइके, नाइकेनी बनेर अरू कैदीबन्दीमाथि अमानवीय हिसाबले शासन गरेका छन्। रासनदेखि लुगाफाटोसम्ममा भ्रष्टाचार गरेका छन्। तर केही परिबन्दले थुनिएका छन्। कानुनको काँडो बिझेर थुनिएका छन्। न्यायाधीशको विवेक नपुगेर थुनिएका छन्। अपराध अनुसन्धानको ढंग नपुगेर थुनिएका छन्। अनेक राजनीतिक आग्रह-पूर्वाग्रहको सिकार भएर थुनिएका छन्। महिला, पुरुष सबै थुनिएका छन्। थुनिएको पुरुषलाई भेट्न आमा र श्रीमती आइराख्छन्, आँसुको धारा र आशाको दियो दुवै बोकेर। मिठोमसिनो खानेकुरो पनि ल्याउँछन्। अनि साथीभाइ पनि आउँछन्। सहानुभूति बोकेर। तर थुनिएका महिलाको अवस्था फरक छ। एकाधबाहेक अधिकांशले परिवारबाट घृणा र पीडाको पहाड पाएका छन्। श्रीमान्, छोराछोरी र माइतीबाट समेत अपहेलित भएका छन्। जेल जीवन सकिएपछि कहाँ जाने ? बाटो अन्धकार छ। जेलजस्तै।
न्याय दिनुपर्नेले अविवेकी बनेर अन्याय गर्दा धेरै जीवन जेलको अँध्यारोभित्रै सकिएको छ। ‘न्याय कानुनका दफाहरूमा हैन, मानिसको विवेकको डोरीमा झुन्डिएको हुन्छ। विवेकको डोरी खुकुलो भयो भने त्यो पासोमा न्यायकै प्राण जान्छ।’ ती हरफहरूले बोलिरहेछन्, न्याय दिने ढंग नमिल्दा, किताबका अक्षरले न्यायको भाका नबोल्दा ती अक्षरहरू फाँसीको फन्दा बनिरहेका छन्।
किताबमा विभिन्न भूगोल र सामाजिक परिवेशबाट आएका महिला पात्रहरू छन्। तिनका नामदेखि रासनसम्ममा नाइकेनीको शासन छ। त्यो शासन अत्यन्त क्रूर, अविवेकी र जंगली छ। प्रशासन तिनै नाइकेनीसँग मिलेर कैदीबन्दीको रासन हिनामिना गरिरहेछ। नाइकेनीको शासनमा मन नपरेकाको नाम टर्रो राखिएको छ। मन परेकाको नाम मिठोमसिनो बनाइएको छ। तिम्मा, हीरामाया, पात्ले, भक्तिपुरे, पुष्पा, सानु, खोटाङे, दार्जिलिङे, फुलवा, झुम्रीदेवी, रमादेवी आदिमध्ये सानु र पुष्पामात्रै राजनीतिक अभियोगमा थुनिएका बन्दी हुन्। अरू सबै जघन्य अपराधको आरोपमा थुनिएका। सबैसँग दु :खको अनन्त खात छ। केहीले परिबन्दमा परेर ज्यान जोगाउन अपराध गरेका छन् त कोही त्यसै फसाइएका छन्। मानसिक सन्तुलन गुमाएकी श्रीमतीलाई अस्पताल हैन, प्रशासनसँग मिलेमतो गरेर जेलभित्र थुनिएको दर्दनाक कहानी पनि यसभित्र अटाएको छ।
जेलभित्र न केही सीप सिक्ने अवसर छ, न भोलिको जिन्दगीको कुनै सहज बाटो छ। कति त जेल छोडेर जानुपर्दाको दिन सम्झेर कहाली मानिरहेछन्। दु :खैदु :खको बीचमा रमाएका पनि छन्। मादल बजाएर नाचेका छन्। मीठोमसिनो पकाएर, बाँडेर खाएका पनि छन्। सरसफाइ पारेर, सागपात र फलफूल रोपेर कालकोठरीमा प्राण पनि भरेका छन्। साथी छुट्ने बेलामा मिठोमसिनो पकाएर खुवाउँछन्। उपहार दिन्छन्। रोइकराई गर्छन्। बेलाबेलामा लरालर र लुछालुछ पनि गर्छन्। जेलभित्रै नाइकेनीको सरकार ढाल्छन्। अनुहार नदेखेको मान्छेसँग माया पनि लगाएका छन् कसैले। थोरैले मात्र भोलिको जिन्दगीको अलिअलि उज्यालो चित्र मनमा साँचेर बसेका छन्। रंगहीन हुँदाहुँदै पनि आक्कलझुक्कल रंग पलाएको छ जिन्दगीमा। तर उज्यालोलाई सधैं अँध्यारोले नै जितिरहेछ। पुष्पा र सानुले ती अबोध, निर्दोष र अनपढ महिलाको चित्तमा चेतना रोपेका छन्। सीप सिकाएका छन्। शिष्ट तरिकाले विद्रोह गर्न पनि सिकाएका छन्। मनमा अलिकति उज्यालो रोपिदिएका छन्।
दु :खका खात उधिन्दै कार्की लेख्छिन्, ‘बाहिरबाट हेर्दा खुंखार अपराधीलाई कैद गरिएजस्तो लाग्ने झ्यालखाना त खास दु :खीहरूको संग्रह पो रहेछ। यी सबै आआफ्ना दु :खका पहाड बोकेर यी खण्डहरमा आउँदा रहेछन्। अरू दु :ख भोग्न। न यो सुधारगृह थियो, न यहाँ निस्किएपछिको जीवन कसरी जिउने भनेर सिकाइन्थ्यो। बरु मान्छेको निधारमा कलंकको एउटा टीका लगाएर पठाइन्थ्यो, जसले गर्दा यहाँबाट निस्कनेको जीवन पहिलेजस्तो कहिल्यै हुन सक्दैनथ्यो।’ मान्छेले कति धेरै दु :ख लुकाउन सक्छ, कति धेरै दु :ख दबाउन सक्छ भन्ने कुरा यसका पात्रहरूको कथाले बोल्छ। ‘मिलाएर राख्ने हो भने मान्छेको मनभित्र यो पूरै पृथ्वी अट्छ होला’, लेखकको अनुमान छ।
नेपालमा राजनीति गर्नेहरूका लागि कति वर्ष विश्वविद्यालयमा पढायो, कति पढ्यो, कति वर्ष अध्ययन-अनुसन्धानात्मक कर्ममा बितायो, कतिवटा किताब लेख्यो, कुन कुन विश्वविद्यालयमा पढ्यो भन्ने कुराले खासै अर्थ राख्दैन। जेलनेल नै नेपाली नेताको बलियो बायोडाटा बनेको छ। जिन्दगीको सबैभन्दा ऊर्जाशील समय कोठरीमा अत्यन्त कष्टकर जीवन बिताएका उनीहरू त्यो जीवनको साँवा र ब्याज असुल्नमै व्यस्त छन्। नत्र अहिलेका जेलहरूमा मान्छेलाई चाङ लगाएझैं कोचेर किन राखिन्थ्यो ? जेललाई सुधारगृह किन बनाइन्नथ्यो ? राम्रो खानपिन, सफा कोठा, सहज शौचालय, आवश्यक उपचार, मानवोचित व्यवहार, सीप र उद्यमको उचित अवसर, मुद्दामामिलाको गहिरो अनुसन्धानमा किन ध्यान दिइन्नथ्यो ? राजनीतिक बन्दीलाई जघन्य अपराधीसँगै उस्तै व्यवहार गरेर किन राखिन्थ्यो ?
सभ्य समाजमा कुनै पनि खालको हिंसा, अपराध र ज्यादती स्वीकार्य छैन। अपराधीलाई पठाउने जेलमै हो। अपराधी कोही नछुटून, निरपराधी कोही भित्र नपरून, जेल भवन मान्छे सडाउने र सिध्याउने ठाउँ नहोस्, निधारमा कालो टीका टाँसेर, हिंस्रक मनोभाव टनाटन भरेर फेरि अर्को अपराध गर्ने छुट्टी बोकेर कोही जेलबाहिर ननिस्कियून्। आफूले थुनेको मान्छेलाई साँच्चै मान्छेजस्तै बनाएर बाहिर पठाउने र परिबन्दले थुनिएका छन् कि, फसाइएका छन् कि भनेर निरन्तर मिहिन जाँचबुझ गर्ने दायित्व सरकारकै हो। ‘कारा’ले परिबन्दका कथा बोलेको छ। ढल्न ठिक्क परेका थोत्रा भवनभित्र नारकीय जीवन बाँचेका दुखियाहरूको परिबन्द। जेल जालझेल र दु :खको महासागर बनेको छ। जेलभित्रको महाझेल महिला सेलमा बढी छ भन्छ कारा। दु :खी संसारको यो आवाजलाई ‘कारा’ले प्राण भरेको छ। साराले सुनोस्। जेल बस्दा, वकालत गर्दा होस् या प्रधानन्यायाधीश हुँदा- सुशीलाले भुइँमान्छेलाई न्याय दिन फुइँमान्छेसँग सधैं पौंठेजोरी खेलेकी छन्। न्यायप्रेमी कार्कीको कलमको जय होस्।
(२०७६ साल माघ ११ गतेको अन्नपूर्ण फुर्सदमा छापिएको )

निकास नपाएको विकास

मिलन बगाले
बेँसीमा रहेको घरको आँगनमा बसेर अगाडिको डाँडाको टुप्पोतिर नियाल्दा रूखै छोएझैं जहाज र हेलिकप्टर छिनछिनै फुत्तफुत्त निस्कन्थे र आकाश थर्काउँदै पल्लो डाँडामा पुगेर बिलाउँथे। घाम पनि त्यहीँबाटै उदाउँथ्यो र पल्लो डाँडाको टुप्पोमा पुगेर बिलाउँथ्यो। घाम बिलाएसँगै गाउँलाई झ्याउँकीरीले गिज्याउँथे। चुक घोप्ट्याएजस्तो अन्धकार, धिप्रीको धिपधिपे उज्यालो र झ्याउँकीरीको झ्याउँझ्याउँ। बत्ती नभएको जिन्दगी के जिन्दगीजस्तो लाग्थ्यो त्यो अँधेरी रातमा। जसै जून उदाउँथ्यो, मन उज्यालो हुन्थ्यो। जूनेली रातमा झ्याउँकीरीले त्यतिविघ्न हेप्न सक्दैनथे। लम्फा र धिप्रीको धिपधिपे उज्यालोसामु किताब फिँजाएर पढिबस्दा मनमा अनेक सपनाले हाँगा हाल्थे। बिजुली बत्तीले जोडिएको जिन्दगी, सडकले जोडिएको जिन्दगी, किताब र पत्रिका गाउँतिर किन्न पाइने फिलिली जिन्दगी। अहा जिन्दगी। सलल बगेको सर्लक्कको जिन्दगी। म त बालकैदेखि पाठ्यपुस्तकभन्दा परका किताब पनि थुप्रै पढ्थेँ। किताबमा मीठामीठा कुरा हुन्थे। विकासका कुरा हुन्थे। निकासका कुरा हुन्थे। हाम्रातिर न विकास थियो न त निकास। गाउँको जिन्दगी सलल बगेको थिएन। जमेको थियो।
sketch source: Annapurna Post
रूख छोएर उदाउने/अस्ताउने घाम र रूखको टुप्पोबाट ओर्लने होलिकप्टरको दृश्यले मनमा अनेक प्रश्न जन्माउँथे। आकाश पनि त्यही डाँडाको आड लिएर अडिएजस्तो लाग्थ्यो। त्यो डाँडाको टुप्पोमा पुग्न पाए ? आकाश त यस्सो लम्केरै छुन पाइन्थ्यो होला, हेलिकप्टर र हवाईजहाज पनि नजिकबाटै देख्न पाइन्थ्यो होला। सानोमा यो रहर मनमा निकै बलियोसँग गढेर बसेको थियो। नेपाल ठूलो छ, बालक मनलाई त्यो राम्ररी थाहा छ। संसार धेरै ठूलो छ। त्यो पनि थाहा छ। सगरमाथा धेरै अग्लो छ। त्यो पनि थाहा छ। सबैभन्दा अग्लो सगरमाथालाई नै छेक्न सक्ने गरी कति धेरै डाँडाकाँडा उभिएका होलान् ? त्योचाहिँ थाहा छैन। सगरमाथाको उचाइ फेदबाट ननापेर समुद्रको सतहबाट किन नापिएको होला ? त्यो त झन् थाहा छैन। घरको उचाइ, बरको रूखको उचाइ, रोटे पिङको उचाइचाहिँ किन फेदबाट नापिन्छ होला ? भूगोलको औपचारिक पढाइ सुरु नहुँदै मेरा मनभरि यस्ता प्रश्न कति थिए कति। किताबमा अनेक थरी उत्तर थिए। मुना र सुनकेस्रामा अनेक कुरा छापिन्थे। पढ्थेँ। तर यी जिज्ञासाको सजिलै बुझिने जवाफ थिएनन्। बालकैमा यस्तो कुरो राम्ररी कहाँ बुझिन्थ्यो र ? वरिपरिका पहाडले पहाडजस्तै अग्ला प्रश्न सोधिरहेका हुन्थे। बालक दिमागले धेरै कुरो ठम्याउन र प्रश्नका पहाड सम्याउन सक्दैनथ्यो।
तनहुँको मेरो गाउँ (बर्लाची) राष्ट्रिय राजमार्गसँग नजोडिए पनि आकाशमार्गबाट गजबसँग जोडिएथ्यो। दिनभर जहाज र हेलिकप्टर त उडेको उड्यै। म बिदाको दिनमा आँगनमा बसेर गनेको गन्यै। कहिलेकाहीँ त धुवाँको मुस्लो फालेर उड्ने रकेट पनि देखिन्थे आकाशमा। आकाश छेडेर अर्कै ग्रह खोज्न हिँडेको रकेट कतै आकाशमा त ठोक्किन्न ? मेरो मनमा डरको ठूलो घर थियो। अलि कुरा बुझ्न सक्ने भएपछि बल्ल डरैडरको त्यो आकाशे घर भत्कियो र मनको आकाश पनि छ्यांग खुलेझैं भयो।
डाँडै छोएर हेलिकप्टर र घाम निस्केको रोमाञ्चक दृश्यले मलाई डाँडापाखा हिँड्न मरिहत्ते गर्ने बनायो। समयले गाउँ, सहर र घरबस्ती योजनाको खाका कोर्ने मान्छे पनि बनायो। देख्न र देखेको कुरो लेख्न रहर गर्ने बनायो। ५ कक्षा पास गरेपछि त्यही हेलिकोप्टर र घाम लुकामारी गर्ने डाँडामा पुगेपछि देखेँ, देशमा त डाँडैडाँडा मात्रै छ। फेरि अर्को डाँडाबाट हेलिकप्टर निस्केको छ। घाम पनि अर्कै डाँडाबाट निस्केको छ। आकाश त कहाँ हो कहाँ छ। धेरै माथि छ। हत्तेरी। घरछेउको डाँडाको फूर्तिफार्ती त क्यै रैनछ। मलाई त झुक्याएको मात्रै रहेछ। डाँडैडाँडाको नेपाल। काँडैकाँडाको नेपाल। दुईचारवटा राष्ट्रिय राजमार्गबाहेक बाटोघाटोले कतै नजोडिएका डाँडा विकासका लागि काँडाजस्ता लाग्थे। न हिँडेर सक्नु, न गुडेर न उडेर। आफ्नै पाखोरेखोमा गँुडुल्किएर बस्नुबाहेक केही विकल्प नभएजस्तो। त्यति बेलाको नेपाल मलाई डाँडाले थुनेको बन्द ठाउँजस्तो लाग्थ्यो। खानेपानीको कुवा कता, स्कुल कता, खेत कता, गोठ कता, गाउँ कता, बाटो कता। यतै कष्ट, उतै कष्ट। वल्लो पाखो र पल्लो पाखोको कैदी जिन्दगीजस्तो।
आकाश छुने डाँडा खोज्दै एकपछि अर्को डाँडा नाघियो बालकैदेखि। जता गयो उस्तै हाल। घाम निस्कने र लुक्ने डाँडा, हेलिकप्टर निस्कने र हराउने डाँडा त कति कति। बडेमाका झोला बोकेका विदेशी डाँडाकाँडा खोज्दै हिँडेको देख्दा हामीलाई अचम्म लाग्थ्यो। लमजुङको सदरमुकाम बेँसीसहरभर भारी बोक्ने खच्चर र बडेमाको झोला बोकेका विदेशीको हुल डाँडा चढ्न हतार गरिरहेको भेटिन्थ्यो। घरछेउकै सोतीपसल बजारमा पनि पर्यटक र भारी बोक्ने खच्चडका हुल कति कति। हिँडेरै मनाङ पुग्ने, हिँडेरै अन्नपूर्ण सेरोफेरो पुग्ने तिनको रहरमा मलजल के ले गरेको होला भन्ने लाग्थ्यो। नेपालीहरू कि त पथप्रदर्शक हुन्थे या त सहयोगी। झोला बोकेर घुम्नै भनेर हिँडेको, पैसा खर्च गर्न हिँडेको नेपाली त विरलै देखिन्थे। सधैं देखिरहेको डाँडा, भोगिरहेको दुःख। अनि किन रमाउनु र यस्ता डाँडापाखामा ? बरु तीर्थ गर्न दूधपोखरी, मुक्तिनाथ, गोसाइँकुण्ड आदि ठाउँ जानेहरूचाहिँ हुन्थे। सबैको रहर हुन्थ्यो, सहर जाने। लुम्बिनी, जनकपुर, पोखरा र काठमाडौंको पशुपतिनाथ जान पो गाउँका मान्छेले चासो राख्थे। विदेशी मात्रै डाँडापाखा डुल्ने चलन फेरिएर नेपालीहरू पनि डाँडा डुल्न अभ्यस्त भइसकेको कति नै भयो र ?
८ कक्षामा पढ्दा लुम्बिनीको भ्रमणको मेसो जुरेथ्यो। देखेँ, घाम त भुइँबाट उदाएर भुइँमै पो अस्ताएको छ। डाँडा त कताकता, बारीमा सानोतिनो ढिस्को पनि छैन। भुइँबाट घाम उदाएको र भुइँमै पुगेर अस्ताएको दृश्य मेरो मनमा अहिले पनि उस्तै ताजा छ। त्यसपछि बल्ल समथर भुइँले पनि मेरो मन तान्यो। सम्म भूमिमा बस्ती योजना र भौतिक पूर्वाधार योजनाका खाका कोर्न कति सजिलो होला ? न डाँडा सम्याउनु छ, न बाटोलाई फन्फनी बटार्नु छ। केही छैन। मैदान खाली छ, गोलपोस्ट पनि खाली छ। अनि सम्म भूमिमा किन यस्तो गरिबी, अशिक्षा र भोकमरी ? सद्दे बाटो किन छैन ? बालुवा यतै छ। भएरभरका सिमेन्ट उद्योगले निरन्तर कालो धुवाँ आकाशमा फालिरहेका छन्। डन्डीका बन्डल, अलकत्राका ड्रम पसल–पसलमा पसारो परेका छन्। अनि एक टुक्रो सद्दे सडक किन छैन ? आँखाले देखेसम्म उखु फलेको छ। तर खुदो र चिनीको कहानी किन यति तीतो ? पहाडको हाम्रो गाउँमा चार पाथी तोरी फल्दा उत्पातै उद्यम भएझैं हुन्थ्यो। घट्टमा लगेर पिसेर चार माना तेल ल्याउँदा कत्रो खुसी भित्रिन्थ्यो। मधेसमा त आँखैभरि तोरीबारी छ। हराभरा छ तोरीबारी। तर तोरी फलाउनेका गोडा किन पटपटी फुटेका छन् ? चप्पल किन छैन गोडामा ? फुटेका गोडामा तेल किन छैन ? तोरीको गेडाबाट तेल ननिस्कने झेल किन चलिरहेछ यता ? बालकैमा मधेस घुम्दा उब्जेका यी प्रश्नको जवाफ पनि बस्ती योजना र पूर्वाधार विकासका गुरुयोजना बनाउन जानेसँगै समयले सिकायो।
हिमाल, पहाड होस् या मधेस; यो देशको विकास बेढंगको राजनीतिले खायो। पञ्चायत कालको विकास निकासा र पुकासामै सीमित रह्यो। सवारी क्याम्पको वरिपरिको तामझाम र रामरमितामै पञ्चायतको विकास सीमित रह्यो। बन्नलाई दुईचार बाटाघाटा, केही सहर र केही उद्योगधन्दा बने। तर गाउँका जनताको जीवनस्तर जस्ताको त्यस्तै रह्यो। त्यसपछि आयो २० वर्षे रित्तो याम। गाउँगाउँबाट मान्छे लखेटिने र कर्मचारीको झोलामा गाविस अटाउने त्यो २० वर्षको रित्तोपनाले देशमा विषवृक्ष नै रोप्यो। कागज मिलाएर कागजमै विकास गरेर पैसा खाने विषवृक्ष। विषवृक्ष अहिले कति डरलाग्दोसँग फिँजिएको छ भने राम्ररी काम गर्छु भन्ने मान्छेलाई ज्यान जोगाउनै मुस्किल छ। कसैले गतिलो काम गर्न खोज्यो भने ऊ त्यो कागजी चक्रव्यूहमा डरलाग्दोसँग फस्छ। पहिला कागजले पसिना सोस्यो। फलाउनेको हातबाट अनाज खोस्यो। अहिले कागजले देशको समृद्धि खोसिरहेछ। कागजमै बन्छ स्कुल। कागजमै बन्छ पुल। कागजमै बन्छ अलकत्रे बाटो। यसरी अलपत्र परिरहेछ देश। गाउँगाउँमा देश जोत्न डोजर पुगेका छन्। घरमुनि बाटो छ। घर छिर्न लिस्नो लगाउनुपर्ने भएको छ। बरपीपलका रूख, चौतारी, पाटीपौवा केही नभनी डोजर जोतिदिँदा गाउँठाउँ उराठलाग्दो भएको छ। डोजरले डामेपछि बाटो बनिहाल्छ भन्ने सपनाले डरलाग्दोसँग जरो गाडेको छ। र त्यही जरो खोतल्दा जमिन मात्र हैन, सामाजिक सद्भाव पनि नराम्ररी खल्बलिएको छ। कागजमा विकास गर्नजस्तै सजिलो छ डोजर जोत्न पनि। रातारात काम देखिन र बिल पास गर्न यो जत्तिको सजिलो उपाय नेपाली धर्तीमा बनेको छैन। त्यसैले लामो समयको प्रतीक्षापछि आएको स्थानीय सरकार देश बन्ने सपनैमा डोजर जोतिरहेको छ।
अब त हेलिकप्टर आउने डाँडाको टुप्पो नै भाँचिएको छ, डोजरले हानेर। घाम उदाउने–अस्ताउने डाँडाको टुप्पोको पनि अनुहार फेरिएको छ। भाँचिएको डाँडाको टुप्पोबाट उदाएको घामले मन झलमल्ल पार्न सकेको छैन। गाउँमा विकास आयो। डोजर आयो। बांगोटिंगो बाटोमा ढलपल ढलपल गर्दै बस आयो कि यमराज आयो ? गाउँ त त्यसैत्यसै अल्मलिएको छ। आजकाल त पहाड सुनसान बोकेर बाँचिरहेछ। मान्छेले होइन, चितुवाले भरिएको छ गाउँघर। बुट्यान बढेर गाउँघर वनजस्ता बनिसके। मान्छे नभएपछि चितुवा लुक्ने वन आँगनसम्मै आएको छ। कहिलेकाहीँ घर जाँदा तर्सिन्छु, सुनसान आँगनमा बिरालो भेटिन्छ कि मस्त निदाइरहेको चितुवा ? पहाड किन सर्लक्क बढारियो बगर र बजारतिर ? मधेस किन अहिले पनि झुपडीमा धुलाम्मे जीवन बोकेर बाँचिरहेछ ?  चिनीको कथा अझै किन तीतो छ ? पटपटी फुटेका गोडामा तोरीका गेडाबाट तेल किन पर्दैन ? राजनीति र विकासको खेलमा यति धेरै झेल किन मिस्सिएको छ ? सम्म भूमिमा गरिबीको पहाड किन झन् अग्लो छ ? संसार हुर्रिएको छ डाँडापाखा हेर्न, चितुवा किन सुतिरहेछ आँगन आँगनमा ? डोजरले समृद्धि हैन, यमराज किन ल्यायो देशैभर ? पहाडजस्तै अग्ला यी प्रश्नको जवाफ समयले ढिलोचाँडो देला। समयलाई नपर्खी आफैं जवाफ खोतल्न र समृद्धिको सम्भावना खोज्न रहर गर्नेको जय होस्।
( २०७६ साल पुष ५ गतेको अन्नपूर्ण फुसर्दमा प्रकाशित )

डोजर आतंकमा लगाम

मिलन बगाले
बिगत केही बर्षयता देशमा डोजर आतंक चलिरहेको छ । गाउँका डाँडापाखा, वनजंगलदेखि गाईभैसी हिड्ने डहरमा धमाधम डोजर जोतिदैछ । यसको फेशन यति डरलाग्दो भएको छ कि सानो घरको जग, शौचालयको जग खन्नसमेत डोजर बोलाउन थालिएको छ । खेतका आली फोरेर गरो फराक बनाउनसमेत डोजर बोलाउन थालिएको छ । आफ्नो घरबारीमा डोजर आउनुलाई गाउँमा सम्पन्नताको मानक मान्न थालिएको छ । 

हामी सानो छँदा डोजर र हेलिकोप्टर देख्नु दुर्लभजस्तै थियो । बाटोघाटो असाध्यै कम भएको त्यो समयमा सानातिना निकास पुकासा बाड्न या खुद्रे योजना उद्घाटन या शिलान्यास गर्न मन्त्रीहरु हेलिकोप्टर चढेर गाउँगाउँ आउथे । बाटा बनाउन डरलाग्दा डोजर पनि यदाकदा आउथे । कतिपय ठाउँमा त हेलिकोप्टरले नै डोजर झुन्ड्याएर लान्थ्यो । 
डोजरले बाटो बनाएको हेर्न थामिनसक्नु भीड उर्लन्थ्यो । बाटो बनिसक्दा डोजर ड्राइभरको गला पैसा र मालाले पुरिन्थ्यो । डोजरको फूर्ति अर्कै थियो । हामीलाई अलि बर्ष पहिलासम्म यो देश डोजर नभएरै नबनेको हो जस्तो लाग्थ्यो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ‘आफ्नो गाउँ आफै बनाऔं’ अभियान शुरु भएसंगै जनश्रमदानमार्फत गाउँमा बाटो बन्न थालेका थिए । कामकालागी खाद्यान्न परियोजना अन्तर्गत स्थानीयले बाटो खनेवापत चामल पाउने कार्यक्रम पनि चलेका थिए । 
चलनचल्तीका बाटालाई खनखान पारेर फराक पार्ने अभियानमा कोदाली, गैली बोकेर सहभागी भैरहँदा हामी भुराभुरीलाई लाग्थ्यो, यो देश खनिसाध्य छैन । डरलाग्दा डाँडा, भीर, पहरा, बडाबडा चट्टान र ठूल्ठूला रुख । मान्छेले खनेर पनि यस्तो भीरपाखामा बाटो बन्छ ? यो देशले डोजर नभएर दुख पाएको हो । डोजर भए एकैदिन कति बाटो भस्काउथ्यो । अनि पो गाउँको जीवन शहरसंग जोडिन्थ्यो । बिजुलीको पोल र लठ्ठा गाउँमा आउथ्यो । मोटर आउथ्यो, मास्टर र डाक्टर आउथे, पूलका लठ्ठा आउथे । धूले बाटो बिस्तारै ग्राभेल आउथ्यो, अनि अलि बर्षपछि सलल पीच हुन्थ्यो । अनि पो जिन्दगी जिन्दगीजस्तो हुन्थ्यो । समग्रमा भन्दा जीवन जोड्ने अनेक धागा बाटो भएरै आउथे । त्यही भएर डोजर आँखाको नानीजस्तै थियो । तर त्यो देख्नै रहर थियो । 
तस्वीर: ‘स्वागत क्रियशन’ युट्युवबाट
बाल्यकालमा हामी सपनामा पनि हेलिकोप्टर र डोजर देख्थ्यौं । यदाकदा झुल्किने होलिकोप्टर हेर्न र टाढा एकाध ठाउँमा डोजरले जोत्दा बिहानदेखि बेलुकासम्म त्यतै झुम्मिन्थ्यौं । डोजर ड्राइभर र हेलिकोप्टर पाइलट हामीलाई अलौकिक प्राणीजस्ता लाग्थे । 
बाटो बनाउन अवरोध त त्यतिबेला पनि हुन्थ्यो नै । बाटै छेकेर लमतन्न सुत्नेहरु पनि हुन्थे । पहिला बकेटवाला स्काटेभरभन्दा बडेमाका फाली र चेन भएका डोजरले बाटो खन्थे । बाटो बनाउन रहर गर्ने धेरै र अवरोध गर्ने थोरै हुन्थे । कसैले सुन्तलाको बोटलाई अगालो हाल्थे, कसैले घाँसको बुटोलाई । अवरोध गरेर बसेकालाई डोजरले बडो जतनसंग जुरुक्क उठाउथ्यो र आनन्दले कुनै कुनामा लगेर थपक्क राखिदिन्थ्यो । त्यो कहालीलाग्दो भन्दा पनि साहसिक दृश्य बन्थ्यो । 
पछिल्लो समय जताजता डोजर गयो उताउता डाँडापाखा भत्कने मात्र हैन, सामाजिक सद्भाव पनि भत्कदै गएको छ । बाटोको नाममा गाउँमा झैझगडा बढ्दो छ । पाखापाखामा सबैलाई गुटुटुटु मोटर र मोटरसाईकल कुदाउनु छ । साना घडेरी भएका बारी र कान्ला भत्काउँदा गाउँमा ठूलै झगडा पर्ने गरेको छ । डोजरमा ढुंगामुढा गर्ने काम पनि हुने गरेको छ । तर डोजरले मान्छे पेलेको दृश्यचाहि देखिएको थिएन  । तर कार्तिक ५ गते सामाजिक सञ्जालमा असाध्यै डरलाग्दो एउटा भिडियो सार्वजनिक भयो । बैतडीको दशरथचन्द नगरपालिकाको दृश्य थियो त्यो । बाटो खन्न अवरोध गरेका स्थानीयलाई स्काभेटरको बकेटले अन्धाधुन्ध हानेर घाईते पारिएको अत्यन्त क्रुर र बर्बर घटना । डोजर लगाएर मान्छे पेलिएको यो घट्नाले देशमा डोजर आतंकले कुन हद पार गरेछ सजिलै बुझ्न सकिन्छ । बजेट सिध्याउनु छ । आफ्नो डोजरलाई जसरी पनि काम दिनु छ । अनि जेजस्तो जोरजवरजस्ती गर्न पनि मान्छे तयार छ । यो अपराधकर्म अक्षम्य छ । 
गाउँगाउँमा सरकारी र निजी डोजर पुगेसंगै तिनले डाँडापाखा भत्काउने काम पाएका छन् । सरकारी बजेट सिध्याउने सबैभन्दा सजिलो माध्यम नै बाटो बनेको छ । खनिदिएपछि सक्कियो । भवन बनाएर , वा अरु काम गरेर हिसाब मिलाउनभन्दा यसो गर्नु धेरै सजिलो छ । सरकारले १ करोडभन्दा कमका योजनामा डोजर लगाउन रोकेको छ । गाउँको रोजगारी गुम्ने, कमजोर जमिनमा ठूलो धक्का पुग्ने भन्दै यस्तो नियम बनाईएपनि डोजरमोह घटेको छैन । यो बेलगाम घोडाजस्तै बनेको छ । अधिकांश ठाउँमा डोजरमालिकहरु नै वडाधक्ष्य र वडा सदस्य बनेका छन् । काम देखाउन र दाम कमाउन उनीहरुलाई यही नै सजिलो माध्यम बनेको छ । त्यसकारण यो हुण्डरी सजिलै थामिनेवाला छैन । निर्माण व्यवसायीलाई पनि मान्छे लगाउनुभन्दा डोजर लगाउन सस्तो पर्ने भएकोले साना ठूला सबै योजनामा डोजर राज चलेको छ । 
एउटा बस्ती अर्को बस्तीसंग जोडिनका लागी बाटो चाहिन्छ नै । सहज बाटोविनाको जीवन कष्टकर हुन्छ । मान्छे हिड्न, बस्तुभाउ हिडाउन, एम्बुलेन्स दौडन, सामान बोक्न, ससाना बस्ती हुँदै ठूला शहरसम्म पुग्न देशमा विभिन्न किसिमका सडक सञ्जाल चाहिन्छ । मलामी हिड्नसमेत सजिलो बाटो चाहिन्छ । सडक सञ्जालपरको मानव जीवन धेरै कष्टकर छ । तर यसको समाधान लगामविनाका घोडाजस्ता डोजर दौडाउनु र डोजर जोत्नु हैन । बाटो बनाउन पहिला जमिनको सर्वे गर्नुपर्यो । त्यसपछि बाटोको डिजाइन बनाउनुपर्यो। त्यसपछि बल्ल आवश्यकताअनुसार डोजर, स्काभेटर, मान्छे जे जे सामान चाहिन्छ त्यो प्रयोग गर्नुपर्यो । डोजर पुगेको बाटोमा मोटर पुग्छ भन्ने मानसकिताले अहिले देशका समग्र डाँडापाखा छियाछिया भएका मात्र हैनन्, त्यस्ता बाटाहरु मृत्युमार्ग बनेका छन् । बाटो भन्नै नमिल्ने यस्ता संरचनाले प्राकृतिक प्रकोप निम्त्याएका छन्, निरन्तर गाडी दुर्घटनाहरु बढेका छन् । 
डोजर आतंकले यतिबेला देश छियाछिया भैसकेको छ । यो आतंकलाई अब लगाम कस्नु जरुरी भैसकेको छ । विना सर्वे, डिजाइन र इस्टिमेट खनिएका बाटालाई भुक्तानी नदिने, सानातिना योजनामा डोजर जोत्नै नदिने र नियम नमान्ने निकायलाई कारबाही गर्न ढिलो गर्नु हुन्न । बाटो खनेको खन्यै गर्नुभन्दा अब एकाध बर्ष नयाँ बाटो नखनेर भएका बाटाहरुको बिस्तार र स्तरोन्नती गर्नु जरुरी भैसकेको छ । विना इन्जिनियरिङ डिजाइनका मृत्युमार्गको जोखिमलाई कम गर्न पनि असाध्यै दुर्गम क्षेत्रमा बाहेक अधिकांश ठाउँमा एकात्र बर्ष नयाँ बाटो थोरै बनाउने र स्तरोन्नतीको कामलाई प्राथमिकता दिनुपर्छ । डोजरले छियाँछियाँ पारेर देश बन्दैन । प्राकृतिक स्रोतको अतिदोहन गरेर विकास हुँदैन । यो तथ्यलाई आत्मसात गर्दै डोजर आतंकलाई बेलैमा लगाम कस्नेको जय होस् ।  
(हिमाल खबरपत्रिकाको २४—३० कार्तिक, २०७६ अंकमा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको )

संस्कृतिलाई समुदायको टेको

मिलन बगाले
गएका केही महिना सरकार अत्यन्त विवादास्पद विधेयकको विवादमा फस्यो र आलोचनाको शिकार भयो ।  मानव अधिकार, मिडिया काउन्सिल र गुठी विधेयकका मस्यौदा पढ्दा सरकार जनताले उपभोग गरिरहेको प्रजातन्त्रबाट आत्तिएर अध्यारोतिर फर्कन खोजेको महसुस हुन्छ । विरोधको मसिनो र मलिनो स्वर त्यतिबेला उच्च भयो जतिबेला सरकारले गुठीको उठीबास लगाउने हिसाबले विधेयकको मस्यौदा कोर्यो  । राजा रणबहादुर शाहको बासठ्ठी हरणको झल्को दिने गरी ल्याईएको विधेयकको विरोधमा सिंगो नेवार समुदाय जुरुक्कै उठ्यो । आन्दोलन दबाउन उभिएका प्रहरीलाई खर्पनमा गाग्रो बोकेका पानी गुठीका गुठीयारले पानी खुबाएपछि गुठी व्यवस्था खल्बल्याउने सरकारको तिर्खा अलिअलि मेटिएजस्तो भएको छ । तर डर हटेको छैन । विधेयक फिर्ता लिने घोषणा गर्दा आन्दोलनकारीलाई बक्तव्यमार्फत हिलो छ्यापिएको थियो । गुठी सामाजिक व्यवस्था हो भन्ने भेउ नपाएझैं सामन्ती व्यवस्था भएकोले यसलाई व्यवस्थित गर्नुपरेको तर्क अगाडी सारिएको थियो । मानौ गुठी कम्लरी र  हलियाजस्तै अर्को कुप्रथा हो । यस्तै निम्छरो बुझाई बोकेर सरकार गुठीलाई कब्जा गरिएको जग्गाजस्तो देखिरहेछ र तह लगाउने रहर गरिरहेछ । 
गुठी तथा धार्मिक स्थलको स्थापना तथा निर्माणका लागी सरकारको स्वीकृति लिनुपर्ने, गुठीको हक र दायित्व प्रस्तावित गुठी प्राधिकरणसंग हुने, यसो हुँदा समुदायिक गुठीहरु राजगुठीमा परिणत हुने, गुठीको जायजेथा राजगुठीमा जाने र भोगचलनको आधारमा जसलाई पनि बेच्न सकिने विवादास्पद व्यवस्थाको कल्पना विधेयकमा गरिएको छ । विधेयकका धेरै दफा र उपदफा यस्तै विवादास्पद ‘कल्पना’ ले भरिएका छन् । गुठी व्यवस्थाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक मर्म बुझ्दै नबुझी विधेयकको मस्यौदा बनाईएको छ । 
समुदायले धानेको परम्परा र थिति सरकारी कर्मचारीले धान्छन् भन्ने कल्पना गरिनु संस्कृतिको गहिराईलाई नबुझ्नु हो । हाम्रा मठमन्दिरलाई १०—५ बजेसम्म चल्ने सरकारी अफिस बनाउने कल्पना सरकारले गरेको यसबाट झल्किन्छ । मछिन्द्रनाथको जात्रा, हाँडीगाउँको जात्रा टुडिखेलमा गणतन्त्र दिवस मनाएजस्तो होइन । सम्पदालाई समुदायबाट छुट्याएर, मठमन्दिरलाई सरकारी अड्डा बनाएर संस्कृति बाँच्दैन । समुदायबाट प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा अलग्याएर सरकारी अड्डा बनाईयो भने मठमन्दिरहरुको हालत विगतमा सरकारी स्वामित्वमा चलेका साझा र ट्रली बसहरुको जस्तै हुनेछ । देवीदेवता मन्दिरभित्र फोहोरको डंगुर र झारले छोपिनेछन् । भेटी बाकस रित्तै भेटिनेछन् । जात्रा पर्व एकादेशका कथा बन्नेछन् । झिल्के फूलले सजाईएका ट्रकहरु या फलामका डाँडा भाटाहरु मछिन्द्रनाथको रथ बन्नेछन् । समुदायबाट छुट्याएर, ठेक्का लगाएर सम्पदा बाँच्दै बाँच्दैन । 
यसरी बाँच्छ संस्कृति 
आर्किटेक्ट तथा शहरी योजनाकार सचिन महर्जन आफ्नो अत्यन्तै व्यस्त कार्यतालिकालाई सरक्क पन्छाएर एक हप्ताका लागी साउन दोस्रो सातादेखि कमलादी गणेश मन्दिर परिसरमा बसिरहेका छन् । उनी कमलादी गणेश जमःमि गुठीका गुठीयार हुन् । जमःमि गुठीमा जमल सेरोफेरोका १४४ महर्जन परिवार आबद्ध छन् । यिनै गुठीयारले नै कमलादी गणेश मन्दिर परिसरको सरसफाई, सुरक्षा, नित्यपूजा, विशेष पूजा, जात्रा व्यवस्थापन, मन्दिरको स्याहार सम्भार तथा संरक्षणको कार्य गरिरहेका छन् । 
 मन्दिरको रेखदेखका लागी पालो दिन खटिएका सचिन महर्जन आफ्ना बुवाआमासंग । 
जम:मि गुठीभित्र १२ त्वा खलः (टोलभित्रको खलक) छन् । प्रत्येक त्वा खलः मा १२ परिवार आबद्ध छन् । सचिनका अनुसार करिब १२ बर्षको फरकमा एउटा त्वा खलः को पालो आउँछ । एउटा त्वा खलः ले आलोपालो मिलाएर बर्षभर मन्दिरको स्याहार, सम्भार,सुरक्षा, रेखदेख, नित्यपूजादेखि जात्रा व्यवस्थापनको सम्पूर्ण काम गर्दछन् । मन्दिरभित्र रहेका मूर्ति र अन्य अमूल्य धातुहरुको संरक्षण गर्ने जिम्मा पनि गुठीयारको हुन्छ । घरमूली भएकाले सचिनका बुवा लक्ष्मीनारायण महर्जनले यो हप्ता ती सामानको संरक्षणको जिम्मा लिएका छन् । मन्दिरमा परिवारका सदस्यका बीच जिम्मेवारी बाँडफाँड हुन्छ । सफा गर्ने, बत्ती बनाउने र बेच्ने,  रात्री सुरक्षा दिने, फूल र प्रसादको जोहो गर्ने जस्ता कामहरु परिवारका सदस्यहरु बाँडेर गर्दछन् । बर्षभरीका ४८ हप्तामा १२ परिवारले आलोपालो मन्दिरमा बस्दछन् । एउटा परिवारको बर्षमा सरदर ४ देखि ५ पटकसम्म मन्दिरमा बस्ने पालो आउँछ । हरेक बर्ष बैशाखमा त्वा खलः को पालो फेरिन्छ । यसरी १२ बर्षमा एउटा त्वा खलःले मन्दिर संरक्षण, रेखदेख र व्यवस्थापनको जिम्मेवारी पाउँछन् । 
मन्दिर संरुक्षणको जिम्मेवारीलाई गुठीयारले बोझ सम्झने गरेका छैनन् । सचिन यसै भन्छन् । ‘मलाई मन्दिर संरक्षणको जिम्मेवारी पाउँदा ठूलो गर्वको महसुस हुन्छ । वास्तुकलाको चेत सो विषय औपचारिक रुपमा अध्ययन गर्नुभन्दा पहिल्यै आफ्नै घर, बस्ती, टोल, समुदाय र यिनै मठमन्दिरबाट पाएको हुँ । मठ, मन्दिर, पोखरी, समग्र बस्ती लगायत धेरै सामाजिक संरचनाहरुको डिजाइन र गुरुयोजनाको काम आफ्नो कन्सल्टेन्सीमार्फत गरेको छु, गुठीयार भएर मन्दिर हेरचाह गर्न पनि बसेको छु ।’, आर्किटेक्ट डिजाइन एशोसिएटस्का प्रबन्ध निर्देशकसमेत रहेका उनले भने । गणेश मन्दिर भएकोले मंगलवार असाध्यै भीड लाग्छ । त्यो दिन परिवारले सदस्यले मात्र सबै काम गर्न भ्याउँदैनन् । माईती, मावली, घरतिरका इष्टमित्रसंग मद्दत माग्नुपर्छ । व्यापार छ, जागीर छ, खेतीपातीको काम छ, भ्याईन्न भनेर मन्दिरको रेखदेख गर्ने जिम्मेवारीबाट कोही गुठीयार पन्छिन पाउँदैनन् । अरु मान्छे लगाएर जिम्मेवारी थाम्छु भन्न पनि पाईन्न । ‘बाहिरको बढारकुँडार जस्ता काममा ज्यामी लगाउन पाईन्छ, तर नित्यपूजा र भित्रको रेखदेखको काम अरुलाई सुम्पन्न पाईन्न, आफैं बस्नुपर्छ ’, सचिनका बुवा लक्ष्मीनारायण महर्जनले भने । 
गणेश मन्दिरलाई गुठीयारले कति धेरै महत्व दिएका छन् भनेर बुझ्न मन्दिरभित्रै पस्नुपर्छ । मन्दिरजस्तो देखिने बाहिरी संरचना त मूल मन्दिर छोप्न बनाईएको मण्डपमात्रै हो । ईंटाले बनेको मन्दिरलाई २०३४ सालमा तामाको पातालाई ईंटा आकारमै ढालेर सर्लक्कै छोपिएको छ । तामाको छानामा सुनको जलप पनि लगाईंएको छ । बाहिरी मण्डपको निर्माणचाहि २०५३ सालमा गरिएको हो । मन्दिरको संरक्षण, पुनर्निर्माण नित्यपूजा सबै काममा स्थानीय तह र संघीय सरकारको खासै केही योगदान छैन । ‘मठमन्दिर र जात्रापर्व सरकारले हैन, समुदायले बनाएको हो । समुदायले बनाएको, जगाएको र बचाएको संरचना र परम्परा भएकोले हामीलाई माया छ । सरकारले कल्पना गरेको गुठी विधेयकले मठमन्दिर सरकारी अड्डाजस्ता हुन्छन् । सम्पदालाई समुदायबाट छुट्याउने सोच हो यो । सम्पदा यसरी बन्दैन । यसरी बाँच्दैन ।’ , सचिनको मत छ । 
 कमलादी गणेश मन्दिरको मूल संरचना । 
कमलादी गणेश मन्दिरको गुठीको नाममा थुप्रै जग्गा राखिएको थियो । अहिले त्यो जग्गा कहाँ छ, भगवानलाई मात्रै थाहा होला । तर जग्गा मास्सिदैमा संस्कृति मास्सिएन । पहिले जग्गाको आम्दानीबाट चल्ने जात्रा, पर्व र नित्य पूजा गुठीयारको भरथेगले चलेको छ । चैत्र शुक्ल पूर्णिमा अर्थात बालाजु बाईसधारा मेला लाग्ने समयमा यहाँ पनि गणेशको जात्रा मनाईन्छ । जात्रा मनाउनका लागी २ दिनअघि त्यौडस्थित द्यौ छें (देउताको घर) बाट देउतालाई पूजाआजा गर्दै गुठीयारले कलमादी ल्याउछन् । रातभर र दिनभर मन्दिरमा राखेर पूजा गरेपछि पर्सिपल्ट साँझ द्यौ छें नै पु¥याईन्छ । भोलीपल्ट सबै गुठीयारका चेलीबेटीको घरघर देउता पु¥याईन्छ । तर खोला नाँघेरचाहि गईदैन । कसैको घर खोलापारी (विष्णुमति पारी) रहेछ भने त्यहाँ जात्रा पुग्दैन । मन्दिरको संरक्षण र जात्रापर्व व्यवस्थापनका लागी गुठियारले मूल समिति बनाएका हुन्छन् । समिति थकाली, नाईके आदि पदहरु हुन्छन् । त्यो मूल समिति अन्तरगत अरु समिति पनि हुन्छन् । मूल समितिले लाए अह्राए बमोजिम योजनाबद्ध हिसाबले सबै कामहरु सम्पन्न हुन्छन् । युवाहरु सहयोग समिति मार्फत जात्रा पर्वलाई सघाउने गर्दछन् । समुदायको एक आपसमा अन्तरनिहित सम्बन्धको धाँगो धेरै बलियो मात्र हैन, धेरै कडा पनि छ । मन्दिरमा पालो दिन नदिने र गुठी व्यवस्थाभित्र नचल्ने परिवार गुठीबाट बाहिरिन्छ । गुठी त प्राण हो । प्राण छोडेपछि शरीरको के काम ? त्यसैले गुठीले बनाएको नियमभित्र बाहिरिने आँट कसैले गर्दैनन् । गुठीबाट बाहिरिएर एक्लै बाँच्न धेरै अप्ठेरो छ । त्यही अप्ठेरोपनले नै नेवार समुदायलाई माहुरीको गोलोजस्तै बनाएको छ । सुखदुखको साथी हो गुठी । देशविदेश जता पुगे पनि आफ्नो संस्कृतिलाई जीवन्त राख्ने पाठ गुठीले उनीहरुलाई पढाएको छ । 
 कमलादी गणेश मन्दिरको संरक्षणका लागी बनाईएको बाहिरी संरचना । 
संकटा, महांकाल, भद्रकाली, कमलादी गणेश जस्ता काठमाडौंका अधिकांश देवस्थल यसरी नै गुठीयारको होस्टे र हैसेमा चलेका छन् । नित्य पूजा, संरक्षण, सरसफाई, जात्रापर्व व्यवस्थापन सबै काम समुदायले नै गरिरहेका छन् । धेरै मठमन्दिरको नाममा राखिएको जग्गा मास्सिएको, नास्सिएको र खोस्सिएको छ । कतिपय ठाउँका कागजी प्रमाण पनि लोप भैसके । तरपनि संस्कार मास्सिएको छैन  । त्यसकारण संकृति र सम्पदा दुबै जोगिन सकेको छ । सम्पदा र संस्कृति रैथाने समुदायले नै बनाए, उनीहरुले नै बचाए । तर यतिखेर सरकार देबस्थलमा देउता खोज्न हैन, सम्पत्ती खोज्न पस्न खोजिरहेछ । गुठी काठमाडौं उपत्यकाले जगाएको विशिष्ठ सामाजिक संस्था हो । समाज जोड्ने धागो हो । गुठी व्यवस्थालाई उठीवास गर्ने रहर कसका चित्तमा कसरी पलायो, बुझिएको छैन । गुठी जग्गा होइन । गुठी जग हो । सम्पदा बचाउने जग । मूर्त र अमूर्त सम्पदालाई जोड्ने कडी हो गुठी । समाज जोड्ने यो धागो छिनिएला भन्ने डरले जुरुक्क उठेथ्यो काठमाडौं । गुठीको यो सृजनात्मक शक्तिलाई सरकारले पक्कै राम्रोसंग बुझेको छ भन्ने आश गरौं । पेलपाल गरेर डोजर लगाएर बाटो फराकिलो पारेझैं गुठीलाई पनि पेल्न सकिन्छ भन्ने सोच विधेयकका मस्यौदाकारले राखेका छन् भने त्यसले हाम्रो समाजको एउटा जीवन्त परम्पराको मर्ममा गम्भीर आघात पुग्नेछ । गुठी बचाउन रहर गर्ने गुठीयार र गुठीका ‘यार’ हरुको जय होस् । 
सबै तस्वीर— मिलन बगाले 
(हिमाल खबरपत्रिकाको १९—२६, साउन, २०७६ अंकमा प्रकाशित लेखलाई परिमार्जनसहित राखिएको ) 

सिंहदरबारको भत्केको भित्तो

मिलन बगाले
पर्खाल, गारो र भित्तोको भेद तपाईं कसरी छुट्याउनुहुन्छ ? तीनवटै शब्दले बुझाउने भाव उस्तै लाग्छ कि फरक —फरक लाग्छ ? घर वा कुनै भवनभित्र कोठा वा ठाउँ छुट्याउने संरचना गारो, कुनै ठाउँ घेर्न (घर होस् वा देश) वा छेक्न वारपार वा पूरै बन्द गरी लगाईने संरचना पर्खाल र अग्लो गारो वा पर्खालको मोहोडालाई भित्तो भनिन्छ जस्तो लाग्छ ? मलाई पनि त्यस्तै लाग्छ । पर्खाल शब्द शब्दकोषमा भेटिएन । भित्तोको अर्थ चाहि पर्खाल, गारो आदिको पाखो भन्ने बुझियो । गारोको अर्थ चाहि ‘घर मन्दिर आदि बनाउँदा हिलो माटो वा सिमेन्टले जोडेर ईंटा ढुंगा आदिको भित्तो, पर्खाल वा आट’ भन्ने देखियो । पर्खाल भन्नासाथ मेरो मनमा गाउँका गल्लीका दायाँवायाँ बडाबडा छपनी हालेर बनाईएका एक मान्छे अग्ला सफा र रहरलाग्दा संरचनादेखि चाईनाको ग्रेट वालसम्मको याद आउँछ । भित्तोले चाहि ठूल्ठूला दरबार, प्रशासनिक भवन र ब्यारेकमा चुच्चा फलामका भाला, मुन्टो तानेर हेर्नुपर्ने उचाई, ठाउँठाउँका सुरक्षा पोष्ट र काँडेतारको गुजुल्टो गुजुल्टिएको संरचनाको झल्को दिलाउँछ । 
यो संसारमा रहरलाग्दा भित्ताहरु नभएका हैनन् । तर हाम्रामा चाहि भित्ताहरु रहरलाग्दो हैन, डरलाग्दो गरी बनेका छन् । यस्ता भित्ताका वरिपरि विगतमा हेर्नदेखि हिड्नसम्म निषेध गरिएकाले यी संरचनाहरु सुरुचिपूर्ण पनि लागेनन् । ठूलो रहरस्य बोकेर ठिंग उभिरहे झै लाग्नेगरी यी संरचना बने । दरबार हत्याकाण्डसंगै भित्ताहरुभित्रको डरलाग्दो संसार बाहिर निस्कियो । र, बिस्तारै भित्ताहरु बुख्याचा बने । डरैडरका घर बनेका भित्ताहरुको शासकीय त्रासदी सकियो । फोटो खिच्न निषेध गरिएका भित्ताहरुको डर पनि समयले भत्कायो । नागरिकले सबैखाले भित्ताको मुनि हिड्न पाए । 
शासकीय त्रासदी सकिएको अलि बर्षपछि भित्ताहरुले अर्को आतंक फैलाए । हेर्दा अग्ला र डरलाग्दा भएपनि तिनीहरुको आँत असाध्यै कमजोर रहेछ भन्ने तथ्य भूकम्पले बाहिर ल्याईदियो । दूतावासदेखि नारायणहिटी दरबारसम्मका पर्खाल भूकम्पमा भटाभट लडे । भित्ताहरु डरैडरका घर बने । मर्मत गर्दा पनि उस्तै हालत दोहोरियो । मकैका ढोडजस्ता भित्ताहरुको आतंक अझैंपनि उस्तै छ । सिंहदरबार परिसरको पश्चिममपट्टि रहेको ऐतिहासिक भवनको पुनर्निर्माण चलिरहेको बेलामा पूर्वी भागमा चाहि भित्तो (कम्पाउण्ड पर्खाल) भत्किएको छ । असार अन्तिम साताको परेको एक झर पानीले सिंहदरबारको सो भित्तो भत्किएको हो । सिंहदरबार परिसरभित्र भवन निर्माणका लागी जग खन्दा निस्किएको माटो थुपारिएको र पानी पर्दा त्यसको चाप पर्न गई भित्तो भत्किएको खबर आएपनि जाँचबुझ प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । जाँचबुझ त भएकै होला । 
photo: Milan Bagale
सिंहदरबारको पर्खालसंगै पैदलयात्रु हिड्ने बाटो (फुटपाथ) जोडिएको छ । दिनमा हजारौं मान्छे त्यहाँबाट हिड्छन् । हेर्दा सिंहदरबारको अग्लो त्यो भित्तो बलियो देखिन्छ । भित्तो बलियो देखिएरै सिंहदरबार बलियो किल्लाजस्तो देखिन्छ । पर्खालको कलात्मकता चाहि पश्चिमपट्टिको स्यानो भागमा मात्रै सिमित छ । अरु भाग सुन्दर र सुरुचिपूर्ण छैन । सुन्दर र सुरुचिपूर्ण नभएपनि भित्तो बलियै छ भन्ठानेर निर्धक्क हिड्ने पैदल यात्रुहरु झस्किएका छन् । तर सिंदरबारभित्रको सरकार चाहि झस्किएको छ कि छैन, मेसो पाईंएको छैन । 
निजि भवन बनाउँदा भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्ने चेतनाको विकास भैसकेपनि कम्पाउण्ड पर्खाल बनाउँदालाई मापदण्डलाई निरन्तर बेवास्ता गरिएको छ । यो आम प्रचलन सार्वजनिक भवन परिसरहरु मा अलि कम छ तर पुराना कम्पाउण्ड पर्खालहरु भत्काएर नयाँ र मजबुत पर्खाल बनाउनेतिर धेरैको ध्यान पुगेको छैन । २०६८ साल असोज १ गते ६.८ रिख्टरको भूकम्प जाँदा लैनचौरस्थित ब्रिटिश दूतावासको अग्लो पर्खाल भत्किएर तीनजनाले ज्यान गुमाए । २०७२ सालको भूकम्पमा पनि धेरै ठाउँका कम्पाउण्ड पर्खालहरु भत्किए । मापदण्डभन्दा अग्लो बनाउने, पिलर नहाल्ने वा कमसल पिलर हाल्ने, जग मजबूत नबनाउने, टाई विम नहाल्ने,  ढलानको तेर्सो पट्टी वा विम नहाल्ने, ईंटाको पिलरजस्तो बनाएर झारा टार्ने काम अझैंपनि अधिकांश ठाउँमा चलिरहेकै छ । 
तत्कालिन काठमाडौं उपत्यका नगर विकास समिति (हाल काठमाडौं उपत्यका विकास प्राधिकरण) ले कम्पाउण्ड पर्खाल निर्माण सम्बन्धमा मापदण्ड (काठमाडौं उपत्यका भित्रका नगरपालिका र नगरोन्मुख गाविसमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४) बनाएको थियो । सो मापदण्डमा लेखिएको छ— ‘सीमा पर्खाल (कम्पाउण्ड वाल)’ को उचाई बाटोको केन्द्र रेखाबाट १.५ मिटर हुनु पर्नेछ । स्थानीय निकायको स्वीकृति लिएर २.१ मिटरसम्म उचाई भएको सीमा पर्खाल लगाउन सकिनेछ । तर यस्तो पर्खालको माथिल्लो ०.६ मिटर खुल्ला किसिमले बनाउनु पर्छ । यो व्यवस्था जेलहरुको लागी लागू नहुने र औधोगिक भवन निर्माण, विधुत सब स्टेशन, ट्रान्सफर स्टेशनहरु, शैक्षिक भवनहरु वा अन्य सार्वजनिक रुपमा प्रयोग हुने भएमा स्थानीय निकायले बढीमा २.४ मिटरसम्मको उचाईलाई स्वीकृति दिन सक्नेछ ।’ २०७२ सालको भूकम्पपछि कम्पाउण्ड पर्खालको मापदण्ड परिमार्जन गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले निजी घरको पर्खालको उचाई १.५ बाट बढाएर १.८ मिटर बनाउन प्रस्ताव गरेको छ । प्राधिकरणको बेवसाईटमा भेटिने मापदण्ड मस्यौदामा उल्लेख गरिए अनुसार गारोको भागको १.२ मिटर राखी बाकी भागमा खुल्ला देखिने रेलिङ लगाउनु पर्दछ ।  त्यस्तै सार्वजनिक प्रयोगका भवनमा ०.९ मिटरको उचाईसम्म गारो लगाई सोभन्दा माथी खुल्ला देखिने रेलिङ लगाउनु पर्ने कुरा उल्लेख गरिएको छ । विशेष प्रकृतिका भवनमा सम्बन्धित नगरपालिकाबाट स्वीकृत गराएर बनाउनु पर्ने उल्लेख छ । कम्पाउण्ड पर्खाल भूकम्प प्रतिरोधी हिसाबले बनाईनुपर्ने पनि उल्लेख गरिएको छ । नयाँ बनाउँदा मापदण्ड पालना गरिएला भन्ने विश्वास गरौं । तर  भूकम्पले हल्लाएर क्षति पु¥याएका वा खल्बलिएका पुराना पर्खालहरुलाई भत्काएर नयाँ बनाउने वा भूकम्प प्रतिरोधी हिसाबले मर्मत गरिएको दृश्य त विरलै देख्न पाईन्छ । 
पूर्वी गेटनजिकै केही मिटर भत्किएर आफ्नो आँत बलियो नरहेको जनाउ सिंहदरबारको भित्तोले दिएको छ । त्यस्तै अन्य सरकारी निकायका अग्ला र जराजीर्ण भित्तोबारे जान्न, तिनका अवस्थाबारे जाँच्न पनि सिंहदरबारले भत्केको भित्तोबाट पाठ सिक्नुपर्ने भएको छ । जराजीर्ण भित्ता भटाभट भत्काउँदै नयाँ, सुन्दर र सबल भित्ताहरु निर्माणमा सरकारी निकायको ध्यान जानुपर्छ । 
सिंहदरबारजस्ता राज्यका प्रशासनिक ईकाईका लागी कम्पाउण्ड पर्खाल सुरक्षा कवचमात्रै होइन्, भवन परिसरको सुन्दरता, शालिनता, सभ्यता र भव्यता झल्काउने मानक पनि हो । बलियो हुनुपर्छ, सुरक्षित हुनुपर्छ भन्नेमा त दुईमतै छैन । तर ती भित्ताहरु फलामका भाला, काँडेतारको गुजुल्टोजस्ता आँखा बिझाउने र सातो लिने हिसाबले बनाईनु हुन्न । एकझर पानीले हानेर भत्केको सिंहदरबारको भित्तोबाट पाठ पढेर जगैदेखि खल्बलिएका पुराना भित्ता भत्काउन र नयाँ भित्तो बनाउँदा जोखिम नहुने गरी राम्रो र बलियोसंग बनाउन रहर गर्नेको जय होस् । 
(हिमाल खबरपत्रिकाको १९—२५ साउन,२०७५ अंकमा प्रकाशित लेखलाई सामान्य परिमार्जनसहित राखिएको )

सिम्रौनगढ सेरोफेरो सम्झेर…

मिलन बगाले 
‘भक्तपुरको वास्तुकलामा सिम्रौनगढको ठूलो प्रभाव छ । सबैभन्दा धेरै तराईका मानिसलाई ल्याएर बसोवास गराउने काम पनि भक्तपुरले नै गरेको छ । सिम्रौनगढको नगर वास्तु भक्तपुरसँग हुबहु मिल्छ । १३ वटा द्वार, पर्खालहरूले घेरिएको, राजदरबार, नगर क्षेत्र, काठका खाँबा आदि यसका उदाहरण हुन् । सिम्रौनगढका राजाले भक्तपुर शहरलाई जोड्न भक्तपुर—बनेपा—सिन्धुली हुँदै बाटो बनाएको इतिहास छ । तीनै शहरका मानिस आफ्ना पितृको अस्थिकलश लिएर त्यही बाटो भएर पटना, बोधगया, काशी जाने गरेको पाइन्छ ।’ 
सिम्रौनगढबारे पुरातत्वविद् तारानन्द मिश्रका यी शब्द पत्रकार ईश्वरी ज्ञवालीले ४ बर्षअघि टिपेका हुन् ।  सिम्रौनगढको यति गर्विलो इतिहास धेरैपटक पढेर कोही मान्छे त्यो सेरोफेरो घुम्न पुग्यो भने उसले त्यहाँ के देख्ला ? घुमेपछि कस्तो अनुभूत गर्ला ? भक्तपुर शहर घुमेजस्तै पो अनुभूत गर्ला कि ? उहिलेको  सिम्रौनगढ कस्तो थियो ? अहिले कस्तो छ ? सिम्रौनगढबाट फर्केको केही महिना बितेपनि मेरो मन बेलाबेलामा उतै उडिरहेछ । इतिहास झल्काउने भव्य सम्पदाहरुको सुविचारित शैलीमा संरक्षण, पुरानो बैभव सम्झाउने सुन्दर र व्यवस्थित संग्रहालय, चट्ट मिलेका गाउँबस्ती, खेतैखेतमा विचमा सफा सडक ? ऐनाझैं टलक्क टल्किएका सुन्दर पोखरीहरु सहितको सम्पन्नता र सम्पदाले भरिएको सिम्रौनगढ ? कठै कठै । त्यस्तो किन हुन्थ्यो ? उदास, उजाड र असरल्ल सिम्रौनगढ । भग्नावशेषजस्तो सिम्रौनगढ । धूलो, हिलो र झुपड बस्तीको निरस सिम्रौनगढ । विकास निर्माण र इतिहास संरक्षणभन्दा धेरै पर रहेको असरल्ल र अलपत्र सिम्रौनगढ । 
नगरपालिका कार्यालय नजिकैको बस्ती । 
सेरोफेरो एउटै भएकोले सिम्रौनगढसंगै गढीमाई पनि जोडिन आईपुग्छ । गढीमाई मन्दिर रहेको बरियारपुरबाट सिम्रौनगढ नजिकै छ । गढीमाई मन्दिर परिसर सुन्दर छ । नित्य पूजापाठ, भक्तजनको ओइरो र नियमित सरसफाई यहाँ देख्न सकिन्छ । अझ सुखद कुराचाहि केही महिनाअघि गढीमाई मन्दिर परिसरमा ४८ लाख रुपैंयाको लागतमा ‘डिलक्स’ नाम दिईएको अत्याधुनिक शौचालयको निर्माण सम्पन्न भएको छ । हरेक ५ बर्षमा हुने मेला आउँदो मंसीरमा लाग्ने हुँदा त्यसको तयारी बेलैमा गरिएको छ । शौचालय पनि सोही मेलालाई लक्षित गरेर बनाईएको हो । गढीमाई मन्दिर परिसरको योजनाबद्ध विकासका लागी गुरुयोजना बनिसकेको छ । एसी समेत जडान गरिएको सुन्दर र भव्य शौचालय सोही गुरुयोजनाको हिस्सा हो । गढीमाईले खुशी बनाएको मनलाई बरियारपुर बजारले खिस्रिक्कै बनाउँछ । बजारमा ढलनल ब्यवस्थित भएको छैन । बजारछेउको पोखरी फोहोर थुपार्ने थलोमा परिणत भएको छ । पर्यटकले सहज महसुस गर्ने राम्रा, सफा र सुविधायुक्त होटल बरियारपुरमा छैनन् । कलैयामा एकाध सजिला र सफा होटल छन्, बास बस्न त्यतै वा बीरगन्ज जानुपर्ने बाध्यता छ । मन्दिर परिसर सुन्दर, सफा हुनु, गुरुयोजना बन्नु सुखद छ । तर समग्र बस्ती र यसको सेरोफेरोको पनि गुरुयोजना बन्नुपर्छ । शिक्षा, स्वास्थ्य, सरसफाई र चेतनायुक्त बस्ती बन्नुपर्छ । त्यसो हुन सकिरहेको छैन ।  
 ईशरा पोखरीको छेउमा टुटेफुटेका पुराना मूर्ति
गढीमाई मन्दिर रहेको बरियारपूरबाट गण्डक नहरको किनारै किनार करिब पूर्वतर्फ करिब २० किलोमिटर यात्रा गरेपछि सिम्रौनगढ पुगिन्छ । महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका छुँदै सिम्रौनगढ नगरमा पुगिन्छ । जीर्ण गण्डक नहरसंगै जोडिएको सडक असाध्यै धुलाम्य छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत माछा सुपर जोनमा पर्ने क्षेत्र भएकोले ठूल्ठूला माछा पोखरीहरु यो सेरोफेरोमा रहेका छन् । 
गढीमाई प्रसिद्ध धार्मिक स्थल भएझैं सिम्रौनगढ प्रसिद्ध ऐतिहासिक स्थल हो । सिम्रौनगढको अध्ययन गरिरहेका अध्येता भरत शाहले लेखेअनुसार नान्यदेवले यहाँ सन् १०९७ मा कर्णाटवंशको स्थापना गरेका हुन् । उनीपछि ५ जना राजाले यहाँ शासन गरे । उनीपछिका शासकहरुमा गंग देव, नरसिंह देव, रामसिंह देव, शक्ति देव र हरिसिंह देव हुन् । उनीहरुले आफ्नो राज्य कोशीदेखि गण्डकी र महाभारत श्रृखंलादेखि गंगा सिमानासम्म बिस्तार गरेका थिए । यहाँका प्रथम शासक नान्यदेवदेखि हरिसिंहदेव सम्मको राज्यकालमा आफ्नो गढी, गौडा, प्रशसनिक केन्द्रमा तुलजा भवानी (तलेजु) को पूजास्थल स्थापना गरी आफ्नो कुलदेवीलाई प्रतिष्ठित गरेका थिए । १३ औं शताब्दीको अन्त्यमा सिम्रौनगढमा दिल्लीका वादशाहले आक्रमण गरेपछि धेरै ऐतिहासिक, धार्मिक स्थलहरु तहननहस पारिए । त्यसपछि सिम्रौनगढ कमजोर हुँदै हुँदै गयो । उनीहरु मल्ल राज्यमा समाहित भए । 
कंकाल्नी माई नजिकैको इशरा पोखरी । राजा शिव सिंहले छोरी ईश्वरी सिंहका नाममा पोखरी खन्न लगाएका हुन् । 
मल्ल शासनकाल नेपालको इतिहासमा बास्तुकलाको स्वर्ण कालको रुपमा परिचित छ । राजधानीको कला, संस्कृति, वास्तुकलाको चेतमा सिम्रौनगढको पनि योगदान त मिस्सिएकै छ । अनि सिम्रौनगढ ? सिम्रौनगढको इतिहास जगबाटै भत्किसकेको आभास हुन्छ । सिम्रौनगढ यतिबेला माछा पोखरीको नगर बनेको छ । इतिहासका कतिपय चिनोहरु त यिनै माछा पोखरीभित्रै लोप भईसकेका छन् । सिम्रौनगढ बस्ती कहाँबाट शुरु भएर कताबाट टुगिंएको हो, नक्सा हेरेर मात्रै मेसो पाईन्छ । नगरपालिकाको कार्यालय सेरोफेरोको असरल्ल र धूलाम्य घरवस्ती, कंकाल्नी माई मन्दिर, मन्दिर परिसरभित्रका एकाध टुटेफुटेका मूर्ति, हिलाम्य बनेको ऐतिहासिक ईशरा पोखरी । यही सेरोफेरो अहिलेको सिम्रौनगढ हो । सिंगो र सर्लक्लको सिम्रौनगढ इतिहासमा लोप भैसक्यो । खण्डित सिम्रौनगढका चिनोहरु हिलो, धूलो र पोखरीभित्र दिनदिनै छोपिदै, छरिदैं र पुरिदैं छन् ।  मास्सिदै, नास्सिदै र भास्सिदै छन् । 
जग जोगाउने उपाय 
सिम्रौनगढको सभ्यता इतिहासका पानामा सुरक्षित छ । वर्तमान अवस्था एकादेशको कथाजस्तो बनिरहेको छ । जोगाउने उपायचाहि हुँदै नभएको हैन । सम्पदा, कृषि र पर्यटनको हाँगो समातेर सिम्रौनगढ फेरि बौरिन सक्छ । त्यसका लागी सर्वप्रथम सिम्रौनगढका जनप्रतिनिधिले सिम्रौनगढ जान्ने, बुझ्ने, पढ्ने, सुन्ने, लेख्ने सबैका कुरा ध्यान दिएर सुन्नुपर्‍यो । जनप्रतिनिधिले एकसरो नसुनेका हैनन्, विज्ञहरुलाई सिम्रौनगढमै बोलाएर सुनेका छन् । तर एकसरो सुनेरै मात्र भएन । सिम्रौनगढका ऐतिहासिक सम्पदाहरुको व्यवस्थित किसिमले लगत संकलन गर्नुपर्‍यो । लोप भैसकेका, खण्डहर अवस्थामा रहेका र बचेका सबै सम्पदा सामाग्रीहरुको नक्साकंन, चित्रांकन, रेखांकन, उत्खनन्, संकलनको कामसंगै ब्यवस्थित बस्तीको खाका समेटिएको गुरुयोजना बनाउनुपर्‍यो । सम्पदा संरक्षणको सबै काम एकैचोटी गर्न नसकिने हुनाले  प्राथमिकीकरण गरी जोगाउँदै, बनाउँदै लैजाने योजना बनाउनुपर्‍यो । यसका लागी प्रदेश सरकारदेखि पुरातत्व विभाग सबैसंग मद्दत लिनुपर्‍यो । सम्पदा खोज र संरक्षणसंगै ब्यवस्थित बस्ती विकासको गुरुयोजना बनाउँदै गर्दा भएका तथा बचेका स्थलहरुको संरक्षण, उत्खनन जस्ता कार्य पनि संगसंगै अघि बढाउनुपर्‍यो । 
कंकाल्नी माईको मन्दिर । 
गढीमाईबाट सिम्रौनगढसम्म आईपुग्ने बाटोको सुधार, पर्यटकीय सुविधा भएका होटलहरुको निर्माण, होमस्टेमा प्रोत्साहन, पोखरीहरुको सरसफाई संरक्षण जस्ता काममा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । अहिलेको भक्तपुरजस्तै बन्न सक्छ सिम्रौनगढ । आफ्ना ऐतिहासिक बस्ती, किल्ला, पर्खाल, मन्दिर, मठ बेलैमा चिन्न र जोगाउनचाहि सक्नुपर्‍यो । धेरै ऐतिहासिक सम्पदाहरु माछा पोखरी खन्दा पुरिइसकेका छन् । सिम्रौनगढको मुख्य सम्पदा क्षेत्रभन्दा बाहिरमात्रै माछा पोखरी बनाउन दिने गरी सो क्षेत्रभित्र गहिरो खनजोतको काम, डोजर लगाउने काम बन्द गर्नु नितान्त जरुरी भैसकेको छ । पुरातत्वविद्हरुको सहयोगमा ऐतिहासिक स्थलको चार सिमाना कायम गरेर होशियारीपूर्वक उत्खनन्का् कामहरु हुन सकेमा सिम्रौनगढले प्राचिन सभ्यताको इतिहास बोल्छ, एउटा दर्शनीय ऐतिहासिक स्थल बन्न सक्छ । 
सम्पदा संरक्षणजस्तो संवेदनशील काम ठेक्कापट्टाबाट हुनै सक्दैन, स्थानीयस्तरमै दक्ष निर्माणकर्मी खोजेर अमानतमा सम्पदा निर्माण गर्नुपर्छ । सबैभन्दा कम मूल्य कबुल्ने ठेकेदारलाई जिम्मा दिएर सम्पदाको जगेर्ना गर्न सकिदैंन । भक्तपुर नगरपालिकाले भूकम्पमा भत्किएका सम्पदाहरुको निर्माण अमानतमा गरिरहेको छ । काठमाडौंको रानीपोखरीको पुनर्निर्माण होस् या सिम्रौनगढकै रानीवास मठ, ठेक्कापट्टाबाट सम्पदाको मर्म बाँच्ने गरी काम राम्ररी हुन नसकेको घटनाबाट हामीले पाठ सिक्नुपर्छ । जंगबहादुरका छोरा जीतजंग जबराले १९३५ सालमा रानीमठ निर्माण गरेका हुन् । पुरातत्व विभागले उक्त ऐतिहासिक मठको मर्मत कार्य ठेकेदारमार्फत गराईरहेको छ । सो कार्य सम्पदा संरक्षणको मर्म अनुरुप हुन नसकेको भनी पुरातत्वविद्हरुले प्रश्न उठाईरहेका छन् । निर्माण कार्यमा डोजर प्रयोग गरिएको र त्यसरी जमिन खन्दा ऐतिहासिक साम्रानीहरु जमिनभित्रै नष्ट भएको, पुराना ईंटाहरु नष्ट गरिएको उनीहरुको मत छ । सार्वजनिक खरिद ऐन—२०६३ सम्पदा संरक्षणका हकमा लागु हुनु हुँदैन । नियम कानूनले पारेका अप्ठेरा फुकाउन पुरातत्व विभागले पहल गर्नुपर्छ । 
सम्पदालाई समुदायबाट छुट्याउनै सकिदैन । समुदायको जीवनको जगसंगै जोडिएका हुन्छन् सम्पदाहरु । निर्माण होस् या संरक्षण, समुदायबाट छुट्याएर यो कार्य सम्भव छैन । सिम्रौनगढ सेरोफेरोका भग्न सम्पदाको संरक्षण, लोप भएका सम्पदाको उत्खनन् र व्यवस्थित बस्ती विकास असम्भव छैन । इतिहासको गौरवलाई जोगाउन र व्यवस्थित बस्ती बसाउन भरमग्दुर प्रयास गर्न रहर गर्नेको जय होस् । 
(हिमाल खबरपत्रिकाको २२—२८ असार, २०७६ अंकमा प्रकाशित लेखलाई सामान्य परिमार्जन गरिएको )

खाएर त हेर्नुहोस्….

मिलन बगाले 
जुम्लाको मार्सी भात । पछिल्लो समय शहरको भान्सामा मार्सी भातलाई दुर्गा प्रसाई, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालले चर्चित बनाईदिएका छन् । टोलटोलका डिपार्टमेन्टल स्टोरमा मार्सी चामलका प्याकेट देख्न पाईन्छ । सामाजिक सञ्जालमा मार्सी भातको फोटो पनि बाक्लै देख्न पाईन्छ । मलाई पनि मार्सी भात खाने रहर लागेको थियो ।

मार्सी भातको जय होस् ।

 एकदिन मार्सी भात खाम न है भन्ने घरसल्लाह भएथ्यो । तर मेसो जुरिरहेको थिएन । आज जुर्यो । एकाबिहानै खित्रिमित्रि सामान किन्न पसल गएथें । जुम्ली मार्सीसंग भेट भो । लोभलाग्दो प्याकेटभित्र गमक्क परेर बसेको उसले मसंग आँखा जुधाँउदै  भन्यो—’खाएर त हेर्नुहोस् ।’ मूल्य हेरें, पकेट खोतले अनि ल्याएँ १ किलो चामल । ३२० रुपैंया किलो अर्थात अर्थात मैले नियमित खाईरहेको साढे चार किलो चामल बराबरको मूल्य ।

मार्सीभात पाक्यो । 

रातो र सफा चामल, लोभलाग्दो प्याकेटमा, त्यसमाथी त्यत्रो मूल्य । भुस, बियाँ त के होला र भन्ठानेर सिधै कुकुरमा हालें ।  ३ कप चामल, ३ जनालाई । बियाँ भसक्कै रैछ, चामल र वियाँको रंग उस्तै । छुट्याउनै गाह्रो । भिजेको चामललाई फेरि थालमा खन्याएँ । आँखाले भेटेजति वियाँ हटाएँ, २—३ पटक पखालें अनि थोरै घ्यू हालेर पकाएँ । पानी धेरै नै सोस्छ जस्तो लाग्यो, अलि धेरै पानी हालें । २ सिठी लगाएपछि पाक्यो भन्ठानें । एकछिन पनि खोलेर हेरेको, कहाँ पाक्नु । पानी नै पानी । फेरि चार सिठी लगाएँ । अनि लपक्क पाक्यो । भात त लोभलाग्दो देखियो ।

प्रतिकिलो ३२० रुपैंया मात्र ।

यदि लोभलाग्दो भातलाई तिहुनताहुन पनि राम्रै चाहियो नी । जुम्लाको भातको साथी बने तनहुँको पुर्कोटको गावा, आफ्नै कम्पाउण्डको पुदिनाको अचार, करेला र भिन्टा फ्राई अनि भिण्डी, बोडी र आलुको तरकारी, आफ्नै कम्पाउण्डभित्रको रायोको साग । आँखाले हेर्दा जति लोभलाग्दो थ्यो, खाँदा पनि उस्तै मिठो रैछ । बा, म र रन्जु मिलेर मिठो मानेर खायौं । खाएर त हेर्नुहोस् भन्याथ्यो मार्सीले, हो रैछ । मार्सी तपाई पनि खाएर हेर्नुहोस् है । मार्सी धान धेरै फले, बजारमा सहजै आउन सके जुम्ला सेरोफेरोले पैसा कमाउथ्यो, हामीले रातो र तातो रैथाने भात अझ सस्तोमा खान पाउथ्यौं । जुम्लाको सेरोफेरोमा मार्सी मजैले फलोस् । मार्सी फलाउनेको उद्यमी हातको जय होस् ।

चामल र वियाँ उस्तै । छुट्याउनै गाह्रो ।

देश चियाउने झ्याल

मिलन बगाले
तपाईंले पढिरहनु भएको यो सामाग्री किताब समिक्षा हैन । म किताब समिक्षा खोजीखोजी पढ्छु तर लेख्ने रहरचाहि अहिलेसम्म गरेको छैन । कहिल्यै किताब समिक्षा लेखौं जस्तो लागेन । तर, किताबबारे आफ्नो टिप्पणी वा प्रतिक्रिया लेख्नलाई चाहि मलाई रहर लाग्छ । त्यसैले मेरा प्रिय लेखक डा. तीर्थबहादुर श्रेष्ठको नयाँ किताब पढेर यो टिप्पणी लेख्दैछु । 
म शब्दको शक्तिमा विश्वास गर्छु । शब्दसंग ध्वंसात्मक र रचनात्मक दुबैखाले शक्ति हुन्छ । ध्वंसात्मक शक्तिमा मेरो आस्था र विश्वास छैन, रचनात्मक शक्तिमा विश्वास गर्छु । आख्यान विधाको लेखाई गैरआख्यानको तुलनामा रुखो र शुष्क लाग्न सक्छ । गैरआख्यान ह्रदयले भन्दा मस्तिष्कले लेखिने भएकोले, तथ्य—तर्क र तथ्यांकले घेरिएर लेखिने भएकोले अलिकति रुखोरुखो बन्दो हो । म यी दुबै विधा उत्तिकै रुचिका साथ पढ्छु । गैरआख्यान लेखक भएकोले गैरआख्यान अलि बढी खोजीखोजी पढ्छु । मलाई समाज, भूगोल, प्रकृति, संस्कृति, मान्छेले रचना गर्ने घरबस्ती र तिनका विविध आयामले छुन्छ । भूगोल र समाजको सेरोफेरोमा लेखिने कृति असाध्यै कम भेटिन्छन् । 
हर्क गुरुङले देश देख्ने धेरै झ्यालढोका बनाएर हामीलाई सुम्पिएका छन् । डोरबहादुर बिष्टले नेपाली समाजका केस्रा मिहिन तरिकाले केलाईदिएका छन्, आख्यान र गैरआख्यान दुबै विधा मार्फत । मोहन मैनालीका पदचाप पछ्याएर देशको नदेखिएको पाटो देख्न पाईएको छ ।  शब्दमा ज्ञान, विज्ञान र बिवेक घोलेर मस्ष्तिक र ह्रदय दुबैको आवाज मिलाएर लेख्ने डा. तीर्थबहादुर श्रेष्ठले चाहि नेपालका नखुलेका पाटा खोलिरहेका छन् । उनको अघिल्लो किताबको नाम नै नेपाल—नखुलेका पाटाहरु थियो । यसपाली उस्तै गहकिलो किताब मेरो हातमा परेको छ । नेपाल अध्ययन (भाग—१)ःभू—स्वरुप र हावापानी शीर्षकको किताब । देश देखाउने, देश बुझाउने, देश चिनाउने, देश घुमाउने किताब । शिक्षक मासिकमा ‘नेपाल अध्ययन’ स्तम्भमा छापिएका २१ लेखको माला उनेर सग्लो किताब बनाउने स्तुत्य काम पनि सोही पत्रिकाले गरेको छ ।  
भूपरिबेष्ठित देश हुनु भनेको के हो ? यसो हुँदा कत्तिको मर्का पर्छ ? देश समुन्द्रसंग जोडिदैन । समुन्द्रसंग नजोडिएको ‘हिनताबोध’ धेरै नेपालीको मनमा नराम्ररी गढेको छ । भूपरिबेष्ठित भए के हुन्छ ? देश गरिब हुन्छ ? थला पर्छ ? भूपरिबेष्ठित हुनु भनेको भौगोलिक नाकाबन्दी हो ? चारैतिरबाट च्यापिनु, थुनिनु, घेरिनु हो ? बन्दी मुलुक हो ? देशको गरिबी र पछौटेपनको जननी हो ? यी प्रश्नहरु धेरैको मनमा पक्कै उब्जन्छ । मन रुने हैन, मन छुने जवाफ डा. श्रेष्ठसंग छ । उनी पहिलो लेखमै लेख्छन्—‘नेपाल भूपरिवेष्टित भएका कारण हामी पखेटा नै फिंजाउन सक्तैनौं भन्ने होइन । ‘भूपरिवेष्टित’ लाई चारैतिर अरु देशको भूभागसँग जोडिएको भन्ने सामान्य अर्थमा मात्र बुझिनुपर्छ । यसले हामी तालाबन्दीमा छौं भन्ने भाव बुझाउँदैन । हाम्रा नदीहरुलाई हिमालले छेक्दैन, पहाडले थुन्दैन र चुरेले रोक्दैन ।’ भूपरिबेष्ठित मानसिकता हाम्रो मनमा पिठोझैं जमेर बसेको छ । त्यही साह्रो पिठोलाई मिठोसंग बेल्न, नेपाल भू—कडी वा भू—सेतु कसरी बनेको छ भनेर बुझ्न “नेपाल ‘ल्याण्डलक्ड’ होइन,‘सानो’ पनि छैन” लेखले सिकाउँछ । हिमाल पहाड र तराई टाउको छाती र पेट हुन्, नेपालको अस्तित्व यिनै विविधतायुक्त भौगोलिक अखण्डतासंग मिहिन ढंगले गाँस्सिएको भन्ने बोध पनि सो लेखले गराउँछ । 
नेपालको क्षेत्रफल पढेर नेपाललाई सानो देश… भन्ने बुझाई बनेको छ । तर नेपाल चारपाटे चौर होइन । सानो देशको भ्रमलाई तोड्दै उनी लेख्छन्—‘लम्बाइ र चौडाइमा फैलिएको धरतीमा उँचाइ थपिएपछि तेस्रो आयाम पैदा हुन्छ । यसै भएर मलाई नेपालको भूगोल वर्ग मिटरमा होइन, घन मिटरमा ब्यक्त भएको देख्ने र हेर्ने इच्छा जागृत हुन्छ ।’ पहाड पर्वतको पावन आर्कषमा परेर कोही हिमाल चढ्न, कोही आध्यात्मिक शक्तिको खोजी गर्न, कोही देवात्मा भेट्न, कोही नाम कमाउन, कोही दाम कमाउन उकालो उक्लन्छन् भन्छन् उनी । लेख्न र देश देख्न मैले पनि धेरथोर पहाड डुलेको छु । उकालोले थकाउँछ तर फकाउँछ पनि । उजाड उकालोको मुलुक हैन नेपाल । अलिकति उक्लेपछि थकाई मार्ने चौतारो भेटिन्छ । शीतल हावाले मन भरिन्छ । अलिपर पानीको छाँगो भेटिन्छ । पानीले आँत भरिन्छ । टिपेर खान मिल्ने जंगली फल भेटिन्छन्, पेट भरिन्छ । चराचुरुंगी र जनावर भेटिन्छन् । बातैपिच्छे हाँस्ने आत्मीय मान्छे भेटिन्छन् । डोजरले डाँडा डामिरहेको देश हिमाल र पर्वतलाई विकासको बाधक देखिरहेको छ, खुल्ला चौरमा घरैघर थुपारेर एकीकृत बस्तीको सपना देखिरहेको छ । तर नेपाल बन्ने बाटो त्यो होइन । त्यो त नेपालको समृद्धि खन्ने बाटो हो । प्रकृति र संस्कृति भुलेर डोजरले जोतेर सिमेन्ट रोपेर नेपाल बन्दैन । किताबले यस्ता ज्ञान पानैपिच्छे पढाउँछ । 
जल र जमिनको अतिदोहन गरेर अलि बर्षअघि अर्मला क्षेत्रमा भकारीजत्रा भ्वाङ बेहोरेको पोखराको दीर्घ जीवनका बारेमा श्रेष्ठ चिन्तित छन् । नेपालको उद्यान नगरीको रुपमा विकास गर्दै उद्यानभित्रको पनि ससाना उद्यानमा परिणत गर्दै हरित गन्तव्यस्थल बनाउन सकिने उनको मत छ । पानीको धारले भित्रभित्रै काटिने र भासिने पोखराको भूक्षयबारे प्राप्त जानकारीका आधारमा मात्र विकासको काम अघि बढाउन सुझाव दिंदै उनले यक्ष प्रश्न सोधेको छन् —आफ्नै पाईतामुनिको जमिनलाई सुरक्षा गर्न सकेनौं भने हाम्रो सुरक्षा कसले गर्ला ? श्रेष्ठको यक्ष प्रश्न पढिरहँदा केही महिनाअघि विश्व शान्ति स्पूताबाट देखिएको पोखराको सेरोफेरो सम्झिएँ, अनि सम्झिएँ हिमाल खबरपत्रिकामा छापिएको आफ्नै आलेख ‘फैलिंदो पोखरा÷खुम्चिंदो पोखरा’ लाई । आकाश छुने रहर गरिरहेको, १८ तल्ले अपार्टमेन्ट बनाउन खोजिरहेको, तालको किनारतिर भट्टी पसल थापिरहेको र बरपिपल चौतारी मासिरहेको पोखरा । तर अझैं सफा र अरु शहरभन्दा कम अस्तव्यस्त पोखरा । बरपिपल चौतारीको जरो उखेल्यो भने, नदी थुन्यो भने पोखराको कमजोर माटोको आत हल्लिन्छ भन्ने कुरा पोखराले बुझेकै छ । बारम्बार अर्मला मात्र हैन, शहर सेरोफेरोभित्र पनि विभिन्न रुपमा भोगेकै छ । घरघरै भरिने क्रम पोखरामा दिन दुईगुणा र रात चौगुणा बढिरहेको छ । प्रदेशको राजधानी र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तरखरसंगै यो शहर विस्तारै धानिनसक्नु हुँदैछ । अहिलेसम्म पोखरेलीको स्वअनुशासनमा सफासुग्घर भएर बाँचेको छ पोखरा । बस्ती घना बन्ने क्रमसंगै त्यो अनुशासन खुकुलिंदै जाने र अन्तत अर्को एक थान भद्रगोल काठमाडौं बन्ने सम्भावनालाई चिनेर पोखराको सभ्यता, भव्यतालाई जोगाउँदै यहाँको प्रकृति र संस्कृति बचाउनैपर्छ ।  
किताबमा भूकम्पीय सुरक्षासंग सम्बन्धित ४ वटा लेख छन् । तीमध्ये ‘हेक्का राखौं—देशको भूगोल बदलिएको छ’  शीर्षकको आलेखले हाम्रो भूगर्भ र भूगोललाई बुझ्ने शिक्षामा जोड दिन सुझाएको छ । ‘हामी भूकम्पमाथि बसेका छौं र बसिरहन्छौं, जस्तै जापान लगायत सयौं अरु देशहरु पनि बसिरहेका छन् । तसर्थ भूकम्पलाई आत्मसात् गरेर कसरी विकास निर्माण गर्ने भन्ने ज्ञान, विज्ञान र प्रविधिसंग सम्बन्धित शिक्षा, दीक्षा, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने कुरा खुल्न आएको छ ।’ हुने हार टैव नटार भनेझैं असुरक्षित संरचनामा ढुक्कले बस्ने हाम्रो मानसिकता परिवर्तन हुनुपर्ने सन्देश उक्त आलेखले दिएको छ । 
किताबले जल, जमिन, जंगल, जडिबुटी र जनशक्ति को अपार सम्भावनालाई चिनाईदिएको छ । आफूलाई र आफ्नोपनलाई माया गर्न सिकाएको छ । सृजनात्मक बन्न सिकाएको छ । अग्लो भ्यू टावर, बडेमानको अपार्टमेन्ट, ठूलो प्रदेशद्धार र गजुर, फराकिलो सडक, रामरमिता र झिलिमिलिलाई हाम्रो देशमा ‘विकास’ भनिदैंछ, आफ्नोपन र आफ्नोमनलाई विकासका बाधक मानिदैंछ । सायद आफ्नोपन र आफ्नोमन चिनाईदिने, आफ्नोपनलाई चिहाएर हेरिदिने सर्जकको अभाव भोगिरहेछ देश । यो किताब ले त्यस्ता भ्रम चिर्न मद्दत गर्छ । किताब गुनिलो छ । मेसो मिले हैन, मेसो मिलाएरै पढ्ने सबै पाठकको जय होस् ।

(अन्नपूर्ण पोष्टको बैशाख २८, २०७६ अंकमा प्रकाशित, सामान्य परिमार्जनसहित राखिएको) 

पुनर्निर्माणको जंगी मोडेल

मिलन बगाले
प्रकृतिले निम्त्याउने विनाशकारी भूकम्प, आँधी, वाढीपहिरो होस् या आगलागी, बिस्फोट र आतंकवादी हमला, नागरिकले हारगुहार र मलमपट्टीका लागी सबैभन्दा पहिले सम्झने आफ्नै छरछिमेकलाई हो । त्यसपछिको सरकार घरछेउको प्रहरी चौकी बन्छ साथसाथै स्थानीय तह पनि । अनि सम्झिइन्छ रेडक्रसलाई र अन्तत बडेमानको हेलिकोप्टरमा राहत, उद्धार र उपचारका सामाग्री बोकेर ल्याउने सैनिकलाई । जब सैनिक उत्रन्छ, नागरिकका आँखामा आशाका बत्ती बल्छन् । आपतविपद्मा पनि न अन्योल, न अलमल । सेनाले खोज, राहत र उद्दारको काम तीव्र गति र प्रभावकारी शैलीमा गर्छ । यस्ता कार्यमा नेपाली सेनाले राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नाम कमाएको छ ।
नेपाली सेना स्रोतसाधन सम्पन्न छ । विपद्मा भर दिन्छ भनेर नै सेनालाई सरकारले स्रोतसाधन सम्पन्न बनाएको हो । उसंग तालीमप्राप्त ठूलो संगठित शक्ति छ, औजार छ, उपकरण छ, हेलिकोप्टरहरु छन्, अत्यावश्यक सामाग्रीको भण्डार पनि छ । त्यसो त सेनाको अनुशासन पनि अनुकरणीय छ । काम छिटोछरितो हैन, बिजुलीको गतिमा गर्छ । आपतकालीन उद्दारमा सेनाले जहिल्यै प्रसंशनीय काम गर्छ । तर प्रसंशा सेलाउन नपाउँदै सेना विवादमा तानिन थालेको छ । आपतकालीन उद्दार सकिएर पुनर्निर्माणले गति लिने चरणमा जनप्रतिनिधि र नागरिक प्रशासनलाई पन्छाएर सेनालाई नै जिम्मा दिने रहर सरकारले गरिरहेछ ।
स्थानीय तह, प्रदेश सरकार र केन्द्रको नागरिक प्रशासनलाई पर पन्छाएर वारा पर्साका हावाहुरी पीडितको घरको नक्सा बनाउने तथा घरै बनाउने जिम्मा हालै सरकारले सेनालाई सुम्पेको छ । अधिकार, जनशक्ति र बजेट दिएर स्थानीय तह र प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा तथा अत्यावश्यक केही काममा सेनाको मद्दत लिनुपर्नेमा सरकार सैन्य शक्तिमाथी पूरै भर पर्नु  र नागरिक प्रशासन सेनालाई आवश्यक परे मद्दत गर्ने निकायजस्तो बन्नु दुखद विषय हो ।
बर्खाअगावै हावाहुरी पीडितको घर बनाउनु छ । उनीहरुलाई सुरक्षित र बलियो ओतभित्र छिट्टै सार्नु छ । चरम ढिलासुस्ती, लापरवाहीमा नागरिक प्रशासन चुर्लुम्म डुबेको छ । यो बस्तुस्थिति हेर्दा सेनालाई घर बनाउन जिम्मा दिँदा हावाहुरी पीडित नागरिकको घर एकदमै छिटो र राम्रो बन्छ । यसो हुँदा के बिग्रन्छ ? सेनाको इज्जत बढ्दा कसको के बिग्रिन्छ ? यस्ता प्रश्नहरु उठिरहेका छन् । प्रश्न अस्वभाभिक छैनन् । तर प्रश्नसंगै जवाफ पनि आफैं बोलिरहेछ । स्थानीय सरकारले ढिलासुस्ती, ग¥यो, लापरवाही ग¥यो, भ्रष्टाचार ग¥यो, पीडितको घरवासको ठेगान भएन भने त्यसको समाधान के त ? स्थानीय सरकारलाई जनताप्रति वफादार र जिम्मेवार बनाउने कि जिम्मेवारीमुक्त र रमिते बनाएर सेनालाई अगाडी सार्ने ? सरकारी पाटपुर्जाले राम्ररी काम गरेनन् भने काम गर्नलायक बनाउने दायित्व राज्यको हो । सरकारी पाटपुर्जाको राम्ररी मर्मत गर्ने कि अन्य विकल्प रोज्ने ? नागरिक प्रशासन विकल्प सेना हुन सक्दैन, हुनु हुँदैन । 
बारा चक्रवातमा परी सर्वाधिक मानवीय क्षति व्यहोरेको फेटा–६, पुरैनिया ।
Photo: कृष्ण पौडेल
सेनाले आफ्नो जिम्मेवारीको काम समयमै सम्पन्न गर्छ । उच्च व्यवसायिक मर्यादा र कार्यकुशलता देखाउछ । उसंग भएको त्यो अनुशासन र कार्यकुशलताबाट पाठ सिकेर स्थानीय तह र प्रदेश सरकारमार्फत छिटोछिटो काम सिध्याउने गरी अधिकार र बजेट दिन किन मिल्दैन ? सेनाले काम छिटोछिटो सक्छ । त्यसोभए रक्षामन्त्री पनि सेनालाई बनाउने ? गोरखापत्र छाप्न दियो भने आधारातमै छाप्न सक्छ, बिहानै राम्ररी वितरण गर्न सक्छ । चिल्लो कागजमा छापेर बाड्न सक्छ । गोरखापत्र संस्थान पनि उसैलाई जिम्मा दिने ? सैन्य शक्तिको आफ्नै सिमा छ, मर्यादा र गरिमा छ । जिम्मा दियो भने निजामति कर्मचारीले भन्दा राम्ररी चुनाव गराउन पनि सक्ला । त्यसोभए त्यो काम पनि उसैलाई सुम्पने ?
नेपाल सरकारसंग अनुभवी इन्ज्निियरिङ जनशक्ति र तिनलाई परिचालन गर्ने संस्थागत संरचनाको अभाव छैन । शहरी विकास मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग छ । भवन विभाग र विभाग अन्तरगतका कार्यालयसंग धेरै आर्किटेक्ट, शहरी योजनाकार र सिभिल इन्जिनियरहरु छन् । हरेक प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय छ । धेरै अनुभवी परामर्शदातृ संस्थाहरु छन् । भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल इन्ज्निियर्स एशोसिएशन, सोसाइटी अफ नेप्लिज आर्किटेक्टजस्ता जनशक्तिमा असाध्यै बलिया संस्थाहरु छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लड्दै पड्दै धेरै सिकिसक्यो । यति धेरै संरचनालाई सर्लक्क पन्छाएर पुनर्निर्माणको जिम्मा जंगी अड्डालाई दिने निर्णय कति उचित छ ?
बारा र पर्साका हावाहुरी पीडितका घर छिटोछिटो बन्नुपर्छ । त्यसमा दुईमत छैन । तर नेपाली सेनाको मद्दत लिनुपर्ने गरी सम्हालिनसक्नुको अवस्था छैन । लाखौ घरहरु एकैपटक भत्किएका हैनन् । केही सय घरहरु बनाउनु छ । जिम्मेवार बनाउन सकियो भने नगरपालिका, गाउँपालिका र प्रदेश मन्त्रालयले नै हावाहुरी पीडितलाई बलियो र स्थानीय जीवनशैली सुहाउँदो प्रकोप प्रतिरोधी घरभित्र बर्खाअगावै सार्न सक्छन् । कसैले आएर घर बनाईदिने, स्थानीयले रमिता हेरेर बस्ने मोडलमा पुनर्निर्माण गरिनु हुँदैन । घरको डिजाइन होस् या निर्माण, दुबै काममा स्थानीयवासी र नागरिक प्रशासनले संगसंग काम गर्नुपर्छ । स्थानीय निर्माणकर्मीको काम खोसिनु पनि हुँदैन । बलियो घर बनाउने तालीम दिन सके, कामको राम्ररी रेखदेख गरिदिन सके, डिजाइनमा सहजीकरण हुन सके उनीहरुले नागरिक प्रशासनसंग मिलेर बेलैमा आफ्नो बलियो घर बनाउन सक्दछन् ।
सेना त सञ्चित धन हो । सानोतिनो गर्जोमा सेना प्रयोग गर्ने रहर गर्नु हुँदैन । बारा र पर्सामा सेनाले गरेको उद्दारको काम प्रसंशनीय छ । पुनर्निर्माणमा चाहि प्रसंशीय काम गर्ने पालो गाउँपालिका, नगरपालिका र प्रदेश सरकारको हो । प्राविधिक सहायता संघ अन्तरगतको शहरी विकास मन्त्रालयले गर्न सक्दछ, गरोस् । पुनर्निर्माण समुदायबाटै होस् । प्रकोप प्रतिरोधी घर निर्माणसंगै स्थानीय निर्माणकर्मीको सीप सुधार्न भरपर्दो पहल गरिए त्यो सीपले तराईमा थप पक्का घरहरु बन्दै जानेछन् । आपतविपद्मा भर सेनाको, पुनर्निर्माणमा बलियो घर दिने जिम्मा स्थानीय र प्रदेश सरकारको । यति सत्य बुझ्न रहर गरिदिएर त्यसै अनुसारको बन्दोबस्त गरिदिए नेपाल सरकारको जय होस् ।
(हिमाल खबरपत्रिकाको २२—२८ बैशाख, २०७६ अंकमा प्रकाशित लेखलाई सामान्य परिमार्जनसहित राखिएको)

भय भुल्दै/लय भुल्दै

मिलन बगाले
नयाँ बर्ष २०७६ शुरु भएको पर्सिपल्ट भूकम्पले गोरखा सेरोफेरोलाई अलिकति हल्लायो । बनाएका घर नभत्कने गरी, कसैलाई बेस्सरी नतर्साउने गरी तर आफूलाई नबिर्सनु भनेझैं गरी भीमसेन थापा गाउँपालिकाको केन्द्रलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गयो । २०७२ साल बैशाख १२ गतेयता भूकम्पका यस्ता ससाना धक्का निरन्तर गईरहेछन्, प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी ससाना घर पनि निरन्तर बनिरहेछन् । निजी घर बन्ने संख्याको ग्राफ निकै उकालो लागिसकेको छ ।
भूकम्पको भयलाई भुलेर देश आफ्नो जिन्दगीको लय समाउँदै छ । सुन्तला रंगको पाललाई जस्ताको छानो हालिएका ससाना घरले बिस्थापित गरिसकेका छन् । घर ससाना र जता गएपनि उस्तै देखिने भएकाले होला, नेपालका गाउँघर कुनै परियोजना चलिरहेका ठाउँका क्वार्टरजस्ता देखिन्छन् । मानौं गाउँ सप्पै खाली गरेर सो ठाउँमा कुनै परियोजना चलिरहेको छ र सो गाउँमा परियोजनाका कर्मचारी बसिरहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र जीविकोपार्जन सम्बन्धी परियोजना त चलेका छन् नै, गाउँबस्ती बन्ने क्रम हेर्दा परियोजनाले नै गाउँठाउँ चलाएको जस्तो भान हुन्छ ।
गाउँठाउँ भूकम्पको भय भुल्ने क्रममा रहेपनि नेपालको परम्परागत निर्माण संस्कृतिको लयलाई पनि भय जसरी नै भुलिरहेको छ । २०७२ साल बैशाख १२ गतेपछिको पुनर्निर्माणले घरबस्तीको परिभाषा नै बदलिएको छ । एकाध राम्रा कामबाहेक अधिकांश भेगमा घर एकैठाउँमा सम्म चौरमा थुपारेपछि एकीकृत बस्ती बन्छ भनेझै भएको छ । ढलानका बन्धनले जगदेखि छानोसम्म कसेर १ वा २ कोठा हालेपछि घर बन्छ भनेजस्तो भएको छ । राहतको रहर र पुरानो जराजीर्ण घर नभत्काउने ‘कहर’ ले सानोतिनो भूकम्पमा पनि जराजीर्ण पुरानो घर त्यही नयाँ घरमाथी पोखिन्छ कि जस्तो पनि देखिन्छ । पुरानो घरको माया र अनुदानवाला सरकारी घरको मोहको तालमेल नमिल्दा नयाँ घर न घरजस्तो देखिएको छ, न धन्सारजस्तो बनेको छ, न पुरानो घरसंग तादाम्त्यता मिलेको छ न आँगनसंग । उ त एक्लै घुम्घुम्ती हुप्प फुलेर कसैसंग मिल्न नसकेर बसिरहेको जस्तो देखिएको छ ।
सानै भए पुग्छ !
गाउँमा घर किन साना बने ? ठूलो घर बनाउने पैसा नभएर ? ठूलो घरको गतिलो नक्सा नआएर ? ठूलो घर नचाहिएर ? कि ठूलो घर बनाउने रहर नै नभएर ? मसिनोसंग खोजिपस्ने हो भने गाउँठाउँमा ठूलो घर चाहिन्न भनेझैं भएको छ । गएको ५—१० बर्षमा गाउँमा खेतीपाती बेस्सरी पातलिएको छ । गाउँठाउँले खेतीपाताीको विकल्प खोजिरहेको छ, खासगरी धान, गहुँ, मकै, कोदोजस्ता अन्न फलाएर नाफा हुने त परै जाओस्, लगानीसमेत नउठ्ने भएपछि गाउँ या त बैदेशिक रोजगारी , बजारछेउमा ससानो व्यापार व्यवसाय या नगदे बाली र पशुपालनतिर तानिएको छ । तरकारी र फलफूल बारीबाटै बिक्छन् या बारीमा कुहिन्छन् । यति भएपछि गाउँठाउँले ठूलो भण्डारको रहर गर्नै छोडिदियो । सफा चिटिक्क घरमा टिभी, फ्रिज राखेर बस्ने रहरले घुनपुत्ला र मुसा भित्रिने उपायलाई पर धकेलिरहेको छ । त्यसो त अन्नपात राख्न र बस्तुभाउ बाध्न धन्सार बनाउने चलन पुरानो हो । तर धन्सारको समग्र रुप र बनावट मूल घरको जस्तै हुन्थ्यो, तल्ला कम र आकारप्रकार सानो बाहेक वास्तु शैली घरसंग मिलेको हुन्थ्यो, संगतीपूर्ण देखिन्थ्यो । तर अहिलेको धन्सार त भग्नावशेष तह लगाउने उपायको रुपमा मात्र बनेको छ । धन्सार हेलामा परेको छ ।
जागीर विदेशमा, छोराछोरीको पढाई गाउँभन्दा तलको बजारमा र बाआमा गाउँमा बस्ने पछिल्लो प्रचलनले गाउँको घरको आकार प्रकार, उपयोग र बनावटको शैली सबै खल्बलिएको छ ।  चाडवाड र दशैं तिहार बाहेक अरु बेलालाई सानै घरले पुगेको छ । जरुरी नै नभएपछि ठूलो घर बनाउने रहर गर्नु पनि त भएन । आवश्यकता बढ्दै जाँदा पुरानो घरसंगै जोडेर कोठा थप्ने काम हुँदै हुँदै जाला ।  पुनर्निर्माण प्रक्रियाले घर बलियो बनाउने ज्ञान गाउँगाउँमा फिजाएको छ । तर त्यो ज्ञानलाई किस्ता लिने बाध्यताको रुपमा मात्र गाउँठाउँले बुझेर थप निर्माणमा लापरवाही हुन गयो भने त्यही कमजोर भाग भत्किएर जनधनको क्षति निम्तिन सक्छ । यसतर्फ गाउँठाउँ सचेत हुनैपर्छ ।
धादिङ सिद्धलेकस्थित पारम्परिक घरसँगै भूकम्पपछि
पुनर्निर्माण गरिएको घर (बायाँ) । Photo: Milan
बैदेशिक रोजगार, कृषि कर्ममा घट्दो चासो र बजारतिरको बसाई गाउँले जिन्दगीका अस्थायी उद्यम मात्र हुन् । बजार वा साना शहरको रुप धारण गरेर भएपनि ढिलोचाडो रित्ता गाउँघर भरिनु नै छ । गाउँघरले भरिदै जाने मेसोको लय पक्रिदै जाँदा दुईकोठे घर त भकारी र ‘कोठा’ (धान लगायतका अन्न राख्नका लागी चोया बुनेर बनाईने गरिन्छ) का लागीमात्रै ठिक्क हुनेछन् । जतासुकै जग खोतलेर कोठा थप्ने वा साना साना घरैघर बनाईरहनु भन्दा ठूलो घर बनाउन गाउँठाउँमा चासो पुगेन । कृषिमा आश्रित समग्र जीवनशैली अट्ने घरका लागी गाउँठाउँमा सुहाउँदो नक्सा, घरधनीलाई प्रोत्साहन, अनुदान, ऋण सबैथोकको खाँचोको महसुस नभएको हैन । ठूला घरका नक्सा पनि बनेका हुन् तर सबैको ध्यान साना घरहरुले खिच्यो । अनुदानकै भर परेर साना घर बनाउने र साना घर सुरक्षित हुने, छिटो बन्ने भएपनि गाउँठाउँले त्यही रोज्यो । निर्माण सामाग्रीको अभाव, पानीको अभाव र निर्माणकर्मीको अभावले पनि गाउँठाउँलाई नवनिर्माणका नराम्ररी खुम्च्यायो ।
शहरले भुलेको भय भूकम्पमा ढुंगामाटाको घर गल्र्याम्मगुर्लुम्म पोखिएको दृश्यको साक्षी बनेकोले गाउँठाउँले भूकम्पको भय भुलेन । त्यसैले त भूकम्प प्रभावित जिल्लाका गाउँका घर जसरी र जत्रा बनेपनि बलिया बनेका छन् । तर भूकम्पले शहरको मन उतिसारो हल्लाएन । बर्षौबर्ष खुल्ला छाडिएर भाँचिन ठिक्क परेजस्ता मसिना डण्डीमा फर्मा हालेर पिलर उभ्याएर थप उचालिने रहरमा ब्रेक लागेको छैन । नयाँ बन्ने घर मापदण्डको कसिलो प्रावधानले बलियो बनेपनि तला थप्ने काममा चाहि शहर उही तालले हौसिएको छ ।
छोटा टुक्रा डण्डीमा उस्तै मसिना डण्डी जोडेर भूकम्पीय सुरक्षात्मक कुनै उपाय नै नअपनाई तला थप्ने रहर गर्नेहरुले पक्की घरमा त्यसरी थपिएका तला वा तलाका खण्डहरुमा ठूलो क्षति पुगेको भसक्कै भूलेका छन् । अर्को डरलाग्दो भूल त कम्पाउण्ड पर्खाल बनाउँदा भएको छ । भूकम्पमा भकाभक ढलेका कम्पाउण्ड पर्खालको त्रास भुलेर पिलरविनाका, गतिलो जग विनाका र ढलानका बन्धनविनाका कम्पाउण्ड पर्खालहरु शहरमा धमाधम बनिरहेका छन् । घर बनाउँदा प्रचलित मापदण्डको प्रयोग गरिएपनि कम्पाउण्ड पर्खाल बनाउँदाको पुरानो लापरवाही जस्ताको तस्तै सर्लक्कै दोहोरिएको छ । भूकम्प प्रभावित जिल्लाभन्दा बाहिरको निर्माण शैली र संस्कृतिमा केही परिवर्तन आएको छैन ।
चैत्र १७ गते बारा र पर्सामा आएको ठूलो हावाहुरीले कच्ची घर मात्र हैन, पक्की र अर्धपक्की घरसमेत भत्कायो । बढी मानवीय क्षति कच्ची घरमा भन्दा पक्की घरले नै बढी निम्त्याउँछ । हावाको झोक्काले नै पक्की घर ढलाएबाट नै बुझ्न सकिन्छ, सो क्षेत्रमा भूकम्प गयो भने कति ठूलो विनाशलिला निम्तिन्छ । घर निर्माण गर्दा भूकम्पको भय भुल्ने काम त आत्मघाती हो । प्रकोप प्रतिरोधी भरपक्का घर बनाएर मात्रै भूकम्पको भयलाई भुल्ने प्रयास गरौं ।
निर्माणको लय भुलेर..
ससाना घर बनाउने रहर गर्दा गाउँठाउँ हाईड्रोपावर वा यस्तै कुनै ठूला परियोजनाका आवास गृहजस्ता देखिएका छन् । पुनर्निर्माणले घरको आकार त खुम्चिएको छ नै, समग्र निर्माण शैली र संस्कृतिको लय पनि खल्बलिएको छ । परम्परागत सीपहरु मास्सिएर नयाँ निर्माण सामाग्रीहरु भित्रिएका छन् । नयाँ सामाग्रीसंग राम्ररी घुलमिल हुन नपाएकोले नक्सामा देखाएझैं बलिया घर बनेका छन् कि छैनन्, गुणस्तरीय सामान पुगेका छन् कि छैनन्, सिमेन्टको आयु सिद्धिने बेलामा ठूलो भूकम्प आउदा के कसो होला भनेर पनि सोच्नुपर्ने भएको छ ।
परम्परागत निर्माण पद्दतिमा सुधार गर्नु सट्टा त्यसलाई सर्लक्कै छोडेर औधोगिक उत्पादनको अत्याधिक प्रयोग गरी घरलाई सामान वा वस्तुजस्तो बनाउँदा पुनर्निर्माण बिरसिलो बनेको छ । ‘एकीकृत वास्तुशास्त्रीय सिद्धान्त’ नामक पुस्तकमा माइकल डब्लू. मेहाफ्फी र निकोस ए. सालिन्गारोस लेख्छन्— ‘परम्परित वास्तुकला, कला, र शहरी व्यवस्थापनबाट निर्मित वातावरणको माध्यमबाट मानव जातिले आफ्नो भौतिक आवश्यकतामात्र परिपूर्ति गरेको छनै, यस जगत्मा व्याप्त प्राकृतिक वाताावरणले प्रवाह गर्ने सौन्दर्यमूलक स्वभाव पनि आममानिसलाई प्रदान गरेको छ ।
घर बनाउनु भौतिक आवश्यकता पुरा गर्नुमात्र हैन, घरले प्रतिनिधित्व गर्ने प्राकृतिक सौन्दर्य र स्वभाव मुख्य कुरा हो । घर बनाउँदा हामी त्यो पाउँछौं भन्ने चेतनाले हामी निर्देशित हुनु पर्दछ । ’ प्रकृति र बासस्थनको मानवीय सम्बन्ध थप खोतल्दै उनीहरु लेख्छन्— ‘आममानिस स्वभावले नै प्राकृतिक चरित्र भएका घरहरुमा बस्न चाहन्छन् र त्यो चरित्र ग्रहण गर्नका लागी निकै कोसिस गर्छन् । आफ्ना बैठक कोठा पनि सजाउन थाल्छन् । भित्ता रङ्ग्याउन थाल्छन् । विभिन्न चित्रहरु झुन्ड्याउन थाल्छन् । तर यसो गरेर प्राकृतिक वातावरण बन्दैन । प्राकृतिक वातारणका लागी त डिजाइन गर्दादेखि नै बोटविरुवा, जनावर, घाम र प्राकृतिक वस्तुका संरचना आदिसंग सामञ्जस्य कायम राख्नु पर्दछ ।’ तर हाम्रो पुनर्निर्माण प्रक्रिया प्रकृति र संस्कृतिबाट पर भागेर अन्धकारमा रमाउन खोजिरहेछ ।
प्रकृति र संस्कृतिबाट पर भागेर, औधोगिक सामाग्रीको अत्याधिक प्रयोग गरेर, मौलिक शैली, शिल्प र सामाग्रीलाई विस्थापित गरेर, एक वा दुईवटा कुचुक्क कोठामा गाउँघरलाई अल्झाएर पुनर्निर्माणको प्रक्रिया पूरा हुँदैन । घर प्रकोप प्रतिरोधी हुनुपर्छ भन्नेमा दुईमत छैन तर घर र बस्तीको लय र बान्की पनि संगसंगै बाच्न सक्नुपर्छ । यसो हुन सकेमात्र समाज जीवन्त रहन्छ । हाम्रो जीवन्त निर्माण संस्कृतिको जय होस् ।
(हिमाल खबरपत्रिकाको ८—१४ बैशाख, २०७६ अंकमा प्रकाशित, सामान्य परिमार्जनसहित राखिएको)
Create your website at WordPress.com
Get started
%d bloggers like this: