जलाउनुपर्ने हतियार बेचेछन !

-मिलन बगाले
नेपाली सेनाले सडेगडेका केही बाकस हतियार प्रकि्या पुर्याएर बेचेको सामान्य कुरालाई कान्तिपुर दैनिकले ‘गाडधन’ भेटेझै दिनदिनै छापिरहेछ । कान्तिपुरको यो अत्यासलाग्दो हतियारमोहमा पाठकमित्रहरुले किन ऐक्यबद्धता जनाइदिएका हुन,मैले बुझिन । बाह्र बर्षे ‘मारकाट’ र मधेशतिर १०० थरी हतियारधारी पार्टीका गतिबिधि सुन्दासुन्दा सबैलाई हतियारमोह पलाएको हुनुपर्छ । भूषण दहालजी पनि यै ग्रहका प्राणी भएकाले उनी पनि यसबाट पर हुने कुरो आएन । 

हतियारले अपराधी जन्माउछ । अपराधीले हतियारलाई असाध्यै प्यारो ठान्छ । उसो त जहाँ अपराध बढी हुन्छ त्यहा हतियार बढी चाहिन्छ नै । जगदीश घिमिरेले लेखेका छन नी-  ‘बर्दी (अर्थात हतियार) विशेषाधिकार हो । विशेषाधिकारले बलात्कार गर्छ । बर्दी बलियाको हुन्छ निमुखा निर्धा र सीमान्तको होइन।’

हतियार सभ्यता होइन । येल्ले मारकाटको इतिहास बोकेको हुन्छ । मारकाटलाइ कुनै शब्दले पनि जायज ठान्न सकिन्न । यस अर्थमा हतियारमुक्त विश्वको कल्पना हामीले गर्नुपर्छ । अर्थात संसारभरका सबै देशले हरेक बर्ष जलाउदै घटाउदै हतियारको इतिहासलाइ नष्ट गर्दै जानुपर्छ। 

देशलाई कुनै बिद्रोह दबाउन केही थान नया हतियार चाहियो रे लौ । त्यसका लागि उसलाइ करोडौ पैसो चाहियो  । अब गरिब जनताको गास खोसेर स्वाथ्य शिक्षा यातायात जस्ता आधारभूत आवश्यकताका पैसो काटेर हतियार किन्नुसट्टा थोत्रा बेचेर नया किन्न किन नहुने  ? थोत्रा हतियार सम्हाल्दा ,कुरुवा राख्दा , मर्मत गर्दा बेकारको खर्चमात्रै । जलाएर ध्वस्त पार्नुपर्ने अपराधिक खपटा बेचेछन, ठिक गरेछन । ज्यानमारा हतियारको देशको रुपमा विश्वसामु चिनिदा हाम्रो इज्जत बढछ ?


नेपाललाइ हतियार किन चाहियो ? भारतसँग लड्न नसक्ने ,अमेरिकासँग लड्न नसक्ने, नालापानी न कालापानी कुनै पनि फर्काउन नसक्ने ,कहिले आफूलाई मार्ने ,कहिले अर्कालाई मार्,ने ढुकुरदेखि गैडासम्म बच्चादेखि बृद्धसम्म कसैको शिकार गर्न नछोडने ,शान्ति स्थापनामा व्यवधान खडा गर्ने सरकार र माओवादी जनसेनाको हजारौं हतियार व्यवस्थापन गरी शान्ति बहाली गर्न यसो मेरो खास्सा सुझाव छ । सम्पूर्ण हतियार रिठ्ठो नबिराई देशभरिबाट खोतलौ । टुडिखेलमा थुपारौं । टुडिखेलमा मात्र अटेन भने खुलामनचमा पनि थुपारौ ।  केही दिनसम्म यसको घृणित प्रर्दशन गरौं । अन्तमा कान्तिपुर लगायत सकेजति राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रकारलाइ साक्षी राखेर सबै मिलि जलाएर भस्म पारौं । हतियारमा दागबत्ती माओवादी अध्यक्ष प्रचण्डले दिनु जाती हुन्छ । नेपाललाइ रामराज्य बनाउने कि हतियारको थुप्रो भएको राक्षसी राज्य  ? ‘हतियार जाती’ भनेर युवाहरुको दिमागमा राको झोस्ने कान्तिपुरको अभियानप्रति मेरो खेद छ । 

ताना शर्माको अपमान

– मिलन बगाले
मेरा अतिप्रिय  लेखक तथा नेपालका ‘महंगा सम्पती’ डा तारानाथ शर्माको नामको उचाइ र बिद्धताको एउटा प्लस टु कलेजले नराम्रोसग दुरुप्रयोग गरिरहेको छ । यो तमासाको रमिते दर्शक म बनेको छु । र यो यातना चुपचाप सहेका छन् गुरु डा.शर्माले ।

कुरो डिल्लीवजारमा बास बसेको टाईम्स ईन्टरनेशनल कलेजको हो । उक्त कलेजका प्रिन्सिपल  डा तारानाथ शर्मालाई फ्लेक्सबोर्ड बनाएर बिजुलीको पोलपोलमा झुण्डाएको ननिको दृश्य म दिनदिनै देख्न विवश छु । यो फलेक्स देखेपिच्छे म आफ्नो अतिततिर फर्किन्छु । खेतीपाती खान आउने बादर र भालु लखेट्न गाउलेले बन्दुक बोकेको पुतला बनाएर खेतमा राखेको दृश्य । ठ्याक्कै उस्तै लाग्छ मलाई यो फ्लेक्स बोर्ड । बन्दुक बोकेको पुतला बादर र भालु धपाउन राखिएको थियो । यता शहरमा डा शर्माको तस्वीर भर्खर एस एल सी पास गरेका विधार्थीका अभिभावक तसा्रउनलाई झुण्डाईएको छ । बिजुलीका पोलपोलमा । मूर्धन्य प्राडा शर्मा यता , तिमी लण्ठुहरु बरालिएर कता  ? हो त्यो फ्लेक्सले डा ताना शर्माको बिद्धता चिन्नेलाई यसरी नै हर्काछ । अनि अभिभावक त्यतै नमुन्टिएर कता भागुन ?  ताना शर्मालाई दोबाटोमा तमासा पारेर मदारीले बादर नचाएझै पैसा बटुल्न पाईन्छ ?

दुखेको कथा अझै बाकी छ । डा शर्मालाई काग र डाङग्रेले पनि उत्पात दुख दिएछन् । यो बिभत्स दृश्य गएको मंगलबार देख्नुपर्यो । गुरुको निधार र टाउकामा बदमास काग र डाङग्रेले नराम्ररी बिस्ट्याईदिएछन् । हतपत्त कागज खोजेर पुछपाछ पार्न खोजे । तर घिनलाग्दो टाटो मरिगए गएन । मैले बिजुलीको पोलमुनिको फ्लेक्स सफा गर्यो भन्ठान्यो रमिते दुनियाले । कसैले टाईम्स कलेजको मान्छे हो ? भनि आखाको भाकाले सोध्यो । तर तिनलाई के थाहा , म मेरा श्रद्धेय गुरुको निधारमा टाईम्स कलेजले पोतेको कालो कलंकको टिको पो मेटिरहेको थिए ।

टिभि पत्रिका र बिजुलीको पोलमुनि बरालिएर टाईम्स कलेजको ब्यापार गरिबसेका मेरा गुरुले ‘बाचेर पनि मरेका’ धेरै मान्छेलाई स्वादले हकारेका छन । तर आफ्नै तमासा बनाएर ब्यापार गर्ने साहुलाई किन भाते निद्रामा मस्तसग सुत्न दिएका होलान  ? अरे ओ लठ्ठु  , मलाई तमासा बनाउछस  ? भनेर गुरुले साहुलाई हकारिदिए असाध्यै जाती हुन्थ्यो । लक्ष्मीको सवाल छ,  सरस्वती पुत्रले उल्टो मलाई पो हर्कालान भन्ने डर । ताना गुरुको सधै जय होस् ।

महानगरमा सुतेका सडकको कथा

-मिलन बगाले


‘एउटै छानामुनि सबै सामान’ । ९९ आतकबाट एकाध बर्षअघि ‘ह्याङओभर’ भएको काठमाडौमा भर्खर भर्खर खुलेका नयाँ नयाँ सपिङ मल र कम्प्लेक्स भित्र के मात्र पाईदैन ? जुम्लाको जिम्मुदेखि युरोप अमेरिकाका थरिथरि सामानसम्म । १५ रुपिया दाममा गुदगुद पाक्ने पुन्टे चाउचाउभित्र क्यालसियम भिटामिन आईरन प्रोटिन र छात्रबृत्ति देखि गदगद उपहार सबै खादेर राखेजस्तो । ‘मेल्टिङ पट’ र ‘लाईम लाईट’ जस्ता देखिने यी मल र कम्प्लेक्सहरुले राजधानी काठमाडौको झल्को मेटाउछन्। तर यहाँनेर दाज्नै नमिल्ने एउटा बडो अप्ठेरो गौडो छ । नयाँ खुलेका यी मल र कम्प्लेक्स हरु डिजाईन, सजावट सेवा सुविधा र सिस्टम सबै हिसाबले अब्बल देखिन्छन भने राजधानी काठमाडौचै झिगा भुसुना र किराफटयाङग्रा बास बस्ने जुठेल्नो या रछानजस्तो । फालेको भात, मासु र आलुका टुका्, बासी पाउरोटी, तरकारीका भुत्ला, जुठा प्लेट ,चम्चा, झिगा , भुसुना के मात्र पाईन्न जुठेल्नोमा ?  फोहोरको दुनियाको स्यानो तिनो स्वर्ग भने पनि हुने । जिउदै स्वर्गवासी बन्न पाउने भाग्यशालीहरु हामीहरु नै हौ र मत्र्यलोकको भूस्वर्ग यै काठमाडौ हो।

आउनुस बाटातिर घुमौ। थानकोटदेखि भक्तपुर, बुढानिलकण्ठ र सातदोबाटोसम्म फैलिएको काठमाडौको सडक सरचना हातपाउँ सात ठाउँमा बटारिएर सुतेको जडयाहा मान्छेजस्तो छ । काठमाडौ उपत्यकाको एरिएल फोटोलाई गुगल अर्थमा सर्च गरेर हेर्नुस, यसले अष्टाबक्रको झल्को झल्झली मेटाउछ । ‘आईयो गलैचा’! भन्दै ढाडमा हेमानको कुम्लो बोकेको जुम्ली दाजुभाईदेखि ‘आयो तरकारी तरकारी’ भन्दै ठेला ठेलेर ‘होम सर्भिस’ दिने मोतिहारीको छिमेकी ईष्टसम्मलाई गरिखाने भाडो दिएको यहाँको सडक ससारकै सबैभन्दा धेरैपटक बनेको सरचना हो भन्दा फरक नपर्ला । पाल्पाली रोपाईजात्राको झलक बसे्रनी असारमासमा यहाँ पनि देख्न पाईन्छ । डोजर, लोडर र लोदर (नेता ) मिलेर असारमा अलकत्रा जात्रा मनाउछन काठमाडौमा । बनाउने खन्ने र टालटुल पार्ने – तीनथरीको अघोषित युद्धको चपेटामा परेर सधै घाईते र रगताम्य हालतमा लमतन्न  पसारिरहेका भेटिन्छन् यहाँका सडक । सडक बिभाग दुरसंचार र खानेपानी सस्थानको एक अर्काको समन्वयको अभाभमा यहाँ एउटै सडक बर्षमा २० पटक बन्छन ३० पटक खनिन्छन र ४० पटक टालिन्छन ।
सिसौको पार्केट ठोकिएको लिभिङ रुमबाट राजस्थानी मार्बल हालिएको भर्याङ हुदै  ढुङ्गा छापिएको कम्पाउण्ड नाघेर बसे्रनी कराडौ खर्चिएको हिलोमा (सडक भन्नु येल्लाई ? ) नाक जोत्ने दुखि मनुवाको कथा कोरेर सडक सन्जालको अभाभमा समयमै औषधी र खाधान्न नपुगेर मान्ठा भुतुभुतु मरेको बिद्रुप दृश्य टुलुटुलु हेरेर बस्नु र बर्षभरी बाटो खन्ने र टाल्ने फाहोरी खेलमा रमेर बस्नु बौदि्रक दरिद्रताको पराकाष्टा हो।

मुश्किलले २-४ किलोमिटर सद्धे भेटिने काठमाडौको सडक सन्जाल जिर्ण र घाईते मात्र होईन निकै साघुरा पनि भईसके । राणा र राजामहाराजाका बग्गी  र घोडा घिसार्ने  यहाँका डहरमा थाम्नै नसक्ने गरी मोटर ओर्लिसके । तर, १ किलोमिटर बाटो थप्ने या १ ईन्च बाटौ चौडा पार्नै कुनै माईकालाल अझै जन्मिएनन् । ‘केशव स्थापीत आउ मेरो घर भत्काउ बाटो फराक पार’  टाईपको कलाबिहिन नाटक या रातो झण्डा गाडेर घर भत्काउने र बाटो बढाउने लाल बुझक्कड शैलीले बेथीती टसको मस हुनेवाला छैन् । भाते निद्रामा सुतेकाहरुबाट कुनै योजना बन्ने भुत्ते आश गर्न सकिदैन । शिशाभित्र बसेर बाटोमा हिडनेहरुलाई हिलो छ्याप्ने बेसोमतिहरुलाई केही भनिराख्नै परेन । पिच भनाउदोको बिचमा हिलो किन जम्न परेको त? उसको के को दोष नाथे पिच पिचजस्तो नभएर पिलोजस्तो भएपछि।

बाटाको दायाबाया सगरमाथा उचालिएझै थुपि्रएका थुप्राले पनि सडकमा हिडने र गुडनेलाई ठुलै सास्ती दिएका छन् । धन्न चिसो काठमाडौ निलकण्ठ भएर  ‘हैजा’ का किटाणु आफैले पिईदिएको छ ।  त्यसैले कोही मान्छै  आर्यघाट पुग्न परेको छैन । वीरगाज विराटनगर हुदो हो त धेरै फोहोरीलाई ठेगान लाईदिन्थ्यो  काठमाडौ ‘देउताको शहर’ भएकोले आफैले खप्न जानेको छ । काठमाडौको हैजाको समस्या देउताले टारेपनि फोहोर समस्याचै कहिल्यै नसुल्झिने पहेली भएको छ । फलेको फोहोर थन्काउने कुनै ठेगाना नभएको ‘बेसोमती ‘ काठमाडौ बाटो खन्दिने मोटर ल्याईदिने  हस्पिटल बनाउने र बत्ती बाल्दिने सपना सुघाउदै अर्काको दैलाठेलामा फोहोर हुत्याउने प्रपन्च गर्छ । उचीत र बैज्ञानिक ब्यबस्थापनबिनै ‘जटायु रेष्टुरेष्ट’ खोलेझै छरपस्ट चाङ लगाईदिएपछि  हस्पिटल र बत्तीको सपना देखेर आफ्नै मुखमै थुकिमाग्न पछि नपरेका हतअभागीहरुको चित्कारको पिडा येल्ले बेलाबेलामा नराम्रोसग भोग्ने गरेको छ । त्यै चित्कारको शिकार भएर फोहोरझै थुपि्रन्छन फोहोर बोकेका फोहोरी गाडी । फोहोरी सडकमै । डम्पीङ साईटबिनाको महानगरको कोरा कल्पना गर्ने भिमकाय नगरपिताद्धय पि एल सिङ र केशब स्थापित कुन माकुरे दुलोभित्र दुर्दशा हेरेर बसेका छन कुन्नि ? केही उपाय नलागेपछि थापाथली पुलमुनि फोहोरको डुङुर थुपार्ने  सुगुर निकायलाई फोहोर तह लाउने सफा आईडिया किन नफुरेको हो ? फोहोर माथि खेल्ने फोहोरीहरु आफै जानुन।

जतिसुकै फोहोरी , घिनलाग्दा,  र बाङ्गाटिङगा  भएपनि  सिङो  देशको शासन भने सर्प झै सुतेका सडकले नै चलाएझै लाग्छ। सिहदरबार , बानेश्वर सम्मेलन केन्द्र र बालुवाटार सेता हात्तीमा परिवर्तित भईरहेको यो शहर सडकमा पोखिएको रगत, जलेका टायरका टुका् र फोहोरको थुप्रो भाचिएको रेलिङ,  फुटेका लाठी र दुखेका टाउकाको बिरुप कोलाज झै लाग्न थालेको छ।


जलेका टायरले कालाम्य
राजधानीका ध्वासे सडकहरु
सुतिसुति देश चलाईरहेछन् ।

संविधानमा थप्नुपर्ने राष्ट्रिय कुरो

 -मिलन बगाले

आउने भदौ १४ को बिहानीले नया संबिधानको ढड्डा बोकेर ल्याउला भन्ने आस कसैले राख्नुभा हो  ? त्यसो हो भने कुरो मिलेन । २०६८ भदौ १४ मा संविधान मरेकाटे बन्दैन । तर धेरै बर्षसम्म देश संविधानबिहिन बन्दैन पनि । ढिलोचाडो संविधानको  मोटो किताब छापिएला । त्यो किताबमा ६०१ सभासदको मनपरी चल्नेछ । आफ्ना बिचार र स्वार्थ यो किताबमा तिनले बेस्सरी खादनेछन । 

अलि अलि ठाउ बचाएर केही करा मैले भन्याअनुसार पनि राखिदिए हुन्थ्यो नी । मैले भन्या करो संविधान लेख्नेहरुले  मान्दिने  हो भने राष्ट्रिय जनावर गैडालाई बनाऔ ।  गाई माताप्रति मेरो कुनै पूर्वाग्रह छैन । तर, यो मुलुक गाई माताको मात्र पेवा हैन क्यारे । राष्ट्रिय जनावर बन्न पाउने हक र हैसियत अरु जनावरको पनि त छ । गाई माताले धेरै बर्ष यो मौका पाउनुभो । त्यसैले केही बर्षसम्म गैडा भाईबहिनीहरुलाई यो मौका दिनु जाती नै होला । यसो गर्दा गाई माताले बिरोध गर्नुहुने छैन । गाई माता साक्षात भगवान हुनुहुन्छ । उहा लोभ  मोह र अहंकारबाट मुक्त हुनुहुन्छ नै गैडा भाईबहिनीहरु यो मुलुकबाट लोप हुन लागेकोमा चिन्तित पनि । राष्ट्रिय जनावर गैडालाई बनाईदिए तिनलाई संरक्षण गर्न सजिलो हुन्थ्यो भन्ने गाईमाताको ईच्छा रैछ । उहाले मलाई अस्ति गाउ जादा सुटुक्क भन्नुभाको । 

राष्ट्रिय फूल सयपत्रीलाई बनाऔ । आपसी प्रेम र भाईचारा बाडने फूल भन्छन क्यारे यसलाई । उसो त यो मुलुकभर पाईन्छ । गुरासलाई चाहि राष्ट्रिय प्राकृतिक सम्पदमा बढुवा गरिदिउ ।  आकाशमा चन्द्र सूर्य रहेसम्म झण्डा यही गजब छ । कुनै दिन आकाशबाटै चन्द्र सूर्य बिलाए भने मात्र अर्थोक बिचार गरौला ।

राष्ट्रिय अन्न पनि राखौ नया संविधानमा । कोदोलाई राष्ट्रिय अन्न बनाऔ । यो अन्न र यसलाई टन्न खाने दुबैथरी युगौ देखि यो मुलुकमा हेपिएका हेपियै छन । यो अन्नको पनि  हवात्तै फूली बढाउनुपर्छ अब । यसो गर्दा धान मकैले चित्त पक्कै दुखाउने छैनन । भान्छामा यिनको ईज्जत छदैछ नी  । यि अन्नहरु भलादमी र बुझ्झकी छन। मान्छेजस्ता ठीस छैनन ।  रंगचाहि रातै ठिक छ । सबैका नशानशामा रातो बाहेक अरु रंगको रगत नबगेकोले यसमा कसैले बिरोध गर्लानजस्तो लाग्दैन ।

पालो राष्ट्रिय गानको । ब्याकुल माईलाले रचेको र अम्बर गुरुङले धुन भरेको यो गान एकदम खास्सा छ । यसलाई शहिद नबनाऔ  । निशाना छापचाहि खत्तमै छ । एकदम भद्ददा र फोहोर । नेपालको नक्सा र झण्डा मात्र भएको सफा र चिटिक्कको निशाना छाप प्रयोगमा ल्याए  देशकै ईज्जत बढथ्यो ।

चलनचल्तीका कुरा मात्र के राख्नु नया संविधानमा  धेरै नया कुरा थपौ । राष्ट्रिय घर नेवारी । नेवारी घर सम्पूर्ण नेपालीको ईज्जतको प्रतीक हो । यी घर बिश्वसम्पदा बनेर संसारभर प्रसिद्ध छन । कागज चाहि पहाडे लोक्ता ।  फलफुल स्याउ ।  हिमाल सगरमाथा । ताल रारा । बाजा सारंगी । लुगा दौरासुरुवाल । पत्रिका गोर्खापत्र । अरु थुप्रो चिज पनि थप्न र राख्न  नमिल्ने हैन । तर सप्पै मेरा कुरा राखेर मात्र भएन । मेरा कुराले मात्र संबिधानको ढड्डा भर्नुपर्छ भन्ठान्नु पनि त गलत हो ।  अर्थोक तपैहरुले थप्नुभए हुन्छ । तपैहरुको जय होस ।

झुकेको ‘हिमाल’ र लुकेको स्वार्थ

-मिलन बगाले
आफ्नो  राजनितिक स्वार्थ र ‘ईगो’ ब्यवस्थापनका लागि छोराको पढाई छुटाएर अलपत्रै पारेका हिमाल शर्मामा भोलिको राजनेता हुने लक्षण त परै जाओस, विद्यार्थी नेता भन्न मिल्ने हैसियत समेत देखिन मैले । अखिल क्रान्तिकारी हिमालजस्तै यस्तै संकीर्ण अराजक र निरंकुश मान्छे उत्पादन गर्ने कारखाना हो?  हो भने यो राम्रो लक्षण हैन ।  सन्तानलाई पढाउन काशी बनारस पठाउने दुई – चार सय बर्ष पुरानो चलन समेत कसो थाहा नभएको कथित क्रान्तिकारी नेतालाई  ? लाखौ रुपैया तिरेर बिदेश  पढन जानु – पठाउनु अर्कै कुरा, पुरै छात्रबृत्ति पाएर पढन बिदेश गएको बालिग छोरोलाई बलि चढाएर के के न गरे भन्ठानेका थिए विद्यार्थी  नेताले , अहिले आफै पङगु भएको कुरुप दृश्य टुलुटुलु हेरिरहेछन । 
ज्ञान , बिज्ञान  , संगीत र साहित्यको भोगोलिक सिमा हुदैन भन्ने कुरा कथित क्रान्तिकारीलाई किन चेत नभएको ?  बिदेश पढन नगएको भए डा भट्टराई अहिले हिमालजस्तै मूर्ख र अराजक नेता बन्थे होला । छात्रबृत्ति पाएर गतिलो ठाउमा पढेका उनको ज्ञानबाट मुलुकले प्रगती गर्ने दिन कुरेर बसिरहेको छ । हिमालले आफ्नो छोरालाई डा भटटराई, डा यादव वा डा उपेन्द्र देवकोटा बन्न नदिने भए । नेपालमै पनि सरलले मणिपाल अस्पताल  काठमाडौ मेडिकल अस्पताल या अन्यमा पूर्ण छात्रबृत्ति पाए  पनि पढन नपाउने भए अब । ति सबै निजि कलेज हुन । निजिमा रातो पार्टीका तातो नेताका छोराछोरी पढन मिल्दैन क्यारे । एस एल सी पास गरेपछि अब १० जोड २ कक्षा माओबादी नेताका छोराछोरीले कहा पढने हो  ? एउटै पूर्ण सरकारी प्लस टु छैनन नेपालमा । त्रिविविले प्रबिणता प्रमाणपत्र तह बन्द गरिहाल्यो ।
 नेताकै सन्तान भएका भरमा यहा पढन पाउने यहा नपाउने घिनलाग्दो नियम बनाउने हिमालको निर्णयलाई कसैले पालना नगरुन । बोर्डिङ र निजि कलेजमा पढिरहेका माओवादी नेताका छोराछोरीले हिमाल शर्मा मुर्दाबाद, हाम्रो भबिष्य बिर्गान पाईदैन भनिदिए उनको अराजक चिन्तन मास्सिने थियो कि  ?

‘समोसा’ पत्रकारिता

-मिलन बगाले

“के के न गरुला सोचेर पत्रकारिता थालेको थिए समोसा खाएरै जुनी बित्नेभो । रिपोर्टिङको क्रममा मैले दिनको ७ वटासम्म समोसा खाएको छु । समोसा खादै ‘भन्नुभयो’ ‘थप्नुभयो’ ‘जोड दिनुभयो’ ‘उल्लेख गर्नुभयो’ ‘जिकीर गर्नुभयो’ ‘प्रकाश पार्नुभयो’ ‘आग्रह गर्नुभयो’ ‘चेतावनी दिनुभयॊ’ जस्ता दुई पैसे कुरा कापीमा टिपेर मेरो उर्जाशील समय बर्बाद गएको छ । “

सबै पाना रंगीन भएको ठूलो साईजको अखबारमा काम गर्ने एक उर्जाशील पत्रकार मित्रले एक बिहान कफी खादै पोखेको पीडा हो यो । आफूले गरिरहेको पत्रकारितालाई उनले ‘समोसा पत्रकारिता’ को उपमा दिएका छन् । दिनदिनै सभा समारोह गोष्ठी पत्रकार सम्मेलन दलका कार्यालय र पुतलीसडकतिरका क्लबमा गएर अखबारवालाले ‘महावाणी’ बटुल्ने जिम्मा दिएको र सो सामान बटुल्न जादा घरबेटीले जतापनि समोसै खुवाएको दिक्कलाग्दो कथा सुनाउदै थिए उनी । पछिपछि समोसाको पोको आफूले नखाएर झोलामा हाल्ने गरेको र साझ आफू भाडामा बस्ने फ्ल्याटका भाईबहिनीहरुलाई बाड्ने गरेको उनले बताए । ‘मालिकले चाकरी पत्रकारिता गर्नाले हामी समोसा पत्रकार बन्यौ । कस्तो जुनी भो गाठे’ थक्थकाउदै बोलेको उनको थरथर आवाज अहिले पनि मेरो कानमा गुन्जिईरहेछ ।

खोजेर  नलेख । टिपेर लेख । सक्छस भने अझ फूलबुट्टा भरेर लेख । यही समाचारको टुक्रो देखाएर बिज्ञापनको लागि हात पसा्रनु छ । खोजेर लेख्दा पैसो खर्च हुन्छ रे । अझ लहरो तान्दा पहरो खस्छ रे । अनि सुकेन पैसोको मुल  ब्यापारिक घरानाका स्यानातिना र खुद्राखुद्री कुरा पनि समाचार बन्न थालेको गुप्ती अर्थ बल्ल म बुझ्दै छु । नेतालाई चाहि मनपरि हिर्काउने छुट छ रे । नेता हिर्काएपछि र हिलो छ्यापेपछि मात्र पग्लीने जन्तु भएकोले त्यसो गरेको भन्छन ए चल्तापूर्जा मित्रहरु ।

यस्तोबिधि फोहोरी काम गराउदा रैछन । किन किर्नो झै टास्सिएर बस्या तनी?  उत्तर काईदाको आयो – हलो जोत्न सक्दिन, डल्ला फोर्न सक्दिन, पढाएर खान सक्दिन । कुरौटे बानी सिकियो । डुलुवा बानी सिकियो । त्यसैले पेशा मरेकाटे फेर्न सक्दिन । ‘चार पाच महिनापछि तलब देलान नी केको पीर’? केको पीर भन्दै गर्दा उनको अनुहार कालो बादल लागेको आकाशजस्तै देखियो । उराठलाग्दो । टीठलाग्दो ।

एक टुक्रो समाचार लेख्न काईदाको कलम चाहिने । डायरी चाहिने । गाडीभाडा चाहिने । रेकर्डर चाहिने । क्यामेरा चाहिने । मोबाईल चाहिने । कम्प्युटर चाहिने । पि्रन्टर चाहिने । ईन्टरनेट चाहिने । पैसो  मरेकाटे नपाईने । अझ आमनागरिकको सरोकारको कुरो मजाले लेख्न पनि नपाईने । भजन र चाकडी लेख्यालेख्यै गर्नुपर्ने । अनि समोसाको पोकोले कहिलेसम्म धानिन्छ पत्रकार जिन्दगी ? मित्र ,जवाफ मसग छैन । जवाफ मालिकसगै छ जसले तिम्रो कलमको नीब थुतेको छ र तिमीलाई सुईरोले लेख्न बाध्य पार्दैछ ।

पण्डित रामबहादुरका अनुसार घाम पूर्वबाट उदाउछ । भौतिकशास्त्री हर्कबहादुरका अनुसार पृथ्वी गोलो छ । फलाना बैज्ञानिकका अनुसार हावालाई देख्न सकिदैन पानी तरल पदार्थ हो ढुंगा ठोस हो र अक्सजन ग्यास हो । फलानाका अनुसार पातको रंग हरियो हुन्छ, बेसार पहेलो, मुला सेतो, पाकेको कागती पहेलो ………। के के हो के के । यो पीडा चाहि यहाभन्दा बढी सुन्न नसकेर कान थुने मैले । डेस्क सम्पादकलाई जे कुरो पुष्टि गर्न पनि ‘बाईट ‘चाहिन्छ रे ‘बाईट’ । मालिकभन्दा सय गुणा ज्याद्रो छन रे समाचार पास गर्ने जाचकीहरु । ‘सब मालिकका चम्चा’ तिनैमध्ये एउटो त जिल्ला रिपोर्टरसग पैसा खाएर मात्र समाचार छापिदिने बदमास पनि थियो । समोसा खुबाएर नपुग्ने । झोलपानी खान पुग्ने पैसो चाहिने । बदमास कहिको ! पत्रकार मित्र अझै बडबडाउदै थिए ।

‘समोसा पत्रकारिता’ मेरो लागि स्कूप थियो । गतहप्ता एउटा चिया पसलमा सजिलै हात पारेको । केही बर्ष पहिलादेखि चिनजान भएका पत्रकार मित्रले यस्ता ‘अनोठा अनोठा कुरा’ यति सजिलै उकेल्लान् भनेर मैले चिताएकै थिईन । कागतमा लेख्ने र छाप्ने कामलाई चिरिच्याट्ट पेशा पो ठानेको थिए मैले त । काम गर्न पाईने-पैसो नपाईने देख्न पाईने – लेख्न नपाईने लेख्न पाए – छाप्न नपाईने अनि समोसा  खान पाईने – भात खान पुग्न पैसो नपाईने । नेपालका अधिकांश पत्रकारको दुखेको कथाको सार यै निकाले मैले त । लेख्नलाई लेखे छाप्ने-नछाप्ने पत्रकारकै मर्जी ।

रातो पासपोर्टमा ढकालको ‘कालो मसी’

मिलन बगाले
milanbagale@yahoo.com

नेपाली साहित्यका ‘सिद्धहस्त साहित्यकार’ मानिएका प्रमुख अध्यागमन अधिकृत खडानन्द ढकाल उर्फ प्रतिक ढकाल यतिबेला पत्रकारको भाषामा ‘फरार’ छन । मैले २०५५ सालको आसपास मधुपर्कमा उनले लेखेको ‘नेपाली हुलाक टिकटमा प्रकाशित ब्यक्तित्वहरु’ या यस्तै केही शीर्षकको आलेख उनको प्रथम रचनाको रुपमा पढने मौका पाएको थिए । त्यतिबेला म तेह्र – चौध बर्षको हुदो हु । मैले भर्खर हुलाक टिकट संग्रह गर्न थालेको बखत उनको आलेख पढेपछि खोजीखोजी साहित्यीक  र अन्य ब्यक्तित्वको टिकट संग्रह गरेको थिए । 

साहित्यकारको एउटा टिकट पाउनलाई अन्य १० थान टिकट साथीभाईलाई सट्टामा दिएको मलाई अझै याद छ  । त्यतिबेलादेखि आजसम्म प्रतिक ढकाल मेरा लागी धेरथोर ‘प्रिय’  छन । उनको ‘काली पनि सेती पनि’ र ‘हिमालपारी पुगेपछि’ लगायतका किताब पढेपछि यात्रा गर्दाका कुरा लेख्ने शैली अलिकती सिकेको छु । तर पनि उनको किताबको ‘बेस्ट सेलर’ को उपाधीलाई भने मैले उहिलेदेखि नै ‘खुरापाती’ को संज्ञा दिएको छु । यात्रा साहित्य बेस्ट सेलर मा पर्ला भन्ने मलाई कहिल्यै लागेन । ‘बजारमा राखे फलानाको किताब एउटै बिक्दैन प्रदशनीमा राखे कोल्ले हो डोकै उठाएर लैजान्छ अनि बेस्ट सेलर!’, एकजना पुस्तक ब्यवसायीले गतसाल मलाई अलिकति कुरो चुहाएका थिए । तर पनि मैले उनको कुरोमा मतलब राखिन र ढकालका किताब किनेर घरमा ल्याए ।  स्वादले पढे । म पनि अलिअलि डुलेर अलिकति लेख्ने डुलुवा केटो भएकोले  ढंगले लेख्ने धेरथोर तरिका सिक्न पाएकोमा लेखक र किताब दुबैलाई मनमनै मजैले धन्यबाद दिएथे । 

अलि दिनअघि रातो पासपोर्ट खाने ‘कालो मान्छे’ को सूचीमा खडानन्द ढकालको नाम पनि छापाले छापिहाल्यो ।’हुलाकका जागीरे’ प्रतिक ढकालको नामलाई कुनचाहि ‘खडानन्द’ ले मोसो दल्यो होला ?यस्तै सोचेर आनन्दले बसिराथे म त । समयले पर्दा उघार्दै लग्यो ।  रातो पासपोर्टमा कालो मसी दल्ने आरोपीत मान्छे त लेखक प्रतिक नै पो रैछन । त्यसपछि मैले १० पटक उनका किताब पल्टाए । अह ,भ्रष्टाचार कतै गन्हाएन । चिरिच्याट्ट लेखाई बाहेक दायाबाया केही गन्हाएन । तर पात नहल्लिएनी अलिअलि हावा चलेको छनक भने आयो । महोदयले लेखाईलाई भ्रष्टाचार ओत्ने ,पराले छानो, त बनाएनन ?मेरो मनमा हुरी चाहि चलेकै छ । अदालतले भ्रष्ट प्रमाणित गर्यो भने लेखक ढकाललाई म पनि स्यानोतिनो भाटे कारबाही गर्नेछु ।

 उनका सबै किताब पानी परेको रात पीढीको डिलमा ल्याएर थुपार्नेछु । बाकी न्याय ‘बर्खे भेल’ आफैले गर्नेछ । उनको साहित्यीक नामको हविगत पनि त्यै हनेछ । गलत काम गरेको आरोप लाग्नासाथ मान्छेलाई भित्तामा पुर्याउने र जिउदो लाश बनाउने सढेगलेको चलन नेपाली समाजमा छदैछ । त्यो कुरौटे बानी छापामा पनि अलिअलि पोखिने गरेकै छ  । कथम कदाचित भोली न्याय पाईयो भने पनि उठनै नसक्ने गरी मेरुदण्ड भाचेर थला पार्नु भ्रष्टाचार गर्नुभन्दा बडेमाको अपराध हो । लेखक ढकाल लगायत कसैमाथी यो अन्याय नभैदिए राम्रो हुन्थ्यो । बाकी हिसाब फैसलापछि । भ्रष्टाचार नगरेको भए लेखक ढकालको जय होस । नत्र पाठकका नाताले गर्ने भाटे कारबाही त छदैछ । सर बिद्धान छन ,तर जडयाहा परे,त्यसैले यिनले पढाएको नैतिक शिक्षा पढ्दिन भन्नुमा म त केही दोष देख्दिन ।  
 

सुनसान वीपी संग्रहालय

मिलन बगाले 
संग्रहालय परिसर (तस्वीर— मिलन बगाले)



‘आज मैले मेलमिलापको ढोका खोलें। सुन्दरीजलसग हाम्रो आत्मा जोडिएको छ । 

वी पी संग्रहालयको शुभारम्भ गर्दै २०६१ भाद्व  २४ गते स्व.गिरिजाप्रसाद कोईरालाले उक्त संग्रहालयलाई मेलमिलापको ढोकाको उपमा दिनुभएको थियो । वीपीले सात बर्ष जेलजीवन विताउनुभएको सुन्दरीजल बन्दीगृह वीपी संग्रहालय बनेको पनि सातै बर्ष पुरा हुन लाग्यो । शुरुवाती बर्षमा निकै चर्चामा रहेको यो संग्रहालय आजकाल ओझेलमा परेको छ । निकै थोरै मानिसहरु त्यो ऐतिहासिक संग्रहालय अवलोकन गर्न आउछन। कोईराला परिवार र अन्य कांग्रेसी जनको कुरै छोडौ, वीपी पुत्री चेतनासमेत यहा आएकी छैनन । चेतनाकी छोरी र श्रीमानले भने संग्रहालय अवलोकन गरेका छन । 

संग्रहालयका अधक्ष्य परशुराम पोखरेलको अग्रसरतामा  संग्रहालय पूर्वाधार समितिले लामो समयको प्रयासपछि नेपाली सेनाबाट उक्त बन्दीगृह २०६१ साल भाद्व २२ गते किन्न सफल भएको थियो । त्यसको पर्सिपल्ट नै संग्रहालयको शुभारम्भ गरिएको संग्रहालयका कार्यालय सचिव सुशील पोखरेलले जानकारी दिनुभयो । उहाका अनुसार सेनाले हस्तारन्तरण गर्दा असाध्यै जीर्ण भवन र  वीपीले बन्दी जीवन बिताउदा प्रयोग गर्नुभएको पलङबाहेक केही सामाग्री बचेको थिएन । पछि संग्रहालयमा संग्रहित सामाग्रीहरु परशुराम पोखरेलकै अग्रसरतामा वीपी र उहाका सहयोद्धाहरुका परिवार र शुभचिन्तकहरुबाट संग्रह गरिएको हो । संग्रहालय भवन र परिसर  नेपाली सेनाबाट हात पार्न  पोखरेल र स्थानीयबासीले लामो समय संघर्ष गरेका थिए । नेपाली सेनाका तत्कालीन सेनापति प्रज्वल शम्शेर जवराले वीपी र उनका सहकर्मीहरुले बन्दी जीवन बिताएको उक्त भवन भत्काउन पाउँ भनी दरबारमा निवेदन समेत दिएका थिए । तर राजा बीरेन्द्वले उक्त भवन भत्काउने अनुमति दिएनन । यसबाट राजा बीरेन्द्वको महानता र दूरदर्षिता  झल्किन्छ । 
२०६८ साल बैशाख २२ गते विहीवार दिउसो २ वजे म  सुन्दरीजलस्थित उक्त संग्रहालयमा पुग्दा परिसर सुनसान थियो ।  त्यहाका सुरक्षागार्ड उद्धव कुईकेल वीपीको पूर्णकदको सालिक रहेको बगैचानेर घास उखेल्दै थिए ।  कामदार चन्द्व तामाङ चाहि अग्लो पर्खालमा सुर्की दल्दै थिए । ‘आज कोही आएका छैनन । यसो फाट्टफुट्ट मान्छे आउछन । कहिले त्यो पनि हुन्न’ कुईकेलले भने । स्कुलका बिधार्थीहरु भने बेलाबेलामा शैक्षिक भ्रमणमा आउने गरेको उनले बताए । 

वीपीसगै जेलजीवन बिताउनुभएका गणेशमान सिङ ,कृष्णप्रसाद भट्टराई , रामानारायण मिश्र, योगेन्द्वमान शेरचन , दिवानसिङ राई  र प्रेमराज आङदम्बे सग सम्बन्धित तस्वीर पत्र र अन्य सामाग्री हरु संग्रहालयमा संग्रहीत गरिएका छन । वीपीले प्रयोग गर्नुभएको वेतको कुर्सी  र टेबुल संग्रहालयको भेटघाट कक्षमा सजाएर राखिएको छ । भान्छा कोठामा वीपीले प्रयोग गर्नुभएको स्टोभ, चुलेसी,  मैनबत्ती स्टाण्ड  र स्टीलको डेक्ची राखिएको छ ।  वीपीले बन्दी जीवन बिताउदा प्रयोग गर्नुभएको पलङ , उहा प्रधानमन्त्री हुदा प्रयोग गनु भएको टेलिफोन, वीपीको अस्तु धातु  पाखी,  तन्ना, सिमलको तकिया ,कलम, कोट उहा सुत्ने गर्नुभएको कोठा र त्यसैसग जोडिएको अर्को कोठामा राखिएको छ । वीपीले लेख्नुभएका पुस्तक र उहालाई प्रदान गरिएका सम्मान पत्रहरु पनि संग्रहालयमा राखिएका छन ।


गणेशमान सिङले सुत्न प्रयोग गर्नुभएको कोठामा उहा र रामनारायण मिश्रका केही कपडा र जुत्ता राखिएको छ । कृष्णप्रसाद भट्टराईको कोठामा उहाले २०६४ साल असोज ९ गते पार्टी परित्याग गर्दै तत्कालिन काग्रेस सभापति गिरिजाप्रसाद कोईरालाई लेख्नुभएको पत्र पनि राखिएको छ ।


वीपीले रोप्नुभएको कपुरको रुख (तस्वीर— मिलन बगाले)

दुर्लभ फोटाहरु संग्रह गर्न सकिएपनि अरु सामाग्रीहरु धेरै संग्रह गर्न नसकिएको कार्यालय सचिव सुशील पोखरेलले जानकारी दिनुभयो । २४ रोपनी क्षेत्रफलमा फैलिएको उक्त संग्रहालयको चार बुर्जामा सुरक्षा पोष्ट रहेका छन । पाच नेपाल प्रहरी र सातजना कर्मचारी त्यहा कार्यरत छन । संग्रहालयको प्रवेशद्धारनेर वीपीले रोप्नुभएको दुईवटा कपुरका बोट छन । संग्रहालय परिसरमा वीपी र गणेशमान सिङको पूर्णकदको सालिक बनाईएको छ । 
कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिङ राई र योगेन्द्वमान शेरचनको सालिक निर्माण गर्ने योजना बनाईएपनि आर्थिक अभावले काम छिटो हुन नसकेको  सचिव पोखरेलले बताउनुभयो । संग्रहालयले वीपी र उहाका उहाका सहयोद्धाहरु सग सम्बन्धीत सामाग्री समेटिएका पुस्तक र पत्रपत्रिका स्रगह गरि पुस्तकालय बनाउने योजना पनि बनाएको छ । यो बर्ष संग्रहालयलाई सरकारले १० लाख रुपैया बजेट छुट्टयाएको पोखरेलले बताउनुभयो । नयापाटी गाविसले भने कुनै सहयोग नगरेको उहाको गुनासो छ । ‘काग्रेसको भन्दा पनि देशैकै सम्पतीको रुपमा यसलाई  सबैले लिईदिए हुन्थ्यो’ उहाले भन्नुभयो । बार्षिक लाखौको बजेट पाउने गाविसले घरआगनकै ऐतिहासिक र अन्तराष्ट्रिय महत्वको सम्पदालाई कुनै सहयोग नगरेर अन्याय गरेको स्थानीयबासीको पनि मत छ । 

काठमाडौको नयापाटी गाविसमा रहेका उक्त संग्रहालय रत्नपार्कबाट करिब १२ किलोमिटर उत्तर पूर्वमा छ । गैडागस्ती नामले पनि चिनिने उक्त भवन १०० बर्ष पुरानो हो । संग्रहालयलाई हस्तान्तरण गर्नुपूर्व सो भवन नेपाली सेनाले विस्फोटक पदार्थ भण्डारका लागि प्रयोगमा ल्याएको थियो । पूर्व प्रधानमन्त्री हरु पुष्पकमल दहाल र माधव नेपालले प्रधानमन्त्री भएको केही दिनमै संग्रहालयको भम्रण गरेपछि यसको चर्चा अझ बढेको थियो । पुष्पकमल दहालले वीपीको कोट ओलटाईपोल्टाई हेनुभएको खबरले त्यतिबेला निर्क चर्चा पाएको थियो। बर्तमान प्रधानमन्त्री झलनाथ खनाललाई स्वागत गर्न संग्रहालय प्रतिक्षरत रहेको सचिव पोखरेलले बताउनुभयो । संग्रहालयको प्रवेशद्धार (  वीपीले जेल जर्नलमा प्रवेशद्धारलाई कालो फाटक नाम दिनुभएको छ ) भन्दा भित्रको दृश्य खिच्न मनाही गरिएको छ ।

कालो फाटक (तस्वीर— मिलन बगाले)



राजधानीभित्रको यात्रा : पाईला -पाईलामा धराप

– मिलन बगाले

साझको ६ बज्न खोज्दै छ । बिकास र चेतनाको गति शताब्दियौदेखि बेसोमति पाराले जहाको त्यही ठिङग उभिएपनि समयको गति भने कत्ति रोकिएको छैन । वीरशमशेर महाराजको घडीको लङगुर् त्यै भाकामा अझै हल्लिरहेछ । चारो खोज्न हिडेका चराका हुलदेखि मानो पकाउन र काचो मानो खोज्न हिडेका मान्छेका जुलुस यत्रतत्र हिडिरहेछन ।  नेतृत्वहीन भीडझै । सबैको साझा लक्ष्य छिटोछिटो बासतिर पुगौ भन्ने छ । कति अघिनै पुगिसके । दृश्य निकै महिना ठगिएर बल्लतल्ल आफ्नो रुप भेट्टाएका गणेशमानजीको दैलाठेला अगाडीको हो । हेमानको बृद्र ज्यानलाई हत्केला भन्दा साना खुट्टाले सकीनसकी बोकेर उभिएका गणेशमानजीको सास्ती आजकाल सकिएको छ । उनको बिरुप मूर्ति हटेर नया चिटिक्कको आएपछि उनको दिनचर्या फेरिएको हो । तर उनको आगन अगाडीको  भद्रगोल गतिबिधि भने जस्ताको त्यस्तै छ ।

बागबजार र रत्नपार्क  जोडने आकाशे पुल भनाउदो सिमेन्टीको सुरुङ मुन्तिरबाट ग्यासको एउटा हरियो ढुम्रो  बिस्तारै रत्नपार्कतिर गुडदै आईरहेछ । काटीकुटी हिटलरकै ग्यास च्याम्बरको झल्को मेटाउने यो ढुम्रो कमलपोखरी, मैतीदेवी, पुरानोबानेश्वरको भाका उरालीरहेछ । सिङ्गो रत्नपार्कको मनस्थिति हेर्दा लाग्छ – यो सेरोफेरो सबै यसैभित्र कोचिन उद्दत छ । र यो ? यो  सुरुङ आफ्नो साईज बिर्सिएर सबैलाई भाग पुर्याउन तयार छ । काठका मुढा चाङ लगाएझै मान्छे कोच्दा पनि १२ –  १५ वटा भन्दा बढी मान्छे नअटेपछि केही बलिष्ठ हातहरु ढोकातिर झुण्डिछन र कोही झ्यालतिर मुन्टिन्छन् । राक्षसी पेटझै मान्छे खाएर अघाएको यो ग्यासको ढुम्रो (माईक्रो बस ) जडयाहा तालले हल्लिदै अघि बढ्छ ।  फेरि अर्को हुल गिद्र र चीलले सिनो झम्टिएझै पछि आईरहेको ढुम्रोलाई झम्टिन्छन । एक घन्टाको भिडन्तपछि पनि हातलागी शुन्य भएपछि आजीत मेरो मनले खुट्टाको चप्पल घिसा्रन थाल्छ र बागबजारतिर लम्किन थाल्छ – मैतिदेवी सम्मको बाटो नाप्नको लागी ।

गंगबु – राजधानीको सुदुरपश्चिम

कागजमा गंगबु बसपार्क एशियाकै नमुना बनेको थियो । त्यो कागजी घोडा कागजमै सिमीत रहयो र बन्यो भद्रगोलको उत्कृष्ठ नमुना। यो बसपार्क नानाथरी सपनाको साईज साईज र टाईप टाईपको पोको बोकेर देशैभरीबाट राजधानी भित्रिनेहरुको प्रमुख नाका हो । पचासथरी राज्य कथित मा सयथरी बन्द र नाराजुलुसको मारले ठाउ कुठाउ थलिएर दिउसै भित्रिनुपर्ने बस रातीतिर काठमाडौ आईपुग्छ ।

बसपार्कबाट काठमाडौको सिरिखुरी सेरोफेरो भनेको बढीमा त्यै २० -२५ किलोमिटर हो । तर ७ बज्दा नबज्दै सबै बस र माईक्रो थान्को लागीसक्छन । एकाध टेम्पो बाहेक । गन्तब्यमा पुग्न नपाएर बिच सडकमा थलिएका यात्रुलाई ठग्न हाजिर भईहाल्छन ट्याक्सी र बसपार्कतिरका लज । झापाबाट काठमाडौको ८०० किलोमिटर ७०० रुपैयामा छिचोलेको एउटा यात्रु पाटनको मगलबजार या भक्तपुरको लोकन्थलीसम्मको १२-१५ किलोमिटरको बाटोलाई छ हजार बाह्र सय तिर्न बिबश हुन्छ । गाडी नपाएर । महानगर भनाउदोको  यातायात ब्यबस्थाको यो बेथिति ललीतपुरको यातायात ब्यबस्था कार्यालयको भन्दा गएगुज्रेको छ । त्यै लुटाहा ट्याक्सीसमेत नपाएर ८ बजे तनहु  बाट गंगबु आईपुगेको म मैतिदेबी पुग्न नपाएर ५०० रुपिया तिरेर गगबुको लजमा सुतेको  नमिठो सम्झना मनमा ताजै छ ।

राजधानी काठमाडौमा रात्रीकालीन बस सेवा महानगरले नै चलाएर  यातायातको यस्तो ‘हरीप’ चालाको छिट्टै अन्त्य गर्ने महत्वाकाक्षी सपना केही बर्षअघि तत्कालीन मनोनित मेयर केशव स्थापितले सुनाएका थिए । माओवादीले आफ्नो अभिष्ट पुरा गर्न स्थानीय निकाय खर्लप्पै खाली गरेपछि मेयरसापको यो महत्वाकाक्षी सपना  आजसम्म पनि टर्रो विपनामा परिणत हुन पुगेको छ । र त गंगबुबाट शहर पस्नु सुदुरपश्चिमबाट शहर छिरेजस्तै छ अझै ।

एम्बुसको त्रास र त्रिशुलीमा हेलिएजस्तो सडक यात्रा


पेडेस्ट्रियन राईटछुट्टै साईकलको लेन र संरक्षीत बिश्व सम्पदा क्षेत्रभित्र यातायात साधन प्रवेश निषेधका कुरा बिगतमा धेरै भए । तर कुनै ‘बरिष्ठ’ ले पनि यसलाई गर्नुपर्ने कामको सुचीमा नै राखेनन । फुटपाथ र साईकल लेनको अभावमा अभागी दुनिया त्रिशुली हेलिएर तर्नेहरुको जस्तो जात्रा भोग्दैछ राजधानीका सडकमा ।  टाउकोमाथि खस्न ठिक्क परेका बडाबडा होर्डिङ बोर्ड र बाटोमा बेन्चटेबुल नै राखेर ब्यापार गर्नेहरुकॊ भने ट्राफिक प्रहरीले यदाकदा खेदो खन्ने गर्छ । तर जेब्रा क्रसिङ सुधारमा भने उसले फिटिक्कै ध्यान दिएको छैन । खरबारीबाट लखेटिएका बादरले कान्लाकान्ला नाघेर हाम्फालेझै  राजधानीमा बाटो काटनुपर्ने स्थिति साच्चिकै डरलाग्दो छ ।  दुई चार बट्टा सेतो रङ पोतेर ठाउ ठाउमा राम्ररी जेब्रा क्रसिड बनाईदिए  र सबैले सभ्य भएर त्रिशुलीमा हेलिएर नदी तरेझै  अन्धाधुन्ध सडकमा नहाम्फाल्दिए पाईला  पाईलाको एम्बुसको त्रास अलि कम हुन्थ्यो कि  थामिनसक्नुको मान्छे र गनीनसक्नु  मोटरको हुल कमल थापाकालीन कर्‍फ्यु  ब्रेकको त्रासद झल्कोजस्तो लाग्छ ।

मान्छे खसाल्ने बसको कथा


नेपाल देशको नाम सग मात्र होईन काम गराईको पारा सग पनि ठयाम्मै मेल खाने एउटा यातायात बर्षौदेखि  राजधानीको सडकमा गुडिरहेको छ । कोटेश्वरबाट बानेश्वर थापागाउ पुतलीसडक हुदै महाराजगज पुग्ने यो यातायात त्यो बाटाकॊ एक्लो महारथी हो ।  धिरोधत्त नायकजस्तो । चानचुन १७ – १८ फिट लामो यो मोटर मिनभवनतिर रित्तै भेटिएपनि बानेश्वर सम्मेलन केन्द्र कटेपछि  सिङ्गो बानेश्वर यसैभित्र पसेझै लाग्छ । दोस्रो भन्दा पछाडितिरका सिटहरु दुरदराजका अनकन्टार बस्तीझै प्रतीत हुन्छन । प्रतिस्प्रर्धी नआउदा चिप्ले किराझै घसि्रने र ढसमस्स बस्याबस्यै गर्ने  यो ठाडोलाई पछाडिबाट अर्कोले खेदयो भने यसको हाल बुर्कुसी मार्दै हिडने हरुवा खरायोको जस्तो हुन्छ । चढाउने बेला ठाउ कुठाउ रोक्दै हिडनु र ओराल्ने बेला राम्ररी नरोकी यात्रुलाई  खसाल्दै हिडनु यसको सामान्य दिनचर्या नै भईहाल्यो । खलासी भनाउदोको नमिठो बोली  ब्यबहार त  सदाबहार  बिशेषता नै भईहाल्यो ।

नरक यात्राको झल्को 


केशवराज पिडालीको ‘शुर विरहरुको नरक यात्रा’ नामक निबन्धको झल्को मेटाउने गरी हरेक दिन पटक  पटक  गरिने राजधानीभित्रको यात्रा तपाईलाई कस्तो लाग्छ  ? पाईला पाईलाको धरापबाट बाचेर घर फिरेको पेन्सनवाला लाहुरेको जस्तो अनुहारको चमक भोलीपल्ट बिहानै गर्नुपर्ने नरक यात्राको सम्झनाले मेरो मन त अघिल्लो साझै  भरङग  हुन्छ । राको नझोसुन्जेल र सेटीपीन नझिकुन्जेल बम नपडकिएर नाफाको जिन्दगी जिईरहेको आत्मघाती जत्थाको जस्तो जिन्दगी हामीले कहिलेसम्म जिईरहने राजधानीमा  ?

Create your website with WordPress.com
Get started
%d bloggers like this: