दाई ! अमेरिकाबाट पैसा आए’सी हामी पनि दिनदिनै चना केराउ खानी है ?
सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए । मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।
दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो । मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई! आजको खाजाको स्पोन्सर म। यो चना केराउ राम्ररी भुट्नु । उ त्यो पोकामा चिउरा छ त्यो पनि झिक । मजाले खानुपर्छ है ? यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे ।
‘दाई आज अमेरिकन एम्बेसी जानु छ !” सीपीको हुलिया आज निकै बदलिएको थियो । नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट! लौन कहाबाट ल्याएछ यो कोट?
मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे । सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ ।
‘दाई ! ल म हिडे है दस बजॆ एम्बेसी छिर्नू छ ।’ भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो ।
भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने ।
हेर्नु न – उ सहज भाकामा प्रस्तुत भयो – चार जोर मोजा लगाउदा पनि साईलोको जुत्ता फिट भएन मेरो त थोत्रो गोल्डस्टार मात्रै छ त्यस्तो के लाउनु भनेर चप्पलै लगाएको !
लाटा ! तिम्रो र मेरो खुट्टाको नाप मिल्छ जस्तो छ ।अप्ठ्यारो नमान्नु ! मैले धुलो झारेर मेरो ‘कोसेली छाला’ को जुत्ता उ तिर लम्काउदै भने ।
उ मात्र किचिक्क हास्यो ।
साईलो जुत्ता चम्काउन बाहिर बरन्डा तिर दौडियो ।
मैले ढाढस दिए – लक्की जुत्ता छ बाबु यो ! मेरो मामाले सीटिईभिटिको स्थायी ईन्जिनियरको जाचको अन्तबार्ता दिन जादा यै जुत्ता लगाएर गएका थिए बुढाको नाम निस्कीयो । डन्ट वरी!
सीपी किचिक्क बाट मुस्कानमा उक्लीयो ।
म जुत्ता बिहिन भए बाहिर कतै निस्कीन पाईन दिनभर कम्प्युटरमा काम गरेर बसे ।
भिसा पाउने – नपाउने कन्फर्म एघार बजेतिर हुन्छ भनेको थियो सीपीले । तर बाह्र बज्दा पनि मेरो मोबाईलले सीपीको कुनै हालखबर बताएन। पढाईमा अब्बल विद्यार्थी उ त्यसमाथि निकै मिहिनेत गरेर राम्रो डकुमेन्ट बनाएको छु भन्थ्यो उसले त्यसकारण पाउला नि । सायद सरप्राईज दिन फोन गरेन होला, मेरो आस मरिसकेको थिएन तर उ भने उता एम्बेसी तिर जिउदै मरिसकेको रहेछ ।
चार बजेतिर एउटा भावशुन्य अनुहार मेरो ढोकामा उभियो ।
लोप्पा खायो ! आफ्नो अनुहारलाई आफैले लोप्पा खुवाउदै सीपी बोल्यो । म उसलाई सम्झाउन थाले ।
दुईटै दाई अमेरिका पुग्लान भनेर दिउसै सपना देखेर हिडेको साईलोको अनुहार बादल लागेको आकाश जस्तो थियो उ आफैले भिसा नपाए जस्तो! (सीपीको माईलो भाई टीपी अमेरिका गएको तीन महिना भइसकेको थियो)
अब सीपी अमेरिकाबाट अष्ट्रेलियामा बढुवा भयो या उसकै भाकामा भन्नुपर्दा घटुवा भयो । अष्टे्रलिया जाने धुनमा उ गुणराज दाईको कन्सल्टेन्सी तिर धाउन थाल्यो । कुनै पनि हालतमा नेपाल छाड्ने एक शुत्रीय ढिपी बोकेर सीपी हिड्न थाल्यो ।
दाई ! साईलाले डुबायो !
के डुबायो ? जुठा भाडा सबै बाटामा डुबायो ?म आफ्नै धुनमा कम्प्युटरमा ब्यस्त थिए ।
धत! जोक नगर्नु न यार, आफुलाई कस्तो टेन्सन भइसक्यो ।
के भो ?
साईलाले नुमे बोकेर आएछ ।
नुमे ? के हो यो ? खाने कुरा हो कि क्या हो ?
धत ! हेर्नु न म अष्ट्रलिया जाने कैले, भिसा लाग्ने कैले, यो मुले साईलाले एक्लै बस्न सक्दिन भनेर मलाई नसोधि नुमेलाई रुम पार्टनर बनाउन ल्याएछ । फेरि भोलि दिदी पनि काठमाडौ आउने रे । बुवालाई अष्ट्रेलियाको भुत लाग्या छ । शर्मिला ,शशि, सुरक्षा, हेमकुमारी सप्पै अष्ट्रेलिया उड्ने रे । कोहि आइएलटिएस दिदै छन कोहि डिपेन्डेन्टमा हाल्दै छन । अनि बुवा पनि के कम जा छोरि काठमाडौ -आइएलटिएस दिनलाई भनेर दिदीलाई पठाउनु भाछ ।
सीपीले एकै सासमा आफ्नो् धारा प्रबाह सिध्यायो ।
म मरिमरि हास्न थाले ।
डुबिस् सीपी डुबिस्! खुब दाई भई खाको ? देखिस तलाई ४९ सालको भाईले पनि टेरेन आज! क्यारछस् बाबु अब, नुमेलाई कोठा दे आफु छोडेर जा । मैले सीपीलाई जिस्क्याउदै भने । सीपी आज साच्चै रिसायो र खुट्टा बजार्दै निस्कीयो मेरो कोठाबाट ।
के हुदैछ सरहरु ? मदनजी को चिरपरिचित आवाज बेमौसमको बाजा बनेर ठोकियो ।
-के हुनु सर ? जिन्दगीको पाङग्रा गुडदैछ । अरु केनै हुन्छ र नया नौलो ?
-घान्द्रुक के हुदैछ ?
– प्री फाइनल चल्दैछ ,ड्रइङ अलिकति बाकी छ ( म घान्द्रुकको गुरुङ बस्तिमा थेसिस गर्दै थिए ।)
छोटो सबाल जबाफ पछि मदनजी मैदानबाट पछि हटे । म कालो कफिलाई तान्दै र सेतो धर्कालाई कम्प्युटरमा छोट्याउदै थिए साईलो मुन्टियो ।
साईलोको पछिपछि लागेर सीपी पनि भित्रियो ।
मदनजी पनि के कम ? लु है म पनि आए सरहरु । बुइनि कता गईच ? भात पकाम्न पर्नी ,अनि धेरै काम तुर्न बाकी छ। उनि चिरपरिचित लवज सहित फेरि हाजिर भए ।
हैन सीपीजी को घरतिर के छ पेशा ब्यबसाय ? उनले अनायसै बेमौसमको राग अलापे ।
म जङ्गिए । सीपी तिर आखा झिम्क्याउदै मैले मुख खोले – हेर्नुस मदनजी सीपी त जमिन्दारको छोरो । १०० बिघाभन्दा बढि खेत छ उसको , भन्डारामा ३५-४० वटा भन्दा बढि ठुल्ठुला माछा पोखरी , पोल्ट्रिफार्म अनि ५ वटा ट्रक भन्न के लागेको थिए उसले मेरो मुख थुनिदियो र ट्रकको कुरा मैले खुस्काउनै पाइन ।
अतिरन्जित गर्न त भएन नि ! उ मेरो कानमा फुस्फुसायो । म शान्त भए ।
मदनजी डङरङ्ग ढले । भाग् !भनेर भाग्न के आटेका थिए सीपीको मोबाइलमा घन्टी बज्यो । फोन घरबाट रहेछ साइलो चाहिले उठायो ।
-अनि त्यसपछि के भयो बा ??
साइलोले बार्तालाप आफ्नो चिरपरिचित थेगोबाट शूरु गर्यो । केहिबेरको भलाकुसारिपछि साइलो राकियो – ‘यहा जाडोले मर्न लगिसके ।एउटा ट्राउजर किन्ने पैसा छैन। जम्मा ३० रुपैया मात्र बाकी छ हामीसग । ओढने सिरक पनि एउटै मात्र । यो कम्मल त चिसो पानीको भुङग्रो जस्तो छ । भात मात्र खान देर हुन्छ काठमाडौ बसेपछि ? साइलोको छारस्ट प्रलापले अघि मैले हालेको भ्रमको पर्दा पूरै च्यातियो । धन्न मदनजी केहि नबुझेझै खिस्स हासेर बहिरिए मात्रै नत्र बर्बाद !
अमेरिका जान नपाएपनि सीपी र अमेरिकाको हालत एउटै भयो – आर्थिक मन्दी । सीपी पूरै टक्टकियो र साइबर जान समेत नसक्ने हालतमा पुग्यो । मैले ५०० सापटी दिए ,चुहिने खल्ति दुइचार दिन टाल्यो अनि फेरि शान्त भयो । एक दिन अनलाइनमा अमेरिका बस्ने उसको माइलो भाइसग मेरो भेट भयो ।
-के छ सीपी दाईको हाल?
-अमेरिकाको जस्तै ।
-मतलब ?
-आर्थिक मन्दी
-उसलाई साइबर पठाइ दिनु न । म राम्ररी कुरा गर्छु नि ।
-बिचरोसग साइबर आउने पैसो समेत छैन।घरमा पनि पैसा छैन रे पठाइदिनलाई । भाडा नतिरेको दुइ महिना भैसक्यो । तरकारी सम्म जसोतसो दिदीले आफुले बचाएको पैसाले किन्दै हुनुहुन्छ , मसग समय थोरै तर सीपीको ब्यथाको पोको धेरै भएकोले सपै कुरा एकैचोटि लेखिदिए ।अनि उसको जबाफ सुन्ने हिम्मत नभएकोले मैले म्यासेन्जर बन्द गरे । कोठामा फर्केपछि सीपीलाई सुनाए – मर्मस्थलमा राम्रै प्रहार गरेको छु । हेरौ हरिया पात झर्न पनि सक्छन ।
आज धेरै दिनपछि ग्रहण लागेको सीपीको अनुहारमा मैले अलिकति आभा मण्डल देखे ।
-ल भाई जाम चिया खान ।
उ अक्मकियो ।
-न आमा पट्टिको न बाउ पट्टिको तै पनि स्पोन्सर म छदै छु नि ! एक कप चिया ख्वाउनलाई मैले दुइ राउन्ड डाइलग हाने । उ र म बाजेको चियाको पसल तिर लम्कियौ ।
‘ओई ओई साईली ओई ओई ! !
ओई ओई साईली ओई ओई !!’
सीपी साझ ६ बजेतिर भद्दा नाच र उज्यालो अनुहार सहित मेरो कोठामा हाजिर भयो । यसो हेरे- निलो कोट भिरेको रहेछ अनि मैले बुझिहाले-यो सबै हरियो डलरको कमाल हो (पैसा भएको बखत उ कोट लाउने गथ्र्यो)
-कति पात झर्यो भाइ ?
– जम्मा जाबो ३०० डलर ! उसको नाच बन्द भइसकेको थियो ।
डलर झरेको खुसियालीमा उसले मलाई भेज मम खुवाउन लग्यो । साईलोको चना केराउ खाने अन्तिम इच्छा पनि पूरा गरिदियो सीपीले । १-१ किलो चना केराउ कोठामा भित्रिएपछि नभिजेको केराउ चपाउदै साईलो मच्चियो -‘ अनि त्यसपछि के भयो मिलन दाई ‘?
-त्यसपछि ?
-अ
-‘त्यसपछि मिलन दाई मर्यो र मिलन दाईको कम्प्युटर बोकेर साईलो भाग्यो!’
-ऊ ! हु!! हु !!
साईलोले सबैलाई निशुल्क एक डोज मनोराजन प्रदान गर्यो ।
अब पालो गल्कोटे माईलोको ।
सीपीको खल्तिमा हरिया नोट नाचेको भेउ गल्कोटे माईलोले परैबाट पायो । पुतलीसडकमा सुकेको सागजस्तो पातलो ज्यानलाई हावामा हल्लाउदै हिडिरहेको अबस्थामा उसग गल्कोटेको भेट भएको थियो । गाउबाट दशलाख ठगी गरेर भागेको गल्कोटेलाई सीपीले आफुसग २०-२२ हजार रुपैया भएको र एउटा मोबाइल किन्ने बिचार गरेको कुरा सुनायो ।
-हेर सीपी त भाईजस्तो मान्छे सिम मेरै छ तलाई फ्रीमै दिउला । अनि २ जिबि मेमोरी कार्ड ,३ पिक्सेल क्यामेरा ,एमपिथि्, सिम रिम दुबै हाल्न मिल्ने हार्ड डिस्क र रयाम समेत भएको चोरीको सेट तलाई ४ हजारमै मिलाई दिउला । अष्ट्रेलियामा आईटि पढन जान ठिक्क परेको साईन्सको विद्यार्थी सीपीलाई गल्कोटेले हार्ड डिस्क र र्याम समेत भएको मोबाइल भनेर बखान छाटेपछि दंग पर्यो र ४ हजार गल्कोटेलाई बुझायो ।
गल्कोटे साझ पाहुना बनेर सीपीको कोठामा भित्रियो । सीपीका दाजुभाई दुबै मिलेर गल्कोटेलाई निकै पुछपाछ पारे । साईलो गल्कोटेको ज्याकेट धुन धारातिर लम्कियो । सीपी मैनबत्तीको उज्यालोमा चना केराउ र काउलीको तरकारी पकाउन थाल्यो ।
मिलन दाई ! फुर्किएको सीपीले घोकेको पाठ झै मेरो कोठामा आएर गल्कोटे पुराण सुनाउन थाल्यो – ‘ २ जिबी मेमोरी कार्ड ,३ पिक्सेल क्यामेरा, एमपिथि्, सिम रिम दुबै हाल्न मिल्ने हार्ड डिस्क र रयाम समेत भएको चोरीको सेट ४ हजारमा!’
ओई ओई साईली ओई ओई !
सरुभक्तको उपन्यास पागल वस्तीको ‘भउते चोर’ भन्दा बढी ‘कार्टुन डान्स ‘ नाचेपछि शान्त भएको सीपीलाई मैले भने – भाई! चोरीको सेट बोक्नु र सेट चोर्नु दुबै एउटै अपराधको कोटिमा पर्छन । फेरी के हो यो हार्ड डिस्क र र्याम भएकॊ सेट? ठग्ला है तलाई गल्कोटेले !
धत! मेरो ढोकामा खुट्टा र जुत्ता दुबै बजारेर सीपी बम्कियो – मेरो मोबाइल आएपछि तपाईलाई म छुन पनि दिन्न !
-मलाई चोरीको सेट छुनु पनि छैन !
-नरिसाउनुस न दाई ! सीपीको ढिपी अलि कम भयो -‘यो जाबो नोकिया ११०० कति बोक्ने ? बल्ल राम्रो सेट बोक्ने मेसो मिल्दै छ ।
-ल ल भाई मोज गर ! म जबरजस्ती हास्ने प्रयास गर्न थाले ।
ओई ओई कान्छी ओई ओई!!
उ गल्कोटेलाई स्याहार्न आफ्नो कोठातिर लाग्यो ।
खल्ती र पेटको थैलो दुबै मजाले भरेपछि साईलोले धोईदिएको सफा ज्याकेट र पाइन्ट लाएर गल्कोटे मोबाईल लिन सीपीसगै पुतलीसडक निस्कियो र बीचबाटो बाटै फिल्मी शैलीमा उछिट्टियो ।
पट्यार लाग्दो साझमा मकैको ढोड जस्तो अररो शरिर लिएर सीपी फेरी मेरो कोठामा हाजिर भयो । निभ्न लागेको उसको अनुहारतिर मैले हेरे । उसले ईस! भन्दै लोप्पा खुवायो ।
मिलन दाई !चार जना मान्छे छिनाउनु पर्ने भयो !उ अनायासै बडबडायो । को को हो ? मैले आफ्नो गर्दन छाम्दै सोधे ।
-मेरो ३००० खाइदिने माटे गल्कोटे माइला,मलाई कुकुर बिरालो झै हेपेर अपमान गर्ने कपिल अनि दशतिर ठक्कर खाने अभागी म !
धन्न भगवान ! मैले हात गर्दनबाट हटाए ।
सीपीको ढिपी !मेरो मुखबाट अनायासै दुइ शब्द निस्कियो ।
उसले पनि आखाबाट दुइ थोपा तातो आशु तप्प झार्यो र टोल्हाइरहयो ।
Like this:
Like Loading...