पढ्ने फुर्सद सकिएर
मान्छे मोवाइलतिर झुत्ति खेलेपनि
शहरमा अखबार छापिन छोडेको छैन ।
कागज र मसीले मात्र
कहाँ अखबार बन्छ ?
अखबारको रखबारी गर्न
अलिकति समाचार र विचार चाहिन्छ ।
त्यसलाई पस्किने विवेक चाहिन्छ ।
समाचार र विचार दुब्लाएर
आफैं बेखबर हुन लागेको अखबारमा
समाचार उस्तै रहेछन् ।
गज्याङगुजुङ राजनीतिको झुसिलो स्वाद
सिडिओको जोरविजोर आदेशले
भीडमा च्यापिएको कोरोना
बारीबाट बजारमा पुग्न नसकेका तरकारीको रास
आकासिँदो सुनको भाउ
र ओरालो झरिरहेको शेयर बजार ।
दुब्लाएको अखबारमा
कोरोना र शेयरबजारबाहेक
सबैथोक उस्तै रहेछन् ।
खेलकुद
कला
राशीफल
विचार
राजनीति ।
शहरमा अखबार चाहिनु
बजार बजारमा अखबार पाइनु
अखबार पढ्ने मान्छे पाइनु
आफैंमा ठूलो खबर हो ।
पुस्तक पसलअघि उभिएर
मैले अखबार पढिरहेको खबर
कुनै अखबारमा आउला ?
(२०७८ साल माघ १४ गते शुक्रबार)
